सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फिरौतीको बलिदानले हामीलाई कसरी बचाउँछ

फिरौतीको बलिदानले हामीलाई कसरी बचाउँछ

फिरौतीको बलिदानले हामीलाई कसरी बचाउँछ

“जसले पुत्रमाथि विश्‍वास गर्छ, त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्‍वरको क्रोध त्यसमाथि रहन्छ।”—यूह. ३:३६.

१, २. जायन्स्‌ वाच टावर-को पहिलो अंक प्रकाशित गर्नुको एउटा कारण के थियो?

 अक्टोबर १८७९ मा प्रकाशित यस पत्रिकाको चौथो अंकमा लेखिएको थियो: “ध्यान दिएर अध्ययन गर्ने बाइबल विद्यार्थीले ख्रीष्टको मृत्युलाई बाइबलमा कत्तिको महत्त्व दिइएको छ भनेर स्वतः बुझिहाल्नेछ।” त्यस लेखको निष्कर्षमा यस्तो गम्भीर कुरा थियो: “ख्रीष्ट पापको निम्ति बलिदान हुन र पापको प्रायश्‍चितको लागि मर्नुभएको थियो भन्‍ने कुरालाई गम्भीरतापूर्वक नलिने वा त्यसलाई बेवास्ता गर्ने कुनै पनि कुरादेखि हामी होसियार रहौं।”—१ यूहन्‍ना २:१, २ पढ्‌नुहोस्‌।

जुलाई १८७९ मा जायन्स्‌ वाच टावर पहिलो चोटि प्रकाशित गर्नुको एउटा कारण फिरौतीबारे बाइबलको शिक्षाको पक्ष लिनु थियो। यस पत्रिकाले १९ औं शताब्दीको अन्ततिर “ठीक ठीक समयमा” भोजन प्रदान गऱ्‍यो, जतिबेला येशूको मृत्यु हाम्रो पापको लागि फिरौती कसरी हुन सक्छ भनेर बढ्‌दै गएका ख्रीष्टियान भनाउँदाहरूले प्रश्‍न गर्न थालेका थिए। (मत्ती २४:४५) त्यतिबेला थुप्रै मानिसले क्रमविकासमा विश्‍वास गर्न थालेका थिए, जुन विश्‍वास मानिस सिद्ध अवस्थाबाट पतित भएको थियो भन्‍ने तथ्यसित मेल खाँदैन। मानिसको क्रमिक विकास हुँदै जाने भएकोले तिनीहरूलाई फिरौतीको कुनै आवश्‍यकता छैन भनेर क्रमविकासवादीहरू सिकाउँछन्‌। त्यसकारण प्रेरित पावलले तिमोथीलाई यस्तो सल्लाह दिनु निकै उपयुक्‍त छ: “अशुद्ध वकवादबाट र ज्ञान कहलिएको झूटा विरोधबाट फर्केर तिमीलाई सुम्पिएको जो छ, त्यसको हिफाजत गर, जो कुनै-कुनैले मानेर विश्‍वासबाट भ्रममा परेका छन्‌।”—१ तिमो. ६:२०, २१.

३. अब हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

तपाईं ‘विश्‍वासबाट भ्रममा नपर्न’ अर्थात्‌ विश्‍वासबाट नचुक्न कटिबद्ध हुनुहुन्छ भन्‍ने कुरामा कुनै सन्देह छैन। आफ्नो विश्‍वास बलियो बनाइराख्न यी प्रश्‍नहरूमा विचार गर्नु महत्त्वपूर्ण छ: मलाई किन फिरौतीको आवश्‍यकता छ? यसको लागि कस्तो मोल चुकाउनुपऱ्‍यो? परमेश्‍वरको क्रोधबाट बचाउन सक्ने यस अनमोल प्रबन्धबाट म कसरी लाभ उठाउन सक्छु?

हामी परमेश्‍वरको क्रोधबाट बच्न सक्छौं

४, ५. परमेश्‍वरको क्रोध यस दुष्ट रीतिरिवाजमाथि रहेको कुरा केले प्रमाणित गर्छ?

