सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको उद्देश्‍य पूरा गर्ने काममा पवित्र आत्माको भूमिका

यहोवाको उद्देश्‍य पूरा गर्ने काममा पवित्र आत्माको भूमिका

यहोवाको उद्देश्‍य पूरा गर्ने काममा पवित्र आत्माको भूमिका

“मेरो मुखबाट निस्कने मेरो वचन . . . जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशै. ५५:११.

१. योजना र उद्देश्‍यबीचको भिन्‍नता उदाहरणद्वारा बताउनुहोस्‌।

 कल्पना गर्नुहोस्‌, दुई जना व्यक्‍ति कारबाट यात्रा गर्न आ-आफ्नै तयारी गर्दैछन्‌। एउटाले गन्तव्यमा पग्न एक-एक गरी सोच-विचार गर्दै निश्‍चित बाटो तय गर्छ। अर्कोले चाहिं पुग्नुपर्ने गन्तव्य मनमा स्पष्टसित राख्छ तर त्यहाँ पुग्ने थुप्रै बाटो पनि उसलाई थाह छ। परिस्थितिअनुसार आवश्‍यक परेमा ऊ अर्कै बाटो रोज्न तयार छ। यी दुई व्यक्‍तिले फरक-फरक तरिकाले तयारी गर्दै गरेको कुरा योजना र उद्देश्‍यबीचको भिन्‍नता बुझाउने उदाहरण हुन्‌। योजनालाई परिवर्तन नगर्नेगरि निश्‍चित बाटो तय गर्नुसित तुलना गर्न सकिन्छ। उद्देश्‍यचाहिं मनमा लक्ष्य राख्नु हो तर त्यस लक्ष्यमा पुग्न परिवर्तन नगर्नेगरि निश्‍चित बाटो तय गर्नैपर्छ भन्‍ने छैन।

२, ३. (क) यहोवाको उद्देश्‍यमा के समावेश छ अनि आदम र हव्वाले पाप गरेपछि उहाँले कस्तो प्रतिक्रिया देखाउनुभयो? (ख) परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्ने तरिका अनुरूप हामीले सचेत भएर काम गर्नुपर्छ, किन?

यहोवाले आफ्नो इच्छा पूरा गर्ने सन्दर्भमा भन्‍नुपर्दा, उहाँको परिवर्तनै नहुने योजना छैन तर समयको दौडान पूरा हुने उद्देश्‍य छ। (एफि. ३:११) यस उद्देश्‍यमा मानिसजाति र पृथ्वीको लागि सुरुमा उहाँले राखेको अभिप्राय समावेश छ। अनि त्यो हो: यो पृथ्वी बगैंचारूपी घरमा परिवर्तन हुनु, जहाँ सिद्ध मानिसहरू शान्तिमा र आनन्दित भई बस्न सक्छन्‌। (उत्प. १:२८) आदम र हव्वाले पाप गरेपछि यहोवा हात बाँधेर बस्नुभएन तर आफ्नो उद्देश्‍य पूरा गर्न उहाँले आवश्‍यक पाइला चाल्नुभयो। ( उत्पत्ति ३:१५ पढ्‌नुहोस्‌) यहोवाले आफ्नो प्रतिकात्मक स्त्रीद्वारा “सन्तान” अर्थात्‌ पुत्र जन्माउने अठोट गर्नुभयो। त्यस पुत्रले अन्ततः अरूलाई भर्माउने शैतानलाईनाश गर्ने थियो र त्यसले गरेको सबै हानिनोक्सानी सच्याउने थियो।—हिब्रू २:१४; १ यूह. ३:८.

परमेश्‍वरले राखेको उद्देश्‍य पूरा हुनदेखि स्वर्गको वा पृथ्वीको कुनै पनि शक्‍तिले रोक्न सक्दैन। (यशै. ४६:९-११) हामी किन त्यसो भन्‍न सक्छौं? किनकि यसमा यहोवाको आत्मा समावेश छ। रोक्न नसकिने त्यो शक्‍तिले परमेश्‍वरको उद्देश्‍य अवश्‍य “सफल हुनेछ” भनेर ग्यारेन्टी दिन्छ। (यशै. ५५:१०, ११) परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्ने तरिका अनुरूप हामीले सचेत भएर काम गर्नुपर्छ। हाम्रो भावी प्रत्याशा यही उद्देश्‍यको पूर्तिमा निर्भर छ। त्यसबाहेक यहोवाले पवित्र आत्मा प्रयोग गर्ने तरिका बुझ्दा विश्‍वास बलियो हुन्छ। त्यसोभए आउनुहोस्‌, पवित्र आत्माले यहोवाको उद्देश्‍य पूरा गर्ने काममा विगतमा खेलेको, वर्तमानमा खेलिरहेको र भविष्यमा खेल्ने भूमिकालाई विचार गरौं।

