सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियान एकताले परमेश्‍वरको महिमा गर्छ

ख्रीष्टियान एकताले परमेश्‍वरको महिमा गर्छ

ख्रीष्टियान एकताले परमेश्‍वरको महिमा गर्छ

“आत्माको एकता राख्नलाई . . . परिश्रम गर।”—एफि. ४:३.

१. प्रथम शताब्दीमा एफिससका ख्रीष्टियानहरूद्वारा कसरी परमेश्‍वरको महिमा भयो?

 पुरातन एफिससको ख्रीष्टियान मण्डलीको एकताले साँचो परमेश्‍वर यहोवाको महिमा गऱ्‍यो। त्यस सम्पन्‍न व्यापारिक केन्द्रका केही ख्रीष्टियान भाइहरू, दासहरूका मालिक भएकाले धनी थिए तर अरू कतिपय भने आफै दास भएकाले साह्रै गरिब थिए होलान्‌। (एफि. ६:५, ९) कोही-कोही भने यहूदी थिए, जसले प्रेरित पावलले तीन महिनासम्म सभाघरमा सिकाउँदा सत्य स्वीकारेका थिए। अरूले भने पहिला डायना देवीको पूजाआजा गर्थे र टुनामुना गर्थे। (प्रेरि. १९:८, १९, २६) स्पष्ट छ, साँचो ख्रीष्टियान धर्मले विभिन्‍न पृष्ठभूमिका मानिसलाई एकतामा बाँधेको थियो। यसरी मण्डलीको एकतामार्फत यहोवाको महिमा हुन्छ भनेर पावलले बुझेका थिए। तिनले लेखे: “उहाँलाईनै सदासर्वदा सारा पुस्तासम्म मण्डली[मार्फत] . . . महिमा होस्‌।”—एफि. ३:२१.

२. एफिससका ख्रीष्टियानहरूको एकतालाई खतरामा पार्ने कुरा के थियो?

तथापि, एफिसी मण्डलीको अनमोल एकता खतरामा परेको थियो। पावलले त्यहाँका प्राचीनहरूलाई यस्तो चेतावनी दिए: “तपाईंहरू आफैमध्ये पनि कुनै-कुनै, मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि लैजानलाई खडा हुनुहुनेछ।” (प्रेरि. २०:३०) साथै, “अनाज्ञाकारिताका सन्तानमा काम गर्ने” मनोभाव त्याग्न पावलले चेतावनी दिएका थिए तर कोही-कोही भाइले भने फूट गराउने यस्तो मनोभावलाई पूरै त्यागिसकेका थिएनन्‌।—एफि. २:२; ४:२२.

एकतालाई जोड दिने पत्र

३, ४. पावलले एफिसीहरूलाई लेखेको पत्रले एकतालाई कसरी जोड दिएको छ?

ख्रीष्टियानहरू एक-अर्कासित मिलेर काम गरिरहने हो भने तिनीहरू प्रत्येकले एकतालाई बढाउन उत्कट परिश्रम गर्नै पर्छ भनेर पावलले बुझेका थिए। परमेश्‍वरले पावललाई एफिसीहरूलाई एउटा पत्र लेख्न उत्प्रेरित गर्नुभयो र त्यस पत्रको मूल विषय एकता थियो। उदाहरणको लागि, पावलले ‘सबै कुरा ख्रीष्टमा गाभ्ने’ परमेश्‍वरको उद्देश्‍यबारे लेखे। (एफि. १:१०) तिनले ख्रीष्टियानहरूलाई एउटा घर निर्माण गर्न चाहिने फरक-फरक किसिमका पत्थरहरूसित पनि तुलना गरे। “प्रत्येक घर साथसाथै ठीकसँग जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्‌दै जान्छ।” (एफि. २:२०, २१) यसबाहेक, पावलले यहूदी र गैर-यहूदी ख्रीष्टियानहरूबीचको एकतालाई पनि जोड दिए। अनि तिनीहरू सबैलाई सृष्टि गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ भनेर पनि सम्झाए। तिनले यहोवालाई “पिता” भने “जसबाट स्वर्ग र पृथ्वीमा हरेक परिवारको नाउँ राखिएको छ।”—एफि. ३:५, ६, १४, १५.

