सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन तपाईंले आफूलाई यहोवामा समर्पण गर्नुपर्छ?

किन तपाईंले आफूलाई यहोवामा समर्पण गर्नुपर्छ?

किन तपाईंले आफूलाई यहोवामा समर्पण गर्नुपर्छ?

“जुन परमेश्‍वरको म हुँ . . . उहाँकै एक दूत आज राती . . . मेरो नजिक खडा भए।”—प्रेरित २७:२३.

१. बप्तिस्मा लिन तयार भएका व्यक्‍तिहरूले कस्ता कदम चालिसकेका हुन्छन्‌? अनि यसले कस्ता प्रश्‍नहरू खडा गर्छ?

 “येशू ख्रीष्टको बलिदानको आधारमा के तपाईंले आफ्ना पापहरूको पश्‍चाताप गरेर यहोवाको इच्छा गर्न आफूलाई समर्पण गर्नुभएको छ?” बप्तिस्मा भाषणको अन्तमा बप्तिस्मा लिनेहरूले जवाफ दिने दुइटा प्रश्‍नमध्ये यो एउटा हो। ख्रीष्टियानहरूले आफूलाई यहोवामा किन समर्पण गर्नुपर्छ? परमेश्‍वरमा समर्पण गर्दा कस्तो लाभ हुन्छ? परमेश्‍वरमा समर्पण नगरी उहाँले स्वीकार्ने उपासना किन गर्न सकिंदैन? यी प्रश्‍नहरूको जवाफ पाउन समर्पण भनेको के हो पहिला हामीले त्यो विचार गर्नुपर्छ।

२. यहोवामा समर्पण गर्नुको अर्थ के हो?

आफूलाई परमेश्‍वरमा समर्पण गर्नुको अर्थ के हो? परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई प्रेरित पावलले कसरी व्याख्या गरे याद गर्नुहोस्‌। जहाजमा यात्रा गर्दा जोखिमपूर्ण अवस्थामा परेका थुप्रैसामु तिनले यहोवाबारे यसो भने: “जुन परमेश्‍वरको म हुँ।” ( प्रेरित २७:२२-२४ पढ्‌नुहोस्‌) सबै साँचो ख्रीष्टियानहरू यहोवाका हुन्‌ तर संसार भने “दुष्टको अधीनमा परेको छ।” (१ यूह. ५:१९) प्रार्थनामार्फत यहोवाले स्वीकार्ने समर्पण गरेपछि ख्रीष्टियानहरू यहोवाका हुन्छन्‌। यस्तो समर्पण व्यक्‍तिगत वाचा हो। यसपछि पानीमा बप्तिस्मा लिइन्छ।

३. येशूको बप्तिस्माले के संकेत गऱ्‍यो? र उहाँका अनुयायीहरूले कसरी उहाँको अनुकरण गर्न सक्छन्‌?

येशूले परमेश्‍वरको इच्छाबमोजिम गर्ने छनौट गरेर हाम्रो निम्ति उदाहरण बसाल्नुभयो। समर्पित इस्राएल राष्ट्रमा जन्मेकोले उहाँ परमेश्‍वरमा समर्पित भइसक्नुभएको थियो। तैपनि बप्तिस्मा लिएर उहाँले व्यवस्थाले माग गरेको भन्दा धेरै कुरा गर्नुभयो। बाइबले बताएअनुसार उहाँले यसो भन्‍नुभयो: “हेर्नुहोस्‌, हे परमेश्‍वर, तपाईंकै इच्छा पूरा गर्नलाई म आएको छु।” (हिब्रू १०:७; लूका ३:२१) त्यसकारण येशूको बप्तिस्माले उहाँ आफ्ना पिताको इच्छाबमोजिम गर्न तयार भएको संकेत गऱ्‍यो। उहाँका अनुयायीहरू बप्तिस्माको निम्ति तयार भएर उहाँको अनुकरण गर्छन्‌। तिनीहरूको सन्दर्भमा भने पानीको बप्तिस्मा भनेको तिनीहरूले प्रार्थनाद्वारा परमेश्‍वरमा समर्पण गरेको कुरा जनसमक्ष प्रकट गर्नु हो।

समर्पणले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ?

