सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सँगी विश्‍वासीहरूलाई आदर गर्न तपाईंले अगुवाइ लिइरहनुभएको छ?

सँगी विश्‍वासीहरूलाई आदर गर्न तपाईंले अगुवाइ लिइरहनुभएको छ?

सँगी विश्‍वासीहरूलाई आदर गर्न तपाईंले अगुवाइ लिइरहनुभएको छ?

“एक-दोस्रोप्रति भ्रातृप्रेम राख्दै कोमल स्नेह देखाओ। एक-अर्काको आदर गर्नमा अगुवाइ लेओ।”—रोमी १२:१०, NW.

१, २. (क) रोमीहरूलाई लेखेको पत्रमा पावलले कुन गम्भीर सल्लाह दिए? (ख) हामी कुन-कुन प्रश्‍न विचार गर्नेछौं?

 ख्रीष्टियान भएकोले मण्डलीका भाइबहिनीलाई हामीले प्रेम देखाउनुपर्छ। त्यस्तो प्रेम देखाउनुको महत्त्वबारे पावलले रोमीहरूलाई लेखेको पत्रमा जोड दिए। हाम्रो प्रेम “निष्कपटको” हुनुपर्छ भनेर तिनी हामीलाई सम्झाउँछन्‌। “भ्रातृप्रेम”-बारे पनि तिनी उल्लेख गर्छन्‌ र त्यस्तो प्रेम “कोमल स्नेह”-सहित देखाउनुपर्छ भनेर बताउँछन्‌।—रोमी १२:९, १०क.

भ्रातृप्रेम राख्नु भनेको अरूप्रति माया महसुस गर्नु मात्र नभई त्यो व्यक्‍त गर्नु पनि हो। आखिर प्रेम र स्नेह व्यक्‍त नगरेसम्म अरूले थाह पाउन सक्दैन नि, होइन र? त्यसैले पावलले यस्तो गम्भीर सल्लाह पनि दिए: “एक-अर्काको आदर गर्नमा अगुवाइ लेओ।” (रोमी १२:१०ख, NW) आदर गर्नुमा के समावेश छ? सँगी विश्‍वासीहरूलाई आदर गर्ने सन्दर्भमा अगुवाइ लिनु किन महत्त्वपूर्ण छ? हामी यो कसरी गर्न सक्छौं?

अरूलाई आदर गर्नुमा के समावेश छ?

३. “आदर” शब्दको लागि मूल भाषाको बाइबलमा चलाइएको शब्दको अर्थ के हो?

“आदर”-को निम्ति प्रयोग गरिएको मूल हिब्रू शब्दको शाब्दिक अर्थ “गह्रुङ्‌गो” हो। कुनै व्यक्‍तिको आदर गर्नु भनेको तिनलाई गह्रुङ्‌गो वा महत्त्वपूर्ण ठान्‍नु हो। सोही हिब्रू शब्दलाई धर्मशास्त्रमा अक्सर “गौरव” भनेर पनि अनुवाद गरिएको छ। (उत्प. ४५:१३) यो शब्दले पनि आदर गरिएको व्यक्‍तिलाई ठूलो मोलको सम्झनु भन्‍ने बुझाउँछ। बाइबलमा “इज्जत” अर्थात्‌ आदर भनी अनुवाद गरिएको युनानी शब्दले गहिरो सम्मान गर्नु, मोल गर्नु र बहुमूल्य ठान्‍नु भन्‍ने अर्थ दिन्छ। (लूका १४:१०) हो, हामीले आदर गर्ने व्यक्‍तिहरू हाम्रा लागि बहुमूल्य छन्‌, मूल्यवान्‌ छन्‌।

४, ५. आदरभाव राख्नु र आदर गर्नुबीच कस्तो सम्बन्ध छ? उदाहरण दिनुहोस्‌।

अरूलाई आदर गर्नुमा के समावेश छ? यसमा तपाईंले अरूप्रति राख्ने भावना मुछिएको छ। अरूप्रति तपाईंले राख्ने भावनाले तिनीहरूसित गर्ने व्यवहारमा पनि असर पार्छ। अर्को शब्दमा भन्‍नुपर्दा, सर्वप्रथम हाम्रा भाइबहिनीप्रति हामीले आदरको भाव राख्नै पर्छ, त्यसपछि मात्र तिनीहरूसित आदरपूर्ण व्यवहार गर्न सक्छौं।

