सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरका सेवकहरूले असल बेहोरा देखाउनुपर्छ

परमेश्‍वरका सेवकहरूले असल बेहोरा देखाउनुपर्छ

परमेश्‍वरका सेवकहरूले असल बेहोरा देखाउनुपर्छ

“परमेश्‍वरका देखासिकी गर्नेहरू होओ।”—एफि. ५:१.

१, २. (क) असल बेहोरा किन महत्त्वपूर्ण छ? (ख) यस लेखमा के छलफल गरिनेछ?

 आदरणीय आचरणबारे लेखिका शू फक्स लेख्छिन्‌: “असल बेहोरा देखाउनदेखि कहिल्यै छुट पाउन सकिंदैन। शिष्ट हुँदा कहिल्यै असफल होइँदैन।” मानिसहरूले शिष्ट हुने बानी बसाल्दा अरूसितको समस्या घट्‌छ र अक्सर समस्या हट्‌छ। तर यसको उल्टो पनि हुन्छ। अरूसित बेसोमती व्यवहार गर्दा झगडा हुन्छ, मन कुँडिन्छ अनि आनन्द गुम्छ।

साँचो ख्रीष्टियान मण्डलीमा प्रायः अत्यन्तै असल बेहोरा भएका मानिसहरू हुन्छन्‌। तैपनि संसारमा सामान्य ठानिने खराब बेहोरा अँगाल्नदेखि हामी होसियार हुनैपर्छ। शिष्टताबारे बाइबलका सिद्धान्त लागू गर्दा खराब बेहोरा अँगाल्नदेखि कसरी बच्न सकिन्छ र मानिसहरूलाई साँचो उपासनातर्फ कसरी खिच्न सकिन्छ, आउनुहोस्‌ हेरौं। असल बेहोरा कसरी देखाउन सकिन्छ सो बुझ्न यहोवा र उहाँको पुत्रको उदाहरण विचार गरौं।

यहोवा र उहाँका पुत्र —असल बेहोराका उदाहरण

३. शिष्टता देखाउने सन्दर्भमा यहोवा परमेश्‍वरले कस्तो उदाहरण बसाल्नुभएको छ?

शिष्टता देखाउने सन्दर्भमा यहोवा परमेश्‍वरले सिद्ध उदाहरण बसाल्नुभएको छ। ब्रम्हाण्डका सर्वसत्ताधारी भएता पनि उहाँ मानिसहरूलाई अति दयालु अनि आदरपूर्वक व्यवहार गर्नुहुन्छ। अब्राहाम र मोशालाई सम्बोधन गर्दा यहोवाले आदेश दिने शब्द होइन, शिष्ट भई गरिएको आग्रह बुझाउने हिब्रू शब्द प्रयोग गर्नुभयो। (उत्प. १३:१४; प्रस्थ. ४:६) आफ्ना सेवकहरूले गल्ती गर्दा यहोवा “दया र अनुग्रहले पूर्ण . . . रीस गर्नमा धीरजी, कृपा र सत्यतामा भरिपूर्ण हुनुहुन्छ।” (भज. ८६:१५) उहाँ ती मानिसहरूभन्दा एकदमै फरक हुनुहुन्छ जो आफूले आशा गरेअनुसार अरूले नगर्दा रिसले पड्‌कन्छन्‌।

४. अरूले हामीसँग कुरा गर्दा यहोवाको अनुकरण कसरी गर्न सक्छौं?

परमेश्‍वरको असल बेहोरा उहाँले मानिसको कुरा सुन्‍ने तरिकामा पनि देखिन्छ। अब्राहामले सदोमका मानिसहरूको सन्दर्भमा यहोवासित प्रश्‍न गर्दा उहाँले धीरजी भई हरेक प्रश्‍नको जवाफ दिनुभयो। (उत्प. १८:२३-३२) अब्राहामले व्यक्‍त गरेको चिन्तालाई उहाँले समयको बर्बादी ठान्‍नुभएन। यहोवा आफ्ना सेवकहरूको प्रार्थना र पश्‍चात्तापी पापीहरूको पुकारा सुन्‍नुहुन्छ। ( भजन ५१:११, १७ पढ्‌नुहोस्‌) अरूले हामीसँग कुरा गर्दा कुरा सुनिदिएर हामीले यहोवाको अनुकरण गर्नुपर्दैन र?

