सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शैतानको शासन अवश्‍य असफल हुन्छ

शैतानको शासन अवश्‍य असफल हुन्छ

शैतानको शासन अवश्‍य असफल हुन्छ

“दुष्ट मानिसलाई भलो हुनेछैन।”—उप. ८:१३.

१. दुष्टमाथि आउँदै गरेको न्याय दण्ड किन सान्त्वनादायी छ?

 ढिलो होस्‌ वा चाँडो दुष्टलाई सजाय दिइन्छ। तिनीहरूले आफ्नो कामको जवाफ दिनुपर्नेछ। (हितो. ५:२२; उप. ८:१२, १३) यो कुरा विशेषगरि धार्मिकता मनपराउने अनि दुष्टको हातबाट अन्याय र दुर्व्यवहार भोग्नेहरूका लागि सान्त्वनादायी छ। सजाय पाउने दुष्टहरूमध्ये सबैभन्दा प्रमुख हो—दुष्टताको पिता अर्थात्‌ शैतान।—यूह. ८:४४.

२. अदनको बगैंचामा उठेको विवाद सुल्झाउन किन समय चाहिन्थ्यो?

अदनको बगैंचामा शैतानले आफैलाई अत्याधिक महत्त्व दिएर मानिसहरूलाई यहोवाको शासन इन्कार गर्न लगायो। परिणामस्वरूप हाम्रा प्रथम आमाबाबुले शैतानलाई साथ दिएर यहोवाको वैध अख्तियारलाई चुनौती दिए अनि परमेश्‍वरको दृष्टिमा पापी भए। (रोमी ५:१२-१४) हो, तिनीहरूको अनादरपूर्ण र विद्रोही कामको नतिजा यहोवालाई थाहा थियो। तथापि त्यो टार्नै नसकिने नतिजा अरू सबै बौद्धिक प्राणीहरूलाई पनि स्पष्टै देखाउनुपर्ने थियो। त्यसैले त्यो विवाद सुल्झाउन र ती विद्रोहीहरू सत्‌-प्रतिशत गलत छन्‌ भनेर चित्तबुझ्दो ढंगमा देखाउन समय चाहिन्थ्यो।

३. मानव सरकारप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?

मानिसजातिले यहोवाको शासन इन्कार गरेको कारण तिनीहरूले आफ्नै प्रकारको सरकार बनाउनु पऱ्‍यो। प्रेरित पावलले रोमका संगी विश्‍वासीहरूलाई पत्र लेख्दा यस्ता सरकारलाई “उच्च अख्तियारवालाहरू” भने। पावलको समयमा उच्च अख्तियारवाला भनेको मुख्यतः सम्राट्‌ नेरोको रोमी सरकार थियो। यी सम्राट्‌ले इस्वी संवत्‌ ५४-६८ सम्म शासन गरेका थिए। पावलको भनाइअनुसार यस्ता उच्च अख्तियारवालाहरू “परमेश्‍वरबाट खटिएका हुन्छन्‌।” ( रोमी १३:१, २ पढ्‌नुहोस्‌) तर के यसको अर्थ पावलले मानव शासन परमेश्‍वरको शासनभन्दा उत्तम हो भनिरहेका थिए? कदापि थिएनन्‌। बरु उनले के भन्‍न खोजिरहेका थिए भने परमेश्‍वरले मानव शासनलाई रहिरहन अनुमति दिउन्जेल ख्रीष्टियानहरूले “परमेश्‍वरको धार्मिक-विधानको” आदर गर्नुपर्छ र त्यस्ता शासकहरूको अधीनता स्वीकार्नुपर्छ।

विनाशमा पुऱ्‍याउने बाटो

४. मानव शासन किन असफल हुन्छ, बताउनुहोस्‌।

तैपनि शैतानले चलाएको मानव शासन निश्‍चय नै असफल हुन्छ। किन? एउटा कारण, यो शासन परमेश्‍वरको बुद्धिमा आधारित छैन। यहोवासित मात्र सिद्ध बुद्धि छ। त्यसैकारण सफल शासन गर्न के चाहिन्छ भनेर उहाँले मात्र भरपर्दो निर्देशन दिन सक्नुहुन्छ। (यर्मि. ८:९; रोमी १६:२७) उहाँ गल्ती गर्दै सिक्ने मानिसजाति जस्तो हुनुहुन्‍न। काम गर्ने सर्वोत्तम तरिका उहाँलाई जहिले पनि थाह हुन्छ। उहाँको निर्देशन नमान्‍ने कुनै पनि सरकार सफल हुन सक्दैन। यो कारणले र शैतानको मनसाय पनि स्वार्थी भएकोले मानवमार्फत चलाएको त्यसको शासन सुरुदेखिनै अवश्‍य असफल हुने थियो।

