सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मर्यादित, शिष्ट र परमेश्‍वरलाई खुसी तुल्याउने ख्रीष्टियान अन्त्येष्टि

मर्यादित, शिष्ट र परमेश्‍वरलाई खुसी तुल्याउने ख्रीष्टियान अन्त्येष्टि

मर्यादित, शिष्ट र परमेश्‍वरलाई खुसी तुल्याउने ख्रीष्टियान अन्त्येष्टि

चारैतिर रुवाबासी सुनिन्छ। शोक पर्दा लगाउने कालो लुगा लगाएका शोकाकुल व्यक्‍तिहरू भुइँमा लडीबडी गर्दै रोइ-कराइ गरिरहेका छन्‌। मान्छेहरू बाजाको तालमा नाचिरहेका छन्‌। अरूचाहिं खाँदै पिउँदै, चर्को स्वरले हाँस्दै मोजमज्जा गरिरहेका छन्‌। कोही त जाँड-रक्सीले मात्तिएर भुइँमा लडिरहेका छन्‌। मानिसहरू किन यसो गर्दैछन्‌? संसारमा कतैकतै सयौं मानिस भेला भएर मृतकलाई यसरी बिदाइ गर्ने चलन छ।

यहोवाका धेरैजसो साक्षीहरू अत्यन्तै अन्धविश्‍वासी र मृतकसित डराउने नातेदार र छिमेकी भएको समाजमा बस्छन्‌। मानिस मरेपछि ऊ आफ्ना पितृसित मिल्न जान्छ र उसले जिउँदाहरूलाई मदत गर्न वा हानि पुऱ्‍याउन सक्छ भनेर लाखौं मानिसहरू विश्‍वास गर्छन्‌। त्यसैले मानिसहरू विधि पुऱ्‍याएर काजक्रिया गर्छन्‌। निश्‍चय पनि, मृत्यु हुँदा रुनु स्वाभाविक हो। येशू र उहाँका चेलाहरू पनि आफ्ना प्रियजनको मृत्यु हुँदा रुनुभएको थियो। (यूह. ११:३३-३५, ३८; प्रेरि. ८:२; ९:३९) तर उहाँहरूले कहिल्यै पनि त्यतिखेरका मानिसहरूले जस्तो अचाक्ली शोक गर्नुभएन। (लूका २३:४८; १ थिस्स. ४:१३) किन? एउटा कारण, उहाँहरूले मृत्युबारे सत्य कुरा बुझ्नुभएको थियो।

बाइबल स्पष्टसित बताउँछ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . तिनीहरूका निम्ति प्रेम, घृणा, अभिलाषा सबै खतम भएका हुन्छन्‌। . . . मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।” (उप. ९:५, ६, १०) परमेश्‍वरको प्रेरणा पाएर लेखिएका यी बाइबल पदले मरेपछि मानिसलाई कुनै पनि कुराको चेतना हुँदैन भनेर स्पष्ट पार्छ। उसले सोच्न, महसुस गर्न, कुराकानी गर्न, बुझ्न सक्दैन। बाइबलको यो महत्त्वपूर्ण सत्य थाह भएपछि ख्रीष्टियानहरूले कसरी अन्त्येष्टि गर्नुपर्छ?

“अशुद्ध कुरो नछोओ”

जुन जाति वा संस्कृतिको भए तापनि यहोवाका साक्षीहरू मृतकहरू चेतनशील हुन्छन्‌ र जीवितहरूलाई असर गर्न सक्छन्‌ भन्‍ने विश्‍वाससित सम्बन्धित जुनसुकै रीतिथितिदेखि टाढै बस्छन्‌। शव रुँगेर जाग्राम बस्नु, श्राद्ध गर्नु, वर्षदिनको काम गर्नु, विधवा संस्कार गर्नु, यी सब अशुद्ध अनि परमेश्‍वरलाई मन नपर्ने कुराहरू हुन्‌। किनभने यी प्रचलन आत्मा कहिल्यै मर्दैन भन्‍ने गैरशास्त्रीय शिक्षा अर्थात्‌ शैतानी शिक्षासित सम्बन्धित छन्‌। (इज. १८:४) साँचो ख्रीष्टियानहरूले “ ‘प्रभुको टेबल’ र भूत-प्रेतहरूको टेबल दुवैबाट खानसक्‍तैनन्‌;” त्यसैले यस्ता रीतिथितिमा भाग लिंदैनन्‌। (१ कोरि. १०:२१) तिनीहरू यो आज्ञा पालन गर्छन्‌: “तिमीहरू अलग होओ। . . . अशुद्ध कुरो नछोओ।” (२ कोरि. ६:१७) तर यसो गर्नु सधैं सजिलो हुँदैन।