एफिसीको पत्रको अध्याय चारलाई केलाउँदै जाँदा एकता बनाउन किन परिश्रम गर्नुपर्छ, यहोवाले हामीलाई एकतामा रहन कसरी मदत गर्नुहुन्छ अनि एकतामा रहिरहन हामीलाई कस्ता मनोवृत्तिहरूले मदत गर्नेछ भन्‍ने कुराहरू बुझ्नेछौं। त्यसैले, यस अध्ययन लेखबाट अझ लाभ उठाउन यो चौथो अध्याय पूरै पढ्‌नुभए कसो होला?

एकता बनाउन किन उत्कट परिश्रम गर्नुपर्छ

५. परमेश्‍वरका स्वर्गदूतहरू किन एकतामा रहेर सेवा गर्न सक्छन्‌ तर हाम्रो लागि एकता किन अझ चुनौतीपूर्ण हुन सक्छ?

पावलले आफ्ना एफिसी भाइहरूलाई “आत्माको एकता राख्नलाई . . . परिश्रम गर” भनी आग्रह गरे। (एफि. ४:३) एकता बनाउन किन परिश्रम गर्नुपर्छ भनी बुझ्न परमेश्‍वरका स्वर्गदूतहरूलाई विचार गर्नुहोस्‌। पृथ्वीमा भएको कुनै पनि दुई जीवित प्राणी ठ्याक्क उस्तै छैनन्‌। त्यसैले यहोवाले आफ्ना लाखौं स्वर्गदूतलाई छुट्टाछुट्टै पहिचान दिनुभएको छ भनेर हामी सही निष्कर्षमा पुग्न सक्छौं। (दानि. ७:१०) तैपनि तिनीहरू सबै एकतामा बाँधिएर यहोवाको सेवा गर्न सक्छन्‌ किनभने तिनीहरू सबैले उहाँको कुरा सुन्छन्‌ र उहाँको इच्छाबमोजिम चल्छन्‌। ( भजन १०३:२०, २१ पढ्‌नुहोस्‌) प्रत्येक विश्‍वासी स्वर्गदूतसित बेग्लाबेग्लै गुण छ तर प्रत्येक ख्रीष्टियानसित भने बेग्लाबेग्लै गुण मात्र होइन आ-आफ्नै किसिमको कमीकमजोरी पनि छ। यसले गर्दा एकता कायम गर्न झनै चुनौतीपूर्ण हुन सक्छ।

६. आफ्नो भन्दा बेग्लै किसिमका कमीकमजोरी भएका भाइहरूसित मिलेर काम गर्न हामीलाई कस्तो मनोवृत्तिले मदत गर्नेछ?

असिद्ध मानिसहरू मिलेर काम गर्ने कोसिस गर्दा कठिनाइहरू सजिलै आइपर्न सक्छन्‌। उदाहरणको लागि, एक जना नम्र भाइ अक्सर ढिलो आइपुग्छन्‌ तर अर्को एक जना भाइ समयमै त पुग्छन्‌ तर झडङ्‌ग रिसाइहान्छन्‌। यिनीहरू दुवै मिलेर यहोवाको सेवा गरिरहेको अवस्थालाई विचार गर्नुहोस्‌। प्रत्येकलाई अर्को भाइको बानी ठीक छैन भन्‍ने लाग्न सक्छ तर आफ्नो बानी पनि त्यति ठीक छैन भनेर तिनीहरूले बिर्सिरहेका हुन सक्छन्‌। यी दुई भाइ कसरी सँगै मिलेर परमेश्‍वरको सेवा गर्न सक्छन्‌? यी दुवै भाइलाई मदत गर्ने मनोवृत्तिबारे पावलले बताएका छन्‌। तिनले के भने, अब त्यसमा ध्यान दिनुहोस्‌। त्यसपछि त्यस्तो मनोवृत्ति विकास गरेर हामी कसरी एकता बढाउन सक्छौं, त्यसबारे सोच्नुहोस्‌। पावलले लेखे: “[म] तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु। सारा विनय र नम्रतासित, धीरजसँग, एउटाले अर्कोलाई प्रेममा सहेर, आत्माको एकता राख्नलाई शान्तिको बन्धनमा परिश्रम गर।”—एफि. ४:१-३.

