सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रतीकात्मक महान्‌ कटनीकार्यमा पूरापूर भाग लिनुहोस्‌

प्रतीकात्मक महान्‌ कटनीकार्यमा पूरापूर भाग लिनुहोस्‌

प्रतीकात्मक महान्‌ कटनीकार्यमा पूरापूर भाग लिनुहोस्‌

“प्रभुको काममा प्रशस्त हुँदै जाओ।”—१ कोरि. १५:५८.

१. येशूले आफ्ना चेलाहरूलाई कस्तो निम्तो दिनुभयो?

 इस्वी संवत्‌ ३० को अन्ततिर सामरियाको इलाकामा यात्रा गरिरहँदा येशू सुखार सहरनजिकैको इनारमा आराम गर्न बस्नुभयो। त्यहाँ उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “आफ्ना आँखा गाडेर खेतबारीहरू हेर, किनभने ती अहिलेनै कटनीको लागि पहेंला भएका छन्‌।” (यूह. ४:३५) येशूले यहाँ साँच्चैको कटनीकार्यलाई होइन तर पछि आफ्ना अनुयायीहरू बन्‍ने सही मनसाय भएका मानिसहरूलाई जम्मा गर्ने प्रतीकात्मक कटनीकार्यबारे बताउँदै हुनुहुन्थ्यो। उहाँले वास्तवमा आफ्ना चेलाहरूलाई यस कार्यमा भाग लिन आग्रह गरिरहनुभएको थियो। गर्नुपर्ने काम धेरै थियो तर त्यो पूरा गर्न समय भने थोरै मात्र थियो।

२, ३. (क) कटनी गर्ने समयमा हामी बाँचिरहेका छौं भनेर कुन कुराले सङ्‌केत गर्छ? (ख) यस लेखमा कुन कुरा विचार गर्नेछौं?

कटनीकार्यबारे येशूले बताउनुभएको कुराले हाम्रो समयमा विशेष अर्थ राख्छ। मानिसजातिको खेतरूपी संसार “कटनीको लागि पहेंला भएका” समयमा हामी बाँचिरहेका छौं। वर्षेनी, जीवनदायी सत्य स्वीकार्न लाखौंले निम्तो पाइरहेका छन्‌ अनि अरू हजारौं नयाँ चेलाको बप्तिस्मा भइरहेको छ। फसलका प्रभु यहोवा परमेश्‍वरको सुपरिवेक्षणमा भइरहेको अहिलेसम्मकै सबैभन्दा महान्‌ कटनीकार्यमा भाग लिने सुअवसर हामीले पाएका छौं। के तपाईंले यस कटनीकार्यमा “प्रशस्त” भाग लिइरहनुभएको छ?—१ कोरि. १५:५८.

पृथ्वीमा सेवा गरेको साढे तीन वर्षको दौडान येशूले आफ्ना चेलाहरूलाई यस कटनीकार्यका कामदार बन्‍न तयार बनाउनुभयो। येशूले आफ्ना चेलाहरूलाई सिकाएका थुप्रै पाठमध्ये तीन महत्त्वपूर्ण पाठ हामी यस लेखमा विचार गर्नेछौं। प्रत्येक पाठले एक-एकवटा गुण प्रकाश पार्नेछ, वर्तमान समयमा चेलाहरू जम्मा गर्ने कार्यमा यथासक्दो प्रयास गर्दा ती गुणहरू हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण साबित हुनेछन्‌। आउनुहोस्‌, हामी यी गुणहरू एक-एक गरी विचार गरौं।

नम्रता अत्यावश्‍यक छ

४. नम्रताको महत्त्वलाई येशूले कसरी प्रस्ट पार्नुभयो?

यो दृश्‍य कल्पना गर्नुहोस्‌: आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर चेलाहरूले एकछिनअघि मात्र वादविवाद गरेका थिए। सायद तिनीहरूको मुहारमा अविश्‍वास र वैमनस्यता अझै पनि झल्किरहेको छ। त्यसैले येशू एउटा सानो बालकलाई तिनीहरूको माझमा बोलाउनुहुन्छ। त्यस सानो बालकतर्फ ध्यान केन्द्रित गर्दै उहाँ भन्‍नुहुन्छ: “जसले यो सानो बालकजस्तै आफूलाई नम्र तुल्याउँछ [अर्थात्‌, “आफूलाई सानो बनाउँछ,” बाइङ्‌टन], त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ।” ( मत्ती १८:१-४ पढ्‌नुहोस्‌) संसारले मानिसलाई शक्‍ति, सम्पत्ति र ओहदाको आधारमा ठूलो वा सानो ठान्छ। तर चेलाहरूले भने संसारको यस्तो सोचाइ राख्ने होइन तर अरूको अगाडि ‘आफूलाई सानो बनाउँदा’ ठूलो होइन्छ भनेर बुझ्नु आवश्‍यक थियो। साँचो नम्रता देखाएको खण्डमा मात्र यहोवाले तिनीहरूलाई आशिष्‌ दिनुहुने थियो र तिनीहरूलाई प्रयोग गर्नुहुने थियो।