४. दाऊद र जोनाथनबीचको मित्रताले वचनबद्धताबारे हामीलाई के बताउँछ?

ख्रीष्टियान समर्पण एउटा गम्भीर कुरा हो। यो वचनबद्ध हुनु मात्र होइन। त्यसोभए समर्पण गर्दा हामीलाई कसरी लाभ हुन्छ? मानव सम्बन्धमा वचनबद्धताले कसरी लाभ पुग्छ तुलना गरेर विचार गरौं। मानव सम्बन्धमध्ये एउटा उदाहरण मित्रता हो। मित्र भएर लाभ उठाउन मित्र हुँदा आउने जिम्मेवारीलाई तपाईंले स्वीकार्नुपर्छ। यसमा वचनबद्धता समावेश छ अर्थात्‌ तपाईं आफ्नो मित्रको ख्याल गर्नुपर्ने दायित्व महसुस गर्नुहुन्छ। बाइबलमा बताइएको सबैभन्दा उल्लेखनीय मित्रतामध्ये एउटा हो-दाऊद र जोनाथनबीचको। तिनीहरूले आपसमा मित्रताको करारसमेत बाँधे। ( १ शमूएल १७:५७; १८:१, , NRV पढ्‌नुहोस्‌) यस्तो वचनबद्धता भएको मित्रता कमै हुन्छ। तैपनि मित्रहरू आपसमा वचनबद्ध हुँदा वा एक अर्काप्रतिको दायित्व महसुस गर्दा धेरै जसो मित्रता फस्टाउँछ।—हितो. १७:१७; १८:२४.

५. कुनै दास असल मालिकसित सदाको लागि कसरी बस्न सक्थ्यो?

परमेश्‍वरले इस्राएलीहरूलाई दिएको व्यवस्थाले अर्को सम्बन्धबारे बताउँछ। यस सम्बन्धमा मानिसहरू एकअर्काप्रति वचनबद्ध भएर लाभ उठाउँछन्‌। यदि कुनै दासले असल मालिकसित सदाको लागि बस्न चाहेमा उसले मालिकसित स्थायी र पालना गर्नैपर्ने सहमती गर्न सक्थ्यो। व्यवस्था बताउँछ: “यदि त्यस कमाराले सफासँग, ‘मलाई [“मेरो मालिकको र,” NW] मेरो स्वास्नी छोरा-छोरीहरूको माया लाग्छ, म स्वतन्त्र हुन चाहन्‍नँ’ भन्यो भने त्यसको मालिकले त्यसलाई परमेश्‍वरकहाँ ल्याओस्‌ र त्यसलाई ढोका कि ढोकाको संघारमा ल्याएर त्यसको कान सुतारीले छेडोस्‌। त्यसपछि त्यसले सधैंभरिलाई त्यो मालिकको सेवा गरोस्‌।”—प्रस्थ. २१:५, ६.

६, ७. (क) वचनबद्धताले मानिसहरूलाई कसरी लाभ पुऱ्‍याउँछ? (ख) यसले परमेश्‍वरसितको हाम्रो सम्बन्धबारे के संकेत गर्छ?

वैवाहिक सम्बन्धमा उच्चकोटीको वचनबद्धता चाहिन्छ। विवाह कुनै करारनामा प्रतिको वचनबद्धता होइन व्यक्‍तिप्रतिको हो। विवाह नगरी सँगै बसेका जोडीले साँचो सुरक्षा कहिल्यै पाउन सक्दैनन्‌। तिनीहरूका छोराछोरी पनि सुरक्षित हुन सक्दैनन्‌। आदरणीय वैवाहिक बन्धनमा बाँधिएर एकअर्काप्रति वचनबद्ध भएका जोडीले समस्या खडा हुँदा त्यसलाई मायालु ढंगमा समाधान गर्न धर्मशास्त्रबाट प्रेरणा पाउँछन्‌।—मत्ती १९:५, ६; १ कोरि. १३:७, ८; हिब्रू १३:४.

