सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बिरामी नातेदार स्याहार्नुपर्दा आध्यात्मिक रूपमा बलियो भइरहनुहोस्‌

बिरामी नातेदार स्याहार्नुपर्दा आध्यात्मिक रूपमा बलियो भइरहनुहोस्‌

बिरामी नातेदार स्याहार्नुपर्दा आध्यात्मिक रूपमा बलियो भइरहनुहोस्‌

किम नाउँकी साक्षीको मेरुदण्ड नजिकै ट्यूमर भेटियो। उनलाई क्यान्सर भएको रहेछ। * किमका श्रीमान्‌ स्टीभ भन्छन्‌: “अप्रेशन गरेर ट्यूमर निकालेपछि किमलाई रेडियोथेरापी र केमोथेरापी गरियो। यसको असरको कारण उनी एकदमै कमजोर भइन्‌। उनी चलहल गर्न नसक्ने भइन्‌।

बिस्तारै कमजोर बनाउँदै लैजाने उक्‍त रोगले चापेको आफ्नी प्यारी श्रीमतीलाई हेर्दा स्टीभलाई कस्तो दुःख लाग्यो होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? सायद तपाईंको परिवारमा पनि बिस्तारै गाह्रो पार्दै लैजाने रोग लागेका वा बुढेसकालका असरहरूले गाँजेका सदस्य हुन सक्छन्‌। (उप. १२:१-७) त्यसो हो भने तपाईंलाई थाह छ, आफ्नो प्यारो व्यक्‍तिको राम्ररी हेरचाह गर्न तपाईं आफैले पहिला आफ्नो हेरचाह नगरी हुँदैन। यदि तपाईं आध्यात्मिक तवरमा कमजोर हुनुभयो भने तपाईंको भावनात्मक र शारीरिक स्वास्थ्य पनि खस्किन्छ। त्यसपछि सायद तपाईं आफ्नो परिवारलाई आवश्‍यक सहयोग गर्न असमर्थ हुनुहुनेछ। बिरामी परेका वा बुढेसकालमा पुगेका आफ्ना नातेदारहरूको हेरचाह गर्दा तपाईं आफ्नो आध्यात्मिक अवस्था कसरी सन्तुलनमा राख्न सक्नुहुन्छ? के ख्रीष्टियान मण्डलीका सदस्यहरूले त्यस्ता बिरामी व्यक्‍तिहरूप्रति चासो देखाउन केही गर्न सक्छन्‌?

सन्तुलन कायम राख्ने—कसरी?

बिरामी नातेदारलाई हेरचाह गर्नुपर्दा आफ्नो आध्यात्मिक सन्तुलन र शारीरिक स्वास्थ्य कायम राख्न तपाईंले परिस्थितिअनुसार आफूलाई छाँटकाँट गर्नुपर्छ अनि समय छुट्याउनुपर्छ र शक्‍तिलाई ठीकसित प्रयोग गर्नुपर्छ। हितोपदेश ११:२ बताउँछ: “चातुर्य [“नम्रता,” NRV]-मा बुद्धि हुन्छ।” यस प्रसंगमा “नम्रता”-को अर्थ आफ्नो सीमितताप्रति सजग हुनु हो। आफूले गर्न सक्नेभन्दा बाहिर नजानको लागि पक्का गर्न तपाईंले आफ्नो तालिका र जिम्मेवारीहरू जाँच्नुपर्ने हुन सक्छ।

स्टीभले आफ्नो कामको भारलाई पुनः केलाएर बुद्धि र नम्रता देखाए। उनी जागिरे थिए। साथै आयरल्याण्डका यहोवाका साक्षीहरूको मण्डलीमा प्राचीनहरूको निकायको संयोजक र सेवा निरीक्षकको रूपमा सेवा गर्थे। उनी अस्पताल सम्पर्क समितिको सदस्य पनि थिए। स्टीभ बताउँछन्‌: “यी जिम्मेवारीहरूलाई एकदमै ध्यान दिएर किमलाई वास्तै गरिनँ भनेर तिनले कहिल्यै गुनासो गरिनन्‌। तर आफूले सक्नेभन्दा बढी गर्न खोजिरहेको छु भनेर मलाई थाह थियो।” त्यस परिस्थितिलाई स्टीभले कसरी सँभाले? उनी भन्छन्‌: “प्रार्थनापूर्वक विचार गरेपछि संयोजकको रूपमा सेवा नगर्ने निर्णय गरें। प्राचीनको रूपमा चाहिं सेवा गरिरहें। तर मण्डलीको कतिपय जिम्मेवारी अरूलाई सुम्पेर किमलाई समय र ध्यान दिन सकें।”

