सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्नुहोस्‌’

‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्नुहोस्‌’

‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्नुहोस्‌’

“तिनीहरू . . . पवित्र आत्माले भरिए, र तिनीहरूले निर्भयतासँग परमेश्‍वरको वचन बोले।”—प्रेरि. ४:३१.

१, २. प्रचारकार्यमा प्रभावकारी हुने प्रयास हामीले किन गर्नुपर्छ?

 आफ्नो मृत्यु हुनुभन्दा तीन दिनअघि येशूले चेलाहरूलाई भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” स्वर्ग जानुअघि येशूले आफ्ना अनुयायीहरूलाई ‘सबै देशका जातिहरूलाई चेला बनाउने र जे-जे उहाँले उनीहरूलाई आज्ञा गर्नुभयो, तिनीहरूलाई ती सबै गर्नलाई सिकाउने’ आदेश दिनुभयो। अनि उहाँले ‘जगत्‌को अन्तसम्म उनीहरूका साथमा हुनेछु’ भनेर प्रतिज्ञा गर्नुभयो।—मत्ती २४:१४; २६:१, २; २८:१९, २०.

प्रथम शताब्दीमा सुरु भएको यस काममा हामी यहोवाका साक्षीहरू पनि सक्रिय भई भाग लिन्छौं। राज्यको सुसमाचार प्रचार गरेर अनि चेला बनाएर जीवन जोगाउने यो जति महत्त्वपूर्ण काम अरू कुनै छैन। त्यसोभए हामी प्रचारकार्यमा प्रभावकारी हुनु कत्ति जरुरी! पवित्र आत्माको डोऱ्‍याइअनुसार चल्दा प्रचारमा निर्भयसँग बोल्न कसरी मदत पाउनेछौं, त्यसबारे यस लेखमा छलफल गरिनेछ। यसपछिका दुइटा लेखमा पवित्र आत्माले हामीलाई सिपालु भई सिकाउन र प्रचारकार्यमा निरन्तर लागिरहन कसरी डोऱ्‍याउँछ, त्यो थाह पाउनेछौं।

हामी निर्भयी हुनु आवश्‍यक छ

३. राज्य प्रचारकार्यमा भाग लिन हामी निर्भयी हुनु किन आवश्‍यक छ?

परमेश्‍वरले हामीलाई राज्यबारे घोषणा गर्न दिएको यो सुअवसर अतुलनीय छ। तर प्रचार गर्नु कहिलेकाहीं चुनौतीपूर्ण हुन्छ। केहीले परमेश्‍वरको राज्यको सुसमाचार सहजै स्वीकार्छन्‌ तर कतिपय भने नूहको समयका मानिसजस्ता छन्‌। येशूले भन्‍नुभयो: “जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे।” (मत्ती २४:३८, ३९) अनि हामीलाई गिल्ला गर्ने वा विरोध गर्नेहरू पनि छन्‌। (२ पत्रु. ३:३) अधिकारप्राप्त व्यक्‍तिहरू, सहपाठीहरू वा सहकर्मीहरू वा परिवारका सदस्यहरूसमेतले हाम्रो विरोध गर्न सक्छन्‌। यसबाहेक लजालु स्वभाव र अरूले तिरस्कार गर्लान्‌ भन्‍ने डरजस्ता कमजोरीहरू पनि हामीसित छँदैछन्‌। थुप्रै कारणले गर्दा परमेश्‍वरको वचन “निर्भयतासाथ” बोल्न हामीलाई गाह्रो हुन सक्छ। (एफि. ६:१९, २०, NRV) गाह्रो अवस्थामा पनि परमेश्‍वरको वचन बोलिरहन हामी निर्भयी हुनुपर्छ। तर निर्भयी हुन हामीलाई केले मदत दिन सक्छ?

४. (क) निर्भयी हुनु भनेको के हो? (ख) थिस्सलोनिकीहरूसित बोल्न पावलले कसरी साहस बटुले?

