सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरू मेरा मित्र हौ”

“तिमीहरू मेरा मित्र हौ”

“तिमीहरू मेरा मित्र हौ”

“जे जे म तिमीहरूलाई आज्ञा गर्दछु, ती तिमीहरूले गऱ्‍यौ भने, तिमीहरू मेरा मित्र हौ।”—यूह. १५:१४.

१, २. (क) येशूका मित्रहरू कुनकुन पृष्ठभूमिबाट आएका थिए? (ख) येशूसित मित्रता गाँस्नु किन महत्त्वपूर्ण छ?

 निस्तार चाडको त्यस महत्त्वपूर्ण रात यरूशलेमको माथिल्लो कोठामा येशूसँगै बसिरहेका पुरुषहरू फरक-फरक पृष्ठभूमिका थिए। पत्रुस र आन्द्रियास दाजुभाइ थिए र तिनीहरू माछा मार्ने काम गर्थे। मत्ती पहिले महसुल उठाउँथे जुन पेसालाई यहूदीहरू घृणा गर्थे। याकूब र यूहन्‍नाले उहाँलाई सायद सानैदेखि चिनेका थिए। नथनेलले जस्तै अरू कतिपयले चाहिं उहाँलाई चिनेको केही वर्ष मात्र भएको थियो। (यूह. १:४३-५०) तैपनि यिनीहरू सबै येशू नै प्रतिज्ञा गरिएको मसीह, जीवित परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी विश्‍वस्त थिए। (यूह. ६:६८, ६९) उहाँले तिनीहरूलाई यसो भन्‍नुहुँदा अवश्‍य पनि तिनीहरूको मन छोयो: “मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले तिमीहरूलाई सबै थाहा दिएको छु।”—यूह. १५:१५.

येशूले विश्‍वासी प्रेरितहरूलाई भन्‍नुभएको यो कुरा सैद्धान्तिक रूपमा आज मुख्यतः सबै अभिषिक्‍त ख्रीष्टियानहरूलाई लागू हुन्छ र तिनीहरूका सहयोगीहरू अर्थात्‌ “अरू भेडा”-लाई पनि लागू हुन्छ। (यूह. १०:१६) जुनसुकै पृष्ठभूमिको भए तापनि येशूको मित्र बन्‍ने सुअवसर पाउन सक्छौं। उहाँसँगको मित्रता अत्यन्तै महत्त्वपूर्ण छ किनभने उहाँको मित्र हुँदा यहोवाको पनि मित्र हुन सक्छौं। वास्तवमा पहिला ख्रीष्टसित नजिक नभई यहोवासित नजिक हुन सम्भव छैन। (यूहन्‍ना १४:६, २१ पढ्‌नुहोस्‌) त्यसोभए ख्रीष्टको मित्र बन्‍न र यसलाई कायम राख्न हामीले के गर्नुपर्छ? यो महत्त्वपूर्ण विषय छलफल गर्नुअघि आउनुहोस्‌, असल मित्रताको सन्दर्भमा येशूको उदाहरण जाँचौं र चेलाहरूले उहाँसितको मित्रताप्रति कस्तो प्रतिक्रिया देखाए, त्यसबाट सिक्न सक्ने कुरा विचार गरौं।

असल मित्रताको उदाहरण—येशू

३. येशू केको लागि चिनिनुहुन्थ्यो?

बुद्धिमान्‌ राजा सुलेमानले लेखे: “धनीको ता धेरै मित्रहरू हुन्छन्‌।” (हितो. १४:२०) यस भनाइमा असिद्ध मानिसहरूको यस्तो झुकाव पाइन्छ—मानिसहरू ‘के दिन सक्छु, त्यसमा नभई के पाउन सक्छु’ भन्‍ने आधारमा मित्रता गाँस्छन्‌। येशूले त्यस्तो कमजोरी कहिल्यै देखाउनुभएन। मानिसको आर्थिक वा सामाजिक स्तरको आधारमा उहाँले मित्रता गाँस्नुभएन। हो, येशूलाई एक धनी जवान शासक देखेर माया लाग्यो र उसलाई अनुयायी बन्‍न निम्तो दिनुभयो। तर येशूले उसलाई जे-जति छन्‌, त्यो बेचेर गरिबलाई बाँड्‌नू भन्‍नुभयो। (मर्कू. १०:१७-२२; लूका १८:१८, २३) येशू धनी र प्रतिष्ठित व्यक्‍तिहरूको नभई गरिब तथा हेपिएकाहरूको मित्र भनेर चिनिनुहुन्थ्यो।—मत्ती ११:१९.

