सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वर साँच्चै ख्याल राख्नुहुन्छ हामी कसरी थाह पाउँछौं?

परमेश्‍वर साँच्चै ख्याल राख्नुहुन्छ हामी कसरी थाह पाउँछौं?

परमेश्‍वर साँच्चै ख्याल राख्नुहुन्छ हामी कसरी थाह पाउँछौं?

मानिसहरूले हजारौं वर्षदेखि चिन्तन-मनन गर्दै आएको एउटा पुरानो तर महत्त्वपूर्ण प्रश्‍न हो: यदि परमेश्‍वर हामीलाई माया गर्नुहुन्छ भने यतिविघ्न दुःखकष्ट किन? यदि तपाईं कसैलाई माया गर्नुहुन्छ भने उसले दुःखकष्ट भोगेको तपाईं चाहनुहुन्‍न र ऊ कष्टमा छ भने मदत गर्ने प्रयास गर्नुहुन्छ। यस कुरामा सायद तपाईं सहमत हुनुहुन्छ। हो, संसारमा यत्ति धेरै दुःखकष्ट भएकोले सायद परमेश्‍वरले हाम्रो ख्याल राख्न सक्नुहुन्‍न जस्तो थुप्रैलाई लाग्छ। तसर्थ परमेश्‍वर साँच्चै हामीलाई माया गर्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ भन्‍ने प्रमाण पहिले विचार गर्नु महत्त्वपूर्ण छ।

सृष्टिले परमेश्‍वरको प्रेमको प्रमाण दिन्छ

यहोवा परमेश्‍वरले “स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो।” (प्रेरित ४:२४) यहोवा परमेश्‍वरले के सृष्टि गर्नुभएको छ त्यो विचार गर्दा उहाँ हाम्रो ख्याल राख्नुहुन्छ भन्‍ने निष्कर्षमा अवश्‍य पुग्छौं। उदाहरणको लागि तपाईंलाई आनन्द र खुसी दिने कुराबारे सोच्नुहोस्‌। के तपाईंलाई स्वादिष्ट खानेकुरा मनपर्छ? यहोवा परमेश्‍वरले हामीलाई जीवन धान्‍न एक प्रकारको खानेकुरा मात्र पनि दिन सक्नुहुन्थ्यो। तर हामीलाई मीठो लाग्ने अनेकौं खानेकुरा उहाँले बनाउनुभयो। त्यसैगरि उहाँले हाम्रो जीवन आनन्दमय र रोचक बनाउन अचम्मका रूखहरू, फूलहरू र प्राकृतिक दृश्‍यहरूले पृथ्वी सिंगार्नुभयो।

हामी कसरी बनिएका छौं त्यो पनि विचार गर्नुहोस्‌। हाम्रो हँसी मिजास, संगीतबाट आनन्द लिन सक्ने खुबी, सौन्दर्यको मोल गर्न सक्ने क्षमता वास्तवमा जीवन धान्‍न नभए पनि हुन्छ। यी त हाम्रो जीवन उच्चकोटीको बनाउन परमेश्‍वरले दिएका उपहार हुन्‌। साथै अरूसँगको तपाईंको सम्बन्धबारे सोच्नुहोस्‌। असल मित्रहरूसितको न्यानो संगति कसलाई मनपर्दैन र? वा आफूलाई असाध्यै माया लाग्ने कसैसित अंकमाल गर्न कसले पो चाहँदैन र? त्यसैले प्रेम गर्ने हाम्रो क्षमता प्रेमको परमेश्‍वरबाट पाएको उपहार हो। प्रेम गर्न सक्ने क्षमता परमेश्‍वरले मानिसहरूमा हालिदिनुभएकोले यो गुण पक्कै पनि परमेश्‍वरको व्यक्‍तित्वको भाग हुनुपर्छ।

परमेश्‍वर हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने आश्‍वासन बाइबलले दिन्छ

परमेश्‍वर प्रेम हुनुहुन्छ भनी बाइबल बताउँछ। (१ यूहन्‍ना ४:८) उहाँको प्रेम सृष्टिमा मात्र होइन तर उहाँको वचन बाइबलमा पनि देखिन्छ। उदाहरणको लागि बाइबल हामीलाई स्वस्थ रहन मदत गर्ने र सबै कुरामा सन्तुलित हुन प्रोत्साहित गर्ने निर्देशन दिन्छ। साथै मतवालापन र घिचुवा नहुन चेतावनी दिने निर्देशन दिन्छ।—१ कोरिन्थी ६:९, १०.

बाइबलले हामीलाई एकअर्कासित प्रेम गर्न र अरूलाई आदर, सम्मान अनि दयालु व्यवहार गर्न आग्रह गर्दै मानव सम्बन्धको विषयमा पनि बुद्धिमानी सल्लाह दिन्छ। (मत्ती ७:१२) यसले दुःखकष्ट निम्त्याउने व्यवहार र झुकावहरूको निन्दा गर्छ। ती व्यवहार र झुकावहरू हुन्‌: लोभ, निन्दा, ईर्ष्या, व्यभिचार र हत्या। यदि सबैले बाइबलमा पाइने असल सल्लाहअनुसार जीवन बिताउने प्रयास गरेको भए आज संसारमा निश्‍चय नै दुःखकष्ट एकदमै कम हुने थियो।

परमेश्‍वरले आफ्नो पुत्र येशूलाई मानिसजातिको लागि छुडौतीको बलिदानको रूपमा दिनु उहाँको प्रेमको सबैभन्दा ठूलो प्रदर्शन हो। यूहन्‍ना ३:१६ भन्छ: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” यसरी यहोवाले मृत्यु र हर प्रकारको दुःखकष्ट सदाको लागि अन्त गर्ने प्रबन्ध गरिसक्नुभएको छ।—१ यूहन्‍ना ३:८.

स्पष्टतः यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने प्रमाण प्रशस्त छ। त्यसैले परमेश्‍वर हामीले दुःखकष्ट भोगेको हेर्न चाहनुहुन्‍न भन्‍नु तार्किक छ। उहाँले दुःखकष्ट अन्त गर्न पाइला चाल्नुहुनेछ। यसबारे हामीले अनुमान गरिरहनुपर्दैन। परमेश्‍वरले दुःखकष्ट कसरी अन्त गर्नुहुनेछ बाइबलले ठ्याक्कै बताउँछ। ( w 09-E 12/01)

[पृष्ठ ४-मा भएको चित्र]

प्रेम गर्ने हाम्रो क्षमता प्रेमको परमेश्‍वरबाट पाएको उपहार हो