सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाइहरू हो—आत्माको लागि रोप्नुहोस्‌ र अघि बढ्‌नुहोस्‌

भाइहरू हो—आत्माको लागि रोप्नुहोस्‌ र अघि बढ्‌नुहोस्‌

भाइहरू हो—आत्माको लागि रोप्नुहोस्‌ र अघि बढ्‌नुहोस्‌

“जसले आत्माको लागि रोप्तछ, आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ।”—गला. ६:८.

१, २. मत्ती ९:३७, ३८ मा लेखिएको कुरा कसरी पूरा भइरहेको छ र यसले गर्दा मण्डलीमा कस्तो खाँचो परेको छ?

 अनन्तसम्म सम्झना हुने ऐतिहासिक प्रचारकार्यमा तपाईं अहिले भाग लिइरहनुभएको छ। येशूले भनेको यो कार्य धमाधम भइरहेको छ। येशूले भन्‍नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३७, ३८) यहोवा परमेश्‍वरले यस्ता प्रार्थनाहरूको जवाफ असाधारण तरिकामा दिइरहनुभएको छ। सेवा वर्ष २००९ मा संसारभर यहोवाका साक्षीहरूको मण्डलीहरूको संख्या २ हजार ३१ ले बढेर १ लाख ५ हजार २९८ पुग्यो। हरेक दिन औसतमा ७५७ जनाले बप्तिस्मा लिए।

त्यस्तो वृद्धिले गर्दा मण्डलीमा सिकाउने काममा नेतृत्व लिन र गोठालो गर्न सक्ने योग्य भाइहरूको खाँचो परेको छ। (एफि. ४:११) आफ्ना भेडाहरूको हेरचाह गर्न यहोवाले दशकौंअघिदेखि योग्य पुरुषहरू खडा गर्नुभएको छ। उहाँले यस्तो काम गरिरहनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क छौं। मीका ५:५ मा रेकर्ड गरिएको भविष्यवाणीले अन्तिम दिनको दौडान यहोवाका जनहरूसँग “सात गोठाला र आठ मुखियाहरू” हुनेछन्‌ भनेर हामीलाई आश्‍वस्त पार्छ। भनाइको अर्थ, यहोवाका जनहरूमाझ नेतृत्व लिने योग्य पुरुषहरू प्रशस्त हुनेछन्‌।

३. ‘आत्माको लागि रोप्नु’ भनेको के हो, बताउनुहोस्‌।

तपाईं बप्तिस्माप्राप्त भाइ हुनुहुन्छ भने मण्डलीमा जिम्मेवारीहरू पाउनको लागि अघि बढ्‌न तपाईंलाई केले मदत गर्न सक्छ? मुख्य कुरा तपाईंले ‘आत्माको लागि रोप्नुपर्छ।’ (गला. ६:८) यसो गर्नु भनेको पवित्र आत्माले विनारोकटोक तपाईंको जीवनमा प्रभाव पार्न सक्नेगरि जीवन बिताउनु हो। ‘शरीरको लागि नरोप्न’ दृढ हुनुहोस्‌। परमेश्‍वरको सेवामा अझै अघि बढ्‌ने तपाईंको इच्छालाई सुखसयल, बसिबियाँलो र मनोरञ्जनले धमिल्याउन नपाओस्‌। सबै ख्रीष्टियानले ‘आत्माको लागि रोप्नुपर्छ।’ त्यसो गर्दा समयमा तिनीहरू मण्डलीमा सेवा गर्ने जिम्मेवारी पाउन योग्यका हुन सक्छन्‌। अहिले सेवकाई सेवक र प्राचीनहरूको तड्‌कारो आवश्‍यकता भएकोले यो लेख विशेषगरि ख्रीष्टियान भाइहरूलाई ध्यानमा राखेर तयार पारिएको हो। त्यसकारण भाइहरू हो—यो लेखलाई प्रार्थनापूर्वक विचार गर्नुहोस्‌ भनेर तपाईंहरूलाई आग्रह गर्छौं।

असल कामको लागि अघि बढ्‌नुहोस्‌

४, ५. (क) बप्तिस्मा प्राप्त भाइहरूलाई मण्डलीमा कस्ता जिम्मेवारीको लागि अघि बढ्‌न आग्रह गरिएको छ? (ख) जिम्मेवारी सँभाल्न कसरी अघि बढ्‌न सकिन्छ?