५, ६. शैतानले यहोवाको विरोध किन गऱ्‍यो?

समझदार व्यक्‍तिले असफल हुने काममा हात हाल्ने प्रयास गर्दैन। प्रयास गरे पनि आफ्नो गल्ती स्वीकार्न ऊ बाध्य हुनेछ। सर्वशक्‍तिमान्‌ सृष्टिकर्ताको विरोध गर्नु निरर्थक छ भनेर इतिहासले देखाएको छ। ( हितोपदेश २१:३० पढ्‌नुहोस्‌) तर शैतानले आफूलाई अत्याधिक महत्त्व दिएर अनि घमन्डी भएर यहोवालाई पिठिउँ फर्कायो। यसरी विनाशमा पुऱ्‍याउने बाटोतर्फ त्यसले अन्धाधुन्ध पाइला चाल्यो।

शैतानको अहङ्‌कारी मनोवृत्ति पछि बेबिलोनी शासकले देखाए। उनले यस्तो घमन्ड गरेका थिए: “म स्वर्गमा उक्लनेछु। परमेश्‍वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु, र उत्तरको पल्लो छेउसम्म म सभा-मण्डलको पर्वतमा विराजमान हुनेछु। म बादलको उँचाइभन्दा माथि उक्लनेछु, म परम परमेश्‍वरजत्तिकै हुनेछु।” (यशै. १४:१३-१५) उक्‍त शासकले गरेको मूर्खतापूर्ण काम असफल भयो र बेबिलोनी वंशको लज्जास्पद अन्त भयो। त्यसैगरि शैतान र त्यसको संसारको पनि पूर्ण हार हुनेछ।

किन अनुमति दिनुभयो?

७, ८. यहोवाले दुष्टतालाई केही समयका लागि रहने अनुमति दिंदा के-कस्तो फाइदा भएको छ?

कसैलाई लाग्ला, यहोवाले किन शैतानको पक्ष लिनदेखि मानिसजातिलाई रोक्नुभएन र निश्‍चय असफल हुने सरकार किन चलाउन दिनुभयो? सर्वशक्‍तिमान्‌ भएकोले उहाँले रोक्न नसक्ने कुरै थिएन। (प्रस्थ. ६:३) तर उहाँले त्यसो गर्नुभएन। मानिसको विद्रोहमा केही समयको निम्ति हस्तक्षेप नगर्दा चिरकालीन र सर्वोत्तम नतिजा हुनेछ भनेर उहाँले देख्नुभयो। अन्तत: उहाँ धार्मिक र मायालु शासकको रूपमा सही ठहरिनुहुने थियो। परमेश्‍वरको त्यस निर्णयबाट मानिसजातिले लाभ उठाउने थिए।

यदि मानिसले शैतानको प्रस्ताव इन्कार गरेको भए र परमेश्‍वरको शासनबाट स्वतन्त्र हुन नखोजेको भए मानव परिवार कत्रो दु:खबाट बच्न सक्थ्यो! तैपनि मानिस आफैले आफैलाई केही समयको लागि शासन गर्न अनुमति दिने यहोवाको निर्णयले फाइदा पुऱ्‍याएको छ। यस निर्णयले परमेश्‍वरको कुरा सुन्‍नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ भनेर सही मनसाय भएका व्यक्‍तिहरूलाई गहिरो प्रभाव पारेको छ। शताब्दीयौंदेखि मानिसजातिले कैयौं प्रकारका सरकार प्रयोग गर्दै आएको छ। तर कुनै पनि सरकार आदर्श सरकार हुन सकेको छैन। हुन त यहोवाले शैतानको दुष्ट शासन रहन दिएकोले नै मानिसजातिमाथि कठिनाइ आइपरेको हो। यस कठिनाइबाट परमेश्‍वरका विश्‍वासी उपासकहरू पनि अछुतो छैनन्‌। तर दुष्टतालाई क्षणिक समयको लागि रहने अनुमति दिंदा ती विश्‍वासी उपासकहरूलाई फाइदा पनि पुगेको छ।

