सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“सबै मानिसहरूसँग शान्तिमा रहो”

“सबै मानिसहरूसँग शान्तिमा रहो”

“सबै मानिसहरूसँग शान्तिमा रहो”

“हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।”—रोमी १२:१८.

१, २. (क) येशूले चेलाहरूलाई कस्तो चेतावनी दिनुभयो? (ख) विरोध आउँदा देखाउनुपर्ने प्रतिक्रियाबारे कहाँ सल्लाह पाउन सक्छौं?

 चेलाहरूलाई संसारले विरोध गर्नेछ भनेर येशूले चेतावनी दिनुभयो। अनि यसरी विरोध आउनुको कारण, येशूले आफ्नो मृत्यु हुनु अघिल्लो साँझ तिनीहरूलाई बताउनुभयो। उहाँले प्रेरितहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू यस संसारका हुँदा हौ ता संसारले आफ्नोलाई माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट छानें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।”—यूह. १५:१९.

येशूको कुरा सत्य थियो भनेर प्रेरित पावलले अनुभव गरे। युवा सहयात्री तिमोथीलाई पावलले दोस्रो पत्रमा यस्तो लेखे: “तिमी ता मेरो शिक्षा, चालचलन, अभिप्राय, विश्‍वास, सहनशीलता, प्रेम, धीरज, खेदो, कष्ट-भोगमा पछि लाग्यौ।” त्यसपछि तिनले लेखे: “ख्रीष्ट येशूमा भक्‍तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्‌।” (२ तिमो. ३:१०-१२) रोमका ख्रीष्टियानहरूलाई लेखेको पत्रको अध्याय १२ मा विरोध आउँदा देखाउनुपर्ने प्रतिक्रियाबारे पावलले तिनीहरूलाई बुद्धिमानी सल्लाह दिए। तिनका शब्दहरूले यस अन्तको समयमा हामीलाई पनि डोऱ्‍याइ दिन सक्छ।

‘जुन काम असल छ त्यही गर’

३, ४. रोमी १२:१७ मा दिइएको सल्लाह निम्न क्षेत्रमा कसरी लागू गर्न सकिन्छ: (क) एउटै धार्मिक विश्‍वास नभएको परिवारमा र (ख) छिमेकीसित व्यवहार गर्दा।

रोमी १२:१७ a पढ्‌नुहोस्‌। अरूले शत्रुको जस्तो व्यवहार गर्दा हामीले ‘जस्तालाई त्यस्तै’ गर्नुहुँदैन भनेर पावलले बताए। एउटै धार्मिक विश्‍वास नभएको परिवारमा यो सल्लाह पालन गर्नु अत्यन्तै जरुरी छ। पति वा पत्नीले कठोर बोली बोल्दा वा कठोर व्यवहार गर्दा ख्रीष्टियान पति वा पत्नीले त्यस्तै बोली बोलिहाल्ने वा व्यवहार देखाइहाल्ने इच्छालाई रोक्छन्‌। ‘खराबीको बदला खराबी गर्दा’ परिणाम असल हुँदैन। बरु परिस्थिति झनै बिग्रनुसिवाय केही हुँदैन।

पावलले अझै राम्रो तरिका सिकाए: “जुन काम सबै मानिसले असल ठान्छन्‌, त्यही गर।” पतिले पत्नीको धार्मिक विश्‍वासबारे नकारात्मक टीकाटिप्पणी गर्दा पतिप्रति दया देखाउने पत्नीले हुन सक्ने चर्काचर्कीलाई साम्य पार्न सक्छिन्‌। (हितो. ३१:१२) अहिले बेथेल सेवा गरिरहेका भाइ कार्लोस आफ्नी आमाले दयालु भइरहेर अनि राम्ररी घरव्यवहार सँभालेर पतिबाट आएको तीव्र विरोधलाई कसरी जित्न सक्नुभयो भनेर बताउँछन्‌: “बुबालाई सधैं आदर गर्न आमाले हामी छोराछोरीलाई प्रोत्साहन दिनुहुन्थ्यो। उहाँले मलाई मन नपर्ने तर बुबालाई मनपर्ने खेल खेल्न कर लगाउनुहुन्थ्यो। यसरी खेलिदिंदा बुबाको मुड ठीक हुन्थ्यो।” अन्ततः उहाँले बाइबल अध्ययन थाल्नुभयो र बप्तिस्मा लिनुभयो। ‘सबै मानिसले असल ठान्‍ने काम’ गर्न यहोवाका साक्षीहरूले विपत्तिमा छिमेकीहरूलाई व्यावहारिक मदत दिएर अक्सर पूर्वाग्रह हटाएका छन्‌।