आदम पापमा फसेको बेलादेखि अहिलेसम्म परमेश्‍वरको क्रोध मानिसजातिमाथि ‘रहेको छ’ भनी बाइबल अनि मानिसजातिको दुःखद इतिहासले देखाउँछ। (यूह. ३:३६) यो कुरा कुनै पनि मानिस मृत्युदेखि उम्कन नसकेको कुराबाट प्रस्ट भएको छ। मानिसले भोगिरहेको विपत्तिबाट बचाउन शैतानको शासन पूर्णतया असक्षम भएको छ र कुनै पनि मानव सरकारले आफ्ना सम्पूर्ण नागरिकको आधारभूत आवश्‍यकताहरू पूरा गर्न सकेको छैन। (१ यूह. ५:१९) त्यसैकारण अहिलेसम्म मानिसजाति युद्ध, अपराध र गरिबीको चपेटामा परिरहेको छ।

त्यसैले स्पष्ट छ, यस वर्तमान दुष्ट रीतिरिवाजमाथि यहोवाको आशिष्‌ छैन। पावलले भने: “अधर्मको विरूद्धमा स्वर्गबाट परमेश्‍वरको क्रोध प्रकट भएको छ।” (रोमी १:१८-२०) त्यसकारण पश्‍चात्ताप नगरीकन परमेश्‍वरको इच्छा विपरीत जीवन बिताइरहनेहरू आफ्नो खराब आचरणको नतिजादेखि उम्कन सक्नेछैनन्‌। आज, शैतानको संसारमाथि खन्याइएका विपत्तिरूपी न्यायदण्डका सन्देशहरूमा परमेश्‍वरको क्रोध देखिन्छ र हाम्रा बाइबल आधारित थुप्रै प्रकाशनमा यस्तो जानकारी पाउँछौं।—प्रका. १६:१.

६, ७. अभिषिक्‍त ख्रीष्टियानहरूले कुन काममा नेतृत्व लिंदैछन्‌ र शैतानको संसारका मानिसहरूको लागि कस्तो मौका अझै खुल्ला छ?

के यसको अर्थ मानिसहरू शैतानको शासनबाट मुक्‍त हुन र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन निकै ढिलो भइसक्यो भन्‍ने हो? होइन, यहोवासित मिलाप गर्नको लागि अहिले पनि ढोका खुल्लै छ। ‘ख्रीष्टको पक्षमा राजदूत’ अर्थात्‌ अभिषिक्‍त ख्रीष्टियानहरूले जन प्रचारकार्यमा नेतृत्व लिइरहेका छन्‌, जुन प्रचारकार्यबाट सबै देशका मानिसहरूलाई यस्तो निम्तो दिइँदैछ: “परमेश्‍वरसँग मिलाप राख।”—२ कोरि. ५:२०, २१.

“हामीमाथि आउने क्रोधबाट” येशूले ‘बचाउनुहुनेछ’ भनेर प्रेरित पावलले बताए। (१ थिस्स. १:१०) यहोवाले आफ्नो क्रोध खन्याउने अन्तिम चरणमा अपश्‍चात्तापी पापीहरूको अनन्त विनाश गर्नुहुनेछ। (२ थिस्स. १:६-९) त्यसबाट को बच्नेछन्‌? बाइबल बताउँछ: “जसले पुत्रमाथि विश्‍वास गर्छ, त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्‍वरको क्रोध त्यसमाथि रहन्छ।” (यूह. ३:३६) हो, यस रीतिरिवाजको अन्त हुने बेला जो-जो जीवित रहन्छन्‌ र ज-जसले येशू र उहाँको फिरौतीमा विश्‍वास राख्छन्‌, तिनीहरू परमेश्‍वरको अन्तिम क्रोध खन्याइँदा बच्नेछन्‌।

फिरौतीको भूमिका

८. (क) आदम र हव्वाको सामु कस्तो ठूलो आशा थियो? (ख) यहोवा कसरी सिद्ध न्यायका परमेश्‍वर साबित हुनुभयो?