५. येशूको शिष्टताको अनुकरण गर्दा अरूसँगको हाम्रो सम्बन्ध कसरी सुध्रन सक्छ?

येशूले पिताबाट सिक्नुभएका थुप्रै कुरामध्ये शिष्टता पनि हो। सेवकाईमा कहिलेकाहीं धेरै समय र शक्‍ति लगाउनुपरे तापनि येशू सधैं धैर्यवान्‌ र दयालु हुनुहुन्थ्यो। कोरीहरू, मागिखाने अन्धाहरू र खाँचोमा परेकाहरूलाई मदत गर्न येशू तयार र इच्छुक हुनुहुन्थ्यो। खबरै नगरी उहाँकहाँ आए पनि येशूले तिनीहरूलाई बेवास्ता गर्नुभएन। चिन्तित व्यक्‍तिहरूलाई मदत गर्न उहाँ गरिरहेको कामसमेत अक्सर छोड्‌नुहुन्थ्यो। उहाँमा विश्‍वास गर्नेहरूलाई येशू निक्कै ख्याल राख्नुहुन्थ्यो। (मर्कू. ५:३०-३४; लूका १८:३५-४१) हामी ख्रीष्टियानहरू दयालु र मदतकारी भएर येशूको उदाहरण पछ्याउँछौं। यस्तो आचरण हाम्रा आफन्त, छिमेकी र अरूले याद गर्छन्‌। त्यसबाहेक यस्तो आचरणले यहोवाको महिमा गर्छ र हामीलाई आनन्दित बनाउँछ।

६. न्यानोपन र मित्रैलो व्यवहार देखाउने विषयमा येशूले कस्तो उदाहरण बसाल्नुभयो?

येशूले मानिसहरूलाई नाउँ नै लिएर पनि आदर देखाउनुभयो। के यहूदी धर्मगुरूहरूले पनि अरूलाई त्यसरी नै आदर गरे? गरेनन्‌। व्यवस्था नजान्‍ने मानिसहरूलाई तिनीहरू “श्रापित” ठान्थे र त्यही अनुसार व्यवहार गर्थे। (यूह. ७:४९) परमेश्‍वरका पुत्रले त त्यसो गर्नुभएन। मार्था, मरियम, जक्कै र अरू थुप्रैले आफूहरूलाई येशूले नाउँ काढेरै बोलाएको सुने। (लूका १०:४१, ४२; १९:५) आज हामीले मानिसहरूलाई सम्बोधन गर्ने तरिका संस्कृति र परिस्थितिले फरक पार्ने भए तापनि यहोवाका सेवकहरू अरूप्रति मित्रैलो व्यवहार गर्छन्‌। a वर्गभेदले गर्दा तिनीहरू सँगी विश्‍वासी र अरूले पाउनुपर्ने आदरलाई कम गर्दैनन्‌।—याकूब २:१-४ पढ्‌नुहोस्‌।

७. सबैतिरका सँगी मानवसित शिष्ट व्यवहार गर्न बाइबलका सिद्धान्तहरूले हामीलाई कसरी मदत गर्छन्‌?

