सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युवाहरू हो—परमेश्‍वरको वचनको डोऱ्‍याइअनुसार हिंड्‌नुहोस्‌

युवाहरू हो—परमेश्‍वरको वचनको डोऱ्‍याइअनुसार हिंड्‌नुहोस्‌

युवाहरू हो—परमेश्‍वरको वचनको डोऱ्‍याइअनुसार हिंड्‌नुहोस्‌

“बुद्धि प्राप्त गर्‌, समझशक्‍ति प्राप्त गर्‌।”—हितो. ४:५, NRV.

१, २. (क) आफूले महसुस गरेको अन्तर्द्वन्द्वको सामना गर्न प्रेरित पावललाई केले मदत गऱ्‍यो? (ख) तपाईं बुद्धि र समझशक्‍ति कसरी प्राप्त गर्न सक्नुहुन्छ?

 “असल गर्न इच्छा मलाई हुँदाहुँदै पनि खराबी मसित हाजिरै हुँदोरहेछ।” यी शब्दहरू कसले भनेका हुन्‌, के तपाईंलाई थाह छ? हो, प्रेरित पावलले। तिनी यहोवालाई प्रेम गर्थे। तैपनि असल काम गर्न तिनले कहिलेकाहीं असाध्यै सङ्‌घर्ष गर्नुपऱ्‍यो। यस्तो अन्तर्द्वन्द्व हुँदा तिनले कस्तो महसुस गरे? तिनले लेखे: “हाय, म कस्तो दु:खी मानिस!” (रोमी ७:२१-२४) पावलको यो भावना के तपाईंलाई आफ्नै भावनाजस्तो लाग्छ? के तपाईंलाई पनि कहिलेकाहीं असल काम गर्न गाह्रो लाग्छ? यसो हुँदा के तपाईं पनि पावलजस्तै खिन्‍न महसुस गर्नुहुन्छ? त्यसो हो भने हार नमान्‍नुहोस्‌। पावलले यस्ता चुनौतीहरू सफलतापूर्वक सामना गरे। त्यसैले तपाईं पनि सफल हुन सक्नुहुन्छ।

पावल सफल भए किनभने तिनी “पक्का कुराहरूको” डोऱ्‍याइअनुसार हिंडे। (२ तिमो. १:१३, १४) त्यसैले तिनले चुनौतीहरूको सामना गर्न अनि सही निर्णयहरू गर्न चाहिने बुद्धि र समझशक्‍ति प्राप्त गरे। बुद्धि र समझशक्‍ति प्राप्त गर्न यहोवा परमेश्‍वरले तपाईंलाई पनि मदत गर्न सक्नुहुन्छ। (हितो. ४:५, NRV) उहाँले आफ्नो वचन बाइबलमा सर्वोत्तम सल्लाह दिनुभएको छ। ( २ तिमोथी ३:१६, १७ पढ्‌नुहोस्‌) आमाबाबुसित व्यवहार गर्दा, पैसाको प्रयोग गर्दा अनि एक्लै हुँदा तपाईंले बाइबलमा पाइने सिद्धान्तहरूबाट कसरी लाभ उठाउन सक्नुहुन्छ, सो विचार गर्नुहोस्‌।

आमाबाबुसित व्यवहार गर्दा

३, ४. आमाबाबुको नियमअनुसार चल्न तपाईंलाई किन गाह्रो लाग्न सक्छ तर आमाबाबुले नियम बनाउनुको कारण के हो?

के तपाईंलाई आमाबाबुको नियमअनुसार जीवन बिताउन गाह्रो लाग्छ? यसको कारण के होला? एउटा कारण हुन सक्छ—अझ बढी स्वतन्त्रताको चाहना। यस्तो चाहना स्वाभाविक हो। यो त हुर्कंदै जाँदा स्वतः आउने इच्छा हो। तर आमाबाबुसँग एउटै घरमा बस्दा भने तिनीहरूको आज्ञा मान्‍नु तपाईंको कर्तव्य हो।—एफि. ६:१-३.