आदम र हव्वा त्रुटिरहित सृष्टि गरिएको थियो। तिनीहरू परमेश्‍वरप्रति आज्ञाकारी रहिरहेका भए अहिले तिनीहरू पृथ्वीमा आफ्ना आनन्दित सन्तानहरूसँगसँगै प्रमोदवनमा सधैंभरि बाँचिरहेका हुनेथिए। तर दुःखको कुरा, हाम्रा प्रथम आमाबाबुले जानाजानी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे। यसको परिणामस्वरूप तिनीहरूलाई अनन्त मृत्युको सजाय सुनाइयो र सुरुको प्रमोदवनबाट निकालियो। आदम र हव्वाले छोराछोरी जन्माउनुअघि नै तिनीहरूले पापको असर भोग्न थालिसकेका थिए। यसकारण प्रथम पुरुष र स्त्री अन्ततः वृद्ध भए र मरे। यसबाट यहोवाले आफ्नो कुरा अवश्‍य पूरा गर्नुहुन्छ भनेर प्रमाणित हुन्छ। यसबाहेक, उहाँ सिद्ध न्यायका परमेश्‍वर हुनुहुन्छ। यहोवाले आदमलाई निषेधित फल खाएमा मर्नेछौ भनेर चेतावनी दिनुभएको थियो र त्यस्तै भयो पनि।

९, १०. (क) आदमका सन्तानहरू किन मर्छन्‌? (ख) हामी अनन्त मृत्युबाट कसरी बच्न सक्छौं?

आदमका सन्तान भएकोले हामीले जन्मजात पाप र अन्ततः मृत्यु हुने असिद्ध शरीर पाएका छौं। हुन त, आदमले पाप गर्दा हामी तिनको सन्तानको रूपमा जन्मिसकेका थिएनौं। तर तिनकै सन्तान भएकोले हामी पनि मर्नुपर्छ। बूढाबूढी हुने अनि मर्ने प्रक्रियालाई यहोवाले फिरौतीको मोल नतिरीकनै रोक्नुभएको भए उहाँले आफ्नो वचनअनुरूप गरिरहनुभएको हुनेथिएन। त्यसकारण पावलले वास्तवमा हामी सबैको तर्फबाट यसो भने: “हामी जान्दछौं, व्यवस्था आत्मिक हो, तर मचाहिं शारीरिक हुँ, र पापमा बेचिएको छु। हाय, म कस्तो दु:खी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले बचाउला?”—रोमी ७:१४, २४.

१० साँचो अर्थमा हाम्रो पापको क्षमा दिने र अनन्त मृत्युको सजायबाट मुक्‍त गर्ने कानुनी आधार यहोवाले मात्र प्रबन्ध गर्न सक्नुहुन्छ। यसो गर्न उहाँले आफ्नो प्रिय पुत्रलाई सिद्ध मानिसको रूपमा जन्मन स्वर्गबाट पृथ्वीमा पठाउनुभयो, जसले हाम्रो निम्ति फिरौतीस्वरूप आफ्नो जीवन दिने थियो। आदमले आफ्नो सिद्धता गुमायो तर येशू भने चुक्नुभएन। वास्तवमा, ‘उहाँले कुनै पाप गर्नुभएन।’ (१ पत्रु. २:२२) त्यसकारण येशू सिद्ध मानिसजातिको पिता बन्‍न सक्नुहुन्थ्यो। तथापि, आदमका पापी सन्तानहरूलाई स्वीकार्न सकियोस्‌ र उहाँमाथि विश्‍वास गर्नेहरूले अनन्त जीवन पाउन सकून्‌ भनेर येशूले आफूलाई परमेश्‍वरका शत्रुहरूद्वारा मारिन दिनुभयो। बाइबल बताउँछ: “परमेश्‍वर एउटै हुनुहुन्छ। परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ पनि छ, अर्थात्‌ ख्रीष्ट येशू, जो मानिस हुनुहुन्छ। उहाँले सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो।”—१ तिमो. २:५, ६.

११. (क) फिरौतीबाट हुने लाभहरूलाई कसरी उदाहरणसहित बुझाउन सकिन्छ? (ख) फिरौतीले कुन हदसम्म लाभ पुऱ्‍याउनेछ?

