सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवन बिताउने सर्वोत्तम मार्गमा स्वागत छ!

जीवन बिताउने सर्वोत्तम मार्गमा स्वागत छ!

जीवन बिताउने सर्वोत्तम मार्गमा स्वागत छ!

‘चाहे हामी बाचौं, चाहे मरौं, हामी यहोवाकै हौं।’—रोमी १४:८.

१. जीवन बिताउने सर्वोत्तम मार्गबारे येशूले के सिकाउनुभयो?

 हामीले जीवन बिताउने सर्वोत्तम मार्गको आनन्द उठाएको यहोवा चाहनुहुन्छ। मानिसहरूले विभिन्‍न मार्गमा जीवन बिताउन सक्छन्‌ तर एउटा मात्र मार्ग सर्वोत्तम छ। परमेश्‍वरको वचन अनुरूप चल्नु र उहाँका पुत्र येशू ख्रीष्टबाट सिक्नुभन्दा जीवन बिताउन सक्ने सर्वोत्तम मार्ग अरू कुनै छैन। परमेश्‍वरलाई आत्मा र सत्यतामा पुज्न येशूले आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो र तिनीहरूलाई चेला बनाउन आज्ञा दिनुभयो। (मत्ती २८:१९, २०; यूह. ४:२४) येशूको निर्देशन अनुरूप जीवन बिताएर हामी यहोवालाई खुसी पार्छौं र उहाँले दिने आशिष्‌को आनन्द उठाउँछौं।

२. प्रथम शताब्दीमा थुप्रैले राज्य सन्देशप्रति कस्तो प्रतिक्रिया देखाए र “त्यस मार्गमा” हुनुको अर्थ के थियो?

जब नम्र व्यक्‍तिहरूले साँचो धर्ममा विश्‍वास गरेर बप्तिस्मा गर्छन्‌ तब तिनीहरूलाई “जीवन बिताउने सर्वोत्तम मार्गमा स्वागत छ!” भन्‍न ठोस कारण हामीसित हुन्छ। इस्वी संवत्‌ प्रथम शताब्दीको दौडान विभिन्‍न राष्ट्रका हजारौं मानिसले सत्यलाई अँगाले र बप्तिस्माद्वारा जनसमक्ष आफूले परमेश्‍वरलाई समर्पण गरेको प्रमाण दिए। (प्रेरि. २:४१) प्रथम शताब्दीका ती चेलाहरू “त्यस मार्गमा” थिए। (प्रेरि. ९:२; १९:२३) यो अभिव्यक्‍ति सुहाउँदो थियो किनभने ख्रीष्टका अनुयायी बनेकाहरूले आफ्नो जीवन येशू ख्रीष्टमाथिको विश्‍वास र उहाँको उदाहरण पछ्याउनुमा केन्द्रित गरे।—१ पत्रु. २:२१.

३. यहोवाका जनहरू किन बप्तिस्मा गर्छन्‌ र विगत दस वर्षमा कति जनाले बप्तिस्मा गरेका छन्‌?

यस आखिरी दिनमा चेला बनाउने काम तीव्र गतिमा भइरहेको छ र यो काम २३० भन्दा धेरै मुलुकमा फैलिएको छ। विगत दस वर्षमा २७ लाख भन्दा धेरै मानिसहरूले यहोवाको सेवा गर्ने र उहाँमा समर्पण गरेको चिह्नस्वरूप बप्तिस्मा गर्ने निर्णय गरेका छन्‌। यो भनेको हरेक हप्ता औसत ५,००० जना भन्दा धेरैको संख्या हो! बप्तिस्मा गर्ने निर्णय परमेश्‍वरप्रतिको प्रेम, धर्मशास्त्रको ज्ञान र आफूले सिकाउने कुराप्रतिको विश्‍वासमा आधारित छ। बप्तिस्मा हाम्रो जीवनको एउटा कोसेढुङ्‌गो हो किनभने यसले यहोवासित घनिष्ठ सम्बन्ध सुरु भएको संकेत गर्छ। साथै बप्तिस्मा भनेको परमेश्‍वरले प्राचीन समयका आफ्ना सेवकहरूलाई उहाँको मार्गमा हिंड्‌न मदत गर्नुभएझैं हामीलाई पनि विश्‍वासी भई उहाँको सेवा गर्न मदत गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त भएको देखाउनु पनि हो।—यशै. ३०:२१.