विगतमा पवित्र आत्माको भूमिका

४. यहोवाले कसरी आफ्नो उद्देश्‍य बिस्तारै प्रकट गर्दै जानुभएको छ?

बाइबल समयमा यहोवाले आफ्नो उद्देश्‍य बिस्तारै प्रकट गर्दै जानुभयो। प्रतिज्ञा गरिएको सन्तानको चिनारी सुरुमा एउटा “पवित्र रहस्य” थियो। (१ कोरि. २:७, NW) सन्तानको प्रतिज्ञा गरेको झन्डै २,००० वर्षपछि यहोवाले फेरि एउटा सन्तानबारे उल्लेख गर्नुभयो। ( उत्पत्ति १२:७; २२:१५-१८ पढ्‌नुहोस्‌) यहोवाले अब्राहामसित एउटा वाचा बाँध्नुभयो जसको विस्तृत पूर्ति हुने थियो। “तेरै सन्तानद्वारा” भन्‍ने अभिव्यक्‍तिले त्यो सन्तान अब्राहामको वंशबाट मानिसको रूपमा आउने संकेत गऱ्‍यो। यी सब प्रकट हुँदा शैतानले खुबै चासो लिएर हेरिरहेको थियो भनी हामी पक्का हुन सक्छौं। त्यो विरोधीले अब्राहामको वंश नाश गरेर वा भ्रष्ट पारेर परमेश्‍वरको उद्देश्‍यलाई रोक्न चाहन्थ्यो। तर त्यसको त्यस्तो चाहना पूरा हुनु असम्भव थियो। किनभने परमेश्‍वरको अदृश्‍य आत्माले काम गरिरहेको थियो। कसरी?

५, ६. प्रतिज्ञा गरिएको सन्तान आउने वंशका व्यक्‍तिविशेषहरूलाई जोगाउन यहोवाले कसरी आफ्नो आत्मा चलाउनुभयो?

त्यो सन्तान आउने वंशका व्यक्‍तिहरूलाई सुरक्षा दिन यहोवाले आफ्नो आत्मा चलाउनुभयो। अब्रामलाई (अब्राहाम) यहोवाले भन्‍नुभयो: “तेरो ढाल मनै हुँ।” (उत्प. १५:१) यो खोक्रो भनाइ मात्र थिएन। उदाहरणको लागि, ईसापूर्व १९१९ मा अब्राहाम र साराले गरारमा अस्थायी बसोबास गर्दा के भयो, विचार गर्नुहोस्‌। सारा अब्राहामकी पत्नी हुन्‌ भनी थाह नभएकोले गरारको राजा अबीमेलेकले सारालाई पत्नी तुल्याउन लिएर गए। के शैतानले थाहै नदिई अब्राहामको सन्तान साराले नजन्माओस्‌ भनी परिस्तिथिलाई बङ्‌ग्याउने प्रयास गर्दै थियो? यसबारे बाइबल केही बताउँदैन। तर त्यस घटनामा यहोवाले हस्तक्षेप गर्नुभयो भनेर चाहिं बाइबल बताउँछ। सारालाई नछुनू भनेर यहोवाले अबीमेलेकलाई सपनामा चेतावनी दिनुहुन्छ।—उत्प. २०:१-१८.

यहोवाले अब्राहाम र उनको परिवारलाई सुरक्षा दिनुभएको त्यो एउटा घटना मात्र होइन। यहोवाले तिनीहरूलाई धेरै पटक जोगाउनुभयो। (उत्प. १२:१४-२०; १४:१३-२०; २६:२६-२९) त्यसैले अब्राहाम र उनका सन्तानहरूबारे भजनरचयिताले यसो भन्‍न सके: “उहाँले [यहोवाले] कसैलाई पनि तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन, तिनीहरूको खातिरमा उहाँले राजाहरूलाई पनि यसो भनेर हप्काउनुभयो। ‘मेरा अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्‍ताहरूलाई केही हानि नगर।’ ”—भज. १०५:१४, १५.