सँगी विश्‍वासीहरूप्रति मनमा आदरभाव नै छैन भने साँचो आदर गरेको कसरी देखाउन सक्छौं? (३ यूह. ९, १०) बोटलाई राम्रो माटोमा रोपेको हो भने मात्र त्यो मौलाउँछ र टिक्छ, त्यसरी नै आदरभाव मनदेखि आएको हो भने मात्र साँचो अनि टिकिरहने हुन्छ। तर मनमा आदरभाव नै छैन भने नराम्रो माटोमा रोपेको बोट सुकेझैं ढिलो होस्‌ वा चाँडो हाम्रो आदर सुक्नेछ अर्थात्‌ हराउनेछ। त्यसैले पो आदर गर्ने सन्दर्भमा यस्तो गम्भीर सल्लाह दिनुअघि पावलले प्रस्टैसित “प्रेम निष्कपटको होस्‌” भनेका रहेछन्‌।—रोमी १२:९; १ पत्रुस १:२२ पढ्‌नुहोस्‌।

“परमेश्‍वरको सकलमा” सृष्टि गरिएकाहरूको आदर गर्नुहोस्‌

६, ७. अरूप्रति आदरभाव राख्नु किन आवश्‍यक छ?

मनमा आदरभाव छ भने मात्र अरूलाई आदर गर्न सकिने भएकोले सबै भाइबहिनीलाई आदर गर्नुपर्ने धर्मशास्त्रीय कारणहरू हामीले कहिल्यै बिर्सनुहुँदैन। तीमध्ये दुईवटा विचार गरौं।

प्राणीजगत्‌मा मानिसहरू मात्र “परमेश्‍वरको सकलमा” सृष्टि गरिएका थिए। (याकू. ३:९) त्यसकारण हामीसित प्रेम, बुद्धि र न्यायजस्ता ईश्‍वरीय गुणहरू छन्‌। हाम्रो सृष्टिकर्ताबाट हामीले अरू के पाएका छौं, याद गर्नुहोस्‌। भजनरचयिता यसो भन्छन्‌: “हे प्रभो, . . . जसले आफ्नो महिमा स्वर्गमा स्थिर गर्नुभएको छ, . . . तपाईंले [मानिसलाई] दूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभएको छ, र त्यसलाई गौरव र आदरको मुकुट लगाइदिनुभएको छ।” (भज. ८:१, ४, ५; १०४:१) a परमेश्‍वरले मानिसजातिलाई प्रशस्त गरी महिमा, गौरव अनि आदरको मुकुट लगाइदिनुभएको छ। त्यसैले अरूको महिमा अर्थात्‌ मान गर्दा वास्तवमा हामीले मानिसलाई आदर दिने यहोवा नै हुनुहुन्छ भनेर स्वीकारिरहेका हुन्छौं। अतः साधारण मानिसलाई त आदर गर्नुपर्ने जायज कारण छ भने सँगी विश्‍वासीहरूलाई झन्‌ धेरै आदर गर्नुपर्छ।—यूह. ३:१६; गला. ६:१०.

एकै परिवारका सदस्य

८, ९. सँगी विश्‍वासीहरूप्रति आदरभाव राख्नुपर्ने कारण के हो भनेर पावलले उल्लेख गरे?

