सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको पवित्र आत्मालाई सन्ताप नदिनुहोस्‌

यहोवाको पवित्र आत्मालाई सन्ताप नदिनुहोस्‌

यहोवाको पवित्र आत्मालाई सन्ताप नदिनुहोस्‌

‘परमेश्‍वरको पवित्र आत्मालाई सन्ताप नदेऊ, जसद्वारा उद्धारको दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ।’—एफि. ४:३०.

१. लाखौं मानिसहरूका लागि यहोवाले के गरिदिनुभएको छ र तिनीहरूमा कस्तो जिम्मेवारी छ?

 संकष्टले भरिएको यस संसारमा बाँचिरहेका लाखौं मानिसलाई यहोवाले विशेष प्रबन्ध गरिदिनुभएको छ। उहाँले तिनीहरूका लागि आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टमार्फत उहाँसामु आउन सम्भव तुल्याइदिनुभएको छ। (यूह. ६:४४) यदि तपाईंले परमेश्‍वरमा समर्पण गर्नुभएको छ र त्यस समर्पणअनुसार जीवन बिताइरहनुभएको छ भने तपाईं परमेश्‍वरको नजिक हुन पाउनेहरूमध्येको हुनुहुन्छ। परमेश्‍वरको पवित्र आत्माको नाममा बप्तिस्मा लिएको कारणले त्यस आत्माको डोऱ्‍याइअनुरूप जीवन बिताउनु तपाईंको जिम्मेवारी हो।—मत्ती २८:१९.

२. कस्ता प्रश्‍नहरू हामी छलफल गर्नेछौं?

हामी ‘आत्माको लागि रोप्नेहरूले’ नयाँ व्यक्‍तित्व धारण गरिरहेका छौं। (गला. ६:८; एफि. ४:१७-२४) तर परमेश्‍वरको पवित्र आत्मालाई सन्ताप नदेओ भनेर प्रेरित पावल हामीलाई सल्लाह अनि चेतावनी दिन्छन्‌। ( एफिसी ४:२५-३२ पढ्‌नुहोस्‌) प्रेरित पावलले दिएको सल्लाह अब हामी राम्ररी जाँच्नेछौं। परमेश्‍वरको आत्मालाई सन्ताप नदेऊ भनेर पावल के भन्‍न खोज्दै थिए? यहोवामा समर्पित व्यक्‍तिले कसरी उहाँको आत्मालाई सन्ताप दिन सक्छ? अनि यहोवाको आत्मालाई सन्ताप दिनदेखि हामी कसरी जोगिन सक्छौं?

पावलले भन्‍न खोजेको कुरा

३. एफिसी ४:३० का शब्दहरूको अर्थ बताउनुहोस्‌।

सबैभन्दा पहिला एफिसी ४:३० मा भएको पावलका शब्दहरूमा ध्यान दिनुहोस्‌। तिनले लेखे: ‘परमेश्‍वरको पवित्र आत्मालाई सन्ताप नदेऊ, जसद्वारा उद्धारको दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ।’ आफ्ना प्रिय सँगी विश्‍वासीहरूले परमेश्‍वरसामु कमाएको असल नाउँ र उहाँसँगको सम्बन्ध नगुमाऊन्‌ भनेर पावल चाहन्थे। यहोवाको पवित्र आत्माद्वारा नै तिनीहरूलाई ‘उद्धारको दिनको निम्ति छाप लगाइएको’ थियो। निष्ठावान्‌ अभिषिक्‍त जनहरूका लागि परमेश्‍वरको पवित्र आत्मा छाप अथवा आउँदै गरेको कुराको “बैना” थियो र अहिले पनि छँदैछ। (२ कोरि. १:२२) तिनीहरू परमेश्‍वरका सम्पत्ति हुन्‌ र तिनीहरूले स्वर्गमा जीवन पाउँछन्‌ भनेर त्यो छापले संकेत गर्छ। छाप लाग्नेहरूको जम्मा संख्या १,४४,००० हो।—प्रका. ७:२-४.

४. परमेश्‍वरको पवित्र आत्मालाई सन्ताप दिनदेखि जोगिनु किन महत्त्वपूर्ण छ?

