सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जवान हो—यहोवाको सेवा गर्ने तपाईंको इच्छालाई बलियो पार्नुहोस्‌

जवान हो—यहोवाको सेवा गर्ने तपाईंको इच्छालाई बलियो पार्नुहोस्‌

जवान हो—यहोवाको सेवा गर्ने तपाईंको इच्छालाई बलियो पार्नुहोस्‌

“आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌।”—उप. १२:१.

१. इस्राएलमा केटाकेटीलाई कस्तो निम्तो दिइएको थियो?

 करिब ३,५०० वर्षअघि यहोवाको अगमवक्‍ता मोशाले इस्राएलका पूजाहारीहरू र बूढाप्रधानहरूलाई यस्तो आज्ञा दिए: “स्त्री, बालक . . . सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न र यस व्यवस्थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्‌।” (व्यव. ३१:१२) उपासनाको लागि क-कसलाई भेला हुन निर्देशन दिइएको थियो, याद गर्नुहोस्‌। पुरुष, स्त्री र बालक अर्थात्‌ स-साना केटाकेटी सबैलाई। हो, सुन्‍न, सिक्न र यहोवाको निर्देशन पालन गर्न भनिएकाहरू माझ जवानहरू समेत थिए।

२. प्रथम शताब्दीको ख्रीष्टियान मण्डलीका युवाहरूप्रति यहोवाले कसरी चासो देखाउनुभयो?

प्रथम शताब्दीमा पनि यहोवाले आफ्ना जन माझ भएका युवाहरूप्रति चासो देखाउनुभयो। उदाहरणको लागि उहाँले प्रेरित पावललाई मण्डलीहरूमा पठाइएका केही पत्रमा जवानहरूलाई तोकेरै निर्देशन दिन पनि प्रेरणा दिनुभयो। ( एफिसी ६:१ र कलस्सी ३:२० पढ्‌नुहोस्‌) यस्तो सल्लाह पालन गर्ने जवान ख्रीष्टियानहरू स्वर्गमा बस्ने मायालु पिता यहोवाप्रति अझ कृतज्ञ भए र उहाँबाट आशिष्‌ पाए।

३. आज जवानहरूले परमेश्‍वरको सेवा गर्ने इच्छा कसरी देखाउँछन्‌?

के आज पनि जवानहरूलाई यहोवाको उपासना गर्नको लागि भेला हुन निम्त्याइएका छन्‌? छन्‌ नि! त्यसैले यहोवाको सेवा गरिरहेका संसारभरिका धेरै जवान सेवकहरूले पावलको यो सल्लाह मनमा लिएको देख्दा परमेश्‍वरका सबै जन हर्षित छन्‌: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनलाई नछोडौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन्‌ बढता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) साथै, थुप्रै केटाकेटी आमाबाबुसँगै परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्छन्‌। (मत्ती २४:१४) अनि यहोवाप्रति हार्दिक प्रेम व्यक्‍त गर्दै हरेक वर्ष हजारौं जवानहरू बप्तिस्मा लिन्छन्‌ र ख्रीष्टको चेला बन्दा पाइने आशिष्‌को आनन्द उठाउँछन्‌।—मत्ती १६:२४; मर्कू. १०:२९, ३०.

अहिल्यै निम्तो स्वीकार्नुहोस्‌

४. परमेश्‍वरको सेवा गर्न उहाँले दिएको निम्तो केटाकेटीहरूले कति उमेर पुगेपछि स्वीकार्न सक्छन्‌?

उपदेशक १२:१ बताउँछ: “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌।” केटाकेटी हो, यहोवाको उपासना गर्न र उहाँको सेवा गर्न दिइएको यो न्यानो निमन्त्रणा स्वीकार्न तपाईं कति वर्षको हुनुपर्छ? यसको लागि बाइबलमा उमेर तोकिएको छैन। तसर्थ यहोवाको कुरा सुन्‍न र उहाँको सेवा गर्ने ‘उमेर भएकै छैन’ भन्ठान्दै पछि नहट्‌नुहोस्‌। तपाईंको उमेर जतिसुकै होस्‌, ढिलो नगरी यो निम्तो स्वीकारिहाल्न तपाईंलाई प्रोत्साहन दिन चाहन्छौं।

५. छोराछोरीलाई आध्यात्मिक उन्‍नति गर्न आमाबाबुले कसरी मदत दिन सक्छन्‌?

