सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल अध्ययन गरेर तपाईंका प्रार्थनाहरूको गुणस्तर बढाउनुहोस्‌

बाइबल अध्ययन गरेर तपाईंका प्रार्थनाहरूको गुणस्तर बढाउनुहोस्‌

बाइबल अध्ययन गरेर तपाईंका प्रार्थनाहरूको गुणस्तर बढाउनुहोस्‌

“हे परमप्रभु, मेरो विनम्र प्रार्थनामा ध्यानसित कान थाप्नुहोस्‌।”–नहे. १:११.

१, २. बाइबलमा लेखिएका केही प्रार्थनालाई केलाउँदा फाइदा हुनेछ, किन?

 प्रार्थना र बाइबल अध्ययन साँचो उपासनाका अत्यन्तै महत्त्वपूर्ण पक्ष हुन्‌। (१ थिस्स. ५:१७; २ तिमो. ३:१६, १७) हुन त बाइबल प्रार्थनाको किताब होइन। तैपनि भजनसंग्रहको पुस्तकमा भएका प्रार्थनाहरूलगायत बाइबलमा थुप्रै प्रार्थना छन्‌।

बाइबल पढ्‌दा र अध्ययन गर्दा तपाईं आफ्नो परिस्थितिसित दुरुस्तै सुहाउने प्रार्थनाहरू पाउन सक्नुहुन्छ। वास्तवमा, बाइबलमा भएका प्रार्थनामा व्यक्‍त गरिएका भावनालाई आफ्नो प्रार्थनामा समावेश गर्दा तपाईंका प्रार्थनाहरूको गुणस्तर बढ्‌छ। मदतको लागि गरिएको प्रार्थनाको जवाफ पाएका व्यक्‍तिहरूबाट र तिनीहरूले गरेका प्रार्थनाका शब्दहरूलाई केलाउँदा तपाईं के सिक्न सक्नुहुन्छ?

परमेश्‍वरको डोऱ्‍याइ खोज्नुहोस्‌ र पछ्याउनुहोस्‌

३, ४. अब्राहामको दासलाई कुन काम सुम्पिएको थियो र यहोवाले तिनलाई दिएको सफलताबाट हामी के सिक्न सक्छौं?

बाइबल अध्ययन गर्दा तपाईंले परमेश्‍वरको डोऱ्‍याइ पाउन प्रार्थना गर्नुपर्छ भनेर सिक्नुहुन्छ। कुलपिता अब्राहामले आफ्नो सबैभन्दा पुरानो दास सायद एलीएजरलाई इसहाकको निम्ति परमेश्‍वरको डर राख्ने पत्नी खोज्न मेसोपोटामिया पठाउँदाखेरिको घटना विचार गर्नुहोस्‌। आइमाईहरू इनारमा पानी लिन आउँदा तिनले यसो भन्दै प्रार्थना गरे: “परमेश्‍वर, . . . जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनूँला, र जसले मलाई ‘खानुहोस्‌, म तपाईंका ऊँटहरूलाई पनि खुवाईदिन्छु’ भन्छिन्‌, तिनलाईनै तपाईंले आफ्नो दास इसहाकको निम्ति रोज्नुभएको रहेछ, र तपाईंले मेरा मालिकलाई आफ्नो अटुट प्रेम देखाउनुभएको रहेछ भन्‍ने म त्यसैबाट थाह पाउनेछु।”—उत्प. २४:१२-१४.

रिबेकाले ऊँटहरूलाई पानी दिंदा अब्राहामका दासले प्रार्थनाको जवाफ पाए। पछि तिनी कनान फर्कंदा रिबेका पनि तिनीसितै गइन्‌ र इसहाककी प्रिय पत्नी भइन्‌। हुन त, तपाईंले परमेश्‍वरबाट कुनै विशेष संकेत पाउने आशा गर्न मिल्दैन। तैपनि तपाईंले प्रार्थना गर्नुभयो र उहाँको आत्माद्वारा डोरिन अठोट गर्नुभयो भने उहाँले तपाईंलाई जीवनमा डोऱ्‍याइ दिनुहुनेछ।—गला. ५:१८.

