सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दयालु बोलीले सम्बन्ध राम्रो बनाउन सघाउँछ

दयालु बोलीले सम्बन्ध राम्रो बनाउन सघाउँछ

दयालु बोलीले सम्बन्ध राम्रो बनाउन सघाउँछ

“तिमीहरूको वचन . . . अनुग्रहसहितको अर्थात्‌ दयालु होस्‌।”—कल. ४:६.

१, २. एक जना भाइको दयालु बोलीले कस्तो राम्रो नतिजा भयो?

 एक जना भाइ भन्छन्‌: “घर-घर प्रचार जाँदा मैले एक जना मान्छे भेटें। उनी यत्ति रिसाए कि पूरै जीऊ अनि ओठ काँपिरहेको थियो। शान्त भएर मैले बाइबलबाट सम्झाउन खोजें। तर उनको रिस झनै चर्कियो। उनकी पत्नी अनि छोराछोरी पनि रिसाएर मलाई गाली गर्न थालेपछि त्यहाँबाट निस्कनु उचित ठानें। म शान्तिसँग आएको थिएँ र शान्तिसँगै जान चाहन्छु भनेर मैले त्यस परिवारलाई बताएँ। मैले गलाती ५:२२ र २३ देखाएँ जहाँ प्रेम, नम्रता, संयम, र शान्ति उल्लेख गरिएको छ। त्यसपछि म त्यहाँबाट निस्कें।”

“पछि सडकपारिका घरहरूमा प्रचार गर्दै गर्दा मैले त्यस परिवारलाई घरअगाडि भऱ्‍याङमा बसिरहेको देखें। तिनीहरूले मलाई बोलाए। मैले सोचें, ‘अब के भन्‍ने होलान्‌?’ उनले मलाई एक मग चिसो पानी पिउन दिए। रूखो व्यवहार गरेकोमा माफी मागे र मेरो बलियो विश्‍वासको प्रशंसा गरे। इबी नराखीकन हामी छुट्टियौं।”

३. अरूको कारण हामी किन रिसाउनु हुँदैन?

तनावले भरिएको आजको संसारमा रिसाहा मानिसहरूलाई भेट्‌दिनँ भन्दा पनि हुँदैन। प्रचारमा पनि त्यस्ता मानिसहरू भेटिहालिन्छ। यस्तो बेला “नम्रता र श्रद्धा” देखाउनु जरुरी छ। (१ पत्रु. ३:१५, NRV) यदि माथि उल्लेख गरिएका भाइ उक्‍त घरधनीको रिस र रूखो व्यवहारको कारण रिसाएको भए सायद घरधनीको मन पग्लनुको साटो उनी झनै रिसाउँथे। तर भाइले आफूलाई वशमा राखेर दयालु बोली बोलेकोले नतिजा राम्रो भयो।

हाम्रो बोलीलाई कुन कुराले दयालु बनाउँछ?

४. दयालु बोली बोल्नु किन महत्त्वपूर्ण छ?

चाहे हामी मण्डली बाहिरकाहरूसित व्यवहार गरौं वा भित्रकाहरूसित अथवा परिवारका सदस्यहरूसित नै, प्रेरित पावलको यो सल्लाह पछ्याउनु महत्त्वपूर्ण छ: “तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌।” (कल. ४:६) त्यस्तो मीठो र उचित बोली राम्रो कुराकानी र शान्तिको लागि अत्यावश्‍यक छ।

५. राम्रो कुराकानी भनेको के होइन? उदाहरण दिनुहोस्‌।

राम्रो कुराकानी भनेको तपाईंले सोचेको र महसुस गरेको हरेक कुरा तुरुन्तै भनिहाल्नु होइन। विशेषगरि उदास भएको बेला यसो गर्नुहुँदैन। बाइबलले अनियन्त्रित रिस बलको होइन कमजोरीको चिन्ह हो भन्छ। ( हितोपदेश २५:२८; २९:११ पढ्‌नुहोस्‌) त्यतिबेलाका पुरुषहरूमध्ये “सबैभन्दा विनम्र व्यक्‍ति” मोशा इस्राएलीहरूले विद्रोह गरेको कारण रिसाए र परमेश्‍वरलाई महिमा दिन चुके। मोशाले आफूलाई मनमा लागेको कुरा स्पष्ट बताए; तर यहोवा त्यसमा खुसी हुनुभएन। इस्राएलीहरूलाई डोऱ्‍याएको ४० वर्षपछि मोशा प्रतिज्ञा गरिएको देशमा पस्न पाएनन्‌।—गन्ती १२:३; २०:१०, १२; भज. १०६:३२.

