सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरबाट पाइने धन

परमेश्‍वरबाट पाइने धन

परमेश्‍वरबाट पाइने धन

परमेश्‍वरप्रति वफादार हुनुहुन्छ भने के उहाँले तपाईंलाई प्रशस्त धनसम्पत्ति दिएर आशिष्‌ दिनुहुन्छ? दिनुहुन्छ होला, तर तपाईंले आशा गरेकै सम्पत्तिचाहिं नहुन सक्छ। येशूकी आमा मरियमलाई विचार गर्नुहोस्‌। स्वर्गदूत गब्रिएल उनीकहाँ देखा परे र उनी परमेश्‍वरको “कृपाको पात्र” भएकोले परमेश्‍वरको छोरा जन्माउनेछिन्‌ भनेर बताए। (लूका १:२८, ३०-३२) तर मरियम धनी थिइनन्‌। येशू जन्मिएपछि उनले “एक जोड ढुकुर कि परेवाका दुईवटा बच्चा” यहोवालाई चढाइन्‌ जुन गरिबहरूले चढाउने भेटी थियो।—लूका २:२४; लेवी १२:८.

मरियम गरिब थिइन्‌ भन्दैमा उनलाई परमेश्‍वरको आशिष्‌ नै थिएन त? त्यसको विपरीत, नातेदार एलीशिबालाई भेट्‌न जाँदा “एलीशिबा पवित्र आत्माले भरिन्‌, औ चर्को स्वरले कराएर भनिन्‌, ‘तिमी [मरियम] स्त्रीहरूमा धन्य, र तिम्रो गर्भको फल धन्य हुनुहुन्छ।’ ” (लूका १:४१, ४२) परमेश्‍वरको प्रिय पुत्रलाई पृथ्वीमा जन्माउने सुअवसर मरियमले पाइन्‌।

येशू पनि धनी हुनुहुन्‍नथ्यो। येशू गरिब ठाँउमा जन्मनुभएको र गरिब आमाबाबुद्वारा हुर्काइनुभएको मात्र होइन पृथ्वीमा छउञ्जेल गरिब हुनुहुन्थ्यो। उहाँको चेला बन्‍न चाहने एक जना मानिसलाई उहाँले यसो भन्‍नुभयो: “फ्याउराहरूका प्वाल छन्‌, र आकाशका चरा-चुरुङ्‌गीहरूका गुँड, तर मानिसको पुत्रको ता शिर राख्ने ठाउँ पनि छैन।” (लूका ९:५७, ५८) तथापि येशू ख्रीष्ट पृथ्वीमा आउनुभएकोले चेलाहरूले अपार धनसम्पत्ति पाउनु सम्भव भयो। प्रेरित पावल लेख्छन्‌: “उहाँको दरिद्रताबाट तिमीहरू धनी होओ भनेर, उहाँ धनी भएर पनि, तिमीहरूका खातिर दरिद्र हुनुभयो।” (२ कोरिन्थी ८:९) येशूले आफ्ना चेलाहरूलाई कस्तो धन दिनुभयो? आज हामीसँग कस्तो धन छ?

कस्तो धन?

प्रायः भौतिक धनसम्पत्तिले विश्‍वासमा बाधा पुऱ्‍याउँछ, किनभने धनी व्यक्‍ति परमेश्‍वरमा नभई रुपियाँ-पैसामा भर पर्न सक्छ। येशूले भन्‍नुभयो: “धनीहरू कस्तो कठिनसँग परमेश्‍वरको राज्यभित्र पस्छन्‌!” (मर्कूस १०:२३) त्यसैले कुरा स्पष्ट छ, येशूले चेलाहरूलाई दिएको धन भौतिक धनसम्पत्ति थिएन।

वास्तवमा, प्रथम शताब्दीका धेरैजसो ख्रीष्टियान गरिब थिए। गर्भदेखिको लङ्‌गडोले पत्रुससित पैसा माग्दा उनले यस्तो उत्तर दिए: “सुन र चाँदी ता मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टका नाउँमा हिंडडुल गर्‌!”—प्रेरित ३:६.

ख्रीष्टियान मण्डली विशेषतः गरिबहरू मिलेर बनेको थियो भनेर चेला याकूबका शब्दले पनि संकेत गर्छ। उनले लेखे: “हे मेरो प्यारा भाइ हो, सुन, के परमेश्‍वरले यस पृथ्वीका कङ्‌गालीहरूलाई विश्‍वासको खानी, र उहाँलाई प्रेम गर्नेहरूको निम्ति उहाँले प्रतिज्ञा गर्नुभएका राज्यको हकदार बनाउनलाई चुन्‍नुभएको होइन?” (याकूब २:५) यसबाहेक पावलले पनि “शरीरअनुसार . . . बुद्धिमान” अथवा “शक्‍तिमान” अथवा “खानदानी”-मध्ये धेरै जना ख्रीष्टियान मण्डलीको भाग हुन बोलाइएका थिएनन्‌ भनेर स्पष्ट पारे।—१ कोरिन्थी १:२६.