प्रार्थनाले फिक्री कम गर्न मदत गर्छ

५, ६. एसावलाई भेट्‌नुअघि याकूबले गरेको प्रार्थनाको उल्लेखनीय पक्ष के हो?

प्रार्थनाले फिक्री कम गर्न सक्छ। आफ्ना जुम्ल्याह दाइ एसावसित डराएर याकूबले यसरी प्रार्थना गरे: “हे परमप्रभु, . . . तपाईंको दासलाई जत्ति करुणा र सत्यता देखाउनुभएको थियो त्यसको म कत्ति पनि योग्य छैनँ। . . . म बिन्ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्‌, किनकि तिनीसँग मलाई डर लाग्छ, नत्रता आमा, छोराछोरीहरूसमेत हामी जम्मैलाई तिनले मार्लान्‌। तर तपाईंले भन्‍नुभएको छ, ‘साँच्चिनै म तेरो भलाइ गर्नेछु, र तेरा सन्तानहरू समुद्रका बालुवासरह तुल्याउनेछु, जो अत्यन्तै धेर भएको हुनाले गनी साध्य हुनेछैन।’ ”—उत्प. ३२:९-१२.

हुन त याकूबले बडो होसियारीसाथ कदम चाले, तैपनि एसावसित मेलमिलाप गर्दा तिनले प्रार्थनाको जवाफ पाए। (उत्प. ३३:१-४) याकूबको उक्‍त प्रार्थना ध्यान दिएर पढ्‌नुहोस्‌; तिनले यहोवासित मदत मात्र मागिरहेका थिएनन्‌ भनेर तपाईंले बुझ्नुहुनेछ। तिनले प्रतिज्ञा गरिएको सन्तानमाथि विश्‍वास जाहेर गरे र परमेश्‍वरको करुणाको निम्ति कृतज्ञता व्यक्‍त गरे। के तपाईंलाई पनि कुनै कुराको ‘भित्रभित्रै डर’ लागेको छ? (२ कोरि. ७:५) छ भने, याकूबको यो बिन्तीले तपाईंलाई प्रार्थनाद्वारा फिक्री कम गर्न मदत मिल्नेछ भनी सम्झाउन सक्छ। तर प्रार्थनामा आफ्नो माग मात्र राख्ने होइन, विश्‍वास पनि जाहेर गर्नुपर्छ।

बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌

७. यहोवाको मार्ग बुझ्न सक्ने ज्ञानको लागि मोशाले किन प्रार्थना गरे?

यहोवालाई प्रसन्‍न पार्ने चाहनाले तपाईंलाई प्रार्थनामा बुद्धि माग्न उत्प्रेरित गर्नुपर्छ। मोशाले परमेश्‍वरको मार्ग बुझ्न सक्ने ज्ञानको लागि प्रार्थना गरे। तिनले यसरी बिन्ती बिसाए: “हेर्नुहोस्‌ तपाईं [यहोवा] . . . ‘यी मानिसहरूलाई [मिस्रबाट] लिएर जा’ भन्‍नुहुन्छ, . . . यसकारण बिन्ती छ, यदि तपाईंको निगाह ममाथि भएको छ भने अब मलाई तपाईंको मार्ग देखाउनुहोस्‌, . . . र तपाईंको दृष्टिमा निगाह पाऊँ।” (प्रस्थ. ३३:१२, १३) प्रत्युत्तरमा यहोवाले आफ्नो मार्गबारे मोशालाई प्रशस्त ज्ञान दिनुभयो जुन ज्ञान यहोवाका जनलाई डोऱ्‍याउने हो भने तिनलाई अत्यावश्‍यक थियो।

८. पहिलो राजा ३:७-१४ मनन गर्दा तपाईं कस्तो फाइदा उठाउन सक्नुहुन्छ?

