सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूले परमेश्‍वरको धार्मिकताको महिमा कसरी गर्नुहुन्छ

येशूले परमेश्‍वरको धार्मिकताको महिमा कसरी गर्नुहुन्छ

येशूले परमेश्‍वरको धार्मिकताको महिमा कसरी गर्नुहुन्छ

“जसलाई परमेश्‍वरले . . . आफ्नो धार्मिकता देखाउनको निम्ति [ ख्रीष्टको] रगतले विश्‍वासद्वारा प्रायश्‍चित हुनलाई अगाडि सार्नुभयो।”—रोमी ३:२५

१, २. (क) मानिसजातिको अवस्थाबारे बाइबलले हामीलाई के सिकाउँछ? (ख) यस लेखमा कस्ता प्रश्‍नहरू विचार गरिनेछन्‌?

 अदनको बगैंचामा भएको विद्रोहबारे बाइबलको विवरण चिरपरिचित छ। आदमको पापको असर हामी सबैले भोगिरहेका छौं किनभने “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) जे सही छ, त्यही गर्ने सक्दो कोसिस गरे तापनि हामी गल्ती गर्छौं। त्यसैले हामीलाई परमेश्‍वरको क्षमा चाहिन्छ। प्रेरित पावलले समेत यस्तो दुखेसो पोखे: “असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्‍न, त्यही म गर्नेगर्छु। हाय, म कस्तो दुःखी मानिस!”—रोमी ७:१९, २४.

हामी सबै जन्मजात असिद्ध भएकोले यस्ता प्रश्‍नहरू सोध्नु जायज छ: नासरतका येशू वंशाणुगत पापबाट मुक्‍त भएर जन्मिन कसरी सम्भव भयो अनि उहाँले किन बप्तिस्मा लिनुभयो? येशूको जीवनशैलीले यहोवाको धार्मिकताको कसरी महिमा गऱ्‍यो? अझ महत्त्वपूर्ण कुरा, ख्रीष्टको मृत्युले कुन उद्देश्‍य पूरा गऱ्‍यो?

परमेश्‍वरको धार्मिकतालाई चुनौती दिइयो

३. शैतानले हव्वालाई कसरी बहकायो?

हाम्रा प्रथम आमाबाबु आदम र हव्वाले मूर्खतापूर्वक परमेश्‍वरको सार्वभौमिकतालाई तिरस्कार गरेर ‘दियाबल र शैतान भनिने, त्यो वृद्ध साँपको’ शासनको अधीनमा बस्न रुचायो। (प्रका. १२:९) कसरी यस्तो भयो, विचार गरौं। शैतानले यहोवा परमेश्‍वरको शासन गर्ने तरिकामाथि प्रश्‍न खडा गऱ्‍यो। त्यसले हव्वालाई यस्तो प्रश्‍न गऱ्‍यो: “के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?” एउटा खास रूख नछुनू नत्रता मर्नेछौ भनी परमेश्‍वरले जुन स्पष्ट आज्ञा दिनुभएको थियो, हव्वाले त्यही दोहोऱ्‍याएर भनिन्‌। त्यसपछि शैतानले परमेश्‍वर झूटो बोल्दै हुनुहुन्छ भनेर आरोप लगायो। दियाबलले भन्यो: “तिमीहरू कदापि मर्दैनौ।” परमेश्‍वरले केही असल कुराबाट वञ्चित गर्दै हुनुहुन्छ अनि त्यो फल खायो भने परमेश्‍वरजस्तै हुनेछौ र सही/गलत आफैले निर्णय गर्न सक्नेछौ भन्‍ने कुरा विश्‍वास गर्न लगाएर त्यसले हव्वालाई बहकायो।—उत्प. ३:१-५.

४. मानिसजाति कसरी परमेश्‍वरको विरोधी शैतानको शासनको अधीनमा पऱ्‍यो?

वास्तवमा, शैतानले के भन्‍न खोजिरहेको थियो भने मानिसजाति परमेश्‍वरबाट स्वतन्त्र भएको खण्डमा अझ खुसी हुनेछ। परमेश्‍वरको न्यायोचित सार्वभौमिकतालाई समर्थन गर्नुको साटो आदमले आफ्नी पत्नीको कुरा सुने र त्यो निषेधित फल खाए। यसरी आदमले यहोवासितको असल सम्बन्ध बिगारे र हामीलाई पाप अनि मृत्युको दलदलमा धकेले। साथै, परमेश्‍वरको विरोधी शैतान, जो “यस संसारको देव” हो, त्यसको शासनको अधीनमा मानिसजाति पऱ्‍यो।—२ कोरि. ४:४; रोमी ७:१४.