पवित्र आत्मालाई सन्ताप दिनु ख्रीष्टियानको जीवनमा परमेश्‍वरको सक्रिय शक्‍तिको प्रभाव पूर्णतया हटाउने पहिलो कदम हुन सक्छ। अनि हाम्रो जीवनमा परमेश्‍वरको आत्माको प्रभाव हट्‌न सक्छ भन्‍ने कुरा दाऊदले बेतशेबासित पाप गरेपछि उनले भनेको कुराबाट प्रमाणित हुन्छ। दाऊदले पश्‍चात्ताप गर्दै यहोवालाई यस्तो बिन्ती गरे: “मलाई तपाईंको सामनेबाट ननिकाल्नुहोस्‌। र मबाट तपाईंको पवित्र आत्मा नलैजानुहोस्‌।” (भज. ५१:११) “मृत्युसम्मै विश्‍वासी” रहने अभिषिक्‍त जनहरूले मात्र स्वर्गमा अमर जीवनको “मुकुट” पाउनेछन्‌। (प्रका. २:१०; १ कोरि. १५:५३) परमेश्‍वरप्रति निष्ठावान्‌ रहन चाहन्छन्‌ र ख्रीष्टको फिरौतीको बलिदानप्रति देखाइने विश्‍वासको आधारमा परमेश्‍वरले दिने जीवनको इनाम पाउन चाहन्छन्‌ भने पृथ्वीमा जीवन बिताउने आशा भएकाहरूलाई पनि पवित्र आत्मा चाहिन्छ। (यूह. ३:३६; रोमी ५:८; ६:२३) त्यसैले हामी सबै यहोवाको आत्मालाई सन्ताप दिनदेखि जोगिनैपर्छ।

कुनै ख्रीष्टियानले कसरी पवित्र आत्मालाई सन्ताप दिन सक्छ?

५, ६. कुनै ख्रीष्टियानले यहोवाको आत्मालाई कसरी सन्ताप दिन सक्छ?

समर्पित ख्रीष्टियान भएकोले आत्मालाई सन्ताप दिनदेखि हामी जोगिन सक्छौं। यदि हामी ‘आत्माको भरमा हिंड्‌छौं’ र आत्माले जिउँछौं’ भने यो सम्भव छ। किनभने त्यसपछि गलत शारीरिक इच्छाले हामीलाई जित्नेछैन र परमेश्‍वरलाई मन नपर्ने आनीबानी हामी देखाउनेछैनौं। (गला. ५:१६, २५, २६) तर त्यसको विपरीत पनि हुन सक्छ। परमेश्‍वरको आत्माद्वारा प्रेरित वचनमा निषेध गरिएको आचरणतिर चालै नपाउनेगरि बिस्तारै आफूलाई धकेलेर परमेश्‍वरको आत्मालाई निकै सन्ताप दिइरहेका हुन सक्छौं।

यदि हामी परमेश्‍वको पवित्र आत्माको निर्देशन विपरीत गइरह्‍यौं भने पवित्र आत्मालाई र यसको स्रोत यहोवालाई सन्ताप दिइरहेका हुन्छौं। एफिसी ४:२५-३२ जाँच्दा हामीले आफ्नो चालढङ्‌ग कस्तो राख्नुपर्छ, त्यो थाह पाउनेछौं। यसले गर्दा परमेश्‍वरको आत्मालाई सन्ताप दिनदेखि जोगिन हामी मदत पाउन सक्छौं।

आत्मालाई सन्ताप दिनदेखि जोगिने तरिका

७, ८. हामीले सत्य बोल्नैपर्ने कारण बताउनुहोस्‌।

हामीले सत्य बोल्नैपर्छ। एफिसी ४:२५ मा पावलले लेखे: “यसकारण झूट त्यागेर हरेकले आफ्नो-आफ्नो छिमेकीसित सत्य बोल, किनकि हामी एक दोस्रोका अङ्‌ग हौं।” हामी “एक दोस्रोका अङ्‌ग” भएकोले कुटिल तरिकाले वा जानीबुझीकन हाम्रा सँगी उपासकहरूलाई गलत बाटोमा पटक्कै लग्नु हुँदैन। यसो गर्नु तिनीहरूसँग झूट बोल्नुसरह हो। यस्ता काममा जो लागिरहन्छ परमेश्‍वरसँग उसको सम्बन्ध टुङ्‌गिन्छ।हितोपदेश ३:३२ पढ्‌नुहोस्‌।

