सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूले परमेश्‍वरको विषयमा सिकाएको कुरा

येशूले परमेश्‍वरको विषयमा सिकाएको कुरा

येशूले परमेश्‍वरको विषयमा सिकाएको कुरा

“पिता को हुन्‌? पुत्रले, र जसलाई पुत्रले प्रकट गर्ने इच्छा गर्दछ, त्यसले बाहेक कसैले जान्दैन।”—लूका १०:२२.

पृथ्वीमा आउनुअघि परमेश्‍वरको जेठो पुत्रले पितासँग अनगिन्ती वर्ष बिताउनुभयो। (कलस्सी १:१५) त्यसैकारण पुत्रले पिताको विचार, भावना र मार्ग जान्‍नुभयो। पछि पुत्र पृथ्वीमा मानव भएर जन्मँदा पिताबारे सत्य कुरा सिकाउन उत्सुक हुनुहुन्थ्यो। उक्‍त पुत्रको कुरा सुनेर हामी परमेश्‍वरबारे धेरै सिक्न सक्छौं।

परमेश्‍वरको नाउँ येशूको लागि ईश्‍वरीय नाउँ यहोवा अत्यन्त महत्त्वपूर्ण थियो। प्यारो पुत्र आफ्नो पिताको नाउँ अरूले थाह पाएको र प्रयोग गरेको चाहनुहुन्थ्यो। उहाँको आफ्नै नाउँ येशूको अर्थ हो: “यहोवा उद्धार गर्नुहुन्छ।” आफू मर्नुभन्दा अघिल्लो रात येशूले प्रार्थनामा यहोवालाई यसो भन्‍न सक्नुभयो: “मैले . . . तपाईंको नाउँ परिचित गराएँ।” (यूहन्‍ना १७:२६) येशूले परमेश्‍वरको नाउँ प्रयोग गरेकोमा र यो नाउँ अरूलाई परिचित गराएकोमा अचम्म मान्‍नुपर्दैन। नत्र, परमेश्‍वरको नाउँ र त्यसको अर्थ नबुझीकन कसरी पो येशूका श्रोताहरूले यहोवाबारे सत्य कुरा बुझ्न सक्थे र? a

परमेश्‍वरको अथाह प्रेम येशूले एकचोटि प्रार्थनामा परमेश्‍वरलाई यसो भन्‍नुभयो: “हे पिता, . . . तपाईंले संसारको उत्पत्तिभन्दा पहिलेदेखिनै मलाई प्रेम गर्नुभयो।” (यूहन्‍ना १७:२४) परमेश्‍वरको प्रेम स्वर्गमा महसुस गरिसकेकोले येशू पृथ्वीमा हुँदा त्यो प्रेमका विभिन्‍न मोहक पक्षलाई प्रकट गर्ने कोसिस गर्नुभयो।

यहोवाको प्रेम अथाह छ भनी येशूले देखाउनुभयो। येशूले भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) “संसार” भनी अनुवाद गरिएको युनानी शब्दको अर्थ “पृथ्वी” होइन। यहाँ यस शब्दले सारा मानिसजातिलाई बुझाउँछ। मानिसहरूप्रति परमेश्‍वरको प्रेम यति अथाह छ कि विश्‍वासी मानिसहरूले पाप र मृत्युको फन्दाबाट स्वतन्त्र भएर अनन्त जीवनको आशा पाउन सकून्‌ भनी आफ्नो एकदमै अमूल्य छोरा दिनुभयो। हामी यस्तो प्रेमको चौडाइ वा गहिराइ नाप्न सक्दैनौं।—रोमी ८:३८, ३९.

येशूले यस्तो एकदमै आश्‍वासनदायी सत्यको पुष्टि गर्नुभयो: यहोवा आफ्नो प्रत्येक उपासकलाई गहिरो प्रेम गर्नुहुन्छ। यहोवा गोठालो जस्तै हुनुहुन्छ जसले आफ्नो प्रत्येक भेडालाई विशेष र अनमोल ठान्‍नुहुन्छ भनेर येशूले सिकाउनुभयो। (मत्ती १८:१२-१४) येशूले भन्‍नुभयो, यहोवाले एउटा भँगेरा भुईंमा खसेको पनि थाह पाउनुहुन्छ। येशूले अझै भन्‍नुभयो: “तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्‌।” (मत्ती १०:२९-३१) यहोवाले एउटा भँगेरा गुँडबाट हराएको त याद गर्न सक्नुहुन्छ भने आफ्ना प्रत्येक मानव उपासकलाई झन्‌ कत्ति याद गर्नुहुन्छ होला? यहोवाले हाम्रो शिरको एउटा-एउटा केश गन्‍न अनि याद गर्न सक्नुहुन्छ भने हाम्रो जीवनको कुनचाहिं पक्ष अर्थात्‌ आवश्‍यकता, संघर्ष अनि चिन्ता उहाँलाई थाह छैन होला र?