नेपालीमा “निर्भय” भनी अनुवाद गरिएको युनानी शब्दको अर्थ “हाकाहाकी कुरा गर्ने, हक्की स्वभावको, स्पष्टवक्‍ता” हो। यस शब्दले “साहसी, विश्‍वस्त . . . निडर” भन्‍ने अर्थ पनि दिन्छ। निर्भयी हुनु भनेको प्याच्च-प्याच्च बोल्नु वा रूखो हुनु होइन। (कल. ४:६) साहसी भए पनि हामी सबैसित शान्तिमा रहन चाहन्छौं। (रोमी १२:१८) यसबाहेक परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दा हामी सन्तुलित भएर साहसी र कौशल हुनुपर्छ। यसो गर्दा कसैको अनजानमै चित्त दुखाइरहेका हुँदैनौं। हो, सही अर्थमा निर्भयी वा साहसी हुन निकै प्रयास गरेर खेती गर्नुपर्ने गुणहरू विकास गर्नैपर्छ। यस्तो साहस आफ्नै शक्‍तिमा भर परेर आउँदैन। प्रेरित पावल र उनका मित्रहरूले ‘फिलिप्पीमा बेइज्जती भोगेपछि’ पनि थिस्सलोनिकीहरूसित बोल्न तिनीहरूले कसरी साहस बटुले? ‘हाम्रा परमेश्‍वरले’ गर्दा भनी पावलले लेखे। ( १ थिस्सलोनिकी २:२ पढ्‌नुहोस्‌) यहोवा परमेश्‍वरले हाम्रो डर हटाउन सक्नुहुन्छ र हामीलाई त्यस्तै साहस दिन सक्नुहुन्छ।

५. पत्रुस, यूहन्‍ना र अरू चेलालाई यहोवाले कसरी साहस दिनुभयो?

“[मानिसहरूका] शासकहरू, बूढा-प्रधानहरू र शास्त्रीहरू”-ले धम्की दिंदा प्रेरित पत्रुस र प्रेरित यूहन्‍नाले यसो भने: “कुन ठीक हो? तपाईंहरूको कुरा सुन्‍नु कि परमेश्‍वरको? सो तपाईं नै विचार गर्नुहोस्‌। किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍तैसक्‍तैनौं।” सतावट रोकिदिनुहोस्‌ भनेर प्रार्थना गर्नुको सट्टा तिनीहरू र सँगी विश्‍वासीहरूले यहोवालाई यसरी बिन्ती गरे: “तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्‌, र तपाईंका दासहरूलाई बिलकुल निर्भयतामा तपाईंको वचन बोल्न दिनुहोस्‌।” (प्रेरि. ४:५, १९, २०, २९) यहोवाले तिनीहरूको बिन्तीको जवाफ कसरी दिनुभयो? ( प्रेरित ४:३१ पढ्‌नुहोस्‌) आफ्नो पवित्र आत्मामार्फत यहोवाले तिनीहरूलाई साहस बटुल्न मदत गर्नुभयो। परमेश्‍वरको आत्माले हामीलाई त्यसरी नै मदत दिन सक्छ। त्यसोभए, कसरी हामी परमेश्‍वरको आत्मा पाउन अनि प्रचारकार्यमा आत्माद्वारा डोरिन सक्छौं?

साहस प्राप्त गर्नुहोस्‌

६, ७. परमेश्‍वरको पवित्र आत्मा पाउन सकिने सबैभन्दा प्रत्यक्ष तरिका के हो? उदाहरणहरू दिनुहोस्‌।

परमेश्‍वरको पवित्र आत्मा पाउन सकिने सबैभन्दा प्रत्यक्ष तरिका पवित्र आत्मा माग्नु हो। येशूले मानिसहरूलाई भन्‍नुभयो: “तिमीहरू दुष्ट भइकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्‌ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:१३) वास्तवमा हामीले पवित्र आत्मा पाउन निरन्तर प्रार्थना गर्नुपर्छ। प्रचार गर्ने कुनै-कुनै तरिका जस्तै:- सडक साक्षी दिंदा, व्यापारिक इलाकामा वा अनौपचारिक प्रचार गर्दा हामीलाई डर लाग्छ भने प्रार्थना गरेर यहोवासँग पवित्र आत्मा माग्न सक्छौं। अनि आवश्‍यक साहस बटुल्न उहाँलाई गुहार्न सक्छौं।—१ थिस्स. ५:१७.