कुनै ख्रीष्टियान भाइ केही प्रयासै नगरी स्वतः निरीक्षक भइहाल्ने होइनन्‌। उनी ‘असल कामको’ लागि अघि बढ्‌नैपर्छ। (१ तिमो. ३:१) यसमा निष्कपट भई सँगी विश्‍वासीहरूको हेरचाह गर्नु समावेश छ। ( यशैया ३२:१, २ पढ्‌नुहोस्‌) कुनै भाइ सही मनसायले जिम्मेवारी सँभाल्न अघि बढ्‌छन्‌ भने उनी महत्त्वाकाङ्‌क्षी होइनन्‌। बरु, अरूको हितको लागि निःस्वार्थ भावले भरिएका हुन्‌।

बाइबलमा दिइएका योग्यताहरू पूरा गर्ने अथक प्रयास गरेर कुनै भाइ सेवकाई सेवक हुन र निरीक्षक हुन अघि बढ्‌छन्‌। (१ तिमो. ३:१-१०, १२, १३; ती. १:५-९) तपाईं बप्तिस्माप्राप्त भाइ हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘के म प्रचारकार्यमा पूरापूर भाग लिइरहेको छु? के म अरूलाई पनि त्यसै गर्न मदत दिइरहेको छु? सँगी उपासकहरूको हितमा साँचो चासो राख्दै उनीहरूलाई उत्साहित पार्दैछु? परमेश्‍वरको वचनको असल विद्यार्थी भनेर के मेरो नाम चलेको छ? के मैले दिने टिप्पणीको गुणस्तर बढ्‌दैछ? प्राचीनहरूले सुम्पेका जिम्मेवारीहरू के म मेहनत गरेर पूरा गर्दैछु? (२ तिमो. ४:५) यस्ता प्रश्‍नहरूलाई गम्भीरतासाथ विचार गर्नुपर्छ।

६. मण्डलीमा जिम्मेवारीहरू सँभाल्न योग्य हुन चाहिने मुख्य कुरा के हो?

मण्डलीको जिम्मेवारी पाउन योग्य हुने अर्को तरिका परमेश्‍वरको “आत्माद्वारा” “भित्री मनुष्यत्वमा” बलियो भएर हो। (एफि. ३:१६) मण्डलीमा प्राचीन वा सेवकाई सेवक हुनु भनेको कुनै ओहदा पाउनु होइन। यो जिम्मेवारी आध्यात्मिक तवरमा उन्‍नति गरेर मात्र पाइन्छ। आध्यात्मिक रूपमा कसरी उन्‍नति गर्न सकिन्छ? एउटा तरिका तपाईं ‘आत्माको भरमा हिंड्‌नुपर्छ’ र यसको फलका विभिन्‍न पक्ष खेती गर्नुपर्छ। (गला. ५:१६, २२, २३) थप जिम्मेवारी सँभाल्न चाहिने आध्यात्मिक गुणहरूको प्रमाण देखाउँदा र उन्‍नति गर्न पाएका सुझावहरू लागू गर्दा तपाईंको “प्रगति सबैमा प्रकट” हुनेछ।—१ तिमो. ४:१५.

आत्म-त्यागको भाव चाहिन्छ

७. अरूको सेवा गर्नुमा के समावेश छ?

अरूको सेवा गर्न कडा परिश्रम गर्नुपर्छ र आत्म-त्यागको मनोभाव देखाउनुपर्छ। ख्रीष्टियान निरीक्षकहरू आध्यात्मिक गोठाला भएकोले बगालका समस्यामा तिनीहरू गहिरो चिन्ता गर्छन्‌। गोठालो गर्ने जिम्मेवारीले पावललाई कस्तो असर गऱ्‍यो विचार गर्नुहोस्‌। कोरिन्थका सँगी विश्‍वासीहरूलाई तिनले भने: “तिमीहरूलाई होइन, तर तिमीहरूसित प्रशस्त मात्रामा भएको मेरो प्रेम तिमीहरूले जान भनेर धेरै सङ्‌कष्ट र हृदयको वेदनाले, र धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथें।” (२ कोरि. २:४) पावलले गोठालो काममा दिलोज्यान लगाएका थिए भनेर स्पष्ट छ।