६. बोल्दा बुद्धि चलाउनु भनेको के हो?

बोल्दा संयमित हुनु र बुद्धि चलाउनु वा सही निर्णय गर्नुलाई बाइबलले प्रशंसा गरेको छ। “मानिसहरू जति धेरै बोल्छन्‌ उतिनै धेरै पाप गर्ने सम्भावना हुन्छ। बुद्धिमान मानिस चूप लागिबस्छ।” (हितो. १०:१९; १७:२७) तथापि बुद्धि चलाउनु भन्‍नाले आफूलाई मनमा लागेको कुरा कहिल्यै नभन्‍नु भन्‍ने होइन। यसको अर्थ चोट पार्ने नभई निको पार्ने दयालु बोली बोलेर जिब्रो प्रयोग गर्नु हो।—हितोपदेश १२:१८; १८:२१ पढ्‌नुहोस्‌।

“चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय”

७. कस्ता कुराहरू व्यक्‍त गर्नुहुँदैन र किन?

सहकर्मीसित वा प्रचारमा अपरिचितहरूसित कुरा गर्दा दया र संयम देखाउनु आवश्‍यक भएजस्तै मण्डली अनि घरमा पनि त्यसो गर्नु आवश्‍यक छ। नतिजा विचार नगरी रिस पोख्दा हाम्रो आफ्नै र अरूको आध्यात्मिक, भावनात्मक अनि शारीरिक स्वास्थ्यमा गम्भीर क्षति पुग्न सक्छ। (हितो. १८:६, ७) हाम्रो खराब भावना अर्थात्‌ असिद्ध स्वभावका कारण मनबाट निस्कने अभिव्यक्‍तिहरूलाई वशमा राख्नै पर्छ। निन्दा, खिसी, अनादार र घृणाले भरिएको रिस खराब कुरा हुन्‌। (कल. ३:८; याकू. १:२०) यसले अरू मानिस र यहोवासितको अमूल्य सम्बन्ध बिगार्न सक्छ। येशूले सिकाउनुभयो: “जो कोही आफ्ना भाइसित रिसाउला, त्यो इन्साफको योग्य हुनेछ, र जसले आफ्नो भाइलाई ‘ए बेवकूफ’ भन्ला, त्यो महासभाको योग्य हुनेछ, र जसले ‘तँ मूर्ख’ भन्ला, त्यो नरकको आगोको योग्य हुनेछ।”—मत्ती ५:२२.

८. कुन बेला हामीले भावनाहरू व्यक्‍त गर्नै पर्छ तर कुन तरिकामा?

तर यस्ता केही कुरा छन्‌ जुन कुराबारे कुराकानी गर्नु उत्तम हुन्छ। यदि कुनै भाइले हल्कासित लिन नमिल्ने कुनै कुरा तपाईंलाई भन्यो वा गऱ्‍यो भने आफ्नो मनमा घृणा पालेर नराख्नुहोस्‌। (हितो. १९:११) यदि कसैले तपाईंलाई रिस उठायो भने आफ्नो भावनालाई काबूमा राख्नुहोस्‌ र समस्या समाधान गर्न आवश्‍यक कदम चाल्नुहोस्‌। पावलले लेखे: “घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्‌।” त्यस्तो समस्याले तपाईंलाई निरन्तर सताइरहने भएकोले उपयुक्‍त समयमा त्यसबारे दयालु भई कुरा गर्नुहोस्‌। ( एफिसी ४:२६, २७, ३१, ३२ पढ्‌नुहोस्‌) भाइसित मिलाप गर्ने मनसाय राखेर त्यस विषयमा खुलस्त तर दयालु कुरा गर्नुहोस्‌।—लेवी १९:१७; मत्ती १८:१५.

९. मिलाप गर्न अरूसित कुरा गर्नुअघि आफ्नो भावना किन काबूमा राख्नुपर्छ?

