सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्त्रीहरू हो—तपाईंहरू शिरत्वको अधीनमा किन बस्नुपर्छ?

स्त्रीहरू हो—तपाईंहरू शिरत्वको अधीनमा किन बस्नुपर्छ?

स्त्रीहरू हो—तपाईंहरू शिरत्वको अधीनमा किन बस्नुपर्छ?

“स्त्रीको शिर पुरुष हो।”—१ कोरि. ११:३.

१, २. (क) शिरत्व र अधीनताको सम्बन्धमा यहोवाको प्रबन्धबारे प्रेरित पावलले के लेखे? (ख) यस लेखमा कस्ता प्रश्‍नहरू विचार गरिनेछ?

 यहोवाले शिरत्वको व्यवस्थित क्रम स्थापना गर्नुभएको छ। यसबारे प्रेरित पावलले यसरी उल्लेख गरे: “हरेक मानिसको [“पुरुषको,” NW] शिर ख्रीष्ट हुनुहुन्छ . . . र ख्रीष्टका शिर परमेश्‍वर हुनुहुन्छ।” (१ कोरि. ११:३) अघिल्लो लेखमा यी कुरा छलफल गरिएका थिए: आफ्नो शिर यहोवा परमेश्‍वरको अधीनमा बस्नुलाई येशू सम्मान ठान्‍नुहुन्थ्यो, यहोवाको अधीनमा बस्दा उहाँ रमाउनुहुन्थ्यो र ख्रीष्टियान पुरुषहरूको शिर ख्रीष्ट हुनुहुन्छ। मानिसहरूसित व्यवहार गर्दा येशू दयालु, कोमल, टिठाउने अनि निःस्वार्थ हुनुहुन्थ्यो। मण्डलीका पुरुषहरूले पनि अरूसित र त्यसमा पनि विशेषगरि आ-आफ्ना पत्नीसित व्यवहार गर्दा त्यस्तै हुनुपर्छ।

त्यसोभए स्त्रीहरू नि? स्त्रीका शिर को हुन्‌? पावल लेख्छन्‌: “स्त्रीको शिर पुरुष हो।” प्रेरणा पाएर लेखिएको यस वाक्यलाई स्त्रीहरूले कसरी लिनुपर्छ? पतिको धार्मिक विश्‍वास बेग्लै छ भने पनि के यो सिद्धान्त उत्तिकै लागू हुन्छ? पुरुषको शिरत्वको अधीनमा बस्नुको अर्थ पत्नी मूकदर्शक हुनु, निर्णयहरू गरिंदा आफ्नो विचार नै नपोख्नु हो? स्त्रीले कसरी प्रशंसा कमाउन सक्छिन्‌?

“म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु”

३, ४. वैवाहिक जीवनमा शिरत्वको प्रबन्ध किन फाइदाजनक छ?

शिरत्वको प्रबन्ध गर्ने स्वयम्‌ यहोवा हुनुहुन्छ। आदमको सृष्टि गरिसकेपछि यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “मानिस एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।” हव्वाको सृष्टि भइसकेपछि सुहाउने सहयोगी पाएकोमा अत्यन्तै रमाउँदै आदमले भने: “यो ता मेरै हाडको हाड र मासुको मासु हो।” (उत्प. २:१८-२४) बगैंचारूपी सम्पूर्ण पृथ्वीमा आनन्दित हुँदै सधैंभरि बाँच्ने सिद्ध मानिसजातिको पुर्खा हुने अद्‌भुत्‌ प्रत्याशा आदम र हव्वाले पाएका थिए।

अदनको बगैंचामा प्रथम मातापिताले विद्रोह गरेकोले मानिसजातिले शिरत्वको प्रबन्ध पूरापूर पछ्याउन सकेनन्‌। ( रोमी ५:१२ पढ्‌नुहोस्‌) तैपनि शिरत्वको प्रबन्ध भने खारेज भएन। शिरत्वको प्रबन्धलाई सही तरिकामा पछ्याउँदा वैवाहिक जीवनमा फाइदै फाइदा हुन्छ र आनन्दै आनन्द छाउँछ। फलस्वरूप येशूले आफ्नो शिर यहोवाको अधीनमा रहँदा महसुस गरेझैं महसुस गर्न सकिन्छ। पृथ्वीमा आउनुअघि येशू यहोवाको “उपस्थितिमा निरन्तर आनन्दित” हुनुहुन्थ्यो। (हितो. ८:३०, NRV) असिद्ध भएकोले पुरुषहरू सिद्ध शिर हुन सकेनन्‌ र स्त्रीहरू पनि पूरापूर अधीनमा बस्न सकेनन्‌। तैपनि पति र पत्नीले सकेजति राम्रो गर्ने प्रयास निरन्तर गरेका छन्‌ भने शिरत्वको प्रबन्धले अहिले पनि यथासम्भव अथाह सन्तुष्टि दिन्छ।

५. पतिपत्नी दुवैले रोमी १२:१० मा दिइएको सल्लाहलाई किन मनमा लिनुपर्छ?

