सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कसको अनि केको नाउँमा बप्तिस्मा लिनुपर्छ?

कसको अनि केको नाउँमा बप्तिस्मा लिनुपर्छ?

कसको अनि केको नाउँमा बप्तिस्मा लिनुपर्छ?

“गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ।”—मत्ती २८:१९.

१, २. (क) इस्वी संवत्‌ ३३ पेन्तिकोसमा यरूशलेममा के भयो? (ख) भीडमा भएका थुप्रै बप्तिस्मा लिन किन उत्प्रेरित भए?

 यरूशलेममा ठाउँ-ठाउँबाट आएका मानिसहरूको चहलपहल थियो। इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन महत्त्वपूर्ण चाड सुरु भइसकेको थियो र उक्‍त चाड मनाउन थुप्रै आगन्तुक त्यहाँ ओइरिएका थिए। तर एउटा असामान्य घटना भयो र त्यसपछि प्रेरित पत्रुसले मन छुने भाषण दिए जसको परिणाम अचम्मलाग्दो थियो। तिनको कुराले यहूदी र धर्म परिवर्तन गरेर यहूदी मत मान्‍नेहरूमध्ये प्रायः ३,००० मा छाप पाऱ्‍यो र तिनीहरूले पश्‍चात्ताप गरेर पानीमा बप्तिस्मा लिए। यसरी तिनीहरू भर्खरै स्थापित ख्रीष्टियान मण्डलीमा थपिए। (प्रेरि. २:४१) यति धेरै मानिस यरूशलेम वरपरको पोखरी वा दहमा बप्तिस्मा लिन जम्मा भएकोले पक्कै पनि जताततै खैलाबैला मच्चिएको हुनुपर्छ।

के-कस्ता घटनाले गर्दा त्यति धेरैले बप्तिस्मा लिन पुगे? त्यस दिन बिहान सबेरै “स्वर्गबाट ठूलो बतास बहेको जस्तो हुरूरूरू शब्द आयो।” घरको माथिल्लो कोठामा भएका येशूका लगभग १२० जना चेला पवित्र आत्माले भरिए। त्यसपछि ईश्‍वरभक्‍त स्त्री तथा पुरुषहरू जम्मा भए र चेलाहरूले “अरू भाषामा” बोलेको सुनेर दङ्‌ग परे। पत्रुसको कुरा र तिनले येशूको मृत्युबारे तोकेरै भनेको कुरा सुनेपछि त्यो तिनीहरूको “हृदयमा गड्यो।” अब तिनीहरूले के गर्नुपर्थ्यो? पत्रुसले जवाफ दिए: “पश्‍चात्ताप गर, र तिमीहरू हरेकले . . . येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।”—प्रेरि. २:१-४, ३६-३८.

३. पेन्तिकोसको दिनमा पश्‍चातापी यहूदी र धर्म परिवर्तन गरेर यहूदी मत मान्‍नेहरूले के गर्नु आवश्‍यक थियो?

पत्रुसको कुरा सुन्‍ने ती यहूदी र धर्म परिवर्तन गरेर यहूदी मत मान्‍नेहरूको धार्मिक आस्था विचार गर्नुहोस्‌। तिनीहरूले पहिल्यै यहोवालाई आफ्नो परमेश्‍वरको रूपमा स्वीकारिसकेका थिए। अनि सृष्टि गर्दा र त्यसपछि पनि पवित्र आत्मा अर्थात्‌ परमेश्‍वरको सक्रिय शक्‍ति प्रयोग गरिएको थियो भनेर तिनीहरूले हिब्रू धर्मशास्त्रबाट थाह पाइसकेका थिए। (उत्प. १:२; न्याय. १४:५, ६; १ शमू. १०:६; भज. ३३:६) तर तिनीहरूले अझै अर्को कुरा पनि थाह पाउनु आवश्‍यक थियो। तिनीहरूले मुक्‍तिको निम्ति परमेश्‍वरले प्रबन्ध गरेको माध्यम अर्थात्‌ मसीह, येशूलाई बुझ्नु र स्वीकार्नु अत्यावश्‍यक थियो। त्यसैकारण पत्रुसले तिनीहरूलाई ‘येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनू’ आवश्‍यक छ भनेर प्रस्ट पारे। पुनरुत्थान हुनुभएका येशूले केही दिनअघि मात्र पत्रुस र अन्य चेलालाई “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” मानिसहरूलाई बप्तिस्मा दिनू भनेर अह्राउनुभएको थियो। (मत्ती २८:१९, २०) प्रथम शताब्दीमा त्यसको गहन अर्थ थियो र अहिले पनि छ। त्यो के हो?