अफ्रिका अनि अन्य ठाउँमा, केही खास काजक्रिया गरिएन भने पितृ रिसाउँछन्‌ भन्‍ने विश्‍वास व्याप्त छ। काजक्रियाको विधि पुऱ्‍याउन सकिएन भने पितृले सराप्छन्‌ वा दशा लाग्छ भनिन्छ। यहोवाका जनहरूले त्यस्ता गैरशास्त्रीय प्रचलनमा भाग नलिंदा समाज अनि नातेदारले निन्दा गरेका, बेइज्जत गरेका र समाजबाटै बहिष्कार गरेका छन्‌। केहीलाई समाज-विरोधी अनि मृतकलाई आदर नगर्ने व्यक्‍ति भन्‍ने आरोपसमेत लगाइएको छ। कहिलेकाहीं त बेग्लै विश्‍वास भएका आफन्तहरूले आफ्नो चलनअनुसार गर्न ख्रीष्टियानहरूको अन्त्येष्टिमा जबरजस्ती गरेका छन्‌। तसर्थ परमेश्‍वरलाई मन नपर्ने प्रचलनअनुसार काजक्रिया गर्नैपर्छ भनेर जिद्दी गर्नेहरूसित टक्कर नपरोस्‌ भन्‍ने चाहन्छौं भने हामीले के गर्नुपर्छ? अझ त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, यहोवासितको हाम्रो सम्बन्ध बिगार्न सक्ने अशुद्ध प्रचलन तथा संस्कारबाट कसरी जोगिन सक्छौं?

आफ्नो अडान स्पष्ट पार्नुहोस्‌

संसारको कुनै-कुनै ठाउँमा कसैको मृत्यु हुँदा उसकै खलकको मूलीले र आफन्तले काजक्रियासम्बन्धी सम्पूर्ण निर्णय गरिदिने चलन छ। त्यसैले यहोवाका साक्षीहरूले नै बाइबल सिद्धान्तअनुरूप अन्त्येष्टि गर्नेछन्‌ भनेर वफादार ख्रीष्टियानले पहिल्यै खुलस्त पार्नुपर्छ। (२ कोरि. ६:१४-१६) ख्रीष्टियान अन्त्येष्टिमा सँगी विश्‍वासीको अन्तस्करणलाई अथवा सच्चाइमा नभएका तर मृतकको अवस्थाबारे हाम्रो विश्‍वास र शिक्षासित परिचित व्यक्‍तिलाई ठेस पुऱ्‍याउने कुनै काम गर्नुहुँदैन।