परमेश्‍वर र उहाँका पुत्रले सबै जाति र वर्णका मानिसलाई व्यवहार गर्ने शिष्ट तरिकाबाट उहाँहरू तिनीहरूलाई आदर गर्नुहुन्छ भनेर देखिन्छ। अनि यसले सही मनसाय भएकाहरूलाई सत्यतिर आकर्षित गर्छ। तर कस्तो बेहोरालाई असल बेहोरा भन्‍ने ठाउँअनुसार फरक हुन्छ। त्यसैले यस सम्बन्धमा हामी अरठ्ठो नियम लागू गर्दैनौं। बरु, सबैतिरका सँगी मानवसित शिष्ट व्यवहार गर्न बाइबलका सिद्धान्तहरू लागू गरेर लचकदार हुन्छौं। शिष्ट भएर मानिससित व्यवहार गर्दा ख्रीष्टियान सेवामा कसरी अझ बढी फलदायी हुन सक्छौं, आउनुहोस्‌ जाँचौं।

अभिवादन गर्नुहोस्‌ र कुराकानी थाल्नुहोस्‌

८, ९. (क) कस्तो बानी बेसोमती बेहोरा हुन सक्छ? (ख) किन हामीले मत्ती ५:४७ मा उल्लिखित येशूका शब्दअनुसार मानिससित व्यवहार गर्नुपर्छ?

प्रायजसो ठाउँमा मानिसहरू यत्ति व्यस्त छन्‌, एकअर्कालाई ‘नमस्ते’ वा ‘सन्चै छ?’ भन्‍ने फुर्सतसमेत छैन। हूलमूलमा बाटो हिंड्‌ने सबैसित कुराकानी गरेको आशा गर्न त सकिंदैन। तर अरू थुप्रै परिस्थितिमा भने एकअर्कालाई अभिवादन गर्नु उचित र राम्रो हुन्छ। के तपाईंकहाँ मानिसहरूलाई अभिवादन गर्ने चलन छ? वा कसैलाई भेट्‌दा के तपाईं मुसुक्क नहाँसी वा केही नबोली खुरुखुरु जानुहुन्छ? मनसाय नै खराब भएर त होइन तर कसै-कसैले यस्तो बानी विकास गर्न सक्छन्‌, जुन वास्तवमा बेसोमती बेहोरा हो।

येशूले हामीलाई यसो भन्दै सम्झाउनुभयो: “तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूले भन्दा बढ्‌ता के गऱ्‍यौ र? के अन्य जातिहरूले पनि त्यसै गर्दैनन्‌ र?” (मत्ती ५:४७) यस सम्बन्धमा परामर्शदाता डोनाल्ड वाइस्‌ लेख्छन्‌: “अरूले वास्ता नगर्दा मानिसहरूलाई नमीठो लाग्छ। बेवास्ता गरिएकाहरूलाई कुनै बहाना बनाएर फकाउन सकिंदैन। त्यसैले सजिलो उपाय हो: तिनीहरूलाई अभिवादन गर्नुहोस्‌। तिनीहरूसित कुराकानी गर्नुहोस्‌।” अमित्रैलो भएर वा भावशून्य व्यवहार देखाएर अरूसितको हाम्रो सम्बन्ध चिसो पारेनौं भने नतिजा राम्रो हुनेछ।

१०. सेवकाइलाई फलदायी बनाउन असल बेहोराले कसरी मदत गर्न सक्छ? ( “मुसुक्क हाँसेर कुराकानी थाल्नुहोस्‌” शीर्षकको पेटी हेर्नुहोस्‌।)