बप्तिस्मा किन गर्नैपर्छ?

४, ५. बप्तिस्मा गर्नुका केही आशिष्‌ अनि फाइदाहरू बताउनुहोस्‌।

सायद तपाईंले परमेश्‍वरको ज्ञान लिनुभयो, आफ्नो जीवनमा परिवर्तनहरू गर्नुभयो र अहिले बप्तिस्मा अप्राप्त प्रकाशक बनिसक्नुभयो। यस्तो प्रगति प्रशंसनीय छ। तर के तपाईंले प्रार्थनामा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नुभयो र बप्तिस्मा गर्ने विचार गर्दै हुनुहुन्छ? आफ्नो बाइबल अध्ययनबाट सायद तपाईंले यो कुरा थाह पाइसक्नुभयो, आफ्नो जीवन यहोवाको प्रशंसा गर्नमा क्रेन्द्रित हुनुपर्छ, आफैलाई खुसी पार्न र धनसम्पत्ति हासिल गर्नमा होइन। ( भजन १४८:११-१३ पढ्‌नुहोस्‌; लूका १२:१५) त्यसोभए, बप्तिस्मा गर्दाका केही आशिष्‌ अनि फाइदा के-के हुन्‌?

समर्पित ख्रीष्टियान भएपछि तपाईंको जीवनमा सर्वोत्तम उद्देश्‍य हुनेछ। ईश्‍वरीय इच्छाबमोजिम चलिरहेकोले तपाईं आनन्दित हुनुहुनेछ। (रोमी. १२:१, २) यहोवाको पवित्र आत्माले शान्ति अनि विश्‍वास जस्ता ईश्‍वरीय गुणहरू विकास गर्नेछ। (गला. ५:२२, २३) परमेश्‍वरले तपाईंका प्रार्थनाहरूको जवाफ दिनुहुनेछ र उहाँको वचन अनुरूप जीवन ढाल्ने तपाईंको प्रयासमा आशिष्‌ दिनुहुनेछ। तपाईंको सेवाको काम रमाइलो हुनेछ र परमेश्‍वरले ग्रहण गर्नुहुने मार्गमा जीवन बिताउँदा अनन्त जीवनप्रतिको तपाईंको आशा बलियो हुनेछ। साथै समर्पण र बप्तिस्माद्वारा तपाईं साँच्चै यहोवाको एक जना साक्षी हुन चाहेको कुरा स्पष्ट हुनेछ।—यशै. ४३:१०-१२.

६. हाम्रो बप्तिस्माले के जनाउ दिन्छ?