तर तपाईंले उपयुक्‍त समय रोज्न विचार पुऱ्‍याउनुपर्छ। “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” (उप. ३:१, ७) यसबाहेक “जवाफ दिनुअघि धर्मीहरू सोच्दछन्‌।” (हितो. १५:२८) यसमा समस्याबारे कुरा गर्न पर्खनुपर्ने कुरा समावेश हुन सक्छ। एक जना साह्रै रुष्ट भएको बेला कुरा गर्दा समस्या झनै चर्किन सक्छ। तर यसो भन्दैमा लामो समयसम्म पर्खनु पनि बुद्धिमानी होइन।

दयालु कामहरूले सम्बन्ध राम्रो बनाउँछ

१०. दयालु कामहरू गरेर सम्बन्ध कसरी सुधार्न सकिन्छ?

१० दयालु बोली र राम्रो कुराकानीले शान्तिपूर्ण सम्बन्ध स्थापित गर्न र कायम राख्न मदत गर्छ। वास्तवमा अरूसितको हाम्रो सम्बन्ध सुधार्न जेजति गर्न सक्छौं त्यसो गर्दा तिनीहरूसितको हाम्रो कुराकानीमा सुधार ल्याउन सकिन्छ। दयालु र निष्कपट कामहरू गरेर अर्थात्‌ सहयोग गर्ने मौका खोजेर, हृदयदेखि उपहार दिएर, अतिथि सत्कार गरेर अरूसित मिलाप गर्न अग्रसर हुँदा खुलस्त कुराकानीमा योगदान पुग्न सक्छ। यसो गर्दा त्यो मानिसलाई “औधी लज्जित” पार्नसमेत सकिन्छ जसले गर्दा त्यसबाट असल गुणहरू निस्कन सक्छ र समस्याबारे खुलस्त कुरा गरेर समाधान गर्न सजिलो हुन्छ।—रोमी १२:२०, २१.

११. एसावसितको सम्बन्ध सुधार्न याकूबले कसरी अग्रसरता देखाए र परिणाम कस्तो भयो?

११ यो कुरा कुलपिता याकूबले बुझे। जुम्ल्याहा दाई एसाव तिनीसित साह्रै रिसाएकाले मार्लान्‌ भन्‍ने डरले तिनी भागेका थिए। धेरै वर्षपछि याकूब फर्के। एसाव ४०० जना मानिस लिएर तिनलाई भेट्‌न निस्के। याकूबले मदतको लागि यहोवालाई प्रार्थना गरे। त्यसपछि तिनले आफूअघि उपहारस्वरूप वस्तुभाउको ठूलो बगाल एसावलाई पठाए। त्यो उपहारको उद्देश्‍य पूरा भयो। जब तिनीहरूको भेट भयो, एसावको मनोवृत्ति परिवर्तन भइसकेको थियो। एसावले दौडेर गई याकूबलाई अँगालो हाले।—उत्प. २७:४१-४४; ३२:६, ११, १३-१५; ३३:४, १०.

दयालु बोलीले अरूलाई प्रोत्साहन दिनुहोस्‌

१२. हाम्रा भाइबहिनीसित कुरा गर्दा किन दयालु शब्द प्रयोग गर्नुपर्छ?

१२ ख्रीष्टियानहरू परमेश्‍वरको सेवा गर्छन्‌, कुनै मानिसको होइन। तैपनि अरू मानिसको अनुमोदन पाऊँ भन्‍ने हाम्रो स्वाभाविक चाहना हुन्छ। हाम्रो दयालु शब्दले भाइबहिनीको बोझ हलुको पार्न सक्छ। तर आलोचना गरेर रूखो बोल्दा तिनीहरूको बोझ गह्रौं बनाउन सक्छ, यहोवाको अनुमोदन गुमाएको हो कि भनेर समेत सोच्न लगाउन सक्छ। त्यसैले अरूसित निष्कपटतासाथ प्रोत्साहनदायी कुराहरू गरौं र “परिआएको खण्डमा सुधारको अर्थात्‌ उत्थानको निम्ति केही असल कुरो हुन्छ भने मात्र, कि त्यसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।”—एफि. ४:२९.

