एकता—साँचो उपासनाको चिनारी
एकता—साँचो उपासनाको चिनारी
‘म तिनीहरूलाई एकै ठाउँमा राख्नेछु—गोठमा भेडा-बाख्राहरूझैं।’—मीका २:१२.
१. सृष्टिले कसरी परमेश्वरको बुद्धिको प्रमाण दिन्छ?
भजनहारले यस्तो उद्गार व्यक्त गरे: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम-किसिमका छन्। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।” (भज. १०४:२४) पृथ्वीमा लाखौं किसिमका बोटबिरुवा, कीरा-फट्याङ्ग्रा, जीवजन्तु र जीवाणु पाइन्छन्। ती सबै एक-अर्कामा निर्भर छन् र तिनीहरूबीचको अन्तरसम्बन्ध साँच्चै अद्भुत अनि जटिल छ। यस्तो सम्बन्धमा परमेश्वरको बुद्धि प्रस्टै झल्कन्छ। तपाईंको आफ्नै शरीरलाई पनि हेर्नुहोस्। तपाईंको शरीरमा ठूलठूला अङ्गहरूदेखि लिएर अत्यन्तै सूक्ष्म कोषहरूसम्म छन्। ती सबै एक-अर्कामा निर्भर छन् अनि एकसाथ मिलेर काम गर्छन्। फलस्वरूप तपाईंको सिङ्गो शरीर बन्छ र तपाईं स्वस्थ बन्नुहुन्छ।
२. पृष्ठ १७ मा देखाइएझैं ख्रीष्टियानहरूबीचको एकतालाई किन चमत्कार भन्न मिल्छ?
२ मानिसहरू एक-अर्कामा निर्भर हुने गरी यहोवाले सृष्टि गर्नुभएको छ। मानिसहरूको रूपरङ्ग, व्यक्तित्व अनि योग्यता फरक-फरक छन्। परमेश्वरले प्रथम मानव जोडीलाई उहाँका जस्तै गुणहरू झल्काउन सक्ने क्षमता पनि दिनुभयो। यसले गर्दा तिनीहरू एक-अर्कासित मिलेर काम गर्न अनि एक-अर्कामा निर्भर भएर बाँच्न सक्नेथिए। (उत्प. १:२७; २:१८) तर, आम मानिसको संसारलाई हेर्ने हो भने तिनीहरू अहिले परमेश्वरबाट टाढिएका छन् र एउटा सिङ्गो समाजको रूपमा कहिल्यै एकताबद्ध हुन सकेका छैनन्। (१ यूह. ५:१९) त्यसैले प्रथम शताब्दीको ख्रीष्टियान मण्डलीको एकतालाई एउटा चमत्कार नै भन्न मिल्छ। किन? किनभने ती मण्डलीमा एफिसी दासहरूलगायत प्रतिष्ठित ग्रीक महिलाहरू, उच्च शिक्षा हासिल गरेका यहूदी पुरुषहरू अनि कुनै समय मूर्तिपूजा गर्ने जस्ता थरीथरीका मानिसहरू थिए।—प्रेरि. १३:१; १७:४; १ थिस्स. १:९; १ तिमो. ६:१.
३. बाइबलले ख्रीष्टियानहरूको एकतालाई कसरी वर्णन गरेको छ अनि यस लेखमा हामी कुन-कुन कुरा विचार गर्नेछौं?
३ साँचो उपासनाले मानिसहरूलाई आफ्नै शरीरका अङ्गहरूझैं एक-अर्कासित मिलेर काम गर्न मदत गर्छ। ( १ कोरिन्थी १२:१२, १३ पढ्नुहोस्) यस लेखमा हामीले छलफल गर्ने केही बुँदा यसप्रकार छन्: साँचो उपासनाले मानिसहरूलाई कसरी एकतामा बाँध्छ? विभिन्न जातिबाट आएका लाखौं मानिसलाई किन यहोवाले मात्र एकतामा बाँध्न सक्नुहुन्छ? एकतामा बाँधिनदेखि रोक्ने कस्ता अवरोधहरूको सामना गर्न यहोवाले हामीलाई मदत गर्नुहुन्छ? अनि एकताको सन्दर्भमा साँचो ख्रीष्टियान धर्म र चर्चजगत्बीच कस्तो भिन्नता छ?