पिताको नाउँमा

४. यहोवासित सम्बन्ध गाँसेकाहरूको सम्बन्धमा कस्तो परिवर्तन भएको थियो?

माथि उल्लेख गरिएझैं पत्रुसको भाषण सुनेर कदम चाल्नेहरूले त पहिल्यैदेखि यहोवाको उपासना गर्थे र उहाँसित सम्बन्ध गाँसेका थिए। तिनीहरूले उहाँको व्यवस्था पालन गर्ने कोसिस गरिरहेकोले नै तिनीहरू अन्य मुलुकबाट यरूशलेममा आएका थिए। (प्रेरि. २:५-११) तर हालै मात्र परमेश्‍वरले मानिसहरूसित व्यवहार गर्ने तरिकामा उल्लेखनीय परिवर्तन गर्नुभएको थियो। उहाँले यहूदीहरूलाई विशेष राष्ट्रको रूपमा त्याग्नुभयो। त्यसैले व्यवस्था पालन गर्दैमा तिनीहरूले उप्रान्त उहाँको अनुमोदन पाउन नसक्ने भए। (मत्ती २१:४३; कल. २:१४) यदि पत्रुसको भाषण सुन्‍नेहरूले यहोवासितको सम्बन्ध कायम राख्न चाहन्थे भने अरू नै केही गर्नु आवश्‍यक थियो।

५, ६. परमेश्‍वरसित सम्बन्ध गाँस्ने हो भने प्रथम शताब्दीका यहूदी र धर्म परिवर्तन गरेर यहूदी मत मान्‍नेहरूले के गर्नुपर्थ्यो?

तर यसको अर्थ तिनीहरू आफ्नो जीवनदाता यहोवाबाट तर्केर जानु पक्कै थिएन। (प्रेरि. ४:२४) बरु पत्रुसको व्याख्या सुनेर त्यसबमोजिम गर्नेहरूले यहोवा अत्यन्त दयालु बुबा हुनुहुन्छ भनेर पहिलेभन्दा अझ राम्ररी बुझ्न सके। उहाँले तिनीहरूलाई छुटकारा दिन मसीहलाई पठाउनुभयो र पत्रुसले यसो भनेकाहरूलाई समेत उहाँ क्षमा दिन इच्छुक हुनुहुन्थ्यो: “इस्राएलका सारा घरानाले यो निश्‍चय जानून्‌, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो।” वास्तवमा पत्रुसले भनेका कुरा लागू गरेकाहरूले अब भने पितासित सम्बन्ध गाँस्न चाहनेहरूका लागि उहाँले जे-जति गर्नुभयो, त्यसको निम्ति कृतज्ञ हुनुपर्ने अझ ठूलो कारण पाउने थिए।प्रेरित २:३०-३६ पढ्‌नुहोस्‌।

वास्तवमा ती यहूदी र धर्म परिवर्तन गरेर यहूदी मत मान्‍नेहरूले यहोवासित सम्बन्ध गाँस्नु भनेको उहाँ येशूमार्फत मुक्‍तिको प्रबन्ध गर्ने हुनुहुन्छ भनी स्वीकार्नु हो भनेर बल्ल बुझे। त्यसो भए, अब तपाईंले पनि तिनीहरूले आफ्नो पापको पश्‍चात्ताप गर्नु र त्यसमा पनि जानेर होस्‌ वा नजानेर येशूको हत्यामा तिनीहरू पनि सहभागी भएको कुराको पश्‍चात्ताप गर्नुको कारण बुझ्न सक्नुहुन्छ। अनि त्यसपछिका दिनहरूमा पनि ‘तिनीहरू प्रेरितहरूका शिक्षामा लागिरहनुको’ कारण पनि बुझ्न सक्नुहुन्छ। (प्रेरि. २:४२) तिनीहरू ‘अनुग्रहको सिंहासनको नजीक निर्भयसँग’ जान सक्थे र जान चाहन्थे।—हिब्रू ४:१६.