तपाईंहरूमध्ये थुप्रैले आमा वा बुबाबाट अथवा दुवैबाट आध्यात्मिक उन्‍नति गर्ने मदत पाउनुभएको छ। यसप्रकार तपाईं बाइबल समयका तिमोथीजस्तै हुनुहुन्छ। सानै छँदा तिमोथीलाई आमा युनिस र बज्यै लोइसले पवित्र लेखोटहरू सिकाएका थिए। (२ तिमो. ३:१४, १५) त्यस्तैगरि तपाईंका आमाबाबुले पनि तपाईंसित बाइबल अध्ययन गरेर, तपाईंसँगै प्रार्थना गरेर, तपाईंलाई परमेश्‍वरका जनहरूको मण्डलीका सभाहरूमा तथा सम्मेलनहरूमा अनि क्षेत्र सेवामा लगेर प्रशिक्षण दिइरहनुभएको छ। हो, तपाईंलाई परमेश्‍वरको तौरतरिका सिकाउनु भनेको तपाईंका आमाबाबुले यहोवाबाट पाएको अत्यन्तै महत्त्वपूर्ण जिम्मेवारी हो। उहाँहरूले देखाएको माया र चासोप्रति तपाईं कृतज्ञ हुनुहुन्‍न र?—हितो. २३:२२.

६. (क) भजन ११०:३ अनुसार कसरी गरेको उपासनाले यहोवालाई खुसी तुल्याउँछ? (ख) अब हामी के विचार गर्नेछौं?

तर जवान हो, तपाईं हुर्कंदै जाँदा यहोवा परमेश्‍वर तपाईंहरूले ‘उहाँको असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी जाँचेर पत्ता लगाएको’ चाहनुहुन्छ। (रोमी १२:२) यसो गर्नुभयो भने तपाईंले आमाबाबुको इच्छाले गर्दा नभई परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहना तपाईंमा भएकोले मण्डलीका गतिविधिमा भाग लिइरहेको हुनेछ। राजीखुसीले यहोवाको सेवा गर्नुभयो भने उहाँ खुसी हुनुहुनेछ। (भज. ११०:३) त्यसोभए यहोवाको कुरा सुन्‍ने र उहाँको निर्देशन पालन गर्ने आफ्नो इच्छालाई तपाईं बलियो पार्न चाहनुहुन्छ भनेर कसरी देखाउन सक्नुहुन्छ? तपाईंले यसो गर्न सक्ने तीनवटा महत्त्वपूर्ण तरिका विचार गर्नेछौं। ती हुन्‌: अध्ययन, प्रार्थना र आचरण। आउनुहोस्‌, यी तरिकाहरू एक-एक गरी केलाऔं।

यहोवालाई व्यक्‍तित्व भएको परमेश्‍वरको रूपमा चिन्‍नुहोस्‌

७. धर्मशास्त्रको विद्यार्थीको हैसियतमा येशूले कसरी उदाहरण बसाल्नुभयो र त्यसो गर्न उहाँलाई केले मदत गऱ्‍यो?

तपाईं यहोवाको सेवा गर्ने आफ्नो इच्छालाई अझ तीव्र पार्न चाहनुहुन्छ भनेर देखाउने पहिलो तरिका हो: दैनिक बाइबल पढाइ। नियमित तवरमा परमेश्‍वरको वचन पढेर तपाईं आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्न र बाइबलको अनमोल ज्ञान पाउन सक्नुहुन्छ। (मत्ती ५:३) यस सन्दर्भमा येशूले उदाहरण बसाल्नुभयो। एक पटकको कुरा हो, उहाँ १२ वर्षको हुँदा आमाबाबुले उहाँलाई मन्दिरमा “शिक्षकहरूका बीचमा बसेर सुन्दै र सोद्धै गरिरहनुभएको” भेट्टाए। (लूका २:४४-४६) बालकै छँदा येशूले धर्मशास्त्रप्रति आफूमा तीव्र इच्छा जगाइसक्नुभएको थियो र धर्मशास्त्रका कुराहरू बुझ्न थालिसक्नुभएको थियो। त्यसो गर्न सक्ने हुन उहाँलाई केले मदत गऱ्‍यो? पक्कै पनि उहाँकी आमा मरियम र धर्मपिता यूसुफले यसमा ठूलो योगदान पुऱ्‍याएका थिए। तिनीहरू परमेश्‍वरका सेवक थिए र तिनीहरूले येशूलाई सानैदेखि परमेश्‍वरबारे सिकाए।—मत्ती १:१८-२०; लूका २:४१, ५१.

