सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के रुपियाँ-पैसा साँचो आनन्दको स्रोत हो?

के रुपियाँ-पैसा साँचो आनन्दको स्रोत हो?

के रुपियाँ-पैसा साँचो आनन्दको स्रोत हो?

स्पेनमा जन्मेकी सोनिया सानी छँदा आमासँगै यहोवाका साक्षीहरूको सभामा जाने गर्थिन्‌। तर ठूली भएपछि तिनी इङ्‌गल्यान्डको लन्डनमा सरिन्‌ अनि पछि वित्तीय संस्थामा धितोपत्रको दलाली गर्न थालिन्‌।

सोनियालाई आफ्नो काम साह्रै मन पर्थ्यो। तिनी प्रशस्त पैसा कमाउँदै थिइन्‌ अनि आफ्नो ग्राहकको मोटो रकमको कारोबार गर्थिन्‌। त्यो काम रोमाञ्चकारी थियो र तिनी आफ्नो काममा सफल थिइन्‌। सोनिया सधैं १८ घण्टा काम गर्थिन्‌ अनि कहिलेकाहीं त दुई-तीन घण्टा मात्र सुत्थिन्‌। तिनको काम नै जिन्दगी थियो। तर अचानक तिनको जीवनमा आँधी आयो। तनावपूर्ण जीवन बिताएकोले होला, तिनलाई गम्भीर मस्तिष्कघात भयो। त्यतिखेर तिनी ३० वर्षकी मात्र थिइन्‌।

सोनियाको शरीरको एउटा पाटो पक्षघात भयो। डाक्टरहरू तिनको बोली फर्कने हो कि होइन पक्का थिएनन्‌। हेरविचार गर्न तिनकी आमा तुरुन्तै इङ्‌गल्याण्ड आइन्‌। हिंड्‌न सक्ने भएपछि तिनकी आमाले भनिन्‌, “छोरी, म सभा जाँदैछु, तिमीलाई एक्लै छोड्‌न सक्दिनँ। हिंड, सँगै जाऊँ।” तिनी राजी भइन्‌। परिणाम के भयो?

तिनी सम्झन्छिन्‌, “मैले सुनेको एकएक कुरा सत्य र एकदमै रोचक थियो! पहिलोचोटि राज्यभवन जाँदा स्वागत गर्ने थुप्रैमध्येकै एक जनासित मैले बाइबल अध्ययन सुरु गरें। पहिलेका साथीहरूले मलाई भेट्‌न छाडिसकेका थिए। तर नयाँ साथीहरूले भने ख्याल राख्थे र माया गर्थे।”

बिस्तारै बिस्तारै सोनियाको बोली फर्क्यो अनि तिनले छिटोछिटो आध्यात्मिक प्रगति गरिन्‌। वर्षदिन नबित्दै तिनले बप्तिस्मा लिइन्‌। तिनका थुप्रै नयाँ साथीहरू पूर्ण-समय ख्रीष्टियान सेवकहरू थिए। तिनले उनीहरूको आनन्द याद गरेकी थिइन्‌। तिनले सोचिन्‌, “मलाई पनि त्यस्तै हुने रहर छ। यहोवालाई सक्दो सेवा चढाउन चाहन्छु!” अहिले सोनिया पूर्ण-समय सेवा गर्दैछिन्‌।

सोनियाले आफ्नो अनुभवबाट के सिकिन्‌? “प्रशस्त कमाइरहेको भए पनि कामको चापाचाप र अनिश्‍चितताले गर्दा म चिन्तित र दुःखी थिएँ। मैले बुझें, जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा स्वर्गमा बस्नुहुने मेरो पिता यहोवासितको राम्रो सम्बन्ध रहेछ। अहिले म साँच्चै खुसी छु।”

प्रेरित पावलले लेखे, “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै-कुनै विश्‍वासबाट कुमार्गमा तर्केका हुन्छन्‌, र धेरै दुःखले तिनीहरूका हृदय छेंडेका हुन्छन्‌।” (१ तिमोथी ६:१०) सोनिया यी शब्दहरूको साक्षात्‌ प्रमाण हुन्‌।

w 09 9/1)