७. कुन तरिकामा यहोवाले इस्राएल राष्ट्रलाई सुरक्षा दिनुभयो?

आफ्नो आत्मामार्फत यहोवाले प्रतिज्ञा गरिएको सन्तान जन्मने प्राचीन इस्राएल राष्ट्रको सुरक्षा गर्नुभयो। त्यही आत्माद्वारा यहोवाले इस्राएल राष्ट्रलाई व्यवस्था दिनुभयो। त्यस व्यवस्थाले साँचो उपासनालाई बचायो र यहूदीहरूलाई आध्यात्मिक, नैतिक तथा शारीरिक अशुद्धताबाट सुरक्षित राख्यो। (प्रस्थ. ३१:१८; २ कोरि. ३:३) न्यायकर्ताहरूको समयमा इस्राएललाई शत्रुबाट छुटाउन यहोवाको आत्माले केही पुरुषहरूलाई शक्‍ति दियो। (न्याय. ३:९, १०) अब्राहामको सन्तानको मुख्य भाग येशू नजन्मेसम्मका शताब्दीहरूभरि यरूशलेम, बेतलेहेम र मन्दिरको सुरक्षा गर्न पवित्र आत्मा संलग्न भएको हुनुपर्छ। येशूबारेका भविष्यवाणीहरूको पूर्तिमा यरूशलेम, बेतलेहेम र मन्दिरको भूमिका रहने थियो।

८. परमेश्‍वरको पुत्रको जीवन र सेवकाईमा पवित्र आत्मा प्रत्यक्ष संलग्न थियो भनेर केले देखाउँछ?

पवित्र आत्मा येशूको जीवन र सेवकाईमा प्रत्यक्ष संलग्न थियो। पवित्र आत्माले कन्या मरियमको गर्भमा पहिला कहिल्यै नभएको वा पछि कहिल्यै नहुने एउटा काम पूरा गऱ्‍यो। यसले एउटी असिद्ध स्त्रीलाई गर्भधारण गरी सिद्ध छोरा जन्माउन सम्भव तुल्यायो। उक्‍त छोरा पापको कारण हुने मृत्युबाट मुक्‍त थिए। (लूका १:२६-३१, ३४, ३५) पछि त्यही आत्माले शिशु येशूलाई समय नपुगी मर्नबाट बचायो। (मत्ती २:७, ८, १२, १३) येशू लगभग ३० वर्षको हुँदा परमेश्‍वरले उहाँलाई पवित्र आत्माले अभिषेक गरेर दाऊदको सिंहासनको उत्तराधिकारी हुन नियुक्‍त गर्नुभयो र प्रचार गर्न खटाउनुभयो। (लूका १:३२, ३३; ४:१६-२१) पवित्र आत्माले येशूलाई चमत्कारहरू गर्ने शक्‍ति दियो। उहाँले बिरामीलाई निको पार्नुभयो, भीडलाई खुवाउनुभयो र मरेकालाई बिउँताउनुभयो। त्यस्ता शक्‍तिशाली कार्यहरू येशूको शासनमा हामीले पाउने आशिष्‌हरूका पूर्वझलक थिए।

९, १०. (क) येशूको प्रथम शताब्दीका चेलाहरूमा पवित्र आत्माले काम गरिरहेको थियो भनेर कसरी स्पष्ट हुन्छ? (ख) यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्ने कुन नयाँ तरिका प्रथम शताब्दीमा प्रकट गर्नुभयो?