“आगोको भुङ्‌ग्रो”-ले विरोधलाई पगाल्नुहोस्‌

५, ६. (क) कुन अर्थमा शत्रुको टाउकोमा “आगोको भुंग्रो” थुपार्न सकिन्छ? (ख) रोमी १२:२० मा पाइने सल्लाह पालन गर्दा स्थानीय इलाकामा प्राप्त राम्रो नतिजाबारे बताउनुहोस्‌।

रोमी १२:२० NRV पढ्‌नुहोस्‌। यस पदका शब्दहरू लेख्दा पावलले हितोपदेश २५:२१, २२ उद्धरण गरेजस्तो देखिन्छ: “तेरो शत्रु भोका छ भने त्यसलाई खुवा, त्यो तिर्खाएको छ भने त्यसलाई पानी दे। त्यसरी तैंले त्यसको थाप्लोमा आगोको भुंग्रो खनाइदिनेछस्‌, र परमप्रभुले तँलाई प्रतिफल दिनुहुनेछ।” रोमी १२ अध्यायमा पाइने पावलको सल्लाह विचार गर्दा आगोको भुंग्रो टाउकोमा थुपार्नुको अर्थ तिनले विरोधीलाई दण्ड दिनु वा लाजमा पार्नु भन्‍न खोजेका थिएनन्‌। बरु, माथि उल्लिखित शब्दहरू र रोमीहरूलाई लेखेका पावलका त्यस्तै शब्दहरूले धातु पगाल्ने प्राचीन तरिकालाई बुझाइरहेको जस्तो देखिन्छ। उन्‍नाइसौं शताब्दीका अंग्रेज विद्वान चार्ल्स ब्रिजेजले यसो भने: “अति कडा धातु पगाल्न मुनिबाट आगो बालेर मात्र पुग्दैन तल, माथि, दायाँ, बायाँ सबैतिरबाट झरिलो कोइला थुपार्नुपर्छ।” कसै-कसैको मन यत्ति कडा हुन्छ कि धैर्यवान्‌ भएर, आफैलाई तिरस्कार गरेर अनि प्रबल प्रेम देखाएर पनि पगाल्न गाह्रो हुन्छ।

‘आगोको भुंग्रोले’ जस्तै दयालु कामले विरोधीहरूको मन पगाल्न सक्छ र तिनीहरूलाई यहोवाका जनहरूसित शत्रुवत्‌ व्यवहार गर्नदेखि रोक्न सक्छ। दयालु काम गर्दा यहोवाका जनहरू र उनीहरूले प्रचार गर्ने बाइबल सन्देशप्रति विरोधीहरूको मन जित्न सकिन्छ। प्रेरित पत्रुसले लेखे: “अन्य जातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्‌, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।”—१ पत्रु. २:१२.

“सबै मानिसहरूसँग शान्तिमा रहो”

७. ख्रीष्टले चेलाहरूलाई दिन्छु भनेको शान्ति के हो र यसले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्छ?

रोमी १२:१८ पढ्‌नुहोस्‌। प्रेरितहरूसित बिताएको अन्तिम रात येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु।” (यूह. १४:२७) यहोवा परमेश्‍वर र उहाँको प्रिय पुत्रले तिनीहरूलाई माया र अनुमोदन गरेको महसुस गर्दा पाइने मनोशान्ति नै ख्रीष्टले चेलाहरूलाई दिन्छु भनेको शान्ति हो। यो मनोशान्तिले हामीलाई अरूसित शान्तिमा बस्न उत्प्रेरित गर्नुपर्छ। साँचो ख्रीष्टियानहरू शान्ति मन पराउँछन्‌ र शान्ति गराउनेहरू हुन्‌।—मत्ती ५:९.

८. घरमा अनि मण्डलीमा हामी कसरी शान्ति गराउनेहरूमध्ये हुन सक्छौं?

