सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको जिब्रो “करुणाले भरिएको” होस्‌

तपाईंको जिब्रो “करुणाले भरिएको” होस्‌

तपाईंको जिब्रो “करुणाले भरिएको” होस्‌

“तिनी आफ्नो मुख खोल्दा बुद्धिका कुरा गर्छिन्‌, र तिनको शिक्षाको सार दयाले [ “करुणाले,” NW] भरिएको हुन्छ।”—हितो. ३१:२६.

१, २. (क) यहोवाका उपासकहरूलाई कुन गुण खेती गर्न प्रोत्साहन दिइएको छ? (ख) यस लेखमा के छलफल गरिनेछ?

 प्राचीन समयका राजा लमूएलले आफ्नी आमाबाट पाएको गहन सन्देशमा असल पत्नीमा हुनुपर्ने एउटा महत्त्वपूर्ण गुणबारे बताइएको थियो। राजा लमूएललाई यसो भनियो: “तिनले आफ्नो मुख खोल्दा बुद्धिका कुरा गर्छिन्‌, र तिनको शिक्षाको सार दयाले [“करुणाले,” NW] भरिएको हुन्छ।” (हितो. ३१:१, १०, २६) करुणाले भरिएको बोलीले बुद्धिमान्‌ स्त्रीको शोभा बढाउँछ। साथै, यहोवालाई खुसी पार्न चाहने सबैको बोली पनि करुणाले भरिएको हुनुपर्छ। सबै साँचो उपासकहरूको बोलीवचनमा करुणा झल्कनै पर्छ।

करुणा भनेको के हो? हामीले कोप्रति करुणा देखाउनुपर्छ? ‘करुणाले भरिएको’ बोली बोल्न हामीलाई केले मदत गर्नेछ? अनि त्यसो गर्दा परिवारका सदस्यहरू अनि सँगी ख्रीष्टियानहरूसितको हाम्रो कुराकानीमा कस्तो असर पर्नेछ?

वफादार प्रेमबाट उत्प्रेरित दया

३, ४. (क) करुणा भनेको के हो? (ख) साधारणतया देखाइने दया अर्थात्‌ मानव दया र करुणाबीच कस्तो भिन्‍नता छ?

करुणा भन्‍ने अभिव्यक्‍तिमा प्रेम र दयाको भाव झल्किन्छ। करुणा देखाउनु भनेको दयालु हुनु अर्थात्‌ अरूप्रति व्यक्‍तिगत चासो देखाउनु अनि मदतकारी कार्य तथा सोचविचार गरेर व्यक्‍त गरिने बोलीद्वारा त्यो चासो झल्काउनु हो। करुणाको अर्को पक्ष, अरूको हितको खातिर प्रेमद्वारा उत्प्रेरित भई उनीहरूप्रति चासो देखाउनु हो। तर करुणा अर्थ बुझाउन मूल भाषामा जुन शब्द चलाइएको छ, त्यसले प्रेमबाट उत्प्रेरित भएको दयालाई मात्र बुझाउँदैन। करुणा भनेको कुनै व्यक्‍तिलाई जुन कारणले गर्दा दया देखाउनु परेको थियो, त्यो उद्देश्‍य पूरा नभएसम्म स्वेच्छासाथ र वफादारसाथ दया देखाइरहनु हो।

करुणा र दयाबीच अर्को एउटा भिन्‍नता पनि छ। साधारणतया देखाइने दया अर्थात्‌ मानव दया नचिनेको व्यक्‍तिलाई पनि देखाइन्छ। प्रेरित पावल र तिनीसितै जहाज दुर्घटनामा परेका २७५ जनालाई पहिला कहिल्यै नभेटेका माल्टाबासीहरूले यस्तो दया देखाए। (प्रेरि. २७:३७–२८:२) तर करुणा भने पहिल्यै सम्बन्ध गाँसिसकेका मानिसहरूबीचको वफादार बन्धन हो। a “इस्राएल मिश्र देशबाट उक्लेर आउँदा” केनीहरूले यस्तो करुणा देखाए।—१ शमू. १५:६.