७. असिद्ध ख्रीष्टियानहरूसित एकतामा रहन प्रयास गर्नु किन अत्यावश्‍यक छ?

असिद्ध मानिसहरूसित एकतामा रहेर परमेश्‍वरको सेवा गर्न सिक्नु अत्यावश्‍यक छ किनभने साँचो उपासकहरूको समूह एउटै मात्र छ। “जस्तो तिमीहरू पनि आफ्नो बोलावटको एउटै आशामा बोलाइएका छौ, त्यसरी एउटै शरीर र एउटै आत्मा छ, एउटै प्रभु, एउटै विश्‍वास, एउटै बप्तिस्मा, सबैका एउटै परमेश्‍वर र एउटै पिता।” (एफि. ४:४-६) परमेश्‍वरले चलाइरहनुभएको एउटै सङ्‌गठनलाई मात्र यहोवा आफ्नो आत्मा र आशिष्‌ दिनुहुन्छ। मण्डलीको कुनै सदस्यले आफ्नो चित्त दुखायो भने हामी अन्त कहाँ जान सक्छौं र? अनन्त जीवनको कुरा अन्त कतै छँदै छैन।—यूह. ६:६८.

“पुरुषहरूमध्ये वरदान”-ले एकता बढाउँछ

८. फूट गराउने तत्त्वहरूविरुद्ध खडा हुन ख्रीष्टले हामीलाई केद्वारा सुदृढ पार्नुहुन्छ?

येशूले मण्डलीलाई एकतामा बाँध्न कसरी “मानिसहरूलाई वरदान [अर्थात्‌ “पुरुषहरूमध्ये वरदान,” NW]” दिनुभएको छ भनी बुझाउन पावलले पुरातन समयका सिपाहीहरूको एउटा सामान्य प्रचलनको उदाहरण दिए। एक विजयी सिपाहीले आफ्नी श्रीमतीको घरधन्दा सघाउन विदेशी कैदीलाई घर ल्याउन सक्थे। (भज. ६८:१, १२, १८) त्यसरी नै, येशूले यस संसारमाथि विजय हासिल गर्दा थुप्रै इच्छुक दास पाउनुभयो। ( एफिसी ४:७, ८ पढ्‌नुहोस्‌) उहाँले यी प्रतीकात्मक कैदीहरूलाई कसरी चलाउनुभयो? “उहाँलेनै कुनैलाई प्रेरित, कुनैलाई अगमवक्‍ता, कुनैलाई प्रचारक र कुनैलाई मण्डलीको गोठालो र शिक्षक हुनलाई, सेवाको काममा र ख्रीष्टको शरीरको स्थापनमा पवित्र जनहरूको सिद्धता हुनको निम्ति नियुक्‍त गर्नुभयो, जबसम्म हामी सबै जना विश्‍वासको . . . एकता प्राप्त गर्दैनौं।”—एफि. ४:११-१३.

९. (क) हाम्रो एकतालाई कायम राख्न “पुरुषहरूमध्ये वरदान”-ले कसरी मदत गर्छ? (ख) प्रत्येक सदस्यले मण्डलीको एकतामा किन योगदान पुऱ्‍याउनुपर्छ?

मायालु गोठालाको रूपमा “पुरुषहरूमध्ये वरदान”-ले हाम्रो एकता कायम राख्न मदत गर्छन्‌। उदाहरणको लागि, मण्डलीका दुई जना भाइले “एउटाले अर्कोसित पाखुरा सुर्काउने” गरेको प्राचीनले देख्यो भने उनीहरूलाई ‘नम्रताको आत्माले सुधार्न’ गोप्य रूपमा सल्लाह दिएर तिनले मण्डलीको एकतालाई कायमै राख्न ठूलो योगदान पुऱ्‍याउन सक्छन्‌। (गला. ५:२६–६:१) शिक्षकको रूपमा भने यी “पुरुषहरूमध्ये वरदान”-ले बाइबलआधारित शिक्षाद्वारा हाम्रो विश्‍वास बलियो बनाउन मदत गर्छन्‌। यसरी तिनीहरूले एकता बढाउँछन्‌ र ख्रीष्टियानको रूपमा अझ परिपक्व हुँदै जान हामीलाई मदत गर्छन्‌। “हामी भ्रमको धूर्त कारवाहीहरूअनुसार छलमा मानिसहरूको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने बालकहरू अब नहोऔं” भनेर पावलले लेखे। (एफि. ४:१३, १४) जसरी हाम्रो शरीरका अङ्‌गहरूले एक-अर्कालाई चाहिने कुरा दिएर मदत गर्छन्‌, त्यसरी नै प्रत्येक ख्रीष्टियानले भाइहरूबीचको एकतामा योगदान पुऱ्‍याउनुपर्छ।— एफिसी ४:१५, १६ पढ्‌नुहोस्‌।