८, ९. अरूको हितलाई पुरुषहरूले ध्यान दिएको केही उदाहरण बाइबलबाट दिनुहोस्‌।

आत्म-त्यागको मनोभाव यहोवाका सेवकहरूको पक्षमा कडा मेहनत गर्ने पुरुषहरूको चिनारी नै भएको छ। जस्तै:- नूहले परिवारका अरूलाई यसो भनेको हामी कल्पना गर्न सक्दैनौं, ‘तिमीहरूले जहाज बनाइसकेपछि बोलाउनू, म आउँछु।’ मिस्रमा मोशाले इस्राएलीहरूलाई यसो भनेनन्‌, ‘तिमीहरूलाई लाल समुद्रमा भेटौंला, राम्ररी जानू।’ यहोशूले पनि यसो भनेनन्‌, ‘यरीहोको पर्खाल ढलेपछि मलाई खबर गर्नू।’ अनि यशैयाले अरूलाई देखाउँदै यसो भनेनन्‌, ‘ऊ, त्यो त्यहाँ छ, त्यसलाई पठाउनुहोस्‌ न!’—यशै. ६:८.

परमेश्‍वरको आत्माले आफूलाई उत्प्रेरित गराउने सम्बन्धमा येशू ख्रीष्ट हाम्रो लागि उत्कृष्ट उदाहरण हुनुहुन्छ। मानिसजातिको मुक्‍तिदाता हुने जिम्मेवारी येशूले खुसीसाथ स्वीकार्नुभयो। (यूह. ३:१६) येशूले देखाएको आत्म-त्यागी प्रेमले हामीलाई पनि आत्म-त्यागी हुन उत्प्रेरित गर्नु पर्दैन र? बगालप्रतिको आफ्नो भावना व्यक्‍त गर्दै एक जना पुराना प्राचीनले भने: “येशूले मेरा भेडाहरूको हेरचाह गर भनेर पत्रुसलाई भनेका शब्दले ममा गहिरो प्रभाव परेको छ। वर्षौंको दौडान मैले सिकेको कुरा के हो भने, मायाका दुई-चार शब्द बोलिदिंदा र दयाका केही काम गरिदिंदा अरू प्रोत्साहित हुँदारहेछन्‌। मण्डलीमा गोठालोको काम गरेर मैले एकदमै आनन्द उठाएको छु।”—यूह. २१:१६.

१०. अरूको सेवा गर्ने सम्बन्धमा ख्रीष्टियान पुरुषलाई येशूको उदाहरण अनुकरण गर्न केले उत्प्रेरित गर्छ?

१० परमेश्‍वरको बगालको सम्बन्धमा मण्डलीका समर्पित पुरुषहरू पक्कै पनि येशूको जस्तो मनोवृत्ति देखाउन चाहन्छन्‌। उहाँले भन्‍नुभयो: “म तिमीहरूलाई विश्राम दिनेछु।” (मत्ती ११:२८) परमेश्‍वरमाथिको विश्‍वास र मण्डलीप्रतिको प्रेमले ख्रीष्टियान पुरुषहरूलाई यो असल कामको निम्ति अघि बढ्‌न उत्प्रेरित गर्छ। त्यही विश्‍वास र प्रेमले गर्दा उनीहरू यो असल काम गर्न ठूलो त्याग गरेको छु वा यो काम अत्यन्तै गाह्रो छ भन्‍ने सोचाइ राख्दैनन्‌। तर कसैमा अघि बढ्‌ने झुकाव नै छैन भने नि? के कुनै भाइले मण्डलीको सेवा गर्ने आफ्नो चाहना जगाउन सक्छन्‌?

सेवा गर्ने चाहना जगाउनुहोस्‌

११. अरूको सेवा गर्ने भावना कसरी जगाउन सकिन्छ?

११ ‘सक्दिनँ’ भन्‍ने भावनाले तपाईंलाई अघि बढ्‌नदेखि रोकिरहेको छ भने पवित्र आत्माको लागि प्रार्थना गर्नु उचित हुन्छ। (लूका ११:१३) यस सम्बन्धमा तपाईंलाई लागेको जस्तोसुकै चिन्ता हटाउन यहोवाको आत्माले मदत गर्नेछ। सेवा गर्ने इच्छा यहोवाले दिनुभएको हो। त्यसैले कुनै भाइलाई अघि बढ्‌न उत्प्रेरित गर्ने र पवित्र सेवा पूरा गर्न बल दिने यहोवाको आत्मा नै हो। (फिलि. २:१३; ४:१३) त्यसकारण मण्डलीमा सेवा गर्ने जिम्मेवारी स्वीकार्ने चाहना बढाइदिनुहोस्‌ भनेर यहोवासित मदत माग्नु उपयुक्‍त छ।भजन २५:४, ५ पढ्‌नुहोस्‌।

१२. आफूलाई सुम्पिएको जिम्मेवारी सँभाल्न चाहिने बुद्धि कुनै भाइले कसरी प्राप्त गर्न सक्छन्‌?