१० अमेरिकाको एउटा ठूलो सहरमा बस्ने ख्रीष्टियान दम्पति टम र क्यारललाई विचार गर्नुहोस्‌। तिनीहरूले छिमेकीसित रमाइलो कुराकानी गर्नुलाई सेवाको एउटा भाग नै बनाएका छन्‌। कसरी? याकूब ३:१८ उल्लेख गर्दै टम भन्छन्‌: “हामी मानिससित मित्रैलो हुने र मिलापमा रहने कोसिस गर्छौं। कसैलाई आफ्नो घरअगाडि देख्दा र त्यस इलाका काम गर्नेहरूलाई देख्दा हामी कुराकानी गर्ने प्रयास गर्छौं। हामी मुसुक्क हाँस्छौं र अभिवादन गर्छौं। तिनीहरूलाई चाखलाग्ने विषयमा कुराकानी गर्छौं। जस्तै:- तिनीहरूका छोराछोरी, कुकुर, घर, जागिर आदि। समयको दौडान तिनीहरूले हामीलाई साथी ठान्‍न थाल्छन्‌। क्यारल थप्छिन्‌: “अर्कोपटक भेट्‌दा हामी आफ्नो नाउँ बताउँछौं र तिनीहरूको नाउँ पनि सोध्छौं। छर-छिमेकमा हामी के गर्दैछौं, बताउँछौं तर लामो कुरा गर्दैनौं। अन्तमा तिनीहरूलाई साक्षी दिन सक्षम हुन्छौं।” टम र क्यारलले आफ्ना धेरै छिमेकीको विश्‍वास जितेका छन्‌। थुप्रैले बाइबलआधारित प्रकाशन स्वीकारेका छन्‌। कतिले भने बाइबल सत्य सिक्न चासो देखाएका छन्‌।

कठिन परिस्थितिमा पनि शिष्टता देखाउनुहोस्‌

११, १२. सुसमाचार प्रचार गर्दा हामीलाई अशिष्ट व्यवहार गरिएको आशा किन गर्नुपर्छ र यसप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

११ सुसमाचार प्रचार गर्दा हामी कहिलेकाहीं अशिष्ट व्यवहार भोग्छौं। यो हामीले आशा गरेकै कुरा हो किनभने येशूले चेलाहरूलाई पहिले नै यस्तो चेतावनी दिनुभएको थियो: “तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌।” (यूह. १५:२०) कसैले खसालेर बोल्यो भन्दैमा जस्तालाई त्यस्तै गर्दा परिणाम राम्रो हुँदैन। हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? प्रेरित पत्रुसले यस्तो लेखे: “तर ख्रीष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान्‍न तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग [“श्रद्धासाथ,” NRV], सधैं तयार भइरहो।” (१ पत्रु. ३:१५) शिष्टता देखाउँदा अर्थात्‌ नम्र भई आदरपूर्वक प्रतिक्रिया देखाउँदा, हामीलाई खिसी गर्नेहरूको मनोवृत्ति नरम हुन सक्छ।—ती. २:७, ८.

१२ मानिसहरूले कठोर व्यवहार गरे पनि के हामी परमेश्‍वरको अनुमोदन पाउने तरिकामा प्रतिक्रिया देखाउन तयार छौं? पक्कै छौं! पावलले यस्तो सल्लाह दिए: “नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैं कृपालु होस्‌, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान”। (कल. ४:६, NRV) यदि हामीले परिवारका सदस्यहरू, सहपाठीहरू, सहकर्मीहरू, मण्डलीका सदस्यहरू र छिमेकीहरूसित शिष्ट व्यवहार गर्ने बानी बसालेका छौं भने खिसी र गिल्लाको पात्र हुँदा योग्य ख्रीष्टियानलाई सुहाउने तरिकामा प्रतिक्रिया देखाउन राम्ररी तयार भइरहेका हुन्छौं।रोमी १२:१७-२१ पढ्‌नुहोस्‌।

१३. शिष्ट व्यवहार गर्दा विरोधीहरूको मनोवृत्ति कसरी नरम हुन सक्छ, एउटा उदाहरण बताउनुहोस्‌।