शान्ति गराउनेहरूमध्ये हुने एउटा तरिका हो: परिवारमा मतभेद हुँदा परिस्थितिलाई झन्‌ बिग्रन दिनुको साटो सकभर तुरुन्तै मतभेद सुल्झाउनु। (हितो. १५:१८; एफि. ४:२६) ख्रीष्टियान मण्डलीमा पनि त्यसै गर्नुपर्छ। प्रेरित पत्रुस शान्तिको पछि लाग्नुलाई जिब्रो तह लगाउनुसित गाँस्छन्‌। (१ पत्रु. ३:१०, ११) याकूबले पनि जिब्रोको सही प्रयोग गर्ने र इबी तथा विरोध तिरस्कार गर्नेबारे कडा सल्लाह दिइसकेपछि यस्तो लेखे: “जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ। शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन्‌, र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्‌।”—याकू. ३:१७, १८, NRV.

९. ‘सबै मानिसहरूसँग शान्तिमा रहने’ कोसिस गर्दा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

शान्ति गराउनेहरूमध्ये हुने सम्बन्धमा पावलले रोमी १२:१८ मा दिएको सल्लाह परिवार र मण्डलीमा मात्र सीमित छैन। तिनले हामी ‘सबै मानिसहरूसँग शान्तिमा रहनुपर्छ’ भने। यसमा छिमेकी, सहकर्मी, सहपाठी अनि प्रचारमा भेटिने मानिसहरू पर्छन्‌। तथापि तिनले उक्‍त सल्लाहमा “हुनसक्छ भने, सक्दोभर” पनि भनेका छन्‌। यसको अर्थ परमेश्‍वरका धार्मिक सिद्धान्तहरूसित सम्झौता नगरीकनै व्यावहारिक भएसम्म ‘सबै मानिसहरूसँग शान्तिमा रहन’ सक्दो गर्नु हो।

बदला लिने काम यहोवाको हो

१०, ११. ‘परमेश्‍वरको क्रोधलाई स्थान दिनु’ किन उपयुक्‍त छ?

१० रोमी १२:१९ पढ्‌नुहोस्‌। हाम्रो काम, हाम्रो सन्देश अनि हामीलाई सरासर “विरोध गर्नेहरू”-सित हामी “सहनशील” हुनैपर्छ र “नम्र” व्यवहार गर्नैपर्छ। (२ तिमो. २:२३-२५) बदला नलेओ तर “परमेश्‍वरको क्रोधलाई स्थान देओ” भनेर पावल ख्रीष्टियानहरूलाई सल्लाह दिन्छन्‌। ख्रीष्टियान भएकोले हामीलाई थाह छ, बदला लिने काम हाम्रो होइन। भजनरचयिताले यसरी लेखे: “रिसाउन छोड्‌ र क्रोधलाई त्याग्‌। व्याकुल नहो, यसले खराबी गर्नतिर ढल्काउँछ।” (भज. ३७:८) अनि सुलेमानले यस्तो सल्लाह दिए: “बुराइको साटो बुराइ दिने विचार नगर्‌, तँलाई बचाउन परमप्रभुको प्रतीक्षा गर्‌।”—हितो. २०:२२.

११ विरोधीहरूले हामीलाई हानि नै गरे भने पनि यहोवाले आफ्नै समयमा र उपयुक्‍त ठान्‍नुभएमा तिनीहरूलाई सजाय दिनुहुन्छ भनेर उहाँकै हातमा छोडिदिनु बुद्धिमानी हुन्छ। यहोवाको क्रोधलाई मनमा राखेको देखाउँदै पावलले अझै यसो भने: “लेखिएको छ, ‘बदला लिने काम मेरो हो’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ” (व्यवस्था ३२:३५ NRV तुलना गर्नुहोस्‌) आफैले बदला लिन खोज्यौं भने यहोवाको अधिकार खोस्ने दुस्साहस गरिरहेका हुनेछौं। यसबाहेक यहोवाले “म बदला फेर्नेछु” भनेर गरेको प्रतिज्ञामाथि हामीले विश्‍वास नगरेसरह हुन्छ।

१२. यहोवाको क्रोध कहिले प्रकट हुनेछ र कसरी?