१२ कुनै ख्रीष्टियान भाइलाई बगालको आवश्‍यकता पूरा गर्न गाह्रो र धेरै समय दिनुपर्ने जस्तो लागेकोले तिनी अघि नबढ्‌ने निर्णय गर्न सक्छन्‌। अथवा तिनलाई जिम्मेवारीहरू सँभाल्न चाहिने बुद्धि आफूसित कम भएको महसुस हुन सक्छ। त्यसो हो भने तिनले परमेश्‍वरको वचन बाइबल र बाइबलआधारित प्रकाशनहरू अझै लगनशील भई पढेर बुद्धि प्राप्त गर्न सक्छन्‌। तिनले आफूलाई यस्ता प्रश्‍न सोध्नु बेस हुन्छ: ‘के मैले परमेश्‍वरको वचन अध्ययन गर्न समय छुट्याएको छु? अनि बुद्धिको लागि के म प्रार्थना गर्दैछु?’ चेला याकूबले लेखे: “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्‍वरसित त्यसले मागोस्‌, र त्यसलाई सो दिइनेछ।” (याकू. १:५) के तपाईं परमेश्‍वरबाट प्रेरणा पाएर लेखिएको यो वचनमा विश्‍वास गर्नुहुन्छ? सुलेमानको प्रार्थनाको जवाफ दिंदै परमेश्‍वरले उनलाई “बुद्धि र समझ भएको मन” दिनुभयो। यसले उनलाई इन्साफ गर्दा सही र गलत छुट्याउन सक्ने तुल्यायो। (१ राजा ३:७-१४) हो, सुलेमानसम्बन्धी त्यो घटना विशेष थियो। तर भेडाको उचित रेखदेख गर्न सकून्‌ भनेर परमेश्‍वरले मण्डलीको जिम्मेवारी सुम्पिएका पुरुषहरूलाई पनि बुद्धि दिनुहुन्छ भन्‍ने कुरामा हामी निर्धक्क हुन सक्छौं।—हितो. २:६.

१३, १४. (क) पावललाई “ख्रीष्टको प्रेमले” कस्तो प्रभाव पाऱ्‍यो, बताउनुहोस्‌। (ख) “ख्रीष्टको प्रेमले” हामीलाई पनि कस्तो प्रभाव पार्नुपर्छ?

१३ अरूको सेवा गर्ने चाहना जगाउने अर्को तरिका हो—यहोवा र उहाँको पुत्रले हाम्रो लागि गरेका सबै कुरालाई गहिरिएर सोच्नु। उदाहरणको लागि २ कोरिन्थी ५:१४, १५पढ्‌नुहोस्‌) विचार गर्नुहोस्‌। “ख्रीष्टको प्रेमले” हामीलाई कसरी “करमा पार्दछ?” परमेश्‍वरको इच्छाअनुसार हाम्रो लागि जीवन दिएर ख्रीष्टले देखाएको प्रेम यत्ति उल्लेखनीय छ कि त्यसलाई राम्ररी बुझ्यौं र त्यसप्रति कृतज्ञता बढायौं भने हामी भित्रैदेखि उत्प्रेरित हुन्छौं। ख्रीष्टको प्रेमले पावललाई प्रभाव पारेको थियो। यसले तिनलाई स्वार्थी काम गर्नदेखि रोक्यो र परमेश्‍वरको सेवा अनि मण्डलीभित्र साथै बाहिरका सँगी मानवहरूको सेवालाई नै आफ्नो मुख्य उद्देश्‍य बनाउन तिनलाई मदत गऱ्‍यो।