१३. (क) सल्लाह दिंदा र (ख) चिठ्ठी लेख्दा प्राचीनहरूले कस्ता कुराहरू मनमा राख्नुपर्छ?

१३ विशेषतः प्राचीनहरू “नम्र” हुनुपर्छ र बगालको स्नेहपूर्वक हेरचाह गर्नुपर्छ। (१ थिस्स. २:७, ८) प्राचीनहरूले सल्लाह दिंदा त्यसमा पनि “विरोध गर्नेहरू” अर्थात्‌ सल्लाह सुन्‍न अस्वीकार गर्नेहरूलाई सल्लाह दिनुपर्दा “नम्रसँग” दिने लक्ष्य राख्नुपर्छ। (२ तिमो. २:२४, २५) प्राचीनहरूले अरू प्राचीनहरूको निकाय वा शाखा कार्यालयमा चिठ्ठी लेख्दा पनि दयालु भाव व्यक्‍त गर्नुपर्छ। मत्ती ७:१२ ले बताएअनुरूप तिनीहरू दयालु र व्यवहार गर्न जान्‍ने हुनुपर्छ।

परिवारमा दयालु बोली बोल्नुहोस्‌

१४. पावलले पतिहरूलाई कस्तो सल्लाह दिए र किन?

१४ हाम्रो शब्द, अनुहारको भाव र हाउभाउले मानिसहरूमा हामीले सोचेभन्दा धेरै असर गर्छ। उदाहरणको लागि केही पुरुष आफूले बोलेको शब्दले स्त्रीमा कति गहिरो असर गर्न सक्छ भन्‍ने कुरामा त्यति सचेत नहुन सक्छन्‌। एउटी बहिनी भन्छिन्‌: “मेरो श्रीमान्‌ झनक्क रिसाएर कराउँदा मलाई साह्रै डर लाग्छ।” कडा शब्दले पुरुषमा भन्दा स्त्रीमा असर गर्छ र त्यो उनको मनमा लामो समयसम्म रहन सक्छ। (लूका २:१९) आफूले माया गरेको र आदर गरेको व्यक्‍तिले त्यसरी बोल्दा स्त्रीमा झनै असर पर्छ। पतिहरूलाई पावलले सल्लाह दिए: “पत्नीलाई प्रेम गर औ तिनीहरूप्रति कठोर नहोओ।”—कल. ३:१९.

१५. पतिले आफ्नी पत्नीलाई किन कोमलतासाथ व्यवहार गर्नुपर्छ? उदाहरण दिनुहोस्‌।

१५ यस सन्दर्भमा एक जना अनुभवी विवाहित भाइले किन पतिले आफ्नी पत्नीलाई “निर्बल पात्र”-लाई झैं कोमलतासाथ व्यवहार गर्नुपर्छ भन्‍नेबारे उदाहरण दिए। तिनले भने: “बहुमूल्य र संवेदनशील भाँडो चलाउँदा तपाईंले त्यो बेसरी समाउनुहुँदैन नत्र चर्किन सक्छ। मर्मत गऱ्‍यो भने पनि चर्केको भाग त देखिन्छ नै। यदि पतिले प्रयोग गर्ने शब्द एकदमै कडा छ भने उनले आफ्नी पत्नीको चित्त दुखाउन सक्छन्‌। यसले तिनीहरूको सम्बन्ध लामो समयसम्म चर्काउन सक्छ।”—१ पत्रुस ३:७ पढ्‌नुहोस्‌।

१६. पत्नीले आफ्नो परिवारको कसरी उत्थान गर्न सक्छिन्‌?

१६ पुरुषहरू पनि अरू र आफ्ना पत्नीले बोलेका शब्दले प्रोत्साहित वा निरुत्साहित हुन सक्छन्‌। पतिले साँच्चै “पूरा भरोसा” गर्न सक्ने “बुद्धिमती पत्नी”-ले आफ्नो भावना पतिले बुझिदिऊन्‌ भनेर चाहेजस्तै पतिको भावना पनि बुझ्छिन्‌। (हितो. १९:१४; ३१:११) वास्तवमा पत्नीले खेल्ने भूमिकाले परिवारमा राम्रो अथवा नराम्रो प्रभाव पार्न सक्छ। “बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे।”—हितो. १४:१.