बाइबल समयमा मानिसहरूले व्यापार र जागिरमा पालना गर्नैपर्ने करारनामा गरेर लाभ उठाउँथे। (मत्ती २०:१, २,) आज पनि त्यस्तै छ। उदाहरणको लागि हामी कुनै व्यापार थाल्न वा कुनै कम्पनीमा जागिर खानुअघि पालना गर्नैपर्ने लिखित सहमती वा करारनामा गरेर लाभ उठाउँछौं। यसरी वचनबद्धताले त मित्रता, विवाह र जागिरजस्ता सम्बन्धहरूलाई सुधार्छ भने पूर्ण समर्पणले यहोवासितको तपाईंको सम्बन्धलाई झन्‌ कत्ति धेरै लाभ पुऱ्‍याउनेछ! विगतका मानिसहरूले यहोवा परमेश्‍वरमा समर्पण गरेर कसरी लाभ उठाए अनि यो कसरी वचनबद्धताभन्दा कता हो कता ठूलो कुरा हो, आउनुहोस्‌ अब विचार गरौं।

परमेश्‍वरमा समर्पण गर्दा इस्राएलीहरूलाई कसरी लाभ पुग्यो?

८. इस्राएल राष्ट्रको निम्ति समर्पण गर्नुको अर्थ के थियो?

इस्राएलीहरूले यहोवासित वाचा बाँध्दा सारा इस्राएल राष्ट्र नै उहाँप्रति समर्पित भयो। यहोवाले इस्राएलीहरूलाई सीनै पर्वतनजिकै भेला गरेर यसो भन्‍नुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्‍यौ भने समस्त मानिसहरूमध्येमा तिमीहरूचाहिं मेरो एक निज धन हुनेछौ।” तिनीहरूले एकसाथ यस्तो जवाफ दिए: “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” (प्रस्थ. १९:४-८) इस्राएलीहरूका लागि समर्पण गर्नुको अर्थ कुनै कुरा गर्न वचनबद्ध हुनुभन्दा निकै ठूलो कुरा थियो। मतलब तिनीहरू यहोवाका हुन्थे र उहाँले तिनीहरूलाई “निज धन” ठानेर व्यवहार गर्नुहुन्थ्यो।

९. परमेश्‍वरमा समर्पण गरेर इस्राएल राष्ट्रले कसरी लाभ उठायो?

इस्राएलीहरू यहोवाको भए र त्यसबाट तिनीहरूले लाभ उठाए। उहाँ वफादार हुनुभयो र मायालु आमाबाबुले छोराछोरीको हेरचाह गरेझैं तिनीहरूको हेरचाह गर्नुभयो। तिनीहरूलाई उहाँले यसो भन्‍नुभयो: “के कुनै स्त्रीले आफ्नो दूधेबालकलाई बिर्सनसक्छ र? आफ्नो गर्भको बालकलाई के त्यसले टिठ्याउदैन र? यिनीहरूले बिर्सन पनि सक्छन्‌, तर मता तँलाई बिर्सन सक्दिनँ।” (यशै. ४९:१५) यहोवाले तिनीहरूलाई व्यवस्थामार्फत डोऱ्‍याउनुभयो, अगमवक्‍ताहरूमार्फत प्रोत्साहन दिनुभयो र स्वर्गदूतहरूद्वारा सुरक्षा दिनुभयो। भजनरचयिताले यस्तो लेखे: “उहाँले आफ्नो वचन याकूबलाई र आफ्नो नियम र इन्साफ इस्राएललाई देखाउनुहुन्छ। उहाँले अरू कुनै जातिमाथि यस्तो व्यवहार देखाउनुभएको छैन।” (भज. १४७:१९, २०; भजन ३४:७, १९; ४८:१४ पढ्‌नुहोस्‌) विगतमा आफ्नो भएको राष्ट्रलाई उहाँले जसरी हेरचाह गर्नुभयो आज उहाँमा समर्पण गर्नेहरूलाई उहाँले त्यसरी नै हेरचाह गर्नुहुनेछ।

हामीले किन आफूलाई यहोवामा समर्पण गर्नुपर्छ?