साँचो उपासनाले मानिसहरूलाई कसरी एकतामा बाँध्छ?
४. साँचो उपासनाले मानिसहरूलाई कसरी एकतामा बाँध्छ?
४ सबै कुरा यहोवाले सृष्टि गर्नुभएकोले ब्रह्माण्डको वैध सार्वभौम उहाँ नै हुनुहुन्छ भनेर साँचो उपासकहरूले बुझेका छन्। (प्रका. ४:११) साँचो ख्रीष्टियानहरू बस्ने समाज र तिनीहरूको परिस्थिति फरक-फरक छ। तैपनि तिनीहरू सबैले परमेश्वरको एउटै नियम पालन गर्छन् र एउटै बाइबल सिद्धान्तहरूअनुरूप जीवन बिताउँछन्। अनि सबै साँचो उपासकले यहोवालाई “पिता” भनेर सम्बोधन गर्नु उचित छ। (यशै. ६४:८; मत्ती ६:९) त्यसैले तिनीहरू सबै ख्रीष्टियान भाइबहिनी हुन् र भजनहारले वर्णन गरेको यस्तो सुन्दर एकतामा तिनीहरू रमाउन सक्छन्: “समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कत्ति असल र मनोहर कुरा हुन्छ!”—भज. १३३:१.
५. साँचो उपासकहरूलाई एकतामा बाँध्ने गुण के हो?
५ असिद्ध भए तापनि साँचो ख्रीष्टियानहरू एकतामा बाँधिएर उपासना गर्छन् किनभने तिनीहरूले एक-अर्कालाई प्रेम गर्न सिकेका छन्। तिनीहरूलाई प्रेम गर्न सिकाउनुहुने यहोवा हुनुहुन्छ र उहाँले जत्तिको राम्ररी अरू कसैले सिकाउन सक्दैन। ( १ यूहन्ना ४:७, ८ पढ्नुहोस्) उहाँको वचन यसो भन्छ: “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर, र यी सबै कुराहरूभन्दा बढी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।” (कल. ३:१२-१४) यो सिद्धताको गाँठो अर्थात् प्रेम नै साँचो ख्रीष्टियानहरूको प्रमुख चिनारी हो। साँचो उपासनाको एउटा उल्लेखनीय पक्ष एकता हो भनेर के तपाईं आफैले अनुभव गर्नुभएको छैन र?—यूह. १३:३५.
६. परमेश्वरको राज्यको आशाले गर्दा हामी कसरी एकताबद्ध हुन सकेका छौं?
६ साँचो उपासकहरूबीच एकता हुनुको अर्को कारण हो, मानिसजातिको एक मात्र आशाको रूपमा तिनीहरू परमेश्वरको राज्यको बाटो हेर्छन्। तिनीहरूलाई थाह छ, अब चाँडै परमेश्वरको राज्यले मानव सरकारहरू हटाउनेछ र त्यही राज्यले आज्ञाकारी मानिसहरूलाई चिरकालीन साँचो शान्ति दिनेछ। (यशै. ११:४-९; दानि. २:४४) तसर्थ, येशूले आफ्ना अनुयायीहरूबारे भन्नुभएको यो कुरा ख्रीष्टियानहरू पालन गर्छन्: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्!” (यूह. १७:१६) साँचो ख्रीष्टियानहरू संसारका विवादहरूमा कसैको पक्ष लिंदैनन्। त्यसैले आफू वरपरका मानिसहरूबीच झैझगडा भए तापनि तिनीहरू एकताबद्ध हुन सकेका छन्।
परमेश्वरको निर्देशनको एकमात्र स्रोत
७, ८. बाइबलआधारित निर्देशनले गर्दा कसरी हाम्रो एकता सम्भव भएको छ?
