सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“आत्माको तरवार” चलाउन सिपालु हुनुहोस्‌

“आत्माको तरवार” चलाउन सिपालु हुनुहोस्‌

“आत्माको तरवार” चलाउन सिपालु हुनुहोस्‌

“आत्माको तरवार [ लेओ] जोचाहिं परमेश्‍वरको वचन हो।”—एफि. ६:१७.

१, २. राज्य उद्‌घोषकहरूको आवश्‍यकता धेरै भएकोले हामीले के गर्नुपर्छ?

 भीडको आध्यात्मिक आवश्‍यकता देखेर येशूले यसो भन्‍नुभयो: “फसल ता . . . प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” येशूले भन्‍नु मात्र भएन, गरेर पनि देखाउनुभयो। यसो भनिसकेपछि “उहाँले आफ्ना बाह्र चेलाहरूलाई बोलाएर” प्रचार गर्न वा “फसल” काट्‌न पठाउनुभयो। (मत्ती ९:३५-३८; १०:१,) पछि येशूले “अरू सत्तरी जनालाई नियुक्‍त गर्नुभयो, र तिनीहरूलाई दुई-दुई गरी” त्यही काम गर्न पठाउनुभयो।—लूका १०:१, २.

आज पनि राज्य उद्‌घोषकहरूको आवश्‍यकता धेरै छ। सेवा वर्ष सन्‌ २००९ मा विश्‍वभरि स्मणार्थको उपस्थिति १ करोड ८१ लाख ६८ हजार ३२३ थियो। यो, यहोवाका साक्षीहरूको कुल संख्याभन्दा १ करोडले धेरै हो। कटनीको लागि बाली साँच्चै पाकेको छ। (यूह. ४:३४, ३५) तसर्थ अझ धेरै खेताला पठाइदिनुहोस्‌ भनी हामीले प्रार्थना गर्नुपर्छ। तर हामी त्यस्तो बिन्ती अनुरूप कसरी चल्न सक्छौं? राज्य-प्रचार र चेला बनाउने काममा जोसका साथ भाग लिंदै अझ प्रभावकारी सेवक बनेर।—मत्ती २८:१९, २०; मर्कू. १३:१०.

३. सेवाको काममा अझै प्रभावकारी हुन परमेश्‍वरको आत्माले मुख्य भूमिका खेल्छ, कसरी?

अघिल्लो लेखमा हामीले परमेश्‍वरको आत्माद्वारा डोरिंदा ‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्न’ कसरी मदत पुग्छ भनेर छलफल गऱ्‍यौं। (प्रेरि. ४:३१) त्यही आत्माले हामीलाई सिपालु सेवक हुन पनि मदत गर्न सक्छ। सेवाको काममा अझ प्रभावकारी हुने एउटा तरिका हो—यहोवा परमेश्‍वरले दिएको उत्कृष्ट औजार अर्थात्‌ उहाँको लिखित वचन बाइबल राम्ररी चलाउनु। बाइबल पवित्र आत्माको उपज हो। (२ तिमो. ३:१६) यसको सन्देश परमेश्‍वरबाट प्रेरित छ। त्यसैले सेवाको काममा बाइबल सच्चाइलाई हाम्रो शिक्षाको आधारस्वरूप सिपालु भई चलाउँदा हाम्रो शिक्षा पवित्र आत्माद्वारा डोरिएको हुन्छ। बाइबल चलाउन सिपालु हुने तरिकाबारे विचार गर्नुअघि यो वचन कति शक्‍तिशाली छ, आउनुहोस्‌ हेरौं।

‘परमेश्‍वरको वचन प्रबल छ’

४. बाइबलमा पाइने परमेश्‍वरको सन्देशले मानिसमा कस्तो परिवर्तन ल्याउन सक्छ?