दाऊदले पनि यसरी प्रार्थना गरे: “तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, हे परमप्रभु।” (भज. २५:४) दाऊदका छोरा सुलेमानले इस्राएलमा शासन गर्ने कार्यभार सँभाल्न आवश्‍यक बुद्धिको लागि परमेश्‍वरलाई बिन्ती गरे। सुलेमानको प्रार्थना सुनेर यहोवा खुसी हुनुभयो। यहोवाले तिनलाई मागेको कुरा मात्र होइन, नमागेको धनसम्पत्ति र मान पनि दिनुभयो। ( १ राजा ३:७-१४ पढ्‌नुहोस्‌) मण्डलीमा दिइएको जिम्मेवारीले गर्दा अत्यास लागेको छ भने बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌ र विनम्र मनोवृत्ति देखाउनुहोस्‌। त्यसो गर्नुभयो भने परमेश्‍वरले तपाईंलाई ज्ञान पाउन र जिम्मेवारी पूरा गर्न चाहिने बुद्धिलाई सही तथा मायालु तरिकाले प्रयोग गर्न मदत गर्नुहुनेछ।

हृदयबाटै प्रार्थना गर्नुहोस्‌

९, १०. मन्दिर समर्पण गर्दा सुलेमानले प्रार्थनामा हृदयबारे उल्लेख गरे, त्यसबारे तपाईंलाई कुन कुरा अर्थपूर्ण लाग्यो?

प्रार्थनाको सुनुवाइ होस्‌ भन्‍ने चाहन्छौं भने हृदयबाट प्रार्थना गर्नैपर्छ। ईसापूर्व १०२६ मा यहोवाको मन्दिर समर्पण गर्दा सुलेमानले यरूशलेममा जम्मा भएको भीडसामु हृदयदेखि नै गरेको प्रार्थना १ राजा अध्याय ८ मा रेकर्ड गरिएको छ। करारको सन्दुक महापवित्र स्थानमा स्थापना गरिसकेपछि र मन्दिरलाई बादलले ढाकेपछि सुलेमानले परमेश्‍वरको महिमा गरे।

१० सुलेमानको प्रार्थना अध्ययन गर्नुहोस्‌ र उक्‍त प्रार्थनामा हृदयबारे उल्लिखित कुरा विचार गर्नुहोस्‌। यहोवाले मात्र मानिसको हृदय जान्‍नुहुन्छ भनेर सुलेमानले स्वीकारे। (१ राजा ८:३८, ३९) ‘आफ्नो सारा हृदयले परमेश्‍वरतिर फर्कने’ पापीको लागि आशा छ भनेर त्यही प्रार्थनामा देखिन्छ। यदि शत्रुले परमेश्‍वरका जनलाई कैदी बनाए भने त्यतिबेला तिनीहरू सारा हृदयले यहोवातर्फ फर्के भने तिनीहरूको पुकारा उहाँले सुन्‍नुहुने थियो। (१ राजा ८:४८, ५८, ६१) कुरा प्रस्ट छ, तपाईंले हृदयबाटै प्रार्थना गर्नुपर्छ।

भजनसंग्रहको पुस्तकले तपाईंका प्रार्थनाहरूको गुणस्तर कसरी बढाउन सक्छ?

११, १२. केही समय परमेश्‍वरको बासस्थानमा जान नसकेका लेवीले गरेको प्रार्थनाबाट तपाईंले के सिक्नुभयो?

११ भजनसंग्रहको पुस्तक अध्ययन गर्दा यसले तपाईंका प्रार्थनाहरूको गुणस्तर बढाउन र परमेश्‍वरले प्रार्थनाको जवाफ नदिउन्जेल पर्खन मदत गर्छ। निर्वासित लेवीले देखाएको धैर्यलाई विचार गर्नुहोस्‌। केही समयको लागि यहोवाको पवित्रस्थानमा जान नसके तापनि तिनले यसरी गाए: “हे मेरो आत्मा, तँ किन मभित्रै खिन्‍न हुन्छस्‌? र मेरो अन्तस्करणमा तँ किन व्याकुल हुन्छस्‌? परमेश्‍वरमा आशा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा सहायक र मेरा परमेश्‍वर हुनुहुन्छ।”—भज. ४२:५, ११; ४३:५.