४. येशूका मित्रहरूमा पनि कमजोरी थियो भनेर कसरी भन्‍न सकिन्छ?

हो, येशूका मित्रहरूमा पनि कमजोरी थियो। एकचोटि पत्रुसले परमेश्‍वरको जस्तै दृष्टिकोण राख्न सकेनन्‌। (मत्ती १६:२१-२३) याकूब र यूहन्‍नाले परमेश्‍वरको राज्यमा महत्त्वपूर्ण स्थानको लागि आग्रह गरेर महत्त्वाकांक्षी मनोभाव देखाए। यस कुराले गर्दा अरू प्रेरितहरू असाध्यै रिसाए अनि तिनीहरूबीच सधैं ‘को ठूलो’ भन्‍ने विवाद हुन्थ्यो। तर येशूले धैर्य गरेर आफ्ना मित्रहरूको सोचाइ सच्याउने कोसिस गर्नुभयो र तिनीहरूसित झोकिहाल्ने गर्नुभएन।—यूह. १३:२१-३५.

५, ६. (क) येशू धेरैजसो प्रेरितसित मित्र भइरहनुभयो, किन? (ख) येशूले यहूदासित किन मित्रता तोड्‌नुभयो?

येशू जे कुरा पनि ‘होस्‌, भइहाल्यो’ भन्‍ने विचारको हुनुभएकोले वा यी असिद्ध चेलाहरूको गल्तीप्रति आँखा चिम्लने हुनुभएकोले तिनीहरूको मित्र भइरहनुभएको थिएन। उहाँ तिनीहरूको असल मनसाय र गुणहरूमा ध्यान दिनुहुन्थ्यो। जस्तै:- येशूको जीवनको अत्यन्तै कठिन घडीमा पत्रुस, याकूब र यूहन्‍ना उहाँलाई साथ दिनुको सट्टा मस्त निदाए। तिनीहरू देखेर येशू निराश हुनु स्वाभाविक थियो। तैपनि येशूले तिनीहरूको असल मनसाय देख्नुभयो र भन्‍नुभयो: “आत्मा ता साँच्चै तयार छ, तर शरीर दुर्बल छ।”—मत्ती २६:४१.

तर येशूले यहूदा इस्करयोतीसित भने मित्रता तोड्‌नुभयो। यहूदाले मित्रताको ढोंग गरे तापनि पहिलेको यो घनिष्ठ मित्रले आफ्नो हृदय भ्रष्ट बनाउन थालेको येशूले थाह पाउनुभयो। यहूदा संसारको मित्र बनेकोले परमेश्‍वरको शत्रु भयो। (याकू. ४:४) त्यसैकारण येशूले आफ्ना ११ जना विश्‍वासी प्रेरितहरूलाई मित्र भनी सम्बोधन गर्नुहुँदा यहूदालाई त्यहाँबाट पठाइसक्नुभएको थियो।—यूह. १३:२१-३५.

७, ८. येशूले मित्रहरूप्रतिको प्रेम कसरी व्यक्‍त गर्नुभयो?

येशूले आफ्ना वफादार मित्रहरूको गल्तीमा होइन, तिनीहरूको भलाइमा ध्यान दिनुभयो। जस्तै:- परीक्षाको बेला तिनीहरूलाई जोगाउनुहोस्‌ भनी पितालाई प्रार्थना गर्नुभयो। (यूहन्‍ना १७:११ पढ्‌नुहोस्‌) येशूले तिनीहरूको शारीरिक सीमितता बुझ्नुभयो। (मर्कू. ६:३०-३२) अनि उहाँ आफूलाई मन परेको कुरा मात्र बताउने गर्नुहुन्‍न थियो तर तिनीहरूको विचार र भावना सुन्‍न र बुझ्न पनि चाहनुहुन्थ्यो।—मत्ती १६:१३-१६; १७:२४-२६.

