सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘आत्मा र दुलही भनिरहन्छन्‌, “आउनुहोस्‌!”’

‘आत्मा र दुलही भनिरहन्छन्‌, “आउनुहोस्‌!”’

‘आत्मा र दुलही भनिरहन्छन्‌, “आउनुहोस्‌!” ’

‘आत्मा र दुलही भनिरहन्छन्‌, “आउनुहोस्‌!” . . . जो तिर्खाउँछ, त्यो आओस्‌, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्‌।’—प्रका. २२:१७.

१, २. हाम्रो जीवनमा परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिले कुन स्थान पाएको हुनुपर्छ र किन?

 हाम्रो जीवनमा परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिले कुन स्थान पाएको हुनुपर्छ? येशूले आफ्ना अनुयायीहरूलाई ‘पहिले उहाँको राज्य खोजिरहन’ आग्रह गर्नुभयो। तिनीहरूले त्यसो गरेको खण्डमा परमेश्‍वरले तिनीहरूको आवश्‍यकता पूरा गरिदिनुहुन्छ भनी उहाँले आश्‍वासन दिनुभयो। (मत्ती ६:२५-३३) उहाँले परमेश्‍वरको राज्यलाई एउटा बहुमूल्य मोतीसित तुलना गर्नुभयो, जसलाई पाउन एक जना व्यापारीले “आफूसँग भएका सबै बेचेर त्यो किन्यो।” (मत्ती १३:४५, ४६) त्यसोभए के राज्य प्रचार र चेला बनाउने काम हाम्रो लागि पनि सबैभन्दा महत्त्वपूर्ण हुनुपर्दैन र?

हामी साहसी भई बोल्दा र सेवाको काममा परमेश्‍वरको वचन सिपालु भई प्रयोग गर्दा परमेश्‍वरको आत्माद्वारा डोरिएका हुन्छौं भनेर अघिल्ला दुई लेखबाट बुझ्यौं। त्यस आत्माले राज्य प्रचारमा हामी नियमित हुनुमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। कसरी? अब हेरौं।

सबैलाई निम्तो!

३. मानिसहरूलाई कस्तो पानी पिउन “आउनुहोस्‌” भन्‍ने निम्तो दिइएको छ?

पवित्र आत्मामार्फत सबै मानिसलाई निम्तो बाँडिएको छ। ( प्रकाश २२:१७ पढ्‌नुहोस्‌) त्यो निम्तो हो—“आउनुहोस्‌” र विशेष पानी पिएर तिर्खा मेटाउनुहोस्‌। यो साधारण पानी होइन। पृथ्वीमा जीवन धान्‍न पानी नभई हुँदैन। तर इनारमा सामरी स्त्रीसित कुरा गर्दा येशूले भिन्‍नै प्रकारको पानीबारे कुरा गरिरहनुभएको थियो। उहाँले यसो भन्‍नुभयो: “मैले दिने त्यो पानी जसले पिऊला त्यो कहिल्यै तिर्खाउनेछैन। तर जुन पानी म त्यसलाई दिनेछु, त्यो पानी त्यसमा अनन्त जीवनसम्म उम्रिरहने पानीको मूल बनिनेछ।” (यूह. ४:१४) मानिसहरूलाई पिउन निम्तो दिइएको त्यो विशेष पानीले अनन्त जीवन दिन्छ।

४. जीवनको पानी किन चाहियो र त्यो पानीले केलाई बुझाउँछ?

पत्नी हव्वालाई साथ दिंदै प्रथम मानव आदम आफ्ना सृष्टिकर्ता यहोवाप्रति नै अनाज्ञाकारी भएपछि यस्तो जीवनको पानीको आवश्‍यकता पऱ्‍यो। (उत्प. २:१६, १७; ३:१-६) “[आदमले] जीवनको रूखको फल पनि टिपेर खाला र सधैंभरि जीवित रहला” भनी ती प्रथम दम्पती बगैंचारूपी घरबाट निकालिए। (उत्प. ३:२२) हाम्रो पुर्खा आदमले गर्दा नै सबै मानिसजाति मर्नुपर्ने भयो। (रोमी ५:१२) आज्ञाकारी मानिसजातिलाई पाप र मृत्युको बन्धनबाट छुटाएर पृथ्वीमा हुने प्रमोदवनमा अन्त नहुने सिद्ध जीवन दिन परमेश्‍वरले गरेका सबै प्रबन्धलाई त्यो जीवनको पानीले बुझाउँछ। येशू ख्रीष्टको फिरौतीको बलिदानले गर्दा यी सब सम्भव भयो।—मत्ती २०:२८; यूह. ३:१६; १ यूह. ४:९, १०.