एक-अर्काप्रति आदरभाव राख्नुपर्ने अर्को कारण पावलले उल्लेख गरे। आदर गर्ने सन्दर्भमा गम्भीर सल्लाह दिनु ठीकअघि तिनले यसो भने: “एक-दोस्रोप्रति भ्रातृप्रेम राख्दै कोमल स्नेह देखाओ।” “कोमल स्नेह” भनेर अनुवाद गरिएको युनानी अभिव्यक्‍तिले बलियो बन्धनलाई बुझाउँछ। यस्तो बन्धनले मायालु अनि आपसमा सहयोग गर्ने परिवारलाई एकतामा बाँध्छ। त्यसकारण पावलले यो अभिव्यक्‍ति चलाएर मण्डलीका भाइबहिनीबीचको सम्बन्ध एकताबद्ध परिवारमा जस्तै बलियो अनि घनिष्ठ हुनुपर्छ भनेर जोड दिइरहेका थिए। (रोमी १२:५) याद गर्नुहोस्‌, पावलले ती शब्द अभिषिक्‍त ख्रीष्टियानहरूका लागि लेखेका थिए र तिनीहरू सबैलाई एकै पिता यहोवाले धर्मपुत्र बनाउनुभएको थियो। त्यसैले तिनीहरू साँच्चै एउटा घनिष्ठ परिवार थिए। त्यसकारण पावलको समयका अभिषिक्‍त ख्रीष्टियानहरूसित एक-अर्काप्रति आदरभाव राख्नुपर्ने सशक्‍त कारण थियो। यो कुरा आजका अभिषिक्‍त जनहरूमा पनि उत्तिकै लागू हुन्छ।

“अरू भेडा”-का सदस्यबारे चाहिं के भन्‍न सकिन्छ? (यूह. १०:१६) हुनत तिनीहरू अहिलेसम्म परमेश्‍वरको धर्मपुत्रको रूपमा स्वीकारिएका छैनन्‌। तापनि तिनीहरू मिलेर विश्‍वव्यापी ख्रीष्टियान परिवार बनेकोले एक-अर्कालाई सम्बोधन गर्दा भाइ र बहिनी भन्‍नु उपयुक्‍त छ। (१ पत्रु. २:१७; ५:९) तसर्थ अरू भेडाका ख्रीष्टियानहरूले “भाइ” वा “बहिनी” भन्‍ने पदावली चलाउनुको कारण राम्ररी बुझेका छन्‌ भने सँगी विश्‍वासीहरूप्रति मनमा आदरभाव हुनुपर्ने सशक्‍त कारण तिनीहरूसित पनि छ।—१ पत्रुस ३:८ पढ्‌नुहोस्‌।

आदर गर्नु किन महत्त्वपूर्ण छ?

१०, ११. आदरभाव राख्नु र आदर गर्नु किन महत्त्वपूर्ण छ?

१० आदरभाव राख्नु र आदर गर्नु किन महत्त्वपूर्ण छ? किनभने भाइबहिनीलाई आदर गर्दा सम्पूर्ण मण्डलीको समृद्धि र एकतामा ठूलो योगदान पुऱ्‍याइरहेका हुन्छौं।

११ हो, यहोवासित घनिष्ठ सम्बन्ध हुनु र उहाँको आत्माको समर्थन पाउनु साँचो ख्रीष्टियानको रूपमा हामीले पाउने सबैभन्दा शक्‍तिशाली बलको स्रोत हो भनेर हामीले बुझेका छौं। (भज. ३६:७; यूह. १४:२६) साथै, सँगी विश्‍वासीहरूले हाम्रो मोल गरेको देखाउँदा हामी प्रोत्साहित हुन्छौं। (हितो. २५:११) कसैले हाम्रो साँच्चै कदर गर्दा हामी हौसला पाउँछौं। यसले हामीलाई आनन्दित भई जीवनको बाटोमा हिडिंरहने हाम्रो सङ्‌कल्पमा थप बल प्रदान गर्छ। सायद तपाईंले पनि यस्तो आनन्द महसुस गर्नुभएको छ।

१२. हामी प्रत्येकले मण्डलीको वातावरण न्यानो अनि मायालु बनाउन कसरी योगदान पुऱ्‍याउन सक्छौं?

१२ अरूले आदर गरोस्‌ भन्‍ने हाम्रो जन्मजात आवश्‍यकता यहोवालाई थाह छ। त्यसैले आफ्नो वचनमार्फत उहाँले यस्तो मनासिब आग्रह गर्नुभयो: “मानमा एउटाले अर्कोको बढ्‌ता कदर गर।” (रोमी १२:१०; मत्ती ७:१२ पढ्‌नुहोस्‌) सधैं काम लाग्ने यो सल्लाह लागू गर्दा हामी सबैले हाम्रो ख्रीष्टियान भ्रातृत्वलाई न्यानो अनि मायालु बनाउन योगदान पुऱ्‍याइरहेका हुन्छौं। त्यसकारण एकछिन रोकिएर आफैलाई यस्तो प्रश्‍न सोध्नु राम्रो हुन्छ, ‘मण्डलीका भाइबहिनीप्रति मनमा आदरभाव छ भनेर आफ्नो बोली अनि व्यवहारबाट योभन्दा पहिले कहिले देखाएको थिए?’—रोमी १३:८.