मनन र प्रार्थना अत्यावश्‍यक

५. जिब्रोलाई लगाम कस्न हामीलाई केले मदत गर्नेछ?

बोलीमा करुणा झल्काउनु सजिलो कुरा होइन। जिब्रोबारे चेला याकूबले यस्तो लेखे: “जिब्रोलाई भने कुनै मानिसले पनि तह लगाउसक्‍तैन। यो भयङ्‌कर विषले भरिएको चञ्चल बदमास हो।” (याकू. ३:८) तह लगाउन गाह्रो यो अङ्‌गलाई लगाम कस्न हामीलाई केले मदत गर्न सक्छ? आफ्नो समयका धर्मगुरुहरूलाई येशूले भन्‍नुभएको कुराबाट हामी मदत पाउन सक्छौं। उहाँले तिनीहरूलाई यसो भन्‍नुभएको थियो: “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ।” (मत्ती १२:३४) करुणाले आफ्नो जिब्रोलाई सुरक्षित राख्ने हो भने हामीले यो गुण आफ्नो मनमा भर्नुपर्छ अर्थात्‌ यसलाई आफ्नो भित्री मनुष्यत्वको अभिन्‍न भाग बनाउनुपर्छ। यसो गर्न मनन र प्रार्थनाले हामीलाई कसरी मदत गर्छ, आउनुहोस्‌ हेरौं।

६. यहोवाले गर्नुभएका करुणाका कार्यहरूमा कृतज्ञ भई हामीले किन मनन गर्नुपर्छ?

यहोवा परमेश्‍वर “कृपामा” अर्थात्‌ करुणामा “प्रशस्त हुनुहुन्छ” भनी बाइबल बताउँछ। (प्रस्थ. ३४:६) भजनहारले यस्तो गाए, “हे परमप्रभु, तपाईंको करुणाले पृथ्वी भरिपूर छ।” (भज. ११९:६४) आफ्ना उपासकहरूलाई यहोवाले कसरी करुणा देखाउनुभयो, त्यसबारे धर्मशास्त्रमा थुप्रै विवरण पाइन्छ। आफ्ना उपासकहरूको लागि यहोवाले गर्नुभएका ‘कार्यहरूमा’ कृतज्ञ भई मनन गर्ने समय निकाल्यौं भने यो ईश्‍वरीय गुण खेती गर्ने चाहना हामीमा जाग्न सक्छ।—भजन ७७:१२ पढ्‌नुहोस्‌।

७, ८. (क) लूत र तिनको परिवारप्रति यहोवाले कसरी करुणा देखाउनुभयो? (ख) परमेश्‍वरले करुणा देखाउँदा दाऊदले कस्तो महसुस गरे?

उदाहरणको लागि, अब्राहामको भतिजा लूत र तिनको परिवार बसोबास गर्ने सदोम सहर विनाश गर्न लाग्दा यहोवाले तिनीहरूलाई कसरी छुटकारा दिनुभयो, विचार गर्नुहोस्‌। विनाश हुने समय नजिक आउँदा लूतलाई भेट्‌न आएका स्वर्गदूतहरूले तिनलाई आफ्नो परिवार लिएर तुरुन्तै त्यो ठाउँ छोड्‌न आग्रह गरे। बाइबल यसो भन्छ: “तिनले आलेटाले गरिरहे। ती [स्वर्गदूतहरूले] तिनका, तिनकी स्वास्नीका र दुवै छोरीहरूका हात समातेर शहरबाहिर ल्याए। किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो।” यो बचाउकार्यलाई विचार गर्दा के यसले हाम्रो मन छुँदैन र? अनि यो परमेश्‍वरको करुणाको अभिव्यक्‍ति थियो भनी मानिलिन हामी उत्प्रेरित हुँदैनौं र?—उत्प. १९:१६, १९.

