सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन परमेश्‍वरले मानिसहरूलाई अनन्त जीवन उपहारस्वरूप दिनुभयो?

किन परमेश्‍वरले मानिसहरूलाई अनन्त जीवन उपहारस्वरूप दिनुभयो?

हाम्रा पाठकहरू सोध्छन्‌ . . .

किन परमेश्‍वरले मानिसहरूलाई अनन्त जीवन उपहारस्वरूप दिनुभयो?

▪ “अनन्त जीवन” प्राप्त गर्न सक्ने मौकाको ढोका परमेश्‍वरले हाम्रो लागि खोलिदिनुभएको छ भनी बाइबल बताउँछ। (यूहन्‍ना ६:४०) तर त्यस्तो आशा दिन उहाँलाई केले प्रेरित गऱ्‍यो? के यो न्यायको कुरा मात्र हो?

न्याय गर्नुमा मानिससित सही अनि जायज तरिकाले व्यवहार गर्नु समावेश छ। के हामी वास्तवमा जीवन पाउन योग्यका छौं? छैनौं। बाइबल भन्छ: “संसारमा यस्तो कुनै धर्मी मानिस छैन जसले सबै काम ठीक गर्छ र कहिल्यै भुल गर्दैन।” (उपदेशक ७:२०) पाप गरेपछि सजाय पाइन्छ। परमेश्‍वरले पहिलो मानिस आदमलाई पाप गरेकै दिन ‘निश्‍चय मर्नेछस्‌’ भनी चेतावनी दिनुभयो। (उत्पत्ति २:१७) पछि प्रेरित पावलले यस्तो लेख्ने प्रेरणा पाए: “पापको ज्याला मृत्यु हो।” (रोमी ६:२३) अतः आदमका सम्पूर्ण सन्तति मृत्युको योग्य छन्‌ भने परमेश्‍वरले अन्त नहुने जीवनको सम्भावना हामीसामु किन राखिदिनुभएको?

अनन्त जीवन “सित्तैंमा” पाएको वरदान हो। यो परमेश्‍वरको महानता र अपार प्रेम तथा असीम अनुग्रहको अभिव्यक्‍ति हो। बाइबल भन्छ: “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌। उहाँको अनुग्रहले ख्रीष्ट येशूमा भएको उद्धारद्वारा तिनीहरू सित्तैंमा धर्मी ठहरिन्छन्‌।”—रोमी ३:२३, २४.

हामी सबै मृत्युको योग्य भए तापनि उहाँलाई माया गर्नेहरू जतिलाई परमेश्‍वर अनन्त जीवन दिने छनौट गर्नुहुन्छ। के यो न्यायसंगत छ? बाइबल बताउँछ: “तब हामी के भनौं? के परमेश्‍वरमा अधर्म छ ता? त्यसो नहोस्‌। किनभने उहाँ मोशालाई भन्‍नुहुन्छ, ‘जसमाथि म कृपा गर्नचाहन्छु त्यसलाई म कृपा गर्नेछु, औ जसमाथि म सहानुभूति देखाउनचाहन्छु त्यसलाई म सहानुभूति देखाउनेछु।’ . . . तर ‘ए मानिस, तँ चाहिं परमेश्‍वरको विरुद्धमा जवाफ दिने को होस्‌?’ ”—रोमी ९:१४-२०.

संसारका कुनैकुनै ठाँउमा उच्च अख्तियारवाला वा न्यायाधीशले कठोर सजाय भोगिरहेको कुनै अपराधीलाई माफी दिन सक्छ। अपराधी सानातिना कुराहरू पनि पालन गर्न र आफ्नो मनोवृत्ति तथा बानीबेहोरामा आमूल परिवर्तन गर्न इच्छुक छ भने न्यायाधीश वा राष्ट्रपतिले तिनको सजायँ कम गरिदिन वा तिनलाई पूरै माफी दिन सक्छ। अनि यो कदम नै असीम अनुग्रहको अभिव्यक्‍ति भन्‍न सकिन्छ।

त्यसैगरि यहोवा पनि सबै पापीले तिनीहरूलाई दिइएको सजायँ पूरा गर्नैपर्छ भनेर माग गर्नुहुन्‍न। बरु उहाँलाई माया गर्ने र उहाँका स्तर पालन गर्नेहरूलाई उहाँ प्रेमले ओतप्रोत भएर अनन्त जीवन उपहारस्वरूप दिन सक्नुहुन्छ। बाइबल भन्छ: “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.

आफ्नो पुत्रलाई हाम्रो खातिर दुःख पाउन र मर्न पठाउनु नै यहोवाले हामीलाई देखाएको अपार प्रेमको प्रमाण हो। येशूले आफ्नो पिताबारे यसो भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।”—यूहन्‍ना ३:१६.

पृष्ठभूमि जस्तोसुकै भए तापनि यहोवालाई माया गर्ने र उहाँको इच्छाबमोजिम गर्ने सबैलाई यहोवा ग्रहण गर्नुहुन्छ। त्यसकारण अनन्त जीवनको आशा मुख्यतः हामीलाई देखाइएको असीम अनुग्रहको अभिव्यक्‍ति अर्थात्‌ परमेश्‍वरले हामीलाई देखाएको अपार प्रेमको सर्वोत्तम प्रमाण हो। ( w10 -E 01/01)

[पृष्ठ २५-मा भएको ठूलो अक्षरको क्याप्सन]

यो मुख्यतः हामीलाई देखाइएको असीम अनुग्रहको अभिव्यक्‍ति अर्थात्‌ परमेश्‍वरले हामीलाई देखाएको अपार प्रेमको सर्वोत्तम प्रमाण हो