समयको दौडान किमको स्वास्थ्य सुध्रियो। ती दम्पतीले आफ्नो परिस्थिति पुनः जाँचे र पत्नीको सहयोगले स्टीभले फेरि मण्डलीमा पहिलेका जिम्मेवारीहरू सँभाल्न सके। स्टीभ बताउँछन्‌: “बिरामीको कारण उत्पन्‍न परिस्थितिको सीमित घेराभित्र काम गर्न हामी दुवैले सिक्यौं। मदत दिनुभएकोमा यहोवाप्रति अनि बिरामी भए पनि गुनासो नगरी सहयोग गरेकोमा श्रीमतीप्रति म एकदमै कृतज्ञ छु।”

क्षेत्रीय निरीक्षक जेरी र उनकी श्रीमती मारियाको अनुभव पनि विचार गर्नुहोस्‌। वृद्ध आमाबाबुको हेरचाह गर्न तिनीहरूले आफ्नो लक्ष्यमा छाँटकाँट गर्नुपऱ्‍यो। मारिया भन्छिन्‌: “विदेशी भूमिमा गएर मिसनरी सेवा गर्ने हाम्रो लक्ष्य थियो। तर जेरीका आमाबाबुलाई हेरचाहको जरुरत परेको थियो। जेरी एक मात्र सन्तान भएकोले आमाबाबुको हेरचाह उहाँले नै गर्नु पर्थ्यो। त्यसैले उहाँहरूको हेरचाह गर्न हामीले आयरल्याण्डमा नै बस्ने निर्णय गऱ्‍यौं। यसरी जेरीका पिता अस्पतालमा हुँदा मृत्यु नहोउन्जेल हामीले निरन्तर उहाँको हेरचाह गर्न सक्यौं। अहिले जेरीकी आमासित हरेक दिन सम्पर्क गर्छौं र उहाँलाई कुनै मदत चाहिनेबित्तिकै हामी घर पुगिहाल्छौं। जेरीकी आमा संगत गर्ने मण्डलीले ठूलो सहयोग गरिरहेको कारण हामीले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरिरहन सकेका छौं।”

अरूले कसरी मदत गर्न सक्छन्‌?

मण्डलीमा वृद्ध विधवाहरूका लागि कस्तो भौतिक प्रबन्ध गर्नुपर्छ भन्‍ने सिलसिलामा प्रेरित पावलले यस्तो लेखे: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्‍वासलाई इन्कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” यदि तिनीहरूको उपासना “परमेश्‍वरको दृष्टिमा ग्रहणयोग्य” बनाउने हो भने, तिनीहरूले आफ्ना वृद्ध आमाबाबु तथा बाजेबज्यैलाई आर्थिक तवरमा हेरचाह गर्नैपर्छ भनेर पावलले सँगी ख्रीष्टियानहरूलाई सम्झाए। (१ तिमो. ५:४, ८) तर मण्डलीका अरूले पनि व्यावहारिक मदत दिन सक्छन्‌ र दिनु पनि पर्छ।

स्वीडेनमा बस्ने वृद्ध दम्पती होकन र इङ्‌गरलाई याद गर्नुहोस्‌। होकन भन्छन्‌: “मेरी श्रीमतीलाई क्यान्सर भएको पत्ता लाग्दा हामी छाँगाबाट खसेजस्तै भयौं। इङ्‌गर बिरामी जस्तो देखिंदैन थिइन्‌, हेर्दा जहिले पनि स्वस्थ र बलियो। तर अहिले उपचारको लागि दिनहुँ अस्पताल धाउनुपर्ने भयो अनि औषधीको असरले शरीर पनि बिस्तारै कमजोर पार्दै लग्यो। त्यस अवधिभरि इङ्‌गर घरैमा बसिन्‌ र म तिनको हेरचाह गर्न तिनीसितै बस्नुपऱ्‍यो।” त्यहाँको मण्डलीले तिनीहरूलाई कसरी मदत गऱ्‍यो?

