सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

व्यर्थका कुराहरू हेर्नदेखि आँखा फर्काउनुहोस्‌!

व्यर्थका कुराहरू हेर्नदेखि आँखा फर्काउनुहोस्‌!

व्यर्थका कुराहरू हेर्नदेखि आँखा फर्काउनुहोस्‌!

“व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌। र मलाई तपाईंको मार्गमा जीवित राख्नुहोस्‌।”—भज. ११९:३७.

१. हामीले पाएको उपहार आँखा कति महत्त्वपूर्ण छ?

 हाम्रो आँखा कत्ति अनमोल छ! यसैद्वारा हामी वरपरका कुराहरूको आकार-प्रकार अनि रङ्‌गविरङ्‌ग तुरुन्तै ठम्याउन सक्छौं। आँखाले नै प्रिय मित्रहरूलाई हेर्न र खतराहरूदेखि भाग्न हामीलाई मदत गर्छ। यसैद्वारा हामी सुन्दरता बुझ्छौं, सृष्टिको अचम्मका कुराहरूको कदर गर्छौं अनि परमेश्‍वरको अस्तित्व र महिमाको प्रमाण पाउँछौं। (भज. ८:३, ४; १९:१, २; १०४:२४; रोमी १:२०) अनि जानकारीहरू मस्तिष्कसम्म पुऱ्‍याउने अति महत्त्वपूर्ण माध्यम भएकोले आँखाले यहोवाको ज्ञान लिने र उहाँमा विश्‍वास बलियो बनाउने काममा मुख्य भूमिका खेल्छ।—यहो. १:८; भज. १:२, ३.

२. हामी जे हेर्छौं त्यसबारे किन सचेत हुनुपर्छ र भजनहारले गरेको इमानदार बिन्तीबाट कस्तो पाठ सिक्न सक्छौं?

तैपनि हामी जे हेर्छौं, त्यसले कहिलेकहीं हानि पुऱ्‍याउन सक्छ। आँखा र मस्तिष्कको सम्बन्ध यति बलियो हुन्छ कि आँखाले जुन कुरा देख्छ, त्यसले हाम्रो हृदयमा लालसा र चाहनाहरू जगाउन वा बढाउन सक्छ। शैतानले शासन गरिरहेको भ्रष्ट र स्वार्थी संसारमा बाँचिरहेकोले सजिलै बहकाउन सक्ने चित्र, विज्ञापन, समाचार र प्रचार-प्रसारका सामग्री हामीमाथि ओइरो लागेको छ। यसप्रति एक नजर मात्र लगायौं भने पनि हामी सजिलै बहकिन सक्छौं। (१ यूह. ५:१९) त्यसैकारण भजनहारले परमेश्‍वरलाई यसरी बिन्ती गर्नु स्वाभाविकै हो: “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌। र मलाई तपाईंको मार्गमा जीवित राख्नुहोस्‌।”—भज. ११९:३७.

हाम्रो आँखाले कसरी बहकाउन सक्छ

३-५. आँखालाई लोभ्याउन दिंदा हुने खतराबारे बाइबलमा कस्तो उदाहरण दिइएको छ?

प्रथम स्त्री हव्वालाई के भयो, विचार गर्नुहोस्‌। “असल र खराबको ज्ञान दिने रूखको” फल खाएमा तिनका आँखा “खुल्नेछन्‌” भनी शैतानले सल्लाह दियो। आँखा “खुल्नेछन्‌” भन्‍ने सोचले तिनी रोमाञ्चित भएकी हुनुपर्छ। जब तिनले “त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलादो, औ कसैलाई बुद्धिमान्‌ बन्‍नलाई सो रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्‌” तब तिनमा निषेधित फल खाने इच्छा झनै तीव्र भयो। हव्वाले चाह गरेर उक्‍त रूख हेरेकीले परमेश्‍वरप्रति अनाज्ञाकारी हुन पुगिन्‌। तिनका पति आदम पनि अनाज्ञाकारी भए, जसले गर्दा सबै मानिसजातिमाथि विनाशकारी नतिजा आइलाग्यो।—उत्प. २:१७; ३:२-६; रोमी ५:१२; याकू. १:१४, १५.

