सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साना केटाकेटीलाई यहोवाको सङ्‌गठनसँग परिचित हुन मदत गर्नुहोस्‌

साना केटाकेटीलाई यहोवाको सङ्‌गठनसँग परिचित हुन मदत गर्नुहोस्‌

साना केटाकेटीलाई यहोवाको सङ्‌गठनसँग परिचित हुन मदत गर्नुहोस्‌

केटाकेटीहरू सिक्न चाहन्छन्‌। मिश्रमा पहिलो निस्तार चाडको रातमा इस्राएली केटाकेटीको मनमा कस्ता प्रश्‍नहरू आए होलान्‌, कल्पना गर्नुहोस्‌ त: ‘पाठो किन मारिनुपऱ्‍यो?’ ‘ढोकाको चौकोसमा बुबा किन रगत छर्कंदैहुनुहुन्छ?’ ‘हामी कहाँ जाँदैछौं?’ यस्ता प्रश्‍नहरू सोधेको यहोवालाई मन पर्थ्यो भनेर उहाँले इस्राएली बुबाहरूलाई दिएको आज्ञाबाट प्रस्ट हुन्छ। पछि-पछि मनाइने निस्तार चाडको सन्दर्भमा यहोवाले तिनीहरूलाई भन्‍नुभयो, जब “तिमीहरूका छोरा-छोरीले यस सेवाको अर्थ के हो भनी सोध्छन्‌ तब तिमीहरूले भन्‍नू, ‘यो परमप्रभुको निस्तार चाडको बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूको घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिं छोडेर उहाँले निस्तार गर्नुभएको थियो।’ ” (प्रस्थ. १२:२४-२७) पछि, यहोवाले आज्ञा दिनुभएको “साक्षी-वचन र विधि-विधान”-बारे केटाकेटीले प्रश्‍न सोध्दा त्यसको जवाफ दिनुको महत्त्वबारे उहाँले इस्राएली आमाबाबुलाई सम्झाउनुभयो।—व्यव. ६:२०-२५.

स्पष्टतया, केटाकेटीले साँचो उपासनासम्बन्धी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाएको यहोवा चाहनुहुन्थ्यो—जुन जवाफद्वारा तिनीहरूले यहोवालाई आफ्नो परमेश्‍वर र उद्धारकको रूपमा प्रेम गर्न उत्प्रेरणा पाउनेथिए। आज पनि, साना केटाकेटीका लागि यहोवा यस्तै चाहनुहुन्छ। आमाबाबुले छोराछोरीको मनमा परमेश्‍वरप्रति र उहाँका जनहरूप्रति गहिरो प्रेम बसालिदिने एउटा तरिका, यहोवाको सङ्‌गठनसित परिचित हुन अनि त्यस सङ्‌गठनको प्रबन्धबाट तिनीहरूले कसरी लाभ उठाउन सक्छन्‌, सो बुझ्न मदत दिएर हो। त्यसैले साना केटाकेटीलाई परमेश्‍वरको सङ्‌गठनबारे अझ धेरै जानकारी कसरी दिन सकिन्छ, अब हामी केही तरिका विचार गरौं।

स्थानीय मण्डली

तपाईंको परिवारले सङ्‌गत गर्ने मण्डलीबारे तपाईंका साना केटाकेटीले थाह पाउनु आवश्‍यक छ। त्यसको लागि तपाईंले आफ्ना छोराछोरीलाई सबै ख्रीष्टियान सभामा सँगै लैजानुपर्छ। त्यसो गर्नुभयो भने, यहोवाले इस्राएलीहरूको लागि बसाल्नुभएको यो नमुना तपाईंले लागू गरिरहनुभएको हुनेछ: “स्त्री, बालक . . . सबैलाई भेला गर—र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरका भय मान्‍न सिकून्‌ औ यस व्यवस्थाका सबै आज्ञा होशियारीसाथ पालन गरून्‌। . . . यो व्यवस्था नजान्‍ने तिमीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु परमेश्‍वरको भय मान्‍न सिक्नेछन्‌।”—व्यव. ३१:१२, १३.