१७. (क) केटाकेटीले आमाबाबुसित कसरी बोल्नुपर्छ? (ख) ठूलाहरूले केटाकेटीसित कसरी बोल्नुपर्छ र किन?

१७ त्यसैगरि आमाबाबु र छोराछोरीले पनि आपसमा दयालु भई बोल्नुपर्छ। (मत्ती १५:४) केटाकेटीसित विचारशील भएर कुरा गर्दा तिनीहरूलाई ‘रीस नउठाउन’ मदत मिल्नेछ। (कल. ३:२१; एफि. ६:४) छोराछोरीलाई अनुशासन दिनै पर्ने हुँदा पनि आमाबाबु र प्राचीनले तिनीहरूसित आदरपूर्वक कुरा गर्नुपर्छ। यसो गरेर ठूलाहरूले केटाकेटीलाई आफ्नो आनीबानी सुधार्न र परमेश्‍वरसित तिनीहरूको सम्बन्ध कायम राख्न सजिलो बनाइदिन सक्छन्‌। यसो गर्नु हामीले तिनीहरूलाई केही मदत गर्न सक्दैनौं भनेर तिनीहरूमा छाप पार्नुभन्दा कता हो कता उत्तम हुन्छ। हामी तिनीहरूलाई केही मदत गर्न सक्दैनौं भन्‍ने छाप तिनीहरूमा परेमा तिनीहरू आफैले पनि आफूमा केही सुधार गर्न नसकिने रहेछ भनेर सोच्न सक्छन्‌। केटाकेटीले पाएका सबै सल्लाह सम्झन नसक्लान्‌ तर अरूले तिनीहरूसित कसरी बोल्छन्‌, त्यो भने याद गर्नेछन्‌।

हृदयदेखि राम्रा कुराहरू बोल्नुहोस्‌

१८. मनबाट पीडादायी सोचाइ तथा भावनाहरू हामी कसरी हटाउन सक्छौं?

१८ रिस काबूमा राख्नु भनेको देखावटी रूपमा शान्त हुनु मात्र होइन। हाम्रो लक्ष्य तीब्र भावना दबाउने मात्रै हुनुहुँदैन। भित्र-भित्रै रिसले मुर्मुरिएर बाहिरचाहिं शान्त भएको देखाउने कोसिस गर्दा हामीलाई तनाव हुन्छ। यसो गर्नु भनेको पानी उम्लिरहेको भाँडोमा ढक्कन लगाउनुजस्तै हो। यसो गरेमा पानी अझै उम्लेर पोखिन्छ। त्यसैले रिस भित्र-भित्रै दबाएर नराख्नुहोस्‌, पछि त्यो बिस्फोट हुन्छ। पीडादायी भावनाहरू मनबाट हटाउन मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। यहोवाको इच्छाअनुसार गर्न आफ्नो मन अनि मस्तिष्कलाई उहाँको आत्माद्वारा बदल्न दिनुहोस्‌।—रोमी १२:२ पढ्‌नुहोस्‌; एफि. ४:२३, २४.

१९. रिसको कारण हुने झगडादेखि बच्न कस्ता कदमहरूले हामीलाई मदत दिन्छ?

१९ आफ्ना भावना काबूमा राख्न मदत गर्ने कदम चाल्नुहोस्‌। आफू तनावमा परेको पाउनुभयो र रिस उठ्‌न थालेको थाह पाउनुभयो भने त्यो ठाउँ वा परिस्थितिबाट केही समयको लागि टाढा जानु मदतकारी हुन सक्छ। यसो गर्दा तपाईंका भावना काबूमा राख्न समय मिल्नेछ। (हितो. १७:१४) तपाईंले कुरा गरिरहेको व्यक्‍ति रिसाउन थाल्यो भने दयालु भई बोल्न थप प्रयास गर्नुहोस्‌। याद गर्नुहोस्‌: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।” (हितो. १५:१) चित्त दुख्ने वा घोच्ने बोली नरम सोरमा बोलेको भए तापनि यसले आगोमा घ्यू थपेजस्तै हुन सक्छ। (हितो. २६:२१) त्यसैले कुनै अवस्थामा तपाईंको आत्म-संयमको जाँच हुँदा “बोल्नलाई ढीलो र रिसाउनलाई धीमा” हुनुहोस्‌। नराम्रो होइन राम्रो कुराहरू बोल्न यहोवाको आत्माद्वारा मदत पाउन प्रार्थना गर्नुहोस्‌।—याकू. १:१९.