ईस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि यहोवाले अब्राहामको सन्तानको दोस्रो भागलाई अभिषिक्‍त गर्न पवित्र अत्मा चलाउन थाल्नुभयो। यी भागमध्ये थुप्रै अब्राहामको वंशबाटका थिएनन्‌। (रोमी ८:१५-१७; गला. ३:२९) प्रथम शताब्दीका येशूका चेलाहरूमा पवित्र आत्माले काम गरेको थियो भनेर स्पष्ट छ। यसले तिनीहरूलाई जोसका साथ प्रचार गर्न सक्षम बनायो र शक्‍तिशाली कार्यहरू गर्न शक्‍ति दियो। (प्रेरि. १:८; २:१-४; १ कोरि. १२:७-११) तिनीहरूले पवित्र आत्मामार्फत ती चमत्कारी वरदान पाएको तथ्यले के प्रकट गऱ्‍यो भने, यहोवाले अबउसो नयाँ तरिकामा आफ्नो उद्देश्‍य पूरा गर्नुहुने थियो। अब यरूशलेमको मन्दिरमा केन्द्रित शताब्दीयौं पुरानो तरिकामा मानिसहरूले उपासना गरेको उहाँले चाहनुभएन। त्यसको साटो उहाँले नयाँ स्थापित ख्रीष्टियान मण्डलीलाई अनुमोदन गर्नुभयो। त्यसबेलादेखि यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न त्यही अभिषिक्‍त मण्डलीलाई प्रयोग गरिरहनुभएको छ।

१० आफ्नो उद्देश्‍य पूर्तिको ग्यारेन्टी दिन यहोवाले बाइबल समयमा पवित्र आत्मा चलाएका तरिकामध्ये केही हुन्‌: सुरक्षा दिएको, शक्‍ति दिएको र अभिषेक गरेको। हाम्रो समयमा नि? आफ्नो उद्देश्‍यको समर्थनमा यहोवाले अहिले कसरी पवित्र आत्मा चलाइरहनुभएको छ? हामीले यो कुरा जान्‍नु आवश्‍यक छ। किनभने हामी पवित्र आत्माको निर्देशनअनुरूप काम गर्न चाहन्छौं। त्यसोभए यहोवाले अहिले पवित्र आत्मा प्रयोग गरिरहेको तरिकामध्ये चारवटा विचार गरौं।

वर्तमान समयमा पवित्र आत्माको भूमिका

११. पवित्र आत्माले परमेश्‍वरका जनलाई स्वच्छ रहन मदत गर्छ भनेर केले देखाउँछ अनि पवित्र आत्मासित मिलेर काम गरिरहेको कुरा तपाईं कसरी देखाउन सक्नुहुन्छ?

११ पहिलो भूमिका: पवित्र आत्माले परमेश्‍वरका जनलाई स्वच्छ रहन मदत गर्छ। यहोवाको इच्छाबमोजिम सेवा गर्ने र उहाँको उद्देश्‍यबाट लाभ उठाउन चाहनेहरू नैतिक तवरमा स्वच्छ हुनैपर्छ। ( १ कोरिन्थी ६:९-११ पढ्‌नुहोस्‌) अहिले साँचो ख्रीष्टियान भएकामध्ये कोही-कोही पहिला व्यभिचारी, जारी गर्ने र समलिङ्‌गी जस्ता अनैतिक कामकुरामा संलग्न थिए। त्यसैले पापपूर्ण काम गर्नेचाहना हृदयमा गहिरो जरा गाडेर बसेको हुन सक्छ। (याकू. १:१४, १५) तैपनि यस्ता व्यक्‍तिहरू “पखालिएका” छन्‌ र यसले परमेश्‍वरलाई खुसी तुल्याउन तिनीहरूले आफ्नो जीवनमा आवश्‍यक परिवर्तन गरेका छन्‌ भनी देखाउँछ। गलत इच्छाअनुसार चल्ने चाहनालाई सफलतासाथ रोक्न परमेश्‍वरका प्रेमीहरूलाई केले सक्षम पार्छ? पहिलो कोरिन्थी ६:११ भन्छ: “परमेश्‍वरका आत्माले।” नैतिक तवरमा स्वच्छ रहेर तपाईंले पवित्र आत्मालाई आफ्नो जीवनमा महत्त्वपूर्ण शक्‍ति हुन दिइरहेको कुरा देखाइरहनुभएको हुनेछ।

१२. (क) इजकिएलले देखेको दर्शनअनुसार यहोवा आफ्नो संगठनलाई कसरी डोऱ्‍याउनुहुन्छ? (ख) पवित्र आत्माको डोऱ्‍याइअनुरूप काम गरिरहेको छु भनेर तपाईं कसरी देखाउन सक्नुहुन्छ?