हामीले आफूलाई परमेश्‍वरमा समर्पण र बप्तिस्मा गरेर जनसमक्ष हामी यहोवाकै हौं भनेर जनाउ दिइरहेका हुन्छौं। प्रेरित पावलले लेखे: ‘हामी कोही पनि आफ्नो निम्ति बाँच्तैनौं, र कोही पनि आफ्नो निम्ति मर्दैनौं। किनकि हामी बाँचे पनि यहोवाको निम्ति बाँच्तछौं, औ मरे पनि यहोवाको निम्ति मर्दछौं। यसकारण चाहे हामी बाचौं, चाहे मरौं, हामी यहोवाकै हौं।’ (रोमी १४:७, ८) स्वतन्त्र इच्छा दिएर परमेश्‍वरले हामीप्रति आदर देखाउनुभएको छ। परमेश्‍वरप्रतिको प्रेमको कारण, दृढ भई जीवनको यो मार्ग पछ्याउने निर्णय गर्दा हामी उहाँको हृदय आनन्दित तुल्याउँछौं। (हितो. २७:११) हाम्रो बप्तिस्मा यी दुवै कुराको संकेत हो: आफूलाई परमेश्‍वरमा समर्पण गरेको र उहाँको आज्ञा मान्छौं भनेर जन-घोषणा गरेको। यसले विश्‍वव्यापी सार्वभौमिकताको विवादमा हामीले उहाँको पक्षमा अडान लिएका छौं भनेर पनि देखाउँछ। (प्रेरि. ५:२९, ३२) अनि यहोवा पनि हाम्रो पक्षमा हुनुहुन्छ। ( भजन ११८:६ पढ्‌नुहोस्‌) बप्तिस्माले हामीलाई अहिले अनि भविष्यमा अरू थुप्रै आध्यात्मिक आशिष्‌प्राप्त गर्ने बाटो पनि खोलिदिन्छ।

मायालु भाइचाराको आशिष्‌

७-९. (क) सबै कुरा छोडेर उहाँको पछि लाग्नेहरूलाई येशूले कस्तो आश्‍वासन दिनुभयो? (ख) मर्कूस १०:२९, ३० मा लिपिबद्ध येशूको प्रतिज्ञा कसरी पूरा हुँदैछ?

प्रेरित पत्रुसले येशूलाई यसो भने: “हेर्नुहोस्‌ हामीले ता सबै थोक छोडेर तपाईंका पछि लाग्यौं हामीले के पाउनेछौं?” (मत्ती १९:२७) भविष्यमा आफू अनि येशूका अरू चेलाहरूले के पाउनेछन्‌, पत्रुस जान्‍न चाहन्थे। राज्य प्रचारकार्यमा पूर्णतया लाग्न तिनीहरूले ठूलठूला त्यागहरू गरे। (मत्ती ४:१८-२२) येशूले तिनीहरूलाई के आश्‍वासन दिनुभयो?

मर्कूसले दिएको त्यस्तै विवरणमा येशूले उहाँका चेलाहरू आध्यात्मिक भाइचाराको भाग बन्‍नेछन्‌ भनी संकेत गर्नुभयो। उहाँले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो खातिर र सुसमाचारको खातिर घर कि दाजुभाइ, कि दिदीबहिनी, कि आमा, कि बाबु, कि बालबच्चाहरू कि जग्गा-जमीन छोड्‌छ त्यसले खेदोको साथसाथ सय गुणा बढ्‌ता घरहरू, र दाजुभाइहरू, र दिदीबहिनीहरू र आमाहरू र बालकहरू र जग्गा-जमीन अहिले यही समयमा पाउनेछ, र आउँदो जगत्‌मा अनन्त जीवन।” (मर्कू. १०:२९, ३०) प्रथम शताब्दीका लिडिया, अक्वीला, प्रिस्किला र गायस जस्ता ख्रीष्टियानहरूले आफ्ना “घरहरू” उपलब्ध गराए र सँगी विश्‍वासीहरूका लागि “दाजुभाइहरू, र दिदीबहिनीहरू र आमाहरू” बने। यो येशूले प्रतिज्ञा गरेबमोजिम थियो।—प्रेरि. १६:१४, १५; १८:२-४; ३ यूह. १, ५-८.