५. (क) यहोवाको वचन कसरी सही साबित भयो? (ख) आदम र हव्वाका सन्ततिलाई परमेश्‍वरले कस्तो आशा दिनुभयो?

कहिल्यै नचुक्ने आफ्नो वचनअनुसारै यहोवाले आदम र हव्वालाई मृत्युदण्ड दिनुभयो। (उत्प. ३:१६-१९) तर यसको मतलब परमेश्‍वरको उद्देश्‍य विफल भएको पटक्कै होइन। यहोवाले आदम र हव्वालाई मृत्युदण्ड दिंदा उहाँले तिनीहरूका भावी सन्ततिको लागि भने उज्ज्वल आशा दिनुभयो। कसरी? भविष्यमा “सन्तान” खडा गर्ने आफ्नो उद्देश्‍य घोषणा गरेर। शैतानले त्यस सन्तानको कुर्कुच्चो डस्नेथियो। तथापि, प्रतिज्ञा गरिएको त्यस सन्तानको चोट निको हुनेथियो र त्यसले ‘[शैतानको] शिर कुच्याउनेथियो।’ (उत्प. ३:१५) यस मूल विषयलाई अझ खुलाउँदै येशू ख्रीष्टको विषयमा बाइबल यसो भन्छ: “शैतानका कामहरू नष्ट पार्नलाई नै परमेश्‍वरका पुत्र प्रकट हुनुभएको हो।” (१ यूह. ३:८) तर येशूको आचरण र मृत्युले कसरी परमेश्‍वरको धार्मिकताको महिमा गऱ्‍यो?

येशूको बप्तिस्माको अर्थ

६. आदमको वंशाणुगत पापबाट येशू मुक्‍त हुनुहुन्थ्यो भनेर हामी कसरी थाह पाउँछौं?

वयस्क भएपछि येशू, सुरुको सिद्ध आदम बराबर हुनुपर्ने थियो। (रोमी ५:१४; १ कोरि. १५:४५) यसको लागि येशू सिद्ध रूपमा जन्मेको हुनुपर्थ्यो। यो कसरी सम्भव भयो? गब्रिएल स्वर्गदूतले येशूकी आमा मरियमलाई यस्तो स्पष्ट जानकारी दिए: ‘पवित्र आत्मा तिमीमाथि आउनेछ, औ परमप्रधानको शक्‍तिले तिमीलाई छाया पार्नेछ, यसैकारण जो जन्मनुहुनेछ सो पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।’ (लूका १:३५) येशू सानो छँदादेखि नै उहाँलाई मरियमले उहाँको जन्मसित सम्बन्धित केही खास तथ्यहरू बताएकी हुनुपर्छ। त्यसकारण, मरियम र येशूको धर्मपिता यूसुफले एक चोटि उहाँलाई परमेश्‍वरको मन्दिरमा भेट्टाउँदा बालक येशूले सोध्नुभयो: “के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाह थिएन?” (लूका २:४९) स्पष्टतया, येशूलाई सानैदेखि आफू परमेश्‍वरको छोरा हुँ भनेर थाह थियो। त्यसैले परमेश्‍वरको धार्मिकताको महिमा गर्नु येशूको लागि एकदमै महत्त्वपूर्ण थियो।

७. येशूसित कस्ता अनमोल कुराहरू थिए?

उपासना गर्न नियमित तवरमा सभाहरू धाउनुभएर येशूले आध्यात्मिक गतिविधिहरूमा गहिरो चासो देखाउनुभयो। सिद्ध दिमाग भएकोले हिब्रू धर्मशास्त्रबाट जे-जति कुरा सुन्‍नुभयो र पढ्‌नुभयो, त्यो उहाँले राम्ररी बुझेको हुनुपर्छ। (लूका ४:१६) उहाँसित अर्को एउटा अनमोल कुरा पनि थियो। त्यो हो, उहाँको सिद्ध मानव शरीर, जुन मानिसजातिको खातिर बलिदान दिन सकिन्थ्यो। बप्तिस्मा लिएपछि येशूले प्रार्थना गर्नुभयो र त्यतिबेला उहाँले भजन ४०:६-८ का भविष्यसूचक शब्दहरूबारे सोचिरहनुभएको हुन सक्छ।—लूका ३:२१; हिब्रू १०:५-१० पढ्‌नुहोस्‌।  a

८. बप्तिस्मा दिने यूहन्‍नाले येशूलाई किन बप्तिस्मा लिनदेखि रोक्न खोजेका थिए?