१०, ११. के हामी परमेश्‍वरको ब्रम्हाण्डीय परिवारभित्र जन्मिएका छौं? प्रस्ट पार्नुहोस्‌।

१० ख्रीष्टियान समर्पण र बप्तिस्मालाई विचार गर्दा कतिपयले यस्तो सोच्लान्‌: ‘परमेश्‍वरमा समर्पण नगरीकन म किन उहाँको उपासना गर्न सक्दिनँ?’ परमेश्‍वरसामु हाम्रो अवस्था विचार गर्दा यस प्रश्‍नको जवाफ स्पष्ट हुन्छ। याद गर्नुहोस्‌, आदमको पापले गर्दा हामी सबै परमेश्‍वरको परिवारबाहिर जन्मियौं। (रोमी ३:२३; ५:१२) यहोवाले आफ्नो ब्रम्हाण्डीय परिवारको रूपमा हामीलाई स्वीकार्न हामीले उहाँमा समर्पण नगरी हुँदैन। यसको कारण विचार गरौं।

११ हामीले वास्तवमा पाउनुपर्ने जीवन अर्थात्‌ सिद्ध जीवन दिन सक्ने मानव पिता हामी कसैको छैन। (१ तिमो. ६:१९) हामी परमेश्‍वरको पुत्रको रूपमा जन्मिएनौं किनकि प्रथम मानव जोडीले पाप गर्दा मानवजाति मायालु पिता र सृष्टिकर्तादेखि अलग्गियो। (व्यवस्था ३२:५ तुलना गर्नुहोस्‌) त्यस समयदेखि यता मानवजातिको संसार यहोवाको ब्रम्हाण्डीय परिवारबाहिर बस्दै आएको छ, उहाँबाट टाढिएको छ।

१२. (क) असिद्ध मानिसहरू कसरी परमेश्‍वरको परिवारका सदस्य हुन सक्छन्‌? (ख) बप्तिस्माअघि कस्ता कदमहरू चाल्नैपर्छ?

१२ तैपनि उहाँले अनुमोदन गरेका सेवकहरूको परिवारभित्र हामीलाई स्वीकार्नुहोस्‌ भनी हामी व्यक्‍तिगत तवरमा परमेश्‍वरलाई अनुरोध गर्न सक्छौं। * हामी जस्ता पापीहरूका लागि यो कसरी सम्भव छ? प्रेरित पावलले लेखे: “हामी शत्रु छँदै उहाँको पुत्रको मृत्युद्वारा हामीले परमेश्‍वरसित मिलाप पायौं।” (रोमी ५:१०) परमेश्‍वरसामु स्वीकार योग्य हुन असल अन्तस्करण दिनुहोस्‌ भनेर बप्तिस्मा लिंदा हामी उहाँलाई बिन्ती गर्छौं। (१ पत्रु. ३:२१) तर बप्तिस्माअघि हामीले चाल्नैपर्ने कदमहरू पनि छन्‌। हामीले परमेश्‍वरलाई चिन्‍नैपर्छ, उहाँमा भर पर्न सिक्नैपर्छ, पश्‍चाताप गर्नैपर्छ अनि आफ्नो तौरतरिका बदल्नैपर्छ। (यूह. १७:३; प्रेरि. ३:१९; हिब्रू ११:६) अनि परमेश्‍वरको परिवारभित्र स्वीकार योग्य हुन गर्नुपर्ने अर्को कुरा पनि छ। त्यो के हो?

१३. परमेश्‍वरको अनुमोदन पाएका उपासकहरूको परिवारका भाग हुन कुनै व्यक्‍तिले परमेश्‍वरमा समर्पण गर्ने वाचा बाँध्नु किन उचित छ?

१३ परमेश्‍वरबाट अलग्गिएको कुनै व्यक्‍ति उहाँको अनुमोदन पाएका सेवकहरूको परिवारको सदस्य हुनुअघि तिनले यहोवालाई पहिला गम्भीर प्रतिज्ञा गर्नुपर्छ। कारण बुझ्न यो उदाहरण कल्पना गर्नुहोस्‌। एक जना आदरणीय पितालाई एउटा टुहुराप्रति दया जाग्छ र उसलाई चासो देखाउँछन्‌ अनि परिवारको सदस्यको रूपमा धर्मपुत्र बनाउने इच्छा गर्छन्‌। ती पिता असल व्यक्‍ति भनेर चिनिएका छन्‌। तैपनि त्यो टुहुरालाई धर्मपुत्र स्वीकार्नुअघि उसले प्रतिज्ञा गरेको उनी चाहन्छन्‌। त्यसैले उनी त्यो केटालाई भन्छन्‌: “तिमीलाई धर्मपुत्र स्वीकार्नुअघि तिमीले मलाई पिता मानेर प्रेम गरेको र आदर गरेको चाहन्छु। त्यो केटाले त्यस्तो गम्भीर प्रतिज्ञा गर्ने इच्छा गरेको खण्डमा मात्र उक्‍त पिताले उसलाई आफ्नो परिवारमा स्वीकार्नेछन्‌। यसो गर्नु तर्कसंगत होइन र? त्यसैगरि यहोवामा समर्पण गर्ने वाचा बाँध्न इच्छा गर्नेहरूलाई मात्र उहाँ आफ्नो परिवारमा स्वीकार्नुहुन्छ। बाइबल यसो भन्छ: “आफ्ना-आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।”—रोमी १२:१.