प्राचीन समयका राजा दाऊदको उदाहरणलाई पनि विचार गर्नुहोस्‌, जसले यस्तो गाए: “[यहोवाले] तेरा सबै अधर्महरू क्षमा गर्नुहुन्छ। जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ।” बेतशेबासित गरेको पापको लागि यहोवाबाट क्षमा पाउँदा दाऊद कत्ति कृतज्ञ भए होलान्‌। तिनले यहोवाको यसरी प्रशंसा गरे: “पृथ्वीबाट स्वर्ग जति अल्गो छ। उहाँसँग डराउनेहरूमाथि उहाँको कृपा [“करुणा,” NW] त्यतिकै ठूलो हुन्छ।” (भज. १०३:३, ११) धर्मशास्त्रका यी अनि अन्य विवरणहरू मनन गर्दा यहोवाको करुणाप्रति हाम्रो मन कृतज्ञताले भरिन्छ र हामी उहाँको प्रशंसा गर्न अनि उहाँलाई धन्यवाद दिन उत्प्रेरित हुन्छौं। हामी जति धेरै कृतज्ञ हुन्छौं, साँचो परमेश्‍वरको देखासिकी गर्न त्यति नै उत्प्रेरित हुनेछौं।—एफि. ५:१.

९. यहोवाका उपासकहरूले आफ्नो दैनिक जीवनमा करुणा देखाउनुपर्ने कस्तो सशक्‍त कारण छ?

धर्मशास्त्रमा दिइएका उदाहरणले देखाएअनुसार यहोवासित पहिल्यै राम्रो सम्बन्ध गाँसिसकेकाहरूलाई उहाँले आफ्नो करुणा अर्थात्‌ वफादार प्रेम देखाउनुहुन्छ। त्यसोभए जीवित परमेश्‍वरसित त्यस्तो घनिष्ठ सम्बन्ध नगाँसेकाहरूबारे चाहिं के भन्‍न सकिन्छ? के यहोवा तिनीहरूप्रति कठोर वा निर्दयी हुनुहुन्छ? त्यसो होइन। लूका ६:३५ मा यस्तो लेखिएको छ, “[परमेश्‍वर] बैगुणी र दुष्टमाथि कृपालु हुनुहुन्छ।” “उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४५) सत्य थाह पाउनअघि र त्यसअनुसार जीवन बिताउनअघि हामीले यहोवाको दया अर्थात्‌ सामान्यतया मानिसहरूप्रति देखाइने दया पाएका थियौं। तर उहाँको उपासक भइसकेपछि हामीले उहाँको वफादार प्रेम, मतलब उहाँको अटल करुणा पाएका छौं। ( यशैया ५४:१० पढ्‌नुहोस्‌) यसको लागि हामी कत्ति धन्यवादी हुन सक्छौं! त्यसैले आफ्नो बोली अनि दैनिक जीवनका अन्य क्रियाकलापमा करुणा देखाउनुपर्ने कस्तो सशक्‍त कारण!

१०. करुणालाई हाम्रो व्यक्‍तित्वको भाग बनाउन असाध्यै मदत गर्ने कुरा प्रार्थना हो, किन?

१० करुणा खेती गर्न हामीलाई असाध्यै मदत गर्ने कुरा, प्रार्थना गर्ने सुअवसर हो। करुणाका दुई तत्त्व प्रेम र दया हुन्‌ अनि यी यहोवाको पवित्र आत्माको फलका पक्षहरू हुन्‌। (गला. ५:२२) पवित्र आत्माको डोऱ्‍याइअनुसार चलेर हामी आफ्नो हृदयमा करुणा भर्दै लान सक्छौं। यहोवाको पवित्र आत्मा पाउने सबैभन्दा सजिलो तरिका भनेको प्रार्थना गरेर उहाँसित माग्नु हो। (लूका ११:१३) परमेश्‍वरको आत्माको लागि बारम्बार प्रार्थना गर्नु र त्यसको डोऱ्‍याइ स्वीकार्नु उपयुक्‍त हुन्छ। हो, करुणाले भरिएको बोली बोल्ने हो भने मनन र प्रार्थना अत्यावश्‍यक छ।

विवाहित जोडीको बोली

११. (क) पतिहरूले आफ्नी पत्नीलाई करुणा देखाएको यहोवा आस गर्नुहुन्छ भनी हामी कसरी थाह पाउन सक्छौं? (ख)  पतिहरूलाई आफ्नो जिब्रो सुरक्षित राख्न करुणाले कसरी मदत गर्न सक्छ?