१३ कठिन परिस्थितिमा असल बेहोरा देखाउँदा नतिजा राम्रो हुन्छ। उदाहरणको लागि, जापानका एक जना साक्षीलाई घरधनी र उनका पाहुनाले गिल्ला गरे। शिष्ट व्यवहार देखाउँदै ती भाइ त्यहाँबाट हिंडे। त्यस इलाकामा अझै प्रचार गरिरहेको बेला ती पाहुनाले भाइलाई नजिकैबाट नियालिरहेका रहेछन्‌। साक्षी भाइ तिनलाई भेट्‌न जाँदा तिनले भने: “जे भो, त्यसमा मलाई दुःख लागेको छ। हामीले तपाईंसित नराम्रो व्यवहार गरे पनि तपाईं मुस्कुराइरहेको मैले याद गरें। तपाईंजस्तै हुन मैले के गर्नुपर्छ?” जागिर खुस्केकोले र आमा भर्खरै बितेकीले तिनलाई फेरि आनन्दित हुन सक्छु जस्तो लागेकै थिएन। साक्षी भाइले बाइबल अध्ययनको प्रस्ताव राख्दा तिनले स्वीकारे। तिनले हप्ताको दुई चोटी अध्ययन गर्न थाले।

शिष्ट व्यवहार विकास गर्ने सर्वोत्तम तरिका

१४, १५. बाइबल समयमा यहोवाका सेवकहरूले आफ्ना छोराछोरीलाई कसरी प्रशिक्षण दिन्थे?

१४ छोराछोरीले घरैमा शिष्टता सिकेका छन्‌ कि छैनन्‌ भनी बाइबल समयका ईश्‍वरभीरु आमाबाबुले पक्का गर्थे। उत्पत्ति २२:७ मा बताइएअनुसार अब्राहाम र उनका छोरा इसहाकले आपसमा शिष्ट तरिकाले सम्बोधन गरेको कुरा विचार गर्नुहोस्‌। यूसुफले पनि आमाबाबुबाट असल प्रशिक्षण पाएको प्रमाण छ। झ्यालखानामा पर्दा सँगी कैदीसित समेत उनले शिष्ट व्यवहार गरे। (उत्प. ४०:८, १४) अधिकारमा बसेका व्यक्‍तिलाई सम्बोधन गर्ने उचित तरिका उनले सिकेका थिए भनेर फिरऊनसित गरेको कुराकानीबाट देखिन्छ।—उत्प. ४१:१६, ३३, ३४.

१५ इस्राएलीहरूलाई दिइएको दस आज्ञामा यो आज्ञा पनि पर्छ: “आफ्नो बाबु र आमालाई आदर गर्‌, र जुन देश तँलाई तेरा परमप्रभु परमेश्‍वरले दिनुहुन्छ, त्यहाँ तेरो आयु लामो होस्‌।” (प्रस्थ. २०:१२) छोराछोरीले आमाबाबुको आदर गर्ने एउटा तरिका घरमा असल बेहोरा देखाएर हो। यिप्तहकी छोरीले परीक्षाको कठिन घडीमा आफ्नो बुबालाई भाकल पूरा गर्न मदत गरेर बुबाप्रति उल्लेखनीय आदर देखाइन्‌।—न्याय. ११:३५-४०.

१६-१८. (क) छोराछोरीलाई असल बेहोरा सिकाउन के गर्न सकिन्छ? (ख) छोराछोरीलाई असल बेहोरा सिकाउँदा हुने फाइदा के-के हुन्‌?

१६ असल बेहोरा देखाउने सम्बन्धमा छोराछोरीलाई प्रशिक्षण दिनु महत्त्वपूर्ण छ। यसलाई हल्कासित लिन मिल्दैन। वयस्कले जस्तै शिष्ट भएर व्यवहार गर्नको लागि केटाकेटीले आगन्तुकलाई अभिवादन गर्ने, टेलिफोन उठाउने र अरूसँग खाना खाने उचित तरिका सिक्नुपर्छ। अरूको लागि ढोका खोलिदिनु, वृद्ध र बिरामीहरूप्रति दया देखाउनु र गह्रौं सामान बोकेकाहरूलाई सघाउनु किन आवश्‍यक छ, त्यो बुझ्न केटाकेटीलाई मदत गर्नुपर्छ। तिनीहरूले “कृपया,” “धन्यवाद,” “स्वागत छ,” “म मदत गरूँ?,” “माफ गर्नुहोस्‌” जस्ता अभिव्यक्‍ति प्रयोग गर्नु र आदरार्थी शब्द प्रयोग गर्नु किन महत्त्वपूर्ण छ, सो बुझ्नुपर्छ।