५, ६. कटनीकार्यमा पूरापूर भाग लिन तपाईं किन नम्र हुनै पर्छ? उदाहरणसहित बताउनुहोस्‌।

अहिलेसम्म पनि संसारका धेरैजसो मानिसहरूले शक्‍ति, सम्पत्ति र ओहदा पाउनमै आफ्नो जीवन होमेका छन्‌। यसकारण तिनीहरूसित परमेश्‍वरबारे सिक्ने र उहाँको सेवा गर्ने समय त्यति छैन वा समय नै छैन भने पनि हुन्छ। (मत्ती १३:२२) यसको ठीक उल्टा, यहोवाका जनहरू भने अरूको अगाडि ‘आफू सानो बन्‍न’ खुसी छन्‌। किनभने यसो गर्दा फसलका प्रभुको आशिष्‌ र अनुमोदन पाउन सकिन्छ।—मत्ती ६:२४; २ कोरि. ११:७; फिलि. ३:८.

फ्रान्सिस्कोको उदाहरण विचार गर्नुहोस्‌। तिनी दक्षिण अमेरिकामा प्राचीनको रूपमा सेवा गर्दैछन्‌। जवान छँदा तिनले विश्‍वविद्यालयको पढाइ छोडेर अग्रगामी सेवा गर्न थाले। ती दिनहरू सम्झँदै तिनी भन्छन्‌: “पछि मेरो विवाह गर्ने पक्कापक्की हुँदा, म र मेरी श्रीमतीको लागि आर्थिक हिसाबले अझ सुरक्षित हुन सक्ने जागिर खान सक्थें। तर हामीले आफ्नो जीवन सरल बनाउने र दुवै जना पूर्ण-समय सेवामा लागिरहने निर्णय गऱ्‍यौं। पछि हाम्रा छोराछोरी जन्मिए अनि चुनौतीहरू पनि थपिए। तर आफ्नो निर्णयमा अडिग रहन यहोवाले हामीलाई मदत गर्नुभयो।” फ्रान्सिस्को अन्तमा भन्छन्‌: “अरू विभिन्‍न विशेष सुअवसरहरूको अलावा मैले विगत ३० वर्षदेखि प्राचीनको रूपमा सेवा गर्ने सुअवसर पाएको छु। सरल जीवन बिताएकोमा हामी एकचोटि पनि पछुताएका छैनौं।”

७. रोमी १२:१६ को सल्लाहलाई तपाईंले कसरी लागू गर्ने प्रयास गर्नुभएको छ?

तपाईं यस संसारका “उच्च” कुराहरूलाई तिरस्कार गर्नुहुन्छ र आफूलाई ‘नम्र कुराहरूतर्फ झुक्न’ दिनुहुन्छ भने तपाईंले पनि यस कटनीकार्यमा थुप्रै आशिष्‌ र सुअवसर अनुभव गर्न सक्नुहुन्छ।—रोमी १२:१६; मत्ती ४:१९, २०; लूका १८:२८-३०.

लगनशीलताको परिणाम राम्रो हुन्छ

८, ९. (क) येशूले बताउनुभएको तोडाको दृष्टान्त छोटकरीमा बताउनुहोस्‌। (ख) यो दृष्टान्त विशेषगरि कसको लागि प्रोत्साहनजनक हुन सक्छ?