ख्रीष्टियान बहिनी रीमाले त्यसै गरिन्‌। * एक दिनको कुरा हो, उनले काम गर्ने स्कूलकी एक जना शिक्षिकाले केटाकेटीलाई गरिएको दुर्व्यवहारबारे अर्को स्कूलले बनाएको रिपोर्ट पढिरहेकी थिइन्‌। त्यो रिपोर्ट पढेर तिनी सारै विचलित भईन्‌ र यसरी दुःख पोखिन्‌: “कस्तो जमाना आएछ नि बाबै!” साक्षी दिने यस्तो मौका रीमा किन गुमाउन चाहन्थिन्‌ र! साहसी भएर बोल्न उनले के गरिन्‌? रीमा भन्छिन्‌: “मैले यहोवालाई प्रार्थना गरें र मलाई पवित्र आत्माको मदत दिनुहोस्‌ भनें।” उनी राम्रो साक्षी दिन सफल भईन्‌ र अझ बढी छलफल गर्न समय मिलाइन्‌। न्यु योर्ककी पाँच वर्षीया मिलानीको घटना पनि विचार गर्नुहोस्‌। उनी भन्छिन्‌: “स्कूल जानुअघि ममी र म सधैं यहोवालाई प्रार्थना गर्छौं।” तिनीहरू केको लागि प्रार्थना गर्छन्‌? आफ्नो विश्‍वासमा अडिग रहन र आफ्नो परमेश्‍वरबारे बोल्न मिलानी साहसी हुन सकोस्‌ भनेर। “यसले गर्दा मिलानीलाई जन्मदिन र बिदाहरूबारे आफ्नो विश्‍वास बताउन र ती दिनहरू मनाइँदा भाग नलिन मदत पुगेको छ,” उनकी आमा भन्छिन्‌। साहसी हुनुपरेको बेला प्रार्थनाले हामीलाई मदत गर्छ भनेर के यस्ता उदाहरणले देखाउँदैन र?

८. साहस प्राप्त गर्नेबारे हामी अगमवक्‍ता यर्मियाबाट के सिक्न सक्छौं?

साहसी हुन अगमवक्‍ता यर्मियालाई केले मदत गऱ्‍यो भन्‍ने कुरा पनि विचार गर्नुहोस्‌। यहोवाले यर्मियालाई राष्ट्रहरू विरुद्ध अगमवाणी गर्न नियुक्‍त गरेपछि यर्मियाले भने: “मता बोल्नै जान्दिनँ, किनभने मता बच्चै छु।” (यर्मि. १:४-६) तर समयमा यर्मिया यत्ति जोडतोडले र निरन्तर प्रचार गर्ने भए कि थुप्रै मानिसहरू तिनलाई विपत्ति घोषणा गर्ने व्यक्‍ति ठान्थे। (यर्मि. ३८:४) पैंसट्ठी वर्षभन्दा धेरै समयसम्म तिनले साहसी भई यहोवाको न्याय घोषणा गरे। तिनी निडर र साहसी भई प्रचार गर्ने भनी इस्राएलमा चिनिन्थे। त्यसैले लगभग ६०० वर्षपछि येशूले साहसी भई बोल्दा कतिपयले चाहिं यर्मिया पुनरुत्थान भएर आएछन्‌ भन्ठाने। (मत्ती १६:१३, १४) सुरुमा अगमवक्‍ता हुन नचाहने यर्मियाले आफ्नो लजालु स्वभाव कसरी हटाए? तिनी बताउँछन्‌: “मेरो हृदयमा [परमेश्‍वरको वचन] जलिरहेको आगो हड्डीहरूका बीचमा थुनिराखेको जस्तै हुनेछ, त्यसलाई भित्र रोकिराख्ता म थकित हुन्छु।” (यर्मि. २०:९) हो, यहोवाको वचनले यर्मियालाई शक्‍ति दियो र बोल्नलाई प्रेरित गऱ्‍यो।

९. परमेश्‍वरको वचनले यर्मियालाई जस्तै हामीलाई पनि किन असर गर्न सक्छ?