११ फिरौतीको भूमिकाबारे एउटा उदाहरण विचार गरौं। बैंकले बेइमानी गरेको कारण त्यहाँ पैसा जम्मा गर्ने खातावालहरूको सबै पैसा गुमेको र ऋणमा डुबेको छ। बैंक धनीहरूले वर्षौंको लागि जेल सजाय पाउनु उचित थियो। तर ती निर्दोष खातावालहरू नि? एक जना दयालु अनि धनी मानिसले त्यो बैंक नलिएसम्म र सबैको ऋण चुक्‍ता हुने गरी पैसा फिर्ता नगरेसम्म, कङ्‌गाल भएका ती खातावालहरूले कुनै हालतमा त्यो परिस्थितिबाट छुटकारा पाउनेछैनन्‌। त्यसैगरि, यहोवा परमेश्‍वर र उहाँको प्रिय पुत्रले आदमका सन्तानहरू किन्‍नुभएको छ र येशूले बगाएको रगतको आधारमा तिनीहरूको पापको ऋण माफी दिनुभएको छ। त्यसैकारण बप्तिस्मा दिने यूहन्‍नाले येशूबारे यसो भन्‍न सके: “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!” (यूह. १:२९) अतः जीवितहरूको मात्र होइन तर मरिसकेकाहरूको पनि पाप उठाएर लगिन्छ।

फिरौतीको लागि कस्तो मोल चुकाइयो

१२, १३. इसहाकलाई बलि चढाउन अब्राहामले देखाएको इच्छुकताबाट हामी के सिक्न सक्छौं?

१२ हाम्रो स्वर्गका पिता र उहाँको प्रिय पुत्रले फिरौतीस्वरूप ठ्याक्क कत्ति मोल चुकाउनुपऱ्‍यो, हामी बुझ्न सक्दैनौं। तर बाइबलमा दिइएका अनुभवहरूले हामीलाई यसबारे मनन गर्न मदत दिन सक्छ। जस्तै: परमेश्‍वरको आज्ञा पालन गर्न अब्राहामले मोरीयाहसम्मको तीन दिन लामो यात्रा गर्दा कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌। परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको थियो: “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होमबलि गर्‌।”—उत्प. २२:२-४.

१३ अन्ततः अब्राहाम आफ्नो गन्तव्यमा पुगे। अब्राहाम आफैले बनाएको वेदीमा इसहाकको हातखुट्टा बाँधेर राख्नुपर्दा तिनको मन कत्ति रोएको हुनुपर्छ, सोच्नुहोस्‌ त। आफ्नो छोरालाई मार्न छुरा उठाउनुपर्दा अब्राहामको मनमा कत्ति चोट पऱ्‍यो होला! छुरा प्रहार गरिंदा सहनुपर्ने तीव्र पीडा र त्यसपछि हुने मृत्युबारे सम्झँदा वेदीमा राखिएका इसहाकको मनमा कस्तो छटपटी भयो होला, कल्पना गर्नुहोस्‌। तर अब्राहामले छुरा प्रहार गर्नै लाग्दा यहोवाको स्वर्गदूतले तिनलाई रोके। अब्राहाम र इसहाकले त्यसबेला जे-जति गरे, त्यसबाट शैतानका कार्यकर्ताहरूको हातमा आफ्नो पुत्रलाई मारिन दिनुहुँदा यहोवाले कत्ति धेरै मोल चुकाउनुपऱ्‍यो, हामी बुझ्ने मदत पाउँछौं। इसहाकले अब्राहामलाई साथ दिएको कुराले येशू हाम्रो निम्ति दुःख भोग्न र मर्न इच्छुक हुनुहुन्थ्यो भनेर राम्ररी चित्रण गर्छ।—हिब्रू ११:१७-१९.

१४. याकूबको जीवनको कुन घटनाले हामीलाई फिरौतीको लागि चुकाइएको मोलप्रति कृतज्ञ हुन मदत गर्छ?