५. आउनुहोस्‌ र “जीवनको पानी सित्तैंमा” लिनुहोस्‌ भनेर निम्तो दिन सुरु गर्ने को हुनुहुन्छ? बताउनुहोस्‌।

आउनुहोस्‌ र “जीवनको पानी सित्तैंमा” लिनुहोस्‌ भन्‍ने निम्तो दिन सुरु गर्ने को हुनुहुन्छ? ख्रीष्टको हजार वर्षीय शासनको दौडान येशूमार्फत मानिसजातिको लागि पूर्णतया उपलब्ध गराइने जीवनको सबै प्रबन्धलाई “बिल्लौरजस्तो चहकिलो जीवनको नदी” भनेर चित्रण गरिएको छ। त्यो नदी “परमेश्‍वर र थुमाको सिंहासनबाट निस्किरहेको” देखाइएको छ। (प्रका. २२:१) त्यसैले जीवनदाता यहोवा जीवन दिने पानीको स्रोत हुनुहुन्छ। (भज. ३६:९) यहोवाले “थुमा” अर्थात्‌ येशू ख्रीष्टद्वारा त्यो पानी उपलब्ध गराउनुहुन्छ। (यूह. १:२९) त्यो लाक्षणिक नदी आदम अनाज्ञाकारी हुँदा भएका सबै हानि नोक्सानीलाई सच्याउने यहोवाको माध्यम हो। वास्तवमा “आउनुहोस्‌” भनेर निम्तो दिन सुरु गर्ने यहोवा परमेश्‍वर हुनुहुन्छ।

६. “जीवनको नदी” कहिलेदेखि बग्न थाल्यो?

“जीवनको नदी” ख्रीष्टको हजार वर्षीय शासनको दौडान पूर्ण अर्थमा बग्ने भए पनि त्यो नदी सन्‌ १९१४ मा “थुमा” स्वर्गको सिंहासनमा विराजमान हुनुभएपछि सुरु भएको “प्रभुको दिन”-देखि बग्न थाल्यो। (प्रका. १:१०) त्यसपछि जीवनका लागि खास प्रबन्धहरू उपलब्ध भए। ती प्रबन्ध परमेश्‍वरको वचन बाइबलसित सम्बन्धित छन्‌ किनभने यसको सन्देशलाई “पानी” भनिएको छ। (एफि. ५:२६) राज्यको सुसमाचार सुनेर र स्वीकारेर “जीवनको पानी” लिने निम्तो सबैलाई दिइएको छ। तर प्रभुको दिनमा निम्तो दिने काम खासमा कसले गरिरहेको छ?

“दुलही भन्‍नुहुन्छ, ‘आउनुहोस्‌’ ”

७. “आउनुहोस्‌” भनी “प्रभुको दिनमा” निम्तो बाँड्‌ने पहिलो व्यक्‍तिहरू को हुन्‌ र तिनीहरूले कसलाई निम्तो दिए?

“आउनुहोस्‌” भन्‍ने निम्तो बाँड्‌ने पहिलो व्यक्‍तिहरू दुलही वर्गका सदस्य अर्थात्‌ आत्मा-अभिषिक्‍त ख्रीष्टियानहरू हुन्‌। तिनीहरूले यो निम्तो कसलाई दिइरहेका छन्‌? आफैलाई त होइन तर “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको ठूलो दिनको लडाइँ” सिद्धिएपछि पृथ्वीमा अनन्त जीवन पाउने आशा राख्नेहरूलाई “आउनुहोस्‌” भनिरहेका छन्‌।—प्रकाश १६:१४, १६ पढ्‌नुहोस्‌।

८. अभिषिक्‍त ख्रीष्टियानहरूले सन्‌ १९१८ देखि यहोवाको निम्तो बाँडिरहेका छन्‌ भनेर केले देखाउँछ?