विद्रोहले यहोवाको महिमा गरेको छ

९, १०. शैतानको शासनले कसरी यहोवाको महिमा गर्छ, बताउनुहोस्‌।

मानिसजातिलाई शैतानको प्रभावमा पर्न दिंदैमा अनि तिनीहरूलाई आफै शासन गर्न दिंदैमा यहोवाको शासन बदनाम भएको छैन। यसको ठीक विपरीत मानिसजातिको असफल शासन प्रणालीको विषयमा परमेश्‍वरबाट प्रेरित भएर यर्मियाले बताएको कुरा इतिहासले सही साबित गरेको छ। ( यर्मिया १०:२३ पढ्‌नुहोस्‌) साथै शैतानको विद्रोहले यहोवालाई आफ्ना असल गुणहरू अझ स्पष्ट ढंगमा देखाउने मौका दिएको छ। कसरी?

१० हामीले शैतानको शासनको विनाशक नतिजा देख्न सक्ने भएकोले यहोवाका सिद्ध गुणहरू अझ स्पष्ट हुन्छ। सायद अरू तरिकामा यत्ति स्पष्ट हुन सक्ने थिएन। यसरी यहोवा उहाँलाई प्रेम गर्नेहरूको दृष्टिमा उच्च हुनुभएको छ। हो, शैतानको शासनले वास्तवमा परमेश्‍वरको महिमा गरेको छ भन्‍ने कुरा विरोधाभासपूर्ण लाग्न सक्छ। तर यसले यहोवाले आफ्नो सार्वभौमिकतामाथि आइपरेको चुनौतीलाई सर्वोत्तम तरिकामा सुल्झाउनुभयो भनेर देखाएको छ। यो कुरा स्पष्ट पार्न यहोवाका केही गुणहरू विचार गरौं र शैतानको दुष्ट शासनले यहोवालाई यी गुणहरू थप अन्य तरिकामा देखाउन कसरी उत्प्रेरित गरेको छ, त्यो हेरौं।

११. यहोवाको प्रेम कसरी देखिएको छ?

११ प्रेम। बाइबल बताउँछ: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूह. ४:८) पहिलो कुरा मानिसजातिको सृष्टि परमेश्‍वरको प्रेमको अभिव्यक्‍ति थियो। त्यसबाहेक हामी अचम्म तरिकाले बनिएको कुराले परमेश्‍वरको प्रेम प्रकट गर्छ। साथै यहोवाले मानिसजातिलाई मायालु भई उनीहरूलाई आनन्दित हुन चाहिने सबै कुराले भरिभराउ सुन्दर घर पृथ्वी दिनुभयो। (उत्प. १:२९-३१; २:८, ९; भज. १३९:१४-१६) तर मानव परिवारले पाप गरेपछि यहोवाले अर्कै तरिकामा प्रेम देखाउनुभयो। कसरी? प्रेरित यूहन्‍ना येशूबारे भन्छन्‌: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूह. ३:१६) आफ्नो पुत्रलाई पापीहरूका लागि बलिदान दिन पठाउनुबाहेक मानवजातिलाई अझै अर्को विशिष्ट तरिकामा के परमेश्‍वरले आफ्नो प्रेम देखाउन सक्नुहुन्थ्यो र? (यूह. १५:१३) यो प्रेमको महान्‌ प्रदर्शनले मानिसजातिको लागि नमुना बसाल्यो र परमेश्‍वरको आत्म-त्यागी प्रेम मानिसजातिले आफ्नो दैनिक जीवनमा येशूलेजस्तै देखाउने मौका पायो।—यूह. १७:२५, २६.

१२. यहोवाको शक्‍ति कसरी देखिन्छ?