येशू आफ्ना मित्रहरूका लागि बाँच्नुभयो र तिनीहरूकै लागि मर्नुभयो। पिताको न्यायिक स्तरबमोजिम गर्न आफ्नो जीवन अर्पण गर्नैपर्छ भनेर येशूलाई थाह थियो। (मत्ती २६:२७, २८; हिब्रू ९:२२, २८) तर येशूले प्रेमको अभिव्यक्‍तिस्वरूप आफ्नो जीवन अर्पण गर्नुभयो। उहाँले भन्‍नुभयो: “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनुभन्दा बढ्‌ता प्रेम कसैको हुँदैन।”—यूह. १५:१३.

येशूको मित्रताप्रति चेलाहरूले कस्तो प्रतिक्रिया देखाए?

९, १०. येशूको उदारताप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाए?

येशू आफ्नो समय र स्रोतसाधन दिनुका साथै स्नेह देखाउन उदार हुनुहुन्थ्यो। फलस्वरूप मानिसहरू उहाँप्रति खिचिन्थे र उहाँलाई पनि दिन पाउँदा खुसी हुन्थे। (लूका ८:१-३) व्यक्‍तिगत अनुभवबाट येशूले यसो भन्‍न सक्नुभयो: “देओ, र तिमीहरूलाई दिइनेछ। पूरा नाप खाँदी-खाँदी, बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा दिनेछन्‌। किनकि जुन नापले तिमीहरू नाप्दछौ, त्यसरी तिमीहरूका निम्ति पनि नापिनेछ।”—लूका ६:३८.

१० अवश्‍य पनि कसैकसैले आफ्नो स्वार्थ पूरा गर्नको लागि मात्र उहाँसित संगत बढाउन खोजे। यी साथी भइटोपल्नेहरू येशूका केही कुरा नबुझेपछि उहाँलाई चटक्कै छोडेर हिंडे। कुरा नबुझे पनि येशूलाई भरोसा गर्नुपर्नेमा तिनीहरू तुरुन्तै गलत निष्कर्षमा पुगे र उहाँलाई छोडेर हिंडे। तर प्रेरितहरू भने वफादार थिए। येशू र तिनीहरूबीचको मित्रताको अक्सर जाँच हुन्थ्यो तर तिनीहरूले उहाँलाई राम्रो र नराम्रो दुवै समयमा समर्थन गर्न सक्दो गरे। (यूहन्‍ना ६:२६, ५६, ६०, ६६-६८ पढ्‌नुहोस्‌) पृथ्वीमा आफ्नो अन्तिम रात येशूले आफ्ना मित्रहरूको प्रशंसा गर्दै भन्‍नुभयो: “तिमीहरू मेरो परीक्षामा मसितै रहेकाहरू हौ।”—लूका २२:२८.

११, १२. येशूले चेलाहरूलाई कसरी आश्‍वस्त पार्नुभयो र तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?

११ येशूले चेलाहरूको वफादारीको प्रशंसा गरेको केही समय नबित्दै तिनीहरूले उहाँलाई त्यागे। क्षणभरको लागि मानिसको डरले गर्दा ख्रीष्टप्रतिको तिनीहरूको प्रेम ओझेलमा पऱ्‍यो। फेरि पनि येशूले तिनीहरूलाई क्षमा दिनुभयो। मृत्युबाट पुनरुत्थान भएपछि उहाँ तिनीहरूसामु देखा पर्नुभयो र तिनीहरू अझै उहाँका मित्र हुन्‌ भनी आश्‍वस्त पार्नुभयो। यसबाहेक तिनीहरूलाई पवित्र काम अर्थात्‌ “सबै देशका जातिहरूलाई” चेला बनाउने र “पृथ्वीको अन्तसम्म” उहाँको साक्षी दिने काम सुम्पनुभयो। (मत्ती २८:१९; प्रेरि. १:८) चेलाहरूले कस्तो प्रतिक्रिया देखाए?