सन्‌ १९१८ देखि नै ख्रीष्टका अभिषिक्‍त अनुयायीहरूले निम्तो बाँडिरहेका छन्‌। सोही वर्ष “अहिले बाँचिरहेका लाखौं कहिल्यै मर्ने छैनन्‌” भन्‍ने विषयमा जनभाषण दिइयो। उक्‍त भाषणमा आरमागेडोनको युद्धपछि धेरैले पृथ्वीमा हुने प्रमोदवनमा जीवन पाउनेछन्‌ भन्‍ने आशा दिइएको थियो। सन्‌ १९२२ मा अमेरिकाको ओहायो राज्यको सिडार प्वाइन्टमा बाइबल विद्यार्थीहरूको अधिवेशनमा दिइएको एउटा भाषणमा स्रोतालाई “राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌” भनी आग्रह गरिएको थियो। यो आग्रहले दुलही वर्गका शेष अभिषिक्‍त सदस्यहरूलाई अझ धेरै मानिसकहाँ यो निम्तो पुऱ्‍याउन मदत गऱ्‍यो। सन्‌ १९२९, मार्च १५ को द वाचटावर-मा प्रकाश २२:१७ मुख्य शास्त्रपद रहेको “हार्दिक निमन्त्रणा” शीर्षकको लेख छापियो। यस लेखको एक ठाँउमा यस्तो लेखिएको थियो: “शेष अभिषिक्‍त जनहरूले पनि [सर्वशक्‍तिमान्‌] सँगसँगै यो हार्दिक निमन्त्रणा दिने काममा भाग लिंदै ‘आउनुहोस्‌’ भन्छन्‌। धार्मिकता र सच्चाइको चाहना गर्ने व्यक्‍तिहरूलाई यो समाचार सुनाउनु परेको छ। र यो काम गर्ने बेला अहिले नै हो।” आजसम्म पनि दुलही वर्गले यो निम्तो बाँड्‌दैछ।

“जसले सुन्छ, त्यसले ‘आउनुहोस्‌’ भनोस्‌”

९, १०. निम्तो पाएकाहरूले अरूलाई पनि “आउनुहोस्‌” भनेर निम्त्याउने प्रोत्साहन कसरी पाएका छन्‌?

“आउनुहोस्‌” भन्‍ने निम्तो सुन्‍नेहरूले चाहिं के गर्छन्‌? तिनीहरूले पनि अरूलाई “आउनुहोस्‌” भनेर निम्त्याउने प्रोत्साहन पाएका छन्‌। उदाहरणको लागि, अगस्त १, १९३२ अंकको द वाचटावर, पृष्ठ २३२ मा यसो भनियो: “अभिषिक्‍त जनहरूले राज्यको सुसमाचार सुनाउने काममा सबै इच्छुक व्यक्‍तिहरूलाई भाग लिन प्रोत्साहित गरून्‌। प्रभुको समाचार घोषणा गर्नका लागि तिनीहरू अभिषिक्‍त हुन आवश्‍यक छैन। आर-मागेडोनमा बाँचेर पृथ्वीमा अनन्त जीवन पाउन सक्ने मानिसहरूकहाँ जीवनको पानी पुऱ्‍याउने मौका पाएका छन्‌ भनेर अहिले थाह पाउनु यहोवाका साक्षीहरूको लागि एउटा ठूलो सान्त्वनाको कारण हो।”

१० “आउनुहोस्‌” भन्‍ने निम्तो सुन्‍नेहरूको जिम्मेवारीलाई जोड दिंदै अगस्त १५, १९३४ अंकको द वाचटावर, पृष्ठ २४९ मा यसो भनियो: “योनादाब वर्गकाहरू यहोवाका अभिषिक्‍त साक्षीहरू नभए तापनि लाक्षणिक येहू वर्गकाहरू अर्थात्‌ अभिषिक्‍त जनहरूसँग मिलेर राज्यको समाचार सुनाउन अघि बढ्‌नुपर्छ।” प्रकाश ७:९-१७ मा उल्लिखित “ठूलो भीड” को हो भनेर सन्‌ १९३५ मा प्रस्ट भयो। यसले गर्दा परमेश्‍वरले दिएको निम्तो बाँड्‌ने काममा ठूलो उत्प्रेरणा मिल्यो। त्यसबेलादेखि साँचो उपासकहरूको बढ्‌दो ठूलो भीडले त्यो निम्तो स्वीकारेको छ र अहिले यो ठूलो भीडको संख्या बढेर ७० लाखभन्दा धेरै भएको छ। त्यस सन्देशलाई सुनेर त्यसको कदर गर्दै तिनीहरूले परमेश्‍वरमा आफ्नो जीवन समर्पण गरेका छन्‌, पानीमा बप्तिस्मा लिएका छन्‌ र अरूलाई ‘आउनुहोस्‌ र जीवनको पानी सित्तैंमा लिनुहोस्‌’ भन्‍ने निम्तो सक्रिय भई दिन दुलही वर्गलाई साथ दिएका छन्‌।

“आत्मा” भन्छ, “आउनुहोस्‌!”