७. आज थुप्रैले परमेश्‍वरप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्नु र पिताको नाउँमा बप्तिस्मा लिन सक्नुको कारण के हो?

आज पनि भिन्‍नाभिन्‍नै पृष्ठभूमिका लाखौंले बाइबलबाट यहोवाबारे सत्य कुरा सिकेका छन्‌। (यशै. २:२, ३) यिनीहरूमध्ये केही नास्तिक थिए त केही परमेश्‍वर छन्‌ तर उहाँलाई आफ्नो सृष्टिमा कुनै चासो छैन भनेर विश्‍वास गर्नेहरू थिए। तर यिनीहरू पनि परमेश्‍वरको अस्तित्व स्वीकारेर उहाँसित अर्थपूर्ण सम्बन्ध गाँस्न सकिने कुरामा विश्‍वस्त भए। अरू कतिपयचाहिं त्रिएक ईश्‍वरलाई पुज्थे वा थरिथरिका मूर्तिपूजा गर्थे। तर अहिले भने तिनीहरूले पनि यहोवा मात्र सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भनेर सिकेका छन्‌ र उहाँलाई उहाँको व्यक्‍तिगत नाउँबाटै पुकारेका छन्‌। अनि तिनीहरूले त्यसो गर्नु येशूले उहाँको चेला हुन चाहनेहरूले पिताको नाउँमा बप्तिस्मा लिनुपर्छ भन्‍ने तथ्य अनुरूपै छ।

८. आदमको पापबारे केही पनि थाह नपाएकाहरूले स्वर्गका पिताबारे के बुझ्नु आवश्‍यक छ?

आदमले गर्दा नै वंशाणुगत तवरमा पापी भएको कुरा पनि तिनीहरूले थाह पाए। (रोमी ५:१२) तिनीहरूले यो साँचो हो भनेर स्वीकार्नु नितान्त नौलो कुरा थियो। तिनीहरूलाई आफ्नो रोगबारे थाह नभएको बिरामी मान्छेसित तुलना गर्न सकिन्छ। उक्‍त व्यक्‍तिमा रोगका केही लक्षण देखा परेका हुन सक्छन्‌। जस्तै:- तिनले फाट्टफुट्ट मात्रै पीडा महसुस गरेका हुन सक्छन्‌। तर के रोग लागेको हो, ठ्याक्कै पत्ता लगाउन नसकिएकोले तिनलाई आफू स्वस्थ नै छु जस्तो भान परेको हुन सक्छ। तर वास्तविकता भने अर्कै छ। (१ कोरिन्थी ४:४ तुलना गर्नुहोस्‌) आफूलाई लागेको रोग के हो ठ्याक्कै पत्ता लाग्यो भने तिनी के गर्छन्‌ होला? उपचार गर्ने चिरपरिचित, प्रमाणित अनि प्रभावकारी तरिका खोज्नु र त्यसैबमोजिम गर्नुमा नै तिनी बुद्धिमान्‌ साबित हुन्छन्‌ नि, होइन र? त्यसैगरि वंशाणुगत पापी भएकोबारे सत्य कुरा थाह पाउँदा थुप्रैले बाइबलले दिएको “रोग निदान” स्वीकारेका अनि परमेश्‍वरले दिएको “उपचार” बुझेका छन्‌। हो, स्वर्गका पिताबाट बिराना भएका सबै तिनीहरूलाई “उपचार” गर्न सक्ने उहाँकहाँ नै फर्कनु आवश्‍यक छ।—एफि. ४:१७-१९.

९. उहाँसित घनिष्ठ सम्बन्ध गाँस्न सकोस्‌ भनेर यहोवाले के गर्नुभयो?

यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरिसक्नुभएको छ र बप्तिस्मा-प्राप्त ख्रीष्टियान भइसक्नुभएको छ भने उहाँसित सम्बन्ध गाँस्न पाउनु कत्ति अद्‌भुत कुरा हो भनेर तपाईंलाई थाह छ। स्वर्गका तपाईंको पिता यहोवा कत्ति मायालु हुनुहुन्छ तपाईंले अहिले कदर गर्न सक्नुभयो। (रोमी ५:८ पढ्‌नुहोस्‌) आदम र हव्वाले उहाँविरुद्ध पाप गरेको भए तापनि तिनीहरूका सन्तान हामी सबैले उहाँसित घनिष्ठ सम्बन्ध गाँस्न सकोस्‌ भनेर परमेश्‍वरले नै कदम चाल्नुभयो। यसो गर्न परमेश्‍वरले आफ्नो प्रिय पुत्रले भोगेको दुःख अनि मृत्युको पीडा भोग्नुपऱ्‍यो। यो कुरा थाह पाउँदा परमेश्‍वरको अख्तियार स्वीकार्न र प्रेमले ओतप्रोत भई उहाँका आज्ञाहरू पालन गर्न मदत पाउँदैनौं र? यदि अहिलेसम्म तपाईंले त्यसो गर्नुभएको छैन भने, परमेश्‍वरमा आफूलाई समर्पण गरेर बप्तिस्मा लिनुपर्ने कारणहरू तपाईंले पाउनुभयो।

पुत्रको नाउँमा

१०, ११. (क) येशूप्रति तपाईं कत्तिको ऋणी हुनुहुन्छ? (ख) हाम्रो निम्ति फिरौतीस्वरूप येशू मर्नुभएकोमा तपाईंलाई कस्तो लाग्यो?

१० पत्रुसले भीडलाई भनेको कुरा फेरि विचार गर्नुहोस्‌। येशूलाई स्वीकार्नु “पुत्रको . . . नाउँमा” बप्तिस्मा लिनुसित प्रत्यक्ष सम्बन्धित छ भनेर तिनले जोड दिए। त्यसो गर्नु त्यतिखेर किन जरुरी थियो अनि अहिले पनि किन जरुरी छ? येशूलाई स्वीकार्नु र उहाँको नाउँमा बप्तिस्मा लिनुको अर्थ सृष्टिकर्तासितको हाम्रो सम्बन्धमा उहाँको भूमिकालाई स्वीकार्नु हो। यहूदीहरूमाथि परेको व्यवस्थाको श्राप हटाउन येशू काठमा भुन्ड्याइनु नै पर्थ्यो तर उहाँको मृत्युले अझ धेरै फाइदा भएको छ। (गला. ३:१३) सम्पूर्ण मानिसजातिलाई चाहिएको फिरौतीस्वरूप उहाँले आफैलाई बलि चढाउनुभयो। (एफि. २:१५, १६; कल. १:२०; १ यूह. २:१, २) त्यसो गर्न येशूले अन्याय अनि अपमान सहनुभयो, सास्ती खानु पऱ्‍यो अनि अन्तमा मृत्यु भोग्नुभयो। उहाँको बलिदानप्रति तपाईं कत्तिको कृतज्ञ हुनुहुन्छ? कल्पना गर्नुहोस्‌, तपाईं सन्‌ १९१२ मा हिमशीलामा ठोक्किएर डुबेको पानीजहाज टाइटानिक-मा यात्रा गरिरहेको १२ वर्षको केटो हुनुहुन्छ। तपाईं लाइफबोटमा (डुंगा) हामफाल्न खोज्नुहुन्छ तर जताततै मानिस छन्‌, खाली ठाउँ कतै देख्नुहुन्‍न। उतिन्खेरै, डुंगामा भएका एक जना मानिस आफ्नी पत्नीलाई चुम्बन गर्छन्‌, पानीजहाजमा फुत्त चढ्‌छन्‌ र तपाईंलाई त्यो डुंगामा राखिदिन्छन्‌। तपाईंलाई कस्तो लाग्यो? तपाईं पक्कै पनि त्यस मानिसप्रति धन्यवादी हुनुहुन्छ। वास्तविक जीवनमा यस्तो अनुभव गरेको केटोको भावना तपाईं बुझ्न सक्नुहुन्छ। a तर येशूले त तपाईंको लागि योभन्दा पनि धेरै गर्नुभएको छ। तपाईं सदासर्वदै बाँचिरहोस्‌ भनेर उहाँले आफ्नो जीवन बलिदान दिनुभयो।