येशूले भन्‍नुभएको कुरा अहिले अझै बृहत्‌ रूपमा पूरा हुँदैछ। उहाँका अनुयायीहरूले छोड्‌ने “जग्गा-जमीन”-ले मिसनरीहरू, बेथेल परिवारका सदस्यहरू, अन्तरराष्ट्रिय सेवकहरूलगायत अरू थुप्रैले राज्य गतिविधि विभिन्‍न मुलुकमा फैलाउन आफ्नो जीवन धान्‍ने स्रोत स्वेच्छाले त्याग्नुलाई संकेत गर्छ। थुप्रै भाइबहिनीले जीवन सरल बनाउन घर छोडेका छन्‌। अनि यहोवाले कसरी तिनीहरूको ख्याल गरिरहनुभएको छ र तिनीहरूले उहाँको सेवामा कसरी आनन्द उठाइरहेका छन्‌, सुन्‍न पाउँदा हामीलाई खुसी लाग्छ। (प्रेरि. २०:३५) यसबाहेक, यहोवाका बप्तिस्माप्राप्त सम्पूर्ण सेवकहरूले विश्‍वव्यापी ख्रीष्टियान भाइचाराको भाग भएर ‘[परमेश्‍वरको] राज्य र धार्मिकता खोजी गर्दा’ पाउने आशिष्‌को आनन्द उठाउन सक्नेछन्‌।—मत्ती ६:३३.

“गुप्त ठाउँमा” सुरक्षित

१०, ११. “परम प्रधानको गुप्त ठाउँ” के हो र हामी कसरी त्यहाँ प्रवेश पाउन सक्छौं?

१० समर्पण र बप्तिस्माले अर्को ठूलो आशिष्‌ पनि दिन्छ। त्यो हो: “परम प्रधानको गुप्त ठाउँमा” बास गर्ने सुअवसर। ( भजन ९१:१ पढ्‌नुहोस्‌) यो आध्यात्मिक हानिबाट जोगाउने एउटा लाक्षणिक सुरक्षास्थल वा अवस्था हो। यो एउटा “गुप्त ठाउँ” हो किनभने आध्यात्मिक दृष्टिकोणको कमी भएका र परमेश्‍वरमा भरोसा नगर्ने मानिसहरूलाई यो ठाउँ थाह छैन। समर्पण अनुरूप जीवन बिताउँदा र यहोवामा पूर्ण भरोसा राख्दा हामीले यसो भनिरहेका हुन्छौं: “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरा परमेश्‍वर, जसमा म भरोसा राख्तछु।” (भज. ९१:२) यहोवा हाम्रो सुरक्षित बासस्थान हुनुहुनेछ। (भज. ९१:९) योभन्दा सुरक्षित ठाउँ अरू कुन हुन सक्ला र?

११ यहोवाको “गुप्त ठाउँमा” प्रवेश पाउनुले उहाँसित व्यक्‍तिगत सम्बन्ध विकास गर्ने सुअवसरलाई पनि बुझाउँछ। यसको सुरुआत समर्पण र बप्तिस्माबाट हुन्छ। त्यसपछि बाइबल अध्ययन, हृदयदेखिको प्रार्थना र पूर्ण आज्ञाकारितामार्फत परमेश्‍वरसित नजिक भएर उहाँसितको सम्बन्धलाई बढाउँदै लैजान्छौं। (याकू. ४:८) यहोवासित येशू जत्तिको नजिक अरू कोही थिएन। अनि सृष्टिकर्तामाथिको उहाँको भरोसा कहिल्यै ढलपल भएको छैन। (यूह. ८:२९) त्यसकारण यहोवामाथि वा हाम्रो समर्पणको भाकल पूरा गर्न हामीलाई मदत गर्ने उहाँको चाहना अनि क्षमतामाथि कहिल्यै शंका नगरौं। (उप. ५:४) परमेश्‍वरले आफ्ना जनहरूका लागि गर्नुभएको आध्यात्मिक प्रबन्धहरू उहाँ हामीलाई साँच्चै माया गर्नुहुन्छ र उहाँको सेवा गर्दा सफल भएको चाहनुहुन्छ भन्‍ने कुराको सुस्पष्ट प्रमाण हो।

आध्यात्मिक प्रमोदवनको मोल गर्नुहोस्‌

१२, १३. (क) आध्यात्मिक प्रमोदवन के हो? (ख) हामी कसरी नयाँ व्यक्‍तिहरूलाई मदत गर्न सक्छौं?