हिब्रूहरूलाई लेखेको पत्रमा प्रेरित पावलले यसो भने: “परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुईधारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी-जोर्नी र हड्डीका मासीलाई भाग-भाग पारुञ्जेलसम्म वारपार छेंडने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) परमेश्‍वरको सन्देश वा वचनले यर्मियालाई जस्तै हामीलाई पनि असर गर्छ। याद गर्नुहोस्‌, बाइबल लेख्न मानिसहरू प्रयोग गरिए तापनि यो मानव बुद्धिले भरिएको किताबहरूको संग्रह होइन। किनभने यो परमेश्‍वरबाट प्रेरित भएर लेखिएको हो। दोस्रो पत्रुस १:२१ मा हामी यस्तो लेखिएको पाउँछौं: “मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोल्दथिए।” जब हामी अर्थपूर्ण व्यक्‍तिगत बाइबल अध्ययन गर्न समय निकाल्छौं तब हाम्रो मन पवित्र आत्माद्वारा प्रेरित भएको सन्देशले भरिन्छ। ( १ कोरिन्थी २:१० पढ्‌नुहोस्‌) यो सन्देश हामीभित्र “जलिरहेको आगो . . . जस्तै” हुन सक्छ जसलाई हामीभित्रै थुनिराख्न सक्नेछैनौं।

१०, ११. (क) साहसी भई बोल्न हामीले कसरी बाइबलको अध्ययन गर्नुपर्छ? (ख) व्यक्‍तिगत बाइबल अध्ययनको गुणस्तर बढाउन तपाईंले कस्तो योजना बनाउनुभएको छ, कम्तीमा एउटा बताउनुहोस्‌।

१० हामीमा सशक्‍त प्रभाव पर्नेगरि व्यक्‍तिगत बाइबल अध्ययन कसरी गर्नुपर्छ? बाइबलको सन्देशले हाम्रो भित्री व्यक्‍तित्वलाई नै असर गर्दै हृदयमा पुग्नेगरि। उदाहरणको लागि, अगमवक्‍ता इजकिएललाई दिइएको दर्शनमा तिनलाई बागी मानिसहरूलाई सुनाउनु पर्ने कडा सन्देश भएको पुस्तकको मुठा खानू भनियो। तिनले यो सन्देश पूरै ग्रहण गर्नुपर्थ्यो र जीवनको हिस्सा बनाउनुपर्थ्यो। यसो गर्दा त्यो सन्देश सुनाउने काम आनन्दित अर्थात्‌ महजस्तै मीठो हुने थियो।—इजकिएल २:८–३:४, ७-९ पढ्‌नुहोस्‌।

११ हामी पनि इजकिएलको जस्तै परिस्थितिमा छौं। आज थुप्रै मानिसहरू बाइबलको कुरा सुन्‍नै चाहँदैनन्‌। यदि हामी परमेश्‍वरको वचन बोलिरहन चाहन्छौं भने यसको सन्देश ग्रहण गर्न सक्नेगरि अध्ययन गर्नुपर्छ। हामीले दिनदिनै अध्ययन गर्नुपर्छ, बीच-बीचमा छोड्‌दै फेरि थाल्दै होइन। हाम्रो चाहना भजनरचयिताको जस्तै हुनुपर्छ। तिनले यसरी गाए: “हे परमप्रभु, मेरो चटान र मेरो उद्धारक, मेरो मुखका वचनहरू र मेरो हृदयको ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्‌।” (भज. १९:१४) हामीले पढेको कुरामा मनन गर्न समय निकाल्नु कत्ति महत्त्वपूर्ण! यसो गर्दा बाइबल सच्चाइ हाम्रो हृदयसम्म पुग्छ। हो, हामीले व्यक्‍तिगत अध्ययनको गुणस्तर बढाउन जोडदार प्रयास गर्नुपर्छ।  *

१२. ख्रीष्टियान सभाहरूले हामीलाई पवित्र आत्माबाट डोरिन मदत गर्न सक्छ, किन?