१४ मानिसहरूप्रति ख्रीष्टको प्रेमबारे मनन गर्दा हामी भित्रैदेखि कृतज्ञ हुन्छौं। परिणामस्वरूप, स्वार्थी इच्छाहरूको पछि लागेर अनि पहिला आफ्नै इच्छाहरू पूरा गर्ने खालको जीवन बिताएर हामीले ‘शरीरको लागि रोप्नु’ पटक्कै मिल्दैन भनेर हामी महसुस गर्छौं। बरु, परमेश्‍वरले हामीलाई सुम्पेको कामलाई प्राथमिकता दिन हामी जीवनमा छाँटकाँट गर्छौं। प्रेमको कारण हामी हाम्रा भाइहरूको “दास” हुन उत्प्रेरित भएका छौं। ( गलाती ५:१३ पढ्‌नुहोस्‌) यदि आफूलाई यहोवाका समर्पित सेवकहरूको पक्षमा नम्र भई काम गर्ने दास ठान्छौं भने हामी भाइबहिनीहरूसित सम्मान र आदरसाथ व्यवहार गर्नेछौं। हामी अरूको दोष खोज्ने र अरूलाई तौलनेजस्ता शैतानले फैलाएको मनोवृत्ति कदापि नक्कल गर्दैनौं।—प्रका. १२:१०.

परिवारको प्रयास

१५, १६. कुनै भाइ सेवकाई सेवक वा प्राचीनको लागि योग्य हुन परिवारका सदस्यहरूले कस्तो भूमिका खेल्छन्‌?

१५ यदि कुनै भाइ विवाहित हुन्‌ र उनका छोराछोरी पनि छन्‌ भने उनी प्राचीन वा सेवकाई सेवक हुन योग्यका छन्‌ कि छैनन्‌ भनेर निर्णय गर्दा परिवारको अवस्था कस्तो छ, त्यो विचार गरिन्छ। वास्तवमा उनको परिवारको आध्यात्मिकता र नामले उनको नियुक्‍तिमा सीधै असर पार्छ। पति वा पिताले प्राचीन वा सेवकाई सेवकको रूपमा मण्डलीको सेवा गर्न खोज्दा परिवारले उनलाई सहयोग गर्नु महत्त्वपूर्ण छ भनेर यस कुराले जोड दिन्छ।—१ तिमोथी ३:४, ५, १२ पढ्‌नुहोस्‌।

१६ ख्रीष्टियान परिवारका सदस्यहरूले एक-अर्कालाई सहयोग गर्दा यहोवा खुसी हुनुहुन्छ। (एफि. ३:१४, १५) परिवारको शिरलाई मण्डलीका जिम्मेवारी पूरा गर्न र “आफ्नो घर राम्ररी चलाउन” सन्तुलन चाहिन्छ। त्यसैले प्राचीन र सेवकाई सेवकले आफ्नी श्रीमती र छोराछोरीसँग हरेक हप्ता पारिवारिक उपासनामा बाइबल पढ्‌ने गर्नुपर्छ। त्यसो गर्दा पारिवारिक उपासनाबाट सबैले लाभ उठाउन सक्छन्‌। नियमित रूपमा तिनी परिवारका सदस्यसँग प्रचारमा जानुपर्छ। त्यसैगरि परिवारका सदस्यहरूले पनि आफ्नो परिवारको शिरले गरेको प्रयासलाई सहयोग गर्नु महत्त्वपूर्ण छ।

फेरि सेवा गर्न चाहनुहुन्छ?

१७, १८. (क) कुनै भाइ प्राचीन वा सेवकाई सेवकको रूपमा सेवा गर्न अयोग्य भएमा तिनले के गर्नुपर्छ? (ख) पहिला प्राचीन वा सेवकाई सेवकको रूपमा सेवा गरेका भाइले कस्तो मनोवृत्ति देखाउनुपर्छ?