आमाबाबुको नियम अनि तिनीहरूले तपाईंबाट चाहने कुराप्रति सही दृष्टिकोण राख्न सक्नुभयो भने ती नियमअनुसार चल्न तपाईंलाई सजिलो हुन सक्छ। हुनत कहिलेकाहीं तपाईं पनि यस १८ वर्षीया ब्रीइलजस्तै a महसुस गर्नुहुन्छ होला जसले आफ्ना आमाबाबुबारे यसो भनिन्‌: “यो उमेरै यस्तो हो भनेर उहाँहरूले चटक्कै बिर्सिसक्नुभयो। मेरो कुरै सुन्‍न चाहनु हुन्‍न। मलाई निर्णय गर्न वा वयस्कले जस्तो व्यवहार गर्नै दिनु हुन्‍न।” ब्रीइललाई जस्तै तपाईंलाई पनि आफ्ना आमाबाबुले जति स्वतन्त्रता दिनुपर्ने हो, त्यति पनि नदिएको जस्तो लाग्न सक्छ। तथापि आमाबाबुले नियम बनाउनुको मुख्य कारण हो, तिनीहरू तपाईंको चिन्ता गर्छन्‌। साथै छोराछोरीको हेरचाह गर्ने सन्दर्भमा आमाबाबु यहोवाप्रति जबाफदेही छन्‌ भनेर ख्रीष्टियान आमाबाबुलाई थाह छ।—१ तिमो. ५:८.

५. आमाबाबुप्रति आज्ञाकारी हुँदा तपाईंलाई कस्तो फाइदा हुन्छ?

वास्तवमा आमाबाबुको नियम मान्‍नु भनेको बैंकलाई ऋण चुक्‍ता गर्नुझैं हो। ऋण चुक्‍ता गर्ने सन्दर्भमा तपाईं जति भरपर्दो साबित हुनुभयो, बैंकले तपाईंलाई त्यति नै धेरै ऋण दिनेछ। त्यसरी नै, आमाबाबुको आदर गर्नु र तिनीहरूप्रति आज्ञाकारी हुनु तपाईंको दायित्व हो। ( हितोपदेश १:८ पढ्‌नुहोस्‌) तपाईं जति धेरै आज्ञाकारी हुनुभयो, आमाबाबुले तपाईंलाई त्यति नै धेरै स्वतन्त्रता दिनेछन्‌। (लूका १६:१०) निस्सन्देह, तपाईं एकपछि अर्को नियम तोड्‌नुहुन्छ भने आमाबाबुले तपाईंको “कर्जाको रेखा” अर्थात्‌ तपाईंको स्वतन्त्रता घटाइदिएको वा रोक्का गरिदिएकोमा छक्क नपर्नुहोस्‌।

६. आमाबाबुले जवान छोराछोरीलाई आज्ञाकारी हुन कसरी मदत दिन सक्छन्‌?

आमाबाबुले जवान छोराछोरीलाई नियम पालन गर्न मदत दिन सक्ने एउटा तरिका, आफ्नै उदाहरणद्वारा हो। यहोवाले माग गर्नुभएका कुराप्रति आमाबाबु राजीखुसीले आज्ञाकारी हुँदा परमेश्‍वरका नियमहरू जायज छन्‌ भनेर प्रस्ट हुन्छ। यो देखेपछि जवान छोराछोरीलाई पनि आमाबाबुको नियम मान्‍नु जायज छ भनी बुझ्न सजिलो हुन्छ। (१ यूह. ५:३) साथै यहोवाले आफ्ना सेवकहरूलाई कुनै-कुनै विषयमा तिनीहरूको धारणा व्यक्‍त गर्ने मौकासमेत दिनुभएको विवरण बाइबलमा पाइन्छ। (उत्प. १८:२२-३२; १ राजा २२:१९-२२) त्यसैगरि आमाबाबुले पनि छोराछोरीलाई विभिन्‍न विषयमा उनीहरूको विचार व्यक्‍त गर्न दिनुपर्ने अवस्थाहरू होलान्‌, होइन र?