बप्तिस्मा दिने यूहन्‍नाले सुरुमा येशूलाई बप्तिस्मा लिनदेखि रोक्न खोजेका थिए। किन? किनभने यूहन्‍नाले यहूदीहरूलाई दिएको बप्तिस्मा, तिनीहरूले व्यवस्थाविरुद्ध गरेको पापको पश्‍चात्तापको प्रतीक थियो। यूहन्‍ना, येशूको नजिकका नातेदार थिए। त्यसैले येशूले कुनै पाप गर्नुभएको छैन र उहाँले पश्‍चात्ताप गर्नु पनि आवश्‍यक छैन भनेर तिनलाई थाह भएको हुनुपर्छ। आफूले बप्तिस्मा लिनु ठीक छ भनेर येशूले यूहन्‍नालाई आश्‍वस्त गराउनुभयो। उहाँले भन्‍नुभयो: “यसरीनै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।”—मत्ती ३:१५.

९. येशूको बप्तिस्माले के सङ्‌केत गऱ्‍यो?

येशू सिद्ध मानव हुनुहुन्थ्यो। त्यसैले आदमजस्तै आफू पनि सिद्ध छोराछोरीको बुबा बन्‍न सकिन्छ भनेर उहाँले सोच्न सक्नुहुन्थ्यो। तथापि, येशूले त्यस्तो भविष्यको कहिल्यै चाहना गर्नुभएन किनभने उहाँको लागि यहोवाको इच्छा त्यो थिएन। परमेश्‍वरले येशूलाई प्रतिज्ञा गरिएको सन्तान अर्थात्‌ मसीहको भूमिका पूरा गर्न पृथ्वीमा पठाउनुभएको थियो। यो भूमिका पूरा गर्न येशूले आफ्नो सिद्ध मानव जीवन बलिदान दिनुपर्थ्यो। ( यशैया ५३:५, ६, १२ पढ्‌नुहोस्‌) हो, येशूको बप्तिस्मा र हाम्रो बप्तिस्माको अर्थबीच भिन्‍नता छ। येशूको बप्तिस्माको अर्थ यहोवाप्रतिको समर्पण थिएन किनभने उहाँ परमेश्‍वरको समर्पित इस्राएल राष्ट्रको भाग पहिल्यैदेखि हुनुहुन्थ्यो। बरु मसीहबारे बाइबलमा भविष्यवाणी गरिएझैं येशूको बप्तिस्माले परमेश्‍वरको इच्छाबमोजिम गर्न उहाँ प्रस्तुत हुनुभएको कुरालाई सङ्‌केत गऱ्‍यो।

१०. मसीहको रूपमा परमेश्‍वरको इच्छाबमोजिम गर्नुमा के-के समावेश थियो र यसबारे येशूले कस्तो महसुस गर्नुभयो?

१० येशूले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरेको, चेला बनाएको र भविष्यमा नयाँ अनुयायीहरू बनाउने कामको लागि चेलाहरूलाई तयार पारेको यहोवा चाहनुहुन्थ्यो। परमेश्‍वरको इच्छाबमोजिम गर्न येशू प्रस्तुत हुनुमा यहोवा परमेश्‍वरको न्यायोचित सार्वभौमिकताको समर्थन गर्नको लागि सतावट र क्रूर मृत्यु भोग्न उहाँ इच्छुक हुनु पनि समावेश थियो। स्वर्गमा हुनुहुने पितालाई साँच्चै प्रेम गरेको कारण परमेश्‍वरको इच्छाबमोजिम गर्न येशू खुसी हुनुहुन्थ्यो र आफ्नो शरीर बलिदानस्वरूप चढाउने कुराप्रति उहाँले गहिरो सन्तुष्टि महसुस गर्नुभयो। (यूह. १४:३१) साथै, फिरौतीस्वरूप परमेश्‍वरलाई चढाइने उहाँको सिद्ध जीवनको मोलले हामीलाई पाप र मृत्युको दासत्वबाट छुटकारा दिन सक्छ भन्‍ने कुरा थाह पाउँदा पनि उहाँ आनन्दित हुनुभयो। यस्ता ठूला जिम्मेवारीहरू वहन गर्न आफूलाई प्रस्तुत गर्नुहुँदा के परमेश्‍वरले येशूलाई स्वीकार्नुभयो? हो, स्वीकार्नुभयो!

