सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पापबारे साँचो कुरा

पापबारे साँचो कुरा

पापबारे साँचो कुरा

जरो आएको मान्छेले थर्मोमिटर फुटाउँदैमा उसलाई जरो आएको छैन भनेर प्रमाणित गर्न सक्छ र? पक्कै सक्दैन। त्यसैगरि थुप्रैले पापप्रति परमेश्‍वरको दृष्टिकोण तिरस्कार गर्दैमा पाप भन्‍ने कुरै छैन भन्‍न मिल्दैन। परमेश्‍वरको वचन बाइबलमा पापबारे थुप्रै कुरा बताइएको छ। बाइबलले पापबारे वास्तवमा के सिकाउँछ?

सबै चुक्छन्‌

करिब दुई हजार वर्षअघि प्रेरित पावलले “असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्‍नँ, त्यही म गर्नेगर्छु” भनेर निराशा व्यक्‍त गरे। (रोमी ७:१९) हामी इमानदार छौं भने आफ्नो परिस्थिति त्यस्तै छ भनेर स्वीकार्छौं। हामी दस आज्ञाअनुसार वा अरू कुनै स्तरअनुसार जीवन बिताउने इच्छा त गरौंला। तर चाहे पनि नचाहे पनि हामी सबै त्यसमा चुक्छौं। त्यसो भन्दैमा जानाजानी मूल्यमान्यताअनुसार नचल्न त हामी चाहँदैनौ, तर के गर्ने हामी कमजोर छौं। भन्‍नुको मतलब? पावल आफै यस्तो जवाफ दिन्छन्‌: “जो म इच्छा गर्दिनँ, त्यही गर्छु भने, त्यो गर्ने अब म होइनँ, तर मभित्र बास गर्ने पाप हो।”—रोमी ७:२०.

पावललाई जस्तै सबै मानिसजातिलाई जन्मजात कमजोरीहरूले अर्थात्‌ जन्मजात पाप र असिद्धताले पिरोलेको छ। यी प्रेरितले भने: “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुन गएका छन्‌।” यस्तो अवस्था हुनुको कारण के हो? पावल भन्दै जान्छन्‌: “जसरी एउटै मानिसद्वारा [आदमद्वारा] पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।”—रोमी ३:२३; ५:१२.

प्रथम मातापिताले गरेको पापको कारण हामी परमेश्‍वरदेखि बिराना भएका छौं र तिनीहरूले सुरुमा अनुभव गरेको सिद्धता हामीले गुमाएका छौं भन्‍ने धारणालाई थुप्रैले तिरस्कार गरे तापनि वास्तवमा यो बाइबलको शिक्षा हो। येशूले प्रमाणको रूपमा उत्पत्तिको पुस्तकको पहिलो अध्याय उल्लेख गरेर आदम र हव्वाको विवरणमा आफूले विश्‍वास गरेको कुरा देखाउनुभयो।—उत्पत्ति १:२७; २:२४; ५:२; मत्ती १९:१-५.

येशूमा विश्‍वास गर्नेहरूलाई तिनीहरूको पापी अवस्थाबाट मुक्‍त गर्न उहाँ पृथ्वीमा आएको कुरा बाइबलको एउटा मुख्य सन्देश हो। (यूहन्‍ना ३:१६) कृतज्ञ मानिसहरूलाई तिनीहरूले वशमा राख्न नसकेको नाजुक अवस्थाबाट मुक्‍त गर्न यहोवाले चलाएको माध्यम स्वीकार्नुमा हाम्रो भावी जीवनको प्रत्याशा निर्भर छ। तर परमेश्‍वरको दृष्टिकोणमा पाप के हो, हामीले स्पष्ट बुझेका छैनौं भने उहाँले हामीलाई पापबाट बचाउन प्रबन्ध गरेको माध्यमप्रति कृतज्ञ हुन सक्दैनौं।

येशूको बलिदान अनि यसको आवश्‍यकता

यहोवाले प्रथम पुरुषलाई सधैंभरि बाँच्ने प्रत्याशा दिनुभएको थियो। आदमले परमेश्‍वरको विरोध गरेमा मात्रै उसले त्यो अद्‌भूत प्रत्याशा गुमाउने थियो। आदमले पाप गऱ्‍यो र ऊ पापी भयो। (उत्पत्ति २:१५-१७; ३:६) आदमको काम परमेश्‍वरको इच्छा विपरीत थियो। त्यसले गर्दा उसले सिद्ध अवस्था गुमायो र परमेश्‍वरसितको आफ्नो सम्बन्ध बिगाऱ्‍यो। परमेश्‍वरको नियम तोडेर पाप गरेपछि ऊ बूढो हुन थाल्यो र अन्ततः मऱ्‍यो। दुःखको कुरा आदमका सन्तान, हामी सबै जन्मँदै पापी भयौं र मर्नेछौं। कसरी?