१२ समर्पण र बप्तिस्माले आशिषित्‌ आध्यात्मिक प्रमोदवनमा रहने बाटो पनि खोलिदिन्छ। यो, सँगी विश्‍वासीहरूसित आनन्द उठाउन सक्ने एउटा अनुपम आध्यात्मिक वातावरण हो। यी सँगी विश्‍वासीहरू यहोवा र एकअर्कासित शान्तिमा रहन्छन्‌। (भज. २९:११; यशै. ५४:१३) यो संसारमा त्यस्तो कुनै चीज छैन जुन आध्यात्मिक प्रमोदवनको बराबरीमा आउन सक्छ। यो विशेषगरि अन्तरराष्ट्रिय अधिवेशनहरूमा देखिन्छ जहाँ विभिन्‍न राष्ट्र, भाषा र जातका भाइबहिनीहरू शान्ति, एकता र भाइचाराको वातावरणमा भेला हुन्छन्‌।

१३ आजको दुःखद परिस्थिति हामीले आनन्द उठाइरहेको आध्यात्मिक प्रमोदवनभन्दा बिलकुलै फरक छ। ( यशैया ६५:१३, १४ पढ्‌नुहोस्‌) राज्यको सन्देश सुनाएर अरूलाई आध्यात्मिक प्रमोदवनमा प्रवेश गर्न निमन्त्रणा दिने सुअवसर हामीसित छ। मण्डलीसित भर्खरै संगत गर्न थालेकाहरूलाई मदत गर्न पाउनु पनि आशिष्‌को कुरा हो। तिनीहरूले सेवाको काममा प्रशिक्षण पाएर लाभ उठाउनेछन्‌। अक्वीला र प्रिस्किलाले अपोल्लसलाई “परमेश्‍वरको मार्गको अर्थ झन्‌ प्रष्टसँग बुझाइदिए”-जस्तै हामीले पनि प्राचीनहरूको निर्देशनमा केही नयाँ व्यक्‍तिहरूलाई मदत गर्ने सुअवसर पाउन सक्छौं।—प्रेरि. १८:२४-२६.

येशूबाट सिकिरहनुहोस्‌

१४, १५. येशूबाट सिकिरहनुपर्ने हामीसित कस्ता ठोस कारणहरू छन्‌?

१४ हामीसित येशूबाट सिकिरहनुपर्ने ठोस कारणहरू छन्‌। मानिसको रूपमा पृथ्वीमा आउनुअघि येशूले युगौंयुग आफ्ना पितासित काम गर्दै बिताउनुभयो। (हितो. ८:२२, ३०) परमेश्‍वरको सेवा र सत्यको साक्षी दिनुमा केन्द्रित जीवन नै सर्वोत्तम मार्ग हो भनेर उहाँलाई थाह थियो। (यूह. १८:३७, NRV) येशूलाई यो पनि थाह थियो, जीवन बिताउने अरू जुनसुकै मार्ग स्वार्थी र अदूरदर्शी हुनेछ। कठोर परीक्षा भोग्नुपर्नेछ र मारिनुपर्नेछ भनेर उहाँलाई थाह थियो। (मत्ती २०:१८, १९; हिब्रू ४:१५) हाम्रो नमुनाको रूपमा उहाँले हामीलाई सत्यनिष्ठ हुन सिकाउनुभयो।