११ परमेश्‍वरको पुत्रले तपाईंको निम्ति जे-जति गर्नुभयो, त्यो थाह पाउँदा तपाईंलाई कस्तो लाग्यो? (२ कोरिन्थी ५:१४, १५ पढ्‌नुहोस्‌) तपाईंले निकै धन्यवादी महसुस गर्नुभएको हुनुपर्छ। त्यसैकारण तपाईं परमेश्‍वरमा आफ्नो जीवन समर्पण गर्न अनि ‘तपाईंको खातिर मर्नुहुनेको निम्ति बाँच्न’ उत्प्रेरित हुनुभयो। पुत्रको नाउँमा बप्तिस्मा लिनुको अर्थ येशूले तपाईंको लागि गरेको कुरा स्वीकार्नु अनि जीवनको मुख्य माध्यमको रूपमा उहाँको अख्तियारलाई मान्‍नु हो। (प्रेरि. ३:१५; ५:३१) पहिले त तपाईंले सृष्टिकर्तासित सम्बन्ध गाँस्न सक्नुभएको थिएन र तपाईंसित वास्तवमा कुनै ठोस आशा पनि थिएन। तर अहिले भने तपाईंले येशू ख्रीष्टले बगाएको रगतमा विश्‍वास गरेको अनि बप्तिस्मा लिएकोले पितासित सम्बन्ध गाँस्न सक्नुभयो। (एफि. २:१२, १३) “अघि बितेका समयमा तिमीहरू आफ्ना खराब काममा एकातिर लागेका र तिम्रा मनमा शत्रु भएका थियौ, तापनि अब ता [येशूको] मासुको शरीरमा मृत्युद्वारा [परमेश्‍वरकै] सामने तिमीहरूलाई पवित्र र निष्कलङ्‌क र निन्दारहितका उपस्थित गराउनलाई [“मिलापमा ल्याउनुभएको छ,” NRV]” भनेर प्रेरित पावलले लेखे।—कल. १:२१, २२.

१२, १३. (क) कसैले चित्त दुखाइदिंदा पुत्रको नाउँमा बप्तिस्मा लिएकोले तपाईंमा कस्तो असर पार्नुपर्छ? (ख) येशूको नाउँमा बप्तिस्मा लिएको ख्रीष्टियान भएकोले तपाईंमाथि कस्तो दायित्व छ?

१२ पुत्रको नाउँमा बप्तिस्मा लिएको भए तापनि तपाईं आफ्नो असिद्धताबारे निकै सजग हुनुहुन्छ। यो सजगता दिनहुँ मदतकारी हुन्छ। उदाहरणको लागि कसैले चित्त दुखाइदिंदा तपाईंहरू दुवै असिद्ध हुनुहुन्छ भनेर के तपाईं सम्झनुहुन्छ? तपाईंहरू दुवैलाई परमेश्‍वरको क्षमा चाहिन्छ र दुवैले क्षमा दिनुपर्छ। (मर्कू. ११:२५) यस आवश्‍यकतालाई जोड दिंदै येशूले एउटा उदाहरण दिनुभयो: १० हजार टालेन्ट (६ करोड दिनार) ऋण लिएका दासलाई त्यसको मालिकले माफी दिए। तर पछि त्यसले भने आफूसित १०० दिनार ऋण लिने सँगी दासलाई माफी दिएन। त्यसपछि येशूले यो प्रस्ट पार्नुभयो: आफ्नो भाइलाई क्षमा नगर्नेलाई यहोवाले क्षमा गर्नुहुनेछैन। (मत्ती १८:२३-३५) हो, पुत्रको नाउँमा बप्तिस्मा लिनुको अर्थ येशूको अख्तियारलाई स्वीकार्नु अनि उहाँको उदाहरण र शिक्षालाई पछ्याउन सक्दो कोसिस गर्नुलगायत अरूलाई क्षमा दिन राजी हुनु हो।—१ पत्रु. २:२१; १ यूह. २:६.