प्रेम र विश्‍वासको काम

१४. समर्पण प्रेमको अभिव्यक्‍ति हो, कुन तरिकामा?

१४ परमेश्‍वरमा समर्पण गर्ने वाचा बाँध्नु उहाँप्रति हाम्रो हार्दिक प्रेमको अभिव्यक्‍ति हो। केही तरिकामा यो विवाह वाचा जस्तै हो। जस्तोसुकै अवस्था आए पनि ख्रीष्टियान बेहुलाले बेहुलीप्रति वफादार रहने वाचा बाँधेर प्रेम व्यक्‍त गर्छन्‌। यो वाचा केही गरिदिने सामान्य प्रतिज्ञा मात्र होइन, कुनै व्यक्‍तिप्रतिको गम्भीर वाचा हो। आफ्नो बेहुलीप्रति विवाह वाचा बाँधेन भने उनीसित जीवन बिताउन सकिंदैन भनेर ख्रीष्टियान बेहुलालाई थाह छ। त्यसैगरि समर्पणको वाचा नबाँधी हामी यहोवाको परिवारको सदस्य बनेर पूर्ण लाभ उठाउन सक्दैनौं। त्यसैले हामी यहोवामा आफूलाई समर्पण गर्छौं किनकि असिद्ध भए पनि उहाँको हुन चाहन्छौं र जस्तोसुकै अवस्था किन नआओस्‌ हामी उहाँप्रति वफादार रहने संकल्प गर्छौं।—मत्ती २२:३७.

१५. समर्पण विश्‍वासको काम हो, कसरी?

१५ हामीले आफूलाई परमेश्‍वरमा समर्पण गर्दा विश्‍वासको काम गरिरहेका हुन्छौं। किन? यहोवाप्रतिको हाम्रो विश्‍वासले हामीलाई परमेश्‍वरको नजिक हुनु हाम्रो लागि असल कुरा हो भनेर विश्‍वस्त गराउँछ। (भज. ७३:२८) हामीलाई थाहा छ, यो “टेढा र बरालिएको पुस्ता”—बीच बाँचुन्जेल परमेश्‍वरसित हिंड्‌नु सजिलो हुनेछैन। तर हाम्रो प्रयासमा सहयोग गर्ने परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको छ र यसमा हामी भर पर्छौं। (फिलि. २:१५; ४:१३) हामी जान्दछौं, हामी असिद्ध छौं तर पनि विश्‍वस्त छौं कि गल्ती गर्दासमेत यहोवा हामीलाई दयालु भई व्यवहार गर्नुहुन्छ। ( भजन १०३:१३, १४; रोमी ७:२१-२५ पढ्‌नुहोस्‌) निष्ठावान्‌ भइरहने हाम्रो संकल्पलाई यहोवाले आशिष्‌ दिनुहुनेछ भनेर हामी ढुक्क छौं।—अय्यू. २७:५

परमेश्‍वरमा समर्पण गर्दा आनन्द पाइन्छ

१६, १७. यहोवामा समर्पण गर्दा किन आनन्द पाइन्छ?