१२ ती लेवीबाट तपाईं के पाठ सिक्न सक्नुहुन्छ? धार्मिकताको कारण कैदमा परेर केही समयको लागि सँगी विश्‍वासीहरूसित उपासना स्थानमा भेला हुन नपाउँदा यहोवाले तपाईंको पक्षमा काम नगरुन्जेल धैर्यसाथ पर्खनुहोस्‌। (भज. ३७:५) परमेश्‍वरको सेवा गर्दा विगतमा पाएको आनन्द मनन गर्नुहोस्‌ र उहाँका जनहरूसित फेरि सक्रिय भई संगत गर्ने समय नआउन्जेल ‘परमेश्‍वरमा आशा राख्दै’ धैर्य गर्न सकूँ भनेर प्रार्थना गर्नुहोस्‌।

विश्‍वासका साथ प्रार्थना गर्नुहोस्‌

१३. किन तपाईंले याकूब १:५-८ अनुरूप विश्‍वासका साथ प्रार्थना गर्नुपर्छ?

१३ तपाईंको परिस्थिति जस्तो भए तापनि सधैं विश्‍वासका साथ प्रार्थना गर्नुहोस्‌। सत्यनिष्ठाको परीक्षा भोग्नुपर्दा चेला याकूबको सल्लाह पालन गर्नुहोस्‌। यहोवालाई प्रार्थना गर्नुहोस्‌ र उहाँले तपाईंलाई परीक्षासित डट्‌न आवश्‍यक बुद्धि दिन सक्ने कुरामा शंका नगर्नुहोस्‌। ( याकूब १:५-८ पढ्‌नुहोस्‌) तपाईंले भोगिरहेको परीक्षा परमेश्‍वरलाई थाह छ र उहाँले तपाईंलाई आत्माद्वारा डोऱ्‍याउनुहुन्छ, सान्त्वना दिनुहुन्छ। “केही पनि सन्देह नगरी” पूर्ण विश्‍वासका साथ मनको कुरा पोखाउनुहोस्‌ अनि उहाँको आत्माको डोऱ्‍याइ र उहाँको वचनको सल्लाह स्वीकार्नुहोस्‌।

१४, १५. हन्‍नाले प्रार्थना गरिन्‌ र विश्‍वासबमोजिम काम गरिन्‌ भन्‍न सकिन्छ, किन?

१४ लेवी एल्कानाका दुई पत्नी थिए। तीमध्ये हन्‍नाले प्रार्थना गरिन्‌ र विश्‍वासबमोजिम काम गरिन्‌। थुप्रै सन्तान भएकी सौता पनिन्‍ना निस्सन्तान हन्‍नालाई हेला गर्थिन्‌। छोरा जन्मिएमा उक्‍त छोरा यहोवालाई अर्पण गर्ने बाचा हन्‍नाले बासस्थानमा गरिन्‌। प्रार्थना गर्दा तिनको ओठ काँपिरहेकोले प्रधान पूजाहारी एलीले तिनलाई मात लागेको रहेछ भन्ठाने। तर वास्तविकता बुझेपछि तिनले भने: “तिमीले उहाँलाई गरेको प्रार्थनाको जवाफ इस्राएलका परमेश्‍वरले तिमीलाई देऊन्‌।” परिणाम कस्तो हुन्छ ठ्याक्कै थाह नभए पनि आफ्नो प्रार्थनाको जवाफ पाउने विश्‍वास हन्‍नासित थियो। त्यसैले “तिनी फेरि उदास भइनन्‌।” तिनले अपमानित महसुस गरिनन्‌।—१ शमू. १:९-१८.

१५ छोरा शमूएलले दूध छोडेपछि हन्‍नाले उसलाई यहोवाको बासस्थानमा पवित्र सेवाको लागि अर्पण गरिन्‌। (१ शमू. १:१९-२८) तिनको प्रार्थनामा मनन गर्न समय निकाल्दा तपाईंको प्रार्थनाको गुणस्तर बढ्‌नेछ। साथै यहोवाले प्रार्थनाको जवाफ दिनुहुन्छ भन्‍ने विश्‍वाससहित प्रार्थना गर्दा व्याकुल पार्ने समस्यालाई पनि जित्न सकिन्छ भनेर बुझ्न मदत पाउनुहुन्छ।—१ शमू. २:१-१०.