७ प्रथम शताब्दीका ख्रीष्टियानहरूबीच एकता थियो किनभने तिनीहरू सबैले एउटै स्रोतबाट निर्देशन पाएका थिए। येशूले मण्डलीलाई सिकाउन र निर्देशन दिन यरूशलेमका प्रेरित तथा धर्म-गुरुहरू मिलेर बनेको एउटा परिचालक निकायलाई चलाइरहनुभएको छ भनेर तिनीहरूले बुझेका थिए। यस निकायका समर्पित पुरुषहरूले परमेश्वरको वचनमा आधारित निर्णयहरू गर्थे अनि परिभ्रमण निरीक्षकहरूले यो निर्देशन विभिन्न मुलुकका मण्डलीसम्म पुऱ्याउँथे। यस्ता केही निरीक्षकबारे बाइबल यसो भन्छ: “तिनीहरू शहर-शहरका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र धर्म-गुरुहरूबाट तोकिएका विधिहरूको प्रतिपालन गर्नू भनी तिनीहरूलाई बताए।”—प्रेरि. १५:६, १९-२२; १६:४.
८ त्यसैगरि, आज पनि आत्मा-अभिषिक्त ख्रीष्टियानहरू मिलेर बनेको परिचालक निकायले गर्दा संसारभरका मण्डलीहरूको एकता सम्भव भएको छ। परिचालक निकायले आध्यात्मिक तवरमा प्रोत्साहनदायी साहित्यहरू थुप्रै भाषामा प्रकाशित गर्छ। यस्तो आध्यात्मिक भोजन परमेश्वरको वचनमा आधारित हुन्छ। त्यसैले यो मानिसको होइन, यहोवाकै शिक्षा हो।—यशै. ५४:१३.
९. परमेश्वरबाट पाएको कामले गर्दा हामी कसरी एकतामा बाँधिन सकेका छौं?
९ ख्रीष्टियान निरीक्षकहरूले प्रचारकार्यमा नेतृत्व लिएर पनि एकतालाई बलियो बनाउँछन्। एकसाथ मिलेर परमेश्वरको सेवा गर्दा जुन सहभाव कायम हुन्छ, त्यो केवल सामाजिक जमघटको लागि सरसङ्गत गर्दा हुने घनिष्ठताभन्दा कता हो कता प्रगाढ हुन्छ। ख्रीष्टियान मण्डली सामाजिक क्लबजस्तो नभई यहोवाको आदर गर्न र एउटा महत्त्वपूर्ण काम पूरा गर्न स्थापना भएको थियो। त्यो काम हो: सुसमाचार प्रचार गर्ने, चेला बनाउने अनि मण्डलीको उत्थान गर्ने। (रोमी १:११, १२; १ थिस्स. ५:११; हिब्रू १०:२४, २५) त्यसकारण प्रेरित पावलले ख्रीष्टियानहरू “सुसमाचारको विश्वासको निम्ति एउटै मनको भई, यत्न गरेर एउटै आत्मामा दृढ” भएका छन् भन्न सके।—फिलि. १:२७.
१०. परमेश्वरका जनको रूपमा हामीलाई एकतामा बाँध्ने केही कुरा के हुन्?
१० यहोवाका जन भएकोले हामीबीच पनि एकता छ। किन? किनभने हामी यहोवाको सार्वभौमिकता स्वीकार्छौं, आफ्ना ख्रीष्टियान भाइबहिनीलाई प्रेम गर्छौं, परमेश्वरको राज्यमा आशा राख्छौं अनि हामीमाझ नेतृत्व लिन परमेश्वरले जसलाई चलाइरहनुभएको छ, तिनीहरूको आदर गर्छौं। आफ्नो असिद्धताले गर्दा उत्पन्न हुने केही मनोवृत्तिले हाम्रो एकतालाई तोड्न सक्छ। तर ती मनोवृत्ति हटाउन यहोवा हामीलाई मदत गर्नुहुन्छ।—रोमी १२:२.
घमन्ड र डाह हटाउने
११. घमन्डले किन फूट गराउँछ अनि घमन्ड हटाउन यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?