८. (क) आमाबाबुले छोराछोरीको हृदयमा परमेश्‍वरको वचनप्रति कहिलेदेखि प्रेम मनमा रोपिदिन थाल्नुपर्छ? (ख) छोराछोरीलाई सानैदेखि प्रशिक्षण दिनु महत्त्वपूर्ण छ भनेर पुष्टि गर्ने एउटा अनुभव बताउनुहोस्‌।

त्यस्तैगरि आज परमेश्‍वरको भय मान्‍ने आमाबाबुले छोराछोरीको हृदयमा सानैदेखि बाइबल सच्चाइप्रति इच्छा जगाइदिनुपर्छ भनेर मानिलिन्छन्‌। (व्यव. ६:६-९) ख्रीष्टियान बहिनी रूबीले आफ्नो जेठो छोरो जोसेफ जन्मेको केही समयपछि नै त्यसै गरिन्‌। तिनी हरेक दिन छोरालाई बाइबलका कथाहरू भएको मेरो पुस्तक पढेर सुनाउँथिन्‌। छोरा अलि ठूलो भएपछि उसलाई विभिन्‍न शास्त्रपद याद गर्न मदत गरिन्‌। के त्यस्तो प्रशिक्षणबाट जोसेफलाई फाइदा पुग्यो? बोल्न जान्‍ने हुनेबित्तिकै उसले आफ्नै बोलीमा बाइबलका थुप्रै कथा भन्‍न सक्थ्‌यो। अनि पाँच वर्षको हुँदा नै उसले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा पहिलो भाषण दियो।

९. बाइबल पढ्‌नु र पढेको कुरा मनन गर्नु किन महत्त्वपूर्ण छ?

जवान हो, अझ आध्यात्मिक उन्‍नति गर्न तपाईंले बाइबल पढ्‌ने बानी बसाल्नुपर्छ अनि यो बानी किशोर अवस्थाभरि र वयस्क हुँदा पनि कायम राख्नुहोस्‌। (भज. ७१:१७) बाइबल पढाइले तपाईंलाई आध्यात्मिक उन्‍नति गर्न किन मदत गर्नेछ? येशूले पितालाई प्रार्थना गर्दा के भन्‍नुभयो याद गर्नुहोस्‌: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूह. १७:३) वास्तवमा तपाईं यहोवाको ज्ञान जति धेरै लिनुहुन्छ, त्यति नै स्पष्ट उहाँलाई वास्तविक व्यक्‍तित्व भएको परमेश्‍वरको रूपमा चिन्‍नुहुन्छ र उति नै धेरै उहाँप्रतिको प्रेम प्रगाढ हुन्छ। (हिब्रू ११:२७) त्यसैले हरेक पटक बाइबलको कुनै अंश पढ्‌दा त्यसलाई यहोवाबारे अझ धेरै सिक्ने मौकाको रूपमा लिनुहोस्‌। बाइबल पढ्‌दा आफैलाई सोध्नुहोस्‌: ‘यस घटनाले मलाई यहोवाको व्यक्‍तित्वबारे के सिकाउँछ? बाइबलको यो अंशले मप्रतिको परमेश्‍वरको प्रेम र चासोलाई कसरी देखाउँछ?’ यस्ता प्रश्‍नहरूमा मनन गर्ने समय निकाल्दा यहोवा कसरी सोच्नुहुन्छ र महसुस गर्नुहुन्छ अनि उहाँ तपाईंबाट के चाहनुहुन्छ, ती सिक्ने मदत पाउनुहुनेछ। ( हितोपदेश २:१-५ पढ्‌नुहोस्‌) जवान तिमोथीजस्तै तपाईं पनि बाइबलबाट सिकेको कुरा विश्‍वास गर्न ‘लागिरहनुहुनेछ’ र राजीखुसीले यहोवाको उपासना गर्न उत्प्रेरित हुनुहुनेछ।—२ तिमो. ३:१४.

