सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“शिक्षामा ध्यान देऊ”

“शिक्षामा ध्यान देऊ”

“शिक्षामा ध्यान देऊ”

“तिमीहरू मलाई, ‘गुरु र प्रभु’ भन्दछौ, त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म त्यही हुँ।” (यूह. १३:१३) आफ्ना चेलाहरूलाई यी शब्दहरू भनेर येशूले शिक्षकको रूपमा आफ्नो भूमिकालाई जोड दिनुभयो। अनि स्वर्ग जानुभन्दा केही समयअघि उहाँले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे-जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ।” (मत्ती २८:१९, २०) पछि, प्रेरित पावलले पनि परमेश्‍वरको वचनका शिक्षक हुनुपर्ने महत्त्वबारे जोड दिए। तिनले ख्रीष्टियान प्राचीन तिमोथीलाई यस्तो सल्लाह दिए: “धर्मशास्त्र पढाइ, अर्ती र शिक्षामा ध्यान देऊ। . . . यी कुरामा परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्‌।”—१ तिमो. ४:१३-१५.

त्यतिबेला जस्तै आज पनि, सिकाउनु हाम्रो प्रचारकार्य र ख्रीष्टियान सभाहरूको एउटा महत्त्वपूर्ण पक्ष हो। हामी कसरी शिक्षामा ध्यान दिन, मतलब सिकाउने काममा लागिरहन सक्छौं अनि यसले हामीलाई परमेश्‍वरको वचनको शिक्षकको रूपमा प्रगति गर्न अर्थात्‌ उन्‍नति गर्न कुन-कुन तरिकामा मदत गर्नेछ?

महान्‌ शिक्षकको अनुकरण गर्नुहोस्‌

येशूको सिकाउने तरिका उहाँका थुप्रै श्रोताहरूलाई रोचक लाग्यो। नासरतको सभाघरमा उपस्थित व्यक्‍तिहरूमा उहाँको वचनले पारेको प्रभावलाई विचार गर्नुहोस्‌। सुसमाचार पुस्तकका लेखक लूकाले यस्तो लेखे: “सबैले उहाँको सह्रनी गरे, र उहाँको मुखबाट निस्केका अनुग्रहका वचनमा छक्क परे।” (लूका ४:२२) येशूका चेलाहरूले प्रचारकार्यमा आफ्ना गुरुको उदाहरण पछ्याए। यसैले प्रेरित पावलले आफ्ना सँगी ख्रीष्टियानहरूलाई यस्तो प्रोत्साहन दिए: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखासिकी गर्ने होओ।” (१ कोरि. ११:१) येशूको तरिका देखासिकी गरेकाले पावल “घर-घरमा” अनि “खुल्लमखुल्ला सिकाउन” अत्यन्तै प्रभावकारी हुन सके।—प्रेरि. २०:२०.

“बजारमा” सिकाउँदा

खुल्लमखुल्ला सिकाउने पावलको खुबीको एउटा उल्लेखनीय उदाहरण प्रेरित अध्याय १७ मा पाइन्छ। त्यस विवरणमा पावल ग्रीसको एथेन्समा गएको कुरा बताइएको छ। पावलले त्यस सहरको बाटोघाटो, सार्वजनिक ठाउँहरू जहाँसुकै मूर्ति नै मूर्ति देखे। त्यसकारण तिनी एकदमै बेचैन भएका थिए। तैपनि तिनले आफ्ना भावनाहरूलाई आफ्नो नियन्त्रणमा राखे। तिनले “सभाघरमा, . . . र बजारमा तिनीसँग भेट गर्ने जतिसँग दिनहुँ बहस” गर्न थाले। (प्रेरि. १७:१६, १७) हाम्रो लागि कस्तो राम्रो उदाहरण! विभिन्‍न पृष्ठभूमिका मानिसहरूसित आलोचनात्मक तरिकामा नभई आदरणीय तरिकामा कुरा गऱ्‍यौं भने कोही-कोहीले सुन्‍न सक्छन्‌ र अन्ततः तिनीहरू झूटो धर्मको बन्धनबाट मुक्‍त हुन सक्छन्‌।—प्रेरि. १०:३४, ३५; प्रका. १८:४.