यदि येशूले चेलाहरूलाई भौतिक धन दिनुभएको थिएन भने कस्तो धन दिनुभएको थियो त? स्मर्नाको मण्डलीलाई पठाएको पत्रमा येशूले भन्‍नुभयो: “तिम्रो कष्ट, र तिम्रो दरिद्रता . . . मलाई थाह छ।” “तर तिमी ता धनी छौ।” (प्रकाश २:८,  ९) स्मर्नाका ख्रीष्टियानहरू गरिब भएता पनि तिनीहरूसित सुनचाँदीभन्दा बहुमूल्य धनसम्पत्ति थियो। परमेश्‍वरप्रतिको विश्‍वास र सत्यनिष्ठाले तिनीहरू धनी थिए। विश्‍वास अनमोल छ किनकि “सबैमा विश्‍वास छैन।” (२ थिस्सलोनिकी ३:२) जोसँग विश्‍वास छैन वास्तवमा उनीहरू यहोवाको नजरमा गरिब हुन्‌।—प्रकाश ३:१७, १८.

विश्‍वास गरेकोले पाइने धन

त्यसोभए कुनकुन तरिकामा विश्‍वास अनमोल छ? परमेश्‍वरमा विश्‍वास गर्नेहरूले “उहाँको दया, सहनशीलता र धैर्यको सम्पत्ति”-बाट लाभ उठाउँछन्‌। (रोमी २:४) साथै तिनीहरूले येशूको फिरौतीको बलिदानमा विश्‍वास राखेको कारण “ अपराधहरूको क्षमा” पाउँछन्‌। (एफिसी १:७) त्यसबाहेक जोसँग विश्‍वास छ तिनीहरूसित “ख्रीष्टको वचन”-को बुद्धि हुन्छ। (कलस्सी ३:१६) तिनीहरूले परमेश्‍वरमा विश्‍वास राख्दै प्रार्थना गर्दा “सारा समझलाई माथ” गर्ने “परमेश्‍वरको शान्तिले” तिनीहरूको मन अनि हृदयलाई रक्षा गर्नुका साथै तिनीहरूलाई आनन्दित र सन्तुष्ट बनाउँछ।—फिलिप्पी ४:७.

यी आशिष्‌हरूको अलावा परमेश्‍वरमा उहाँको पुत्र येशू ख्रीष्टमार्फत विश्‍वास गर्नेहरूले पाउने आशिष्‌ पृथ्वीमा सधैंभरि बाँच्ने अद्‌भुत प्रत्याशा हो। येशू ख्रीष्टको यो वचन थाहै छ: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) पिता र पुत्रलाई चिन्दा अर्थात्‌ उहाँहरूको सही ज्ञान लिंदा यो अद्‌भुत प्रत्याशा मजबुत हुन्छ, किनभने येशूले यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

परमेश्‍वरले दिने आशिष्‌ विशेषतः आध्यात्मिक भए तापनि यसले शारीरिक र भावनात्मक लाभहरू पनि दिन्छ। ब्राजिलका डालिदियोलाई विचार गर्नुहोस्‌। परमेश्‍वरको उद्देश्‍यको सही ज्ञानमा आउनुअघि उनी मद्यव्यसनी थिए। यसले गर्दा उनको पारिवारिक सम्बन्ध अत्यन्तै बिग्रिएको थियो। त्यसमाथि उनको आर्थिक अवस्था एकदमै नाजुक थियो। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गरेपछि उनले आफूमा उल्लेखनीय परिवर्तन अनुभव गरे।

बाइबलबाट पाएको ज्ञानले डालिदियोलाई खराब बानी त्याग्न मदत गऱ्‍यो। आध्यात्मिक तवरमा उनले यत्ति उन्‍नति गरे कि उनी भन्छन्‌: “पहिले म भट्टी-भट्टी चाहर्थें तर अहिले भने प्रचार गर्न घर-घर जान्छु।” उनी परमेश्‍वरको वचनको पूर्ण-समय प्रचारक भए। यस्तो परिवर्तनले उनको स्वास्थ्य मात्र होइन आर्थिक अवस्था पनि सुध्रियो। उनी भन्छन्‌: “जुन पैसा म पहिला पिउन खर्च गर्थें, अहिले खाँचोमा परेकालाई सघाउन वा आफ्नो आवश्‍यकता पूरा गर्न चलाउँछु।” उनको जस्तै आध्यात्मिक सोचाइ भएकाहरूसित संगत गरेर पनि उनले थुप्रै साँचो मित्र बनाएका छन्‌। अहिले डालिदियोले त्यस्तो मनोशान्ति र सन्तुष्टि पाएका छन्‌, जुन परमेश्‍वरलाई चिन्‍नुअघि उनले कल्पनासमेत गरेका थिएनन्‌।