वैवाहिक जीवन सफल तुल्याउने हो भने सबै ख्रीष्टियानलाई दिइएको यो सल्लाह पतिपत्नी दुवैले पालन गर्नु अत्यावश्‍यक छ: “भातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ, मानमा एउटाले अर्काको बढ्‌ता कदर गर।” (रोमी १२:१०) यसबाहेक पतिपत्नी दुवैले ‘एकले अर्कोलाई क्षमा गर्न एक-अर्कोप्रति कोमल मनको र दयालु हुन’ अथक प्रयास गर्नुपर्छ।—एफि. ४:३२.

एक जनाको धार्मिक विश्‍वास बेग्लै हुँदा

६, ७. ख्रीष्टियान पत्नी बेग्लै विश्‍वास भएका पतिको अधीनमा रहँदा परिणाम कस्तो हुन सक्छ?

तपाईंको पति वा पत्नी यहोवाको सेवक होइन भने नि? प्रायः पतिहरू सच्चाइमा छैनन्‌। त्यसो हो भने तिनीसित पत्नीले कसरी व्यवहार गर्नुपर्छ? बाइबल जवाफ दिन्छ: “हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना-आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चालचलनले गर्दा, विनावचनले भए पनि, तिमीहरूका डरसहितको [“गहिरो आदरसहितको,” NW] पवित्र चालचलन देखेर तिनीहरू विश्‍वास गर्ने होऊन्‌।”—१ पत्रु. ३:१, २.

परमेश्‍वरको वचनले पत्नीलाई बेग्लै विश्‍वास भएको पतिको अधीनमा बस्नुपर्छ भनेर बताएको छ। पत्नीको असल चालचलन देखेर उनलाई यस्तो राम्रो बानीबेहोरा देखाउन के ले उत्प्रेरित गरेको होला भनेर पतिले सोच्न सक्छन्‌। परिणामस्वरूप पतिले आफ्नी ख्रीष्टियान पत्नीको धार्मिक विश्‍वास जाँच्न सक्छन्‌ र अन्तमा सत्य स्वीकार्नसमेत सक्छन्‌।

८, ९. आफ्नो असल बानीबेहोराप्रति बेग्लै विश्‍वास भएका पतिले सकारात्मक प्रतिक्रिया देखाएनन्‌ भने पनि ख्रीष्टियान पत्नीले के गर्न सक्छिन्‌?

तर बेग्लै विश्‍वास भएका पतिले सकारात्मक प्रतिक्रिया देखाएनन्‌ भने नि? ख्रीष्टियान गुणहरू देखाउन जतिसुकै गाह्रो भए तापनि बाइबलले साक्षी पत्नीलाई हर समय ती गुण देखाउन प्रोत्साहन दिएको छ। जस्तै:- १ कोरिन्थी १३:४ मा यस्तो लेखिएको पाउँछौं: “प्रेम धीरजी . . . हुन्छ।” त्यसकारण ख्रीष्टियान पत्नीले परिस्थितिलाई प्रेमपूर्वक सहँदै “सारा विनय र नम्रतासित, धीरजसँग” व्यवहार गरिरहनु बेस हुन्छ। (एफि. ४:२) परमेश्‍वरको सक्रिय शक्‍ति अर्थात्‌ उहाँको पवित्र आत्माको मदत लिएर गाह्रो परिस्थितिमा समेत ख्रीष्टियान गुणहरू देखाइरहन सकिन्छ।

“जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँमा सबै कुरा म गर्नसक्छु” भनेर पावलले लेखे। (फिलि. ४:१३) ख्रीष्टियान पति वा पत्नीलाई अक्सर सम्भव नभएका कुराहरूसमेत गर्न परमेश्‍वरको आत्माले सक्षम तुल्याउँछ। उदाहरणको लागि पति वा पत्नीले निकै कठोर व्यवहार गर्दा प्रतिकार गरिहाल्ने झोक चल्न सक्छ। तर सम्पूर्ण ख्रीष्टियानलाई बाइबल यसो भन्छ: “कसैलाई खराबको बदला खराब नगर। . . . किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ” (रोमी १२:१७-१९) त्यसैगरि १ थिस्सलोनिकी ५:१५ यस्तो सल्लाह दिन्छ: “हेर, खराबीको बदलामा खराबी कसैले नगरोस्‌, तर सधैं एउटाले अर्कोसँग र सबैसँग भलाइ गर्ने चेष्टा गर।” यहोवाको पवित्र आत्माको साथ पाएर हाम्रो क्षमताले नभ्याउने कुरा सम्भव हुन्छ। त्यसैले हामीमा घटी भएको कुरा परमेश्‍वरको पवित्र आत्माले पुऱ्‍याइदेओस्‌ भनेर प्रार्थना गर्नु उपयुक्‍त छ।

१०. अरूले कठोर बोली बोल्दा र दुर्व्यवहार गर्दा येशूले के गर्नुभयो?

१० दुर्वचन बोल्ने र दुर्व्यवहार गर्नेहरूसित व्यवहार गर्ने सम्बन्धमा येशूले हाम्रो लागि उत्कृष्ट उदाहरण बसाल्नुभयो। पहिलो पत्रुस २:२३ भन्छ: “जसले गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो।” हामीलाई उहाँको राम्रो उदाहरण पछ्याउने सल्लाह दिइएको छ। अरूको नराम्रो व्यवहारले गर्दा नचिढिनुहोस्‌। सम्पूर्ण ख्रीष्टियानलाई सल्लाह दिइएझैं “कोमल हृदयका, नम्र मनका, खराबीको बदला खराबी नगर्ने, अथवा गालीको बदला गाली नदिने” हुनुहोस्‌।—१ पत्रु. ३:८, ९.

मूकदर्शक मात्र?

११. केही ख्रीष्टियान स्त्रीले कस्तो ठूलो सुअवसर पाएका छन्‌?

११ पतिको शिरत्वको अधीनमा रहनुको अर्थ पारिवारिक कुरामा वा अन्य कुरामा चूपो लागेर पत्नी मूकदर्शक मात्र बन्‍नु भनेको हो? पटक्कै होइन। यहोवाले पुरुषका साथै स्त्रीलाई पनि थुप्रै सुअवसर दिनुभएको छ। ख्रीष्टले पृथ्वीमा शासन गर्दा उहाँको अधीनमा रहेर १,४४,००० ले स्वर्गमा शासक अनि पूजाहारी हुन पाउने ठूलो सम्मानबारे एक पटक विचार गर्नुहोस्‌। यिनमा स्त्रीहरू पनि पर्छन्‌। (गला. ३:२६-२९) कुरा स्पष्ट छ, यहोवाले आफ्नो प्रबन्धमा स्त्रीहरूलाई सक्रिय भूमिका दिनुभएको छ।

१२, १३. स्त्रीहरूले पनि अगमवाणी गरेको एउटा उदाहरण दिनुहोस्‌।

१२ उदाहरणका लागि बाइबल समयमा स्त्रीहरू पनि अगमवाणी गर्थे। योएल २:२८, २९ मा यस्तो अगमवाणी गरिएको थियो: “म मेरो आत्मा सबैमाथि खन्याउनेछु, र तिमीहरूका छोराछोरीहरूले भविष्यवाणी कहनेछन्‌, . . . ती दिनमा तिमीहरूका दास र तिमीहरूका दासीहरूमाथि पनि म आफ्नो आत्मा खन्याउनेछु।”

१३ इस्वी संवत्‌ ३३ पेन्तिकोसमा यरूशलेमको माथिल्लो कोठामा जम्मा भएका येशूका लगभग १२० जना चेलामा स्त्रीहरू पनि थिए। त्यतिखेर तिनीहरू सबैमाथि परमेश्‍वरको पवित्र आत्मा खन्याइएको थियो। त्यसैले पत्रुसले योएल अगमवक्‍ताले अगमवाणी गरेको कुरालाई उल्लेख गर्न सके र उक्‍त भविष्यवाणी पुरुष तथा स्त्री दुवैमाथि लागू भएको बताउन सके। पत्रुसले यसो भने: “योएल अगमवक्‍ताबाट जुन कुरा भनिएको थियो, त्यो यही हो, ‘आखिरी दिनहरूमा यस्तो हुनेछ’ भनी परमेश्‍वर भन्‍नुहुन्छ, ‘म सबैको शरीरमाथि मेरो आत्माबाट खन्याइदिनेछु, औ तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्‌, . . . म आफ्ना दासहरू र आफ्ना दासीहरूमाथि ती दिनमा आफ्ना आत्माबाट खन्याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्नेछन्‌।’ ”—प्रेरि. २:१६-१८.