प्राचीनहरूले तिनीहरूका लागि टेलिफोनमार्फत ख्रीष्टियान सभाहरू सुन्‍ने प्रबन्ध मिलाइदिए। त्यसबाहेक भाइबहिनीहरूले भेट्‌न गएर र फोन गरेर तिनीहरूसित सम्पर्क राखिराखे। भाइबहिनीले तिनीहरूलाई पत्र र कार्डहरू पनि पठाए। होकन भन्छन्‌: “सम्पूर्ण भाइबहिनी र यहोवाबाट मदत पाएको महसुस गऱ्‍यौं। हामी आध्यात्मिक तवरमा बलियो रहन त्यस्तो हेरचाह अत्यावश्‍यक थियो। खुसीको कुरा, इङ्‌गर स्वस्थ भइन्‌ र फेरि हामी राज्यभवनमा सभाहरू धाउन सक्ने भयौं।” आफ्नो मण्डलीका बिरामी र वृद्ध भाइबहिनीहरूलाई आफूले गर्न सक्ने मदत गरेर मण्डलीका सदस्यहरूले आफूलाई ‘सब समय एक प्रेमी साथी र दु:खमा सहभागी हुने दाजुभाइ’ साबित गरिरहेका हुन्छन्‌।—हितो. १७:१७.

यहोवा तपाईंको प्रयासको मोल गर्नुहुन्छ

बिरामी नातेदारको हेरचाह गर्नु थकाइलाग्दो त भइहाल्छ। तैपनि राजा दाऊदले लेखे: “त्यो धन्यको हो, जसले निर्धाहरूको चिन्ता गर्दछ” अर्थात्‌ बिरामीको कारण मदतको आवश्‍यकता परेका व्यक्‍तिहरूको चिन्ता।—भज. ४१:१.

बिरामी वा दुःखकष्टमा परेकाहरूको हेरचाह गर्नेहरू किन धन्य अर्थात्‌ आनन्दित हुन सक्छन्‌? हितोपदेश १९:१७ बताउँछ: “उदारचित्तले गरीबलाई [“निर्धालाई,” NW] जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ।” बिरामी परेका आफ्ना वफादार सेवकहरूमा साँचो परमेश्‍वर विशेष चासो राख्नुहुन्छ र ती बिरामी सेवकहरूको ख्याल गर्नेहरूलाई आशिष्‌ दिनुहुन्छ। भजनरचयिता दाऊदले गाए: “परमप्रभुले त्यसलाई [त्यसरी हेरचाह गर्नेहरूलाई] त्यसको बिरामी अवस्थामा पलङ्‌गैमा सम्हाल्नुहुन्छ। त्यसलाई रोग लाग्दा तपाईंले त्यसको ओछ्यान बनाइदिनुहुन्छ।” (भज. ४१:३) अरूको मायालु हेरचाह गर्नेहरूले कठिनाइ वा दु:खकष्ट भोग्नुपरेमा यहोवाले तिनीहरूलाई मदत गर्नुहुन्छ भनेर हामी पक्का हुन सक्छौं।

बिरामी नातेदारको हेरचाह गर्न हामी जे गर्छौं, त्यो यहोवा परमेश्‍वर याद गर्नुहुन्छ र स्वीकार्नुहुन्छ भनेर थाह पाउनु कत्ति खुसीको कुरा! यस्तो सहयोग गर्न प्रयास चाहिने भए तापनि धर्मशास्त्रले हामीलाई आश्‍वसन दिन्छ: “यस्तै बलिदानहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ।”—हिब्रू १३:१६. ( w10-E 05/15)

[फुटनोट]

^ नामहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २२-मा भएका चित्रहरू]

आध्यात्मिक सन्तुलन कायम राख्नुहोस्‌ र अरूको मदत स्वीकार्नुहोस्‌