कुरा स्पष्ट छ। असिद्ध आमाबाबुले सिद्ध छोराछोरी जन्माउन सक्दैनन्‌। आदमका सबै सन्तान पापी भएर जन्मिए। प्रेरित पावलले भनेझैं “पापको ज्याला मृत्यु हो।” (रोमी ६:२३) तथापि यस पदको दोस्रो भागले हामीलाई यस्तो आशा दिन्छ: “तर परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” हो, कृतज्ञ र आज्ञाकारी मानिसहरू आदमले गरेको पापको असरबाट मुक्‍त हुन येशूको बलिदानमार्फत सम्भव छ। a (मत्ती २०:२८; १ पत्रुस १:१८, १९) यस कुराले तपाईंमा कस्तो असर पार्नुपर्छ?

ख्रीष्टको प्रेमले “हामीलाई करमा पार्दछ”

परमेश्‍वरले प्रेरित पावललाई माथिको प्रश्‍नको जवाफ यसरी दिन लगाउनुभयो: “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ, किनभने हामी यसरी विचार गर्छौं, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै मरे, औ उहाँ सबैका निम्ति मर्नुभयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि बिउँतनु पनि भयो।” (२ कोरिन्थी ५:१४, १५) येशूको बलिदानले पापका असरहरूबाट मुक्‍त गर्न सक्छ भनेर कसैले मानिलिन्छ अनि त्यस बलिदानको प्रबन्धप्रति कृतज्ञता देखाउने इच्छा गर्छ भने उसले आफ्नो जीवन परमेश्‍वरको इच्छाअनुसार बिताउने कोसिस गर्नुपर्छ। यसमा परमेश्‍वरले हामीबाट चाहने कुरा बुझ्नु, आफ्नो अन्तस्करण बाइबलको स्तरअनुसार प्रशिक्षण दिनु र त्यसैअनुरूप जीवन बिताउनु समावेश छ।—यूहन्‍ना १७:३, १७.

पापले यहोवासितको हाम्रो सम्बन्ध बिगार्छ। बेतशेबासित व्यभिचार गरेपछि र उसको पतिको हत्या गरेपछि राजा दाऊदले त्यसको गम्भीरता बुझे र तिनलाई साह्रै पछुतो लाग्यो। आफ्नो पापले परमेश्‍वरलाई दुःखित तुल्याएँ भन्‍ने कुरामा तिनलाई सबैभन्दा धेरै चिन्ता लागेको थियो। त्यस्तो चिन्ता लाग्नु उचित पनि थियो। यहोवासामु पछुताउँदै तिनले आफ्नो पाप यसरी स्वीकारे: “तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जो खराबी छ, त्यही गरेको छु।” (भजन ५१:४) त्यस्तैगरि जब यूसुफ व्यभिचारको प्रलोभनमा पर्न लागे तब उनको अन्तस्करणले यसरी झकझकायो: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?”—उत्पत्ति ३९:९.

त्यसैले पाप भनेको हामीबाट कुनै गलत काम हुन गएपछि नराम्रो लागेकोले आफूलाई खराब ठान्‍नु मात्रै होइन। साथै पाप भनेको हामी कुनै असल काम गर्नबाट चुक्न सक्ने भएकोले मानिसहरूको धारणा र समाजप्रति जवाफदेही हुनु पनि होइन। यौन, इमानदारिता, आदर, उपासना र अरू त्यस्तैबारे परमेश्‍वरले दिएका नियमहरू उल्लङ्‌घन गर्दा उहाँसितको हाम्रो सम्बन्ध बिग्रन्छ। यदि हामी जानाजानी पाप गर्छौं भने हामीले आफूलाई परमेश्‍वरको दुस्मन बनाइरहेका हुन्छौं। यस तथ्यलाई गम्भीर भई सोच्नुपर्छ।—१ यूहन्‍ना ३:४, ८.

त्यसोभए पापलाई के भएको छ त? वास्तविकता यो हो कि पापलाई केही भएको छैन। पापको गम्भीरता कम होस्‌ भनेर पापलाई हेर्ने दृष्टिकोण मात्रै फरक भएको छ। थुप्रैको अन्तस्करण बोधो भएको छ कि चाहिं तिनीहरूले आफ्नो अन्तस्करणलाई बेवास्ता गरेका छन्‌। परमेश्‍वरको अनुमोदन चाहने प्रत्येक यस्तो झुकावदेखि जोगिनै पर्छ। पापको ज्याला मनमा दुःख लाग्नु वा नराम्रो लाग्नु मात्रै होइन तर मृत्यु हो भनेर हामीले माथि छलफल गरिसक्यौं। पापमा जीवन-मरणको सवाल छ।

सुसमाचार यो हो—यदि हामी इमानदारपूर्वक आफ्नो पापको पश्‍चात्ताप गर्छौं र त्यो त्याग्छौं भने पापबाट मुक्‍त गर्ने येशूको बलिदानमार्फत क्षमा पाउन सम्भव छ। पावलले लेखे: “तिनीहरू धन्यको हुन्‌, जसका अपराध क्षमा भएको छ, र जसको पाप ढाकिएको छ। त्यो मानिस धन्यको हो, जसको पापको लेखा परमेश्‍वर लिनुहुन्‍न।”—रोमी ४:७, ८.  ( w10 -E 06/01)

