सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा हाम्रा सार्वभौम प्रभु हुनुहुन्छ!

यहोवा हाम्रा सार्वभौम प्रभु हुनुहुन्छ!

यहोवा हाम्रा सार्वभौम प्रभु हुनुहुन्छ!

“मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्थान बनाएको छु।”—भज. ७३:२८.

१. पहिलो कोरिन्थी ७:३१ मा लिपिबद्ध पावलका शब्दहरूले सम्भवतः कुन कुरालाई सङ्‌केत गरिरहेका थिए?

 प्रेरित पावलले “यस संसारको रूप बितेर जाँदैछ” अर्थात्‌ यस संसारको दृश्‍य परिवर्तन हुँदैछ भनी बताए। (१ कोरि. ७:३१) सम्भवतः तिनले यो संसारलाई रङ्‌गमञ्चसित तुलना गरिरहेका थिए जसका पात्रहरूले राम्रो अथवा नराम्रो भूमिका खेल्छन्‌ अनि नाटकको दृश्‍य पनि क्रमशः परिवर्तन हुँदै जान्छ।

२, ३. (क) यहोवाको सार्वभौमिकतालाई चुनौती दिएको कुरालाई केसित तुलना गर्न सकिन्छ? (ख) हामी कुन-कुन प्रश्‍नमाथि विचार गर्नेछौं?

अहिले हाम्रो समयमा एकदमै महत्त्वपूर्ण नाटक मञ्चन भइरहेको छ अनि यसमा तपाईं पनि समावेश हुनुहुन्छ। यो नाटक खास गरी यहोवा परमेश्‍वरको सार्वभौमिकता उच्च पार्ने कुरासित सम्बन्धित छ। यो नाटकलाई कुनै एउटा देशको अवस्थासित तुलना गर्न सकिन्छ। त्यहाँ वैधानिक सरकार छ जसले सम्पूर्ण सुव्यवस्था मिलाउँछ। तर अर्कोतर्फ जालसाजी, हिंसा अनि हत्याले अड्डा जमाएको एउटा आपराधिक गिरोह छ। यस्तो गैरकानुनी सङ्‌गठनले सार्वभौम शासनलाई चुनौती दिन्छ अनि त्यस देशका प्रत्येक नागरिकको वफादारीको परीक्षा गर्छ।

यस्तै परिस्थिति विश्‍वव्यापी रूपमा देखिएको छ। सार्वभौम “परमप्रभु” यहोवाको कानुनी रूपमा स्थापित सरकार छ। (भज. ७१:५) तर अहिले “दुष्ट”-को अधीनमा रहेको आपराधिक सङ्‌गठनले गर्दा मानिसजातिमाथि खतरा आइपरेको छ। (१ यूह. ५:१९) यसले परमेश्‍वरको वैधानिक सरकारलाई चुनौती दिएको छ अनि उहाँको सार्वभौम शासनको अधीनमा बस्ने प्रत्येक नागरिकको वफादारीको परीक्षा गरेको छ। यस्तो परिस्थिति कसरी सृजना भयो? परमेश्‍वरले किन यस्तो परिस्थिति रहिरहने अनुमति दिनुहुन्छ? यस्तो अवस्थामा हामी प्रत्येकले के गर्न सक्छौं?

नाटकको विशेषता

४. अहिले मञ्चन भइरहेको विश्‍वव्यापी नाटकको दुइटा सम्बन्धित पक्ष के-के हुन्‌?