१२ रोमीहरूलाई लेखेको पत्रको सुरुतिर पावलले बताए: “सत्यतालाई अधर्ममा दबाइराख्ने मानिसहरूका सारा भक्‍तिहीनता र अधर्मको विरुद्धमा स्वर्गबाट परमेश्‍वरको क्रोध प्रकट भएको छ।” (रोमी १:१८) यहोवाको क्रोध “महा सङ्‌कष्ट”-मा स्वर्गबाट पुत्रमार्फत प्रकट हुनेछ। (प्रका. ७:१४) यो “परमेश्‍वरको धार्मिक इन्साफको प्रमाण” हुनेछ। “किनकि तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुनै परमेश्‍वरको न्यायसंगत काम हो, र तिमी कष्ट पाउनेहरूलाई र हामीलाई पनि आरामी दिनलाई उहाँको शक्‍तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला दिंदा” भनेर पावलले अर्को प्रेरित पत्रमा बताए।—२ थिस्स. १:५-८.

खराबीलाई भलाइले जितिरहनुहोस्‌

१३, १४. (क) सतावट आइपर्दा हामी किन अचम्म मान्दैनौं? (ख) सताउनेहरूलाई हामी कसरी आशीर्वाद दिन सक्छौं?

१३ रोमी १२:१४, २१ पढ्‌नुहोस्‌। यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ भनेर पूर्णतया विश्‍वस्त भएकोले “राज्यको यो सुसमाचार सारा संसारमा” ‘साक्षीको निम्ति प्रचार गर्न’ हामीलाई दिइएको काममा आफ्नो सारा तनमन लगाउँछौं। (मत्ती २४:१४) हामीलाई थाह छ, यस ख्रीष्टियान गतिविधिले हाम्रा शत्रुहरूलाई रीस उठाउनेछ। किनकि येशूले हामीलाई यस्तो चेतावनी दिनुभयो: “मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” (मत्ती २४:९) त्यसैले विरोध आइपर्दा हामी अचम्मित वा निराश हुँदैनौं। प्रेरित पत्रुसले यस्तो लेखे: “हे प्रिय हो, तिमीहरूलाई परीक्षा गर्न तिमीहरूमाथि परिआउने आगोसरहको परीक्षालाई केही अचम्मको कुरा भए जस्तैगरी तिमीहरू ताजुब नहोओ। तर ख्रीष्टको शासनाहरूको सहयोगी भएर रमाओ।”—१ पत्रु. ४:१२, १३.

१४ सताउनेहरूसित वैरभाव राख्नुको सट्टा तिनीहरूमध्ये केहीले अनजानमा हाम्रो खेदो गरिरहेका हुन्छन्‌ भनी बुझेकोले हामी तिनीहरूलाई सिकाउने कोसिस गर्छौं। (२ कोरि. ४:४) हामी पावलको यो सल्लाह पालन गर्ने प्रयास गर्छौं: “तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, आशीर्वाद देओ, नसराप।” (रोमी १२:१४) विरोधीहरूका लागि प्रार्थना गरिदिनु तिनीहरूलाई आशीर्वाद दिने एउटा तरिका हो। येशूले डाँडाको उपदेशमा यसो भन्‍नुभयो: “आफ्ना शत्रुलाई प्रेम गर, र तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर, तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ। तिमीहरूको अनादर गर्नेहरूका निम्ति प्रार्थना गर।” (लूका ६:२७, २८) सताउने व्यक्‍ति पनि ख्रीष्टको विश्‍वासी चेला हुन र परमेश्‍वरको जोसिलो सेवक बन्‍न सक्छ भनेर पावलले आफ्नै अनुभवबाट सिके। (गला. १:१३-१६, २३) अर्को पत्रमा पावलले बताए: “गाली पाउँदा हामी आशीर्वाद दिन्छौं, खेदो हुँदा हामी सहन्छौं। बदनाम हुँदा बिन्ती गर्छौं।”—१ कोरि. ४:१२, १३.

१५. खराबीलाई भलाइले जित्ने सर्वोत्तम तरिका के हो?

१५ त्यसैगरि साँचो ख्रीष्टियानहरू रोमी अध्याय १२ को यो अन्तिम पदअनुसार चल्छन्‌: “खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।” सबै खराबीको जड शैतान हो। (यूह. ८:४४; १ यूह. ५:१९) आफ्ना अभिषिक्‍त भाइहरूले “थुमाको रगत, र तिनका वचनको साक्षीको कारण . . . तिनीहरूले [शैतानलाई] जितेका छन्‌” भनी येशूले प्रेरित यूहन्‍नालाई दिएको प्रकाशमा प्रकट गर्नुभयो। (प्रका. १२:११) शैतान र त्यसले यस वर्तमान जगत्‌मा पारेको दुष्प्रभावमाथि विजयी हुने सर्वोत्तम तरिका राज्यको सुसमाचार प्रचार गरेर साक्षी दिनु हो।