मण्डलीको प्रतिनिधिलाई अन्त्येष्टि सञ्चालन गर्न भनिएको छ भने मण्डलीका प्राचीनहरूले सबै प्रबन्ध धर्मशास्त्रीय निर्देशनअनुसार होस्‌ भनेर मदतकारी सल्लाह तथा आध्यात्मिक मदत दिन सक्छन्‌। यदि केही गैर-साक्षीले अशुद्ध प्रचलनअनुसार गर्न खोजे भने दृढ हुनु अनि साहसी भई दयालु र आदरसाथ आफ्नो ख्रीष्टियान अडान बताउनु आवश्‍यक छ। (१ पत्रु. ३:१५) तर अझै पनि विश्‍वासमा नभएका नातेदारले अशुद्ध प्रचलनहरू गर्न जिद्दी गर्छन्‌ भने नि? त्यतिबेला साक्षी परिवारले त्यस अन्त्येष्टिबाट उठेर जाने निर्णय गर्न सक्छन्‌। (१ कोरि. १०:२०) यस्तो बेला प्रियजनको मृत्युले गर्दा साँच्चै दुःखी भएकाहरूलाई “धर्मशास्त्रको शान्ति” अर्थात्‌ सान्त्वना दिन स्थानीय राज्यभवन अथवा उपयुक्‍त ठाउँमा सामान्य अन्त्येष्टि भाषण मात्र दिने प्रबन्ध मिलाउन सकिन्छ। (रोमी १५:४) हुन त त्यहाँ शव नहोला तर त्यस्तो प्रबन्ध मर्यादित र पूर्ण रूपमा स्वीकार्य हुन्छ। (व्यव. ३४:५, ६, ८) अन्त्येष्टिको बेला विश्‍वासमा नभएकाहरूले हस्तक्षेप गर्दा पक्कै पनि दुःखमाथि दुःख थपिन्छ र तनाव झनै बढ्‌न सक्छ। तर हामीलाई ‘सर्वश्रेष्ठ शक्‍ति’ दिन सक्ने यहोवा परमेश्‍वरले सही काम गर्ने हाम्रो दृढ अठोट याद गर्नुहुन्छ भनेर बुझ्दा हामी सान्त्वना पाउन सक्छौं—२ कोरि. ४:७.

आफ्नो इच्छा लिखित रूपमा राख्नुहोस्‌

कुनै व्यक्‍तिले आफ्नो अन्त्येष्टिको सम्बन्धमा लिखित निर्देशन नै दिएका छन्‌ भने परिवारका गैर-साक्षी सदस्यलाई सम्झाउन निकै सजिलो हुन्छ; किनभने तिनीहरूले मृतकको इच्छाको कदर गर्न सक्छन्‌। अन्त्येष्टि कसरी र कहाँ गर्नुपर्छ, अनि कसले यसको सम्पूर्ण प्रबन्ध मिलाउने अधिकार पाउनुपर्छ जस्ता महत्त्वपूर्ण विवरण प्रस्टै उल्लेख गर्नु अत्यावश्‍यक छ। (उत्प. ५०:५) साक्षी राखेर दस्तखत गरिएको कागज अझ प्रभावकारी हुन्छ। बाइबल सिद्धान्तलाई ध्यानमा राख्दै अहिल्यै विचार पुऱ्‍याउने समझदार र बुद्धिमान्‌ व्यक्‍तिले बुढेसकाल लागेपछि अथवा सिकिस्त भएपछि गरौंला नि भन्दै कागजपत्र बनाउने काम पन्छाउँदैन।—हितो. २२:३; उप. ९:१२.

यस्तो कागजपत्र बनाउन कोही-कोही अप्ठ्यारो मान्छन्‌। तर यसो गर्नु परिपक्व ख्रीष्टियानको चिन्ह र अरूलाई माया गरेको प्रमाण हो। (फिलि. २:४) यो प्रबन्ध आफैले पहिले नै मिलाउनु अत्युत्तम हो। अन्यथा शोक परेको बेला परिवारका सदस्यलाई मृतकले विश्‍वास नगरेका वा स्वीकृति नदिएका अशुद्ध प्रचलनहरू पछ्याउन दबाब आउन सक्छ।