यो मञ्चन भइरहेको विश्‍वव्यापी नाटकका दुइटा पक्ष एकअर्कासित सम्बन्धित छन्‌। ती हुन्‌: यहोवाको सार्वभौमिकता र मानिसको सत्यनिष्ठा। धर्मशास्त्रमा यहोवालाई प्रायजसो “परमप्रभु” भनेर सम्बोधन गरिएको छ जसको अर्थ हो, सार्वभौम प्रभु। उदाहरणको लागि, सार्वभौम प्रभुमा पूर्ण भरोसा राखेर भजनहारले यस्तो गाए: “मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्थान बनाएको छु।” (भज. ७३:२८) “सार्वभौमिकता” भनेको सर्वोच्च शक्‍ति अथवा सर्वोच्च शासन हो। सार्वभौम शासकसित सर्वोच्च अधिकार हुन्छ। त्यसैले यहोवा परमेश्‍वरलाई सर्वोच्च परमेश्‍वर भन्‍नुका ठोस कारणहरू छन्‌।—दानि. ७:२२.

५. यहोवाको सार्वभौमिकताको समर्थन गर्न हामी किन उत्प्रेरित हुनुपर्छ?

सृष्टिकर्ता हुनुभएकोले यहोवा परमेश्‍वर पृथ्वी अनि सम्पूर्ण ब्रह्‍माण्डका सार्वभौम प्रभु हुनुहुन्छ। ( प्रकाश ४:११ पढ्‌नुहोस्‌) साथै उहाँ हाम्रो न्यायकर्ता, शासक अनि राजा हुनुहुन्छ किनभने विश्‍वव्यापी सरकारको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका उहाँमै निहित छ। (यशै. ३३:२२) परमेश्‍वरले गर्दा नै हामी अस्तित्वमा आएका हौं अनि हामी उहाँमै निर्भर छौं। त्यसैले हामीले उहाँलाई आफ्नो सार्वभौम प्रभु मान्‍नुपर्छ। “परमप्रभुले ता आफ्नो सिंहासन स्वर्गमा स्थापित गराउनुभएको छ। र उहाँको राज्य सबैमाथि छ।” यस कुरालाई सधैं मनमा राख्यौं भने उहाँको उच्च ओहदाको समर्थन गर्न उत्प्रेरित हुनेछौं।—भज. १०३:१९; प्रेरि. ४:२४.

६. सत्यनिष्ठा के हो?

यहोवाको सार्वभौमिकताको समर्थन गर्न हामीले उहाँप्रतिको सत्यनिष्ठा कायम राख्नै पर्छ। “सत्यनिष्ठा” भनेको नैतिक स्वच्छता वा पूर्णता हो। सत्यनिष्ठ व्यक्‍ति निर्दोष अनि सोझो हुन्छ। कुलपिता अय्यूब यस्तै मानिस थिए।—अय्यू. १:१.

नाटक कसरी सुरु भयो

७, ८. शैतानले यहोवाको शासनको औचित्यमाथि कसरी चुनौती खडा गऱ्‍यो?

करिब ६,००० वर्षअघि एक स्वर्गदूतले यहोवाको सार्वभौमिकताको औचित्यमाथि प्रश्‍न खडा गऱ्‍यो। त्यस विद्रोहीको बोली र व्यवहारको मूल कारण आफूलाई उपासना गरोस्‌ भन्‍ने स्वार्थी चाहना थियो। त्यसले प्रथम मानव जोडी आदम र हव्वालाई परमेश्‍वरको सार्वभौमिकताप्रति अवफादार बन्‍न उक्सायो अनि यहोवाले झूट बोल्नुभयो भन्‍ने दाबी गरेर उहाँको नाममा धब्बा लगाउन खोज्यो। ( उत्पत्ति ३:१-५ पढ्‌नुहोस्‌) त्यो विद्रोही नै महाशत्रु, शैतान (विरोधी), दियाबल (निन्दक), साँप (ठगाहा) अनि अजिङ्‌गर (घिच्चू) बन्‍न पुग्यो।—प्रका. १२:९.