१२ यहोवाको पवित्र आत्माबाट लाभ उठाउने अर्को तरिका हो: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार” राख्नु र “एक ठाउँमा भेला हुनलाई” नछोड्‌नु। (हिब्रू १०:२४, २५) ख्रीष्टियान सभाहरूमा नियमित उपस्थित हुन अथक प्रयास गर्नु, ध्यानसित सुन्‍नु र सुनेको कुरा लागू गर्नु पवित्र आत्माद्वारा डोरिने उत्तम तरिकाहरू हुन्‌। आखिर, यहोवाको आत्माले मण्डलीमार्फत निर्देशन दिन्छ नि, होइन र?—प्रकाश ३:६ पढ्‌नुहोस्‌।

साहस प्राप्त गरेर लाभ उठाउनुहोस्‌

१३. प्रथम शताब्दीका ख्रीष्टियानहरूले प्रचारकार्य पूरा गरेको कुराबाट हामी के सिक्न सक्छौं?

१३ पवित्र आत्मा ब्रम्हाण्डको सबैभन्दा सशक्‍त शक्‍ति हो। यसले मानिसहरूलाई यहोवाको इच्छा पूरा गर्न शक्‍ति दिन सक्छ। यसको शक्‍ति पाएर प्रथम शताब्दीका ख्रीष्टियानहरूले बृहत्‌ प्रचारकार्य पूरा गरे। तिनीहरूले “स्वर्गमनि भएका सारा सृष्टिमा” सुसमाचार प्रचार गरे। (कल. १:२३) तिनीहरूमध्ये धेरैजसो “अपठित र अजान” थिए भनी विचार गर्दा पक्कै पनि तिनीहरू कुनै सशक्‍त शक्‍तिद्वारा उत्प्रेरित भएका थिए भन्‍ने कुरा स्पष्ट हुन्छ।—प्रेरि. ४:१३.

१४. ‘आत्माको जोशले भरिन’ हामीलाई केले मदत गर्न सक्छ?

१४ पवित्र आत्माको निर्देशन अनुरूप जीवन बिताउँदा हामी सेवाको काम साहसी भई पूरा गर्न उत्प्रेरित हुन्छौं। आत्माको लागि निरन्तर प्रार्थना गर्दा, अर्थपूर्ण तरिकाले लगनशील भई व्यक्‍तिगत अध्ययन गर्दा, पढेको कुरा प्रार्थनापूर्वक मनन गर्दा र सभामा नियमित उपस्थित हुँदा पाइने फाइदाहरूले हामीलाई “आत्मामा जोशिलो” हुन मदत दिन्छ। (रोमी १२:११) “अलेक्जेन्ड्रियामा जन्म भएको अपोल्लस नाउँका एक जना कुशल वक्‍ता यहूदी एफिससमा आइपुगे” तिनीबारे बाइबल यसो भन्छ: “आत्माको जोशले भरिएर यिनले येशूका विषयका कुराहरू ठीक-ठीकसँग बोल्ने र सिकाउने गर्थे।” (प्रेरि. १८:२४, २५) “पवित्र आत्मामा प्रज्वलित” भएर घर-घरको सेवकाईमा र अनौपचारिक साक्षी दिंदा हामी झन्‌ बढी साहसी हुन सक्छौं।—रोमी १२:११, NRV.

१५. साक्षीकार्यमा साहस बढायौं भने हामीलाई कस्तो फाइदा हुन्छ?

१५ साक्षीकार्यमा साहस बढायौं भने हामीमा राम्रो प्रभाव पर्छ। प्रचारकार्यको महत्त्व अनि फाइदा अझै प्रस्टसित बुझेकोले हाम्रो मनोवृत्तिमा सुधार आउँछ। हाम्रो उत्साह बढ्‌छ किनभने हामी प्रचारमा प्रभावकारी हुँदा अझ आनन्दित हुन्छौं। अनि प्रचारकार्य अहिल्यै गरिहाल्नुपर्ने काम हो भनी बुझेकोले हाम्रो जोस बढेको छ।

१६. प्रचारमा हाम्रो जोस सेलाएको छ भने के गर्नुपर्छ?

