पापप्रतिको धारणामा कस्तो परिवर्तन आएको छ?
पापप्रतिको धारणामा कस्तो परिवर्तन आएको छ?
“हाम्रा प्रथम मातापिता आदम र हव्वाको पापको कारण हामी पनि पापी छौं भन्ने कुरा आज थुप्रै मानिस स्वीकार्न चाहँदैनन्। त्यति मात्र होइन पाप छ वा पाप हुन्छ भन्ने धारणा नै मन पराउँदैनन्। . . . अडोल्फ हिटलर र जोसेफ स्टालिनजस्ता व्यक्तिले पाप गरेका होलान् तर हामी अरू भने निर्दोष छौं।”—द वल स्ट्रीट जर्नल।
माथिको भनाइले पापप्रतिको धारणा आज मानिसहरूले स्वीकार्न छोडेका छन् भनेर देखिन्छ। तर किन? कस्तो परिवर्तन भएको छ? त्यसोभए आज मानिसहरूलाई मन नपर्ने पापप्रतिको यो धारणा के हो?
यस धारणाका दुई पक्ष छन्: (१) वंशाणुगत पाप (२) मानिसको पापी आचरण। वंशाणुगत पाप भनेको हामीलाई मन परे पनि नपरे पनि हामीमा जन्मजात आएको पाप हो। मानिसको पापी आचरण भनेको चाहिं हामीले जानाजानी गर्ने पाप हो। यी दुई पक्षलाई अब गहिरिएर हेरौं।
आदम र हव्वाको पापले के हामीलाई असर गरेको छ?
आदम र हव्वा नैतिक तवरमा पतित भएकोले अर्थात् तिनीहरूले पाप गरेकोले सबै मानिसजातिमा पाप फैलियो भनी बाइबल बताउँछ। त्यसैले हामी सबै असिद्धताको खोट लिएर जन्मिएका छौं। बाइबल भन्छ: “सबै अधर्म पाप हो।”—१ यूहन्ना ५:१७.
तर कहिले-कहिलेको पापको कारण सबै मानिसजाति जन्मजात असिद्ध हुन्छन् भन्ने धारणा चर्चमा जाने थुप्रैको लागि बुझ्न नसकिने र स्वीकार्न नसकिने कुरा भएको छ। किनभने त्यस पापमा तिनीहरू सहभागी थिएनन् र त्यसको लागि तिनीहरू जिम्मेवार पनि छैनन। धर्मका प्रोफेसर एडवार्ड ओक्सको भनाइअनुसार मानिस जन्मजात असिद्ध हुन्छन् भन्ने शिक्षाको परिणामस्वरूप “मानिसहरू छक्क परेका छन् वा खिन्न भएका छन् वा तिनीहरू यस शिक्षालाई सीधै इन्कार गर्छन्, कि चाहिं पापी छु भनेर मुखले त स्वीकार्छन् तर कामद्वारा देखाउँदैनन्।”
चर्चहरूले पापबारे सिकाएको कुराले गर्दा आदम र हव्वाले पाप गरेका छन् भनेर स्वीकार्न मानिसहरूलाई गाह्रो लागेको छ। उदाहरणको लागि नवजात शिशुले पापको क्षमा पाउन बप्तिस्मा लिनुपर्छ भन्ने कुरा नकार्ने जोसुकैलाई काउन्सिल अफ ट्रेन्टको सभामा (१५४५-१५६३) चर्चले निन्दा गऱ्यो। नवजात शिशु बप्तिस्मा नभई मऱ्यो भने उसको पाप नपखालिएकोले ऊ स्वर्गमा जान सक्दैन भनेर धर्मविद्हरूले घोषणा गरे। क्याल्भिनले यहाँसम्म सिकाए कि नवजात शिशुहरू ‘आमाको गर्भमा छँदै नरकको दण्ड भोग्न योग्यका हुन्छन्।’ ती शिशुहरूको जन्मजात पाप यति ठूलो हुन्छ कि परमेश्वरले तिनीहरूलाई ‘घृणा योग्य ठान्नुहुन्छ’ भनेर तिनले बताए।