शैतानले आफूलाई प्रतिद्वन्द्वी शासकको रूपमा खडा गऱ्‍यो। सार्वभौम प्रभु यहोवाले यो अवस्थाको सामना कसरी गर्नुहुनेथियो? के उहाँले यी तीन विद्रोही—शैतान, आदम र हव्वालाई तुरुन्तै नाश गर्नुहुनेथियो? यसो गर्ने शक्‍ति उहाँसित पक्कै थियो अनि यस्तो कदम चालेको खण्डमा सर्वोच्च शक्‍ति कोसित छ भन्‍ने प्रश्‍नको जवाफ मिल्नेथियो। साथै यहोवाको नियम उल्लङ्‌घन गर्दा सजाय भोग्नुपर्नेछ भनेर उहाँले सत्य बोल्नुभएको थियो भन्‍ने कुरा पनि प्रमाणित हुनेथियो। तर परमेश्‍वरले किन यस्तो कदम चाल्नुभएन?

९. शैतानले कुन कुरामाथि प्रश्‍न खडा गऱ्‍यो?

झूटो बोलेर अनि आदम र हव्वालाई परमेश्‍वरबाट बहकाएर शैतानले के गऱ्‍यो भने, मानिसजातिबाट आज्ञाकारिता माग गर्ने यहोवाको अधिकारमाथि प्रश्‍न खडा गऱ्‍यो। साथै प्रथम मानव जोडीलाई परमेश्‍वरप्रति अनाज्ञाकारी हुन लगाएर शैतानले प्रत्येक बौद्धिक सृष्टिको वफादारीमाथि पनि प्रश्‍न खडा गऱ्‍यो। यहोवाको सार्वभौमिकताप्रति वफादार अय्यूबको घटनालाई विचार गर्ने हो भने शैतानले सबै मानिसलाई परमेश्‍वरबाट तर्काउन सक्छु भन्‍ने दाबी गरेको थियो।—अय्यू. २:१-५.

१०. आफ्नो सार्वभौमिकताको औचित्यलाई तत्कालै पुष्टि नगरेर परमेश्‍वरले कुन कुरा प्रमाणित गर्ने समय दिनुभएको छ?

१० आफ्नो सार्वभौमिकताको औचित्यलाई तत्कालै पुष्टि नगरेर यहोवाले शैतानलाई त्यसको दाबी प्रमाणित गर्ने समय दिनुभएको छ। साथै परमेश्‍वरले मानिसजातिलाई उहाँको सार्वभौमिकताप्रति वफादारी देखाउने मौका पनि दिनुभएको छ। शताब्दीऔंको दौडान के भएको छ? शैतानले एउटा शक्‍तिशाली आपराधिक सङ्‌गठन खडा गरेको छ। आफ्नो सार्वभौमिकताको औचित्यलाई पूर्णतया प्रमाणित गर्दै यहोवाले अन्तमा शैतानलगायत त्यसको सङ्‌गठनलाई नाश गर्नुहुनेछ। आफू सही साबित हुनेछु भन्‍ने कुरामा यहोवा परमेश्‍वर यत्ति पक्का हुनुहुन्थ्यो कि उहाँले अदनको बगैंचामा विद्रोह हुँदा नै त्यसको परिणामबारे भविष्यवाणी गर्नुभयो।—उत्प. ३:१५.

११. यहोवाको सार्वभौमिकताको सन्दर्भमा थुप्रै मानिसले कुन कुरा देखाएका छन्‌?

११ थुप्रै मानिसले यहोवाको सार्वभौमिकताको समर्थन गर्ने अनि उहाँको नाम पवित्र पार्ने सन्दर्भमा विश्‍वास देखाउनुका साथै आफ्नो सत्यनिष्ठा कायम राखेका छन्‌। हाबिल, हनोक, नूह, अब्राहाम, सारा, मोशा, रूथ, दाऊद, येशू र उहाँका प्रारम्भिक चेलाहरू अनि वर्तमान समयका लाखौं व्यक्‍तिले यहोवाप्रति सत्यनिष्ठा कायम राखेका छन्‌। परमेश्‍वरको सार्वभौमिकताको समर्थन गर्ने यी व्यक्‍तिहरूले शैतान झूटा हो भनेर प्रमाणित गरेका छन्‌। साथै सारा मानवजातिलाई परमेश्‍वरबाट तर्काउन सक्छु भन्‍ने धाक लगाएर दियाबलले यहोवाको नाममा जुन दाग लगाएको छ, त्यो मेटाउन पनि मदत पुऱ्‍याएका छन्‌।—हितो. २७:११.