सबैको विशेष जिम्मेवारी

१३. (क) आदर गर्नमा कसले अगुवाइ लिनुपर्छ? (ख) रोमी १:७ मा पावलका शब्दहरूले के सङ्‌केत गर्छ?

१३ आदर गर्नमा कसले अगुवाइ लिनुपर्छ? हिब्रूहरूलाई लेखेको पत्रमा पावलले ख्रीष्टियान प्राचीनहरू “तिमीहरूबीच अगुवाइ लिइरहेका”-हरू हुन्‌ भनी बताए। (हिब्रू १३:१७, NW) हो, प्राचीनहरू थुप्रै गतिविधिमा अगुवाइ लिन्छन्‌। तैपनि बगालको गोठालो भएकोले तिनीहरूले सँगी विश्‍वासीहरूका साथै सँगी प्राचीनहरूको पनि आदर गर्नमा अगुवाइ लिनै पर्छ। उदाहरणको लागि, प्राचीनहरू मण्डलीको आध्यात्मिक आवश्‍यकता विचार गर्न भेला हुँदा एक-अर्काको टिप्पणी ध्यानपूर्वक सुनेर आदर गर्छन्‌। साथै, निर्णय गर्दा सबै प्राचीनका विचार तथा अभिव्यक्‍ति ध्यानमा राखेर पनि एक-अर्काको आदर गर्छन्‌। (प्रेरि. १५:६-१५) तथापि हामीले के याद गर्नुपर्छ भने पावलले रोमीहरूलाई लेखेको पत्र प्राचीनहरूको निम्ति मात्र होइन; सम्पूर्ण मण्डलीको निम्ति पनि हो। (रोमी १:७) त्यसकारण, आदर गर्नमा अगुवाइ लिने गम्भीर सल्लाह प्राचीनहरूलाई मात्र होइन आज हामी सबैलाई उत्तिकै लागू हुन्छ।

१४. (क) आदर गर्नु र आदर गर्नमा अगुवाइ लिनुबीचको भिन्‍नतालाई उदाहरणसहित बताउनुहोस्‌। (ख) हामीले आफैलाई कस्तो प्रश्‍न सोध्न सक्छौं?

१४ पावलको सल्लाहको यो पक्ष पनि विचार गर्नुहोस्‌। तिनले रोमका सँगी विश्‍वासीहरूलाई आदर गर्न मात्र होइन आदर गर्नमा अगुवाइ लिन आग्रह गरे। यसमा भिन्‍नता छ? यो उदाहरण विचार गर्नुहोस्‌। के शिक्षकले साक्षर विद्यार्थीहरूलाई पढ्‌न सिक्नुपर्छ भनेर आग्रह गर्छ र? अहँ गर्दैन। किनभने तिनीहरूले पढ्‌न जानिसकेका हुन्छन्‌। बरु विद्यार्थीहरूलाई अझ राम्ररी पढ्‌न सक्ने बनाउन शिक्षकले उनीहरूलाई मदत गर्न सक्छ। त्यसैगरि हामीले एउटाले अर्कोलाई प्रेम गर्नु भनेको त साँचो ख्रीष्टियानको चिनारी नै हो र यही प्रेमले गर्दा हामी अरूलाई आदर गर्न उत्प्रेरित हुन्छौं। (यूह. १३:३५) तर साक्षर विद्यार्थीले आफ्नो पढ्‌ने क्षमता तिखारेर थप प्रगति गरेझैं हामीले पनि आदर गर्नमा अगुवाइ लिएर अझै उन्‍नति गर्न सक्छौं। (१ थिस्स. ४:९, १०) यो विशेष जिम्मेवारी हामी प्रत्येकलाई दिइएको छ। हामीले आफैलाई यसरी सोध्न सक्छौं: ‘मण्डलीका भाइबहिनीलाई आदर गर्न अग्रसर भएर के मैले पनि त्यसै गरिरहेको छु?

