सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रक्सीबारे परमेश्‍वरको धारणा कस्तो छ?

रक्सीबारे परमेश्‍वरको धारणा कस्तो छ?

रक्सीबारे परमेश्‍वरको धारणा कस्तो छ?

सृष्टिकर्ता हाम्रो भलाइ चाहनुहुन्छ। रक्सी पिउँदा सन्तुलित छौं भने उहाँ त्यसलाई निषेध गर्नुहुन्‍न। * बरु उहाँले “मानिसको मन खुश गराउनलाई दाखमद्य, र त्यसको मुख चहकिलो पार्नलाई तेल र मानिसको हृदय बलियो तुल्याउनलाई अन्‍न” दिनुभएको छ। (भजन १०४:१५) एकपटक येशू ख्रीष्टले पानीलाई “असल दाखमद्य” बनाएर विवाह भोजको आनन्द बढाइदिनुभयो।—यूहन्‍ना २:३-१०.

रक्सीले हाम्रो शरीर र मस्तिष्कमा पार्न सक्ने प्रभाव सृष्टिकर्तालाई ठ्याक्कै थाह छ भनेर सोच्नु तार्किक छ। स्वर्गका हाम्रो पिताले बाइबलमार्फत हामीलाई ‘हाम्रै फायदाको निम्ति सिकाउनुहुन्छ’ र रक्सीको दुर्व्यसनी हुनदेखि टाढा बस्न कडा चेतावनी दिनुहुन्छ। (यशैया ४८:१७) यी स्पष्ट चेतावनीहरूलाई ध्यान दिनुहोस्‌:

“दाख-मद्यले नमात्तिओ, जसमा कामोद्दीपन हुन्छ।” (एफिसी ५:१८) “मतवाला . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैन।” (१ कोरिन्थी ६:९-११) परमेश्‍वरको वचनले “मतवालीपन, भोजको मोज-मजा र यस्तै अरू” कुराहरूको निन्दा गरेको छ।—गलाती ५:१९-२१.

आउनुहोस्‌ धेरै पिउँदा हुने केही खतराबारे अब छलफल गरौं।

अति पिउँदा हुने खतराहरू

रक्सीले केही फाइदा गर्ने भए तापनि त्यसमा भएका मात लगाउने केही तत्त्वले मस्तिष्क र शरीर चल्ने तरिकामा तलमाथि पार्छ। रक्सी धेरै पिउँदा अब उल्लेख गरिएका कुनै पनि समस्या हुन सक्छ:

बेसरी पिउँदा निर्णय गर्ने क्षमता कमजोर हुने भएकोले पिउने व्यक्‍तिले सोचविचार गर्दा ऊ ‘अलमलिन्छ।’ (हितोपदेश २३:३३, NRV) अघिल्लो लेखमा उल्लेख गरिएका बेसरी पिउने राजेश बताउँछन्‌: “मद्यव्यसनी हुनु शारीरिक रोग मात्र होइन; यसले मानिसको सोचाइ र मनोवृत्तिलाई नै रोगी बनाउँछ। यसले गर्दा अरूमा पुग्ने हानिलाई तपाईं मतलब गर्नुहुन्‍न।”

धेरै पिउँदा सामान्यतया नगर्ने काम पनि गर्न पुगिन्छ। बाइबल यस्तो चेतावनी दिन्छ: “दाखमद्य र नयाँ दाखमद्यले बुद्धि नाश पार्छ।” (होशे ४:११) कसरी? रक्सीले बेसुर हुँदा प्रायः वशमा राख्ने विचार तथा इच्छाहरू स्वीकार्य लाग्न थाल्छन्‌ र त्यसै गर्नसमेत लालायित हुन थाल्छौं। सही काम गर्ने हाम्रो संकल्प कमजोर हुन सक्छ। रक्सीले नैतिक तवरमा स्वच्छ रहने हाम्रो चेतनालाई खोक्रो बनाउन सक्छ। फलतः यहोवासितको हाम्रो सम्बन्ध बिग्रन्छ।

यसको उदाहरणको रूपमा जोनलाई लिनुहोस्‌। श्रीमतीसित भनाभन भएपछि जोन रिसले आगो हुँदै भट्टीतिर हानिए। शान्त हुन दुई-चार पेग सिध्याइसकेको बेला एउटी आइमाई तिनीनजिकै आइन्‌। अझै दुई-चार पेग लगाइसकेपछि जोन उक्‍त आइमाईसित गए र व्यभिचार गर्न पुगे। सपनामा पनि नचिताएको कुकर्म रक्सीको सुरमा गर्न पुगेकोमा जोनले निकै पछुतो माने।

धेरै पिउँदा मनपरी बोल्न र गर्न पुगिन्छ। बाइबल सोध्छ, “कष्ट कसलाई हुन्छ? . . . कलह कसलाई हुन्छ? गुनासो कसलाई हुन्छ?” तिनीहरूलाई “जो मद्यमै भुलिरहन्छन्‌, . . . मिश्रित मद्यको प्याला चाख्न जान्छन्‌” अथवा अर्को एक पेग मात्र भन्छन्‌। (हितोपदेश २३:२९, ३०, NRV) अति पिउँदा तपाईंलाई “समुद्रको बीचमा यताउता हुत्याएको मानिसझैं . . . मस्तूलको डोरीको टुप्पामा झुण्डिरहनेजस्तै” महसुस हुनेछ। (हितोपदेश २३:३४) अत्यधिक पिएको मानिसले नशाले छोडेपछि शरीरभरि निलडाम देख्छ तर कसरी भयो उसलाई “थाहै हुँदैन!”—हितोपदेश २३:३५, NRV.