परमेश्‍वरको वचन वा सन्देशमा कत्ति ठूलो शक्‍ति छ! (हिब्रू ४:१२) लाक्षणिक अर्थमा, बाइबलको सन्देश मान्छेले बनाएको कुनै पनि तरवारभन्दा धारिलो हुन्छ। किनभने यसले लाक्षणिक अर्थमा हड्डी र त्यसको मासीलाई समेत भाग-भाग पारुन्जेलसम्म वारपार छेड्‌छ। बाइबल सच्चाइ मानिसको भित्रसम्म पुग्छ, त्यसले उसको विचार अनि भावनालाई छेड्‌छ र वास्तवमा ऊ कस्तो किसिमको मानिस हो प्रस्ट पार्छ। बाइबल सच्चाइले शक्‍ति दिन सक्छ र उक्‍त व्यक्‍तिलाई परिवर्तन गर्न सक्छ। ( कलस्सी ३:१० पढ्‌नुहोस्‌) हो नि! परमेश्‍वरको वचनले जीवन नै परिवर्तन गर्न सक्छ!

५. बाइबलले हामीलाई कुनकुन तरिकामा डोऱ्‍याउन सक्छ र यसको नतिजा कस्तो हुन्छ?

यसबाहेक, बाइबल अतुलनीय बुद्धि भएको किताब पनि हो। यस गन्जागोल संसारमा जीउने तरिका सिकाउने मदतकारी जानकारी यसमा छ। परमेश्‍वरको वचनले अहिले हिंडिरहेको पाइलामा मात्र होइन, अब हिंड्‌नुपर्ने मार्गमा पनि उज्यालो दिन्छ। (भज. ११९:१०५) समस्यासित जुझ्दा वा साथीभाइ, मनोरञ्जन, जागिर, लुगाफाटा र अरू त्यस्तै विषयबारे निर्णय गर्नुपर्दा परमेश्‍वरको वचनबाट धेरै मदत पाउँछौं। (भज. ३७:२५; हितो. १३:२०; यूह. १५:१४; १ तिमो. २:९) परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरू लागू गर्दा अरूसित घुलमिल हुन सम्भव हुन्छ। (मत्ती ७:१२; फिलि. २:३, ४) हिंड्‌नुपर्ने बाटोमा परमेश्‍वरको वचनलाई उज्यालो छर्न दियौं भने हाम्रा निर्णयहरूले हामीलाई भविष्यमा कसरी असर गर्छ भनेर देख्न सक्नेछौं। (१ तिमो. ६:९) बाइबलले भविष्यसम्बन्धी परमेश्‍वरको उद्देश्‍यबारे पनि पहिल्यै बताएको छ र यसले हामीलाई यो उद्देश्‍य अनुरूपको जीवनशैली पछयाउन मदत गर्छ। (मत्ती ६:३३; १ यूह. २:१७, १८) ईश्‍वरीय सिद्धान्तअनुसार जीवन डोऱ्‍यायौं भने जीवन कत्ति अर्थपूर्ण हुन सक्छ!

६. हाम्रो आध्यात्मिक युद्धमा बाइबल कति शक्‍तिशाली हतियार हो?

हाम्रो आध्यात्मिक युद्धमा बाइबल कति शक्‍तिशाली हतियार हो, त्यो पनि विचार गर्नुहोस्‌। पावलले परमेश्‍वरको वचनलाई “आत्माको तरवार” भने। ( एफिसी ६:१२, १७ पढ्‌नुहोस्‌) यसको सन्देशलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्दा यसले मानिसहरूलाई शैतानको पन्जाबाट उम्कन मदत दिन सक्छ। यो तरवारले मानिसहरूलाई नाश गर्दैन; बरु तिनीहरूको जीवन बचाउँछ। के हामीले यसलाई सिपालु भई चलाउन अथक प्रयास गर्नु पर्दैन र?

परमेश्‍वरको वचन ठीकसँग प्रयोग गर्नुहोस्‌

७. “आत्माको तरवार” राम्ररी चलाउन सिक्नु किन महत्त्वपूर्ण छ?

हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ। आध्यात्मिक युद्धमा “आत्माको तरवार” चलाउने कुरा पनि त्यस्तै हो। पावलले लेखे: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।”—२ तिमो. २:१५.