१२ शक्‍ति। “सर्वशक्‍तिमान” परमेश्‍वरसँग मात्र जीवन दिन सक्ने शक्‍ति छ। (प्रका. ११:१७; भज. ३६:९) जन्मँदा मानिस कागतको खाली पानाजस्तै हुन्छ। मृत्यु हुँदासम्म त्यो पाना निर्णयहरूले, कामहरूले अनि जीवनभर गरेका अनुभवहरूले भरिएको हुन्छ जुन कुराले उसको व्यक्‍तित्वलाई आकार दिन्छ। ती कुरा यहोवाले स्मरणमा राख्न सक्नुहुन्छ। उक्‍त व्यक्‍तिलाई यहोवाले ठीक समयमा फेरि जीवन दिन सक्नुहुन्छ र उसको अनुपम जीवनशैलीद्वारा उसलाई पूर्ण पार्नुहुन्छ। (यूह. ५:२८, २९) यसरी परमेश्‍वरको सुरुको उद्देश्‍य मानिसजातिको लागि मृत्यु नभए तापनि उहाँको शक्‍तिले मृत्युबाट मानिसलाई फर्काउन सक्छ भनेर देखाउने मौका यसले यहोवालाई दियो। वास्तवमा यहोवा “सर्वशक्‍तिमान” परमेश्‍वर हुनुहुन्छ।

१३. येशूको बलिदानले कसरी यहोवाको सिद्ध न्याय देखायो?

१३ न्याय। यहोवा झूट बोल्नुहुन्‍न। उहाँ अन्यायपूर्ण व्यवहार पनि गर्नुहुन्‍न। (व्यव. ३२:४; ती. १:२) आफैलाई नोक्सानी किन नहोस्‌ उहाँ जहिले पनि सत्य र न्यायको सर्वोच्च स्तर कायम राख्नुहुन्छ। (रोमी ८:३२) आफ्नो प्रिय पुत्र अविश्‍वासी ईश्‍वर निन्दकझैं खम्बामा झुण्ड्याएर मारिएको हेर्नु यहोवाको लागि कत्ति पिडादायी थियो! तैपनि असिद्ध मानिसप्रतिको प्रेमले गर्दा यो पीडादायी अवस्था हुन दिन यहोवा इच्छुक हुनुभयो र आफ्नो न्यायको सिद्ध स्तर कायम राख्नुभयो। ( रोमी ५:१८-२१ पढ्‌नुहोस्‌) अन्यायले भरिएको संसारले यहोवालाई आफू न्यायको मूर्तरूप हो भनेर देखाउने मौका दियो।

१४, १५. कुन-कुन तरिकामा यहोवाको सर्वोत्तम बुद्धि र धीरज देखिएको छ?

१४ बुद्धि। आदम र हव्वाले पाप गर्नेबित्तिकै तिनीहरूको विद्रोहले निम्त्याएका सबै खराब असर सच्याउने तरिका यहोवाले प्रकट गर्नुभयो। (उत्प. ३:१५) यहोवाले यसरी तत्कालै चालेको कदमबाट र आफ्ना सेवकहरूलाई आफ्नो उद्देश्‍यबारे एकपछि अर्को जानकारी प्रकट गर्दा उहाँको बुद्धि स्पष्टै देखियो। (रोमी ११:३३) सफलतासाथ अवस्था सँभाल्न परमेश्‍वरलाई कुनै कुराले रोक्न सक्दैन। अनैतिकता, युद्ध, अव्यावहारिकता, अनाज्ञाकारिता, क्रूरता, पक्षपात र कपटले व्याप्त संसारमा यहोवाले आफ्ना सृष्टिलाई आफ्नो साँचो बुद्धि देखाउने प्रशस्त मौका पाउनुभएको छ। चेला याकूबले भने: “जुन ज्ञान माथिबाट आउँछ, पहिले ता त्यो पवित्र, त्यसपछि मिलापी, कोमल [“व्यावहारिक,” NW], मृदुभाव [“आज्ञा मान्‍न तयार,” NW], दया र बढिया फलले भरिएको, औ पक्षपातरहित र कपटरहित हुन्छ।”—याकू. ३:१७.