११ प्रेरित पावलले पतिहरूलाई यस्तो आग्रह गरे: “आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” (एफि. ५:२५) यहोवाले आदम र हव्वालाई भन्‍नुभएको कुरा पनि पावलले तिनीहरूलाई सम्झना गराए। प्रेरित पावल लेख्छन्‌: “मानिसले आफ्ना बाबुआमालाई छोडेर आफ्नी पत्नीसित मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।” (एफि. ५:३१) स्पष्ट छ, पतिहरूले पत्नीहरूलाई सदैव करुणा देखाउँदै उनीहरूप्रति वफादार रहिरहेको यहोवा आस गर्नुहुन्छ। वफादार प्रेम झल्किने गरी जिब्रोको प्रयोग गर्ने पतिले आफ्नी पत्नीको गल्तीलाई अरूको सामु उदाङ्‌ग पार्दैनन्‌ न त उनलाई होच्याएर नै कुरा गर्छन्‌। बरु तिनी उनको प्रशंसा गर्न खुसी हुन्छन्‌। (हितो. ३१:२८) यदि तिनीहरूबीच केही ठाकठुक पऱ्‍यो नै भने पनि पत्नीलाई होच्याएर नबोल्न पतिलाई करुणाले मदत गर्छ।

१२. करुणाले भरिएको जिब्रो चलाएको कुरा पत्नीले कसरी देखाउन सक्छिन्‌?

१२ पत्नीको जिब्रो पनि करुणाले भरिएको हुनुपर्छ। उनको बोली संसारको आत्माबाट प्रभावित हुनुहुँदैन। पतिको “डर” अर्थात्‌ गहिरो आदर गर्दै उनले अरूसामु पतिबारे राम्रो कुरा गर्छिन्‌ र आफ्नो पतिप्रति अरूको आदरलाई अझै बढाउँछिन्‌। (एफि. ५:३३) बुबाप्रति छोराछोरीको आदर कम नहोस्‌ भनेर उनले तिनीहरूसामु पतिप्रति असहमति जनाउने वा तिनको विचारमाथि प्रश्‍न खडा गर्ने गर्दिनन्‌। उनले त्यस्तो कुरा गोप्य रूपमा सुल्झाउँछिन्‌। “बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे” भनी बाइबल बताउँछ। (हितो. १४:१) सम्पूर्ण परिवारको लागि उनको घर खुसी र आनन्दको ठाउँ हुन्छ।

१३. करुणा खासगरि कुन क्षेत्रमा चाहिन्छ र यो कसरी देखाउन सकिन्छ?

१३ घरमा अरू कोही छैन भने पनि विवाहित जोडीले एकअर्कालाई आदर देखाउने किसिमले जिब्रोको प्रयोग गर्नुपर्छ। पावलले लेखे: “रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, यी सबै कुरा त्याग।” तिनले अझै यसो भने: “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। . . . यी सबै कुराहरूभन्दा बढी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।” (कल. ३:८, १२-१४) केटाकेटीलाई घरमा मायालु अनि दयालु बोली सुन्‍ने बानी लागिसकेपछि तिनीहरू मौलाउने मात्र होइनन्‌ तर तिनीहरूले आफ्नो अभिभावकको जस्तै बोली बोल्ने सम्भाव्यता बढ्‌छ।

१४. आफूले ख्याल राख्नुपर्नेहरूलाई सान्त्वना दिन परिवारका शिरले आफ्नो जिब्रोको प्रयोग कसरी गर्न सक्छन्‌?

