सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘यहोवाले हृदय हेरीकन विचार गर्नुहुन्छ’

‘यहोवाले हृदय हेरीकन विचार गर्नुहुन्छ’

परमेश्‍वरको नजिक हुनुहोस्‌

‘यहोवाले हृदय हेरीकन विचार गर्नुहुन्छ’

१ शमूएल १६:१-१२

बाहिरी रूप भ्रमात्मक हुन सक्छ। मानिस बाहिर जस्तो देखिन्छ, भित्र अर्थात्‌ हृदयमा पनि त्यस्तै हुन्छ भन्‍ने छैन। मानिसहरूमा बाहिरी रूप हेरेर निर्णय गर्ने झुकाव हुन्छ। तर धन्य, यहोवा बाहिरी रूप होइन भित्री रूप हेर्नुहुन्छ। यो कुरा १ शमूएल १६:१-१२ को विवरणले प्रस्ट पारेको छ।

यो दृश्‍य कल्पना गर्नुहोस्‌: यहोवाले इस्राएलमा नयाँ राजा अभिषेक गर्नै लाग्नुभएको छ। अगमवक्‍ता शमूएललाई परमेश्‍वर भन्‍नुहुन्छ: “म तँलाई बेतलेहेमको यिशैकहाँ पठाउँदैछु। किनभने मैले त्यसका छोराहरूमध्येको एक जनालाई राजा चुनेको छु।” (पद १) यहोवा नाउँ नै त तोक्नुहुन्‍न तर उहाँले चुनेको व्यक्‍ति यिशैका छोराहरूमध्ये एक हो भनेर चाहिं बताउनुहुन्छ। बेतलेहेमतिर जाँदै गर्दा सायद शमूएलले यस्तो सोचिरहेको हुन सक्छ, ‘यहोवाले यिशैको कुनचाहिं छोरालाई छान्‍नुभएको हो भनेर म कसरी थाह पाउँला?’

बेतलेहेम पुगेपछि शमूएलले यिशै र उनका छोराहरूलाई बलिदानको भोजमा निम्त्याउँछ। यिशैको जेठो छोरा एलीआब भित्र आउँदा उसको रूप देख्नेबित्तिकै शमूएल मुग्ध हुन्छ। एलीआब अग्लो भएकोले हर तरहले राजा हुन योग्यको छ भन्‍ने शमूएललाई लाग्छ र आफैलाई यसो भन्छ: “परमप्रभुको सामने उहाँका अभिषिक्‍त राजा यिनीनै रहेछन्‌।”—पद ६.

तर यहोवाको दृष्टिकोण भने फरक छ। उहाँ शमूएललाई भन्‍नुहुन्छ: “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्‌। म त्यसलाई इन्कार गर्छु।” (पद ७) एलीआबको उचाइ र सुन्दरताले यहोवा मुग्ध हुनुभएको होइन। यहोवाको तीक्ष्ण दृष्टिले भित्री सुन्दरतालाई नै खोज्छ।

यहोवा शमूएललाई भन्‍नुहुन्छ: “परमप्रभुले मानिसले झैं हेर्दैनन्‌। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।” (पद ७) हो, यहोवा हृदय हेर्नुहुन्छ अर्थात्‌ मानिसको विचार, मनोवृत्ति र भावना उत्पन्‍न हुने भित्री व्यक्‍तित्व नियाल्नुहुन्छ। “मन जाँच गर्ने” यहोवाले एलीआबलगायत यिशैका बाँकी छ जना छोरालाई पनि इन्कार गर्नुहुन्छ।—हितोपदेश १७:३.

यिशैको कान्छो छोरा त बाँकी नै छ—‘भेडा चराउने’ दाऊद। (पद ११) दाऊदलाई खेतबाट बोलाइन्छ र ऊ शमूएलसामु आउँछ। त्यसपछि यहोवा शमूएललाई भन्‍नुहुन्छ: “उठेर त्यसलाई अभिषेक गर्‌। व्यक्‍ति यही हो।” (पद १२) हुन त दाऊद “चम्किला आँखा भएका सुन्दर” केटो हो। तर यहोवा उसलाई उसको हृदयको कारण रुचाउनुहुन्छ।—१ शमूएल १३:१४.

बाहिरी रूपमा असाध्यै जोड दिने यस संसारमा यहोवा बाहिरी रूप हेर्नुहुन्‍न भनेर थाह पाउनु हाम्रो लागि सान्त्वनाको कुरा हो। तपाईं कति अग्लो हुनुहुन्छ, अरूको नजरमा तपाईं कत्तिको सुन्दर वा सुन्दरी हुनुहुन्छ, यहोवालाई त्यो मतलब छैन। तपाईं भित्र कस्तो हुनुहुन्छ वा तपाईंको हृदय कस्तो छ यहोवालाई त्यसमा चासो छ। यो कुराले तपाईंलाई यहोवाको नजरमा सुन्दर देखिने गुणहरू खेती गर्न उत्प्रेरित गर्छ नि, होइन र? ( w10 -E  03/01)