१७ छोराछोरीलाई शिष्ट हुन सिकाउन कठोर हुनुपर्दैन। आफैले उदाहरण बसाल्नु सर्वोत्तम तरिका हो। आफू र तीन जना दाजुभाइले शिष्ट हुन कसरी सिके, त्यसबारे २५ वर्षीय कर्ट बताउँछन्‌: “बुबा र आमाले आपसमा दयालु कुराकानी गरेको र उहाँहरूले अरूसित पनि धैर्य गर्दै अनि विचार पुऱ्‍याउँदै व्यवहार गरेको हामी देख्थ्‌यौं र सुन्थ्यौं। राज्यभवनमा सभा अघि र पछि वृद्ध भाइबहिनीसित कुरा गर्दा बुबा मलाई पनि सँगै लैजानुहुन्थ्यो। ती वृद्ध भाइबहिनीलाई बुबाले अभिवादन गरेको सुन्थें र आदर गरेको देख्थें।” कर्ट अझै भन्छन्‌: “मैले पनि उहाँले जस्तै असल बेहोरा देखाउन थालें। मानिसहरूसित व्यवहार गर्दा शिष्टाचार देखाउनुपर्छ भनेर सोचिरहनुपर्दैन। स्वतः देखाइहाल्छु। शिष्ट बेहोरा करमा परेर गरिने होइन, आफसेआफ आउने बेहोरा हो।”

१८ छोराछोरीलाई असल बेहोरा सिकायौं भने परिणाम कस्तो हुन सक्छ? छोराछोरीले साथीहरू बनाउन र अरूसित मेलमिलाप कायम राख्न सक्नेछन्‌। तिनीहरू कामदार र सहकर्मीसित मिलेर काम गर्न सक्षम हुनेछन्‌। त्यसबाहेक शिष्ट, भद्र र इमानदार छोराछोरीले आमाबाबुलाई आनन्दित र सन्तुष्ट बनाउनेछन्‌।—हितोपदेश २३:२४, २५ पढ्‌नुहोस्‌।

असल बेहोराले फरक पार्छ

१९, २०. हाम्रो शिष्ट परमेश्‍वर र उहाँको पुत्रको अनुकरण गर्न हामी किन कटिबद्ध हुनुपर्छ?

१९ पावलले लेखे: “प्रिय बालकहरूझैं परमेश्‍वरका देखासिकी गर्नेहरू होओ।” (एफि. ५:१) यहोवा परमेश्‍वर र उहाँको पुत्रको अनुकरण गर्नु भनेको यस लेखमा छलफल गरिएका जस्ता बाइबल सिद्धान्तहरू लागू गर्नु हो। यसो गर्दा उच्च ओहदामा भएका व्यक्‍तिहरूको निगाह पाउन वा भौतिक फाइदा उठाउन मात्र देखावटी शिष्टता देखाउनदेखि जोगिनेछौं।—यहूदा १६.

२० यहोवाले स्थापित गरेको आदरपूर्ण आचरणका स्तरलाई निमिट्यान्‍न पार्न शैतान आफ्नो दुष्ट शासनको अन्तिम क्षणमा दृढतासाथ लागिरहेको छ। तर साँचो ख्रीष्टियानहरूको असल बेहोरा बिगार्न शैतान सफल हुनेछैन। शिष्ट परमेश्‍वर र उहाँको पुत्रको उदाहरण पछ्याउन हामी सबै कटिबद्ध होऔं। त्यसो गर्दा हाम्रो बोली र आचरण बेसोमती व्यवहार गर्न चाहनेहरूको भन्दा सधैं फरक हुनेछ। शिष्ट व्यवहार देखाउने हाम्रो परमेश्‍वर यहोवाको नाउँको प्रशंसा गर्नेछौं र इमानदार व्यक्‍तिहरूलाई उहाँको साँचो उपासनातर्फ खिच्नेछौं। ( w09 11/15)