१४ फिरौतीको लागि कस्तो मोल चुकाइयो भनेर याकूबको जीवनको एउटा घटनाबाट पनि प्रस्ट हुन्छ। आफ्ना छोराहरूमध्ये याकूबले यूसुफलाई सबैभन्दा बढी माया गर्थे। दुःखको कुरा, यूसुफका दाइहरूले तिनको ईर्ष्या गर्थे अनि तिनलाई घृणा गर्थे। तैपनि दाइहरूको हालखबर बुझ्न बुबाले पठाउँदा यूसुफ खुसीसाथ गए। त्यतिबेला तिनीहरू आफ्नो घर हेब्रोनदेखि लगभग १०० किलोमिटर टाढा उत्तरतिर आफ्नो बुबा याकूबको बगाल चराइरहेका थिए। रगतले लटपटिएको यूसुफको लुगा लिएर आफ्ना छोराहरू फर्कंदा याकूबले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌! तिनले रुँदै यसो भने, “यो ता मेरो छोराकै लबेदा हो। जङ्‌गली पशुले त्यसलाई खाएछ क्यार! निस्सन्देह यूसुफलाई धुजाधुजा पाऱ्‍यो होला!” यो घटनाले याकूबको मनमा ठूलो चोट पऱ्‍यो र तिनले यूसुफको निम्ति धेरै दिनसम्म शोक गरे। (उत्प. ३७:३३, ३४) यहोवाले देखाउने प्रतिक्रिया र असिद्ध मानिसले देखाउने प्रतिक्रिया ठ्याक्क उस्तै त छैन। तथापि, याकूबको यो घटनालाई मनन गर्दा, आफ्नो प्रिय पुत्रलाई पृथ्वीमा मानिसको रूपमा दुर्व्यवहार गरिंदा र निर्ममतापूर्वक मारिंदा परमेश्‍वरले कस्तो महसुस गर्नुभएको हुनुपर्छ भन्‍ने कुरा बुझ्न केही हदसम्म मदत पाउँछौं।

फिरौतीबाट हुने लाभ

१५, १६. (क) यहोवाले फिरौतीको बलिदान स्वीकार्नुभएको कुरा कसरी देखाउनुभयो? (ख) फिरौतीको बलिदानबाट तपाईंले कसरी लाभ उठाउनुभएको छ?

१५ यहोवा परमेश्‍वरले आफ्नो विश्‍वासी पुत्रलाई महिमित आत्मिक शरीरमा पुनरुत्थान गर्नुभयो। (१ पत्रु. ३:१८) आफ्ना चेलाहरूको विश्‍वास बलियो बनाउन र भविष्यमा हुने व्यापक प्रचारकार्यको लागि तयार गर्न पुनरुत्थान भएका येशू तिनीहरूमाझ ४० दिनसम्म देखापर्नुभयो। त्यसपछि उहाँ स्वर्ग जानुभयो र आफ्नो बगाइएको रगतको मोल उहाँले परमेश्‍वरसामु चढाउनुभयो, जुन उहाँको फिरौतीको बलिदानमा विश्‍वास गर्ने साँचो अनुयायीहरूको निम्ति प्रयोग हुनेथियो। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा यरूशलेममा भेला भएका चेलाहरूलाई पवित्र आत्मा खन्याउन येशूलाई खटाएर यहोवा परमेश्‍वरले ख्रीष्टको फिरौती स्वीकार्नुभएको कुरा देखाउनुभयो।—प्रेरि. २:३३.

१६ यसको लगत्तै, ख्रीष्टका यी अभिषिक्‍त अनुयायीहरूले सँगी मानिसहरूलाई आफ्ना पापको क्षमाको लागि येशू ख्रीष्टको नाममा बप्तिस्मा लिएर परमेश्‍वरको क्रोधबाट बच्न आग्रह गर्न थाले। ( प्रेरित २:३८-४० पढ्‌नुहोस्‌) त्यो ऐतिहासिक दिनदेखि आजसम्म सबै देशका लाखौं मानिसले येशूको फिरौतीको बलिदानमा विश्‍वास गरेर परमेश्‍वरसित सम्बन्ध गाँसेका छन्‌। (यूह. ६:४४) अबचाहिं हामीले यी दुई प्रश्‍नमाथि विचार गर्नुपर्छ: के हामीमध्ये कसैलाई हाम्रो आफ्नै असल कामहरूले गर्दा अनन्त जीवनको आशा दिइएको हो? यस्तो सुन्दर आशा पाइसकेपछि के त्यो फेरि गुम्न सक्छ?

१७. परमेश्‍वरको मित्र बन्‍ने ठूलो आशिष्‌प्रति तपाईंले कस्तो दृष्टिकोण राख्नुपर्छ?