१५ येशूले बप्तिस्मा गरेलगत्तै शैतानले उहाँलाई जीवन बिताउने सर्वोत्तम मार्ग त्याग्न लगाउन प्रलोभन देखायो। तर त्यसको केही सीप लागेन। (मत्ती ४:१-११) यसबाट हामी के बुझ्न सक्छौं भने शैतानले जे-जति प्रयास गरे तापनि हामी आफ्नो सत्यनिष्ठा कायम राख्न सक्छौं। त्यसले बप्तिस्मा गर्न लागेकाहरू र भर्खरै बप्तिस्मा गरेकाहरूलाई आफ्नो तारो बनाउन खोज्छ। (१ पत्रु. ५:८) राम्रै मनसाय भएका तर सही जानकारी नभएका परिवारका सदस्यहरूबाट विरोध आउन सक्छ। तैपनि, यस्ता परीक्षाहरूले सोधिएका प्रश्‍नहरूको जवाफ दिंदा र साक्षी दिंदा आदर अनि कौशलताजस्ता असल ख्रीष्टियान गुणहरू देखाउने मौका दिन्छ। (१ पत्रु. ३:१५) त्यसकारण यस्ता अनुभवहरूले हाम्रो कुरा सुन्‍ने व्यक्‍तिहरूलाई सकारात्मक प्रभाव पार्न सक्छ।—१ तिमो. ४:१६.

जीवन बिताउने सर्वोत्तम मार्गमा लीन भइरहनुहोस्‌

१६, १७. (क) व्यवस्था ३०:१९, २० मा जीवनका लागि कुन तीन आधारभूत आवश्‍यकताहरू पाइन्छ? (ख) येशू, यूहन्‍ना अनि पावलले मोशाले लेखेको कुरालाई कसरी समर्थन गरे?

१६ येशू यस पृथ्वीमा आउनुभन्दा करिब १,५०० वर्षअघि मोशाले इस्राएलीहरूलाई त्यतिबेला सम्भव भएको जीवन बिताउने सर्वोत्तम मार्ग छान्‍न सल्लाह दिए। तिनले भने: “आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूको सामने साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष्‌ र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै [“उहाँको स्वर सुन्दै,” NW] र उहाँसँगै लीन बन्दै बाँचिरहो।” (व्यव. ३०:१९, २०) इस्राएलीहरू परमेश्‍वरप्रति वफादार रहेनन्‌। तर जीवनको लागि मोशाले बताएका तीन आधारभूत आवश्‍यकताहरू परिवर्तन भएका छैनन्‌। येशू र अरूले पनि यी आवश्‍यकताहरू पुनः दोहोऱ्‍याए।

१७ पहिलो, ‘हामीले यहोवा आफ्ना परमेश्‍वरलाई प्रेम गर्नैपर्छ।’ उहाँको धार्मिकताको मार्गमा चलेर हामी उहाँलाई प्रेम गर्छौं भनी देखाउँछौं। (मत्ती २२:३७) दोस्रो, ‘हामीले यहोवाको स्वर सुन्‍नैपर्छ।’ कसरी? उहाँको वचन अध्ययन गरेर अनि उहाँका आज्ञाहरू पालन गरेर। (१ यूह. ५:३) यसको लागि बाइबलसम्बन्धी छलफल हुने ख्रीष्टियान सभाहरूमा नियमित उपस्थित हुनु आवश्‍यक छ। (हिब्रू १०:२३-२५) तेस्रो, ‘हामी यहोवामा लीन बन्‍नैपर्छ।’ जस्तोसुकै परिस्थिति आइपरे तापनि हामी सधैं परमेश्‍वरमा विश्‍वास गरौं र उहाँको पुत्रको पछि लागौं।—२ कोरि. ४:१६-१८.

१८. (क) प्रहरीधरहरा-ले सन्‌ १९१४ मा सत्यलाई कसरी वर्णन गऱ्‍यो? (ख) आज सत्यको ज्योतिप्रति हामीले कस्तो महसुस गर्नुपर्छ?