१४. प्रथम शताब्दीमा ख्रीष्टियान धर्म फैलाउन स्त्रीहरूले कस्तो भूमिका निर्वाह गरे?

१४ प्रथम शताब्दीमा ख्रीष्टियान धर्म फैलाउन स्त्रीहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनीहरूले परमेश्‍वरको राज्यबारे अरूलाई प्रचार गरे र प्रचारकार्यसित सम्बन्धित काम गरे। (लूका ८:१-३) उदाहरणका लागि प्रेरित पावलले फिबीलाई “सिनक्रियाको मण्डलीको धर्म-सेविका” भनेर सम्बोधन गरे। अनि सहकर्मीहरूलाई शुभकामना पठाउँदा पावलले थुप्रै वफादार स्त्रीहरूबारे उल्लेख गरे। उनीहरूमा “प्रभुमा परिश्रम गर्ने त्रिफेना र त्रिफोसा” पनि थिए। तिनले “प्रभुमा धेरै परिश्रम गर्ने प्रिय परसीस”-बारे पनि उल्लेख गरे।—रोमी १६:१, १२.

१५. अहिले हाम्रो समयमा ख्रीष्टियान धर्म फैलाउने सम्बन्धमा स्त्रीहरूको भूमिका कस्तो छ?

१५ अहिले हाम्रो समयमा संसारभरि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने ७० लाखभन्दा धेरै साक्षीहरूमा स्त्रीहरूको समूह ठूलो छ र यिनमा हर उमेरका स्त्रीहरू छन्‌। (मत्ती २४:१४) यिनीहरूमध्ये थुप्रै पूर्ण-समय सेवक, मिसनरी अनि बेथेल परिवारका सदस्यको रूपमा सेवा गर्दैछन्‌। भजनरचयिता दाऊदले यसरी गाए: “परमेश्‍वरले वचन दिनुहुन्छ। शुभ-समाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल हुन्छ।” (भज. ६८:११) यी शब्दहरू कत्ति सत्य साबित भएका छन्‌! सुसमाचार घोषणा गर्ने काममा र उहाँका उद्देश्‍यहरूको पूर्तिमा स्त्रीहरूको भूमिकाको यहोवा मोल गर्नुहुन्छ। स्त्रीहरू शिरत्वको अधीनमा बस्नुपर्छ भन्‍ने यहोवाको मागको अर्थ चुपचाप अधीनमा बस्नु पटक्कै होइन।

मूकदर्शक मात्र नभएका दुई स्त्री

१६, १७. वैवाहिक जीवनमा पत्नीहरू मूकदर्शक हुनुहुँदैन भनेर साराको उदाहरणले कसरी देखाउँछ?

१६ यहोवा त स्त्रीहरूलाई थुप्रै सुअवसर दिनुहुन्छ भने के पतिहरूले पनि गम्भीर निर्णयहरू गर्नुअघि आ-आफ्ना पत्नीसित सरसल्लाह गर्नुपर्दैन र? उनीहरूले त्यसो गर्नु बुद्धिमानी हो। पत्नीहरू चुपो लागेर नबसेको वा आ-आफ्ना पतिलाई केही नभनीकनै कदमसमेत चालेको केही विवरण बाइबलमा दिइएका छन्‌। तीमध्ये दुईवटा जाँचौं।

१७ सौता र सौताको छोराले हेपेकोले कुलपिता अब्राहामकी पत्नी साराले तिनीहरूलाई निकालिदिन पतिलाई बारम्बार भनिरहन्थिन्‌। “यो कुरा अब्राहामलाई साह्रै नराम्रो लाग्यो।” तर परमेश्‍वरलाई त नराम्रो लागेन। त्यसैले उहाँले अब्राहामलाई यसो भन्‍नुभयो: “त्यो बालक र तेरी कमारीको निम्ति तैंले चिन्ता नगरी साराले तँलाई जसो भन्छे सोहीबमोजिम गर्‌।” (उत्प. २१:८-१२) अब्राहामले परमेश्‍वरको आज्ञा पालन गरे, साराको कुरा सुने र उनको आग्रहबमोजिम गरे।

१८. अबिगेलले कस्तो अग्रसरता देखाइन्‌?