१६, १७. नहेम्याहले प्रार्थना गरेर विश्‍वासबमोजिम काम गर्दा परिणाम के भयो?

१६ ईसापूर्व पाँचौं शताब्दीका धर्मी व्यक्‍ति नहेम्याहले प्रार्थना गरे र विश्‍वासबमोजिम काम गरे। उनले यस्तो बिन्ती गरे: “हे परमप्रभु, मेरो विनम्र प्रार्थनामा ध्यानसित कान थाप्नुहोस्‌, र तपाईंको नाउँको सम्मान गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌। आजको दिन मलाई सफल तुल्याउनुहोस्‌, र यी मानिसलाई मप्रति दया देखाउने हृदय दिनुहोस्‌।” “यी मानिस” को थिए? फारसका राजा आर्टजारसेज। तिनलाई नहेम्याहले दाखमद्य टक्य्राउने गर्थे।—नहे. १:११.

१७ बेबिलोनको कैदबाट छुटेका यहूदीहरूले ‘साह्रै दुःख र निन्दा सहिरहेका र यरूशलेमको पर्खाल भत्काइएको’ खबर पाएपछि नहेम्याहले केही दिनदेखि विश्‍वाससाथ प्रार्थना गर्न थालेका थिए। (नहे. १:३, ४) राजा आर्टजारसेजले तिनलाई यरूशलेम गएर पर्खाल पुनःनिर्माण गर्ने अनुमति दिंदा नहेम्याहले आशै नगरेको तरिकामा प्रार्थनाको जवाफ पाए। (नहे. २:१-८) पर्खालको पुनःनिर्माण छिटै भयो। नहेम्याहको प्रार्थना सुनवाइ हुनुको कारण तिनको प्रार्थना साँचो उपासनामा केन्द्रित भएको र विश्‍वाससहित गरेकोले नै थियो। के तपाईं पनि त्यसरी नै प्रार्थना गर्नुहुन्छ?

प्रशंसा गर्न र धन्यवाद चढाउन नबिर्सनुहोस्‌

१८, १९. कस्ता कारणले गर्दा यहोवाका सेवकले उहाँको प्रशंसा गर्नुपर्छ र उहाँलाई धन्यवाद चढाउनुपर्छ?

१८ प्रार्थनामा यहोवाको प्रशंसा गर्न र उहाँलाई धन्यवाद चढाउन नबिर्सनुहोस्‌। त्यसो गर्ने थुप्रै कारण छन्‌। उदाहरणका लागि, दाऊद यहोवाको राज्यको प्रशंसा गर्न उत्सुक थिए। ( भजन १४५:१०-१३ पढ्‌नुहोस्‌) के तपाईंका प्रार्थनाहरूमा यहोवाको राज्यको घोषणा गर्ने सुअवसरको मोल गरेको कुरा देखिन्छ? भजनरचयिताका शब्दहरूले तपाईंलाई ख्रीष्टियान सभा, सम्मेलन तथा अधिवेशनका लागि परमेश्‍वरलाई हार्दिक प्रार्थना गर्दै कृतज्ञता जाहेर गर्न पनि मदत गर्न सक्छन्‌।—भज. २७:४; १२२:१.

१९ परमेश्‍वरसितको अनमोल सम्बन्धको लागि कृतज्ञ भएकोले तपाईं हृदयदेखि नै यसरी प्रार्थना गर्न उत्प्रेरित हुन सक्नुहुन्छ: “हे परमप्रभु, जाति-जातिहरूका बीचमा म तपाईंमा धन्यवाद चढाउनेछु। अन्य जातिहरूका बीचमा म तपाईंको स्तुति गाउनेछु। किनकि तपाईंको करुणा यति ठूलो छ, कि त्यो स्वर्गसम्मै पुग्छ, र तपाईंको सत्यताचाहिं आकाशसम्मै। हे परमेश्‍वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहोस्‌। तपाईंको महिमा सारा पृथ्वीभन्दा उच्च होस्‌।” (भज. ५७:९-११) कत्ति प्रोत्साहनदायी विचार! भजनसंग्रहका यस्ता मनै छुने शब्दहरूले तपाईंलाई पनि असर गर्न सक्छ र तपाईंका प्रार्थनाहरूको गुणस्तर बढाउन सक्छ भन्‍ने कुरामा सहमत हुनुहुन्‍न र?