१३ असिद्ध भएकोले तपाईं पूर्णतया येशूको अनुकरण गर्न सक्नुहुन्‍न। तैपनि सम्पूर्ण हृदयले यहोवालाई गरेको समर्पण अनुरूप तपाईं आफ्नो क्षमताले भ्याएसम्म येशूको अनुकरण गर्न चाहनुहुन्छ। त्यसो गर्न पुरानो व्यक्‍तित्वलाई त्यागेर नयाँ व्यक्‍तित्व धारण गर्न निरन्तर प्रयास गरिरहनुपर्छ। (एफिसी ४:२०-२४ पढ्‌नुहोस्‌) साथीको सम्मान गर्न थाल्दा तपाईं तिनको उदाहरण अनि असल गुणहरूबाट पाठ सिक्ने कोसिस गर्नुहुन्छ। त्यसैगरि तपाईं पनि येशूबाट सिक्न अनि उहाँको अनुकरण गर्न चाहनुहुन्छ।

१४. स्वर्गको राजाको रूपमा येशूको अख्तियारलाई स्वीकारेको तपाईं कसरी देखाउन सक्नुहुन्छ?

१४ पुत्रको नाउँमा बप्तिस्मा लिनुमा अर्को के समावेश छ, तपाईंले त्यो बुझेको देखाउने अर्को तरिका पनि छ। परमेश्‍वरले “सबै कुरा [येशूको] चरणको अधीनमा राखिदिनुभयो, र उहाँलाई सबै कुराको शिर हुनलाई मण्डलीलाई दिनुभयो।” (एफि. १:२२) त्यसकारण यहोवामा समर्पितहरूलाई येशू कसरी निर्देशन दिनुहुन्छ तपाईंले त्यसको आदर गर्नु आवश्‍यक छ। ख्रीष्टले स्थानीय मण्डलीका असिद्ध मानिसहरूलाई र त्यसमा पनि विशेषगरि आध्यात्मिक अर्थमा परिपक्व पुरुषहरू अर्थात्‌ नियुक्‍त प्राचीनहरूलाई प्रयोग गरिरहनुभएको छ। यी पुरुषहरू “ख्रीष्टको शरीरको स्थापनमा पवित्र जनहरूको सिद्धता हुनको [अर्थात्‌ “सुधार गर्नको,” NW] निम्ति नियुक्‍त” गरिएका हुन्‌। (एफि. ४:११, १२) असिद्ध मानिसले गल्ती गरे भने पनि स्वर्गको राज्यका राजा येशूले आफ्नो समयमा आफ्नै तरिकाले परिस्थिति सँभाल्न सक्नुहुन्छ। के तपाईं यस कुरामा विश्‍वास गर्नुहुन्छ?

१५. तपाईंले बप्तिस्मा लिन बाँकी नै छ भने बप्तिस्मा लिएपछि कस्ता आशिष्‌हरू पाउने आशा गर्न सक्नुहुन्छ?

१५ तैपनि अहिलेसम्म कसैकसैले यहोवामा आफूलाई समर्पण गरेका र बप्तिस्मा लिएका छैनन्‌। यीमध्ये तपाईं पनि हुनुहुन्छ भने माथि बताइएको कुराबाट तपाईंले पुत्रलाई स्वीकार्नु जायज मात्र होइन, तपाईं धन्यवादी हुनुहुन्छ भनेर देखाउने तरिका पनि हो, होइन र? पुत्रको नाउँमा बप्तिस्मा लिंदा तपाईं विशेष आशिष्‌हरू पाउन योग्यको हुनुहुनेछ।यूहन्‍ना १०:९-११ पढ्‌नुहोस्‌।

पवित्र आत्माको नाउँमा

१६, १७. पवित्र आत्माको नाउँमा बप्तिस्मा लिनुको अर्थ तपाईंको लागि के हो?