८, ९. बाइबलको कुरा बुझ्न हामीलाई केले मदत दिनेछ? एउटा उदाहरण दिनुहोस।

सेवाको काममा “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्न हामीलाई केले मदत दिनेछ? बाइबलको कुरा अरूलाई स्पष्टसित बताउन पहिला हामी आफैले राम्ररी बुझ्नुपर्छ। यसको लागि पद वा कुनै भागको सन्दर्भलाई ध्यान दिनु आवश्‍यक हुन्छ। नेपाली बृहत्‌ शब्दकोश-अनुसार सन्दर्भ भनेको “लेख, कुरो, वर्णन आदिको क्रम वा सिलसिला” हो।

त्यसैले बाइबलको कुनै भागको अर्थ ठीकसित बुझ्न त्यसको अघि र पछिको पदलाई विचार गर्नुपर्छ। गलाती ५:१३ मा पावलको भनाइ त्यसको एउटा उदाहरण हो। तिनले यस्तो लेखे: “ए भाइ हो, तिमीहरू ता स्वतन्त्रताको निम्ति बोलाइएका हौ, सो स्वतन्त्रता शरीरको निम्तिको मौकामा मात्र प्रयोग नगर, तर प्रेमबाट एक अर्कोको दास बन।” यहाँ पावलले कस्तो स्वतन्त्रताबारे कुरा गरिरहेका थिए? के तिनी पाप र मृत्युबाट, झूटो विश्‍वासको बन्धनबाट वा अरू कुनै कुराबाट स्वतन्त्र हुनेबारे बताइरहेका थिए? वास्तवमा पावलले ‘व्यवस्थाको सरापबाट छुट्‌दा’ हुने स्वतन्त्रताबारे कुरा गरिरहेका थिए भनी सन्दर्भले देखाउँछ। (गला. ३:१३, १९-२४; ४:१-५) तिनले ख्रीष्टियान स्वतन्त्रताबारे बताइरहेका थिए। यस स्वतन्त्रताको मोल गर्नेहरू प्रेमको कारण एकअर्काको दास बने। तर प्रेम नगर्नेहरू भने कुरा काट्‌थे र झगडा गर्थे।—गला. ५:१५.

१०. बाइबल पदहरूको अर्थ ठीकसित बुझ्न के-कस्ता जानकारी विचार गर्नुपर्छ र यो हामी कसरी गर्न सक्छौं?

१० “सन्दर्भ” शब्दको अरू अर्थ पनि छन्‌। यसको उस्तै अर्थ लाग्ने अरू शब्द हुन्‌: “पृष्ठभूमि, अवस्था, . . . परिस्थिति।” कुनै बाइबल पद ठीकसित बुझ्न हामीले त्यसको पृष्ठभूमि विचार गर्नुपर्छ। जस्तै:- बाइबलका पुस्तकहरू क-कसले लेखे, ती कहिले र कस्तो परिस्थितिमा लेखिए आदि। ती पुस्तकहरू लेख्नुको उद्देश्‍य बुझ्नु पनि मदतकारी हुन्छ अनि सम्भव भएमा त्यस बेलाको परम्परा, आचरण तथा मूल्य-मान्यता र उपासना गर्ने तरिका थाह पाउनु पनि मदतकारी साबित हुन्छ।  *

११. बाइबल पदहरूको व्याख्या गर्दा हामीले के कुरामा विचार पुऱ्‍याउनुपर्छ?

११ “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्नु भनेको बाइबल सच्चाइलाई ठीकसित व्याख्या गर्नु मात्र होइन। मानिसहरूलाई तर्साउने हेतुले बाइबल प्रयोग नगर्न हामी होसियार हुनुपर्छ। शैतानले प्रलोभनमा पार्न खोज्दा येशूले सच्चाइको पक्ष लिन बाइबल प्रयोग गर्नुभएझैं हामी पनि त्यसरी नै बाइबल प्रयोग गर्न सक्छौं। तर त्यसो भन्दैमा अरूमाथि आफ्नो विश्‍वास जबरजस्ती थोपर्न भने बाइबल प्रयोग गर्नुहुँदैन। (व्यव. ६:१६; ८:३; १०:२०; मत्ती ४:४, ७, १०) हामीले प्रेरित पत्रुसको यो सल्लाह पालन गर्नुपर्छ: “ख्रीष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान्‍न तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तयार भइरहो।”—१ पत्रु. ३:१५.