अति पिउँदा स्वास्थ्य बिग्रन्छ। “अन्तमा [रक्सीले] साँपलेझैं डस्छ, र कोब्रा साँपलेझैं ठुँग्छ।” (हितोपदेश २३:३२) यो प्राचीन हितोपदेशमा व्यक्‍त गरिएको बुद्धिलाई चिकित्सा विज्ञानले पनि सही ठहऱ्‍याएको छ। धेरै मात्रामा रक्सी पिउँदा विषाक्‍त हुन्छ र यसले गराउन सक्ने केही घातक रोगहरू हुन्‌:- विभिन्‍न क्यान्सर, रक्सीले गर्दा हुने (अल्कोहोलिक) हेपाटाइटिस, कलेजोको सिरोसिस, आमाशयमा सुजन (प्यान्क्रियाटाइटिस), मधुमेहका रोगीहरूको रगतमा चिनीको मात्रा कमी, गर्भको बच्चामा पर्ने असर (फिटल अल्कोहल सिन्ड्रम), मस्तिष्कघात वा हृदयघात। एकपटक मात्रै अति पिएको होस्‌ वा होसै गुम्नेगरि बेसरी पिएको होस्‌ पिउने व्यक्‍ति अचेत हुन्छ (कोमामा पर्छ) वा उसको मृत्यु हुन सक्छ। अत्यधिक पिउँदा स्वास्थ्यमा मात्र घातक असर पर्ने होइन।

सबैभन्दा ठूलो खतरा। मात्तिनेगरि पिएको नभए तापनि सीमा नाघ्नेगरि पिउँदा आध्यात्मिक खतराहरू आइपर्छन्‌। बाइबल प्रस्टै यसो भन्छ: “धिक्कार तिनीहरूलाई जो मद्य पिउन बिहानै उठ्‌छन्‌, जो मद्यले चूर हुन राती अबेरसम्म बस्छन्‌!” किन? किनकि सीमा नाघेर पिउँदा हुने आध्यात्मिक क्षतिबारे यशैया बताउँछन्‌: “तिनीहरू परमप्रभुको कामको वास्ता गर्दैनन्‌। तिनीहरू उहाँको हातको काममा ध्यानै दिंदैनन्‌।”—यशैया ५:११, १२.

परमेश्‍वरको वचन हामीलाई ‘मतवालाहरूको सङ्‌गत नगर्‌’ भनेर सल्लाह दिन्छ। (हितोपदेश २३:२०) वृद्धाहरूलाई ‘रक्सी धेरै नपिउन’ सजग गराइएको छ। (तीतस २:३) किन? किनकि मानिसहरूलाई अलि-अलि गर्दै धेरै अनि पटक-पटक रक्सी पिउन थालेको अक्सर यादै हुँदैन। पछि गएर पिउने व्यक्‍तिले यसो भन्‍न थाल्नेछ: “कहिले ब्यूँझूला र म अझ पिउन सक्नेछु?” (हितोपदेश २३:३५, NRV) पिउने व्यक्‍ति रातको मात भगाउन बिहान सबेरै पिउने हदसम्म पुग्छन्‌।

मतवालीपन, मोजमजा, मद्यपान” अथवा रक्सी पिउन होड गर्नेहरूले “मुर्दा र जीवितका इन्साफ गर्न तयार भएको जो हुनुहुन्छ, उहाँलाई तिनीहरूले जवाफ दिनेछन्‌” भनी बाइबलले चेतावनी दिएको छ। (१ पत्रुस ४:३,) अनि हामी बाँचिरहेको यस निर्णायक समयको सम्बन्धमा येशूले यसरी चेतावनी दिनुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले [लट्ठिएका] हुनेछन्‌, औ [यहोवाको] दिन तिमीहरूमाथि एक्कासी पासोझैं आइपर्ला।”—लूका २१:३४, ३५.

त्यसोभए, ‘नशाले लट्ठिनदेखि’ जोगिन सीमा नाघ्नेगरि पिउनेहरूले के गर्न सक्छन्‌? ( w10 -E 01/01)

[फुटनोट]

^ यस लेखमा प्रयोग गरिएका “रक्सी” र “पिउने” शब्दहरूले बियर, वाइन र अन्य मदिरालाई पनि बुझाउँछ।

[पृष्ठ ४-मा भएका चित्रहरू]

रक्सी धेरै पिउँदा थुप्रै समस्या आइपर्न सक्छ