१७ फिरौतीको लागि हामी पटक्कै योग्य छैनौं। तर आज यसमा विश्‍वास गरेर लाखौं मानिसहरू परमेश्‍वरको मित्र बनेका छन्‌ र तिनीहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशा पाएका छन्‌। तथापि, यहोवाको मित्र हुँदैमा उहाँसितको यो सम्बन्ध सधैं कायम रहनेछ भन्‍ने कुनै ग्यारेन्टी छैन। भविष्यमा परमेश्‍वरको क्रोधको दिनबाट बच्न हामीले ख्रीष्ट येशूले तिर्नुभएको फिरौतीप्रति गहिरो कृतज्ञता देखाइरहनै पर्छ।—रोमी ३:२४; फिलिप्पी २:१२ पढ्‌नुहोस्‌।

फिरौतीमा विश्‍वास गरिरहनुहोस्‌

१८. फिरौतीमा विश्‍वास गर्नुमा के समावेश छ?

१८ यस लेखको डोऱ्‍याउने पद यूहन्‍ना ३:३६ ले प्रभु येशू ख्रीष्टलाई विश्‍वास गर्नुमा उहाँको आज्ञाकारी हुनु पनि समावेश छ भनेर देखाउँछ। फिरौतीप्रतिको कृतज्ञताले हामीलाई येशूले नैतिकताबारे सिकाएको कुरालगायत उहाँको शिक्षाबमोजिम जीवन बिताउन उत्प्रेरित गर्नुपर्छ। (मर्कू. ७:२१-२३) व्यभिचार, अश्‍लील ठट्टा र “सारा अशुद्धता,” जुन अशुद्धतामा अश्‍लील सामग्रीहरू हेर्ने बानी पनि पर्छ, त्यस्ता कुराहरूमा लागिरहने अपश्‍चात्तापी सबैमाथि ‘परमेश्‍वरको क्रोध आउँदैछ।’—एफि. ५:३-६.

१९. फिरौतीमा विश्‍वास गरेको देखाउने तरिकाहरू के-के हुन्‌?

१९ फिरौतीप्रति कृतज्ञ छौं भने ईश्‍वरीय “भक्‍ति”-का कार्यहरूमा व्यस्त हुनेछौं। (२ पत्रु. ३:११) नियमित र व्यग्र प्रार्थना गर्न, व्यक्‍तिगत बाइबल अध्ययन गर्न, सभा धाउन, पारिवारिक उपासना गर्न र जोसिलो भई राज्य प्रचारकार्यमा भाग लिन यथेष्ट समय छुट्ट्याऔं। अनि ‘भलाइ गर्न र सहयोगी हुन नबिर्सौं, किनकि यस्तै बलिदानहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ।’—हिब्रू १३:१५, १६.

२०. फिरौतीमा विश्‍वास गरिरहनेहरू सबैले भविष्यमा कस्ता आशिष्‌हरू पाउने आशा गर्न सक्छन्‌?

२० यस दुष्ट रीतिरिवाजमाथि यहोवाको क्रोध पोखाइँदा, फिरौतीमा विश्‍वास गरेको र त्यसप्रति कृतज्ञता देखाइरहेकोमा हामी कत्ति खुसी हुनेछौं! अनि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा, फिरौतीको प्रबन्धप्रति हामी सधैं आभारी हुनेछौं किनभने यस मायालु प्रबन्धले गर्दा हामी परमेश्‍वरको क्रोधबाट बच्न सक्यौं।—यूहन्‍ना ३:१६; प्रकाश ७:९, १०, १३, १४ पढ्‌नुहोस्‌।w10 -E 08/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हामीलाई फिरौतीको बलिदान किन आवश्‍यक छ?

• फिरौतीको लागि कस्तो मोल चुकाइयो?

• फिरौतीका लाभहरू के-के हुन्‌?

• येशूको फिरौतीको बलिदानमा विश्‍वास गरेको हामी कसरी देखाउँछौं?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

यहोवासित मिलाप गर्ने ढोका खुल्ला छ

[पृष्ठ १९-मा भएका चित्रहरू]

अब्राहाम, इसहाक र याकूबका यी घटनाहरूमा मनन गर्दा फिरौतीको लागि चुकाइएको ठूलो मोलप्रति कृतज्ञ हुन मदत पाउन सक्छौं