१८ बाइबल सत्य अनुरूप जीवन बिताउनु कत्ति ठूलो आशिष्‌को कुरा हो! सन्‌ १९१४ मा प्रहरीधरहरा-मा यस्तो उल्लेखनीय कुरा छापियो: “के हामी आशिषित्‌ र आनन्दित जनहरूका जमात होइनौं र? के हाम्रा परमेश्‍वर भरोसायोग्य हुनुहुन्‍न? यदि योभन्दा उत्तम अरू कसैलाई थाह छ भने त्यो तिनले ग्रहण गरून्‌। यदि तपाईंहरूमध्ये कसैले योभन्दा राम्रो कुरा भेट्टाउनुभयो भने हामीलाई पनि बताउनुहुनेछ भन्‍ने अपेक्षा गर्दछौं। परमेश्‍वरको वचनमा हामीले पाएको भन्दा अरू राम्रो कुरा हामीलाई थाह छैन, न त त्यसको आधा नै थाह छ। . . . साँचो परमेश्‍वरबारेको सङ्‌लो ज्ञानले हाम्रो हृदय अनि जीवनमा छरिदिएको शान्ति, आनन्द र आशिष्‌बारे वर्णन गरेरै साध्य छैन। परमेश्‍वरको बुद्धि, न्याय, शक्‍ति र प्रेमका विवरणले हाम्रो मन अनि हृदयको तृष्णा पूर्णतया मेटाइदिन्छ। हामी योभन्दा अरू केही खोज्दैनौं। हामी परमेश्‍वरको ज्ञानमा बढ्‌दै जानुबाहेक अरू केही चाहँदैनौं।” ( प्रहरीधरहरा, डिसेम्बर १५, १९१४, पृष्ठ ३७७-३७८) आध्यात्मिक ज्योति र सत्यप्रतिको हाम्रो कृतज्ञता अपरिवर्तनीय छ। वास्तवमा, ‘यहोवाको ज्योतिमा हिंड्‌दा’ रमाउनुपर्ने अझ धेरै कारणहरू आज हामीसित छन्‌।—यशै. २:५; भज. ४३:३; हितो. ४:१८.

१९. बप्तिस्माको लागि योग्यहरूले किन ढिलासुस्ती नगरी त्यो कदम चालिहाल्नुपर्छ?

१९ यदि तपाईं ‘यहोवाको ज्योतिमा हिंड्‌न’ चाहनुहुन्छ तर अहिलेसम्म समर्पित बप्तिस्माप्राप्त ख्रीष्टियान हुनुभएको छैन भने ढिलासुस्ती नगर्नुहोस्‌। बप्तिस्माको लागि बाइबलका आवश्‍यकताहरू जे-जति पूरा गर्नुपर्छ, गर्नुहोस्‌। बप्तिस्मा, परमेश्‍वर र ख्रीष्टले हाम्रो खातिर गर्नुभएको कुराको लागि कृतज्ञता व्यक्‍त गर्ने एउटा अनुपम तरिका हो। यहोवालाई तपाईंको सबैभन्दा बहुमूल्य सम्पत्ति अर्थात्‌ तपाईंको जीवन दिनुहोस्‌। पुत्रको पछि लागेर परमेश्‍वरको इच्छा पूरा गर्न चाहेको देखाउनुहोस्‌। (२ कोरि. ५:१४, १५) निस्सन्देह यो नै जीवन बिताउने सर्वोत्तम मार्ग हो! ( w10 -E 02/15)

तपाईं के भन्‍नुहुन्छ?

• हाम्रो बप्तिस्माले के संकेत गर्छ?

• परमेश्‍वरप्रतिको समर्पण र बप्तिस्माले के-कस्ता आशिष्‌हरू ल्याउँछन्‌?

• येशूबाट सिकिरहनु किन एकदमै महत्त्वपूर्ण छ?

• जीवन बिताउने सर्वोत्तम मार्गमा लीन भइरहन हामीलाई केले मदत गर्नेछ?

[प्रश्‍नहरू]

[पृष्ठ २७-मा भएको चित्र]

तपाईंको बप्तिस्माले तपाईंले जीवन बिताउने सर्वोत्तम मार्ग छान्‍नुभएको छ भनेर देखाउँछ

[पृष्ठ २८-मा भएका चित्रहरू]

के तपाईं “गुप्त ठाउँमा” सुरक्षित हुनुहुन्छ?