कपटी बोली र कामले मण्डलीको एकता बिगार्छ। त्यसकारण हामी सत्यवादी दानिएलजस्तै हुनुपर्छ, जसमा अरूले कुनै बेइमानी भेट्टाउन सकेनन्‌। (दानि. ६:४) पावलले स्वर्गीय आशा भएका ख्रीष्टियानहरूलाई दिएको सल्लाह हामीले मनमा राख्नुपर्छ। तिनले दिएको सल्लाहअनुसार “ख्रीष्टको शरीर” को प्रत्येक अङ्‌ग एक-अर्काको अधीनमा छन्‌ र येशूको साँचो अभिषिक्‍त अनुयायीको रूपमा तिनीहरू एकतामा रहनुपर्छ। (एफि. ४:११, १२) यदि हामी बगैंचारूपी सुन्दर पृथ्वीमा सधैं बाँच्ने आशा राख्छौं भने हामीले पनि सत्य बोल्नैपर्छ। यसो गर्दा विश्‍वव्यापी भाइचारामा एकता छाउन योगदान पुग्छ।

९. हामीले एफिसी ४:२६, २७ अनुसार गर्नु किन महत्त्वपूर्ण छ?

हामीले शैतानको विरोध गर्नैपर्छ ताकि त्यसले हामीलाई आध्यात्मिक रूपमा हानी पुऱ्‍याउने मौका नपाओस्‌। (याकू. ४:७) शैतानको विरोध गर्न पवित्र आत्माले हामीलाई मदत गर्छ। जस्तै:- थाम्नै नसक्नेगरि रिस उठ्‌दा पवित्र आत्माको मदत लिएर त्यस रिसलाई रोकेर हामी शैतानको विरोध गर्न सक्छौं। पावलले लेखे: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस। शैतानलाई मौका नदेओ।” (एफि. ४:२६, २७) हुन त कुनै बेला रिसाउनुपर्ने जायज कारण होला तैपनि तुरुन्तै मनमनै प्रार्थना गर्दा परमेश्‍वरको आत्मालाई सन्ताप पुग्ने काम गर्नुको साटो आत्मसंयम खेती गर्दै “ठण्डा मिजास” राख्न मदत पाउन सक्छौं। (हितो. १७:२७) त्यसैले चिढिएर बसी नरहौं र हामीलाई कुनै खराब काम गर्न लगाउन शैतानलाई मौका नदेऔं। (भज. ३७:८, ९) येशूको सल्लाहअनुरूप तुरुन्तै मतभेदहरू सुल्झाएर पनि शैतानको प्रतिरोध गर्न सक्छौं।—मत्ती ५:२३, २४; १८:१५-१७.

१०, ११. हामीले किन पटक्कै चोर्नु हुँदैन र बेइमान गर्नु हुँदैन?

१० चोरी गर्ने वा बेइमान हुने प्रलोभनको वशमा हामी पटक्कै पर्नु हुँदैन। चोरीको विषयमा पवलले लेखे: “चोर्नेले फेरि नचोरोस्‌, बरु त्यसले परिश्रम गरोस्‌ र जे असल छ, सो आफ्नै हातले काम गरेर दरकार पर्नेहरूलाई केही दिनलाई त्यससँग होस्‌।” (एफि. ४:२७ख, २८) यदि समर्पित ख्रीष्टियानले चोऱ्‍यो भने उसले वास्तवमा ‘परमेश्‍वरको नाउँमा कलङ्‌क लगाइरहेको हुन्छ,’ यसको निन्दा गरिरहेको हुन्छ। (हितो. ३०:७-९) गरिब भएकोले चोरेको भनेर कहाँ सुख पाइन्छ र? जसले परमेश्‍वर र छिमेकीलाई प्रेम गर्छ उसले चोरीलाई कुनै पनि हालतमा जायज ठानिन्दैन भनेर बुझ्छ।—मर्कू. १२:२८-३१.