१२, १३. परमेश्‍वरको वचनले बलियोगरि जरा गाडेर बसेका कस्ता “किल्लाहरू” भत्काउँछ? एउटा उदाहरण दिनुहोस्‌।

१२ ठीकसित प्रयोग गर्दा परमेश्‍वरको वचनको सत्यले के पूरा गर्न सक्छ? ( २ कोरिन्थी १०:४, ५ पढ्‌नुहोस्‌) बाइबल सच्चाइले बलियोगरि जरा गाडेर बसेका “किल्लाहरू”-समान शिक्षाहरू भत्काउन सक्छ। मतलब, यसले झूटो शिक्षा, हानिकारक प्रचलनहरू र असिद्ध मानव बुद्धि झल्काउने दर्शनहरूको पर्दाफास गर्छ। “परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हुने” कुनै पनि विचारलाई हटाउन हामी बाइबल प्रयोग गर्न सक्छौं। अरूको सोचाइलाई सच्चाइ अनुरूप ढाल्न बाइबलका शिक्षाहरू प्रयोग गर्न सकिन्छ।

१३ भारतकी ९३ वर्षकी वृद्धाको उदाहरण विचार गर्नुहोस्‌। सानैदेखि तिनलाई पूर्वजन्ममा विश्‍वास गर्न सिकाइएको थियो। जब तिनले विदेशमा बस्ने छोरासित पत्रमार्फत बाइबल अध्ययन गर्न थालिन्‌, तब यहोवा र उहाँका प्रतिज्ञाहरूबारे सिकेको कुरा तिनले सहजै स्वीकारिन्‌। तर पूर्वजन्मको शिक्षाले तिनको मनमा यति बलियोसित जरा गाडेको थियो कि मरेका मानिसको अवस्थाबारे छोराले लेख्दा तिनले त्यसको विरोध गरिन्‌। तिनले भनिन्‌: “मैले तिम्रो बाइबलको सच्चाइ बुझ्नै सकिनँ। मानिसको आत्मा अमर हुन्छ भनेर सबै धर्मले सिकाउँछ। अनि मैले पनि सानैदेखि विश्‍वास गरेक कुरा त शरीर मर्छ र अदृश्‍य आत्माले चाहिं ८४ लाख जुनी फेर्छ भन्‍ने हो। मेरो यो विश्‍वास कसरी गलत हुन सक्छ? के प्रायजसो धर्म गलत हुन्‌ त?” यस्तो बलियोसित जरा गाडेर बसेको विश्‍वासलाई के ‘आत्माको तरवारले’ भत्काउन वा हटाउन सक्छ? उपरोक्‍त विषयबारे बाइबलबाट थप छलफल भएको केही हप्तापछि तिनले लेखिन्‌: “आखिर मृत्युबारे मैले साँचो कुरा बुझ्न थालेकी छु। पुनरुत्थान हुँदा मरिसकेका प्रियजनहरूसित भेट्‌न सक्नेछौं भनी जानेर अत्यन्तै आनन्द लाग्यो। परमेश्‍वरको राज्य चाँडै आउँछ भन्‍ने आशा राखेकी छु।”

मनाउन सक्नेगरि परमेश्‍वरको वचन चलाउनुहोस्‌

१४. हाम्रो कुरा सुन्‍नेहरूलाई मनाउनुको अर्थ के हो?

१४ सेवाको काममा बाइबललाई प्रभावकारी ढंगमा चलाउनु भनेको पदहरू पढ्‌नु मात्र होइन। पावलले ‘मनाउन’ सक्नेगरि बोले, हामीले पनि त्यसै गर्नुपर्छ। प्रेरित १९:८, ९ पढ्‌नुहोस्‌) ‘मनाउनु’-को अर्थ “राजी गराउनु” हो। मनाइएको व्यक्‍ति “यत्ति विश्‍वस्त हुन्छ कि [उसले] बताइएको कुरा पत्याउँछ।” हामीले कसैलाई बाइबल शिक्षा स्वीकार्न मनाउँदा त्यस शिक्षा स्वीकार्न तिनलाई राजी गराइरहेका हुन्छौं। यसो गर्न हाम्रो कुरा सुन्‍ने व्यक्‍तिलाई हामीले भनिरहेको कुरा साँचो हो भनेर विश्‍वस्त पार्नु आवश्‍यक छ। हामीले त्यसो गर्न सक्ने तरिकाहरू यहाँ दिइएका छन्‌।

१५. बाइबललाई आदर गर्न सक्नेगरि तपाईं कसरी बाइबलतर्फ ध्यान खिच्न सक्नुहुन्छ?