असल मनोवृत्ति विकास गर्नुहोस्‌

१०. अनैतिक आचरणले हाम्रो एकतालाई कसरी खतरामा पार्न सक्छ?

१० परिपक्व ख्रीष्टियानको रूपमा एकताबद्ध हुन प्रेमलाई व्यवहारमा उतार्नु अत्यावश्‍यक छ भनेर पावलले एफिसीहरूलाई लेखेको पत्रको चौथो अध्यायमा बताएका छन्‌। के तपाईंले याद गर्नुभयो? साथै, प्रेममा के-कस्ता कुरा मुछिएका छन्‌ भनेर पनि उक्‍त अध्यायमा उल्लेख गरिएको छ। त्यसमध्ये एउटा कुरा हो, प्रेमको मार्गमा अवैध यौनसम्बन्ध र छाडा आचरणको कुनै ठाउँ छैन। पावलले ती भाइहरूलाई ‘अन्यजातिहरूको जस्तो चाल नचल्न’ आग्रह गरे। आफ्नो सम्पूर्ण नैतिक चेतना गुमाएका यी मानिसहरूले “आफैलाई कामोद्दीपनामा सुम्पिदिए।” (एफि. ४:१७-१९) हामी बाँचिरहेको अनैतिक संसार हाम्रो एकताको लागि खतरनाक छ। मानिसहरू अवैध यौनसम्बन्धबारे ख्यालठट्टा गर्छन्‌, त्यसैको विषयमा गीत गाउँछन्‌, मनोरञ्जनको लागि यस्तै कुराहरू हेर्छन्‌ अनि गोप्य वा खुलेआम रूपमा यी कुराहरू नै गर्छन्‌। विवाह गर्ने कुनै मनसाय छैन तर आफूले मन पराएजस्तो गरी विपरीत लिङ्‌गको व्यक्‍तिसित बेमतलबले जिस्किंदा मात्र पनि यसले तपाईंलाई यहोवा र मण्डलीबाट टाढा बनाउन सक्छ। किन? किनभने यसले अवैध यौनसम्बन्ध राख्नतिर सजिलै धकेल्न सक्छ। साथै, विवाहित व्यक्‍तिहरूले पनि बेमतलबले जिस्किंदा आफ्नो पति वा पत्नीबाहेक अरूसित अवैध यौनसम्बन्ध राख्न पुग्छन्‌। फलस्वरूप आमाबाबु र छोराछोरीको बिछोड हुने अनि निर्दोष पति/पत्नी आफ्नो जोडीबाट छुट्टिने दुःखदायी अवस्था हुन सक्छ। हो, यसले साँच्चै फूट गराउँछ! त्यसैकारण त पावलले यस्तो लेखे: “ख्रीष्टलाई ता तिमीहरूले यसरी सिकेनौ।”—एफि. ४:२०, २१.

११. ख्रीष्टियानहरूलाई कस्ता परिवर्तन गर्न बाइबल प्रोत्साहन दिन्छ?

११ फूट गराउने सोचाइ हामीले त्याग्नुपर्छ र त्यसको बदलामा अरूसित मिलेर बस्न मदत गर्ने मनोवृत्ति विकास गर्नुपर्छ भन्‍ने कुरालाई पावलले जोड दिए। तिनले लेखे: “तिमीहरूले अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई जो छलको लालसाअनुसार भ्रष्ट भएर जाने हुन्छ, त्याग, र आफ्नो मनको आत्मामा नयाँ होओ, र नयाँ मानिसलाई धारण गर, जो परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” (एफि. ४:२२-२४) हामी कसरी “आफ्नो मनको आत्मामा नयाँ” हुन सक्छौं? परमेश्‍वरको वचनबाट र अनुभवी ख्रीष्टियानहरूको असल उदाहरणबाट सिकेका कुराहरूप्रति कृतज्ञ भई मनन गर्नुका साथै प्रयास गरेको खण्डमा ‘परमेश्‍वरअनुसार सृष्टि भएको’ नयाँ व्यक्‍तित्व धारण गर्न सक्छौं।

राम्रो बोलीवचन सिक्नुहोस्‌

१२. सत्य बोल्दा एकता कसरी अझ बलियो हुन्छ अनि कसै-कसैलाई सत्य बोल्न किन गाह्रो हुन सक्छ?