११ हामीले गर्न नहुने कुरा मात्र पावलले बताएका छैनन्‌। हामीले के गर्नुपर्छ, त्यो पनि बताएका छन्‌। यदि हामी पवित्र आत्माअनुसार जिइरहेका र हिंडिरहेका छौं भने हामी कडा मेहनत गर्छौं जसले गर्दा हामी आफ्नो परिवारको देखभाल गर्न सक्छौं र “दरकार पर्नेहरूलाई केही दिनलाई” पनि हामीसँग केही हुनेछ। (१ तिमो. ५:८) गरिबहरूलाई मदत गर्न येशू र उहाँका चेलाहरूले रकम छुट्याएका थिए। तर धोखेबाज यहूदा इस्करयोती त्यसबाट केही पैसा झिकेर लैजान्थ्यो। (यूह. १२:४-६) निश्‍चय नै ऊ पवित्र आत्माबाट डोरिएको थिएन। हामी परमेश्‍वरका आत्माद्वारा डोरिएकाहरू पावलजस्तै “सबै कुरामा इमान्दारीसाथ” रहन्छौं। (हिब्रू १३:१८) यसरी हामी पवित्र आत्मालाई सन्ताप दिनदेखि जोगिरहेका हुन्छौं।

आत्मालाई सन्ताप दिनदेखि जोगिने अरू तरिका

१२, १३. (क) एफिसी ४:२९ मा भनेझैं हाम्रो बोली कस्तो हुनु हुँदैन? (ख) हाम्रो बोली कस्तो हुनुपर्छ?

१२ हामीले आफ्नो बोली नियन्त्रण गर्नैपर्छ। पावलले भने: “केही कुवाक्य [“सडेको वचन,” NW] तिमीहरूका मुखबाट ननिस्कोस्‌, तर परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरो हुन्छ भने मात्र, कि त्यसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।” (एफि. ४:२९) फेरि पनि हामीले के नगर्नु पर्ने हो, पावल त्यो मात्र बताउँदैनन्‌ तर हामीले के गर्नुपर्ने हो सो पनि बताउँछन्‌। पवित्र आत्माको प्रभावमा परेर हामी “सुधारको निम्ति केही असल कुरो” भन्‍न उत्प्रेरित हुन्छौं ताकि ‘सुन्‍नेहरूलाई त्यसबाट अनुग्रह मिलोस्‌।’ त्यसबाहेक हामी आफ्नो मुखबाट “कुवाक्य” अर्थात्‌ “सडेको वचन” निस्कन दिंदैनौं। “सडेको” भनी अनुवाद गरिएको हिब्रू शब्दलाई कुहिएको फलफूल, कुहिएको माछा, वा कुहिएको मासु बुझाउन प्रयोग गरिएको छ। जसरी हामीलाई कुहिएको खाना घीन लाग्छ, त्यसरी नै यहोवाले मन नपराउने खालको बोलीलाई पनि हामी घृणा गर्छौं।

१३ हाम्रो बोली शिष्ट, दयालु र “नूनले स्वादिलो पारेको जस्तै” हुनुपर्छ। (कल. ३:८-१०; ४:६) हाम्रो बोली यस्तो होस्‌, अरूले ‘यिनीहरू त फरक छन्‌’ भनेर छुट्याउन सकून्‌। त्यसैले “सुधारको निम्ति” जे असल छ त्यो बोलेर अरूलाई मदत गरौं। अनि हामी पनि भजनका लेखकले जस्तै महसुस गरौं, जसले यसरी गाए: “हे परमप्रभु, मेरो चटान र मेरो उद्धरक, मेरो मुखका वचनहरू र मेरो हृदयको ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्‌।”—भज. १९:१४.

१४. एफिसी ४:३०, ३१ अनुसार हामीले आफूबाट के-कस्ता कुरा हटाउनैपर्छ?