७, ८. (क) केही युवाले कस्तो चुनौती सामना गर्छन्‌? (ख) कुन कुरा बुझ्नुभयो भने अनुशासनबाट लाभ उठाउन सक्नुहुन्छ?

युवाहरूले सामना गर्नुपर्ने अर्को चुनौती भनेको आमाबाबुबाट आउने कतिपय आलोचना हो, जुन उनीहरूलाई बेमनासिब लाग्छ। कहिलेकाहीं तपाईंले पनि क्रेग भन्‍ने युवकले जस्तै यस्तो महसुस गर्नुभएको होला: “मलाई मेरी आमा जासुसी गर्ने प्रहरीजस्तै लाग्थ्यो, मैले गरेको के-के ठीक भएन भनेर सधैं कोट्ट्याइरहनुहुन्थ्यो।”

कसैले सच्याउँदा वा अनुशासन दिंदा हामीलाई अक्सर आलोचना गरेजस्तो लाग्छ। अनुशासन सोह्रैआना जायज भए तापनि स्वीकार्न गाह्रो हुन्छ भनेर बाइबलले मानिलिएको छ। (हिब्रू १२:११) अनुशासनबाट लाभ उठाउन तपाईंलाई केले मदत गर्न सक्छ? आमाबाबुले तपाईंलाई माया गर्ने भएकोले यस्तो सल्लाह दिएका हुन्‌ भनेर नबिर्सनुहोस्‌। (हितो. ३:१२) तिनीहरू तपाईंलाई कुलतमा फस्नदेखि जोगाउन र राम्रा बानीहरू विकास गर्न मदत दिन चाहन्छन्‌। आमाबाबुलाई लाग्ला, तपाईंलाई नसच्याउनु भनेको तपाईंलाई घृणा गर्नु सरह हो! ( हितोपदेश १३:२४ पढ्‌नुहोस्‌) साथै गल्ती गर्नु भनेको सिक्ने प्रक्रियाको एउटा भाग हो भनेर बुझ्नुहोस्‌। त्यसैले तपाईंलाई सच्चाउन जे भनियो, त्यसमा ज्ञानगुणका केही कुरा छन्‌ कि, त्यो हेर्नुभए कसो होला? “बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसबाट हुने फायदा सुनभन्दा बढी हुन्छ।”—हितो. ३:१३, १४.

९. अन्याय भएजस्तो ठानेर त्यही कुरा मात्र सोचिरहनुको साटो युवाहरूले के गर्न सक्छन्‌?

तथापि आमाबाबुले पनि गल्ती गर्छन्‌। (याकू. ३:२) तपाईंलाई अनुशासन दिंदा कहिलेकाहीं तिनीहरूले विचारै नपुऱ्‍याइ प्याच्च केही कुरा भन्‍न सक्छन्‌। (हितो. १२:१८) आमाबाबुले यस्तो व्यवहार गर्नुको कारण के हुन सक्छ? सायद तिनीहरूलाई अत्यन्तै तनाव भइरहेको हुन सक्छ अथवा तपाईंको गल्तीलाई आफ्नो असफलता ठान्‍न सक्छन्‌। यस्तो अन्याय भयो, उस्तो अन्याय भयो भनेर त्यही कुरा मात्र सोचिरहनुको साटो तपाईंलाई मदत गर्ने तिनीहरूको निष्कपट चासोप्रति कृतज्ञता देखाउनुभए कसो होला? अनुशासन स्वीकार्न सक्नुभयो भने तपाईं वयस्क हुँदा ठूलो मदत पुग्नेछ।

१०. आमाबाबुको नियम पालन गर्न र सुधार स्वीकार्न अझ सजिलो बनाउने कुरा के हो?