कटनीकार्यमा पूरापूर भाग लिन हामीसित हुनुपर्ने अर्को गुण लगनशीलता हो। येशूले यो कुरा तोडाको दृष्टान्तमा प्रस्ट पार्नुभयो। a त्यो दृष्टान्त एक जना मानिसबारे हो, जसले आफ्नो सम्पत्ति तीन जना दासको जिम्मामा सुम्पेर आफू परदेशतिर लागे। पहिलो दासले पाँचवटा र दोस्रो दासले तीनवटा तोडा पाए अनि तेस्रो दासले एउटा। तिनीहरूको मालिक यात्रामा गइसकेपछि पहिलो दुई दासले लगनशील भई आफूले पाएको तोडालाई तुरुन्तै ‘व्यापारमा लगाइहाले।’ तर तेस्रो दास भने “अल्छी” थियो। आफूले पाएको तोडा उसले भुइँमा लुकायो। यात्राबाट फर्केपछि त्यस मालिकले आफ्ना पहिलो र दोस्रो दासलाई “धेरै कुरामा” नियुक्‍त गरे। तेस्रो दासबाट मालिकले आफूले दिएको तोडा खोसे र उसलाई घरबाट निकालिदिए।—मत्ती २५:१४-३०.

निस्सन्देह, येशूले बताउनुभएको दृष्टान्तका लगनशील दासहरूकै अनुकरण गर्न र चेला बनाउने काममा यथासक्दो भाग लिन तपाईं मनदेखि नै इच्छा गर्नुहुन्छ होला। तर परिस्थितिले गर्दा तपाईंले हाल गर्न सक्ने कुरा एकदमै सीमित मात्र छ भने नि? सायद कठिन आर्थिक अवस्थाले गर्दा आफ्नो परिवारको लालनपालन गर्न तपाईंले धेरै घण्टा काम गर्नु परेको छ होला। अथवा जवानीको जस्तो तागत वा स्वास्थ्य पनि छैन होला। त्यसो हो भने, तोडाको दृष्टान्तबाट तपाईंले प्रोत्साहनजनक पाठ सिक्न सक्नुहुन्छ।

१०. तोडाको दृष्टान्तका मालिकले कसरी व्यावहारिकता देखाए अनि तपाईंलाई यो किन प्रोत्साहनजनक लाग्छ?

१० याद गर्नुहोस्‌, यस दृष्टान्तका मालिकले आफ्ना दासहरूसित फरक-फरक क्षमता छ भनेर बुझेका थिए। यसैकारण त उनले “हरेकलाई तिनीहरूका आफ्ना आफ्ना खूबीअनुसार” तोडा दिए। (मत्ती २५:१५) अनि आशा गरेअनुसारै दोस्रो दासले भन्दा पहिलोले धेरै नै व्यापार गऱ्‍यो। तर मालिकले यी दुवै दासको लगनशील प्रयासको कदर गरेको हुनाले तिनीहरूलाई “असल र इमानदार” दास भने अनि दुवैलाई एकैनासको इनाम दिए। (मत्ती २५:२१, २३) त्यसरी नै, आफ्नो परिस्थितिले गर्दा उहाँको सेवामा तपाईं के-कति गर्न सक्नुहुन्छ, त्यो कुरा फसलका प्रभु यहोवा परमेश्‍वरलाई थाह छ। तपाईंले गर्ने तनमनको सेवालाई उहाँले पक्कै याद गर्नुहुनेछ र त्यसैअनुसारको इनाम दिनुहुनेछ।—मर्कू. १४:३-९; लूका २१:१-४ पढ्‌नुहोस्‌।

११. कठिन परिस्थितिमा पनि लगनशील हुँदा कसरी प्रचुर आशिष्‌ पाइन्छ? उदाहरणसहित बताउनुहोस्‌।

११ ब्राजिलकी ख्रीष्टियान बहिनी सेल्मिराको उदाहरणले आफूले चिताएजस्तो अवस्था भयो भने मात्र परमेश्‍वरको सेवामा लगनशील हुन सकिन्छ भन्‍ने होइन भनेर देखाउँछ। बीस वर्षअघि भएको डकैतीको एउटा घटनामा सेल्मिराको पतिलाई गोली हानेर मारियो। यसले गर्दा सेल्मिराले स-साना तीनवटी छोरीहरूको स्याहारसुसार एक्लैले गर्नुपऱ्‍यो। उनले अरूको घरमा धेरै घण्टा काम गर्नुपर्थ्यो। अनि सहरको सवारीसाधनमा कोच्चिएर साह्रै थकाइलाग्दो यात्रा गर्नुपर्थ्यो। यस्ता असुविधाहरू भए तापनि उनले नियमित अग्रगामीको रूपमा सेवा गर्न आफ्नो कामकुरा छाँटकाँट गरिन्‌। तीन छोरीमध्ये दुइटीले पछि उनीसँगै अग्रगामी सेवा गरे। सेल्मिरा भन्छिन्‌, “वर्षौंको दौडान २० भन्दा धेरै जनाले मसित बाइबल अध्ययन गरे र तिनीहरू मेरो ‘परिवारको’ सदस्य बनेका छन्‌। आजसम्म पनि मैले तिनीहरूको न्यानो माया र मित्रता अनुभव गरिरहेकी छु। यो पैसाले किन्‍न नसकिने अनमोल कुरा हो।” फसलका प्रभुले सेल्मिराको लगनशील प्रयासमाथि साँच्चै इनाम बर्साउनुभएको छ!