नाटकको अन्तिम नतिजा निश्‍चित छ

१२. परमेश्‍वरले दुष्टतालाई अनन्तसम्म रहन दिनुहुनेछैन भनी हामी किन पक्का हुन सक्छौं?

१२ यहोवाले आफ्नो सार्वभौमिकताको औचित्यलाई चाँडै पुष्टि गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। उहाँले दुष्टतालाई अनन्तसम्म रहिरहन दिनुहुनेछैन। अनि हामीलाई यो पनि थाह छ, हामी अन्तको समयमा बाँचिरहेका छौं। यहोवाले जलप्रलय ल्याउँदा दुष्टहरूको विनाश गर्नुभयो। उहाँले सदोम र गमोरा अनि फिरऊन र तिनका सेनाको विनाश गर्नुभयो। सर्वोच्च परमेश्‍वरको सामु सीसरा र तिनको सेना अनि सनहेरीब र तिनको अश्‍शूरी सेना टिक्न सकेन। (उत्प. ७:१, २३; १९:२४, २५; प्रस्थ. १४:३०, ३१; न्याय. ४:१५, १६; २ राजा १९:३५, ३६) त्यसैले यहोवाले आफ्नो नाम बदनाम भएको अनि आफ्ना साक्षीहरूलाई दुर्व्यवहार गरिएको अनन्तसम्म सहनुहुनेछैन भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं। साथै येशूको उपस्थिति र यस युगको आखिरी समयको अन्तको चिन्ह अहिले हाम्रो सामु प्रत्यक्ष छ।—मत्ती २४:३.

१३. यहोवाका शत्रुहरूसँगसँगै नाश नहुन हामीले के गर्नुपर्छ?

१३ परमेश्‍वरका शत्रुहरूसँगसँगै नाश नहुन हामी यहोवाको सार्वभौमिकताप्रति वफादार हुनै पर्छ। त्यसोभए हामी कसरी वफादार हुन सक्छौं? शैतानको आपराधिक सङ्‌गठनबाट अलग्गै रहेर अनि त्यसका कार्यकर्ताहरूको डर-धम्कीबाट नतर्सिएर। (यशै. ५२:११; यूह. १७:१६; प्रेरि. ५:२९) शैतानको आपराधिक सङ्‌गठनबाट आफूलाई अलग्गै राख्यौं भने मात्र स्वर्गमा बस्नुहुने पिताको सार्वभौमिकताको पक्षमा खडा हुन सक्छौं। साथै यहोवाले आफ्नो नाउँमा लागेको कलङ्‌क मेटाउँदा अनि आफूलाई ब्रह्‍माण्डको सार्वभौमको रूपमा प्रकट गर्दा हामी बच्ने आशा राख्न सक्छौं।

१४. बाइबलको विभिन्‍न अंशमा कस्ता कुराहरू प्रकट गरिएका छन्‌?