[फुटनोट]

a येशूको मृत्युमा आज्ञाकारी मानिसजातिलाई बचाउन सक्ने शक्‍ति छ भन्‍नेबारे विस्तृत जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको पृष्ठ ४७-५४ हेर्नुहोस्‌।

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

चर्चको शिक्षामा व्यापक परिवर्तन

क्याथोलिक चर्चमा जाने धेरैजसोले “लिम्बो”-बारे कहिल्यै राम्ररी बुझ्न सकेनन्‌। हालैका दशकमा लिम्बोको शिक्षा बिस्तारै ओझेलमा पर्न थालेको छ। यहाँसम्म कि चर्चको धार्मिक शिक्षाबाट यो विषय हटेर गएको छ। सन्‌ २००७ मा क्याथोलिक चर्चले लिम्बोसम्बन्धी शिक्षा अबदेखि नसिकाउने भनेर आधिकारिकरूपमा हस्ताक्षर गऱ्‍यो। हस्ताक्षर गरिएको त्यस कागजातमा यस्तो कुरा उल्लेख थियो: “बप्तिस्मा नलिई मरेका बच्चाहरू बचेर सायद अनन्त सुखमा प्रवेश गर्न सक्छन्‌ भनी आशा गर्न सकिने धार्मिक र उपासनासम्बन्धी कारणहरू छन्‌।”।—धर्मसम्बन्धी अन्तरराष्ट्रिय आयोग।

चर्चले सिकाउने कुरामा किन यस्तो व्यापक परिवर्तन? यसो गर्दा फ्रान्सका स्तम्भकार हेनरी टेकले भनेको बोझिलो परम्पराबाट चर्च मुक्‍त हुन पायो। तिनले यस्तो लेखे: “चर्चले मानिसहरूलाई आफ्नो इसारामा नचाएर एउटा बोझिलो परम्परालाई मध्ययुगदेखि बिसौं शताब्दीसम्म समर्थन गरेको थियो। आफ्ना बच्चाहरूलाई जति सक्दो चाँडो बप्तिस्मा दिन लगाउन आमाबाबुहरूलाई चर्चले लिम्बोको डर देखायो।” तर लिम्बोसम्बन्धी शिक्षामा यत्तिको परिवर्तन आएकोले अरू प्रश्‍न पनि उठ्‌छन्‌।

परम्परा कि धर्मशास्त्र? इतिहास हेर्दा १२ औं शताब्दीमा पापमोचनसित सम्बन्धित वादविवादले लिम्बोको शिक्षा निस्किएको थियो। मृत्युपछि आत्मा बाँचिरहन्छ भनेर क्याथोलिक चर्चले सिकायो। त्यसकारण बच्चाहरूले बप्तिस्मा नलिएको कारण तिनीहरू स्वर्ग जान सक्दैनन्‌ तर नरकका भागीदार पनि नहुने भएकोले तिनीहरूको आत्मालाई एउटा ठाउँ चाहिन्छ भनेर क्याथोलिक चर्चले सिकायो। यसरी लिम्बोको शिक्षाको सुरुवात भयो।

तर मानिस मरेपछि आत्मा बाँचिरहन्छ भनेर बाइबलले सिकाउँदैन। आत्मा अमर छ भन्‍नुको साटो जुन प्राणीले पाप गर्छ त्यो “नष्ट” हुन्छ र “मर्छ” भनेर बाइबल स्पष्ट बताउँछ। (प्रेरित ३:२३; इजकिएल १८:४) आत्मा वा प्राण मर्छ भने लिम्बोजस्तो ठाउँको आवश्‍यकता नै पर्दैन। अर्को कुरा मरेपछि सुतेको अवस्थामा जस्तै अचेत हुन्छ भनेर बाइबल बताउँछ।—उपदेशक ९:५, १०; यूहन्‍ना ११:११-१४.

बाइबल बताउँछ, ख्रीष्टियान आमाबाबुका छोराछोरीलाई परमेश्‍वर पवित्र ठान्‍नुहुन्छ (१ कोरिन्थी ७:१४) यदि बच्चाहरूले मुक्‍ति पाउन बप्तिस्मा लिनु अनिवार्य हो भने बाइबलले बताएको यस्तो कुराको कुनै अर्थ रहँदैन।

लिम्बोसम्बन्धी शिक्षाले वास्तवमा परमेश्‍वरको अपमान गरेको थियो। लिम्बोको शिक्षाले परमेश्‍वर मायालु बुबाजस्तै नभई निर्दोषहरूलाई सजाय दिने क्रूर, निरङ्‌कुश व्यक्‍तिको रूपमा चित्रण गरेको छ। (व्यवस्था ३२:४; मत्ती ५:४५; १ यूहन्‍ना ४:८) त्यसैले बाइबलमा आधारित नभएको यस्तो शिक्षाको साँचो ख्रीष्टियानहरूका लागि कुनै अर्थ कहिल्यै रहँदैन।

[पृष्ठ ९-मा भएका चित्रहरू]

परमेश्‍वरको वचनअनुरूप जीवन बिताउँदा परमेश्‍वर र मानिसहरूसित सम्बन्ध राम्रो हुन्छ