१२ चेलाहरू राज्य सन्देश फैलाउने काममा तनमन दिएर लागे। यहोवाको पवित्र आत्माको मदत पाएर तिनीहरूले यरूशलेमभरि आफ्नो शिक्षा फैलाइहाले। (प्रेरि. ५:२७-२९) मार्ने धम्कीले पनि तिनीहरूलाई चेला बनाओ भन्‍ने येशूको आज्ञा पालन गर्नदेखि रोक्न सकेन। येशूले आज्ञा गरेको केही दशकभित्र नै प्रेरित पावलले सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा” प्रचारियो भन्‍न सके। (कल. १:२३) निश्‍चय नै यी प्रेरितहरूले येशूसितको मित्रतालाई मोल गरेको कुरा प्रमाणित गरे।

१३. चेलाहरूले आफ्नो जीवन येशूको शिक्षाबाट कसरी प्रभावित हुन दिए?

१३ चेला भएकाहरूले आफ्नो जीवन येशूको शिक्षाबाट पनि प्रभावित हुन दिए। यसको मतलब थुप्रैले आफ्नो आचरण र व्यक्‍तित्वमा आमूल परिवर्तन गर्नुपर्थ्यो। केही नयाँ चेलाहरू पहिले समलिंगी, व्यभिचारी, मतवाला वा चोरहरू थिए। (१ कोरि. ६:९-११) अरू केहीले चाहिं अर्को जातिप्रतिको आफ्नो मनोवृत्ति परिवर्तन गर्नुपऱ्‍यो। (प्रेरि. १०:२५-२८) जे होस्‌ तिनीहरूले येशूको आज्ञा पालन गरे। तिनीहरूले आफ्नो पुरानो व्यक्‍तित्व त्यागेर नयाँ व्यक्‍तित्व धारण गरे। (एफि. ४:२०-२४) येशूको विचार र कार्यशैली बुझेर अनि अनुकरण गरेर तिनीहरू “ख्रीष्टको मन”-सित राम्ररी भिजे।—१ कोरि. २:१६.

आज ख्रीष्टसित हाम्रो मित्रता

१४. “जगत्‌को अन्त”-को दौडान येशूले के गर्ने प्रतिज्ञा गर्नुभयो?

१४ प्रथम शताब्दीका थुप्रै ख्रीष्टियानले येशूलाई व्यक्‍तिगत रूपमा चिनेका थिए वा उहाँलाई पुनरुत्थानपछि देखेका थिए। पक्कै पनि हामीले त्यस्तो सुअवसर पाएका छैनौं। त्यसोभए हामी कसरी ख्रीष्टको मित्र हुन सक्छौं? एउटा तरिका, विश्‍वासी र बुद्धिमान्‌ दास वर्गले दिने निर्देशन पालन गर्नु हो। यो वर्ग पृथ्वीमा रहेका येशूका आत्मा अभिषिक्‍त भाइहरू मिलेर बनेको छ। “जगत्‌को अन्त”-को दौडान यो दास वर्गलाई “आफ्नो सारा सम्पत्तिमाथि” नियुक्‍त गर्ने प्रतिज्ञा येशूले गर्नुभयो। (मत्ती २४:३, ४५-४७) आज येशूसित मित्रता गाँस्न चाहने अधिकांश व्यक्‍ति उक्‍त वर्गमा पर्दैनन्‌। विश्‍वासी दास वर्गले दिने निर्देशनप्रति यिनीहरूको प्रतिक्रियाले येशूसितको मित्रतामा कस्तो असर पार्छ?

१५. कुनै व्यक्‍ति भेडा वा बाख्रा कुन वर्गमा पर्नेछ भनेर केको आधारमा छुट्याइन्छ?