यहोवा परमेश्‍वरमा विश्‍वास गरेर जीवनलाई समृद्ध बनाउने अर्का व्यक्‍ति हुन्‌: रेनाटो। अहिले उनको हँसिलो मुहार देख्दा उनीमाथि कत्ति अन्याय भएको थियो, विश्‍वास गर्नै गाह्रो हुन्छ। जन्मनेबित्तिकै आमाचाहिंले उनलाई वेवारिस छोडिन्‌। उनी सालनालसहित ब्यागमा पोको पारेर बेन्चमुनि छोडिए। उनको जीउ नीलडामले भरिएको र कोतरिएको थियो। त्यही बाटो हिंडिरहेका दुइटी आइमाईले बेन्चमुनिको ब्याग यताउता चलमलाएको देखे। सुरुमा त तिनीहरूलाई कसैले न्याउरा-न्याउरी छोडेर गएको हो कि जस्तो लाग्यो। तर ब्यागभित्र नवजात शिशु देखेपछि तुरुन्तै नजिकैको अस्पतालमा लगे।

तीमध्ये एउटी आइमाई यहोवाको साक्षी थिइन्‌ अनि उनले त्यस शिशुबारे अर्की साक्षी रीतालाई बताइन्‌। रीताको थुप्रै पटक गर्भ तुहेको थियो र उनकी एउटी मात्र छोरी थिई। उनलाई छोराको एकदमै चाह थियो, त्यसकारण उनले रेनाटोलाई धर्मपुत्र बनाउने निर्णय गरिन्‌।

रेनाटो अलि ठूलो भएपछि रीताले आफू उसको जन्मदिने आमा होइन भनेर बताइन्‌। तर उनले रेनाटोलाई माया र स्नेहसाथ हुर्काइन्‌ र बाइबलका सिद्धान्तहरू सिकाउन धेरै मेहनत गरिन्‌। ठूलो हुँदै गएपछि तिनले बाइबलमा चासो देखाउन थाले। पत्याउनै नसक्ने गरी बचाइएको र हुर्काइएकोमा पनि तिनी झन्‌ कृतज्ञ भए। हरेक चोटि दाऊदको यो भजन पढ्‌दा तिनको आँखा रसाउँछ: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्‌, तर परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।”—भजन २७:१०.

आफ्नो लागि यहोवाले जे जति गर्नुभयो, त्यसप्रति कृतज्ञता व्यक्‍त गर्दै रेनाटोले सन्‌ २००२ मा बप्तिस्मा लिए र लगत्तै अर्को वर्ष पूर्ण-समय ख्रीष्टियान प्रचारक बने। जन्मदिने आमाबाबु को हुन्‌ तिनलाई अहिलेसम्म थाह छैन र सायदै थाह पाउलान्‌। तथापि आफूले पाएका सबैभन्दा बहुमूल्य उपहारहरूमध्ये एउटाचाहिं यहोवालाई मायालु र ख्याल राख्ने बुबाको रूपमा चिन्‍न र विश्‍वास गर्न पाउनु हो भनेर रेनाटो महसुस गर्छन्‌।

सायद तपाईं आफ्नो जीवनलाई साँच्चै धनवान्‌ बनाउने गरी परमेश्‍वरसँग मायालु र घनिष्ठ सम्बन्ध राख्ने इच्छा गर्नुहुन्छ। यहोवा परमेश्‍वर र उहाँको पुत्र येशू ख्रीष्टसँग यस्तो सम्बन्ध राख्ने सुअवसर धनी र गरिब सबैसामु खुला छ। यसले भौतिक धनसम्पत्ति त नदेला तर मनोशान्ति र सन्तुष्टि दिन्छ जुन संसारभरको पैसाले पनि किन्‍न सकिंदैन। वास्तवमा हितोपदेश १०:२२ का यी शब्द सत्य हुन्‌: “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।”

उहाँनजिक आउनेहरूलाई यहोवा परमेश्‍वर एकदमै चासो देखाउनुहुन्छ: “यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!” (यशैया ४८:१८) सही मनसाय र मनोवृत्तिसहित उहाँसामु आउनेहरूले प्रचुर आशिष्‌ पाउने कुरा यहोवा यसरी प्रतिज्ञा गर्नुहुन्छ: “नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्‌।”—हितोपदेश २२:४.

w 09 9/1)

[पृष्ठ ५-मा भएको चित्र]

पृथ्वीमा येशूको परिवार गरिब भए तापनि परमेश्‍वरले तिनीहरूलाई प्रचुर आशिष्‌ दिनुभयो

[पृष्ठ ६-मा भएको चित्र]

परमेश्‍वरमा विश्‍वास राख्दा शान्ति, सन्तुष्टि र आनन्द पाउन सकिन्छ