१६ पवित्र आत्माको नाउँमा बप्तिस्मा लिनुको अर्थ के हो? अगाडि व्याख्या गरिएझैं पेन्तिकोसका दिन पत्रुसको कुरा सुन्‍नेहरूलाई पवित्र आत्माबारे थाह थियो। वास्तवमा परमेश्‍वरले अझै पनि पवित्र आत्मा प्रयोग गरिरहनुभएको कुरा तिनीहरूले साक्षात्‌ प्रमाण पाएका थिए। “पवित्र आत्माले भरिए, र आत्माले तिनीहरूलाई उच्चारण गर्नदिए बमोजिम” गर्न थालेकाहरूमध्ये पत्रुस पनि एक थिए। (प्रेरि. २:४, ८) “नाउँमा” भन्‍ने शब्द व्यक्‍तिविशेषलाई मात्र लागू हुन्छ भन्‍ने छैन। आजकल सरकारको “नाउँमा” थुप्रै काम गरिन्छ तर सरकार व्यक्‍ति भने होइन। ती काम सरकारको अख्तियारमार्फत गराइएका हुन्छन्‌। त्यसैगरि पवित्र आत्माको नाउँमा बप्तिस्मा लिने व्यक्‍तिले पवित्र आत्मा व्यक्‍ति होइन तर परमेश्‍वरको सक्रिय शक्‍ति हो भनेर स्वीकार्छन्‌। अनि यस्तो बप्तिस्माको अर्थ परमेश्‍वरको उद्देश्‍य पूरा गर्न विभिन्‍न तरिकामा पवित्र आत्माले खेल्ने भूमिकालाई स्वीकार्नु हो।

१७ बाइबलको अध्ययन गरेर तपाईंले पवित्र आत्माबारे थाह पाउनुभयो नि, होइन र? उदाहरणको लागि बाइबल परमेश्‍वरको पवित्र आत्माको प्रेरणा पाएर लेखिएको थियो भनेर तपाईंले बुझ्नुभयो। (२ तिमो. ३:१६) आध्यात्मिक प्रगति गर्दै जाँदा तपाईंले पक्कै पनि ‘स्वर्गका पिताले’ तपाईंलगायत ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ’ भन्‍ने तथ्य पनि राम्ररी बुझेको हुनुपर्छ। (लूका ११:१३) तपाईंले आफ्नो जीवनमा पवित्र आत्माले काम गरिरहेको पनि देखेको हुनुपर्छ। तर अहिलेसम्म पवित्र आत्माको नाउँमा बप्तिस्मा लिनुभएको छैन भने पिताले पवित्र आत्मा दिनुहुन्छ भनेर येशूले दिएको आश्‍वासनको अर्थ पवित्र आत्मा पाउँदा तपाईंले तपाईंसामु राखिएका वास्तविक आशिष्‌हरू पाउनु हो।

१८. पवित्र आत्माको नाउँमा बप्तिस्मा लिनेहरूले के-कस्ता आशिष्‌ पाउनेछन्‌?

१८ यहोवाले अहिले पनि आफ्नो आत्मामार्फत ख्रीष्टियान मण्डलीलाई डोऱ्‍याउनुहुन्छ भन्‍ने प्रस्ट छ। पवित्र आत्माले हामी प्रत्येकलाई दैनिक गतिविधिमा पनि मदत गर्छ। हामीले पवित्र आत्माको नाउँमा बप्तिस्मा लिनुको अर्थ त्यसले हाम्रो जीवनमा खेल्ने भूमिकालाई स्वीकार्नु र कृतज्ञ हुँदै उक्‍त आत्मालाई सहयोग गर्नु हो। तर कसैकसैलाई लाग्न सक्छ, हामी यहोवामा गरेको समर्पण अनुरूप कसरी जीवन बिताउन सक्छौं र यसमा पवित्र आत्मा कसरी समावेश छ? यसबारे अर्को लेखमा छलफल गर्नेछौं। (w10-E 03/15)

[फुटनोट]

a अक्टोबर २२, १९८१ अंकको अवेक! पृष्ठ ३-८ हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

• तपाईंको लागि पिताको नाउँमा बप्तिस्मा लिनुको अर्थ के हो?

• पुत्रको नाउँमा बप्तिस्मा लिनुको अर्थ के हो?

• पिता र पुत्रको नाउँमा बप्तिस्मा लिनुको महत्त्वको तपाईं कदर गर्नुहुन्छ भनेर कसरी देखाउन सक्नुहुन्छ?

• पवित्र आत्माको नाउँमा बप्तिस्मा लिनुको अर्थ के हो?

[प्रश्‍नहरू]

[पृष्ठ १० मा भएका चित्रहरू]

इस्वी संवत्‌ ३३ पेन्तिकोसपछि नयाँ चेलाहरू पिता यहोवासित कस्तो सम्बन्धमा बाँधिए?

[स्रोत]

By permission of the Israel Museum, Jerusalem