१५ परमेश्‍वरको वचन बाइबललाई आदर गर्न सक्नेगरि बाइबलतर्फ ध्यान खिच्नुहोस्‌। कुनै शास्त्रपद देखाउँदा त्यहाँ भएको विषयमा परमेश्‍वरको सोचाइ जान्‍नु महत्त्वपूर्ण छ भनेर ध्यान खिच्नुहोस्‌। प्रश्‍न सोधेर अनि घरधनीबाट त्यसको जवाफ पाइसकेपछि तपाईं यसो भन्‍न चाहनुहोला: ‘यस विषयमा परमेश्‍वरको दृष्टिकोण कसरी बुझ्न सक्छौं, आउनुहोस्‌ हेरौं।’ अथवा सायद यस्तो प्रश्‍न गर्न सक्नुहुन्छ: ‘यस्तो परिस्थितिबारे परमेश्‍वर के भन्‍नुहुन्छ?’ बाइबल पदबारे यसरी बताउँदा बाइबल परमेश्‍वरले दिएको वचन हो भनेर जोड पुग्छ र श्रोताको मनमा यसलाई उच्च आदर गर्नुपर्छ भन्‍ने भाव आउन मदत पुग्छ। परमेश्‍वरमा विश्‍वास गर्ने तर बाइबलको शिक्षासित अपरिचित व्यक्‍तिलाई साक्षी दिंदा यसो गर्नु विशेषगरि महत्त्वपूर्ण हुन्छ।—भज. १९:७-१०.

१६. शास्त्रपदलाई ठीकसित व्याख्या गर्न तपाईंलाई केले मदत दिनेछ?

१६ शास्त्रपद पढ्‌ने मात्र होइन; व्याख्या पनि गर्नुहोस्‌। आफूले सिकाउने कुरा “अर्थ खोलिकन निश्‍चय गरेर” बताउने बानी पावलको थियो। (प्रेरि. १७:३) बाइबल पदमा प्राय: धेरै बुँदा हुन्छन्‌ र तपाईंले पदमा भएका बुँदाहरूमध्ये छलफल गरिरहेको विषयमा लागू हुने मुख्य बुँदालाई जोड दिनुपर्ने हुन सक्छ। मुख्य बुँदाहरू भएको शब्दलाई दोहोऱ्‍याएर अथवा ती मुख्य बुँदाहरू घरधनीलाई चिन्‍न मदत गर्ने प्रश्‍नहरू सोधेर यसो गर्न सक्नुहुन्छ। त्यसपछि त्यस शास्त्रपदको अर्थ खोलिदिनुहोस्‌। त्यसो गरेपछि घरधनीलाई त्यो शास्त्रपद तिनको जीवनमा कसरी लागू हुन्छ भनी बुझ्न मदत दिनुहोस्‌।

१७. विश्‍वस्त पार्नेगरि तपाईं बाइबलबाट कसरी तर्क गर्न सक्नुहुन्छ?

१७ विश्‍वस्त पार्नेगरि बाइबलबाट तर्क गर्नुहोस्‌। हार्दिक अनुरोध र तर्क गर्दै पावल श्रोतालाई विश्‍वस्त पार्नेगरि “धर्मशास्त्रबाट तिनीहरूसित बहस” गर्थे। (प्रेरि. १७:२,) पावलजस्तै तपाईं पनि आफ्नो श्रोताको हृदयसम्म पुग्ने प्रयास गर्नुहोस्‌। व्यक्‍तिगत चासो झल्किने दयालु प्रश्‍नहरू सोधेर तिनीहरूको हृदयमा भएको कुरा ‘तानेर निकाल्नुहोस्‌।’ (हितो. २०:५) रूखो नहुनुहोस्‌। प्रस्ट र तार्किक ढंगमा तर्कहरू पेस गर्नुहोस्‌। ती तर्कहरूको चित्तबुझ्दो प्रमाण हुनुपर्छ। तपाईंका भनाइहरू परमेश्‍वरको वचनमा नै आधारित हुनुपर्छ। एकपछि अर्को गर्दै छिटोछिटो दुई-तीनवटा पदहरू देखाउनुभन्दा एउटा मात्र पद राम्ररी व्याख्या गर्नु अझ राम्रो हो। थप प्रमाणहरू पेस गर्दा पनि ‘मुखले बोलेर मनाउन’ सकिन्छ। (हितो. १६:२३) कहिलेकाहीं अनुसन्धान गरेर थप जानकारी दिनु आवश्‍यक पर्न सक्छ। अघि उल्लेख गरिएकी ९३ वर्षकी वृद्धालाई अमर आत्माको शिक्षा किन यतिबिघ्न व्याप्त छ भनेर जान्‍नु आवश्‍यक पऱ्‍यो। आत्माबारे बाइबलको शिक्षा स्वीकार्न सक्ने हुन तिनले अमर आत्माको शिक्षा कहाँबाट सुरु भयो र यो शिक्षाले संसारका धेरै धर्ममा कसरी प्रवेश पायो भनेर बुझ्नु अत्यावश्‍यक थियो।  *