प्रार्थनाले यहोवाप्रतिको तपाईंको प्रेमलाई प्रगाढ बनाउँछकसरी?

१०, ११. परमेश्‍वरको सेवा गर्ने तपाईंको इच्छा बलियो पार्न प्रार्थनाले कसरी मदत दिन्छ?

१० सारा हृदयले यहोवाको सेवा गर्ने आफ्नो इच्छालाई बलियो बनाउन सक्ने दोस्रो तरिका हो: प्रार्थना। भजन ६५:२ मा यस्तो लेखिएको पाउँछौं: “हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँनै सबै प्राणी आउनेछन्‌।” इस्राएलीहरू परमेश्‍वरले करार बाँधेका मानिस भएको बेलामा समेत पनि यहोवाको मन्दिरमा आउने विदेशीहरूले उहाँलाई प्रार्थना गर्न सक्थे। (१ राजा ८:४१, ४२) परमेश्‍वर पक्षपात गर्नुहुन्‍न। उहाँको आज्ञा पालन गर्नेहरूले उहाँ तिनीहरूको पुकारा सुन्‍नुहुन्छ भनेर आश्‍वासन पाउँछन्‌। (हितो. १५:८) पक्कै पनि, “सबै प्राणी”-मा तपाईं जवानहरू पनि पर्नुहुन्छ।

११ तपाईंलाई थाहै छ, राम्ररी कुराकानी गर्नु साँचो मित्रताको जग हो। सायद तपाईं आफ्नो विचार, चासो र भावना घनिष्ठ मित्रसित बाँड्‌न मन पराउनुहुन्छ। त्यस्तैगरि हृदयबाट नै प्रार्थना गरेर तपाईं आफ्नो महान्‌ सृष्टिकर्तासित कुरा गर्न सक्नुहुन्छ। (फिलि. ४:६, ७) मायालु आमाबाबु वा घनिष्ठ मित्रसित भावना पोखाएझैं यहोवासित कुरा गर्नुहोस्‌। वास्तवमा तपाईं कसरी प्रार्थना गर्नुहुन्छ र यहोवाबारे कसरी सोच्नुहुन्छ, यी दुई कुराबीच गहिरो सम्बन्ध छ। यहोवासित जति बलियो मित्रता गाँस्नुहुन्छ, तपाईंको प्रार्थना त्यति नै अर्थपूर्ण हुन्छ भनेर तपाईंले याद गर्नुहुनेछ।

१२. (क) अर्थपूर्ण प्रार्थना भनेको शब्दहरू बर्बराउनु मात्र किन होइन? (ख) यहोवा तपाईंको नजिक हुनुहुन्छ भनेर बुझ्न तपाईंलाई केले मदत दिनेछ?

१२ तर याद गर्नुहोस्‌ अर्थपूर्ण प्रार्थना भनेको शब्दहरू बर्बराउनु मात्र होइन। यसमा तपाईंको भित्री भावना मुछिएको हुनुपर्छ। प्रार्थनामा यहोवाप्रतिको न्यानो प्रेम, गहिरो आदर र पूर्ण भरोसा व्यक्‍त गर्नुहोस्‌। यहोवाले तपाईंका प्रार्थनाहरूको जवाफ कसरी दिनुहुन्छ भनेर बुझ्दा, तपाईंले व्यक्‍तिगत तवरमा पहिला कहिल्यै महसुस नगरेको कुरा महसुस गर्नुहुनेछ। त्यो हो: “उहाँमा पुकारा गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ।” (भज. १४५:१८) हो, यहोवा तपाईंको नजिक हुनुहुनेछ र शैतानको विरोध गर्न र जीवनमा सही छनौट गर्न उहाँले तपाईंलाई बलियो पार्नुहुनेछ।याकूब ४:७, ८ पढ्‌नुहोस्‌।

१३. (क) परमेश्‍वरसितको मित्रताले एउटी बहिनीलाई कसरी मदत गऱ्‍यो? (ख) साथीहरूबाट आउने दबाब सामना गर्न परमेश्‍वरसितको सम्बन्धले तपाईंलाई कसरी मदत गर्छ?