अन्त्येष्टि शिष्ट होस्‌

अफ्रिकाको धेरैजसो ठाउँमा पितृलाई रीस नउठाउने हो भने अन्त्येष्टि भव्य र आकर्षक हुनैपर्छ भन्‍ने विश्‍वास व्याप्त छ। अरू कतिपयले चाहिं अन्त्येष्टिलाई आफ्नो प्रतिष्ठा र धनको “शेखी” देखाउने मौका ठान्छन्‌। (१ यूह. २:१६) विधि पुऱ्‍याएर काजक्रिया गर्न निकै समय, शक्‍ति र खर्च लाग्छ। सकभर धेरै मानिसको ध्यान खिच्न ठाउँठाउँमा मृतकको ठूलठूलो फोटो राखेर अन्त्येष्टिको विज्ञापन गरिन्छ । शोक मनाउन भेला भएकाहरूलाई मृतकको फोटो छापिएको टि-सर्ट बाँडिन्छ। मानिसहरूलाई प्रभाव पार्न सानदार अनि महँगो शव-बाकस किनिन्छ। एक अफ्रिकी मुलुकमा कसैकसैले कार, हवाईजहाज, डुङ्‌गा अनि अरू चीजहरूको आकारमा शव-बाकस बनाएर आफ्नो धनसम्पत्ति, शान-शौकत देखाउँछन्‌। मानिसलाई देखाउन लासलाई शव-बाकसबाट झिकिन्छ अनि विशेष तरिकामा सजाइएको खाटमा राखिन्छ। मृतक स्त्री हुन्‌ भने तिनलाई विवाहमा लगाइने सेतो लुगा र टन्‍नै गरगहना लगाइदिइन्छ अनि सिंगारपटार गरिदिइन्छ। यस्ता प्रचलनमा भाग लिन के परमेश्‍वरका जनहरूलाई सुहाउँछ?

परमेश्‍वरका सिद्धान्त थाह नभएका र वास्ता नगर्नेहरू चुर्लम्मै डुबेका प्रचलनहरूमा रत्तिभर सहभागी नहुनु बुद्धिमानी हो भनेर परिपक्व ख्रीष्टियानहरूले बुझेका छन्‌। हामीलाई थाह छ, अचाक्ली अनि गैरशास्त्रीय रीतिथिति ‘पितातर्फको होइन, तर संसारतर्फको हो जसको अभिलाषा बितेर जान्छ।’ (१ यूह. २:१५-१७) त्यसैले अरूले भन्दा राम्रो गर्ने ध्याउन्‍नमा ख्रीष्टियानहरूलाई नसुहाउने प्रतिस्पर्धी मनोभाव देखाउनदेखि हामी एकदम होसियार हुनैपर्छ। (गला. ५:२६) अनुभवले के देखाएको छ भने जुन संस्कृति र समाजमा मरेको व्यक्‍तिको डर हुन्छ, त्यहाँ अन्त्येष्टि समारोह अक्सर भव्य हुने भएकोले हेर्दा-हेर्दै नियन्त्रणबाहिर जान्छ। मृतकलाई आदर गर्नुपर्छ भन्‍ने भावले गर्दा विश्‍वासमा नभएकाहरू सजिलै अशुद्ध कामकुरो गर्न अघि सरिहाल्छन्‌। त्यस्तो अन्त्येष्टिमा सँभाल्नै नसक्ने गरी अलापविलाप गर्ने, लासलाई अँगालो हाल्ने, जिउँदो व्यक्‍तिसित जस्तै कुरा गर्ने, शवमा पैसा अनि अरू चीजबीज चढाउने गरिन्छ। ख्रीष्टियानहरूको अन्त्येष्टिमा यस्तो भयो भने यहोवाको नाउँ र उहाँका जनहरूको ठूलो बदनाम हुनेछ।—१ पत्रु. १:१४-१६.

हामीलाई मृतकहरूको वास्तविक अवस्था थाह भएकोले सांसारिक तौरतरिकाको छनक दिने किसिमको अन्त्येष्टि नगर्न साहस मिल्छ। (एफि. ४:१७-१९) येशू अहिलेसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ अनि महत्त्वपूर्ण व्यक्‍ति हुनुभए तापनि उहाँको अन्त्येष्टि भद्र र शिष्ट थियो। (यूह. १९:४०-४२) यस्तो किसिमले अन्त्येष्टि गर्नुलाई “ख्रीष्टको मन” हुनेहरू अपमान ठान्दैनन्‌। (१ कोरि. २:१६) यसमा कुनै शंका छैन, ख्रीष्टियान अन्त्येष्टि साधारण र शिष्ट हुनु गैर-शास्त्रीय अशुद्ध चलनबाट अलग रहने अनि शान्त वातावरण अर्थात्‌ परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई सुहाउने, मर्यादित र शालीन वातावरण कायम राख्ने सर्वोत्तम तरिका हो।

हर्ष मनाउनुपर्छ?