१२ परिवार वा मण्डलीका सदस्यहरूसित सत्य बोल्नु अत्यावश्‍यक छ। खुलस्त, इमानदार अनि दयालु बोलीवचनले मानिसहरूलाई एक-आपसमा आकर्षित गर्न सक्छ। (यूह. १५:१५) तर परिवार वा मण्डलीका सदस्यहरूले एक-अर्कासित झूट बोल्छ भने नि? झूट बोलेको पत्ता लाग्यो भने एक-अर्काप्रतिको भरोसा कमजोर हुन्छ। त्यसैले पावलले यसो भन्‍नुको कारण तपाईं बुझ्नुहुन्छ होला: “झूट त्यागेर हरेकले आफ्नो-आफ्नो छिमेकीसित सत्य बोल, किनकि हामी एक दोस्रोका अङ्‌ग हौं।” (एफि. ४:२५) सायद सानैदेखि झूट बोल्न थालेकोले अहिले झूट बोल्ने बानी परिसकेको व्यक्‍तिलाई सत्य बोल्न गाह्रो हुन सक्छ। तर यस्तो बानी बदल्न गरेको प्रयासलाई यहोवाले कदर गर्नुहुनेछ र मदत पनि दिनुहुनेछ।

१३. रूखो बोली नबोल्न के गर्नुपर्छ?

१३ के बोल्नु हुन्छ र के बोल्नु हुँदैन भन्‍ने विषयमा सीमा तोकेर यहोवाले हामीलाई मण्डलीमा र परिवारमा आदरभाव अनि एकता बढाउन सिकाउनुहुन्छ। “केही कुवाक्य तिमीहरूका मुखबाट ननिस्कोस्‌, . . . सबै तितोपना, क्रोध, रीस, होहल्ला, निन्दा, सारा वैरभावसमेत तिमीहरूबाट त्यागिओस्‌।” (एफि. ४:२९, ३१) रूखो बोली नबोल्ने एउटा उपाय अरूप्रति अझ आदरभाव विकास गरेर हो। उदाहरणको लागि, यहोवा स्त्रीहरूको आदर गर्नुहुन्छ भनी सिक्दै गएपछि पत्नीसित रूखो बोली बोल्ने पतिले पत्नीप्रतिको आफ्नो दृष्टिकोण बदल्ने प्रयास गर्नुपर्छ। परमेश्‍वरले केही स्त्रीलाई पवित्र आत्माद्वारा अभिषेक गरेर ख्रीष्टसित राजाको रूपमा शासन गर्ने आशा दिनुभएको छ। (गला. ३:२८; १ पत्रु. ३:७) त्यसरी नै, आफ्नो श्रीमान्‌सित च्याँठिएर बोल्ने बानी परेकी स्त्रीले, अरूले रिस उठाएको बेला येशूले आफूलाई कसरी सँभाल्नुभयो भनी सिक्दै गएपछि आफ्नो बानी बदल्न उत्प्रेरित हुनुपर्छ।—१ पत्रु. २:२१-२३.

१४. रिस पोखाउनु किन खतरनाक छ?

१४ रिसलाई काबूमा राख्न सकिएन भने अक्सर रूखो बोली निस्किहाल्छ। यसले पनि एक-अर्कासित मिलेर बसिरहेका मानिसहरूबीच फाटो ल्याउन सक्छ। रिस भनेको आगोजस्तै हो। यो सजिलै नियन्त्रणबाहिर जान सक्छ र विपत्ति निम्त्याउन सक्छ। (हितो. २९:२२) आफूलाई चित्त नबुझेको कुरा व्यक्‍त गर्नु जायजै लागे तापनि अरूसितको अनमोल सम्बन्ध नबिगार्नको लागि रिसलाई काबूमा राख्न होसियार हुनुपर्छ। ख्रीष्टियानहरूले अरूको इवी नराखेर अनि पुरानो कुरा घरीघरी नदोहोऱ्‍याएर क्षमाशील हुने प्रयास गर्नुपर्छ। (भज. ३७:८; १०३:८, ९; हितो. १७:९) पावलले एफिसीहरूलाई यस्तो सल्लाह दिए: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रिस मरोस्‌। शैतानलाई मौका नदेओ।” (एफि. ४:२६, २७) रिसलाई काबूमा राख्न नसक्दा दियाबलले बेमेल र मतभेदको बीउ रोप्ने मौका पाउँछ।