१४ हामीले तीतोपना, रिस, निन्दा र सबै किसिमका वैर-भाव हटाउनैपर्छ। परमेश्‍वरको आत्मालाई सन्ताप नदेओ भनेर चेतावनी दिएपछि पावलले लेखे: “सबै तीतोपना, क्रोध र रीस, होहल्ला, निन्दा, सारा वैरभावसमेत तिमीहरूबाट त्यागिओस्‌।” (एफि. ४:३०, ३१) अशिद्ध मानिस भएकोले हामी सबैले हाम्रो विचार र कामकुरोलाई नियन्त्रणमा राख्न कडा मेहनत गर्नुपर्छ। यदि हामीले “तीतोपना, क्रोध र रीस” मा लगाम कसेनौं भने परमेश्‍वरको पवित्र आत्मालाई सन्ताप दिइरहेका हुन्छौं। अनि हामीविरुद्ध गरिएका गल्तीको लागि इबी लिइराख्यौं, रोष प्रकट गरिरह्‍यौं र हामीविरुद्ध गल्ती गर्नेसित मिलाप गर्न मानेनौं भने पनि पवित्र आत्मालाई सन्ताप दिइरहेका हुन्छौं। यदि हामीले बाइबलको सल्लाह बेवास्ता गऱ्‍यौं भने पनि हामीमा पवित्र आत्माविरुद्ध पाप गर्ने बानी विकास हुन सक्छ र परिणाम दुःख लाग्दो हुन सक्छ।

१५. यदि कसैले हामीलाई खराबी गरेको छ भने हामीले के गर्नुपर्छ?

१५ हामी दयालु, कोमल र क्षमाशील हुनुपर्छ। पावलले लेखे: “जसरी परमेश्‍वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक-अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफि. ४:३२) यदि कसैले हामीलाई खराबी गरेर एकदमै मन दुखाएको छ भने पनि परमेश्‍वरले जस्तै हामी पनि क्षमा गरौं। (लूका ११:४) मानिलिनुहोस्‌ सँगी विश्‍वासीले हामीबारे केही नकारात्मक कुरा गरेको रहेछ। समस्या समाधान गर्न हामी उनीकहाँ जान्छौं। इमानदार भएर तिनले आफ्नो गल्तीप्रति दुःख व्यक्‍त गर्छन्‌ र माफी माग्छन्‌। हामी क्षमा दिन्छौं। तर त्यतिले मात्र पुग्दैन। लेवी १९:१८ यसो भन्छ: “आफ्ना आफन्तहरूसित इबी नराख, तर आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर। म परमप्रभु हुँ।”

सावधानीको खाँचो

१६. परमेश्‍वरको आत्मालाई सन्ताप नदिन हामीले के-कस्तो छाँटकाँट गर्नुपर्ने हुन सक्छ भन्‍ने कुरा देखाउने एउटा उदाहरण दिनुहोस्‌।

१६ एकान्तमा छँदा पनि परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने कुनै कामकुरा गर्ने प्रलोभनमा हामी पर्न सक्छौं। उदाहरणको लागि ख्रीष्टियानलाई नसुहाउने सङ्‌गीत कुनै भाइले सुनिरहेका हुन सक्छन्‌। “विश्‍वासी र बुद्धिमान्‌ दास”-द्वारा आएका प्रकाशनहरूमार्फत दिइएको बाइबल-सल्लाह पालन नगरेकोमा अन्तमा तिनलाई अन्तस्करणले घोच्छ। (मत्ती २४:४५) यसबारे तिनले प्रार्थना गर्न सक्छन्‌ र एफिसी ४:३० मा भएको पावलका शब्द याद गर्न सक्छन्‌। परमेश्‍वरको आत्मालाई सन्ताप दिने कुनै पनि कुरा नगर्न दृढ अठोट गर्दै ख्रीष्टियानलाई नसुहाउने सङ्‌गीत अबदेखि नसुन्‍ने संकल्प तिनी गर्छन्‌। ती भाइले देखाएको मनोवृत्तिमा यहोवाले आशिष्‌ दिनुहुनेछ। त्यसकारण परमेश्‍वरको आत्मालाई सन्ताप दिनदेखि जोगिरहौं।

१७. हामी सावधान हुँदैनौं र प्रार्थना गर्दैनौं भने के हुन सक्छ?