बजारमा प्रचार गर्दा भेटेका थुप्रै मानिसले पावलको सन्देशलाई मन पराएनन्‌। तिनको कुरा सुन्‍नेहरूमध्ये दार्शनिकहरू पनि थिए जसको विचार पावलले प्रचार गरेको सत्य कुरासित मिल्दैन थियो। विवाद हुँदा पावलले तिनीहरूको टिप्पणीलाई पनि ध्यान दिए। कसै-कसैले तिनलाई “बकबके” (ग्रीकमा अक्षरशः, “बीउ टिपुवा”) भने। अरूले चाहिं तिनलाई “अरू कुनै अनौठा देवहरूको विषयमा सिकाउने हो, क्यार” भने।—प्रेरि. १७:१८.

तर स्रोताहरूको अपमानजनक टिप्पणी सुनेर पावल निरुत्साहित भएनन्‌। बरु आफ्नो शिक्षाको विषयमा बताउन लगाइँदा पावलले त्यसलाई अन्तरदृष्टि झल्किने भाषण दिने मौकाको रूपमा लिए, जसबाट तिनको राम्रो शिक्षण कला देखियो। (प्रेरि. १७:१९-२२; १ पत्रु. ३:१५) आउनुहोस्‌, तिनको भाषणबारे विस्तृत तवरमा विचार गरौं र हाम्रो शिक्षण कलालाई सुधार्न मदतकारी हुन सक्ने पाठ सिकौं।

स्रोतालाई चासो लाग्ने विषय पत्ता लगाउनुहोस्‌

पावलले भने: “हे एथेन्सका मानिस हो, तपाईंहरूलाई म सब कुरामा अति धर्मानुरागी देख्तछु, किनकि . . . तपाईंहरूका भक्‍ति गर्ने ठाउँहरू हेर्न जाँदा, मैले एउटा यस्तो स्थान पनि भेट्टाएँ जसमा ‘नजानिएका देवताका निम्ति’ भन्‍ने खोपिएको रहेछ। यसैले जसको भक्‍ति तपाईंहरू नजानीकन गर्नुहुन्छ, उहाँकै विषयमा म तपाईंहरूलाई बताउँछु।”—प्रेरि. १७:२२, २३.

पावलले आफू वरपर भएका कुराहरूलाई ध्यान दिएर हेरे। यसरी ध्यान दिएर अवलोकन गर्दा आफूले सम्बोधन गरिरहेका व्यक्‍तिबारे तिनले धेरै कुरा सिक्न सके। अवलोकन गऱ्‍यौं भने हामीले पनि घरधनीबारे केही कुरा थाह पाउन सक्छौं। उदाहरणको लागि, आँगनमा भएका खेलौनाहरू अथवा ढोकामा भएका सङ्‌केतहरूले धेरै कुरा बताउन सक्छ। यसबाट घरधनीको अवस्थाबारे धेरथोर अनुमान लगाउन सक्छौं र हामीले के भन्‍ने मात्र होइन तर कसरी भन्‍ने त्यो पनि बडो ध्यान दिएर छनौट गर्न सक्छौं।—कल. ४:६.

पावलले आलोचना गर्ने किसिमले बोलेनन्‌। एथेन्सका मानिसहरूले जसको “भक्‍ति” गरिरहेका थिए, त्यो सही थिएन भनेर तिनले थाह पाए। त्यसैले साँचो परमेश्‍वरको उपासना कसरी गर्न सकिन्छ भनेर पावलले स्पष्टसित बताइदिए। (१ कोरि. १४:८) अतः राज्यको सुसमाचार सुनाउँदा हामी पनि स्पष्ट र आलोचनात्मक नभई बोल्नु कत्ति महत्त्वपूर्ण छ!