१७ सायद तपाईं पहिला प्राचीन वा सेवकाई सेवकको रूपमा सेवा गर्नुहुन्थ्यो तर अहिले त्यो अवसर गुमाउनुभएको होला। तपाईं यहोवालाई प्रेम गर्नुहुन्छ र यहोवा पनि तपाईंलाई अझै माया गर्नुहुन्छ भन्‍ने कुरामा तपाईं पक्का हुन सक्नुहुन्छ। (१ पत्रु. ५:६, ७) के तपाईंलाई कुनै छाँटकाँट गर्न सल्लाह दिइएको छ? गल्ती स्वीकार गर्न इच्छुक हुनुहोस्‌ अनि परमेश्‍वरसँग मदत मागेर त्यो सुधार्नुहोस्‌। तीतो भावना नराख्नुहोस्‌। बुद्धिमानी हुनुहोस्‌ र सकारात्मक मनोभाव देखाउनुहोस्‌। वर्षौंसम्म प्राचीनको रूपमा सेवा गरेर पछि सुअवसर गुमाएका एक जना प्राचीन भन्छन्‌: “पहिला प्राचीनको रूपमा सेवा गर्दाखेरि जस्तै सभामा जाने, प्रचारमा जाने, बाइबल अध्ययन गर्ने जस्ता कुराहरूलाई कायम राख्न म दृढ थिएँ। फेरि प्राचीन बन्‍नु मैले प्राप्त गर्न सक्ने लक्ष्य थियो। एक-दुई वर्षमै फेरि जिम्मेवारी पाइ हाल्छु नि भनेर मलाई लागेको थियो। तर प्राचीनको रूपमा सेवा गर्न झण्डै सात वर्ष लाग्यो। मैले धीरज धर्न सिकें। त्यस दौडान नथाकीकन अघि बढिरहनुपर्छ भनी पाएको प्रोत्साहनबाट मैले ठूलो मदत पाएँ।”

१८ यदि तपाईंको अवस्था पनि यस्तै छ भने निराश नहुनुहोस्‌। यहोवाले तपाईंको सेवाको काममा र परिवारमा कस्ता आशिष्‌ दिइरहनुभएको छ विचार गर्नुहोस्‌। आध्यात्मिक रूपमा परिवारलाई उकास्नुहोस्‌, बिरामीहरू भेट्‌न जानुहोस्‌, र कमजोरहरूलाई हौसला दिनुहोस्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवाको साक्षीको रूपमा उहाँको नामको प्रशंसा गर्न र राज्यको सुसमाचार सुनाउन तपाईंले पाएको सुअवरको कदर गर्नुहोस्‌। *भज. १४५:१, २; यशै. ४३:१०-१२.

दृष्टिकोण बदल्नुहोस्‌

१९, २०. (क) बप्तिस्माप्राप्त सबै भाइहरूलाई कस्तो आग्रह गरिएको छ? (ख) अर्को लेखमा के छलफल गरिनेछ?

१९ प्राचीनहरू र सेवकाई सेवकहरूको पहिलाभन्दा अहिले एकदमै आवश्‍यकता परेको छ। त्यसकारण बप्तिस्माप्राप्त सबै भाइहरूलाई हामी आग्रह गर्छौं कि एक पटक तपाईंको परिस्थितिलाई हेर्ने दृष्टिकोण बदल्नुहोस्‌। अनि आफैलाई सोध्नुहोस्‌, ‘यदि म प्राचीन वा सेवकाई सेवक होइन भने त्यस्तो सुअवसर नपाउनुको कारण मैले केलाउनु पर्दैन र?’ यस गम्भीर विषयमा सही दृष्टिकोण राख्न परमेश्‍वरको आत्माले तपाईंलाई मदत गरोस्‌!

२० आफ्ना सँगी विश्‍वासीहरूको आत्म-त्यागी प्रयासबाट मण्डलीका सबैले लाभ उठाउँछन्‌। जब हामी दयालु हुन्छौं, स्वार्थ नराखी काम गर्छौं तब अरूको सेवा गरेको कारण र आत्माको लागि रोपेको कारण हामीले आनन्द पाइरहेका हुन्छौं। तर हामीले परमेश्‍वरको पवित्र आत्मालाई सन्ताप दिनु हुँदैन भनेर अर्को लेखले बताउँछ। पवित्र आत्मालाई सन्ताप दिनदेखि कसरी टाढा रहन सक्छौं? ( w10-E 05/15)

[फुटनोट]

तपाईं कसरी जवाफ दिनुहुन्छ?

मीका ५:५ को भविष्यवाणीले हामीलाई कस्तो आश्‍वासन दिएको छ?

• आत्म-त्यागी मनोभावमा के समावेश छ?

• अरूको सेवा गर्ने चाहना कसरी जगाउन सकिन्छ?

• कुनै भाइ प्राचीन वा सेवकाई सेवकको रूपमा सेवा गर्न योग्य हुन परिवारले सहयोग गर्नु कत्तिको महत्त्वपूर्ण छ?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएका चित्रहरू]

अघि बढ्‌न तपाईं के गर्न सक्नुहुन्छ?