१५ मत्ती २५:३१-४० पढ्‌नुहोस्‌। विश्‍वासी दास वर्ग बन्‍ने व्यक्‍तिहरूलाई येशूले भाइहरू भनेर सम्बोधन गर्नुभयो। भेडालाई बाख्राबाट छुट्याउने दृष्टान्तमा येशूले उहाँका भाइहरूसित हामीले गर्ने व्यवहारलाई उहाँसित व्यवहार गरेसरह ठान्‍नुहुन्छ भनेर प्रस्टै बताउनुभयो। वास्तवमा भेडालाई बाख्राबाट छुट्याउने एउटा महत्त्वपूर्ण आधार “[उहाँका] भाइहरूमध्ये सबैभन्दा सानो एउटालाई जे जति” गर्छौं, त्यो हो भन्‍नुभयो। त्यसैले पृथ्वीमा बस्ने आशा भएकाहरूले ख्रीष्टसित मित्रता गाँस्ने चाहना देखाउने एउटा मुख्य तरिका विश्‍वासी दास वर्गलाई समर्थन गर्नु हो।

१६, १७. ख्रीष्टका भाइहरूसितको मित्रता हामी कसरी देखाउन सक्छौं?

१६ परमेश्‍वरको राज्यअन्तर्गत पृथ्वीमा बाँच्ने आशा गर्नुहुन्छ भने ख्रीष्टका भाइहरूसितको मित्रता तपाईं कसरी देखाउन सक्नुहुन्छ? आउनुहोस्‌ केवल तीन तरिका विचार गरौं। पहिलो तरिका, सारा हृदयले प्रचारकार्यमा भाग लिनु। ख्रीष्टले आफ्ना भाइहरूलाई संसारभरि सुसमाचार प्रचार गर्न आज्ञा दिनुभयो। (मत्ती २४:१४) तर सँगी अरू भेडाको मदतबिना यो जिम्मेवारी पूरा गर्न ख्रीष्टका बाँकी भाइहरूलाई धौधौ पर्ने थियो। वास्तवमा अरू भेडाका सदस्यले प्रचारकार्यमा जति पटक भाग लिन्छन्‌, त्यति नै पटक ख्रीष्टका भाइहरूलाई यो पवित्र कार्य पूरा गर्न मदत पुऱ्‍याइरहेका हुन्छन्‌। ख्रीष्ट अनि विश्‍वासी र बुद्धिमान्‌ दास वर्गले मित्रताको यस कार्यको गहिरो कदर गर्नुहुन्छ।

१७ दोस्रो तरिका, ख्रीष्टका भाइहरूलाई प्रचारकार्यमा आर्थिक मदत दिनु हो। येशूले आफ्ना अनुयायीहरूलाई “अधर्मको धनले” मित्र बनाओ भनेर प्रोत्साहन दिनुभयो। (लूका १६:९) यसको मतलब यहोवा र येशूसितको मित्रता किन्‍न सक्छौं भन्‍ने होइन। बरु, राज्य गतिविधिलाई अघि बढाउन आफ्नो भौतिक सम्पत्ति प्रयोग गरेर बोलीले मात्र होइन “काम र सत्यताले” पनि आफ्नो मित्रता र प्रेमको प्रमाण दिन्छौं। (१ यूह. ३:१६-१८, NRV) प्रचारकार्यमा भाग लिंदा, हाम्रो उपासनास्थलको निर्माण र मर्मतको लागि अनि विश्‍वव्यापी प्रचारकार्यको लागि अनुदान दिंदा त्यस्तो भौतिक सहयोग दिइरहेका हुन्छौं। धेरै होस्‌ वा थोरै, खुसीसाथ अनुदान दिंदा यहोवा र येशू पक्कै पनि मोल गर्नुहुन्छ।—२ कोरि. ९:७.

१८. मण्डलीका प्राचीनहरूले दिने बाइबल आधारित सल्लाह हामीले किन पालन गर्नुपर्छ?