१४ मानिसजाति अनि यहोवाको सार्वभौमिकताको विवरण हामी बाइबलभरि नै पाउन सक्छौं। बाइबलको सुरुका तीन अध्यायमा सृष्टिको विवरण र मानिस पापमा फसेको विषयमा बताइएको छ भने बाइबलको अन्तिम तीन अध्यायमा चाहिं मानिसजातिको उत्थानबारे। त्यस बीचका अंशहरूमा चाहिं सार्वभौम प्रभु यहोवाले मानिसजाति, पृथ्वी अनि ब्रह्‍माण्डको लागि राखेको उद्देश्‍य पूरा गर्न के-कस्तो कदम चाल्नुभयो भनी बताइएको छ। उत्पत्तिको पुस्तकले शैतान अनि दुष्टताको सुरुवात कसरी भयो भनेर देखाउँछ अनि प्रकाशको पुस्तकको अन्तिम भागले भने दुष्टता कसरी नामेट पारिनेछ, दियाबललाई कसरी नाश गरिनेछ अनि परमेश्‍वरको इच्छा स्वर्गमा जस्तै पृथ्वीमा कसरी पूरा हुनेछ भनी प्रकट गर्छ। पाप र मृत्युको कारण के हो, पृथ्वीबाट कसरी पाप र मृत्यु हटाइनेछ अनि त्यसपछि सत्यनिष्ठ व्यक्‍तिहरूले असीम आनन्द र अनन्त जीवन पाउनेछन्‌ भनेर पनि बाइबल बताउँछ।

१५. सार्वभौमिकताको विषयमा चलेको नाटक अन्त हुँदा व्यक्‍तिगत तवरमा लाभ उठाउन हामीले के गर्नुपर्छ?

१५ चाँडै, यस संसारको दृश्‍य बिल्कुलै नयाँ हुनेछ। सार्वभौमिकताको विषयमा शताब्दीऔंदेखि नाटक मञ्चन भइरहेको छ तर अब चाँडै त्यस नाटकको पर्दा झारिनेछ। शैतानको नामोनिसान नहुने गरी त्यसलाई मञ्चबाट हटाइनेछ अनि परमेश्‍वरको इच्छा अवश्‍य पूरा हुनेछ। तर यस्तो अवस्थाबाट लाभ उठाउन अनि परमेश्‍वरको वचनमा भविष्यवाणी गरिएका थुप्रै आशिष्‌ पाउन हामीले यहोवाको सार्वभौमिकताको समर्थन गर्नुपर्ने समय अहिल्यै हो। दुइटा डुङ्‌गामा खुट्टा हालेर हामी पार तर्न सक्दैनौं। “परमप्रभु मतर्फ हुनुहुन्छ” भन्‍न सक्नको लागि हामी यहोवाको पक्षमा खडा हुनै पर्छ।—भज. ११८:६, ७.

हामी सत्यनिष्ठा कायम राख्न सक्छौं!

१६. मानिसहरूले परमेश्‍वरप्रति सत्यनिष्ठा कायम राख्न सक्छन्‌ भनेर हामी किन पक्का हुन सक्छौं?

१६ हामी यहोवाको सार्वभौमिकताको समर्थन गर्न र आफ्नो सत्यनिष्ठा कायम राख्न सक्छौं किनभने प्रेरित पावलले यस्तो लेखे: “मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सक भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” (१ कोरि. १०:१३) पावलले कस्तो किसिमको परीक्षाबारे बताउँदै थिए अनि परमेश्‍वरले हाम्रो लागि कसरी उम्कने बाटो दिनुहुन्छ?

१७-१९. (क) उजाडस्थानमा इस्राएलीहरू कस्तो परीक्षामा परे? (ख) हामीले यहोवाप्रतिको सत्यनिष्ठा किन कायम राख्न सक्छौं?

१७ उजाडस्थानमा इस्राएलीहरूको अनुभवले देखाएझैं परमेश्‍वरको नियम उल्लङ्‌घन गर्न लगाउने परिस्थितिद्वारा “परीक्षा” आउँछ। ( १ कोरिन्थी १०:६-१० पढ्‌नुहोस्‌) इस्राएलीहरूले परीक्षाको प्रतिरोध गर्न सक्थे तर तिनीहरूले “खराब कुराको” लालसा गरे। यहोवाले महिनाभरि पुग्ने गरी चमत्कारपूर्ण तरिकामा तिनीहरूलाई बट्टै चरा दिनुभए तापनि तिनीहरूले लोभ गरे। हुनत तिनीहरूले केही समयसम्म मासु खान पाएका थिएनन्‌ तर परमेश्‍वरले तिनीहरूलाई प्रशस्त मन्‍न दिनुभएको थियो। तर चाहिनेभन्दा धेरै बट्टै बटुल्ने लोभ गरेर तिनीहरू परीक्षामा फसे।—गन्ती ११:१९, २०, ३१-३५.