दीनदुःखीलाई आदर गर्नुहोस्‌

१५, १६. (क) आदर गर्दा हामीले मण्डलीमा कसलाई बेवास्ता गर्नुहुँदैन र किन? (ख) हाम्रा सबै भाइबहिनीप्रति मनमा आदरभाव छ भनेर केले प्रकट गर्छ?

१५ आदर गर्दा हामीले मण्डलीमा कसलाई बेवास्ता गर्नुहुँदैन? परमेश्‍वरको वचन यसो भन्छ: “उदारचित्तले गरीबलाई [“दीनदुःखीलाई,” NW] जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ।” (हितो. १९:१७) आदर गर्नमा अगुवाइ लिने अथक प्रयास गर्दा यी शब्दमा पाइने सिद्धान्तले हामीमा कस्तो प्रभाव पार्नुपर्ने हो?

१६ थुप्रै मानिस आफूभन्दा ठूलाको आदर त गर्छन्‌ तर सानालाई भने त्यत्ति आदर गर्दैनन्‌ वा पटक्कै गर्दैनन्‌। तर यहोवा त्यस्तो हुनुहुन्‍न। उहाँ यसो भन्‍नुहुन्छ: “मलाई आदर गर्नेलाई म आदर गर्नेछु।” (१ शमू. २:३०; भज. ११३:५-७) यहोवाको सेवा र आदर गर्ने सबैलाई उहाँ आदर गर्नुहुन्छ। उहाँ “नम्रहरू” अर्थात्‌ दीनदुःखीहरूलाई बेवास्ता गर्नुहुन्‍न। ( यशैया ५७:१५ पढ्‌नुहोस्‌; २ इति. १६:९) हामी यहोवाको अनुकरण गर्न चाहन्छौं। अरूलाई साँच्चै आदर गरेका छौं कि छैनौं जान्‍न चाहन्छौं भने आफैलाई यस्तो प्रश्‍न सोध्नु राम्रो हुन्छ, ‘मण्डलीका साधारण वा कुनै खास जिम्मेवारी नपाएकाहरूसित हामी कस्तो व्यवहार गर्छौं?’ (यूह. १३:१४, १५) यसको जवाफले अरूप्रति हाम्रो मनमा कत्तिको आदरभाव छ, त्यो प्रकट गर्छ।— फिलिप्पी २:३, ४ पढ्‌नुहोस्‌।

आफ्नो समय दिएर आदर गर्नुहोस्‌

१७. कुन मुख्य तरिकामा आदर गर्नमा हामी अगुवाइ लिन सक्छौं र किन?

१७ कुन मुख्य तरिकामा मण्डलीमा सबैलाई आदर गर्नमा अगुवाइ लिन सक्छौं? अरूलाई आफ्नो समय दिएर। किन? ख्रीष्टियान भएकोले हामी सबै व्यस्त छौं र मण्डलीका थुप्रै महत्त्वपूर्ण काम पूरा गर्न पनि धेरै समय लगाउनुपर्छ। त्यसैले हामीले पनि समयलाई अनमोल ठान्‍नु अनौठो कुरा होइन। भाइबहिनीले हामीलाई प्रशस्त समय देओस्‌ भन्‍ने माग हामीले गर्नुहुँदैन। त्यस्तै गरी, मण्डलीका भाइबहिनीले पनि हामीसित समयको अचाक्ली माग नगरिदिंदा त्यसको हामी कदर गर्छौं।

१८. पृष्ठ २२ को चित्रमा देखाइएझैं सँगी विश्‍वासीहरूलाई केही समय दिन इच्छुक छौं भन्‍ने कुरा कसरी देखाउन सक्छौं?