११. प्रथम शताब्दीमा प्रचार गर्ने सम्बन्धमा पवित्र आत्माको भूमिका कस्तो थियो?

११ नासरतको सभाघरमा प्रचार गर्दा येशूले यशैया अगमवक्‍ताको पुस्तक खोल्नुभयो र पढ्‌नुभयो: “परमप्रभुको आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई नियुक्‍त गर्नुभयो, उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिनलाई पठाउनुभएको छ, अत्याचारमा परेकाहरूलाई अमलेख गराउनको निम्ति परमप्रभुको प्रसन्‍नताको वर्ष घोषणा गर्नालाई!” त्यसपछि येशूले यसो भन्दै यी शब्द आफूमा लागू गर्नुभयो: “आजको दिन यो धर्मशास्त्र तिमीहरूको सुनाइमा पूरा भएको छ।” (लूका ४:१७-२१) स्वर्ग उक्लनुअघि येशूले चेलाहरूलाई भन्‍नुभयो: “पवित्र आत्मा तिमीहरूमा [आएपछि] तिमीहरूले शक्‍ति पाउनेछौ, . . . र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरि. १:८) प्रथम शताब्दीमा प्रचार गर्ने सम्बन्धमा पवित्र आत्माको भूमिका उल्लेखनीय थियो।

१२. हाम्रो समयमा निम्तो बाँड्‌ने काममा पवित्र आत्मा कसरी समावेश छ?

१२ आज हाम्रो समयमा मानिसहरूलाई त्यो निम्तो बाँड्‌ने काममा परमेश्‍वरको पवित्र आत्मा कसरी समावेश छ? पवित्र आत्माको स्रोत यहोवा हुनुहुन्छ। उहाँको वचन बाइबल बुझोस्‌ भनेर यहोवाले दुलही वर्गको मन अनि हृदय खोल्न पवित्र आत्मा चलाउनुहुन्छ। पवित्र आत्माले तिनीहरूलाई ‘आउनुहोस्‌’ भन्‍ने निम्तो बाँड्‌न र पृथ्वीमा हुने प्रमोदवनमा सधैंभरि बाँच्ने प्रत्याशा भएकाहरूलाई बाइबल सच्चाइ बुझाउन प्रेरित गर्छ। अनि त्यो निम्तो स्वीकारेर येशू ख्रीष्टको चेला बन्‍ने र अझै अरूलाई त्यो निम्तो बाँड्‌नेहरूलाई नि? तिनीहरूको सम्बन्धमा पनि पवित्र आत्माले काम गरिरहेको हुन्छ। “पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिएकोले तिनीहरू त्यस आत्माको निर्देशन अनुरूप काम गर्छन्‌ र त्यसमाथि भर पर्छन्‌। (मत्ती २८:१९) अभिषिक्‍त जन र बढ्‌दो ठूलो भीडले प्रचार गर्ने सन्देशबारे पनि सोच्नुहोस्‌। त्यो सन्देश बाइबलमा आधारित छ। अनि बाइबल पवित्र आत्माको प्रत्यक्ष डोऱ्‍याइमा लेखिएको किताब हो। त्यसैले त्यो निम्तो पवित्र आत्मामार्फत बाँडिन्छ। वास्तवमा हामी त्यही पवित्र आत्माद्वारा डोऱ्‍याइएका छौं। अरूलाई निम्तो दिने काममा हामी कति समय बिताउँछौं त्यसमा यसले कसरी असर गर्नुपर्छ?

तिनीहरू “भनिरहन्छन्‌: ‘आउनुहोस्‌!’ ”

१३. “पवित्र शक्‍ति र दुलही भनिरहन्छन्‌: ‘आउनुहोस्‌!’ ” भन्‍ने वाक्यले के बुझाउँछ?