केटाकेटीले शैशवकालदेखि नै यहोवाको वचनबारे सिक्न थाल्न सक्छन्‌। प्रेरित पावलले तिमोथीबारे यसो भने: “तिमीले बाल्यकालदेखि पवित्र लेखोटहरू जानेका छौ।” (२ तिमो. ३:१५) एकदमै साना केटाकेटीहरूले समेत राज्यभवनका सभाहरूमा दिइने जानकारी बुझ्न थाल्छन्‌ अनि त्यहाँ गाइने राज्यगीतबारे पनि परिचित हुन सक्छन्‌। त्यहाँ तिनीहरूले बाइबल र बाइबलआधारित प्रकाशनहरू चलाउन अनि त्यसको आदर गर्न सिक्छन्‌। यसबाहेक, तिनीहरूले हाम्रा सभाहरूमा ख्रीष्टका साँचो अनुयायीहरूलाई चिनाउने गुण अर्थात्‌ निष्कपट प्रेम महसुस गर्नेछन्‌। येशूले भन्‍नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूह. १३:३४, ३५) राज्यभवनमा प्रस्ट देखिने न्यानो प्रेम र साँचो सुरक्षाले केटाकेटीको मन छुन्छ अनि तिनीहरूले ख्रीष्टियान सभालाई आफ्नो जीवनको अभिन्‍न भाग बनाउन मदत पाउनेछन्‌।

सभा सुरु हुनुअघि नै राज्यभवन पुग्ने अनि सभा सिद्धिएपछि पनि अलिक बेर बस्ने बानी बसाल्दा तपाईंका छोराछोरीले साथी बनाउने मौका पाउनेछन्‌। तिनीहरूलाई आफ्नै उमेरका केटाकेटीसित मात्र घुलमिल हुन दिनुको साटो सबै उमेरका भाइबहिनीसित चिनजान गराइदिनुभए कसो होला? आफूभन्दा ठूलाहरूसित घुलमिल हुन थाले भने तपाईंका छोराछोरीले उनीहरूको रोचक अनुभव र बुद्धिको भण्डारबाट लाभ उठाउन सक्नेछन्‌। पुरातन समयका जकर्याहले यहूदाका जवान राजा उज्जियाहलाई “परमेश्‍वरको भयमा शिक्षा दिएबमोजिम” आज पनि, विश्‍वासी भई यहोवाको सेवामा वर्षौं बिताइसकेका वयस्कहरूले साना केटाकेटीलाई राम्रो प्रभाव पार्न सक्छन्‌। (२ इति. २६:१, ४, ५) राज्यभवन जाँदा त्यहाँको पुस्तकालय, सूचना-पाटी इत्यादिको काम के हो भनेर आफ्ना छोराछोरीलाई बुझाउन सक्नुहुन्छ।

विश्‍वव्यापी सङ्‌गठन

आफू जाने स्थानीय मण्डली संसारभरिको १,००,००० भन्दा धेरै मण्डली मिलेर बनेको विश्‍वव्यापी सङ्‌गठनको भाग हो भनेर केटाकेटीले बुझ्नु आवश्‍यक छ। यस सङ्‌गठनको विभिन्‍न पक्ष, यसले कसरी काम गर्छ अनि यसको गतिविधिमा टेवा पुऱ्‍याउन केटाकेटीले कस्तो भूमिका खेल्न सक्छन्‌, सो तिनीहरूलाई बुझाउनुहोस्‌। तपाईं क्षेत्रीय सम्मेलन, जिल्ला अधिवेशन र क्षेत्रीय निरीक्षकको भ्रमणलाई किन उत्सुकतासाथ पर्खनुहुन्छ भनेर पनि बताउनुहोस्‌।—पृष्ठ २७ मा “पारिवारिक उपासनामा छलफल गर्ने विषयहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।