१० के तपाईं आमाबाबुको नियम पालन गर्न र सुधार स्वीकार्न अझ सजिलो होस्‌ भन्‍ने चाहनुहुन्छ? त्यसो हो भने कुराकानी गर्ने खुबीलाई तिखार्नुपर्छ। तपाईं त्यो कसरी गर्न सक्नुहुन्छ? पहिलो कदम हो, सुन्‍ने। बाइबल भन्छ: “सुन्‍नलाई छिट्टो, बोल्नलाई ढीलो र रिसाउनलाई धीमा होस्‌।” (याकू. १:१९) हत्त न पत्त आफ्नो सफाइ दिइहाल्नुको साटो आफ्ना भावनाहरूलाई काबूमा राख्नुहोस्‌ अनि आमाबाबुको कुरा राम्ररी सुन्‍नुहोस्‌। कसरी भनियो, त्यसमा होइन तर के भनियो, त्यसमा ध्यान दिनुहोस्‌। त्यसपछि तिनीहरूले भनेको कुरा बुझें भनेर मानिलिंदै आदरपूर्वक आफ्नो गल्ती स्वीकार्नुहोस्‌। यसो गर्दा तपाईंले राम्ररी सुन्‍नुभएछ भनेर तिनीहरू ढुक्क हुनेछन्‌। तर यदि तपाईं आफ्नो बोली वा व्यवहारको कारण बताउन चाहनुहुन्छ भने नि? प्रायजसो अवस्थामा आमाबाबुको कुरा राम्ररी नसुनुन्जेल ‘चूप लाग्नु’ बुद्धिमानी हो। (हितो. १०:१९) तपाईंले कुरा राम्ररी सुन्‍नुभयो भनेर आमाबाबु ढुक्क भएपछि तिनीहरू पनि तपाईंको कुरा सुन्‍न तयार हुनेछन्‌। यस्तो परिपक्व व्यवहार गर्नुभयो भने तपाईं साँच्चै परमेश्‍वरको वचनको डोऱ्‍याइअनुसार हिंडिरहनुभएको छ भनेर प्रमाणित हुनेछ।

पैसाको प्रयोग गर्दा

११, १२. (क) पैसाको सन्दर्भमा परमेश्‍वरको वचनले हामीलाई के गर्ने प्रोत्साहन दिन्छ र किन? (ख) पैसाको प्रयोग गर्ने सन्दर्भमा आमाबाबुले तपाईंलाई कसरी मदत गर्न सक्छन्‌?

११ बाइबल भन्छ, “रुपियाँपैसा एउटा आश्रय हो।” तर त्यही पदमा पैसाभन्दा बुद्धि अझ मूल्यवान्‌ हुन्छ भनिएको छ। (उप. ७:१२, NRV) परमेश्‍वरको वचनले पैसालाई प्रेम गर्न होइन तर त्यसप्रति सही दृष्टिकोण राख्न प्रोत्साहन दिन्छ। तपाईंले किन पैसालाई प्रेम गर्न थाल्नु हुँदैन? यो उदाहरण विचार गर्नुहोस्‌: सिपालु भान्सेको लागि धारिलो चक्कु उपयोगी हुन्छ। तर लापरवाह वा बेहोसी मानिसको हातमा त्यही चक्कु एकदमै खतरनाक हुन सक्छ। सिपालु भई प्रयोग गर्दा पैसा पनि उपयोगी हुन सक्छ। तथापि “धनी हुने इच्छा गर्ने” मानिसहरूले अक्सर साथी, परिवार र परमेश्‍वरसितको सम्बन्धलाई समेत लत्त्याएर पैसाको पछाडि दौडिरहेका हुन्छन्‌। परिणामस्वरूप आफूलाई “धेरै दुःखले” छेडिरहेका हुन्छन्‌। १ तिमोथी ६:९, १० पढ्‌नुहोस्‌।