१२. प्रचारकार्यमा हामी कसरी लगनशीलता देखाउन सक्छौं?

१२ अहिलेको परिस्थितिले गर्दा प्रचारकार्यमा तपाईं त्यति धेरै समय बिताउन सक्नुहुन्‍न भने पनि आफ्नो प्रचारकार्यलाई अझ फलदायी बनाएर कटनीकार्यमा आफ्नो सहभागिता बढाउने प्रयास गर्न सक्नुहुन्छ। हरेक हप्ता हुने सेवा सभामा दिइने व्यावहारिक सुझावहरू लागू गर्न सजग हुनुभयो भने, तपाईंले प्रचार गर्ने क्षमता तिखार्नुहुनेछ र साक्षी दिने नयाँ-नयाँ तरिका पत्ता लगाउनुहुनेछ। (२ तिमो. २:१५) सम्भव छ भने, मण्डलीको क्षेत्र सेवाको प्रबन्धमा नियमित भाग लिनको लागि आफ्नो तालिका छाँटकाँट गर्न वा केही अनावश्‍यक कामकुरा पन्छाउन सक्नुहुन्छ।—कल. ४:५.

१३. लगनशीलता विकास गर्ने र त्यसलाई कायमै राख्ने मुख्य तरिका के हो?

१३ नबिर्सनुहोस्‌, यहोवाप्रतिको प्रेम र कृतज्ञताले गर्दा हामी लगनशील हुन्छौं। (भज. ४०:८) येशूको दृष्टान्तमा उल्लेख गरिएको तेस्रो दास, आफ्नो मालिक अचाक्ली माग गर्ने र अव्यावहारिक मानिस हुन्‌ भन्ठानेर तिनीसित डरायो। फलस्वरूप उसले आफ्नो मालिकको सम्पत्ति बढाउनुको साटो त्यो भुइँमा लुकायो। यस्तो लापरवाह मनोवृत्ति विकास नगर्न हामीले फसलका प्रभु यहोवा परमेश्‍वरसित न्यानो सम्बन्ध विकास गर्नुपर्छ र त्यसलाई कायमै राख्नुपर्छ। प्रेम, धैर्य र कृपाजस्ता उहाँका मनमोहक गुणहरू अध्ययन गर्न र मनन गर्न समय छुट्टयाउनुहोस्‌। यसो गर्नुभयो भने उहाँलाई सर्वोत्तम सेवा चढाउन तपाईं मनैदेखि उत्प्रेरित हुनुहुनेछ।—लूका ६:४५; फिलि. १:९-११.

तिमीहरू पवित्र होओ”

१४. कटनीकार्यमा भाग लिने कामदारहरूले कुन महत्त्वपूर्ण आवश्‍यकता पूरा गर्नै पर्छ?

१४ पृथ्वीमा आफ्ना सेवकहरूको लागि परमेश्‍वरको इच्छा के हो भन्‍ने विषयमा प्रेरित पत्रुसले हिब्रू धर्मशास्त्रबाट उद्धरण गर्दै यसो भनेका छन्‌: “तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, ‘तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।’ ” (१ पत्रु. १:१५, १६; लेवी १९:२; व्यव. १८:१३) यो अभिव्यक्‍तिले कटनीकार्यमा भाग लिने कामदारहरू नैतिक तथा आध्यात्मिक तवरमा शुद्ध हुनुपर्छ भनेर प्रकाश पार्छ। प्रतीकात्मक अर्थमा भन्‍ने हो भने, शुद्ध हुने महत्त्वपूर्ण कदमहरू चालेर हामीले त्यो आवश्‍यकता पूरा गर्न सक्छौं। त्यो कसरी गर्न सकिन्छ? परमेश्‍वरको सत्य वचनको मदतद्वारा।

१५. परमेश्‍वरको वचनमा हाम्रो लागि के गरिदिने क्षमता छ?