नवजात शिशुहरू निर्दोष प्राणी हुन् र तिनीहरूले जन्मजात पापको कारण सास्ती भोग्नुपर्छ भनेर सोच्नु मानवीय स्वभाव विरुद्ध हो भनेर धेरैजसोले महसुस गर्नु स्वाभाविकै हो। चर्चका यस्ता शिक्षाहरूले आदम र हव्वाको पापको सिद्धान्तलाई मानिसहरू किन बुझ्न सक्दैनन् भन्ने कुरा a
सजिलै ठम्याउन सकिन्छ। वास्तवमा चर्चका पादरीहरूले बप्तिस्मा नभएका नवजात शिशुहरू नरकको आगोमा फालिन्छन् भनेर भन्न सकेनन्। ती शिशुहरू मरेपछि कहाँ जान्छन् भन्ने कुरा तिनीहरूका लागि अन्योलको विषय रह्यो। कोही मानिस नभएको ठाउँ जुन न स्वर्ग न पृथ्वीको कुनै ठाउँ अर्थात् लिम्बोमा ती निर्दोष शिशुहरू बस्नेछन् भन्ने शिक्षा चर्चको थिएन, तैपनि यो शिक्षा शताब्दियौंसम्म क्याथोलिक मत रह्यो।आदम र हव्वाले गरेको पापमाथिको विश्वासलाई कमजोर पार्ने अर्को कारण पनि छ। त्यो हो: १९ औं शताब्दीमा दार्शनिक, वैज्ञानिक र धर्मविद्हरूले बाइबलका विवरण ऐतिहासिक हो कि होइन भनेर उठाएको प्रश्न। डार्विनको क्रमविकासको सिद्धान्तले गर्दा थुप्रै मानिसलाई आदम र हव्वाको विवरण मिथ्या हो भन्ने भान परेको छ। यी सब कारणले गर्दा आज थुप्रैले बाइबललाई परमेश्वरको वचन होइन तर यसका लेखकहरूको विचार र परम्पराको उपज मान्छन्।
यस्ता कुराले आदम र हव्वाको पापको शिक्षालाई कहाँ पुऱ्याउँछ? स्पष्टत: चर्च जानेहरूलाई आदम र हव्वा अस्तित्वमै थिएनन् भनेर विश्वास गर्न लगाइन्छ भने, आदम र हव्वाले कहिल्यै पाप गरेका थिएनन् भनेर निष्कर्षमा पुग्नु तर्कसंगत छ। मानिसजाति सुरुदेखि नै असिद्ध छन् भनेर स्वीकार्न चाहनेहरूसमेत आदम र हव्वाले गरेको पापप्रतिको धारणा मानिसजाति असिद्ध छन् भन्ने अर्को तरिका मात्र हो भन्ठान्छन्।
त्यसोभए आदम र हव्वाले गरेको जस्तो पाप नै छैन भने मानिसले जानाजानी गर्ने पापबारे चाहिं के भन्न सकिन्छ?
के यो साँच्चै पाप हो?
व्यक्तिगत पापबारे सोध्दा थुप्रैले दस आज्ञाबारे सोच्छन्। जस्तै: हत्या नगर्नू, वैवाहिक बन्धनमा अवफादार नहुनू, कामवासनामा नडुब्नू, विवाहअघि यौन सम्बन्ध नराख्नू, नचोर्नू आदि। यस्ता पापको पश्चात्ताप नगरी कोही मऱ्यो भने उसले नरकको आगोमा सदाको लागि सास्ती भोग्नेछ भन्ने शिक्षा चर्चहरूको परम्परागत शिक्षा थियो। b
नरकको सास्तीबाट बच्ने हो भने पाप गरेको छु भनेर पादरीसामु स्वीकार्नुपर्छ भनेर क्याथोलिक चर्च भन्छ। पादरीसित माफी दिने शक्ति छ भनेर क्याथोलिक चर्च दाबी गर्छ। तथापि थुप्रै क्याथोलिकको लागि भने पापको स्वीकारोक्ति, पापको क्षमा र प्रायश्चित ‘उहिलेका कुरा खुइले’ भनेजस्तै भएको छ। उदाहरणको लागि हालैको सर्वेक्षणअनुसार इटालीका ६० प्रतिशतभन्दा धेरै क्याथोलिकले पापको स्वीकारोक्ति गर्न छोडेका छन्।
चर्चले सिकाएझैं व्यक्तिगत पाप र यसका नतिजाहरूको