११ घमन्डले मानिसहरूबीच फूट गराउँछ। घमन्डी मानिस अरूभन्दा ठूलो हुन चाहन्छ अनि धाकधक्कु लगाउँदा बडो मजा मान्छ। तर यसले एकतामा अक्सर बाधा पुऱ्याउँछ किनभने एक जनाले धाकधक्कु लगाएको सुन्दा अर्को व्यक्तिलाई डाह लाग्न सक्छ। चेला याकूब हामीलाई खुलस्त यसो भन्छन्: “त्यस्तो सबै घमन्ड खराब हो।” (याकू. ४:१६) अरूलाई आफूभन्दा तुच्छ ठान्नु मायालु कुरा होइन। यहोवाले हामीजस्ता असिद्ध मानिसहरूसित व्यवहार गर्नु नम्रताको उल्लेखनीय उदाहरण हो। दाऊदले लेखे: “स्वयम् तपाईं [परमेश्वर] मलाई महान् बनाउन झुक्नुहुन्छ।” (२ शमू. २२:३६, NRV) परमेश्वरको वचनले हामीलाई सही किसिमले सोच्न सिकाएर घमन्ड हटाउन मदत गर्छ। पावल यस्तो प्रश्न सोध्न उत्प्रेरित भएका थिए: “अरूहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्योचाहिं वरदान होइनजस्तै गरी किन तिमीहरू घमन्डले फुल्दछौ?”—१ कोरि. ४:७, NRV.
१२, १३. (क) डाह किन सजिलै उत्पन्न हुन सक्छ? (ख) अरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्दा परिणाम कस्तो हुन्छ?
१२ एकतामा अक्सर बाधा पुऱ्याउने अर्को कुरा डाह हो। जन्मजात असिद्धताले गर्दा हामी सबैसित “डाह गर्ने” झुकाव छ अनि ख्रीष्टियान भएको धेरै समय भइसकेका व्यक्तिहरूले समेत कहिलेकाहीं अरूको परिस्थिति, सम्पत्ति, सुअवसर वा योग्यताहरूको डाह गर्न सक्छन्। (याकू. ४:५) उदाहरणको लागि, छोराछोरी भएका भाइलाई पूर्ण-समय सेवामा लागेका भाइको सुअवसरको डाह लाग्न सक्छ। तर अर्कोतर्फ, पूर्ण-समय सेवामा लागेका भाइले पनि आफ्नो कता-कता डाह गरिरहेका छन् भन्ने कुरा परिवार भएका भाइलाई पत्तै नहुन सक्छ। यस्तो डाहले हाम्रो एकता तोड्न नदिन हामी के गर्न सक्छौं?
१३ बाइबलले ख्रीष्टियान मण्डलीका अभिषिक्त सदस्यहरूलाई मानव शरीरका अङ्गहरूसित तुलना गरेको विवरणलाई सम्झ्यौं भने डाह हटाउन मदत पाउन सक्छौं। ( १ कोरिन्थी १२:१४-१८ पढ्नुहोस्) उदाहरणको लागि, तपाईंको मुटुभन्दा तपाईंको आँखा अरूले प्रस्टै देख्छन्। तर के ती दुवै अङ्ग तपाईंको लागि महत्त्वपूर्ण छैनन् र? त्यसरी नै, मण्डलीका कोही-कोही सदस्य केही समयको लागि अरूभन्दा महत्त्वपूर्ण देखिन सक्छन् तर यहोवाले सबै सदस्यको मोल गर्नुहुन्छ। त्यसैले हामी आफ्ना भाइबहिनीप्रति यहोवाको जस्तै दृष्टिकोण राखौं। अरूको डाह गर्नुको साटो उनीहरूप्रति चासो देखाऔं अनि उनीहरूको कुरामा ध्यान देऔं। यसो गऱ्यौं भने साँचो ख्रीष्टियानहरू र चर्चजगत्का मानिसहरूबीचको भिन्नता छर्लङ्गै देखिनेछ।
फूटले भरिएको चर्चजगत्
१४, १५. धर्मत्यागी चर्चजगत् कसरी विभाजित भयो?