[फुटनोट]

a कतिपय संस्कृतिमा आफूभन्दा पाको व्यक्‍तिले अनुमति नदिई उनको नाउँ बोलाएमा बेसोमती ठानिन्छ। ख्रीष्टियानहरूले यस्ता परम्पराको आदर गर्नु राम्रो हो।

के तपाईंलाई याद छ?

• असल बेहोरा देखाउने सन्दर्भमा यहोवा र उहाँको पुत्रबाट हामी के सिक्छौं?

• मानिसहरूलाई न्यानो अभिवादन गर्दा ख्रीष्टियानको हैसियतमा हामीबारे किन राम्रो छाप पर्छ?

• शिष्ट हुँदा सेवा कसरी फलदायी हुन सक्छ?

• छोराछोरीलाई असल बेहोरा सिकाउन आमाबाबुले कस्तो भूमिका खेल्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

 मुसुक्क हाँसेर कुराकानी थाल्नुहोस्‌

नचिनेका मानिससँग कुरा थाल्न थुप्रैलाई अप्ठेरो लाग्छ। तर यहोवाका साक्षीहरू परमेश्‍वर र छिमेकीलाई प्रेम गर्ने भएकोले अरूसित बाइबल सत्य बाँड्‌न कसरी कुराकानी गर्न सकिन्छ भनेर सिक्न सक्दो प्रयास गर्छन्‌। यसमा तपाईं कसरी उन्‍नति गर्न सक्नुहुन्छ?

एउटा महत्त्वपूर्ण सिद्धान्त फिलिप्पी २:४ मा दिइएको छ: “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।” यस भनाइलाई यसरी सोच्नुहोस्‌: यदि तपाईंले कुनै व्यक्‍तिलाई पहिला कहिल्यै भेट्‌नुभएको छैन भने उसले तपाईंलाई नौलो व्यक्‍ति ठान्छ। तपाईं कसरी उसलाई सजिलो महसुस गराउन सक्नुहुन्छ? मुसुक्क हाँस्दा र मित्रैलो अभिवादन गर्दा मदत पुग्न सक्छ। तर विचार गर्नुपर्ने कुरा अझै छ।

कसैसित कुराकानी थाल्ने प्रयास गर्दा सायद तपाईंले तिनको सोचविचारमा दखल पुऱ्‍याइरहनुभएको हुन सक्छ। यदि तपाईंले उसको विचारलाई वास्तै नगरी आफूले सोचेको विषयबारे छलफल गर्ने कोसिस गर्नुभयो भने उसले राम्रो प्रतिक्रिया नदेखाउन सक्छ। तसर्थ, उक्‍त व्यक्‍तिले सोचिरहेको कुरा बुझ्न सक्नुभयो भने त्यसैबारे कुरा थाले कसो होला? सामरियाको इनारमा एउटी स्त्रीलाई भेट्‌दा येशूले पनि त्यसै गर्नुभयो। (यूह. ४:७-२६) ती स्त्री पानी भर्ने कुरा सोचिरहेकी थिइन्‌। येशूले त्यसैलाई आधार बनाएर कुरा सुरु गर्नुभयो। पछि त्यसै विषयलाई जीवन्त आध्यात्मिक वार्तालापतिर ढाल्नुभयो।

[पृष्ठ २८-मा भएको चित्र]

मानिसहरूसित मित्रैलो हुँदा असल साक्षी दिन सकिन्छ

[पृष्ठ ३०-मा भएको चित्र]

असल बेहोरा देखाउनु सधैं उचित हुन्छ