१६ प्रचारमा पहिला जत्ति जोस वा उत्साह थियो अहिले त्यत्ति छैन भने के गर्ने? इमानदार भई आफैलाई जाँच्नुपर्छ। पावलले लेखे: “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।” (२ कोरि. १३:५) आफैलाई सोध्नुहोस्‌: ‘के म अझै आत्माको जोसले भरिएको छु? यहोवासँग पवित्र आत्मा माग्न के म प्रार्थना गर्छु? परमेश्‍वरको इच्छा पूरा गर्न उहाँमा भर पर्छु भनेर के मेरा प्रार्थनाहरूले देखाउँछन्‌? हामीलाई सुम्पिएको सेवाको कामको लागि के म प्रार्थनामा कृतज्ञता प्रकट गर्छु? व्यक्‍तिगत अध्ययन गर्ने मेरो बानी कस्तो छ? आफूले पढेको र सुनेको कुरा मनन गर्न म कति समय निकाल्छु? मण्डलीका सभाहरूमा कत्तिको सहभागी हुन्छु?’ यस्ता प्रश्‍नहरू विचार गर्दा तपाईं आफ्ना कमजोरी चिन्‍न र त्यसलाई सुधार्ने पाइला चाल्न मदत पाउन सक्नुहुन्छ।

परमेश्‍वरको आत्माले तपाईंलाई निर्भयी बनाओस्‌

१७, १८. (क) आज कुन हदसम्म प्रचारकार्य भइरहेको छ? (ख) परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दा हामी कसरी “निर्धक्कसँग” बोल्न सक्नेछौं?

१७ पुनरुत्थान हुनुभएको येशूले चेलाहरूलाई भन्‍नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरि. १:८) त्यतिबेला सुरु भएको यो काम आज नचिताएको हदसम्म गरिंदैछ। यहोवाका झन्डै ७० लाख साक्षीहरू २३० भन्दा धेरै मुलुकमा राज्यसन्देश घोषणा गर्दैछन्‌ र वर्षेनी सेवकाईमा करिब १ अरब ५० करोड घण्टा बिताउँदैछन्‌। फेरि कहिल्यै नदोहोरिने यस काममा जोसका साथ भाग लिनु कत्ति रोमाञ्चक!

१८ प्रथम शताब्दीमा जस्तै आज पनि पवित्र आत्माको निर्देशनमा विश्‍वभरि प्रचार भइरहेको छ। पवित्र आत्माको निर्देशन स्वीकाऱ्‍यौं भने सेवाको काममा “निर्धक्कसँग” बोल्न सक्नेछौं। (प्रेरि. २८:३१) त्यसोभए आउनुहोस्‌, परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दा पवित्र आत्माद्वारा डोरिऔं! ( w10 -E 02/15)

[फुटनोट]

^ नाउँहरू परिवर्तन गरिएका छन्‌।

^ बाइबल पढाइ र व्यक्‍तिगत अध्ययनबाट फाइदा उठाउन अक्टोबर १, २००० अंकको प्रहरीधरहरा पृष्ठ १३-२३ मा भएका “अध्ययन-इनामदायी तथा आनन्ददायी” अनि “पढ्‌न र अध्ययन गर्न समय निकाल्ने” लेखहरू हेर्नुहोस्‌।

तपाईंले के सिक्नुभयो?

• परमेश्‍वरको वचनबारे बोल्न हामीलाई किन साहस चाहिन्छ?

• प्रथम शताब्दीका चेलाहरूलाई साहसी भई बोल्न केले मदत गऱ्‍यो?

• हामी कसरी साहस प्राप्त गर्न सक्छौं?

• साहस प्राप्त गर्दा हामीलाई कस्तो लाभ हुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

साहस प्राप्त गर्न आमाबाबुले छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌?

[पृष्ठ १४-मा भएका चित्रहरू]

छोटो प्रार्थना गर्दा प्रचारमा साहस बटुल्न सक्नुहुन्छ