१२ दोस्रो भूमिका: यहोवाले आफ्नो संगठनलाई आफूले चाहेको दिशामा लैजान पवित्र आत्मा चलाउनुहुन्छ। इजकिएलले देखेको दर्शनमा यहोवाको संगठनको स्वर्गीय भागलाई दिव्य रथको रूपमा चित्रण गरिएको छ, जुन रथलाई यहोवाको उद्देश्‍य पूरा गर्न कसैले रोक्न सक्दैन। रथलाई कुनै निश्‍चित दिशामा जान केले उत्प्रेरित गर्छ? पवित्र आत्माले। (इज. १:२०, २१) याद गर्नुहोस्‌, यहोवाको संगठनका दुई भाग छन्‌: एउटा स्वर्गमा र अर्कोचाहिं पृथ्वीमा। यदि स्वर्गीय भाग पवित्र आत्माद्वारा डोरिएको छ भने, पृथ्वीको भाग पनि त्यही आत्माद्वारा नै डोरिएको हुनुपर्छ। परमेश्‍वरको संगठनको पार्थिव भागबाट पाएको निर्देशनप्रति आज्ञाकारी र वफादार भएर तपाईंले आफू यहोवाको दिव्य रथसँगसँगै हिंडिरहेको छु अनि पवित्र आत्माको डोऱ्‍याइअनुरूप काम गरिरहेको छु भनी देखाइरहनुभएको हुनेछ।—हिब्रू १३:१७.

१३, १४. (क) येशूले बताएको “यो पुस्ता”-मा को-को पर्छन्‌? (ख) बाइबल सत्य प्रकट गर्न पवित्र आत्माले काम गरिरहेको छ भनेर देखाउने एउटा उदाहरण दिनुहोस्‌। (“के तपाईं नयाँ समझहरू बुझ्दै हुनुहुन्छ?” शीर्षकको पेटी हेर्नुहोस्‌।)

१३ तेस्रो भूमिका: हामीलाई बाइबल सत्य बुझाउन यहोवा पवित्र आत्मा चलाउनुहुन्छ। (हितो. ४:१८) “विश्‍वासी र बुद्धिमान दास”-ले बाइबल सत्य प्रकट गर्दै जान यो प्रहरीधरहरा पत्रिका धेरै अघिदेखि प्रमुख माध्यमको रूपमा प्रयोग गरिरहेको छ। (मत्ती २४:४५) उदाहरणको लागि येशूले भनेको “यो पुस्ता”-मा को-को पर्छन्‌ भनरे हामीले पाएको समझलाई विचार गर्नुहोस्‌। ( मत्ती २४:३२-३४ पढ्‌नुहोस्‌) येशूले कुन पुस्ताबारे बताइरहनुभएको थियो? “ख्रीष्टको उपस्थिति—यसले तपाईंको लागि के अर्थ राख्छ” भन्‍ने लेखमा बताइएअनुसार येशूले दुष्ट पुस्तालाई होइन तर पवित्र आत्माले चाँडै अभिषिक्‍त हुनेवाला आफ्ना चेलाहरूबारे बताइरहनुभएको थियो। a प्रथम शताब्दीका र हाम्रो समयका येशूका अभिषिक्‍त अनुयायीहरूले चिन्ह देख्ने मात्र थिएनन्‌ तर त्यसको अर्थ पनि बुझ्ने थिए। मतलब, तिनीहरूले येशू ‘ढोकामै हुनुहुन्छ’ भनी बुझ्ने थिए।