१४ साँचो ख्रीष्टियानहरूबीचको एकता र चर्चजगत्मा देखिने कलहबीच आकाश-जमीनको अन्तर छ। चौथो शताब्दीसम्ममा धर्मत्यागी चर्चजगत् व्यापक तवरमा फैलिसकेको थियो। अनि रोमका एक जना गैर-ख्रीष्टियान सम्राट्ले चर्चजगत्लाई आफ्नो नियन्त्रणमा लिए। फलस्वरूप ख्रीष्टियानधर्म झन्-झन् फैलिंदै गयो। तर थुप्रै राष्ट्र एकपछि अर्को फूटले गर्दा रोमबाट छुट्टिए अनि तिनीहरूले आ-आफ्नै राष्ट्रिय चर्च स्थापना गरे।
१५ तीमध्ये धेरैजसो राष्ट्र शताब्दीयौंसम्म एक-अर्कासित लडिरहे। अनि १७ औं र १८ औं शताब्दीमा बेलाइत, फ्रान्स र अमेरिकाका मानिसहरूले देशभक्तिको धारणालाई अघि सारे। यसले गर्दा देशभक्ति नै एउटा धर्मजस्तो बन्न पुग्यो। अनि १९ औं र २० औं शताब्दीमा अधिकांश मानिसको दिमागमा देशभक्तिले ठूलो नियन्त्रण जमाइसकेको थियो। पछि गएर चर्चजगत् विभिन्न गुटमा टुक्रियो अनि तीमध्ये धेरैले देशभक्तिको समर्थन गर्छन्। चर्चवालाहरू अर्को देशमा बस्ने आफ्नै सँगी विश्वासीहरूविरुद्ध युद्ध गर्न समेत गएका छन्। आज चर्चजगत् आ-आफ्नै धार्मिक विश्वास र देशभक्तिको कारण विभाजित छ।
१६. चर्चजगत्का मानिसहरूबीच कस्ता विषयहरूले गर्दा फूट भएको छ?
१६ बीसौं शताब्दीमा, चर्चजगत्का सयौं गुटमध्ये केहीले पारस्परिक एकताको लागि धार्मिक अभियान सुरु गरेका थिए। तर दशकौंको प्रयासपछि पनि एकदमै थोरै चर्च मात्र समायोजन हुन सकेको छ। अनि क्रम-विकास, गर्भपतन, समलैंगिकता र महिला पादरीहरू बन्ने जस्ता विषयमा अझै पनि थुप्रै चर्चवालाको धारणा फरक-फरक छ। पहिला जुन धर्मसिद्धान्तहरूले गर्दा फूट भएको थियो, त्यसलाई वास्ता नगरेर चर्चजगत्का कोही-कोही पादरीले विभिन्न गुटका मानिसहरूको समायोजन गर्ने प्रयास गरेका छन्। तथापि, यसरी धर्मसिद्धान्तहरूलाई बेवास्ता गर्दा मानिसहरूको विश्वास फितलो भएको छ अनि यसले चर्चजगत्मा व्याप्त फूटलाई एकतामा बदल्न कुनै योगदान पुऱ्याउन सकेको छैन।
साँचो उपासना—देशभक्तिभन्दा उच्च
१७. “पछिल्ला दिनमा” साँचो उपासनाले मानिसहरूलाई एकतामा बाँध्नेछ भनेर कस्तो भविष्यवाणी गरिएको थियो?
१७ हुनत मानिसहरू अहिले जति विभाजित पहिला कहिल्यै भएका थिएनन्। तैपनि, एकताले साँचो उपासकहरूको चिनारी दिइरहेको छ। परमेश्वरको भविष्यवक्ता मीकाले यसो भने: ‘म तिनीहरूलाई एकै ठाउँमा राख्नेछु—गोठमा भेडा-बाख्राहरूझैं।’ (मीका २:१२) झूटा देवहरूको उपासना वा देशलाई नै भगवान् मानेर गर्ने जुनसुकै किसिमको उपासना किन नहोस्, ती सबैभन्दा साँचो उपासना उच्च पारिनेछ भनेर मीकाले भविष्यवाणी गरे। तिनले लेखे: “पछिल्ला दिनमा परमप्रभुको भवनको डाँडाचाहिं पहाडहरूमा सर्वोच्च बनाइनेछ, र त्यो सबै पहाडहरूभन्दा उच्च पारिनेछ। औ अन्य जातिहरू त्यसमा ओइरिएर आउनेछन्। सबै जातिका मानिसहरूचाहिं ता आफ्ना-आफ्नो देवताको नाउँमा हिंड्छन्, तर हामीचाहिं सदासर्वदै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा हिंड्नेछौं।”—मीका ४:१, ५.