१८ नाबालकी पत्नी अबिगेललाई पनि विचार गर्नुहोस्‌। ईर्ष्यालु राजा शाऊलले गर्दा भगुवा जीवन बिताइरहेका दाऊदले नाबालको गोठनजिकै छाउनी हालेका थिए। धनी नाबाललाई लुट्‌नुको साटो दाऊद र उनका मानिसले नाबालको सरसम्पत्तिको रक्षा गरिदिएका थिए। तर नाबाल “निष्ठुर नीच मानिस थियो” र त्यसले दाऊदका मानिसहरूलाई ‘हकाऱ्‍यो।’ त्यो “व्यर्थको मानिस” थियो र “त्यसको बेहोरा पनि मूर्खको जस्तो” थियो। दाऊदका मानिसहरूले त्यससित आदरपूर्वक केही सौगात माग्दा नाबालले इन्कार गऱ्‍यो। यो घटना थाह पाउँदा अबिगेलले के गरिन्‌? नाबाललाई नबताईकनै “झट्टै दुई सय रोटी, दुई मसक दाखमद्य, काटकुट पारी बनाएका पाँचवटा भेडा, पाँच पाथी चिउरा, एक सय झुप्पा किसमिस र सुकाएको नेभाराका दुई सय डल्ला अबीगेलले लिइन्‌” र ती दाऊद र तिनका मानिसहरूलाई दिइन्‌। अबिगेलले जे गरिन्‌, के त्यो सही थियो? त्यसपछिका केही घटनाले तिनी सही थिइन्‌ भनेर देखाउँछ। यहोवाले नाबाललाई “प्रहार गर्नुभयो, र त्यो मऱ्‍यो” भनी बाइबल बताउँछ। पछि दाऊदले अबिगेललाई विवाह गरे।—१ शमू. २५:३, १४-१९, २३-२५, ३८-४२.

प्रशंसा कमाउने स्त्री

१९, २०. कुनै स्त्री कसरी साँच्चै प्रशंसनीय हुन सक्छिन्‌?

१९ यहोवाको तरिकामा काम गर्ने पत्नीलाई बाइबलमा प्रशंसा गरिएको छ। हितोपदेशले “सुयोग्य पत्नी”-को प्रशंसा यसरी गरेको छ: “तिनी मूगा-मोतीभन्दा पनि ज्यादा बहुमूल्यकी हुन्छिन्‌। तिनका पतिले तिनलाई पूरा भरोसा गर्छन्‌। औ तिनलाई . . . केही अभाव हुँदैन। तिनले आफ्नो जीवनकालभरिनै आफ्ना पतिको भलो गर्छिन्‌, तर बुरो होइन।” यसबाहेक “तिनी आफ्नो मुख खोल्दा बुद्धिका कुरा गर्छिन्‌, र तिनको शिक्षाको सार दयाले भरिएको हुन्छ। तिनी आफ्नो परिवारको कामको हेरविचार गर्छिन्‌, र परिश्रम विनाको कमाइ खाँदिनन्‌। तिनका छोराहरूले एकै मतका भएर तिनलाई सुखी भन्छन्‌, तिनका पतिले पनि तिनको प्रशंसा” गर्छन्‌।—हितो. ३१:१०-१२, २६-२८.

२० कुनै स्त्री कसरी साँच्चै प्रशंसनीय हुन सक्छिन्‌? हितोपदेश ३१:३०NRV) बताउँछ: “सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ, तर परमेश्‍वरको भय मान्‍ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।” यहोवाको भय मान्‍नुमा शिरत्वसम्बन्धी ईश्‍वरीय प्रबन्धको अधीनमा खुसीसाथ रहनुपर्ने आवश्‍यकता समावेश छ। “ख्रीष्टका शिर परमेश्‍वर” र पुरुषको “शिर ख्रीष्ट” भएझैं “स्त्रीको शिर पुरुष हो।”—१ कोरि. ११:३.