सिपालु भई परमेश्‍वरको वचन प्रयोग गरिरहनुहोस्‌

१८, १९. किन हामीले “आत्माको तरवार” सिपालु भई चलाइरहनुपर्छ?

१८ बाइबल भन्छ “यस संसारको रूप बितेर जाँदैछ दुष्ट मानिसहरू झनै दुष्ट हुँदैछन्‌ (१ कोरि. ७:३१; २ तिमो. ३:१३) त्यसैले “आत्माको तरवार” अर्थात्‌ “परमेश्‍वरको वचन” प्रयोग गरेर बलिया “किल्लाहरू” भत्काइरहन अत्यावश्‍यक छ।

१९ परमेश्‍वरको वचन बाइबल पाएकोमा अनि यसको शक्‍तिशाली सन्देशलाई प्रयोग गरेर झूटा शिक्षाहरू उखेल्न र इमानदार व्यक्‍तिको हृदयसम्म पुग्न सकेकोमा हामी कत्ति आनन्दित छौं! बलियोगरि जरा गाडेर बसेको कुनै कुराभन्दा परमेश्‍वरको सन्देश अझै बलियो छ। त्यसैले आउनुहोस्‌, परमेश्‍वरले सुम्पेको राज्यसन्देश घोषणा गर्ने काममा ‘आत्माको तरवारलाई’ सिपालु भई प्रयोग गर्न जोडदार प्रयास गरिरहौं। ( w10 -E 02/15)

[फुटनोट]

^ बाइबलका पुस्तकहरूको पृष्ठभूमि बताउने उत्कृष्ट प्रकाशनहरू हुन्‌: अंग्रेजी भाषाको अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनिफिसियलइन्साइट अन द स्क्रिप्चर्स अनि प्रहरीधरहरा पत्रिकाको “यहोवाको वचन जीवित छ” जस्ता लेखहरू।

^ ह्वाट हेपन्स टु अस ह्वेन वी डाई? (अंग्रेजी) पुस्तिकाको पृष्ठ ५-१६ हेर्नुहोस्‌।

तपाईंले के सिक्नुभयो?

• परमेश्‍वरको वचन कत्तिको शक्‍तिशाली छ?

• हामी कसरी “सत्यको वचन ठीकसँग प्रयोग” गर्न सक्छौं?

• बाइबलको सन्देशले बलियोगरि जरा गाडेर बसेका “किल्लाहरू”-समान शिक्षाहरूलाई के गर्न सक्छ?

• सेवाको काममा तपाईं मनाउने कला कसरी उन्‍नति गर्न सक्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको पेटी/चित्र]

मनाउन सक्नेगरि परमेश्‍वरको वचन चलाउने तरिका:

▪ बाइबलप्रति आदर जगाउनुहोस्‌

▪ शास्त्रपदहरू व्याख्या गर्नुहोस्‌

▪ हृदयसम्म पुग्नेगरि विश्‍वस्त ढंगमा तर्क गर्नुहोस्‌

[पृष्ठ १७-मा भएको चित्र]

तपाईंले “आत्माको तरवार” प्रभावकारी तरिकामा चलाउन सिक्नैपर्छ