नूहको समयमा पनि केही स्वर्गदूतहरू आफूले देखेका कुराबाट प्रभावित भए। तिनीहरूबारे उत्पत्ति ६:२ भन्छ: “तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे। औ आफ्नो-आफ्नो रूचिका पत्नीहरू ल्याए।” विद्रोही स्वर्गदूतहरूले मानिसका छोरीहरूलाई कामवासनाको दृष्टिले हेरेकाले तिनीहरूमा मानिससँग यौन सम्बन्ध राख्ने अस्वाभाविक चाहना पैदा भयो। अनि ती स्वर्गदूतहरूले हिंस्रक सन्तान जन्माए। मानिसहरूको दुष्टताको कारणले नै त्यतिबेला नूह र तिनको परिवारबाहेक सबै नाश भए।—उत्प. ६:४-७, ११, १२.

शताब्दीयौंपछि इस्राएली आकानलाई तिनको आँखाले इस्राएलीहरूले जितेको यरीहो सहरका केही सामान चोर्न लोभ्यायो। यहोवाले आफ्नो भण्डारको लागि केही खास सामान राख्न भन्‍नुभए तापनि त्यसबाहेक त्यस सहरका सबै सामान नष्ट गर्न आज्ञा दिनुभएको थियो। “नाशको निम्ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहनू” र त्यस सहरबाट कुनै-कुनै सामानचाहिं लिएर आउनू भनेर इस्राएलीहरूलाई चेतावनी दिइएको थियो। आकान अनाज्ञाकारी भएपछि इस्राएलीहरूले ऐ सहरमा हार भोग्नुपऱ्‍यो र तिनीहरूमध्ये थुप्रैले ज्यान गुमाउनुपऱ्‍यो। पक्राउ नपरुन्जेलसम्म आकानले चोरी गरेको कुरा स्वीकारेन। आकानले भन्यो: जब मैले ती सामानहरू “देखें, तब मलाई लोभ लाग्यो, र ती लिएँ।” आँखाको अभिलाषाले गर्दा ऊलगायत ऊसँग “जो जति थिए”, ती सबै नाश भए। (यहो. ६:१८, १९; ७:१-२६) जुन कुरा निषेध गरिएको थियो, आकानले त्यही गर्ने चाहना मनमा पाल्यो।

हामीले आफैलाई अनुशासनमा राख्नुपर्छ

६, ७. हामीलाई फसाउन शैतानले प्राय: कुन “युक्‍ति” प्रयोग गर्छ र व्यापारिक विज्ञापनकर्ताहरूले कसरी यसको प्रयोग गर्छन्‌?

हव्वा, अनाज्ञाकारी स्वर्गदूतहरू र आकानजस्तै आज पनि मानिसहरू त्यही तरिकामा प्रलोभनमा पर्छन्‌। शैतानले मानिसजातिलाई बहकाउन चलाउने सबै “युक्‍तिहरू”-मध्ये “आँखाको अभिलाषा” सबैभन्दा शक्‍तिशाली छ। (२ कोरि. २:११; १ यूह. २:१६) देखेका कुराहरूले मानिसहरूमा सधैं असर गर्छ भनेर अहिलेका व्यापारिक विज्ञापनकर्ताहरूलाई राम्ररी थाह छ। अग्र स्थानमा रहेको युरोपियन बजार विशेषज्ञ भन्छन्‌: “सबैभन्दा मन लोभ्याउन लगाउने इन्द्रिय आँखा हो। यसले अक्सर अरू इन्द्रियहरूलाई नियन्त्रणमा राख्छ अनि जे सही छ मानिसहरूलाई त्यसैको विरुद्धमा लाग्ने बनाउँछ।”

विज्ञापनकर्ताहरूले आफ्नो सामान तथा सेवाप्रति हाम्रो आँखालाई आकर्षित गर्न र मनमा चाहना जगाउन चलाखीसित डिजाइन गरिएका चित्रहरूको ओइरो लगाउँछन्‌। विज्ञापनले व्यक्‍ति-विशेषमा कस्तो प्रभाव पार्छ भनी अध्ययन गरेका अमेरिकी अनुसन्धानकर्ताले बताए: “जानकारी दिन मात्र विज्ञापन तयार पारिएको हुँदैन। तर विशेषगरि दर्शकमा खास भावना अनि प्रतिक्रिया पैदा गर्नको लागि तयार पारिएको हुन्छ।” प्रायः प्रयोग गरिने एउटा तरिका यौन उत्तेजक दृश्‍य हो। हामी जे देख्छौं र मन-मस्तिष्कमा जे हाल्छौं, त्यसलाई दृढ भई नियन्त्रण गर्नु कत्ति महत्त्वपूर्ण छ!