१३ ‘आत्मा र दुलहीले’ “आउनुहोस्‌” भन्‍ने निम्तो दिंदा एक पटक मात्र निम्तो दिइरहेका थिएनन्‌। यहाँ प्रयोग गरिएको मूल भाषाको क्रियाले निरन्तर हुने कामलाई जनाउँछ। यस कुरालाई विचार गर्दै नयाँ विश्‍व अनुवाद बाइबलमा यसो भनिएको छ: “पवित्र शक्‍ति र दुलही भनिरहन्छन्‌: ‘आउनुहोस्‌!’ ” यसले परमेश्‍वरको निम्तो नियमित रूपमा बाँडिरहने कुरालाई बुझाउँछ। त्यसोभए त्यो निम्तो सुन्‍ने र स्वीकार्नेहरूबारे चाहिं के भन्‍न सकिन्छ? तिनीहरू पनि यसो भन्छन्‌, “आउनुहोस्‌!” साँचो उपासकहरूको ठूलो भीडले “दिनरात [यहोवाको] मन्दिरमा उहाँको सेवा गर्दछन्‌” भनी बताइएको छ। (प्रका. ७:९, १५) कुन अर्थमा ‘दिनरात सेवा’ गर्छन्‌? ( लूका २:३६, ३७; प्रेरित २०:३१; २ थिस्सलोनिकी ३:८ पढ्‌नुहोस्‌) ‘दिनरात सेवा’ गर्नु भनेको सेवाको काममा निरन्तर लाग्नु र इमानदार प्रयास गर्नु हो भनी वृद्ध अगमवादिनी हन्‍ना र प्रेरित पावलको उदाहरणबाट थाह पाउँछौं।

१४, १५. उपासनामा नियमित हुनु महत्त्वपूर्ण छ भनेर दानियलले कसरी देखाए?

१४ उपासनामा नियमित हुनु किन महत्त्वपूर्ण छ भन्‍ने कुरा अगमवक्‍ता दानियलले पनि देखाए। ( दानियल ६:४-१०, १६ पढ्‌नुहोस्‌) सिंहको खोरमा हालिने कुरा थाह हुँदाहुँदै पनि तिनले “आफ्नो आदतअनुसार” परमेश्‍वरलाई “दिनमा तीनपल्ट प्रार्थना” गर्ने आध्यात्मिक बानी एक महिना पनि टुटाएनन्‌। तिनको यो बानी देख्नेहरूले यहोवाको उपासना नियमित गर्नुभन्दा महत्त्वपूर्ण कुरा अरू केही छैन भनेर बुझे।—मत्ती ५:१६.

१५ दानियलले सिंहको खोरमा एक रात बिताएपछि राजा आफै गएर यसो भन्दै कराए: “हे दानियल, जीवित परमेश्‍वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रो परमेश्‍वरले तिमीलाई सिंहहरूदेखि बचाउनसक्नुभयो?” दानियलले तुरुन्तै यस्तो जवाफ दिए: “महाराज अमर रहून्‌! सिंहहरूका मुख थुनिदिनलाई मेरा परमेश्‍वरले आफ्ना दूत पठाउनुभयो, र यी सिंहहरूले मलाई केही हानि गरेनन्‌, किनभने उहाँको सामने म निर्दोष पाइएँ। औ हे महाराजा, हजूरको पनि मैले केही बिराएको थिइनँ।” “निरन्तर” सेवा गरेकोले दानियललाई यहोवाले आशिष्‌ दिनुभयो।—दानि. ६:१९-२२.

१६. दानियलको उदाहरणले हामीलाई सेवाको काममा भाग लिनेबारे कस्ता प्रश्‍नहरू सोध्न प्रेरित गर्छ?

१६ दानियल आफ्नो आध्यात्मिक तालिकालाई हेलचक्य्राइँ गर्नुभन्दा बरु मर्न इच्छुक थिए। हामी नि? परमेश्‍वरको राज्यको सुसमाचार निरन्तर घोषणा गर्न हामी त्यागहरू गरिरहेका वा त्यागहरू गर्न इच्छुक छौं? त्यसो हो भने यहोवाबारे अरूलाई नबताईकन पूरै महिना बित्नदिनु हुँदैन। सम्भव भएसम्म हामीले हरेक हप्ता सेवाको काममा भाग लिने प्रयास गर्नुपर्छ, होइन र? हामी अत्यन्तै अशक्‍त छौं र महिनाको १५ मिनेट मात्र साक्षी दिन सक्छौं भने पनि यसको रिपोर्ट दिनुपर्छ। किन? किनभने आत्मा र दुलहीसित हामी “आउनुहोस्‌” भनिरहन चाहन्छौं। हो, नियमित राज्य प्रकाशक भइरहन हामी सक्दो प्रयास गर्न चाहन्छौं।

१७. यहोवाको निम्तो बाँड्‌ने कस्ता मौकाहरू हामीले गुमाउनु हुँदैन?