१५ परमेश्‍वरको सत्य वचनलाई शुद्ध पार्ने पानीसित तुलना गरिएको छ। उदाहरणका लागि, प्रेरित पावलले अभिषिक्‍त ख्रीष्टियानहरूको मण्डली परमेश्‍वरको नजरमा शुद्ध, ख्रीष्टकी चोखो दुलहीजस्तै छे भनेर लेखे, जसलाई ख्रीष्टले “वचनद्वारा पानीले धोएर शुद्ध पारी चोख्याउनुभयो,” ताकि ‘त्यो पवित्र र निर्दोष होस्‌।’ (एफि. ५:२५-२७) येशूले पनि परमेश्‍वरको वचनको शुद्ध गर्ने क्षमताबारे बताउनुभएको थियो र उहाँले यही वचनबारे घोषणा गर्नुभयो। येशूले चेलाहरूलाई यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई बोलेका वचनको कारणले गर्दा तिमीहरू अघिनै शुद्ध भइसकेका छौ।” (यूह. १५:३) अतः परमेश्‍वरको सत्य वचनमा नैतिक तथा आध्यात्मिक शुद्धीकरण गर्ने क्षमता छ। परमेश्‍वरको सत्यले हामीलाई यसरी शुद्ध पार्न दियौं भने मात्र उहाँले हाम्रो उपासना स्वीकार्नुहुनेछ।

१६. हामी कसरी आफूलाई आध्यात्मिक र नैतिक तवरमा शुद्ध राख्न सक्छौं?

१६ तसर्थ, परमेश्‍वरको कटनीकार्यमा भाग लिने कामदार हुन सर्वप्रथम, हामीले नैतिक तथा आध्यात्मिक तवरमा अशुद्ध पार्ने सबै कुरा आफ्नो जीवनबाट हटाउँछौं। यसरी कटनीकार्यका कामदारको रूपमा जुन सुअवसर पाउँछौं, त्यसको लागि योग्य भइरहन यहोवाको उच्च नैतिक तथा आध्यात्मिक स्तरलाई समर्थन गरिरहने सन्दर्भमा हामी उदाहरणीय हुनै पर्छ। ( १ पत्रुस १:१४-१६ पढ्‌नुहोस्‌) जसरी हामी आफ्नो शारीरिक सरसफाइलाई सधैं ध्यान दिइरहन्छौं, त्यसरी नै परमेश्‍वरको सत्य वचनद्वारा पनि नियमित तवरमा शुद्ध भइरहनुपर्छ। यसको लागि बाइबल पढ्‌नुपर्छ अनि ख्रीष्टियान सभाहरू धाउनुपर्छ। साथै परमेश्‍वरका सम्झौटाहरू इमानदार भई आफ्नो जीवनमा लागू गर्ने प्रयास गर्नुपर्छ। यसो गऱ्‍यौं भने आफ्ना पापी झुकावहरूविरुद्ध सङ्‌घर्ष गर्न अनि यस संसारका भ्रष्ट प्रभावहरूको प्रतिरोध गर्न मदत पाउनेछौं। (भज. ११९:९; याकू. १:२१-२५) हो, परमेश्‍वरको सत्य वचनको मदत पाएर गम्भीर पापबाट समेत हामी “पखालिएका” हुन सक्छौं भनेर थाह पाउनु कत्ति सान्त्वनादायी!—१ कोरि. ६:९-११.

१७. शुद्ध रहन हामीले बाइबलको कुन सल्लाह पालन गर्नै पर्छ?

१७ परमेश्‍वरको सत्य वचनले तपाईंको जीवनलाई शुद्ध पार्न खोज्दा के तपाईं त्यसलाई स्वीकार्नुहुन्छ? उदाहरणका लागि, यस संसारको पतित मनोरञ्जनको खतराबारे सतर्क गराइँदा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? (भज. १०१:३) के तपाईं बेग्लै विश्‍वास राख्ने सहपाठी अनि सहकर्मीहरूसित अनावश्‍यक सरसङ्‌गत नगर्न सजग हुनुहुन्छ? (१ कोरि. १५:३३) आफूलाई यहोवाको नजरमा अशुद्ध बनाउन सक्ने कमीकमजोरी हटाउन के तपाईंले निष्कपट प्रयास गरिरहनुभएको छ? (कल. ३:५) के तपाईं यस संसारको राजनैतिक वादविवादबाट अलग्गै बस्नुहुन्छ? अनि धेरैजसो प्रतिस्पर्धात्मक खेलकूदमा व्याप्त राष्ट्रवादी मनोभावबाट नि?—याकू. ४:४.