८. हाम्रो आँखालाई सुरक्षित राख्नुपर्छ भनेर बाइबलले कसरी जोड दिएको छ?

आँखाको अभिलाषा र शरीरको अभिलाषाले साँचो ख्रीष्टियानहरूलाई पनि असर गर्छ। त्यसैले हामीले हेर्ने र चाहना गर्ने कुराहरूमा आफैलाई अनुशासनमा राख्न परमेश्‍वरको वचनले प्रोत्साहन दिएको छ। (१ कोरि. ९:२५, २७; १ यूहन्‍ना २:१५-१७ पढ्‌नुहोस्‌) धर्मी व्यक्‍ति अय्यूबले हेर्नु र चाहना गर्नुबीचको बलियो सम्बन्धबारे बुझेका थिए। तिनले भने: “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढसंकल्प गरें।” (अय्यू. ३१:१) अय्यूबले स्त्रीलाई अनैतिक तरिकामा छुन इन्कार मात्र गरेनन्‌ तर आफ्नो मनमा त्यस्ता कुरा खेल्नसमेत दिएनन्‌। येशूले मन अनैतिक सोचबाट मुक्‍त हुनैपर्छ भनेर जोड दिनुभयो। उहाँले भन्‍नुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।”—मत्ती ५:२८.

तिरस्कार गर्नुपर्ने व्यर्थका कुराहरू

९. (क) विशेषगरि इन्टरनेट चलाउँदा हामी किन सतर्क हुनैपर्छ? (ख)अश्‍लील सामग्री एकैछिन मात्र हेरेको भए तापनि त्यसले कस्तो नतिजा ल्याउन सक्छ?

आजको संसारमा अश्‍लील सामग्रीहरू विशेषगरि इन्टरनेटमा ‘हेरिरहने’ कुरा झन्झनै सामान्य हुँदै गइरहेको छ। हामीले त्यस्ता वेबसाइट हेर्नै पर्दैन, त्यसले पो हामीलाई हेरिरहेको हुन्छ। कसरी? लोभ्याउने दृश्‍य भएको विज्ञापन तपाईंको कम्प्युटरको स्क्रिनमा झ्वाट्ट देखापर्न सक्छ। अथवा अहानिकारक जस्तो देखिने इमेल खोलेपछि तुरुन्तै अश्‍लील दृश्‍यहरू आउन सक्छन्‌ र सजिलै बाहिरिन नसकिनेगरि त्यस्ता दृश्‍यहरू तयार गरिएका हुन्छन्‌। त्यसलाई मेटाउनुअघि एक झलक मात्र पनि हेरेको छ भने पनि त्यसले मस्तिष्कमा छाप पारिसकेको हुन्छ। अश्‍लील सामग्री एकैछिन मात्र हेरेको भए तापनि त्यसले दुःखद्‌ नतिजाहरू ल्याउन सक्छ। यसले गर्दा हामीलाई दोषी अन्तस्करणले सताउन सक्छ र अनैतिक दृश्‍यहरू दिमागबाट हटाउन संघर्ष गर्नुपर्ने हुन्छ। अझ दु:खको कुरा, जसले जानाजानी ‘हेरिरहन्छ’ उसले आफ्नो मनमा अनैतिक इच्छाहरू अझै मारेको रहेनछ भनी देखाइरहेको हुन्छ।एफिसी ५:३, ४, १२ पढ्‌नुहोस्‌ ; कल. ३:५, ६.

१०. विशेषगरि केटाकेटीहरू अश्‍लील सामग्रीको सिकार हुनुको कारण के हो र यसले कस्तो नतिजा ल्याउन सक्छ?

