अन्तबारे चार वटा प्रश्नका जवाफ
अन्तबारे चार वटा प्रश्नका जवाफ
येशू ख्रीष्टले भविष्यमा हुने “अन्त”-बारे पहिल्यै बताइसक्नुभएको थियो। त्यो समयबारे उहाँले यसरी व्याख्या गर्नुभयो: “त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को शुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।”—मत्ती २४:१४, २१.
येशूले अन्तबारे भन्नुभएको कुरा र यसबारे बाइबलका अन्य पदहरूले केही महत्त्वपूर्ण प्रश्न खडा गर्छन्। ती प्रश्नका जवाफ बाइबलले कसरी दिन्छ भनेर थाह पाउन आफ्नो बाइबल खोलेर पढ्नुभए कसो होला?
१ केको अन्त हुनेछ?
पृथ्वी सर्वनाश हुनेछ भनेर बाइबलले सिकाउँदैन। भजनरचयिता लेख्छन्: “त्यो कहिल्यै नडग्मगाओस् भनेर [परमेश्वरले] पृथ्वीको जग बसाल्नुभयो।” (भजन १०४:५) सबै जीवजीवात आगोले भस्म हुनेछ भनेर पनि बाइबलले सिकाउँदैन। (यशैया ४५:१८) अन्त हुँदा कोही-कोही मानिस बच्नेछन् भनेर येशू आफैले छनक दिनुभयो। (मत्ती २४:२१, २२) त्यसोभए बाइबलले केको अन्त हुनेछ भनेर बताउँछ?
असफल मानव सरकारको अन्त हुनेछ। परमेश्वरले भविष्यवक्ता दानियललाई यस्तो लेख्न प्रेरित गर्नुभयो: “स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्यचाहिं सदासर्वदै रहिरहनेछ।”—दानियल २:४४.
युद्ध अनि प्रदूषणको अन्त हुनेछ। परमेश्वरले के गर्नुहुनेछ भनेर व्याख्या गर्दै भजन ४६:९ यसो भन्छ: “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।” परमेश्वरले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ भनेर पनि बाइबलले सिकाउँछ।—प्रकाश ११:१८.
अपराध र अन्यायको अन्त हुनेछ। परमेश्वरको वचन यस्तो प्रतिज्ञा गर्छ: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्। र हितोपदेश २:२१, २२.
निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैं फ्याँकिनेछन्।”—२ अन्त कहिले आउनेछ?
यहोवा परमेश्वरले दुष्टताको अन्त गर्न र उहाँको राज्य स्थापना गर्न एउटा “बेला” तोक्नुभएको छ। (मर्कूस १३:३३) तर अन्त आउने समयबारे हिसाब गरेर हामीले एउटा खास मिति तोक्न सक्दैनौं भनेर बाइबलले स्पष्टसित बताएको छ। येशूले भन्नुभयो: “त्यस दिन र घडीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र।” (मत्ती २४:३६) तथापि, परमेश्वरले संसारको अन्त गर्नुअघि पृथ्वीको अवस्था कस्तो हुनेछ भनेर येशू अनि उहाँका चेलाहरूले भविष्यवाणी गर्नुभयो। तल दिइएका सबै घटना एकै समयमा र विश्वव्यापी तवरमा हुनु भनेको संसारको अन्त नजिकै छ भन्ने सङ्केत हो।
अहिले जत्तिको राजनैतिक, वातावरणीय र सामाजिक उथलपुथल पहिला कहिल्यै भएको थिएन। अन्तबारे चेलाहरूले सोधेको प्रश्नको जवाफमा येशूले यसो भन्नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ, ठाउँ-ठाउँमा भैंचालो जानेछ, अनिकाल हुनेछ। सङ्कष्टको आरम्भ यही हो।” (मर्कूस १३:८) प्रेरित पावलले लेखे: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमाबाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वरभन्दा बरु सुखविलास निको मान्ने, भक्तिको भेषचाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यिनीहरूबाट पनि पर बस।”—२ तिमोथी ३:१-५.
विश्वभर विभिन्न भाषामा प्रचारकार्य हुँदैछ। येशूले भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.
३ अन्त आएपछि के हुनेछ?
स्वर्गमा सधैंभरि जीवनको आनन्द उठाउन पृथ्वीका सबै असल मानिस स्वर्ग लगिनेछन् भनेर बाइबलले सिकाउँदैन। बरु, मानिसजातिको लागि परमेश्वरको सुरुको उद्देश्य पूरा हुनेछ भनी येशूले सिकाउनुभयो। उहाँले भन्नुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।” (मत्ती ५:५; ६:९, १०) अन्त आउनुअघि जो-जो मरिसकेका हुन्छन्, भविष्यमा तिनीहरूको पुनरुत्थान हुनेछ भनेर बाइबलले प्रतिज्ञा गरेको छ। (अय्यूब १४:१४, १५; यूहन्ना ५:२८, २९) अन्त आएपछि के हुनेछ?