१८. साँचो उपासनाले हामीलाई कस्ता परिवर्तनहरू गर्न मदत गरेको छ?
१८ कुनै समय एक-अर्काका शत्रुहरू पनि साँचो उपासनाले गर्दा एकतामा बाँधिनेछन् भनेर मीकाले बताएका थिए। “धेरै जातिहरू [अर्थात् मानिसहरू] आएर भन्नेछन्, ‘आओ, हामीहरू परमप्रभुको पहाड, याकूबका परमेश्वरको भवनमा जाऔं, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुन्छ र हामी उहाँको मार्गमा हिंड्नेछौं,’ . . . तिनीहरूले आफ्ना तरवार पिटेर हलोको फाली र भालाहरू चाहिं हँसिया बनाउनेछन्। जाति जातिहरूले एकअर्काको विरुद्धमा तरवार चलाउनेछैनन् नता तिनीहरूले फेरि कहिल्यै लडाइँ गर्न सिक्नेछन्।” (मीका ४:२, ३) राष्ट्रहरूको वा मानिसहरूले बनाएका देवहरूको उपासना गर्न छोडेर यहोवालाई उपासना गर्न थाल्नेहरूले विश्वव्यापी एकताको आनन्द उठाउँछन्। परमेश्वरले तिनीहरूलाई प्रेमको बाटोमा हिंड्न सिकाउनुहुन्छ।
१९. साँचो उपासनाले गर्दा लाखौं मानिस एकतामा बाँधिनु कुन कुराको सुस्पष्ट प्रमाण हो?
१९ आज साँचो ख्रीष्टियानहरूमाझ भएको विश्वव्यापी एकता अद्वितीय छ। साथै, यो एकता यहोवाले आफ्ना जनलाई पवित्र आत्माद्वारा डोऱ्याइरहनुभएको छ भन्ने सुस्पष्ट प्रमाण पनि हो। जाति-जातिबाट आएका मानिसहरू एकतामा बाँधिएका छन्। यस्तो एकता मानव इतिहासमा पहिला कहिल्यै देखिएको थिएन। प्रकाश ७:९, १४ मा सङ्केत गरिएअनुरूपै यस्तो अद्भुत पूर्ति भइरहेको छ र यहाँ बताइएअनुसार चाँडै परमेश्वरका स्वर्गदूतहरूले वर्तमान दुष्ट रीतिरिवाजको विनाश गर्ने “बतासलाई” छोडिदिनेछन्। ( प्रकाश ७:१-४, ९, १०, १४ पढ्नुहोस्) यस्तो विश्वव्यापी भाइचाराको भाग हुन पाउनु के सम्मानको कुरा होइन र? हामी प्रत्येकले कसरी यस्तो एकतामा योगदान पुऱ्याउन सक्छौं? यसको जवाफ यसपछिको लेखले दिनेछ। ( w10 -E 09/15)
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• साँचो उपासनाले मानिसहरूलाई कसरी एकतामा बाँध्छ?
• डाहले हाम्रो एकता तोड्न नदिन हामी के गर्न सक्छौं?
• राष्ट्रहरू विभाजित भए तापनि साँचो उपासकहरू एकताबद्ध हुन सक्नुको कारण के हो?
[प्रश्नहरू]
[पृष्ठ १७-मा भएको चित्र]
प्रथम शताब्दीका ख्रीष्टियानहरूको पृष्ठभूमि बेग्लाबेग्लै थियो
[पृष्ठ १९-मा भएका चित्रहरू]
तपाईंले राज्यभवनसम्बन्धी गतिविधिमा भाग लिंदा कसरी एकतामा योगदान पुग्छ?