१५ धीरज र सहनशीलता। मानव असिद्धता, पाप र कमी-कमजोरीहरूसँग यहोवाले व्यवहार गर्नु नपरेको भए उहाँको धीरज र सहनशीलता यति धेरै विशिष्ट हुने थिएन। यहोवाले हजारौं वर्षदेखि असिद्ध मानिसजातिसित धीरज र सहनशीलता देखाउने इच्छा गर्दै आउनुभएको कुराबाट उहाँका यी अदभूत गुणहरू सिद्ध छन्‌ भनेर देखिन्छ, जसको लागि हामी एकदमै कृतज्ञ हुनुपर्छ। प्रेरित पत्रुसले ठीक भने: हामीले “प्रभुको धीरजनै मुक्‍ति हो भनी” सम्झनुपर्छ।—२ पत्रु. ३:९, १५.

१६. क्षमा दिने यहोवाको इच्छुकता असीम आनन्द दिने कारण हो, किन?

१६ क्षमा दिन इच्छुक। हामी सबै असिद्ध छौं अनि धेरै पटक चुक्‍तछौं। (याकू. ३:२; १ यूह. १:८, ९) तर यहोवा “प्रशस्त गरी” क्षमा दिन इच्छुक हुनुहुन्छ। यसमा हामी कत्ति कृतज्ञ हुनुपर्छ! (यशै. ५५:७) यो पनि विचार गर्नुहोस्‌: असिद्ध पापीको रूपमा जन्मिएर पनि यहोवाले हाम्रा पापहरू क्षमा गर्दा हामी असीम आनन्द अनुभव गर्न सक्छौं। (भज. ५१:५, ९, १७) व्यक्‍तिगत तवरमा यहोवाको यो हृदयस्पर्शी गुण अनुभव गर्दा उहाँप्रतिको हाम्रो प्रेम बलियो हुन्छ र अरूसँग व्यवहार गर्दा उहाँको उदाहरण अनुकरण गर्न प्रोत्साहित हुन्छौं।—कलस्सी ३:१३ पढ्‌नुहोस्‌।

सिकिस्त संसार

१७, १८. कुन तरिकामा शैतानको शासन असफल भएको छ?

१७ शैतानको सम्पूर्ण प्रणाली अर्थात्‌ त्यसको शासन शताब्दीयौंदेखि बारम्बार अनि एकनासले असफल हुँदै आएको छ। सन्‌ १९९१ मा लन्डनको एउटा पत्रिकाले a यस्तो टिप्पणी गऱ्‍यो: “के संसार सिकिस्त छ? अवश्‍य छ, तर . . . परमेश्‍वरले गर्दा होइन, मानिसहरूले नै गर्दा।” शैतानको बहकाउमा परेर हाम्रा प्रथम आमाबाबुले यहोवाको शासनको सट्टा मानव शासन रोजे। त्यसैले तिनीहरूले असफल हुने शासन सुरु गरे। संसारभरिका मानिसहरूले भोगेको दु:ख-कष्ट मानव शासन सिकिस्त भएको प्रमाण हो।

१८ शैतानको शासनले स्वार्थलाई जगाउँछ। तर स्वार्थ प्रेममाथि कहिल्यै विजयी हुन सक्दैन। प्रेम यहोवाको शासनको आधार हो। स्थायित्व, आनन्द र सुरक्षा दिन शैतानको शासन असफल भएको छ। यहोवाको शासन सही ठहरिएको छ। अहिले हामीसित यसको प्रमाण छ? छ। हामी अर्को लेखमा यो प्रमाण हेर्नेछौं। ( w10-E 01/15)

[फुटनोट]

a The European

यी पदहरूबाट शासनबारे हामीले के सिक्यौं?

रोमी १३:१,२

हितोपदेश २१:३०

यर्मिया १०:२३

कलस्सी ३:१३

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएका चित्रहरू]

शैतानको शासनले मानिसजातिलाई कहिल्यै फाइदा पुऱ्‍याएको छैन

[क्रेडिट लाइनहरू]

U.S. Army photo

WHO photo by P. Almasy

[पृष्ठ २४-मा भएको चित्र]

यहोवाको शक्‍तिले मानिसलाई मृत्युबाट फर्काउन सक्छ

[पृष्ठ २५-मा भएको चित्र]

यहोवाको प्रेम अनि न्याय उहाँको पुत्रलाई बलिदान दिएको कुराबाट प्रकट भयो