१४ यस व्याख्याले हाम्रो लागि कस्तो अर्थ राख्छ? “यो पुस्ता”-ले कति लामो समय अवधि ढाक्छ ठ्याक्कै बताउन नसकिए पनि “पुस्ता” शब्दबारे हामीले थुप्रै कुरा मनमा राख्नुपर्छ: यस शब्दले साधारणतया कुनै खास समय अवधिको दौडान बाँचिरहेका विभिन्‍न उमेरका मानिसहरूलाई बुझाउँछ। जस्तै: उमेर फरक भए पनि बुबा र छोरा अथवा नाती र बाजे एउटै समय अवधिमा बाँचिरहेका हुन सक्छन्‌। यस्तो पुस्ता अत्याधिक लामो समयसम्म चल्दैन; यसको अन्त हुन्छ। (प्रस्थ. १:६) त्यसोभए, “यो पुस्ता”-बारे येशूले बताएको कुरा हामीले कसरी बुझ्नुपर्छ? उहाँले भनेको पुस्ता हो: सन्‌ १९१४ मा चिन्ह पूरा भएको स्पष्ट देख्ने अभिषिक्‍त जनहरूको पुस्ता जीवित छँदै अभिषिक्‍त जनको अर्को पुस्ता जन्मिनेछन्‌ जसले महासङ्‌कष्ट देख्नेछन्‌। यिनीहरूको जीवनकाल आपसमा खप्टिनेछ र यही समय अवधिलाई नै “पुस्ता” भनिएको हो। त्यस पुस्ताको सुरु थियो र अन्त पनि अवश्‍य हुनेछ। चिन्हका विभिन्‍न पक्षहरू पूरा भइरहेको कुराले महासङ्‌कष्ट नजिकै छ भनेर स्पष्ट संकेत गर्छ। अविलम्बी भाव कायम राखेर अनि निरन्तर जागा रहेर तपाईं बाइबल सत्यका नयाँ समझहरू बुझ्दै हुनुहुन्छ र पवित्र आत्माको डोऱ्‍याइ पछ्याउँदै हुनुहुन्छ भनी देखाइरहनुभएको हुनेछ।—मर्कू. १३:३७.

१५. सुसमाचार घोषणा गर्न शक्‍ति दिने पवित्र आत्मा नै हो भनेर केले देखाउँछ?

१५ चौथो भूमिका: पावित्र आत्माले हामीलाई सुसमाचार घोषणा गर्न शक्‍ति दिन्छ। (प्रेरि. १:८) सारा पृथ्वीमा सुसमाचार कसरी प्रचार गरिएको छ, त्यसबारे अरू केले बताउँछ? यसबारे सोच्नुहोस्‌। सायद तपाईं ती व्यक्‍तिहरूमध्ये हुनुहुन्छ जसले कुनै समय अति लजालु स्वभावको कारण वा डरले गर्दा यसरी सोच्ने गर्थे: ‘म त कहिले पनि घर-घरको प्रचार गर्न सक्दिनँ।’ तर अहिले तपाईं त्यस काममा जोसका साथ लागिरहनुभएको छ। b यहोवाका थुप्रै विश्‍वासी साक्षीहरू विरोध वा सतावटको बाबजुद प्रचारकार्य निरन्तर गरिरहेका छन्‌। परमेश्‍वरको पवित्र आत्माले मात्र हामीलाई ठूलठूला बाधाहरू पार गर्न र हाम्रो आफ्नै शक्‍तिमा भर परेर गर्न नसकिने कुरा गर्न शक्‍ति दिन सक्छ। (मीका ३:८; मत्ती १७:२०) प्रचारकार्यमा पूर्णरूपले भाग लिएर तपाईंले पवित्र आत्मासित मिलेर काम गरिरहेको कुरा देखाइरहेको हुनेछ।

भविष्यमा पवित्र आत्माको भूमिका

१६. यहोवाले महासङ्‌कष्टको दौडान आफ्ना जनलाई बचाउनुहुनेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौं?

१६ भविष्यमा यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न उल्लेखनीय ढंगमा पवित्र आत्मा चलाउनुहुनेछ। प्रथमत: उहाँले सुरक्षा दिएको कुरा विचार गर्नुहोस्‌। हामीले बुझेका छौं, यहोवाले विगतमा व्यक्‍तिविशेषहरूलाई र सम्पूर्ण इस्राएल राष्ट्रलाई बचाउन पवित्र आत्मा चलाउनुभयो। त्यसैले आउँदै गरेको महासङ्‌कष्टको दौडान उहाँले त्यही शक्‍तिशाली आत्मा आफ्ना जनलाई बचाउन चलाउनुहुनेछ भनेर विश्‍वास गर्ने हर कारण हामीसित छ। त्यतिबेला यहोवाले हाम्रो हेरचाह कसरी गर्नुहुनेछ भनेर अन्दाज लगाइराख्नु आवश्‍यक छैन। बरु हामी विश्‍वस्त भई भविष्यलाई हेर्न सक्छौं किनकि यहोवालाई प्रेम गर्नेहरू उहाँको दृष्टिबाट वा पवित्र आत्माबाट टाढा हुनेछैनन्‌ भनी हामीलाई थाह छ।—२ इति. १६:९; भज. १३९:७-१२.