१७ प्रचारको लागि छुट्याइएको समयमा मात्र होइन हामीले हर मौकामा यहोवाको निम्तो अरूलाई बाँड्‌ने प्रयास गर्नुपर्छ। किनमेल गर्दा, यात्रा गर्दा, बिदामा, काममा वा स्कूल जाँदा जस्ता अरू समयमा तिर्खाएकाहरूलाई ‘आउनुहोस्‌ र जीवनको पानी सित्तैंमा लिनुहोस्‌’ भन्‍ने निम्तो दिन पाउनु कस्तो ठूलो सुअवसर! अख्तियारवालाहरूले हाम्रो प्रचारकार्यमा रोक लगाउँदासमेत हामी सतर्क भएर प्रचार गरिरहन्छौं। मतलब कुनै एउटा इलाकामा केही समय प्रचार गरेर अर्को इलाकामा गइहाल्छौं वा धेरैभन्दा धेरै अनौपचारिक साक्षी दिन्छौं।

“आउनुहोस्‌” भनिरहनुहोस्‌

१८, १९. परमेश्‍वरको सहकर्मी हुने सुअवसरको कदर गर्नुहुन्छ भनी तपाईं कसरी देखाउन सक्नुहुन्छ?

१८ जीवनको पानीको लागि तिर्खाउनेलाई आत्मा र दुलहीले “आउनुहोस्‌” भनिरहेको ९० वर्षभन्दा धेरै भइसक्यो। के तपाईंले तिनीहरूको त्यो रोमाञ्चकारी निम्तो सुन्‍नुभएको छ? छ भने अरूलाई त्यो निम्तो बाँड्‌न तपाईंलाई हार्दिक आग्रह गरिएको छ।

१९ यहोवाको मायालु निम्तो कहिलेसम्म अरूलाई बाँडिरहनेछौं, हामीलाई थाहा छैन। तर “आउनुहोस्‌” भन्‍ने निम्तो सुनेर अनि स्वीकारेर अरूलाई निम्तो बाँड्‌दा हामी परमेश्‍वरका सहकर्मी हुन्छौं। (१ कोरि. ३:६,) कत्रो सुअवसर! यस्तो सुअवसरको कदर गर्छौं भनी देखाऔं र नियमित प्रचार गरेर “निरन्तर स्तुतिको बलिदान परमेश्‍वरलाई चढाऔं।” (हिब्रू १३:१५) हामी पृथ्वीमा बस्ने आशा भएकाहरूले दुलही वर्गसित मिलेर “आउनुहोस्‌” भनिरहौं। अनि अझ धेरैले जीवनको पानी सित्तैंमा लिन सकून्‌!” ( w10 -E 02/15)

तपाईंले के सिक्नुभयो?

• “आउनुहोस्‌” भन्‍ने निम्तो कसलाई पनि बाँडियो?

• “आउनुहोस्‌” भन्‍ने निम्तो दिन सुरु गर्ने यहोवा हुनुहुन्छ भनेर किन भन्‍न सक्छौं?

• “आउनुहोस्‌” भनेर निम्तो बाँड्‌ने काममा पवित्र आत्मा कसरी समावेश छ?

• सेवाको काममा नियमित हुने अथक प्रयास हामीले किन गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको चार्ट/चित्रहरू]

“आउनुहोस्‌!” भनिरहनुहोस्‌

१९१४

५,१०० प्रकाशक

१९१८

पृथ्वीमा हुने प्रमोदवनमा धेरैले जीवन पाउनेछ

१९२२

“राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌”

१९२९

वफादार शेष अभिषिक्‍त जनहरू भन्छन्‌, “आउनुहोस्‌!”

१९३२

“आउनुहोस्‌!” भन्‍ने निम्तो अभिषिक्‍तलाई मात्र होइन; अरूलाई पनि बाँडियो

१९३४

योनादाब वर्गलाई प्रचार गर्न निम्तो दिइयो

१९३५

“ठूलो भीड” चिनाइयो

२००९

७३,१३,१७३ प्रकाशक