१२ पैसा प्रयोग गर्ने सन्दर्भमा निपुण हुन तपाईं कसरी सिक्न सक्नुहुन्छ? पैसाको खर्चहिसाब कसरी मिलाउने भनेर आमाबाबुसित सल्लाह माग्नुभए कसो होला? सुलेमानले लेखे: “बुद्धिमान मानिसले . . . ध्यानसित सुन्यो भने आफ्नो विद्या बढाउनेछ, औ समझशक्‍ति भएको मानिसले निपुणता प्राप्त गर्नेछ।” (हितो. १:५) आन्‍ना नामकी युवतीले आमाबाबुसित निपुण सल्लाह मागिन्‌। उनी भन्छिन्‌: “बुबाले मलाई के-के कुरामा खर्च गर्ने भनेर पहिल्यै पैसा छुट्ट्याउन सिकाउनुभयो अनि पैसा खर्च गर्ने अनि हिसाबकिताब राख्ने सन्दर्भमा व्यवस्थित हुनु कत्तिको महत्त्वपूर्ण छ भनेर देखाउनुभयो।” आन्‍नाकी आमाले पनि व्यावहारिक पाठहरू सिकाइन्‌। आन्‍ना भन्छिन्‌: “आमाले मलाई कुनै सामान किन्‍नुअघि बजारभाउ बुझ्नुको महत्त्वबारे सिकाउनुभयो।” यसबाट आन्‍नाले कस्तो लाभ उठाएकी छिन्‌? उनी भन्छिन्‌: “म अहिले आफ्नो खर्चहिसाब आफै राख्न सक्छु। म जथाभावी खर्च गर्दिनँ। त्यसैले अनावश्‍यक ऋणमा डुब्दा हुने पीडाबाट मुक्‍त छु र मनोशान्ति पाएकी छु।”

१३. पैसा खर्च गर्ने सन्दर्भमा तपाईं कसरी आत्मसंयमी हुन सक्नुहुन्छ?

१३ देख्नेबित्तिकै सामान किनिहाल्यो वा साथीहरूको अगाडि आफ्नो शान देखाउनको लागि मात्रै सामान किन्‍ने गर्नुभयो भने तपाईं ऋणमा डुब्न कत्ति बेर पनि लाग्दैन। यस्तो पासोमा नफस्न तपाईंलाई केले मदत गर्न सक्छ? पैसा खर्च गर्ने सन्दर्भमा आत्मसंयमी हुन सिक्नुपर्छ। भर्खर २० वर्ष नाघेकी एलेनाले त्यसै गरिन्‌। उनी भन्छिन्‌: “साथीहरूसित कतै जानुअघि नै कति खर्च गर्ने भनेर पहिल्यै हिसाबकिताब गर्छु। . . . सोचविचार गरेर मात्र पैसा खर्च गर्ने अनि देख्नेबित्तिकै सामान किनिहाल्नुको साटो बजारभाउ बुझ्न मदत गर्ने साथीहरूसित मात्र बजार जानु पनि मदतकारी पाएकी छु।”

१४. “धनको धोका”-मा नपर्न तपाईं किन होसियार हुनुपर्छ?

१४ पैसा कमाउनु र पैसाको प्रयोग गर्नु, जीवनका महत्त्वपूर्ण भाग हुन्‌। तथापि “आत्मामा दरिद्र हुनेहरू” अर्थात्‌ आध्यात्मिक आवश्‍यकताप्रति सजग हुनेहरूले साँचो आनन्द पाउनेछन्‌ भनेर येशूले बताउनुभयो। (मत्ती ५:३) आध्यात्मिक कुराप्रति तपाईंको चासोलाई “धनको धोका” अर्थात्‌ धनको भ्रामक शक्‍तिजस्तो कुराले निस्सासिदिन सक्छ भनी उहाँले चेतावनी दिनुभयो। (मर्कू. ४:१९) त्यसैले परमेश्‍वरको वचनको डोऱ्‍याइअनुसार हिंड्‌नु र पैसाप्रति सन्तुलित दृष्टिकोण राख्नु महत्त्वपूर्ण छ।

एक्लै हुँदा

१५. परमेश्‍वरप्रति तपाईंको वफादारी सबैभन्दा बढी जाँच हुन सक्ने अवस्था कुन हो?