१८ यो घटना हुनुभन्दा अघि जब मोशा सीनै पर्वतमा व्यवस्था लिन गएका थिए तब इस्राएलीहरू बाछो उपासना गर्न अनि शारीरिक सुखविलास गर्नतिर लागेर मूर्तिपूजामा फसे। मोशा आफ्नो अगाडि नभएको हुँदा तिनीहरूले प्रलोभनमा फस्न सक्ने अवस्थालाई आफ्नो काबूमा राखेनन्‌। (प्रस्थ. ३२:१, ६) प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा थुप्रै इस्राएलीहरू मोआबी स्त्रीहरूको मोहजालमा परे र तिनीहरूसित अनैतिक सम्बन्ध राखे। यस्तो पाप गरेको कारण त्यतिबेला हजारौं इस्राएली मारिए। (गन्ती २५:१, ९) कहिलेकाहीं, इस्राएलीहरू विद्रोहको रूप लिने हदसम्म गनगन गर्ने पासोमा परे अनि एक पटक त तिनीहरूले मोशा र परमेश्‍वरको समेत विद्रोह गरे! (गन्ती २१:५) दुष्ट व्यक्‍तिहरू कोरह, दातान, अबीराम अनि तिनीहरूका समर्थकहरूको विनाश गरिंदा पनि इस्राएलीहरूले गनगन गरे। तिनीहरूको विनाश अन्यायपूर्ण थियो भनेर इस्राएलीहरूले गलत तर्क गरे। परिणामस्वरूप यहोवाले पठाउनुभएको विपत्तिले गर्दा १४,७०० इस्राएली मारिए।—गन्ती १६:४१, ४९.

१९ माथि उल्लेख गरिएका कुनै पनि परीक्षा इस्राएलीहरूले प्रतिरोध गर्नै नसक्ने खालका थिएनन्‌। तिनीहरू परीक्षामा परे किनभने तिनीहरूले आफ्नो विश्‍वास गुमाए अनि तिनीहरूले यहोवा, उहाँको मायालु हेरचाह र उहाँको मार्गको औचित्यलाई चटक्कै बिर्से। इस्राएलीहरूको उदाहरणले देखाएझैं हामीले सामना गर्ने परीक्षाहरू मानिसले प्रायजसो भोग्नुपर्ने कुराहरू नै हुन्‌। तर हामीले त्यसको प्रतिरोध गर्न सक्दो प्रयास गऱ्‍यौं अनि आफूलाई सँभाल्न परमेश्‍वरमा भर पऱ्‍यौं भने आफ्नो सत्यनिष्ठा कायम राख्न सक्छौं। सत्यनिष्ठा कायम राख्ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं किनभने “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ” अनि उहाँले हामीलाई ‘आफ्नो शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन।’ मानिसले यहोवाको इच्छा पूरा गर्नै नसक्ने परिस्थितिमा उहाँले हामीलाई कहिल्यै पर्न दिनुहुनेछैन।—भज. ९४:१४.

२०, २१. परीक्षामा पर्दा परमेश्‍वरले कसरी “उम्कने बाटो” दिनुहुन्छ?