१७ हामी सावधान हुँदैनौं र प्रार्थना गर्दैनौं भने परमेश्‍वरको आत्मालाई सन्ताप दिने अशुद्ध वा गलत चालचलनको वशमा पर्न सक्छौं। आफ्नो इच्छा पूरा गर्न यहोवाले सधैं चलाउने शक्‍ति पवित्र आत्मा भएकोले जब हामी यसलाई सन्ताप दिन्छौं तब यहोवालाई नै सन्ताप दिइरहेका वा दुःखी बनाइरहेका हुन्छौं। यसो गर्न हामी पक्कै चाहँदैनौं। (एफि. ४:३०) प्रथम शताब्दीका फरिसीहरूले येशूले गरेको चमत्कारलाई शैतानमार्फत गरेको चमत्कार भनेर पाप गरे। ( मर्कूस ३:२२-३० पढ्‌नुहोस्‌) ख्रीष्टका ती शत्रुहरूले ‘पवित्र आत्माको निन्दा गरेर’ क्षमा नहुने पाप गरे। हामीबाट कहिल्यै त्यस्तो नहोस्‌!

१८. क्षमा नहुने पाप गरेका छैनौं भनेर हामी कसरी पक्का हुन सक्छौं?

१८ हामी क्षमा नहुने पापको नजिक पनि पर्न चाहँदैनौं। त्यसैले आत्मालाई सन्ताप नदिने विषयमा पावलले भनेको कुरा याद गर्नुपर्छ। तर हामीबाट गम्भीर पाप हुन गयो भने नि? हामीले पश्‍चात्ताप गरेका छौं र प्राचीनहरूबाट मदत पाएका छौं भने परमेश्‍वरले हामीलाई क्षमा दिनुभयो र पवित्र आत्माको विरुद्ध पाप गरेका छैनौं भन्‍ने निष्कर्षमा पुग्न सक्छौं। आत्मालाई कुनै हालतमा सन्ताप दिनदेखि हामी फेरि जोगिन परमेश्‍वरको मदत पाएर सफल हुन सक्छौं।

१९, २०. (क) हामी जोगिनुपर्ने केही कुरा के-के हुन्‌? (ख) हामीले के गर्न अठोट गर्नुपर्छ?

१९ पवित्र आत्माको प्रयोग गरेर नै परमेश्‍वर आफ्ना जनबीच प्रेम, आनन्द, र एकता वृद्धि गराउनुहुन्छ। (भज. १३३:१-३) त्यसकारण अरूको कुरा काटेर वा परमेश्‍वरको आत्माद्वारा नियुक्‍त गोठालाहरूप्रतिको आदरमा धक्का पुग्ने कुराकानी गरेर पवित्र आत्मालाई सन्ताप दिनदेखि हामीले आफूलाई रोक्नुपर्छ। (प्रेरि. २०:२८; यहू. ८) बरु, मण्डलीमा एक-अर्काप्रति एकता र आदर बढाउनुपर्छ। पक्कै पनि हामीले मण्डलीमा मानिसहरूको समूह वा गुट बनाएर त्यस्तो कार्यलाई प्रोत्साहन दिनुहुँदैन। पावलले लेखे: “अब ए भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँले म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूमा केही फूट नहोस्‌, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका होओ।”—१ कोरि. १:१०.

२० पवित्र आत्मालाई सन्ताप दिनदेखि जोगिन यहोवा हामीलाई मदत दिन इच्छुक हुनुहुन्छ र उहाँ मदत दिन सक्नुहुन्छ। उहाँको पवित्र आत्मा पाउनको लागि प्रार्थना गरिरहौं र यसलाई सन्ताप नदिन अठोट गरौं। उत्सुकतासाथ यसको निर्देशन अहिले र सदासदा खोजेर हामी ‘आत्माको लागि रोपिरहौं।’ ( w10-E 05/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वरको आत्मालाई सन्ताप दिनु भनेको के हो?

• परमेश्‍वरमा समर्पित व्यक्‍तिले कसरी परमेश्‍वरको आत्मालाई सन्ताप दिन सक्छ?

• परमेश्‍वरको आत्मालाई सन्ताप दिनदेखि हामी कसरी जोगिन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ ३०-मा भएको चित्र]

मतभेदहरू तुरुन्तै सुल्झाइहाल्नुहोस्‌

[पृष्ठ ३१-मा भएको चित्र]

तपाईंको बोलीलाई कस्तो खालको फलफूलसँग तुलना गर्न एकदमै सुहाउँछ?