१८. नैतिक र आध्यात्मिक तवरमा शुद्ध हुँदा हामीलाई कटनीकार्यका फलदायी कामदार बन्‍न कसरी मदत पुग्नेछ?

१८ यी मामिलाहरूमा वफादार भई आज्ञाकारी हुँदा राम्रा परिणामहरू आउँछन्‌। आफ्ना अभिषिक्‍त चेलाहरूलाई दाखको बोटका हाँगाहरूसित तुलना गर्दै येशूले भन्‍नुभयो: “ममा फल नफल्ने हरेक हाँगालाई उहाँले छाँट्‌नुहुन्छ, औ फल फल्ने हरेक हाँगालाई झन्‌ बढ्‌ता फल फलोस्‌ भनी उहाँले छिंवल्नुहुन्छ।” (यूह. १५:२) बाइबलको सत्य वचनद्वारा आफूलाई शुद्ध पार्न दिंदा तपाईंले अझ बढ्‌ता फल फलाउनुहुनेछ।

अहिले र भविष्यमा आशिष्‌

१९. कटनीकार्यका कामदारको रूपमा प्रयास गर्दा येशूका चेलाहरूले कस्ता आशिष्‌ पाए?

१९ येशूको प्रशिक्षणबाट सिकेका विश्‍वासी चेलाहरूले पछि इस्वी संवत्‌ ३३ पेन्तिकोसमा पवित्र आत्माद्वारा बल पाए अनि “पृथ्वीको अन्तसम्म” साक्षी हुन सके। (प्रेरि. १:८) पछि गएर तिनीहरूले परिचालक निकायको सदस्य, मिसनरी, परिभ्रमण कार्य गर्ने प्राचीनको रूपमा सेवा गरे अनि तिनीहरूले “स्वर्गमनि भएका सारा सृष्टिमा” सुसमाचार प्रचार गर्न प्रमुख भूमिका खेले। (कल. १:२३) तिनीहरूले कत्ति आशिष्‌ पाए अनि अरूको लागि पनि तिनीहरू कत्ति ठूलो आनन्दको स्रोत साबित भए!

२०. (क) प्रतीकात्मक कटनीकार्यमा पूरापूर भाग लिंदा तपाईंले कस्ता आशिष्‌हरू पाउनुभएको छ? (ख) तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

२० हो, नम्रता देखाएर, लगनशील भएर अनि परमेश्‍वरको वचनको उच्च स्तरलाई समर्थन गरेर हामी अहिले भइरहेको महान्‌ प्रतीकात्मक कटनीकार्यमा पूरापूर र अर्थपूर्ण भाग लिइरहन सक्नेछौं। यस संसारको भौतिकवादी अनि मोजमस्तीको जीवनशैलीको पछि लाग्दा धेरैले पीडा र निराशा भोगिरहेका छन्‌। तर हामीले भने साँचो आनन्द र सन्तुष्टि अनुभव गरिरहेका छौं। (भज. १२६:६) सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो “परिश्रम प्रभुमा व्यर्थ हुँदैन।” (१ कोरि. १५:५८) फसलका प्रभु यहोवा परमेश्‍वरले ‘हाम्रो काम र उहाँको नाउँतर्फ हामीले देखाएको प्रेमको’ लागि सदासर्वदा इनाम दिनुहुनेछ।—हिब्रू ६:१०-१२. ( w10 -E 07/15)

[फुटनोट]

a यो तोडाको दृष्टान्त मुख्यतया येशूले आफ्ना अभिषिक्‍त चेलाहरूसित कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने विषयमा हो। तर यसमा पाइने सिद्धान्त सबै ख्रीष्टियानहरूलाई लागू हुन्छ।

के तपाईं सम्झन सक्नुहुन्छ?

कटनीकार्यमा पूरापूर भाग लिने प्रयत्न गर्दा . . .

• नम्रता देखाउनु किन अत्यावश्‍यक छ?

• तपाईं कसरी लगनशीलता विकास गर्न र त्यसलाई कायमै राख्न सक्नुहुन्छ?

• नैतिक र आध्यात्मिक तवरमा शुद्ध रहनु किन महत्त्वपूर्ण छ?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएको चित्र]

नम्रताले हामीलाई राज्य गतिविधिमा केन्द्रित सरल जीवन बिताउन मदत गर्न सक्छ