मौका मिलेको बेला आफ्नो घरमा खाना खानको लागि परिभ्रमण निरीक्षक, मिसनरी, बेथेल परिवारका सदस्य अनि अन्य पूर्ण-समय सेवकहरूलाई बोलाउनुहोस्‌। साना केटाकेटीका लागि उनीहरूसित समय छैन भन्‍ने नसोच्नुहोस्‌। यी पूर्ण-समय सेवकहरू येशूको अनुकरण गर्ने प्रयास गर्दैछन्‌, जसले सधैं केटाकेटीलाई स्वागत गर्नुका साथै तिनीहरूसित कुराकानी गर्नुहुन्थ्यो। (मर्कू. १०:१३-१६) यहोवाका यी सेवकहरूको अनुभव सुन्दा अनि पवित्र सेवामा उनीहरूले पाएको आनन्द देख्दा तपाईंका छोराछोरीले पनि पूर्ण-समय सेवालाई आफ्नो लक्ष्य बनाउन सक्छन्‌।

आफ्ना छोराछोरीलाई यहोवाको सङ्‌गठनसित अझ परिचित गराउन तपाईं सपरिवार मिलेर अरू के-के गर्न सक्नुहुन्छ? केही सुझाव यस्ता छन्‌: जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङ्‌गडम पुस्तकलाई परिवार मिलेर छलफल गर्ने प्रोजेक्ट बनाउनुहोस्‌। यहोवाका सेवकहरूले देखाएको भक्‍ति, नम्रता र वफादारीलाई जोड दिनुहोस्‌। पृथ्वीभरि सुसमाचार फैलाउन यहोवाले उनीहरूलाई कसरी चलाउनुभयो, सो बताउनुहोस्‌। यहोवाको सङ्‌गठनले तयार पारेका भिडिओहरू चलाएर विगत र वर्तमानबाट सिक्न सक्ने महत्त्वपूर्ण पाठहरू सिकाउनुहोस्‌। सकिन्छ भने, आफ्नै देशको वा अरू कुनै देशमा भएको शाखा कार्यालय र बेथेल गृह घुम्न जानुहोस्‌। यस्ता ठाउँहरू घुम्न जाँदा तपाईंका छोराछोरीको मनमा ठूलो छाप पर्नेछ किनभने विश्‍वासी र बुद्धिमान्‌ दासको नेतृत्व पछ्याउँदै यहोवाको सङ्‌गठनको पार्थिव भागले इस्वी संवत्‌ प्रथम शताब्दीमा जस्तै संसारभरका भाइहरूलाई आध्यात्मिक भोजन र निर्देशन प्रदान गरिरहेको छ भनेर तपाईंका छोराछोरीले देख्नेछन्‌।—मत्ती २४:४५-४७; प्रेरि. १५:२२-३१.

बच्चाको आवश्‍यकताअनुसार छाँटकाँट गर्नुहोस्‌

छोराछोरीलाई सिकाउँदा येशूले आफ्ना प्रेरितहरूलाई कसरी सिकाउनुभयो, त्यो सधैं सम्झनुहोस्‌। उहाँले एकचोटि तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई भन्‍ने मसँग अझ धेरै कुरा छन्‌, तर अहिले तिमीहरू सहनसक्‍तैनौ।” (यूह. १६:१२) येशूले चेलाहरूलाई तीन थुप्रो जानकारी दिएर अलमल्ल पार्नुभएन। बरु उनीहरूले राम्ररी बुझ्न सकून्‌ भनेर महत्त्वपूर्ण जानकारी क्रमशः दिनुभयो। त्यसैले तपाईंका छोराछोरीलाई पनि अलमल्लमा नपार्नुहोस्‌। तिनीहरूलाई अलि-अलि गरेर तर नियमित रूपमा सङ्‌गठनसम्बन्धी जानकारी दिंदा तिनीहरूको चासो सेलाउनेछैन अनि ख्रीष्टियान मण्डलीबारे जानकारी हासिल गर्न तिनीहरूलाई रमाइलो लाग्नेछ। तपाईंका छोराछोरीको आवश्‍यकता परिवर्तन हुँदै जाँदा आफूले पहिल्यै सिकाइसकेका कुरा फेरि बताउन अनि त्यसलाई अझ विस्तृत तवरमा व्याख्या गर्न सक्नुहुन्छ।