शव दफन गरिसकेपछि नातेदार, छिमेकी अनि अरू मानिस भेला भएर भोज गर्ने र चर्को आवाजमा गीत बजाएर नाच्ने प्रथा हुन सक्छ। यस्ता अन्त्येष्टिहरूमा प्रायः खूब रक्सी पिउने र अनैतिक गतिविधि गर्ने गरिन्छ। यसरी मोजमज्जा गर्दा शोक कम गर्न सकिन्छ भनेर केहीले तर्क गर्लान्‌। अरूले चाहिं यो हाम्रो संस्कृति हो भन्लान्‌। तर मृतकको आदर अनि प्रशंसा गर्न र उसको आत्माले मुक्‍ति पाएर पितृसित मिल्न यसरी मोजमज्जा गर्नु आवश्‍यक छ भनेर थुप्रै मानिस विश्‍वास गर्छन्‌।

साँचो ख्रीष्टियानहरू धर्मशास्त्रको यो सल्लाह पालन गर्नु बुद्धिमानी सम्झन्छन्‌: “सुर्त्ता हँसाइभन्दा असल हो—त्यसले अनुहारमा उदासी ल्याए तापनि समझ-शक्‍ति तीक्ष्ण बनाउँछ।” (उप. ७:३) साथै छोटो जिन्दगी र पुनरुत्थानको आशाबारे शान्त भएर मनन गर्दा हुने फाइदाहरू तिनीहरूले बुझेका छन्‌। पक्कै पनि यहोवासित घनिष्ठ सम्बन्ध हुनेहरूका लागि “मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो।” (उप. ७:१) त्यसैले अन्त्येष्टिमा गरिने भोज र मोज गैरशास्त्रीय विश्‍वास र अनैतिक गतिविधिसित सम्बन्धित छ भन्‍ने थाह भएकोले साँचो ख्रीष्टियानहरू यसरी अन्त्येष्टि गर्नु वा यस्ता अन्त्येष्टिमा जानुसमेतलाई अत्यन्तै अनुचित ठान्छन्‌। यस्ता मोजमज्जमा जाँदा परमेश्‍वरलाई र सँगी उपासकहरूको अन्तस्करणलाई अनादर गरिरहेका हुन्छौं।

अरूले फरक देखून्‌!

आध्यात्मिक अन्धकारमा भएकाहरूबीच व्याप्त मृतकको डरबाट मुक्‍त भएकोमा हामी कत्ति खुसी छौं! (यूह. ८:३२) “ज्योतिका सन्तान” भएकोले आध्यात्मिक ज्योति झल्किने तरिकामा अर्थात्‌ भद्र, मर्यादित अनि पुनरुत्थानको पक्का आशाले गर्दा शान्त हुँदै आफ्नो शोक तथा दुःख व्यक्‍त गर्छौं। (एफि. ५:८; यूह. ५:२८, २९) यसले हामीलाई “आशा नहुने”-हरूले जस्तो अचाक्ली दुःख व्यक्‍त गर्नदेखि रोक्नेछ। (१ थिस्स. ४:१३) यसले हामीलाई मानिसको डरमा नपरी साँचो उपासनाको लागि दृढ हुन साहस दिनेछ।—१ पत्रु. ३:१३, १४.

हामीले विश्‍वासी भई धर्मशास्त्रीय सिद्धान्तहरू पालन गर्दा मानिसहरूले ‘परमेश्‍वरको सेवा गर्ने र नगर्नेको भेद छुट्याउन’ सक्नेछन्‌। (मला. ३:१८) मृत्यु नै नहुने समय पनि आउनेछ। (प्रका. २१:४) त्यो शानदार प्रतिज्ञा पूरा हुने समय पर्खुन्जेल यहोवाले हामीलाई निष्कलंक, निष्खोट अनि यस दुष्ट संसारबाट र परमेश्‍वरको अनादर गर्ने यसका रीतिथितिबाट आफूलाई पूरै अलग बसेको पाउन सकून्‌।—२ पत्रु. ३:१४. ( w 09 2/15)

[पृष्ठ १२-मा भएको चित्र]

आफ्नो अन्त्येष्टिसम्बन्धी कागजपत्र बनाउनु बुद्धिमानी हो