आशामा आनन्द गर्नुहोस्‌

१६, १७. निम्न क्षेत्रमा रोमी अध्याय १२ ले हामीलाई के सिकाएको छ: (क) आफ्नो जीवन प्रयोग गर्ने सम्बन्धमा। (ख) मण्डलीमा व्यवहार गर्ने सम्बन्धमा। (ग) हाम्रो विश्‍वासको विरोध गर्नेहरूको सम्बन्धमा।

१६ पावलले रोमका ख्रीष्टियानहरूलाई लेखेको पत्रको अध्याय १२ सरसरती विचार गर्दा हामीले थुप्रै कुरा सम्झ्यौं। यहोवाका समर्पित सेवक भएकोले हामी बलिदानहरू चढाउन इच्छुक हुनुपर्छ। परमेश्‍वरको आत्माद्वारा उत्प्रेरित भएकोले हामी स्वेच्छाले यस्ता बलिदान चढाउँछौं किनभने हाम्रो तर्कशक्‍तिले हामीलाई यसो गर्नु परमेश्‍वरको इच्छा हो भनेर विश्‍वस्त गराएको छ। हामी आत्मामा जोसिला छौं र आफूले पाएका विभिन्‍न वरदान जोसिलो भई प्रयोग गर्छौं। हाम्रो ख्रीष्टियान एकतालाई जोगाउन भरमग्दुर प्रयास गर्दै हामी नम्र र विनयी भई सेवा गर्छौं। अतिथि सत्कार गरिरहन्छौं र साँचो सँगी भाव देखाउँछौं।

१७ विरोध आउँदा कस्तो प्रतिक्रिया देखाउनुपर्छ, त्यसबारे रोमी अध्याय १२ ले पनि प्रशस्त सल्लाह दिन्छ। हामीले ‘जस्तालाई त्यस्तै’ गर्नुहुँदैन। दयालु काम गरेर विरोधलाई जित्ने प्रयास गर्नुपर्छ। बाइबल सिद्धान्तहरू उल्लंघन नगरीकन सम्भव भएसम्म सबै मानिससित शान्तिमा रहने कोसिस गर्नुपर्छ। यो कुरा परिवारमा, मण्डलीमा, छिमेकसित व्यवहार गर्दा, काममा, स्कूलमा र प्रचार गर्दा लागू हुन्छ। कसैले सरासर शत्रुवत्‌ व्यवहार गर्दासमेत बदला लिने काम यहोवाको हो भनी सम्झेर हामी खराबीलाई भलाइले जित्न सक्दो गर्छौं।

१८. रोमी १२:१२ मा कुन तीन सल्लाह दिइएको छ?

१८ रोमी १२:१२ पढ्‌नुहोस्‌। यी बुद्धिमानी र व्यावहारिक सल्लाहलगायत पावलले अन्य तीन सल्लाह दिए। यिनमा हामी यहोवाको मदतविना केही पनि गर्न सक्दैनौं। त्यसैकारण पावलले “प्रार्थनामा अटूटसँग लागिरहो” भनेर सम्झाए। यसले हामीलाई “सङ्‌कष्टमा स्थिर रहो” भन्‍ने अर्को सल्लाह पालन गर्न मदत गर्नेछ। अन्तमा हामीले यहोवाको प्रतिज्ञामा ध्यान दिनु र स्वर्गमा वा पृथ्वीमा पाइने अनन्त जीवनको “आशामा आनन्द” गर्नु आवश्‍यक छ। ( w 09 10/15)

[फुटनोट]

a रोमी १२:१७ (NW ): “कसैलाई खराबीको बदला खराबी नगर। जुन काम सबै मानिसले असल ठान्छन्‌, त्यही गर।”

पुनरावलोकन गर्दा

• विरोध आउँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

• कुनकुन क्षेत्रमा हामी शान्ति गराउनेहरू हुने कोसिस गर्नुपर्छ र कसरी?

• किन हामी आफैले बदला लिन खोज्नुहुँदैन?

[प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएको चित्र]

छिमेकीहरूलाई व्यावहारिक मदत दिंदा पूर्वाग्रह हटाउन मदत पाउन सक्छौं

[पृष्ठ २१-मा भएको चित्र]

के तपाईं मण्डलीमा शान्ति गराउनेहरूमध्ये हुने प्रयास गरिरहनुभएको छ?