ख्रीष्टियान मण्डली भनेको परमेश्‍वरसित हाम्रो सम्बन्धलाई बलियो बनाउने महत्त्वपूर्ण गढ हो। अनि मण्डलीका गतिविधिमा जोसिलो भई भाग लिने केटाकेटीहरू शैतानको संसारबाट आउने दबाबको प्रतिरोध गर्न अझ सक्षम हुन्छन्‌। (रोमी १२:२) तपाईंका छोराछोरीलाई यहोवाको सङ्‌गठनसित राम्ररी परिचित हुन मदत गर्दा तपाईंले निकै आनन्द महसुस गर्नुहुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं। उहाँको आशिष्‌ पाएर तिनीहरू पनि हाम्रो मायालु परमेश्‍वर र उहाँको सङ्‌गठनप्रति वफादार भइरहन सकून्‌। ( w10 -E 10/15)

[पृष्ठ २७-मा भएको पेटी/चित्र]

पारिवारिक उपासनामा छलफल गर्ने विषयहरू

पारिवारिक उपासना गर्ने साँझ यहोवाको सङ्‌गठनबारे छलफल गर्न सकिने केही विषय यसप्रकार छन्‌:

▪ स्थानीय मण्डलीको इतिहास पुनरावलोकन गर्नुहोस्‌। यो कहिले र कसरी स्थापना भयो? यसअघि मण्डलीले कुन-कुन राज्यभवन प्रयोग गऱ्‍यो? यसबारे छलफल गर्न मण्डलीको पुरानो सदस्यलाई आफ्नो घरमा बोलाएर तपाईंका छोराछोरीको प्रश्‍नको जवाफ दिन लगाउनुभए कसो होला?

▪ मण्डलीका विभिन्‍न सभा र ठूलठूला जमघटको उद्देश्‍य बताउनुहोस्‌ अनि त्यसबाट केटाकेटीले कसरी लाभ उठाउन सक्छन्‌, त्यो पनि भन्‍नुहोस्‌।

▪ यहोवाको सङ्‌गठनद्वारा सञ्चालित विभिन्‍न स्कूलको उद्देश्‍यबारे छलफल गर्नुहोस्‌। यी स्कूलबाट स्नातक भएकाहरूले कस्तो राम्रो फल फलाइरहेका छन्‌, अनुभवहरू सुनाउनुहोस्‌।

▪ सुसमाचार सुनाउने सिलसिलामा नियमित प्रकाशक बन्‍नुपर्ने महत्त्व बुझ्न छोराछोरीलाई मदत गर्नुहोस्‌। यहोवाका साक्षीहरूको वार्षिक पुस्तक-मा प्रकाशित विश्‍वव्यापी रिपोर्टमा तिनीहरूले पनि कसरी योगदान पुऱ्‍याउन सक्छन्‌, बताउनुहोस्‌।

▪ यहोवाको सङ्‌गठनमा जवानहरूले गर्न सक्ने विभिन्‍न किसिमका पूर्ण-समय सेवाबारे छलफल गर्नुहोस्‌। यससम्बन्धी राम्रो जानकारी यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित पुस्तकको अध्याय १० मा ( हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ३-६) पाइन्छ।

▪ मण्डलीमा कुनै कामकुरा गर्ने खास तरिका हुनुको कारण बुझ्न केटाकेटीलाई मदत गर्नुहोस्‌। स-साना कुरामा पनि तिनीहरू किन यहोवाको सङ्‌गठनबाट अलग्गिएर आफूखुसी चल्नु हुँदैन भनेर बुझाउनुहोस्‌। प्राचीनहरूको निर्देशनबमोजिम चलेर तिनीहरूले कसरी मण्डलीको सुव्यवस्था कायम गर्न योगदान पुऱ्‍याउन सक्छन्‌, बताउनुहोस्‌।

[चित्र]

यहोवाको सेवामा लामो समय बिताइसकेका व्यक्‍तिहरूलाई साथी बनाउँदा तपाईंका छोराछोरीले लाभ उठाउनेछन्‌

[पृष्ठ २५-मा भएका चित्रहरू]

पुरातन इस्राएलमा जस्तै, केटाकेटीले यहोवाको सङ्‌गठनबारे प्रश्‍न सोध्दा आमाबाबुले अहिले पनि चित्तबुझ्दो जवाफ दिने प्रयास गर्छन्‌