१४ भजनहारले यहोवाबारे यस्तो लेखे: “तपाईंको करुणा मेरो सान्त्वनाको निम्ति होस्‌ भनेर म बिन्ती चढाउँछु।” (भज. ११९:७६) यहोवाले आफ्ना जनहरूलाई सान्त्वना दिने एउटा उल्लेखनीय तरिका, तिनीहरूलाई सल्लाह र डोऱ्‍याइ दिएर हो। (भज. ११९:१०५) परिवारका शिरहरूले स्वर्गमा बस्नुहुने पिताको उदाहरणबाट कसरी लाभ उठाउन सक्छन्‌ र आफूले ख्याल राख्नुपर्नेहरूलाई सान्त्वना दिन तिनीहरूले आफ्नो जिब्रोको प्रयोग कसरी गर्न सक्छन्‌? आवश्‍यक निर्देशन र प्रोत्साहन दिएर। पारिवारिक उपासनाको साँझ आध्यात्मिक धन फेला पार्ने कस्तो उत्तम मौका!—हितो. २४:४.

सँगी विश्‍वासीहरूलाई वफादार प्रेम देखाउनुहोस्‌

१५. मण्डलीका सदस्यहरूको रक्षा गर्न प्राचीन अनि आध्यात्मिक रूपमा परिपक्व व्यक्‍तिहरूले कसरी आफ्नो जिब्रोको प्रयोग गर्न सक्छन्‌?

१५ राजा दाऊदले यसरी प्रार्थना गरे: “तपाईंको करुणा र तपाईंको सत्यताले मलाई निरन्तर रक्षा गरून्‌।” (भज. ४०:११) यस सन्दर्भमा मण्डलीका ख्रीष्टियान प्राचीन र आध्यात्मिक रूपमा परिपक्व अन्य सदस्यहरूले कसरी यहोवाको अनुकरण गर्न सक्छन्‌? धर्मशास्त्रले दिने जानकारीतर्फ ध्यान खिच्न आफ्नो जिब्रोको प्रयोग गर्नु पक्कै पनि करुणा देखाउनु हो।—हितो. १७:१७.

१६, १७. हाम्रो बोली करुणाले भरिएको छ भनी देखाउने केही तरिकाहरू के-के हुन्‌?

१६ यदि कुनै ख्रीष्टियानले बाइबलको सिद्धान्तसित मेल नखाने काम गरिरहेको थाह पायौं भने हामीले के गर्नुपर्छ? के त्यतिबेला उक्‍त व्यक्‍तिलाई सुधार्ने प्रयास गर्दै जिब्रोको प्रयोग गर्न हामीलाई करुणाले उत्प्रेरित गर्दैन र? (भज. १४१:५) सँगी विश्‍वासीले गम्भीर पाप गरेको थाह पायौं भने गल्ती गर्ने व्यक्‍तिलाई ‘मण्डलीका धर्मगुरुहरू बोलाउने’ प्रोत्साहन दिन हामी वफादार प्रेमको कारण उत्प्रेरित हुनेछौं, ताकि तिनीहरूले “प्रभुको नाउँमा त्यसलाई तेल घसेर त्यसको विषयमा प्रार्थना गरून्‌।” (याकू. ५:१४) गल्ती गर्ने व्यक्‍तिले प्राचीनहरूसित सम्पर्क गरेन भने हामीले त्यसबारे रिपोर्ट नगर्नु करुणा देखाइरहेको हुनेछैन। हामीमध्ये कसै-कसैले हरेस खाएका हौंला, एक्लो महसुस गरेका हौंला, अयोग्य भावनाले सताइएका वा नैराश्‍यले छोपिएका हौंला। करुणाले भरिएको जिब्रो प्रयोग गर्ने एउटा राम्रो तरिका ‘हरेस खानेलाई दिलाशा दिएर’ हो।—१ थिस्स. ५:१४.

