सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“कहिलेसम्म सहायताको निम्ति मैले पुकारा गर्ने?”

“कहिलेसम्म सहायताको निम्ति मैले पुकारा गर्ने?”

“कहिलेसम्म सहायताको निम्ति मैले पुकारा गर्ने?”

“म केवल पीडा हटाउन चाहन्छु,” जेन रोइन्‌। उनलाई क्यान्सर भएको थियो र शरीरभरि फैलिंदै गइरहेको थियो। ‘बेथा र वेदना हटाउन सके त हुन्थ्यो’ भन्‍ने ठूलो इच्छा थियो उनका परिवार र साथीहरूलाई! तिनीहरूले मदत गर्नुहोस्‌ भनेर परमेश्‍वरलाई प्रार्थना गरे। के उहाँले प्रार्थना सुन्‍नुभयो? के उहाँले ख्याल गर्नुभयो?

परमेश्‍वरलाई मानव परिवारको अवस्था थाह छ। उहाँको वचन बाइबल भन्छ: “सारा सृष्टि पनि साथसाथै पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ भनी हामी जान्दछौं।” (रोमी ८:२२) जेनले जस्तै दिनदिनै शारीरिक, मानसिक वा भावनात्मक पीडा भोग्ने लाखौं छन्‌ भनेर परमेश्‍वरलाई थाह छ। असी करोड मानिस भोकै सुत्छन्‌, घरेलु हिंसाले लाखौं पीडित छन्‌, अनि थुप्रै आमाबाबुलाई आफ्ना छोराछोरीको भविष्य र हितको चिन्ता छ। यी सब परमेश्‍वरले देखिरहनुभएको छ। परमेश्‍वरले यस्ता समस्याको समाधान गर्नुहुनेछ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? हो, हामी त आफूले माया गरेकाहरूलाई मदत गर्न चाहन्छौं भने के परमेश्‍वरले आफ्नो सृष्टि मानव परिवारलाई मदत गर्न चाहनुहुन्‍न र?

तपाईंको मनमा पनि यस्ता प्रश्‍न उठेका छन्‌ भने तपाईं एक्लो हुनुहुन्‍न। आज थुप्रै मानिसले महसुस गरेजस्तै विश्‍वासी व्यक्‍ति हबकूकले २,६०० वर्षभन्दा अघि महसुस गरे र परमेश्‍वरलाई सोधे: “हे परमप्रभु, कहिलेसम्म सहायताको निम्ति मैले पुकारा गर्ने, तर तपाईं सुन्‍नुहुन्‍न? अथवा ‘उपद्रव’ भनी म तपाईंमा कहिलेसम्म पुकारा गर्ने, तर तपाईं बचाउनुहुन्‍न? तपाईं मलाई किन अन्याय हेर्न लाउनुहुन्छ? तपाईं किन अनुचित कुरा सहनुहुन्छ? नाश र उपद्रव मेरै सामु भइरहेका छन्‌। झगडा र विवाद चारैतिर छन्‌।” (हबकूक १:२, ३, NRV ) हिब्रू अगमवक्‍ता हबकूकले उनको समयमा स्तब्ध पार्ने विवेकहीन हिंसा र झगडा देखे। आज दयालु मानिसहरूलाई भयभीत पार्ने यस्ता कुराहरू दिनहुँका समाचार भएका छन्‌।

के परमेश्‍वरले हबकूकको चिन्तालाई नगण्य ठान्‍नुभयो? ठान्‍नुभएन। उहाँले हबकूकका निष्कपट प्रश्‍न सुन्‍नुभयो र विचलित भएका ती व्यक्‍तिलाई सान्त्वना र प्रोत्साहन दिनुभयो। दुःखकष्ट हटाउनेछु भनी प्रतिज्ञा गर्दै यहोवा परमेश्‍वरले हबकूकको विश्‍वास बलियो बनाउनुभयो। परमेश्‍वरले दिएको आशाको सन्देशले जेन र उनका परिवारलाई जस्तै तपाईंलाई पनि आश्‍वासन दिन सक्छ। यसपछिका लेखहरूले यी प्रश्‍नका जवाफ दिनेछन्‌: परमेश्‍वर साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ भनेर कसरी पक्का हुन सक्छौं? दुःखकष्ट हटाउन परमेश्‍वरले के गर्नुहुनेछ र कहिले हटाउनुहुनेछ? ( w 09-E 12/01)