स्वर्गका पिता हामीले अघिल्लो लेखमा बुझ्यौं, येशू परमेश्‍वरका एक मात्र पुत्र हुनुहुन्छ। त्यसैकारण प्यारो पुत्रले यहोवालाई अक्सर धेरै पटक “पिता” भनेर सम्बोधन गर्नुभयो र उहाँबारे अरूलाई बताउँदा आफ्नो “पिता” हुनुहुन्छ भन्‍नुभयो। १२ वर्षको छँदा येशूले यरूशलेमको मन्दिरमा बोलेका शब्दहरू वास्तवमा बाइबलमा रेकर्ड गरिएका उहाँका प्रथम शब्दहरू हुन्‌ र उहाँले त्यतिखेर यहोवालाई “आफ्ना पिता” भनेर सम्बोधन गर्नुभएको थियो। (लूका २:४९) सुसमाचारका पुस्तकहरूमा “पिता” शब्द करिब १९० पटक प्रयोग गरिएको छ। येशूले यहोवालाई “तिमीहरूका पिता,” ‘हाम्रा पिता’ र “मेरा पिता” भनेर विभिन्‍न तरिकामा सम्बोधन गर्नुभएको छ। (मत्ती ५:१६; ६:९; ७:२१) यसरी येशूले यो पदवी खुलेर प्रयोग गरेकोले पापी अनि असिद्ध मानिसहरूले पनि यहोवासित न्यानो र भरोसायोग्य सम्बन्ध गाँस्न सक्छन्‌ भनी प्रस्ट भयो।

दयालु र क्षमा दिन इच्छुक असिद्ध मानिसहरूलाई यहोवाको अपार दयाको आवश्‍यकता छ भनेर येशूलाई थाह थियो। उहाँले दिएको उडन्ता पुत्रको दृष्टान्तमा पश्‍चातापी छोरालाई अँगालो हालेर स्वीकार्ने दयालु र क्षमाशील बुबासित येशूले यहोवाको तुलना गर्नुभयो। (लूका १५:११-३२) येशूका शब्दहरूले हामीलाई के आश्‍वासन दिन्छ भने, दया देखाउने आधार पाउन यहोवाले पापी मानिसहरूको हृदयमा कतै कुनै परिवर्तन भएको छ कि भनी हेर्नुहुन्छ। पश्‍चातापी पापीहरूलाई क्षमा दिन यहोवा उत्सुक हुनुहुन्छ। येशूले भन्‍नुभयो: “म तिमीहरूलाई भन्दछु, ‘यसरी पश्‍चाताप गर्न नपर्ने उनान्सय धार्मिक जनहरूप्रति भन्दा पश्‍चाताप गर्ने एक जना पापीप्रति स्वर्गमा आनन्द हुनेछ।’ ” (लूका १५:७) यस्तो दयालु परमेश्‍वरसित कसले चाहिं घनिष्ठ महसुस नगर्ला र?

प्रार्थना सुन्‍ने परमेश्‍वर पृथ्वीमा आउनुभन्दा पहिले स्वर्गमा हुँदा येशूले यहोवा ‘प्रार्थना सुन्‍नुहुन्छ’ र विश्‍वासी उपासकहरूको प्रार्थनामा खुसी हुनुहुन्छ भनेर प्रत्यक्ष देख्नुभएको थियो। (भजन ६५:२) त्यसैले येशूले सेवकाईको दौडान आफ्ना श्रोताहरूलाई कसरी अनि केको लागि प्रार्थना गर्ने, सिकाउनुभयो। उहाँले “व्यर्थै नबरबराऊ” भन्‍नुभयो। उहाँले आफ्ना श्रोताहरूलाई परमेश्‍वरको इच्छा “स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌” भनेर प्रार्थना गर्न आग्रह गर्नुभयो। हामी दैनिक भोजनको लागि, पाप क्षमा पाउन र प्रलोभनको प्रतिरोध गर्न पनि प्रार्थना गर्न सक्छौं। (मत्ती ६:५-१३) आफ्ना सेवकहरूले विश्‍वाससाथ गरेका निष्कपट बिन्तीहरूको जवाफ दिंदै यहोवाले तिनीहरूसित बुबाले जस्तै व्यवहार गर्नुहुन्छ भनी येशूले सिकाउनुभयो।—मत्ती ७:७-११.

निश्‍चय पनि येशूले यहोवा र उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ, त्यसबारे सत्य कुरा सिकाउन खोज्नुभयो। तर उहाँ यहोवाबारे अर्को कुरा बाँड्‌न पनि उत्सुक हुनुहुन्थ्यो। त्यो थियो: यहोवाले पृथ्वी र मानिसहरूका लागि आफ्नो उद्देश्‍य पूरा गर्न सारा संसारमा परिवर्तन ल्याउने माध्यम। वास्तवमा येशूको सन्देशको यो पक्ष नै उहाँको प्रचारको मुख्य विषय थियो। ( w10 -E  04/01)

[फुटनोट]

a मूल बाइबलमा यहोवा भन्‍ने नाउँ करिब ७,००० पटक लेखिएको छ। यो नाउँको अर्थ “म हुँ जो म हुँ” हुन्छ। (प्रस्थान ३:१४) आफ्नो उद्देश्‍य पूरा गर्न परमेश्‍वर जे आवश्‍यक ठान्‍नुहुन्छ, त्यही बन्‍न सक्नुहुन्छ। त्यसैले यो नाउँले परमेश्‍वर सधैं आफ्नो उद्देश्‍य पूरा गर्नुहुन्छ र आफ्ना जस्तोसुकै प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्‍ने ग्यारेन्टी दिन्छ।