२० परीक्षाको प्रतिरोध गर्ने शक्‍ति दिएर यहोवा हामीलाई “उम्कने बाटो” दिनुहुन्छ। उदाहरणको लागि, हामीले आफ्नो विश्‍वास त्यागोस्‌ भनेर सतावट दिनेहरूले हामीलाई शारीरिक दुर्व्यवहार गर्न सक्छन्‌। यस्तो अवस्थामा अब उप्रान्त पिटाइ खान, सास्ती भोग्न वा मर्न पनि नपरोस्‌ भनेर सम्झौता गरूँ-गरूँ जस्तो लाग्न सक्छ। तर १ कोरिन्थी १०:१३ मा पावलले परमेश्‍वरको प्रेरणाद्वारा लेखेका आश्‍वासनबाट हामी के बुझ्न सक्छौं भने, परीक्षामा पर्ने अवस्था सधैंभरि रहँदैन। हामी उहाँप्रति वफादार रहनै नसक्ने हदसम्म उहाँले परीक्षा रहिरहन दिनुहुनेछैन। परमेश्‍वरले हाम्रो विश्‍वास बलियो बनाउन अनि आफ्नो सत्यनिष्ठा कायम राख्न आवश्‍यक आध्यात्मिक बल दिन सक्नुहुन्छ।

२१ यहोवाले हामीलाई आफ्नो पवित्र आत्माद्वारा सँभाल्नुहुन्छ। परीक्षाको प्रतिरोध गर्न सकोस्‌ भनेर पवित्र आत्माले आवश्‍यक धर्मशास्त्रीय कुराहरू सम्झन मदत गर्छ। (यूह. १४:२६) फलस्वरूप हामी गलत बाटोमा हिंड्‌नदेखि जोगिनेछौं। उदाहरणको लागि, हामीले यहोवाको सार्वभौमिकता अनि मानिसको सत्यनिष्ठासित मुछिएको विवाद बुझेका छौं। यो कुरा बुझेको हुँदा थुप्रैले मृत्युसम्मै वफादार रहन परमेश्‍वरबाट बल पाएका छन्‌। तिनीहरूको लागि उम्कने बाटो भनेको मृत्युचाहिं थिएन, बरु यहोवाको मदत पाएकोले तिनीहरूले हार नमानी अन्तसम्मै परीक्षा सहन सकेका हुन्‌। उहाँले हामीलाई पनि मदत गर्नुहुन्छ। वास्तवमा हामी “मुक्‍तिका हकदार हुनेहरूका खातिर” जनसेवा गर्नलाई उहाँले आफ्ना वफादार स्वर्गदूतहरू पनि चलाउनुहुन्छ। (हिब्रू १:१४) सत्यनिष्ठ व्यक्‍तिले मात्र परमेश्‍वरको सार्वभौमिकताको सधैं समर्थन गर्ने आनन्ददायी सुअवसर पाउन सक्छ भनेर यसपछिको लेखमा बताइएको छ। यहोवालाई आफ्नो सार्वभौम प्रभु मानेर उहाँमै लीन भयौं भने हामी पनि ती सत्यनिष्ठ व्यक्‍तिहरूमाझ हुन सक्छौं। (w10 -E 11/15)

[प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको चित्र]

शैतानले आदम र हव्वालाई यहोवाप्रति अवफादार हुन उक्सायो

[पृष्ठ २६-मा भएको चित्र]

यहोवाको सार्वभौमिकताको समर्थन गर्न कटिबद्ध हुनुहोस्‌

[पृष्ठ २७-मा भएको चित्र]

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हामीले यहोवालाई किन आफ्नो सार्वभौम प्रभुको रूपमा मानिलिनुपर्छ?

• हामीले परमेश्‍वरप्रति सत्यनिष्ठा कायम राख्नुको मतलब के हो?

• यहोवाले चाँडै नै आफ्नो सार्वभौमिकताको औचित्यलाई पुष्टि गर्नुहुनेछ भनी हामी किन भन्‍न सक्छौं?

• हामीले आफ्नो सत्यनिष्ठा कायम राख्न सक्छौं भनेर १ कोरिन्थी १०:१३ बाट कसरी प्रस्ट हुन्छ?