मनदेखि माफी दिनुहोस्‌

२०, २१. अरूलाई माफी दिन हामीलाई केले मदत दिन सक्छ र किन हामीले माफी दिनै पर्छ?

२० दुःखको कुरा हामीमध्ये कसैले पनि जिब्रोलाई पूर्णतया काबूमा राख्न सक्दैनौं। (याकू. ३:२) सक्दो कोसिस गर्दा गर्दै पनि परिवारका सदस्यहरू वा मण्डलीका भाइबहिनीसमेतले कहिलेकाहीं विचार नपुऱ्‍याईकन हाम्रो भावनामा चोट पुग्ने कुरा बोल्न सक्छन्‌। तुरुन्तै रिसाइहाल्नुको साटो तिनीहरूले किन त्यसो भने होलान्‌ भनेर धैर्यपूर्वक जाँच्नुहोस्‌। ( उपदेशक ७:८, ९ पढ्‌नुहोस्‌) के तिनीहरू तनाव र त्रासमा छन्‌ वा बिसञ्चो पो छन्‌ कि वा तपाईंलाई थाह नभएको कुनै समस्यामा परेका छन्‌ कि?

२१ यस्ता कारणले गर्दा आक्रोश देखाउन छुट पाइँदैन। तर ती कारणहरू ठम्याउँदा मानिसहरू किन कहिलेकाहीं भन्‍न नहुने कुरा भन्छन्‌ र गर्न नहुने काम गर्छन्‌ त्यो बुझ्न मदत पाउँछौं अनि उनीहरूलाई माफी दिन उत्प्रेरित हुन सक्छौं। हामी सबैले अरूको चित्त दुख्ने कुरा बोलेका छौं र गरेका छौं अनि हामी तिनीहरूले दयालु भई माफी दिनेछन्‌ भनी आशा गर्छौं। (उप. ७:२१, २२) परमेश्‍वरबाट क्षमा पाउन हामीले अरूलाई माफी दिनै पर्छ भनेर येशूले भन्‍नुभयो। (मत्ती ६:१४, १५; १८:२१, २२, ३५) त्यसैकारण हामीले तुरुन्तै माफी माग्नुपर्छ र माफी दिनुपर्छ। यसो गर्दा हाम्रो परिवार र मण्डलीमा “सिद्धताको गाँठो” प्रेम कायम राख्न सक्छौं।—कल. ३:१४.

२२. दयालु बोली बोल्न गरेको प्रयास किन खेर जाँदैन?

२२ अहिलेको रिसाहा रीतिरिवाजको अन्त नजिकिंदै जाँदा हाम्रो आनन्द र एकता कायम राख्न झन्‌-झनै कठिन हुन सक्छ। बाइबलमा पाइने व्यावहारिक सिद्धान्तहरू लागू गर्दा हाम्रो जिब्रोबाट नराम्रा होइन राम्रा कुराहरू निकाल्न मदत मिल्नेछ। हामीले मण्डली र परिवारमा शान्तिपूर्ण सम्बन्धको आनन्द उठाउनेछौं र हाम्रो उदाहरणले अरूलाई हाम्रा “आनन्दित परमेश्‍वर” यहोवाबारे उत्कृष्ट साक्षी दिनेछ।—१ तिमो. १:११. ( w10 -E 06/15)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• समस्याबारे कुरा गर्न किन उपयुक्‍त समय रोज्नु महत्त्वपूर्ण छ?

• परिवारका सदस्यहरूले आपसमा किन दयालु बोली बोल्नुपर्छ?

• चित्त दुख्ने बोली बोल्नदेखि कसरी जोगिन सक्छौं?

• माफी दिन हामीलाई केले मदत गर्न सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएका चित्रहरू]

आफ्ना भावनाहरू काबूमा राख्नुहोस्‌ र कुरा गर्ने उपयुक्‍त समय खोज्नुहोस्‌

[पृष्ठ २७-मा भएको चि]

पतिले आफ्नी पत्नीसित सधैं नरम बोली बोल्नुपर्छ