१० केटाकेटीहरू स्वाभाविक कौतुहलताको कारण अश्‍लील सामग्री तिर तानिन सक्छन्‌। त्यसो भयो भने यौनप्रतिको तिनीहरूको दृष्टिकोणमा लामो समयसम्म असर पर्न सक्छ। एउटा रिपोर्टअनुसार ती असरहरू हुन्‌: यौनप्रति विकृत सोचलाई सामान्य ठान्‍नुदेखि “स्वस्थ, मायालु सम्बन्ध कायम राख्न कठिनाइ हुनु, स्त्रीप्रति अव्यावहारिक दृष्टिकोण राख्नु र सम्भवतः अश्‍लील सामग्री हेर्ने लत लाग्नुसम्म हुन सक्छ। यसले गर्दा स्कूलको काममा दखल पुग्न सक्छ, साथी र पारिवारिक सम्बन्धमा फाटो आउन सक्छ।” त्यसभन्दा पनि यसले पछि वैवाहिक सम्बन्धमा झनै खतरनाक असर पार्न सक्छ।

११. अश्‍लील सामग्री हेर्दा हुने खतराबारे एउटा उदाहरण दिनुहोस्‌।

११ एक जना ख्रीष्टियान भाइ भन्छन्‌: “साक्षी हुनुअघिका मेरा सबै कुलतमध्ये छोड्‌न गाह्रो भएको चाहिं अश्‍लील सामग्री हेर्ने लत हो। कतैबाट अचानक कुनै-कुनै गन्ध आउँदा, कुनै संगीत सुन्दा र कतिपय कुरा देख्दा वा भ्रष्ट सोचाइ आउँदासमेत ती अश्‍लील दृश्‍यहरू अझै पनि मनमा अचानक झल्झली आउँछन्‌। यो मेरो दैनिक चलिरहने युद्ध हो।” सानै छँदा अर्का भाइ विश्‍वासमा नभएका बुबाले हेर्ने गरेका अश्‍लील पत्रिकाहरू बुबाआमा घरमा नहुँदा हेर्ने गर्थे। तिनी लेख्छन्‌: “ती चित्रहरूले मेरो कलिलो दिमागमा कस्तो डरलाग्दो असर गरेको थियो! अहिले म २५ वर्षको भइसक्दा पनि ती चित्रहरू अझै भुल्न सकेको छैन। मैले जत्तिनै कोसिस गरे पनि भुल्न गाह्रो छ। त्यस्ता कुराहरू मनमा नखेलाए तापनि म दोषी महसुस गर्छु।” त्यस्ता बोझिला भावनाहरूदेखि टाढै बस्न व्यर्थका कुराहरू नहेर्नु साँच्चै बुद्धिमानी कुरा हो। यो कसरी गर्न सकिन्छ? यसको लागि “हरेक विचारलाई ख्रीष्टको आज्ञा मान्‍नलाई अधीनमा” पार्ने कोसिस गर्नुपर्छ।—२ कोरि. १०:५.

१२, १३. ख्रीष्टियानहरूले कस्ता व्यर्थका कुराहरू हेर्न इन्कार गर्नैपर्छ र किन?

१२ त्याग्नुपर्ने अर्को “नीच” अथवा व्यर्थको कुरा हो: भौतिकवाद, प्रेतवाद वा हिंसा, मारकाट र हत्याजस्ता कुराहरूलाई जोड दिने मनोरञ्जन। ( भजन १०१:३ पढ्‌नुहोस्‌) आफ्नो घरमा कस्ता कुराहरू हेर्न दिने, ती छान्‍ने सम्बन्धमा ख्रीष्टियान आमाबाबु यहोवाप्रति जवाफदेही छन्‌। हो, साँचो ख्रीष्टियानहरू जानीबुझीकन प्रेतवादमा मुछिंदैनन्‌। तैपनि आमाबाबु अचम्मको र रहस्यमय कुराहरू देखाइने फिल्म, टिभी धारावाहिक, भिडियो गेम, कमिक र केटाकेटीको पुस्तकबारे सचेत हुनु आवश्‍यक छ।—हितो. २२:५.