१५. हामीले अरूको चीज लियौं भने के हुन्छ?

१५ अरूको सम्पत्तिप्रति आदर देखाउँदा मण्डलीको एकतामा योगदान पुग्छ। यस्तो लेखिएको छ: “चोर्नेले फेरि नचोरोस्‌।” (एफि. ४:२७) यहोवाका जनमाझ एक प्रकारको भरोसाको वातावरण छाएको छ। यस्तो भरोसाको नाजायज फाइदा उठाउँदै यदि कुनै ख्रीष्टियानले अरूको चीज लिन्छ भने उसले यहोवाका जनमाझ भएको आनन्दमय एकतामा खलल पुऱ्‍याउँछ।

परमेश्‍वरप्रतिको प्रेमले हामीलाई एकतामा बाँध्छ

१६. उत्थानदायी बोलीवचनद्वारा हामी एकतालाई कसरी अझ बलियो बनाउन सक्छौं?

१६ परमेश्‍वरप्रतिको प्रेमले गर्दा मण्डलीका सबै जना अरूप्रति प्रेमपूर्ण व्यवहार गर्न उत्प्रेरित हुन्छन्‌। अनि यसले गर्दा ख्रीष्टियान मण्डलीको एकता सम्भव भएको हो। यहोवाले देखाउनुभएको दयाप्रतिको कृतज्ञताले हामीलाई यो सल्लाह पालन गर्न उत्कट प्रयास गर्ने उत्प्रेरणा दिन्छ: “परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरो हुन्छ भने मात्र [बोल], कि त्यसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌। . . . जसरी परमेश्‍वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक-अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफि. ४:२९, ३२) यहोवाले हामीजस्ता असिद्ध मानिसहरूलाई दया गरेर क्षमा दिनुहुन्छ। त्यसरी नै, के हामीले पनि अरूका कमीकमजोरीलाई क्षमा दिनुपर्दैन र?

१७. एकता बढाउन हामीले किन उत्कट प्रयास गर्नुपर्छ?

१७ परमेश्‍वरका जनबीचको एकताले यहोवाको महिमा गर्छ। उहाँको आत्माले हामीलाई एकता बढाउन विभिन्‍न तरिकामा उत्प्रेरित गर्छ। हामी पक्कै पनि उहाँको आत्माको डोऱ्‍याइको प्रतिरोध गर्न चाहँदैनौं। पावलले लेखे: “परमेश्‍वरका पवित्र आत्मालाई सन्ताप नदेऊ।” (एफि. ४:३०) एकता भनेको हामीले हरहालतमा जोगाइराख्नुपर्ने सम्पत्ति हो। एकतामा रहने सबैले यसबाट आनन्द प्राप्त गर्छन्‌ अनि यस्तो एकताले यहोवाको महिमा गर्छ। “यसकारण तिमीहरू प्रिय बालकहरूझैं परमेश्‍वरका देखासिकी गर्नेहरू होओ, . . . तिमीहरू पनि प्रेममा चल।”—एफि. ५:१, २. ( w10 -E 09/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• कस्तो मनोवृत्तिले ख्रीष्टियानहरूबीच एकता बढाउँछ?

• हाम्रो आचरणले मण्डलीमा कसरी एकता बढाउन सक्छ?

• अरूसित मिलेर बस्न हाम्रो बोलीवचनले कसरी मदत गर्न सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

विभिन्‍न पृष्ठभूमिका मानिसहरू एकतामा बाँधिएका छन्‌

[पृष्ठ २२-मा भएको चित्र]

बेमतलबले जिस्किनुको खतरालाई के तपाईंले बुझ्नुभएको छ?