११. येशूलाई प्रतिज्ञा गरिएको मसीह अर्थात्‌ ख्रीष्टको रूपमा स्वीकार्नुभएको कुरा यहोवाले कसरी देखाउनुभयो?

११ येशू यर्दन नदीबाट निस्कँदा यहोवा परमेश्‍वरले उहाँलाई अनुमोदन गर्नुभएको कुरा स्पष्ट व्यक्‍त गर्नुभयो। यसबारे सुसमाचारका चारै जना लेखकले पुष्टि दिएका छन्‌। बप्तिस्मा दिने यूहन्‍नाले यसरी साक्षी दिए: ‘मैले आत्मालाई स्वर्गबाट परेवाझैं ओर्लंदै गरेको र [येशूमाथि] बसेको देखें। . . . औ मैले देखेको छु, औ परमेश्‍वरका पुत्र उहाँनै हुनुहुन्छ भनेर गवाही दिएको छु।’ (यूह. १:३२-३४) यसबाहेक त्यस अवसरमा यहोवाले यस्तो घोषणा गर्नुभयो: “यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।”—मत्ती ३:१७; मर्कू. १:११; लूका ३:२२.

मृत्युसम्मै विश्‍वासी

१२. बप्तिस्मा लिएपछि साढे तीन वर्षसम्म येशूले के गर्नुभयो?

१२ आफ्नो पिताको विषयमा र परमेश्‍वरको न्यायोचित सार्वभौमिकताबारे मानिसहरूलाई सिकाउन येशू साढे तीन वर्षसम्म पूर्णरूपमा लाग्नुभयो। हिंडेरै प्रतिज्ञा गरिएको देश पूरै यात्रा गर्दा उहाँ थाक्नुभयो तर कुनै कुराले उहाँलाई सत्यको विस्तृत गवाही दिनदेखि रोक्न सकेन। (यूह. ४:६, ३४; १८:३७) येशूले अरूलाई परमेश्‍वरको राज्यबारे सिकाउनुभयो। उहाँले चमत्कारपूर्ण ढङ्‌गमा बिरामी निको पार्नुभयो, भोकाएको भीडलाई खुवाउनुभयो र मरेकालाई समेत बिउँताउनुभयो। यसरी मानिसजातिको लागि परमेश्‍वरको राज्यले भविष्यमा के गर्नेछ भनेर उहाँले प्रस्ट देखाउनुभयो।—मत्ती ११:४, ५.

१३. येशूले प्रार्थनाबारे के सिकाउनुभयो?

१३ आफ्नो शिक्षा अनि निवारणकार्यको लागि आफैले त्यसको श्रेय लिन खोज्नुको साटो नम्र भई सबै कुराको लागि यहोवाको प्रशंसा गरेर येशूले उत्कृष्ट उदाहरण बसाल्नुभयो। (यूह. ५:१९; ११:४१-४४) कुन महत्त्वपूर्ण विषयहरूबारे हामीले प्रार्थना गर्नुपर्छ भनेर पनि येशूले सिकाउनुभयो। हामीले प्रार्थना गर्दा यहोवा भन्‍ने परमेश्‍वरको नाम “पवित्र गरिओस्‌” अनि उहाँको “इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा” हुनको लागि शैतानको दुष्ट शासनको ठाउँमा परमेश्‍वरको न्यायोचित सार्वभौमिकता स्थापित होस्‌ भनेर बिन्ती गर्नुपर्छ। (मत्ती ६:९, १०) यस्तो प्रार्थनाअनुसारै ‘पहिले [परमेश्‍वरको] राज्य र उहाँको धार्मिकता खोजी गर्न’ पनि येशूले हामीलाई आग्रह गर्नुभयो।—मत्ती ६:३३.

१४. येशू सिद्ध हुनुभए तापनि परमेश्‍वरको उद्देश्‍य पूरा गर्न उहाँले किन प्रयास गर्नु आवश्‍यक थियो?