कौशलता देखाउनुहोस्‌ र पक्षपात नगर्नुहोस्‌

पावलले अझै यसो भने: “जुन परमेश्‍वरले संसार र त्यसमा भएका यावत्‌ थोक बनाउनुभयो। उहाँ स्वर्ग र पृथ्वीका परमप्रभु भईकन हातले बनाएको मन्दिरमा बास गर्नुहुन्‍न, नता मानिसहरूका हातबाट उहाँलाई केही थोकको खाँचो भएझैं पूजा लिनुहुन्छ। किनभने उहाँलेनै सबैलाई जीवन, सास र सबै चिज दिनुहुन्छ।”—प्रेरि. १७:२४, २५.

“स्वर्ग र पृथ्वीका परमप्रभु” भनेर सम्बोधन गर्दै पावलले कौशलतापूर्वक यहोवा हाम्रा जीवनदाता हुनुहुन्छ भन्‍ने कुरामा ध्यान खिचे। भिन्‍नाभिन्‍नै धार्मिक अनि सांस्कृतिक पृष्ठभूमिबाट आएका असल हृदय भएका मानिसहरूलाई सबै जीवनको स्रोत यहोवा परमेश्‍वर हुनुहुन्छ भनेर बुझाउन पाउनु कस्तो ठूलो सुअवसर!—भज. ३६:९.

पावलले पछि यसो भने: “मानिसहरूका निम्ति ठहराएको समय र बासका सिमानाहरू निश्‍चय गरेर . . . उहाँले एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो, तापनि तिनीहरूले परमेश्‍वरको खोजी गरून्‌, र सायद छामेर भेट्टाऊन्‌ भनेर उहाँ हामी हरेकबाट टाढा हुनुहुन्‍न।”—प्रेरि. १७:२६, २७.

हाम्रो सिकाउने तरिकाले हामी कस्तो परमेश्‍वरको उपासना गर्छौं, त्यो अरूले देख्न सक्छन्‌। सबै जातिका मानिसहरूले ‘खोजी गरेर भेट्टाऊन्‌’ भनेर यहोवाले कुनै पक्षपात नगरी सबैलाई मौका दिनुभएको छ। त्यसैगरि, हामी पनि पक्षपात नगरी आफूले भेटे जति सबैसित कुराकानी गर्छौं। सृष्टिकर्तामा विश्‍वास गर्नेहरूलाई उहाँसित नजिक हुन हामी मदत दिन चाहन्छौं ताकि तिनीहरूले अनन्त आशिष्‌ पाऊन्‌। (याकू. ४:८) तर परमेश्‍वरको अस्तित्वमाथि शङ्‌का गर्नेहरूलाई हामी कसरी मदत गर्न सक्छौं? त्यस्तो अवस्थामा हामी पावलको उदाहरण अनुकरण गर्छौं। तिनले पछि के भने याद गर्नुहोस्‌।

“हामी उहाँमै जिउँछौं, र चलहल गर्दछौं, र यसरी हाम्रो अस्तित्व रहेको छ। तपाईंहरूका आफ्नै कविहरूले पनि भनेका छन्‌, ‘हामी पनि उहाँकै सन्तान हौं।’ तब परमेश्‍वरको सन्तान भइकन पनि हामीले परमेश्‍वरलाई . . . सुन, अथवा चाँदी, अथवा ढुङ्‌गा हुन्‌ भन्‍ने ठान्‍नु हुँदैन।”—प्रेरि. १७:२८, २९.

एथेन्सका मानिसहरूलाई थाह भएको र तिनीहरूले मानिलिएका कविको भनाइलाई उद्धरण गर्दै पावलले स्रोताहरूको ध्यान खिच्न खोजे। त्यसैगरि, मानिसहरू कुन विषयमा हाम्रो कुरा सुन्‍न तयार हुन्छन्‌ भनी थाह पाएपछि त्यही विषयमा कुरा गरेर हामी उनीहरूको चासो जगाउन खोज्छौं। उदाहरणको लागि, पावलले हिब्रूहरूलाई लेखेको पत्रमा बताएको दृष्टान्त आज पनि त्यत्तिकै प्रभावकारी छ: “हरेक घर कुनै न कुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्‍वरनै हुनुहुन्छ।” (हिब्रू ३:४) यो सरल दृष्टान्त चलाएर घरधनीलाई सोच्न लगाउन सक्यौं भने तिनीहरूलाई हाम्रो कुरा साँचो हो भनी मानिलिन मदत गर्न सक्छौं। नबिर्सनुहोस्‌, पावलको सिकाउने तरिका प्रभावकारी हुनुको अर्को कारण हो—उत्प्रेरणा।