परम्परागत धारणाले मानिसहरूलाई पापी काम गर्नदेखि जोगाउन सकेको छैन भनेर स्पष्ट छ। दस आज्ञामा निषेध गरिएका आज्ञाहरूजस्ता कुरा पालन नगर्नु पाप हो भनेर चर्चका थुप्रैले विश्वास गर्न छोडेका छन्। उदाहरणको लागि दुई वयस्कहरू आपसी सहमतीमा यौन सम्पर्क गर्छन्। अर्को व्यक्तिलाई यसले हानि पुऱ्याउँदैन भने यसमा के खराबी छ र? भनी कोही-कोही तर्क गर्छन्।यस्तो तर्क गर्नुको एउटा कारण पापबारे सिकाइएका कुराहरूमा ती मानिसहरू विश्वस्त हुन नसकेकोले गर्दा हो। वास्तवमा मायालु परमेश्वरले पापीहरूलाई नरकको आगोमा सदाको लागि सास्ती दिनुहुन्छ भनेर विश्वास गर्न थुप्रैलाई गाह्रो लाग्छ। यस्ता कुराले “पाप”-को गम्भीरता एकदमै गुमेको कारणबारे केही हदसम्म भए पनि बताउँछ। तर अरू कारणहरूले गर्दा पनि मानिसहरूको मनमा आफू पापी छु भन्ने भावना हराएको छ।
परम्परागत मूल्यमान्यताको तिरस्कार
विगत केही शताब्दीअघिका घटनाहरूले समाज र मानिसहरूको सोचविचारमा ठूलो परिवर्तन ल्याएको छ। दुई वटा विश्व-युद्ध, अनगिन्ती साना युद्धहरू र विभिन्न किसिमका नर-संहारहरूले गर्दा परम्परागत मूल्यमान्यताको महत्त्वमाथि थुप्रैको मनमा प्रश्न उठेको छ। तिनीहरू सोध्छन्, ‘यस प्राविधिक युगमा शताब्दीयौंअघि बनाएको र आधुनिक कुरासित कुनै मेल नखाने स्तरअनुरूप जीवन बिताउनुको के कुनै अर्थ छ र?’ थुप्रै तर्कवादी र नीतिवादीहरूले यसरी जीवन बिताउनुको कुनै अर्थ छैन भनेर निष्कर्ष निकालेका छन्। तिनीहरूको विश्वासअनुसार मानिसजातिले पुराना जमानाका कुनै-कुनै विश्वासहरू त्याग्नुपर्छ र आफ्नो योग्यता प्रस्फुटन गर्न आफूलाई शिक्षित बनाउनुपर्छ।
यस प्रकारको सोचले मानिसलाई परमेश्वरबाट टाढा पुऱ्याएको छ। थुप्रै युरोपेली देशमा थोरै मानिसहरू मात्र चर्च जाने गर्छन्। सामान्यतः कुनै कुरामा पनि विश्वास नगर्ने मानिसको संख्या बढिरहेको छ। थुप्रैले चर्चका सिद्धान्तहरूको खुल्लमखुल्ला विरोध गर्छन्। तिनीहरूको विचारमा ती सिद्धान्तहरूको कुनै अर्थ छैन। यदि मानिस विकास भएर आएको हो अनि परमेश्वर पनि हुनुहुन्न भने नैतिक स्तर उल्लङ्घन गर्दा पाप लाग्ने वास्तवमा त्यस्तो कुनै कुरा छैन।
पश्चिमी मुलुकमा नैतिक स्तर पालन गर्नदेखि मुक्त हुने प्रयास गर्दा २० औं शताब्दीमा अरू थुप्रै कुरामध्ये यौन-क्रान्ति भनौदो गतिविधि पनि भयो। विद्यार्थी आन्दोलन, सामाजिक मूल्यमान्यता विरोधी अभियान र डाक्टरद्वारा सिफारिस गरिएका गर्भनिरोधक साधनहरू यी सबै कुराले मर्यादासम्बन्धी परम्परागत धारणालाई तिरस्कार गर्नमा योगदान पुऱ्याएको छ। जसले गर्दा बाइबलका मूल्यमान्यताहरू तुरुन्तै तिरस्कार गरियो। नयाँ पुस्ताले