श्रद्धासहित परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌

२०. मरियमले परमेश्‍वरप्रतिको भक्‍ति कसरी देखाइन्‌?

२० परमेश्‍वरप्रतिको श्रद्धा तपाईंका प्रार्थनाहरूमा प्रस्ट हुनुपर्छ। मसीहकी आमा हुनेछु भनेर थाह पाउनेबित्तिकै मरियमले व्यक्‍त गरेका श्रद्धेय शब्दहरू हन्‍नाले बालक शमूएललाई बासस्थानमा सेवा गर्न अर्पण गर्दा व्यक्‍त गरेका शब्दहरू जस्तै थिए। परमेश्‍वरप्रतिको श्रद्धा तिनका यी शब्दहरूमा स्पष्टै देखिन्छ: “मेरो प्राणले परमप्रभुको प्रशंसा गर्दछ, औ मेरो आत्मा परमेश्‍वर, मेरा मुक्‍तिदातासँग खुशी भएको छ।” (लूका १:४६, ४७) के तपाईं पनि यस्तै भावनाहरू व्यक्‍त गरेर आफ्ना प्रार्थनाहरूको गुणस्तर बढाउन सक्नुहुन्छ? त्यही भएर पो ईश्‍वरभक्‍त मरियम मसीहकी आमा हुन छानिएकी रहिछन्‌!

२१. येशूका प्रार्थनामा श्रद्धा र विश्‍वासको प्रमाण पाइन्छ, कसरी?

२१ येशूले पूर्ण विश्‍वाससहित श्रद्धाले भरिएर प्रार्थना गर्नुभयो। जस्तै:- लाजरसको पुनरुत्थान गर्नुअघि “येशूले मास्तिर नजर उठाएर भन्‍नुभयो, ‘हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो बिन्ती सुन्‍नुभयो। औ तपाईंले बराबर मेरो बिन्ती सुन्‍नुहुन्छ भनी मैले जानेको थिएँ।’ ” (यूह. ११:४१, ४२) के तपाईंका प्रार्थनाहरूमा त्यस्तै श्रद्धा र विश्‍वासको प्रमाण देखिन्छ? येशूको श्रद्धेय नमुना प्रार्थना अध्ययन गर्नुहोस्‌। उक्‍त प्रार्थनामा तपाईंले यस्ता विशेष महत्त्वपूर्ण पक्षहरू पाउनुहुन्छ: यहोवाको नाउँको पवित्रिकरण, आउँदै गरेको उहाँको राज्य र उहाँको इच्छाको पूर्ति आदि। (मत्ती ६:९, १०) आफूले गर्ने प्रार्थना विचार गर्नुहोस्‌। के ती प्रार्थनामा यहोवाको राज्य, उहाँको इच्छा पूरा गर्ने र उहाँको नाउँ पवित्र गर्ने कुराहरूप्रति तपाईंको गहिरो चासो देखिन्छ? देखिनुपर्ने हो।

२२. सुसमाचार घोषणा गर्न यहोवाले तपाईंलाई साहस दिनुहुनेछ भनी किन पक्का हुन सक्नुहुन्छ?

२२ सतावट वा अन्य परीक्षाहरू आइपर्ने भएकोले साहसी भई यहोवाको सेवा गर्न सकौं भनेर प्रार्थना गर्दा अक्सर बिन्ती बिसाउनुपर्ने हुन्छ। महासभाले पत्रुस र यूहन्‍नालाई ‘येशूको नाउँमा शिक्षा नदिनू’ भनेर दिएको आदेशलाई तिनीहरूले साहसी भई इन्कार गरे। (प्रेरि. ४:१८-२०) कैदबाट छुटेपछि तिनीहरूले सँगी विश्‍वासीहरूलाई आफूले भोगेको सबै कुरा बताए। त्यसपछि उपस्थित सबैले परमेश्‍वरको वचन साहससाथ बोल्न सकौं भनी बिन्ती गरे। प्रार्थनाको सुनवाइ हुँदा तिनीहरू पक्कै पुलकित भएको हुनुपर्छ। किनकि तिनीहरू “पवित्र आत्माले भरिए, र तिनीहरूले निर्भयतासँग परमेश्‍वरको वचन बोले!” ( प्रेरित ४:२४-३१ पढ्‌नुहोस्‌) नतिजास्वरूप थुप्रै मानिस यहोवाका सेवक भए। प्रार्थनाले तपाईंलाई पनि साहसी भई सुसमाचार घोषणा गर्न बल दिन सक्छ।