बियाँलो नगर्न जोड दिनुहोस्‌

पावलले भने: “यसकारण अज्ञानका समयलाई परमेश्‍वरले वास्ता गर्नुभएन, तर अब सबै ठाउँमा सब मानिसहरूलाई पश्‍चाताप गर्ने आज्ञा दिनुहुन्छ। यतिसम्म कि, उहाँले एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्‍त गर्नुभएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ।”—प्रेरि. १७:३०, ३१.

केही समयको लागि खराब कुराहरू हुन दिएर परमेश्‍वरले हाम्रो हृदयमा साँच्चै के छ त्यो देखाउने मौका दिनुभएको छ। अहिलेको समय बियाँलो गर्ने समय होइन भनेर जोड दिनु र एकदमै नजिक रहेको परमेश्‍वरको राज्यले दिने आशिष्‌बारे पूरा विश्‍वस्त भई कुरा गर्नु एकदमै महत्त्वपूर्ण छ।—२ तिमो. ३:१-५.

भिन्‍नाभिन्‍नै प्रतिक्रिया

“जब तिनीहरूले पुनरुत्थानको कुरो सुने, तब कसै-कसैले गिल्ला गरे। तर अरूहरूले चाहिं ‘हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्‍नेछौं’ भने। यसरी पावल तिनीहरूसँगबाट बिदा भए। तर कुनै-कुनै मानिसहरूले तिनका साथ लागेर विश्‍वास गरे।”—प्रेरि. १७:३२-३४.

कसै-कसैले हाम्रो सन्देश तुरुन्तै स्वीकार्लान्‌ तर अरूलाई भने हाम्रो तर्क चित्त बुझ्न अलि समय लाग्न सक्छ। तैपनि जब हामी सत्यबारे स्पष्ट अनि सरल तरिकामा बताएर कम्तीमा एक जना व्यक्‍तिलाई यहोवाको सही ज्ञान पाउन मदत गर्छौं, तब मानिसहरूलाई परमेश्‍वरको पुत्रको नजिक खिच्न यहोवाले हामीलाई चलाएकोमा कत्ति आभारी हुन्छौं!—यूह. ६:४४.

हामीले सिक्न सक्ने पाठ

पावलको भाषणलाई विचार गर्दा अरूलाई बाइबल सत्य कसरी बताउने भनेर धेरै कुरा सिक्न सक्छौं। मण्डलीमा जनभाषण दिने सुअवसर पाएका छौं भने पावलले जस्तै कौशलता झल्काउने अभिव्यक्‍तिहरू प्रयोग गर्ने कोसिस गर्न सक्छौं, ताकि बेग्लै विश्‍वास गर्ने व्यक्‍तिले पनि बुझ्न र बाइबल सत्य स्वीकार्न सकोस्‌। हामी त्यस्तो सत्य स्पष्टसित बताउन चाहन्छौं तर हाम्रो भाषण सुन्‍न उपस्थित बेग्लै विश्‍वास गर्ने मानिसको आस्थालाई अवहेलना गर्न चाहँदैनौं। साथै जनसाधारणलाई प्रचार गर्दा हामी मनाउने कला र कौशलता झल्काउने प्रयास गर्छौं। यसो गऱ्‍यौं भने हामीले साँच्चै नै पावलको यो सल्लाह पछ्याइरहेका हुन्छौं, ‘शिक्षामा ध्यान देओ।’ ( w10 -E 07/15)

[पृष्ठ २२-मा भएको चित्र]

पावलको शिक्षा स्पष्ट, सरल अनि कौशलतापूर्ण थियो

[पृष्ठ २३-मा भएको चित्र]

आफूले प्रचार गर्ने मानिसको भावनालाई विचार पुऱ्‍याएर हामी पावलको अनुकरण गर्छौं