पापप्रतिको नयाँ खाले नैतिकता र मनोवृत्तिको समर्थन गऱ्यो। एक जना लेखक भन्छन्, त्यहाँदेखि यता “के सही र के गलत भनेर छुटाउने आधार रोमान्टिक प्रेम” भयो। यो कुरा विश्वभरि अवैध यौनसम्बन्धलाई स्वीकारिएको कुरामा मुख्यतः देखियो।मन रिझाउने धार्मिक संस्कार
अमेरिकाको परिस्थितिबारे न्युजवीक पत्रिकाले यस्तो स्पष्ट टिप्पणी गऱ्यो: “पादरीहरूले मानिसलाई मन पर्ने कुरा नै प्रचार गर्नुपर्छ नत्र तिनीहरू भड्किनेछन्।” आफ्ना श्रोताहरूबाट उच्च नैतिक स्तरको माग गऱ्यो भने तिनीहरूलाई गुमाउनुपर्नेछ भनेर ती पादरीहरू डराउँछन्। नम्रता खेती गर्नुपर्ने, अनुशासित हुनुपर्ने र सद्गुण देखाउनुपर्ने वा अन्तस्करणलाई घच्घच्याउनुपर्ने र आफ्नो पापको पश्चात्ताप गर्नुपर्ने जस्ता कुरा मानिसहरू सुन्न चाहँदैनन्। त्यसैले थुप्रै चर्चले सिकागो सन-टाइम्स-ले भनेको कुरा जस्तै गर्दै छन्। मतलब “आफूलाई ख्रीष्टियानजस्तो देखाउने तर वास्तवमा बाइबलको सुसमाचार सुनाउन छोडेर आफैलाई महत्त्व दिइएको सन्देश ती चर्चहरूले प्रचार गर्न थालेका छन्।”
यसले गर्दा परमेश्वरलाई आफ्नै तरिकामा व्याख्या गर्ने धार्मिक सोचाइ विकास भएको छ। चर्चहरूले परमेश्वर र उहाँले हामीबाट के चाहनुहुन्छ भन्ने कुरामा होइन तर मानिसमा र केले उनीहरूमा आत्म-सम्मान बढाउन सकिन्छ त्यस कुरामा ध्यान केन्द्रित गरेका छन्। चर्चको मुख्य उद्देश्य मण्डलीको चाहना पूर्ति गर्नु हो। यसको नतिजास्वरूप तिनीहरूको धर्म सिद्धान्तविनाको धर्म भएको छ। द वल स्ट्रीट जर्नल लेख्छ: “ख्रीष्टियान नैतिक स्तरले जुन प्रमुख स्थान ओगटेको थियो, त्यसको ठाउँ अहिले केले लिएको छ? दयालु हुनुपर्छ भन्ने मूल्यमान्यताले। किनकि अरूको अगाडि असल भइटोपल्दा उसको सय गुना पाप माफ हुन्छ।”
यी सबै कुराको नतिजास्वरूप मानिसलाई राम्रो लाग्ने कुरा सिकाउने जुनै धर्म पनि ठीक हो भन्ने मनोवृत्ति पैदा भयो। द वल स्ट्रीट जर्नल-ले बताएअनुसार यस्तो दृष्टिकोण अपनाउने जोसुकैले “वास्तविक नैतिक स्तर पालन गर्न नपरुन्जेल आफूलाई सान्त्वना दिने तर न्याय नगर्ने जुनै पनि विश्वास अपनाउन सक्छ।” अनि ‘म जस्तो छु ठिकै छु’ भन्नेहरूलाई कुनै नैतिक स्तरको माग नराखी तिनीहरूलाई स्वीकार्न चर्चहरू तयार छन्।
माथि उल्लेख गरिएको कुराले बाइबल पाठकहरूलाई प्रेरित पावलले गरेको भविष्यवाणीको सम्झना गराउन सक्छ। तिनले भने: “यस्तो समय आउनेछ, जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्, तर आफ्ना अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थुप्रो लगाउनेछन्, र जे सुन्नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्नेछन्, र सत्यतर्फबाट कान फर्काएर दन्त्यकथाहरूतिर लाग्नेछन्।”—२ तिमोथी ४:३, ४.