आफ्ना प्रार्थनाहरूको गुणस्तर बढाइरहनुहोस्‌

२३, २४. (क) बाइबल अध्ययन गरेर तपाईंका प्रार्थनाहरूको गुणस्तर बढाउन सक्ने अन्य उदाहरण बताउनुहोस्‌। (ख) आफ्ना प्रार्थनाहरूको गुणस्तर बढाउन तपाईंले के गर्न सक्नुहुनेछ?

२३ बाइबल पढेर अनि अध्ययन गरेर तपाईंले आफ्ना प्रार्थनाहरूको गुणस्तर बढाउन सक्नुहुन्छ भन्‍ने अन्य थुप्रै उदाहरण पनि छन्‌। उदाहरणको लागि, योनाले जस्तै “उद्धार परमप्रभुबाटै हुन्छ” भनेर स्वीकार्दै प्रार्थना गर्न सक्नुहुन्छ। (योना २:१-१०) गम्भीर पापले गर्दा व्याकुल हुनुहुन्छ र प्राचीनहरूसित मदत मागिसक्नुभएको छ भने दाऊदले भजनसंग्रहमा व्यक्‍त गरेको जस्तै भावनाले तपाईंलाई व्यक्‍तिगत प्रार्थनामा पश्‍चाताप जाहेर गर्न मदत गर्न सक्छ। (भज. ५१:१-१२) केही खास प्रार्थनामा यर्मियाले जस्तै यहोवाको प्रशंसा गर्न सक्नुहुन्छ। (यर्मि. ३२:१६-१९) विवाह गर्न खोज्दै हुनुहुन्छ भने एज्रा अध्याय ९ मा पाइने प्रार्थना अध्ययन गरेर अनि त्यसै अनुरूप व्यक्‍तिगत प्रार्थना गरेर तपाईंले ‘प्रभुमा मात्र विवाह गर्ने’ आफ्नो अडान बलियो पार्न सक्नुहुन्छ।—१ कोरि. ७:३९; एज्रा ९:६, १०-१५.

२४ बाइबल पढ्‌नुहोस्‌, अध्ययन गर्नुहोस्‌ र बाइबलमा खोज्नुहोस्‌। आफ्ना प्रार्थनाहरूमा समावेश गर्न सकिने बुँदाहरू खोज्नुहोस्‌। यी बुँदाहरू आफ्ना अन्तरबिन्ती तथा धन्यवाद र प्रशंसाका प्रार्थनामा गाँस्न सक्नुहुन्छ। बाइबल अध्ययन गरेर आफ्ना प्रार्थनाहरूको गुणस्तर बढाउँदा तपाईं यहोवा परमेश्‍वरसित अझै घनिष्ठ हुन सक्नुहुन्छ।

w09 11/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• किन हामीले परमेश्‍वरको डोऱ्‍याइ खोज्नु अनि पछ्याउनुपर्छ?

• बुद्धिको लागि प्रार्थना गर्न हामीलाई केले उत्प्रेरित गर्नुपर्छ?

• भजनसंग्रहको पुस्तकले हाम्रा प्रार्थनाहरूको गुणस्तर कसरी बढाउन सक्छ?

• किन हामीले विश्‍वास अनि श्रद्धासहित प्रार्थना गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

परमेश्‍वरको डोऱ्‍याइ पाउन अब्राहामका दासले प्रार्थना गरे। तपाईं नि?

[पृष्ठ १७-मा भएको चित्र]

पारिवारिक उपासनाले तपाईंका प्रार्थनाहरूको गुणस्तर बढाउन सक्छ