१८ तथापि सँगी विश्‍वासीहरूलाई केही समय दिन आफूले गरिरहेको काम रोक्ने हाम्रो इच्छुकताले तिनीहरूप्रति आदरको भाव छ भनेर देखाइरहेका हुन्छौं। यो कुरा पनि हामीले (विशेषगरि हामी मण्डलीमा गोठालोको रूपमा सेवा गर्नेहरूले) बुझेका छौं। कसरी? हाम्रा भाइबहिनीलाई केही समय दिन आफूले गरिरहेको काम रोक्दा मानौं तिनीहरूलाई यसो भनिरहेका हुन्छौं: ‘तपाईं मेरो नजरमा एकदमै बहुमूल्य हुनुहुन्छ, त्यसैले तपाईंको लागि केही समय दिन पाउनु मैले गरिरहेको कामभन्दा महत्त्वपूर्ण छ।’ (मर्कू. ६:३०-३४) तर यसको उल्टो पनि हुन सक्छ। भाइबहिनीलाई केही समय दिनको लागि काम रोक्न अनिच्छुक छौं भने तपाईंको नजरमा तिनीहरूको कुनै मोल छैन भन्‍ने महसुस तिनीहरूलाई गराइरहेका हुन सक्छौं। हो, कुनै-कुनै बेला रोक्न नहुने जरुरी काम आइपर्छन्‌। तथापि अरूलाई हाम्रो केही समय दिने इच्छुकता वा अनिच्छुकताले हाम्रो मनमा भाइबहिनीप्रति कत्तिको आदर छ, त्यो प्रकट गर्छ।—१ कोरि. १०:२४.

अगुवाइ लिन कटिबद्ध हुनुहोस्‌

१९. हाम्रो समय दिनुबाहेक अरू के गरेर पनि सँगी विश्‍वासीहरूलाई आदर गर्न सक्छौं?

१९ सँगी विश्‍वासीहरूलाई आदर गरेका छौं भनेर अरू महत्त्वपूर्ण तरिकामा पनि देखाउन सक्छौं। जस्तै:- तिनीहरूलाई समय दिंदा हाम्रो ध्यान पनि दिनुपर्छ। यस सन्दर्भमा पनि यहोवाले उदाहरण बसाल्नुभएको छ। भजनरचयिताले यस्तो लेखे: “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌, र उहाँका कान तिनीहरूका पुकारा सुन्‍न खुला हुन्छन्‌।” (भज. ३४:१५) भाइबहिनीलाई र त्यसमा पनि विशेषगरि मदत माग्न आउने भाइबहिनीलाई हाम्रो पूरै ध्यान दिएर अथवा आफ्नो नजर र कान खुला राखेर यहोवाको अनुकरण गर्न सक्दो कोसिस गर्छौं। यसरी आफ्नो सम्पूर्ण ध्यान दिंदा भाइबहिनीलाई आदर गरिरहेका हुन्छौं।

२०. आदर गर्ने सन्दर्भमा हामी के-कस्ता कारण सधैं सम्झन चाहन्छौं?

२० माथि छलफल गरेझैं सँगी विश्‍वासीहरूप्रति मनमा आदरभाव हुनुपर्ने कारणहरू सधैं सम्झन चाहन्छौं। साथै दीनदुःखीलगायत बाँकी सबैलाई आदर गर्न पहिलो हुने मौका खोजौं। यी कदम चालेर हामी भ्रातृप्रेमको बन्धन अनि मण्डलीको एकता बलियो बनाउनेछौं। त्यसैले एक-अर्कालाई निरन्तर आदर गर्ने मात्र होइन; आदर गर्नमा अगुवाइ नै लिइरहौं। के तपाईं त्यसै गर्न कटिबद्ध हुनुहुन्छ? ( w10 -E 10/15)

[फुटनोट]

a भजनको ८ औं अध्यायमा दाऊदका अभिव्यक्‍तिले भविष्यसूचक रूपमा सिद्ध पुरुष येशू ख्रीष्टलाई पनि सङ्‌केत गर्छ।—हिब्रू २:६-९.

के तपाईंलाई याद छ?

• आदरभाव राख्नु र आदर गर्नुबीच कस्तो सम्बन्ध छ?

• सँगी विश्‍वासीहरूलाई हामीले आदर गर्नुपर्ने कस्ता कारणहरू छन्‌?

• एक-अर्कालाई आदर गर्नु किन महत्त्वपूर्ण छ?

• कुन-कुन तरिकामा सँगी विश्‍वासीहरूलाई आदर गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको चित्र]

सँगी विश्‍वासीहरूलाई कसरी आदर गर्न सक्छौं?