१३ यहोवासित घनिष्ठ सम्बन्ध राखेर सेरीले कसरी बल पाइन्‌, विचार गर्नुहोस्‌। हाइस्कूलमा छँदा पढाइ र खेलकुदमा राम्रो गरेकीले तिनी पुरस्कारहरू पाउँथिन्‌। स्कूलको पढाइ सिद्धिएपछि तिनलाई छात्रवृत्तिको प्रस्ताव आयो। यो प्रस्ताव स्वीकारेमा तिनले उच्च शिक्षा हासिल गर्न सक्थिन्‌। तर सेरी भन्छिन्‌: “त्यो प्रस्ताव लोभलाग्दो थियो। प्रशिक्षकहरू र सहपाठीहरूले त्यो प्रस्ताव स्वीकार्न एकदमै कर गरे।” तर अझ बढी शिक्षा लिंदा धेरैजसो समय अध्ययन गर्न र खेलकुदको तयारीमा खर्चिनुपर्ने हुन्छ र यहोवाको सेवा गर्ने समय नै रहँदैन भनेर तिनले बुझेकी थिइन्‌। सेरीले के गरिन्‌? तिनी भन्छिन्‌: “यहोवालाई प्रार्थना गरें अनि छात्रवृत्तिको प्रस्ताव इन्कार गरेर नियमित अग्रगामी सेवा थालें।” अहिले तिनले अग्रगामीको रूपमा सेवा गरेको पाँच वर्ष भइसकेको छ। तिनी भन्छिन्‌: “मलाई कुनै पछुतो छैन। यहोवालाई खुसी तुल्याउने निर्णय गरेकोले म आनन्दित भएकी छु। साँच्चै, यदि तपाईंले परमेश्‍वरको राज्यलाई प्रथम स्थानमा राख्नुभयो भने अरू सबै कुरा तपाईंमा थपिनेछ।”—मत्ती ६:३३.

असल आचरणले तपाईंको “हृदय शुद्ध छ” भनी देखाउँछ

१४. किन तपाईंको असल आचरण यहोवाको दृष्टिमा महत्त्वपूर्ण छ?

१४ राजीखुसीले यहोवाको सेवा गर्दै हुनुहुन्छ भनी तपाईंले देखाउन सक्ने तेस्रो तरिका हो: आचरण। नैतिक तवरमा शुद्ध रहने जवानहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ। ( भजन २४:३-५ पढ्‌नुहोस्‌) जवान शमूएलले प्रधान पूजाहारी एलीका छोराहरूको अनैतिक आचरण पछ्याउन इन्कार गरे। तिनको असल आचरण कसैले याद गरेन भन्‍ने होइन। बाइबल विवरण बताउँछ: “बालक शमूएल बढदै जाँदा परमप्रभु र मानिसहरूका प्रशंसाका पात्र भए।”—१ शमू. २:२६.

१५. तपाईंले असल आचरण कायम राख्नुपर्ने केही कारण के-के हुन्‌?

१५ हामी यस्ता मानिसहरूले भरिएको संसारमा बस्छौं जो हठी, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, अवफादार, निष्ठुर, घमन्डी र परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने किसिमका छन्‌। यी त पावलले उल्लेख गरेका कुरामध्ये केही मात्र हुन्‌। (२ तिमो. ३:१-५) त्यसैले यस दुष्ट वातावरणबीच उदाहरणीय आचरण कायम राख्न तपाईंलाई साँच्चै चुनौती हुन सक्छ। तर हर समय जे सही छ त्यो गर्नुभयो र खराब आचरणबाट भाग्नुभयो भने विश्‍वव्यापी सार्वभौमिकताको विवादमा तपाईंले यहोवाको पक्ष लिइरहनुभएको हुनेछ। (अय्यू. २:३, ४) यहोवाको यो न्यानो आग्रह तपाईंले सुनिरहनुभएको छ भनी थाह पाउँदा पनि तपाईं सन्तुष्ट हुनुहुन्छ: “हे मेरो छोरो, बुद्धिमान्‌ हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितो. २७:११) साथै, तपाईंले यहोवाको अनुमोदन पाउनुभएको छ भनी थाह पाउँदा उहाँको सेवा गर्ने तपाईंको इच्छा बलियो हुनेछ।

१६. एउटी बहिनीले कसरी यहोवाको हृदय आनन्दित तुल्याइन्‌?