१८ तेस्रो तरिका, हामी सबैले मण्डलीका प्राचीनहरूले दिने निर्देशनलाई समर्थन गर्नु हो। यी पुरुषहरू ख्रीष्टको निर्देशनमा पवित्र आत्माद्वारा नियुक्‍त भएका हुन्‌। (एफि. ५:२३) प्रेरित पावलले लेखे: “तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस।” (हिब्रू १३:१७, NRV) मण्डलीका प्राचीनहरूले दिने बाइबल आधारित निर्देशन पालन गर्न कहिलेकाहीं चुनौतीपूर्ण लाग्न सक्छ। हामीले तिनीहरूको असिद्धता देखिरहेका होऔंला। फलतः तिनीहरूले दिने सल्लाहलाई गलत ठान्‍न सक्छौं। तैपनि मण्डलीका शिर ख्रीष्ट यी असिद्ध पुरुषहरूलाई प्रयोग गर्न पाउँदा खुसी हुनुहुन्छ। त्यसैले तिनीहरूको अख्तियारप्रति हामीले देखाउने प्रतिक्रियाले सीधै ख्रीष्टसितको हाम्रो मित्रतालाई असर गरिरहेको हुन्छ। प्राचीनहरूको गल्तीलाई बेवास्ता गऱ्‍यौं र खुसीसाथ तिनीहरूको निर्देशन पालन गऱ्‍यौं भने ख्रीष्टप्रतिको हाम्रो प्रेमको प्रमाण दिइरहेका हुन्छौं।

असल मित्र कहाँ पाउन सकिन्छ?

१९, २०. मण्डलीभित्र हामी के पाउन सक्छौं र अर्को लेखमा के छलफल गर्नेछौं?

१९ येशूले मायालु गोठालोहरूको निरीक्षणमार्फत मात्र होइन, मण्डलीमार्फत अनि आध्यात्मिक आमा, दाजुभाइ र दिदीबहिनी दिएर पनि हाम्रो हेरचाह गरिरहनुहुन्छ। (मर्कूस १०:२९, ३० पढ्‌नुहोस्‌) तपाईंले सुरु-सुरुमा यहोवाको संगठनसित संगत गर्न थाल्नुहुँदा आफन्तहरूले कस्तो प्रतिक्रिया देखाए? परमेश्‍वर र ख्रीष्टसित नजिक हुने तपाईंको प्रयासमा तिनीहरूले पक्कै पनि समर्थन गरे होलान्‌। तर कहिलेकाहीं “मानिसका शत्रु ता उसको आफ्ना परिवार भित्रकैहरू हुनेछन्‌” भनेर येशूले चेताउनी दिनुभयो। (मत्ती १०:३६) साक्खै दाजुभाइभन्दा पनि नजिक हुने साथीहरू मण्डलीमा पाउनु कत्ति सान्त्वनादायी कुरा!—हितो. १८:२४.

२० रोमको मण्डलीलाई लेखेको पत्रको अन्तमा ‘सलाम भनिदिनू’ भनेर उल्लेख गरेका नाउँहरूबाट पावलका थुप्रै घनिष्ठ मित्र रहेछन्‌ भन्‍ने संकेत पाउँछौं। (रोमी १६:८-१६) प्रेरित यूहन्‍नाले आफ्नो तेस्रो पत्रको अन्तमा यसो भने: “मित्रहरूलाई नाउँ लिएर सलाम भनिदेऊ।” (३ यूह. १४) पक्कै पनि थुप्रैसित तिनको अटुट मित्रता थियो। मण्डलीका भाइबहिनीलाई मित्र बनाएर र त्यस मित्रतालाई कायम राखेर हामी येशू र उहाँका चेलाहरूको उदाहरण कसरी अनुकरण गर्न सक्छौं? अर्को लेखले यस प्रश्‍नको जवाफ दिनेछ। ( w 09 10/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• असल मित्र हुने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो?

• येशूको मित्रताप्रति चेलाहरूले कस्तो प्रतिक्रिया देखाए?

• येशूसित हाम्रो मित्रताको प्रमाण कसरी दिन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएको चित्र]

येशू आफ्ना मित्रहरूको विचार र भावना बुझ्न चाहनुहुन्थ्यो

[पृष्ठ २७-मा भएको चित्र]

ख्रीष्टसित मित्रता गाँस्ने चाहना कसरी देखाउन सक्छौं?