१६ यहोवामा समर्पण गर्दा आनन्द पाइन्छ किनभने यसमा आफूलाई दिनु समावेश छ। येशूले एउटा आधारभूत सत्य बताउनुभयो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरि. २०:३५) दिनुमा आनन्द छ भनेर येशूले पृथ्वीमा आफ्नो सेवकाईको दौडान राम्ररी अनुभव गर्नुभयो। अरूले जीवनको बाटो भेट्टाउन सकून्‌ भनेर आवश्‍यक पर्दा उहाँले आराम नगरीकन, खाना र सुविधासमेत त्यागेर अरूलाई मदत गर्नुभयो। (यूह. ४:३४) आफ्नो पिताको हृदय आनन्दित तुल्याउँदा येशूले आनन्द पाउनुभयो। उहाँले भन्‍नुभयो: “म सधैं उहाँलाई मन पर्ने कुराहरू गर्दछु।”—यूह. ८:२९; हितो. २७:११.

१७ त्यसैले येशूले आफ्ना चेलाहरूलाई यसो भन्दै सन्तुष्ट जीवनको बाटो औंल्याउनुभयो: “कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस्‌।” (मत्ती १६:२४) यसो गर्दा हामी यहोवाको नजिक हुन्छौं। हामीलाई अझ धेरै माया दिएर हेरचाह गर्न सक्ने व्यक्‍तिको हातमा के हामी आफूलाई सुम्पन चाहँदैनौं र?

१८. अरू केही वा कसैप्रति समर्पण गरेको भन्दा यहोवामा समर्पण गरेअनुरूप जीवन बिताउँदा धेरै आनन्द मिल्छ, किन?

१८ यहोवामा समर्पण गर्दा अनि उहाँको इच्छाबमोजिम गरेर त्यस समर्पणअनुरूप जीवन बिताउँदा अरू केही वा कसैप्रति समर्पण गरेको भन्दा धेरै आनन्द पाइन्छ। उदाहरणको लागि, थुप्रै मानिसले धनसम्पत्ति प्राप्त गर्न आफ्नो जीवन समर्पण गर्छन्‌ तर साँचो आनन्द र सन्तुष्टि पाउँदैनन्‌। तर यहोवामा समर्पण गर्नेहरूले चिरकालीन आनन्द पाउँछन्‌। (मत्ती ६:२४) “परमेश्‍वरका सहकर्मी” हुने सम्मान पाउँदा तिनीहरू आनन्दित हुन्छन्‌। तर तिनीहरूको समर्पण कामप्रति होइन तर हाम्रो कदर गर्ने परमेश्‍वरप्रति हो। (१ कोरि. ३:९) तिनीहरूको आत्म-त्यागी भावलाई उहाँले जस्तो अरू कसैले कदर गर्न सक्दैन। वफादार जनहरूले सदाको लागि उहाँबाट हेरचाह पाउन सकून्‌ भनेर उहाँले तिनीहरूको जवानीसमेत फर्काइदिनुहुनेछ।—अय्यू. ३३:२५; हिब्रू ६:१० पढ्‌नुहोस्‌।

१९. यहोवामा समर्पण गर्नेहरूले कस्तो सुअवसरको आनन्द उठाउँछन्‌?

१९ यहोवामा आफ्नो जीवन समर्पण गर्दा तपाईं उहाँसित घनिष्ठ सम्बन्ध गाँस्न सक्नुहुन्छ। बाइबल भन्छ: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ।” (याकू. ४:८; भज. २५:१४) हामी किन विश्‍वस्त भएर यहोवाको हुने छनौट गर्न सक्छौं? यसबारे अर्को लेखमा छलफल गरिनेछ। ( w 10-E 01/15)

[फुटनोट]

^ येशूका “अरू भेडा” हजार वर्ष नबितुन्जेल परमेश्‍वरका पुत्र हुनेछैनन्‌। तथापि तिनीहरूले आफूलाई परमेश्‍वरमा समर्पण गरिसकेका हुनाले उहाँलाई “पिता” भन्‍न सक्छन्‌ र तिनीहरूलाई यहोवाका उपासकहरूको परिवारको सदस्य मान्‍नु उचित हुन सक्छ।—यूह. १०:१६; यशै. ६४:८; मत्ती ६:९; प्रका. २०:५.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवामा समर्पण गर्नुको अर्थ के हो?

• परमेश्‍वरमा समर्पण गर्दा कस्तो लाभ पाइन्छ?

• ख्रीष्टियानहरूले यहोवामा किन समर्पण गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएको चित्र]

आफ्नो समर्पणअनुरूप जीवन बिताउँदा चिरकालीन आनन्द पाइन्छ