१६ क्यारल नाउँकी ख्रीष्टियान बहिनीले किशोरी छँदा स्कूलमा बाइबलका सिद्धान्तहरू अडिग भई पालन गरिन्‌ र तिनले देखाएको राम्रो आचरण अरूले याद गरे। स्कूलमा तिनले के-कस्ता कुराको सामना गरिन्‌? तिनले सहपाठीहरूको गिल्ला सहनुपऱ्‍यो किनभने बाइबल प्रशिक्षित अन्तस्करणले गर्दा तिनले चाडपर्व तथा देशभक्‍तिका समारोहहरूमा भाग लिइनन्‌। कहिलकाहीं ती अवसरहरूमा तिनले आफ्नो विश्‍वासबारे बताउने मौका पाइन्‌। कैयौं वर्षपछि क्यारलले एक जना भूतपूर्व सहपाठीबाट कार्ड पाइन्‌। त्यसमा लेखिएको थियो: “तिमीलाई सम्पर्क गरेर धन्यवाद दिन चाहन्थें। तिम्रो असल आचरण तथा ख्रीष्टियान जवानको रूपमा तिमीले देखाएको असल उदाहरण र चाडपर्वहरूको सन्दर्भमा तिमीले लिएको साहसी अडान मैले याद गरेकी थिएँ। तिमी नै मैले भेटेकी पहिलो यहोवाका साक्षी हौ।” क्यारलले बसालेको उदाहरणले तिनको साथीमा यस्तो छाप पारेछ कि पछि उनले बाइबल अध्ययन गर्न थालिछन्‌। उनले बप्तिस्मा लिएको ४० वर्ष भइसकेछ! उनले यसबारे पनि कार्डमा लेखेकी थिइन्‌। क्यारलले जस्तै बाइबल सिद्धान्तहरू साहसी भई पछ्याउने तपाईं जवानहरूले पनि इमानदार हृदय भएका व्यक्‍तिहरूलाई यहोवाबारे जान्‍न उत्प्रेरित गर्न सक्नुहुन्छ।

यहोवाको प्रशंसा गरिरहेका जवानहरू

१७, १८. (क) तपाईंको मण्डलीका जवानहरूबारे तपाईं कस्तो महसुस गर्नुहुन्छ? (ख) परमेश्‍वरको भय राख्ने जवानहरूको भविष्य कस्तो छ?

१७ साँचो उपासनामा भाग लिइरहेका जोसिला हजारौं जवानहरू देखेर यहोवाको विश्‍वव्यापी संगठनभित्रका हामी सबै अत्यन्तै खुसी छौं। यी जवानहरूले दिनहुँ बाइबल पढेर, प्रार्थना गरेर अनि परमेश्‍वरको इच्छाबमोजिम चलेर यहोवाको उपासना गर्ने आफ्नो इच्छालाई बलियो बनाउँछन्‌। यस्ता उदाहरणीय जवानहरू तिनीहरूको आमाबाबु र यहोवाका सबै जनहरूका लागि स्फूर्तिका स्रोत हुन्‌।—हितो. २३:२४, २५.

१८ भविष्यमा विश्‍वासी जवानहरू परमेश्‍वरले प्रतिज्ञा गरेको नयाँ संसारमा प्रवेश गर्नेहरूमध्ये हुनेछन्‌। (प्रका. ७:९, १४) त्यहाँ यहोवाप्रति झन्झनै कृतज्ञ हुँदै जाँदा तिनीहरूले अद्‌भुत आशिष्‌हरू पाउनेछन्‌ र सदासर्वदा उहाँको प्रशंसा गर्न सक्नेछन्‌।—भज. १४८:१२, १३. ( w10 -E  04/15)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• आज जवानहरूले साँचो उपासनामा कसरी भाग लिन सक्छन्‌?

• तपाईंले बाइबल पढाइबाट लाभ उठाउन मनन गर्नु किन अत्यावश्‍यक छ?

• प्रार्थनाले तपाईंलाई यहोवासित घनिष्ठ हुन कसरी मदत गर्छ?

• ख्रीष्टियानको असल आचरणले के-कस्तो कुरा पूरा गर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

के तपाईंको दिनहुँ बाइबल पढ्‌ने बानी छ?