परमेश्‍वरले दिएको उपहारको कदर गर्नुहोस्‌

२१, २२. (क) यहोवाले वैवाहिक प्रबन्ध उहारस्वरूप दिएकोमा ख्रीष्टियान दम्पति धन्यवादी हुने के-कस्ता कारण छन्‌? (ख) अख्तियार र शिरत्वसम्बन्धी यहोवाको प्रबन्धलाई हामीले किन आदर गर्नुपर्छ? (पृष्ठ २१ को पेटी हेर्नुहोस्‌)

२१ वैवाहिक बन्धनमा बाँधिएका ख्रीष्टियानहरूले परमेश्‍वरप्रति कृतज्ञता व्यक्‍त गर्ने थुप्रै कारण छन्‌। विशेषगरि यहोवाले वैवाहिक प्रबन्ध उपहारस्वरूप दिएकोमा तिनीहरू धन्यवादी हुन सक्छन्‌। किनकि वैवाहिक बन्धनमा बाँधिएकोले नै दुई जना एक हुने र आनन्दित दम्पतिको रूपमा सँगसँगै यहोवाको सेवा गर्ने मौका पाएका छन्‌। (रूथ १:९; मीका ६:८) वैवाहिक जीवन आनन्दमयी बनाउन वास्तवमा के चाहिन्छ, विवाहका आरम्भकलाई राम्ररी थाह छ। सधैं उहाँको तरिकाअनुसार चल्नुहोस्‌ र अहिलेको गञ्जागोल संसारमा पनि ‘यहोवाको आनन्दनै तपाईंहरूको बल हुनेछ।’—नहे. ८:१०.

२२ आफ्नी पत्नीलाई आफैलाई जत्तिकै माया गर्ने ख्रीष्टियान पतिले कोमल अनि विचारशील हुँदै शिरत्वको अभ्यास गर्नेछन्‌। पतिलाई सहयोग गर्ने र तिनको गहिरो आदर गर्ने तिनकी ईश्‍वरभक्‍त पत्नी पनि साँच्चै प्रिय हुनेछिन्‌। सबैभन्दा महत्त्वपूर्ण त तिनीहरूको उदाहरणीय वैवाहिक सम्बन्धले प्रशंसनीय यहोवा परमेश्‍वरको आदर गर्नेछ। ( w10 -E 05/15)

के तपाईंलाई याद छ?

• शिरत्व र अधीनताको सम्बन्धमा यहोवाको प्रबन्ध कस्तो छ?

• पति र पत्नीले एक-अर्कालाई किन आदर गर्नुपर्छ?

• साक्षी पत्नीले बेग्लै विश्‍वास भएका पतिसित कसरी व्यवहार गर्नुपर्छ?

• गम्भीर निर्णयहरू गर्नुअघि पतिले पत्नीसित किन सर-सल्लाह गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको पेटी]

अख्तियारको आदर किन गर्ने?

यहोवाले बुद्धिमान्‌ प्राणीहरूमा अख्तियार र शिरत्वको प्रबन्ध गर्नुभएको छ। आत्मिक प्राणी र मानिसहरू दुवैलाई फाइदा होस्‌ भनेर यस्तो प्रबन्ध मिलाइएको हो। अख्तियार र शिरत्वसम्बन्धी परमेश्‍वरको प्रबन्धको अधीनमा रहने छनौट गर्दा एकतामा उहाँको सेवा गर्दै उहाँलाई आदर गरिरहेका हुन्छौं।—भज. १३३:१.

अभिषिक्‍त ख्रीष्टियानहरूको मण्डलीले येशू ख्रीष्टको अख्तियार र शिरत्व स्वीकार्छ। (एफि. १:२२, २३) यहोवाको अख्तियार स्वीकारेकोले अन्तमा “परमेश्‍वर सबैमा सर्वश्रेष्ठ हुनलाई, सबै कुरा उहाँको अधीनमा ल्याउनुहुने पुत्र पनि उहाँको अधीनमा हुनुहुनेछ।” (१ कोरि. १५:२७, २८) त्यसकारण परमेश्‍वरप्रति समर्पित मानिसहरूले मण्डली र परिवारमा शिरत्वको प्रबन्धलाई सहयोग गर्नु अत्यन्तै उपयुक्‍त छ। (१ कोरि. ११:३; हिब्रू १३:१७) यसो गरेर हामी यहोवाको अनुमोदन अनि आशिष्‌ पाउन योग्यका हुन्छौं।—यशै. ४८:१७.

[पृष्ठ १७-मा भएको चित्र]

प्रार्थनाले ख्रीष्टियान पत्नीलाई ईश्‍वरीय गुणहरू देखाउन मदत गर्न सक्छ

[पृष्ठ १९-मा भएका चित्रहरू]

परमेश्‍वरको राज्यसित सम्बन्धित गतिविधि अघि बढाउन स्त्रीहरूको भूमिकाको यहोवा मोल गर्नुहुन्छ