पापलाई बेवास्ता गर्ने, पापको अस्तित्व इन्कार गर्ने र आफ्ना अनुयायीहरूलाई बाइबलको कुरा नभई तिनीहरूलाई मन पर्ने कुराहरू बताएर तिनीहरूको कान सुन्न “उत्सुक” बनाउने धार्मिक नेताहरूले ती अनुयायीहरूलाई हानि पुऱ्याइरहेका छन्। ती नेताहरूको त्यस्ता सन्देश झूटा र खतरनाक छन्। यस्ता सन्देशले ख्रीष्टियान धर्मको खास शिक्षाको गलत अर्थ लगाएको छ। येशू र उहाँका प्रेरितहरूले सिकाएको सुसमाचारको प्रमुख विषय पाप र पापको क्षमा थियो। कसरी? यस विषयमा पछिका लेख पढ्न तपाईंलाई आमन्त्रित गर्छौं। ( w10 -E 06/01)
[फुटनोट]
a लिम्बो बाइबलको शिक्षा होइन र यसले थुप्रैलाई अन्योलमा पारेको छ। सायद यही कारण हालको क्याथोलिक धर्मशिक्षाबाट यसलाई हटाइएको छ। पृष्ठ १० मा भएको “चर्चको शिक्षामा व्यापक परिवर्तन” शीर्षकको पेटी हेर्नुहोस्।
b नरकको आगोमा सदाको लागि सास्ती भोग्ने शिक्षालाई बाइबलले समर्थन गर्दैन। यसबारे विस्तृत जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको “मरिसकेकाहरू कहाँ छन्?” अध्याय ६ हेर्नुहोस्।
[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]
मानिसहरूको मन रिझाउने धार्मिक संस्कारले खराब फल फलाउँछ
[पृष्ठ ६-मा भएको पेटी]
“पाप न साप!”
▪ “पापप्रतिको यस्तो दृष्टिकोण आज चर्चको सबैभन्दा ठूलो बाधक हो। हामी आफूलाई क्षमा चाहिने ‘पापी’-को रूपमा हेर्दैनौं। पाप एउटा समस्या थियो होला तर अहिले ‘पाप न साप’ भएको छ। त्यसैले चर्चसँग पापसम्बन्धी समस्याको समाधान भए तापनि धेरैजसो अमेरिकीहरूको नजरमा यो समस्या होइन, कम्तीमा पनि यो गम्भीर समस्या त हुँदै होइन।—धर्मसम्बन्धी लेखक जोन ए. स्टुडबेकर जुनियर।
▪ “मानिसहरू भन्छन्: ‘म आफैबाट र अरूबाट उच्च नैतिक स्तरको आशा गर्छु तर मलाई थाह छ हामी सबै मान्छे न हौं। त्यसैले गर्न सक्ने जति गर्न चाहन्छु।’ जे गर्दै छौं ठिकै गर्दै छौं भन्ने सोचाइ राखी परम्परागत मध्यम स्तरको नैतिकता पालन गरेर हामी ढुक्क महसुस गर्छौं। ‘म असल छिमेकी हुँ’ जस्तो हामीलाई लाग्छ। तर पापजस्तो ठूलो विषयलाई भने हामीले बेवास्ता गरेका छौं।”—सदर्न ब्याप्टिस्ट थियोलोजिकल सेमिनरीका अध्यक्ष अल्बर्ट मोलर।
▪ पहिला लजास्पद ठानिने कामहरूमा [सात महापाप भनौदा जस्ता कुरा] अहिले मानिसहरू घमन्ड गर्छन्। आमाबाबुहरू छोराछोरीलाई आत्म-सम्मानको लागि घमन्डी हुनु आवश्यक छ भनेर प्रोत्साहन दिन्छन्; घिचुवा हुनु कुनै पाप होइन भनेर फ्रान्सेली भान्सेहरूले भ्याटिकनलाई बिन्ती चढाएका छन्। ईर्ष्यालाई चर्चित सञ्चार माध्यमले मानिसहरूलाई आकर्षित गर्ने प्रकारले प्रस्तुत गर्छ। कामवासना विज्ञापनको एउटा रणनीति भएको छ। चित्त दुख्दा रिसाउनु ठिकै ठानिन्छ। कहिलेकाहीं साँच्चै मलाई अल्छे हुन मन लाग्छ।”—न्यान्सी गिब्स, टाइम पत्रिका।
[पृष्ठ ५-मा भएको चित्र]
आदम र हव्वाको विवरणलाई आज थुप्रैले मिथ्या ठान्छन्