१७. नयाँ संसारमा यहोवाले कसरी पवित्र आत्मा चलाउनुहुनेछ?

१७ आउँदै गरेको नयाँ संसारमा यहोवाले आफ्नो पवित्र आत्मा कसरी चलाउनुहुनेछ? त्यतिबेला नयाँ पुस्तकहरू खोल्न निर्देशन दिने पनि त्यही आत्मा हुनेछ। (प्रका. २०:१२) ती पुस्तकमा के-के हुनेछन्‌? त्यसमा हजार वर्षिय शासनमा हामीबाट यहोवाले चाहने विस्तृत कुरा अवश्‍य हुनेछन्‌। ती पुस्तकमा भएका कुरा जाँच्न के तपाईं बाटो कुर्नुहुन्छ? हामी उत्सुक भई त्यो नयाँ संसारको बाटो हेर्छौं। पृथ्वी र मानिसजातिको लागि यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न पवित्र आत्मा चलाउँदा आशिष्‌ पाइने समयमा बाँच्दा कस्तो हुन्छ, त्यो हामी कल्पनासमेत गर्न सक्दैनौं।

१८. तपाईंले कस्तो दृढ संकल्प गर्नुपर्छ?

१८ कहिले नबिर्सौं, समयको दौडान पूरा हुने यहोवाको उद्देश्‍य अवश्‍य पूरा हुन्छ। किनभने त्यसो गर्न उहाँले ब्रह्‍माण्डकै सबैभन्दा शक्‍तिशाली शक्‍ति अर्थात्‌ पवित्र आत्मा प्रयोग गर्नुहुन्छ। त्यस उद्देश्‍यमा तपाईं पनि समावेश हुनुहुन्छ। तसर्थ, पवित्र आत्माको लागि यहोवालाई पुकार्न र यस आत्माको डोऱ्‍याइअनुरूप काम गर्न दृढ संकल्प गर्नुहोस्‌। (लूका ११:१३) यसरी तपाईंले मानिसजातिको लागि यहोवाले राखेको उद्देश्‍यअनुसार बगैंचारूपी पृथ्वीमा सधैंभरि बाँच्ने प्रत्याशा पाउनुहुनेछ। ( w10 -E  04/15)

[फुटनोट]

b अति लजालु स्वभाव त्यागेर सेवकाईमा जोसिलो भएको उदाहरण प्रहरीधरहरा, सेप्टेम्बर १, १९९३, पृष्ठ ३१ मा हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

• आफ्नो उद्देश्‍य पूरा गर्दै जान यहोवाले बाइबल समयमा कुन-कुन तरिकामा पवित्र आत्मा चलाउनुभयो?

• वर्तमान समयमा यहोवाले कसरी आफ्नो आत्मा चलाइरहनुभएको छ?

• आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाले भविष्यमा कसरी पवित्र आत्मा चलाउनुहुनेछ?

[प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएको पेटी]

के तपाईं नयाँ समझहरू बुझ्दै हुनुहुन्छ?

यहोवाले आफ्ना जनहरूलाई निरन्तर ज्योति दिइरहनुहुन्छ। प्रहरीधरहरा-मा प्रकट गरिएका केही नयाँ समझ के-के हुन्‌?

▪ येशूले दिएको खमिरको उखानमा आध्यात्मिक वृद्धिबारे कस्तो असल पाठको कुरा गरिएको छ? (मत्ती १३:३३)—जुलाई १, २००८, पृष्ठ २७-२९

▪ ख्रीष्टियानहरूलाई स्वर्गीय आशाको लागि बोलाउने काम कहिले सिद्धिन्छ?—मे १, २००७, पृष्ठ ३०-३१ (अंग्रेजी)

▪ यहोवालाई ‘आत्मामा’ पुज्नुको अर्थ के हो? (यूह. ४:२४)—जुलाई १५, २००२, पृष्ठ १५.

▪ कुनचाहिं चोकमा ठूलो भीडले सेवा गर्छ? (प्रका. ७:१५)—मे १, २००२, पृष्ठ ३०-३१.

▪ भेडा र बाख्रा छुट्याउने काम कहिले हुन्छ? (मत्ती २५:३१-३३)—अक्टोबर १५, १९९५, पृष्ठ १८-२८.