१३ हामी जवान होऔं वा वृद्ध हाम्रो आँखालाई हिंसा र काटमारलाई वास्तविक रूपमा देखाइएको भिडियो गेम र फिल्महरूमा रम्न दिनु हुँदैन। ( भजन ११:५ पढ्‌नुहोस्‌) यहोवालाई मन नपर्ने कुनै पनि कामकुरामा मन लगाउनदेखि हामी टाढा बस्नैपर्छ। याद गर्नुहोस्‌, शैतानले हाम्रो सोचविचारलाई तारो बनाउँदैछ। (२ कोरि. ११:३) स्वीकारयोग्य मनोरञ्जनमा समेत धेरै समय बिताउँदा हाम्रो पारिवारिक उपासना, दैनिक बाइबल पढाइ र सभाको लागि तयारी गर्ने समय त्यसले भसक्कै खाइरहेको हुन्छ।—फिलि. १:९, १०.

येशूको उदाहरण पछ्याउनुहोस्‌

१४, १५. ख्रीष्टलाई शैतानले तेस्रो चोटि प्रलोभनमा पार्ने प्रयास गर्दाको उल्लेखनीय कुरा के थियो र येशूले कसरी त्यसको सामना गर्नुभयो?

१४ दुःखको कुरा, यस दुष्ट संसारमा व्यर्थका कुनै-कुनै कुरा हेर्नदेखि हामी आँखा फर्काउन सक्दैनौं। येशू पनि त्यस्तो कुरा हेर्न बाध्य हुनुभयो। शैतानले उहाँलाई परमेश्‍वरको इच्छा विपरीत गर्न लगाउन तेस्रो चोटि प्रयास गर्दा “दुष्टात्माले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर जगत्का सबै राज्य र तिनको गौरव उहाँलाई देखायो।” (मत्ती ४:८) शैतानले किन त्यसो गऱ्‍यो? निस्सन्देह, आँखाले गर्दा पर्ने शक्‍तिशाली प्रभावको नाजायज फाइदा उठाउन शैतान चाहन्थ्यो। संसारको सारा राज्यको भव्यता देख्दा येशूको मनमा सांसारिक प्रतिष्ठाको लोभ जाग्न पनि सक्थ्यो। तर येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो?

१५ त्यस्तो लोभ्याउने प्रस्तावमा येशूले ध्यान केन्द्रित गर्नुभएन। उहाँले आफ्नो मनलाई गलत इच्छाहरूमा रम्न दिनुभएन। शैतानको प्रस्ताव अस्वीकार गर्न उहाँले सोचिराख्नु परेन। उहाँले तुरुन्तै यस्तो प्रतिक्रिया देखाउनुभयो: “ए शैतान हटी जा!” (मत्ती ४:१०) उहाँले यहोवासितको सम्बन्धमा ध्यान केन्द्रित गर्नुभयो र आफ्नो जीवनको उद्देश्‍य अर्थात्‌ परमेश्‍वरको इच्छा गर्ने कुराअनुरूपै जवाफ दिनुभयो। (हिब्रू १०:७) परिणामस्वरूप उहाँले शैतानको चलाखीपूर्ण योजना विफल पार्नुभयो।

१६. येशूले शैतानको प्रलोभनको प्रतिरोध गरेको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१६ येशूको उदाहरणबाट हामी धेरै कुरा सिक्न सक्छौं। पहिलो, शैतानका युक्‍तिहरूदेखि कोही पनि मुक्‍त छैन। (मत्ती २४:२४) दोस्रो, हाम्रो आँखा कस्ता कुरामा केन्द्रित गर्छौं, त्यसले हाम्रो मन असल वा खराबतिर लगाउन प्रेरित गर्न सक्छ। तेस्रो, शैतानले हामीलाई विश्‍वासबाट तर्काउने प्रयासमा “आँखाको अभिलाषा”-बाट सकेजति फाइदा उठाउनेछ। (१ पत्रु. ५:८) अनि चौथो, विशेषगरि तुरुन्तै प्रतिक्रिया देखायौं भने हामी पनि शैतानको प्रतिरोध गर्न सक्छौं।—याकू. ४:७; १ पत्रु. २:२१.

तपाईंको आँखा “निर्मल” राख्नुहोस्‌

१७. प्रलोभनप्रति कसरी प्रतिक्रिया देखाउने, त्यो पहिले नै योजना बनाउनु किन बुद्धिमानी कुरा हो?