१४ बलिदानस्वरूप आफू मारिने बेला नजिकिंदै जाँदा आफूले वहन गरिरहेको गहन जिम्मेवारीप्रति येशू अझ सजग हुनुभयो। येशूले अन्यायपूर्ण परीक्षा सहनु र क्रूर मृत्यु भोग्नुमा उहाँको पिताको उद्देश्‍य अनि इज्जत निर्भर थियो। आफ्नो मृत्यु हुनुभन्दा पाँच दिनअघि येशूले यस्तो प्रार्थना गर्नुभयो: “अब मेरो प्राण दुःखित भएको छ, औ म के भनूँ? हे पिता, मलाई यस घडीबाट बचाउनुहोस्‌? तर म यसैकारण यस घडीसम्म आइपुगें।” येशूले यहाँ मानिसमा आउने स्वाभाविक भावना व्यक्‍त गर्नुभयो। तर येशूले निःस्वार्थ भई आफ्नो ध्यान अझ महत्त्वपूर्ण विषयतिर मोड्‌नुभयो र प्रार्थना गर्नुभयो: “हे पिता, आफ्नो नाउँको महिमा गर्नुहोस्‌।” यहोवाले तुरुन्तै जवाफ दिनुभयो: “मैले महिमा गरेको छु र फेरि महिमा गर्ने पनि छु।” (यूह. १२:२७, २८) कुनै मानिसले कहिल्यै सामना नगरेको सत्यनिष्ठाको ठूलो परीक्षा भोग्न येशू इच्छुक हुनुहुन्थ्यो। तर स्वर्गमा हुनुहुने पिताका यी शब्दहरूले येशूलाई यहोवाको सार्वभौमिकताको महिमा गर्ने र त्यसलाई उच्च पार्ने काममा सफल हुन पक्कै पनि बलियो आत्मविश्‍वास दिएको हुनुपर्छ। अनि उहाँ सफल पनि हुनुभयो!

येशूको मृत्युले कुन उद्देश्‍य पूरा गऱ्‍यो

१५. आफ्नो मृत्युको ठीकअघि येशूले किन “अब सिद्धियो” भन्‍नुभयो?

१५ येशूलाई शासनाको खम्बामा झुण्ड्याइएको बेला उहाँले अन्तिम पीडादायी सास लिनुअघि “अब सिद्धियो” भन्‍नुभयो। (यूह. १९:३०) आफ्नो बप्तिस्मादेखि मृत्युअघिका साढे तीन वर्षको अवधिमा येशूले परमेश्‍वरको मदत पाएर कत्रो ठूलो उद्देश्‍य पूरा गर्नुभयो! येशू मर्दा ठूलो भुइँचालो गयो र मृत्युदण्ड दिन खटाइएका रोमी कप्तान यसो भन्‍न उत्प्रेरित भए: “साँच्चिनै यिनी परमेश्‍वरका पुत्र रहेछन्‌।” (मत्ती २७:५४) येशूले आफू परमेश्‍वरको पुत्र हुँ भनी दाबी गरेकोले अरूले उहाँको उपहास गरेको ती कप्तानले देखेको हुनुपर्छ। येशूले जे-जति दुःखकष्ट भोग्नुभए तापनि उहाँले आफ्नो सत्यनिष्ठा कायम राख्नुभयो र शैतानलाई महाको फटाहा साबित गर्नुभयो। परमेश्‍वरको सार्वभौमिकताको समर्थन गर्ने सबैलाई शैतानले यस्तो चुनौती दिएको थियो: “आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र?” (अय्यू. २:४) येशूले आफू विश्‍वासी रहेर, आदम र हव्वा तिनीहरूको अझ सजिलो परीक्षामा विश्‍वासी रहन सक्थे भनेर देखाउनुभयो। सबैभन्दा महत्त्वपूर्ण कुरा, येशूको जीवन र मृत्युले यहोवाको न्यायोचित सार्वभौमिकताको समर्थन र महिमा गऱ्‍यो। ( हितोपदेश २७:११ पढ्‌नुहोस्‌) के येशूको मृत्युले अरू कुनै उद्देश्‍य पूरा गऱ्‍यो? अवश्‍य गऱ्‍यो!

१६, १७. (क) येशू पृथ्वीमा आउनुअघिका यहोवाका थुप्रै सेवकले यहोवासित असल सम्बन्ध राख्न सक्नुको कारण के थियो? (ख) आफ्नो पुत्र विश्‍वासी रहेकोमा यहोवाले कस्तो इनाम दिनुभयो र प्रभु येशू ख्रीष्ट के गर्दै हुनुहुन्छ?