१७ परमेश्‍वरका शत्रुहरूले हाम्रा सँगी विश्‍वासीबारे अफवाह फैलाए भने के गर्नुपर्छ? त्यतिबेला हाम्रा भाइहरूको सत्यनिष्ठामा शङ्‌का गर्नुको साटो हामीले त्यस्तो कुरालाई ध्यान नदिई चूपो लागेर बस्न सक्छौं अथवा जसले दोष लगाएको हो, ऊसित कुरा गर्न सकिन्छ भने त्यस्तो दोष लगाउनुमा साँच्चै कुनै आधार छ कि भनी उसलाई सोध्न सक्छौं। परमेश्‍वरका जनका शत्रुहरूले ख्रीष्टियान भाइहरूलाई हानि पुऱ्‍याउने हेतुले तिनीहरू कहाँ बस्छन्‌ भनी थाह पाउन खोज्छन्‌ भने भाइहरूप्रतिको वफादार प्रेमको कारण हामी त्यसबारे कुनै जानकारी दिंदैनौं।—हितो. १८:२४.

करुणा देखाउने व्यक्‍तिले ‘जीवन पाउँछ’

१८, १९. सँगी उपासकहरूसित व्यवहार गर्दा करुणाले भरिएको बोली बोल्न किन छोड्‌नुहुँदैन?

१८ यहोवाको उपासना गर्ने सँगी उपासकहरूसित व्यवहार गर्दा हामीले सधैं वफादार प्रेम देखाउनुपर्छ। गाह्रोसाह्रो परिस्थिति आइपर्दासमेत करुणाले भरिएको बोली बोल्न छोड्‌नुहुँदैन। इस्राएलको करुणा “बिलिजाने शीतजस्तै” भएकोले यहोवा दुःखी हुनुभयो। (होशे ६:४, ६) अर्कोतर्फ, करुणा देखाइरहँदा यहोवा प्रसन्‍न हुनुहुन्छ। त्यसैले करुणा देखाइरहनेहरूलाई उहाँले कत्ति धेरै आशिष्‌ दिनुहुनेछ, सोच्नुहोस्‌ त।

१९ हितोपदेश २१:२१ भन्छ: “असल चालचलन र भक्‍ति [“करुणा,” NW] देखाउनेले जीवन र आदर पाउँछ।” यस्ता व्यक्‍तिहरूले पाउने आशिष्‌हरूमध्ये एउटा हो, तिनीहरूले जीवन पाउनेछन्‌, त्यो पनि छोटो होइन तर कहिल्यै अन्त नहुने। यहोवाले तिनीहरूलाई ‘साँच्चैको जीवन पक्री राख्न मदत गर्नुहुनेछ।’ (१ तिमो. ६:१२, १९) त्यसोभए ‘हरेकले आफ्नो भाइप्रति कृपाको [“करुणाको,” NW] व्यवहार गरिरहौं।’—जक. ७:९. ( w10 -E 08/15)

[फुटनोट]

a करुणा भन्‍ने गुण वफादारिता, प्रेम र दयाभन्दा कसरी भिन्‍न छ, त्यसबारे थप जानकारीको लागि मे १५, २००२ अंकको प्रहरीधरहरा पृष्ठ १२-१३, १८-१९ हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• करुणा के हो?

• करुणाले भरिएको बोली बोल्न हामीलाई केले मदत गर्नेछ?

• विवाहित जोडीले कसरी आफ्नो बोलीबाट वफादार प्रेम देखाउन सक्छन्‌?

• सँगी विश्‍वासीहरूसित व्यवहार गर्दा करुणाले भरिएको जिब्रो प्रयोग गरिरहेका छौं भनी केले देखाउँछ?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

दाऊदले यहोवाको करुणाको प्रशंसा गरे

[पृष्ठ २४-मा भएको चित्र]

के तपाईं नियमित रूपमा साँझको पारिवारिक उपासना गर्नुहुन्छ?