१७ यहोवाप्रतिको हाम्रो समर्पणमा व्यर्थका कुरादेखि पर बस्ने गम्भीर वाचा पनि समावेश छ। परमेश्‍वरको इच्छाअनुसार गर्ने प्रतिज्ञा गर्दै हामी पनि भजनहारको कुरामा सहमत हुन्छौं: “तपाईंको वचन पालन गरूँ भनेर मैले आफ्ना खुट्टालाई हरेक खराब चालबाट रोकेको छु।” (भज. ११९:१०१) प्रलोभन आउँदा कसरी प्रतिक्रिया देखाउने, त्यसबारे पहिले नै योजना बनाउनु बुद्धिमानी कुरा हो। बाइबलले निन्दा गरेका कुराहरू हामीलाई स्पष्टसित बताइएको छ। शैतानका युक्‍तिहरूदेखि हामी अन्जान छैनौं। ढुङ्‌गालाई रोटी बनाउनुहोस्‌ भनेर शैतानले येशूलाई कुनबेला प्रलोभन देखायो? चालिस दिन र चालिस रात उपवास बसिसकेपछि येशू “भोकाउनुभयो”, त्यहिबेला। (मत्ती ४:१-४) हामी कहिले कमजोर हुन्छौं र कहिले प्रलोभनमा पर्न सक्छौं भनेर शैतानले थाह पाउन सक्छ। त्यसैले होसियार भएर यी विषयमा विचार पुऱ्‍याउने समय अहिल्यै हो। ढिलो नगर्नुहोस्‌! यहोवाप्रतिको समर्पणको वाचालाई दिनदिनै मनमा राख्यौं भने व्यर्थका कुरादेखि अलग्गै रहन दृढ भई अठोट गर्न सक्छौं।—हितो. १:५; १९:२०.

१८, १९. (क) “निर्मल” आँखा र “खराब” आँखाबीच कस्तो भिन्‍नता छ? (ख) जुन कुरा मूल्यवान्‌ छन्‌, त्यसैको विचार गर्नु किन महत्त्वपूर्ण छ र यस सम्बन्धमा फिलिप्पी ४:८ ले कस्तो सल्लाह दिन्छ?

१८ प्रत्येक दिन आँखालाई मनपर्ने थुप्रै कुराले हामीलाई अलमल्याइरहेको हुन्छ अनि ती कुरा दिनदिनै बढिरहेका छन्‌। त्यसैकारण येशूले आँखा “निर्मल” राख्नू भनेर दिएको सल्लाह अहिले झनै महत्त्वपूर्ण भएको छ। (मत्ती ६:२२, २३) “निर्मल” आँखा पूर्णतया एउटै उद्देश्‍यमा अर्थात्‌ परमेश्‍वरको इच्छाअनुसार गर्नमा केन्द्रित हुन्छ। त्यसको विपरीत “खराब” आँखा कपटपूर्ण र लोभी हुन्छ अनि व्यर्थका कुरातिर खिचिन्छ।

१९ याद राख्नुहोस्‌, हामीले आफ्नो दिमागमा राख्ने कुराले नै हाम्रो मनमा असर गर्ने हो। त्यसैले जुन कुरा मूल्यवान्‌ छन्‌, त्यसैको विचार गर्नु कत्ति महत्त्वपूर्ण छ। ( फिलिप्पी ४:८ पढ्‌नुहोस्‌) हो, भजनहारको यो प्रार्थना हामी निरन्तर गुञ्जाइरहन चाहन्छौं: “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।” त्यसपछि त्यो प्रार्थनाअनुरूप काम गर्ने प्रयास गऱ्‍यौं भने यहोवाले ‘उहाँको मार्गमा हामीलाई जीवित राख्नुहुन्छ’ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौं।—भज. ११९:३७; हिब्रू १०:३६. ( w10 -E  04/15)

यी कुराबारे हामीले के याद गर्नुपर्छ?

• हाम्रो आँखा, दिमाग र मनबीचको सम्बन्ध

• अश्‍लील सामग्री हेर्दा हुने खतराहरू

• हाम्रो आँखा “निर्मल” राख्नुको महत्त्व

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएका चित्रहरू]

व्यर्थका कस्ता कुराहरू हेर्नदेखि ख्रीष्टियानहरू जोगिनैपर्छ?