१६ येशू पृथ्वीमा आउनुअघि पनि पृथ्वीमा यहोवा-का थुप्रै सेवक थिए। परमेश्‍वरसित तिनीहरूको असल सम्बन्ध थियो र तिनीहरूलाई पुनरुत्थानको आशा दिइएको थियो। (यशै. २५:८; दानि. १२:१३) तर पवित्र परमेश्‍वर यहोवाले कुन कानुनी आधारमा पापी मानिसहरूलाई यस्तो सुन्दर आशा दिन सक्नुहुन्थ्यो? बाइबलमा यस्तो लेखिएको छ: “परमेश्‍वरले उहाँको आफ्नो धैर्यको बखतमा, अघिबाट गरेका पापकर्मको वास्ता नगरेर, आफ्नो धार्मिकता देखाउनको निम्ति उहाँको रगतले विश्‍वासद्वारा प्रायश्‍चित हुनलाई [येशू ख्रीष्टलाई] अगाडि सार्नुभयो। आफूचाहिं न्यायी ठहरिन येशूमाथि विश्‍वास गर्नेलाई धार्मिक ठहराउनलाई यस वर्त्तमान समयमा उहाँले आफ्नो धार्मिकता देखाउनुभएको हो।”—रोमी ३:२५, २६.

१७ पुनरुत्थानपछि, पृथ्वीमा आउनअघिको भन्दा उच्च स्थान दिएर यहोवाले येशूलाई इनाम दिनुभयो। अहिले महिमित आत्मिक प्राणीको रूपमा येशूले अमरत्व पाउनुभएको छ। (हिब्रू १:३) प्रधानपूजाहारी र राजाको हैसियतमा प्रभु येशू ख्रीष्ट आफ्ना अनुयायीहरूलाई परमेश्‍वरको धार्मिकताको महिमा गर्न मदत दिंदै हुनुहुन्छ। परमेश्‍वरको धार्मिकताको महिमा गर्ने र उहाँको पुत्रको अनुकरण गर्दै वफादारीपूर्वक परमेश्‍वरको सेवा गर्ने सबैलाई हाम्रा स्वर्गका पिता यहोवाले प्रतिफल दिनुहुन्छ, जसको लागि हामी अत्यन्तै कृतज्ञ छौं! —भजन ३४:३; हिब्रू ११:६ पढ्‌नुहोस्‌।

१८. अर्को अध्ययन लेखको मुख्य विषय के हुनेछ?

१८ अहिलेको समयदेखि हाबिलको समयसम्मका विश्‍वासी मानिसहरूले यहोवासित घनिष्ठ सम्बन्ध राखेका थिए किनभने तिनीहरूले प्रतिज्ञा गरिएको सन्तानमा विश्‍वास गरे र उहाँमा भरोसा राखे। आफ्नो पुत्रले सत्यनिष्ठा कायम राख्नेछ र उहाँको मृत्युले “संसारको पाप” पूर्णतया ढाक्नेछ भनेर यहोवालाई थाह थियो। (यूह. १:२९) येशूको मृत्युले अहिले बाँचिरहेका मानिसहरूलाई पनि लाभ पुऱ्‍याउँछ। (रोमी ३:२६) ख्रीष्टको फिरौतीको बलिदानले तपाईंलाई कस्ता आशिष्‌हरू दिन सक्छ? यसबारे अर्को अध्ययन लेखमा छलफल गरिनेछ। ( w10 -E 08/15)

[फुटनोट]

a प्रेरित पावलले यहाँ ग्रीक सेप्टुआजिन्ट अनुवादबाट भजन ४०:६-८ उद्धृत गरे, जहाँ “मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो” भन्‍ने वाक्यांश पाइन्छ। अहिले उपलब्ध हिब्रू धर्मशास्त्रका पुरातन पाण्डुलिपिहरूमा यो वाक्यांश पाइँदैन।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वरको धार्मिकतालाई कसरी चुनौती दिइयो?

• येशूको बप्तिस्माले के सङ्‌केत गऱ्‍यो?

• येशूको मृत्युले कुन उद्देश्‍य पूरा गऱ्‍यो?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

येशूको बप्तिस्माले सङ्‌केत गरेको कुरा के तपाईंलाई थाह छ?