परमेश्वरको राज्यको राजाको हैसियतमा येशूले स्वर्गबाट शासन गर्नुहुनेछ। भविष्यवक्ता दानियलले यस्तो लेखे: “रातीको दर्शनमा मैले हेरिनै रहेको थिएँ, औ आकाशका मेघहरूसँग मानिसका पुत्रजस्तै कोही [अर्थात् पुनरुत्थान हुनुभएका येशू] आइरहनुभएको मैले देखें। उहाँ ती अति प्राचीन उमेरकहाँ [अर्थात् यहोवा परमेश्वरकहाँ] आउनुभयो, र उहाँकै सामने हाजिर गराइनुभयो। औ विभिन्न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून् भनेर उहाँलाई [अर्थात् येशूलाई] सर्वाधिकार, महिमा र राज्याधिकार दिइयो। उहाँको सर्वाधिकार कहिल्यै नबित्ने सदासर्वदैको सर्वाधिकार छ, औ उहाँको राज्याधिकार कहिल्यै नष्ट हुनेछैन।”—दानियल ७:१३, १४; लूका १:३१, ३२; यूहन्ना ३:१३-१६.
परमेश्वरको राज्यका प्रजा पूर्णतया स्वस्थ हुनेछन् र तिनीहरूले स्थायी सुरक्षा अनि अनन्त जीवनको आनन्द उठाउनेछन्। भविष्यवक्ता यशैयाले लेखे: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खानेचाहिं हुनेछैन।” (यशैया ६५:२१-२३) प्रेरित यूहन्नाले त्यस समयबारे यस्तो लेखे: “हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:३, ४.
४ अन्त आउँदा बच्न तपाईंले के गर्नै पर्छ?
मानिसहरूको मामिलामा परमेश्वरले हस्तक्षेप गर्नुहुनेछ र पृथ्वीबाट दुष्टता हटाउनुहुनेछ भन्ने कुरालाई अन्तको समयमा बाँचिरहेका कोही-कोही मानिसले हाँसोमा उडाउनेछन् भनेर प्रेरित पत्रुसले मानिलिएका थिए। (२ पत्रुस ३:३, ४) तैपनि, अहिले हाम्रो समयमा बाँचिरहेकाहरूलाई तल दिइएका कदम चाल्न तिनी आग्रह गर्छन्।
इतिहासबाट पाठ सिक्नुहोस्। परमेश्वरले “प्राचीन संसारलाई बाँकी राख्नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्नुभयो” भनी पत्रुसले लेखे। (२ पत्रुस २:५, NRV) हाँसोमा उडाउने ती मानिसहरूबारे पत्रुसले यसो भने: “परमेश्वरका वचनबाट स्वर्गहरू अघिदेखिनै थिए र पृथ्वीचाहिं पानीबाट र पानीलेनै बनिएको हो भन्ने तिनीहरूले जानीबुझीकन पनि बिर्से, यसैबाट त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो, तर अहिलेको आकाशहरू र पृथ्वीचाहिं a त्यही वचनले, भक्तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्ट्याई आगोको निम्ति साँचेर राखिएका छन्।”—२ पत्रुस ३:५-७.
परमेश्वरको नैतिक स्तरअनुरूप जिउनुहोस्। अन्त आउँदा बच्न चाहनेहरूले “पवित्र जीवन र भक्ति”-का कामहरू गर्नुपर्छ भनेर पत्रुसले लेखे। (२ पत्रुस ३:११) पत्रुसले यहाँ “पवित्र जीवन र भक्ति”-का कामहरू गर्न जोड दिइरहेका थिए। त्यसैले विश्वास गर्छु भन्ने दाबी गरेर वा अन्तिम क्षणमा परमेश्वरको इच्छाबमोजिम गरेर मात्र पुग्दैन।
कस्ता कामहरू परमेश्वरको नजरमा स्वीकार्य छन्? यसबारे आफूलाई थाह भएको कुरा बाइबलले सिकाउने कुरासित तुलना गरेर हेर्नुभए कसो होला? यहोवाका साक्षीहरू तपाईंलाई सहयोग गर्न पाउँदा खुसी हुनेछन्। तपाईंको आफ्नै बाइबलबाट ती प्रश्नका जवाफको आधार देखाइदिन तिनीहरूलाई आग्रह गर्नुहोस्। यसो गर्नुभयो भने अहिले व्याप्त डरको बाबजुद साहसी र विश्वस्त भई तपाईंले भविष्यको सामना गर्न सक्नुहुनेछ। ( w10 -E 08/01)
[फुटनोट]
a पत्रुसले यहाँ पृथ्वीलाई प्रतीकात्मक रूपमा चित्रण गरेका छन्। बाइबलका लेखक मोशाले पनि पृथ्वीलाई प्रतीकात्मक रूपमा चलाएका थिए। तिनले लेखे: “जम्मै पृथ्वीमा एउटै भाषा थियो।” (उत्पत्ति ११:१) जसरी साँच्चैको पृथ्वीले “एउटै भाषा” बोल्न सक्दैन, त्यसैगरि सर्वनाश हुने पृथ्वी पनि साँच्चैको पृथ्वी होइन। बरु, पत्रुसले बताएजस्तै अभक्त मानिसहरू नाश हुनेछन्।
[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]
पृथ्वी होइन तर यसलाई नष्ट गर्नेहरू नाश हुनेछन्