१५ परमेश्‍वरप्रति तपाईंको वफादारी सबैभन्दा बढी जाँच हुने अवस्था कुन हो—अरूसित बस्दा वा एक्लै हुँदा? तपाईं स्कूलमा वा काममा हुँदा, परमेश्‍वरसितको सम्बन्धलाई कुनै पनि कुराले खतरामा पार्न नदिन अत्यन्तै चनाखो भएर बस्नुहुन्छ। तर आरामसित बसिरहेको बेला जब तपाईं त्यत्तिको सतर्क हुनुहुन्‍न, त्यतिबेला तपाईंको नैतिक स्तरमाथि आक्रमण हुने सम्भावना बढी हुन्छ।

१६. एक्लै हुँदासमेत तपाईंले किन यहोवाको आज्ञा पालन गर्नुपर्छ?

१६ एक्लै हुँदासमेत तपाईंले किन यहोवाको आज्ञा पालन गर्नुपर्छ? यो कुरा नबिर्सनुहोस्‌: तपाईंको कार्यले यहोवालाई दुःखी या त आनन्दित बनाउन सक्छ। (उत्प. ६:५, ६; हितो. २७:११) तपाईंको कार्यले यहोवालाई फरक पार्छ किनभने ‘उहाँ तपाईंको फिक्री गर्नुहुन्छ।’ (१ पत्रु. ५:७) तपाईंले यहोवाको कुरा सुनेको उहाँ चाहनुहुन्छ किनभने यसो गर्दा तपाईंकै फाइदा हुन्छ। (यशै. ४८:१७, १८) पुरातन इस्राएलमा यहोवाका कोही-कोही सेवकले उहाँको सल्लाह सुन्‍न इन्कार गरेकाले उहाँ दुःखी हुनुभयो। (भज. ७८:४०, ४१) अर्कोतर्फ भविष्यवक्‍ता दानियलप्रति यहोवाको गहिरो स्नेह थियो अनि एक स्वर्गदूतले तिनलाई “अति प्रिय मानिस” भनेका छन्‌। (दानि. १०:११) किन? किनभने अरूको अगाडि मात्र होइन तर एक्लै हुँदा पनि दानियल परमेश्‍वरप्रति वफादार रहे।—दानियल ६:१० पढ्‌नुहोस्‌।

१७. मनोरञ्जन छान्‍ने सन्दर्भमा आफूलाई कस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ?

१७ एक्लै हुँदा परमेश्‍वरप्रति वफादार रहन “खराब र असल छुट्याउनलाई ज्ञानेन्द्रिय” शक्‍तिलाई तिखार्नै पर्छ अनि आफूलाई जुन कुरा सही हो भनी थाह छ, त्यसैअनुरुप गरेर ज्ञानेन्द्रिय शक्‍तिलाई “प्रयोगबाट” तालिम दिनै पर्छ। (हिब्रू ५:१४) उदाहरणको लागि, कुन सङ्‌गीत सुन्‍ने, कुन चलचित्र हेर्ने वा कुन इन्टरनेट साइटमा जाने भन्‍ने विषयमा सही कुरा छान्‍न र गलत कुरादेखि टाढै बस्न तपाईंलाई मदत गर्ने केही प्रश्‍न तल दिइएका छन्‌। आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के यो विषयवस्तुले मलाई अझ कोमल मनको हुन मदत गर्नेछ वा “अरूको नाशमा” रमाहट गर्न उक्साउनेछ?’ (हितो. १७:५) ‘के यसले “भलाइ”-लाई प्रेम गर्न मदत गर्नेछ वा “बुराइ”-लाई घृणा गर्न अझ गाह्रो बनाउनेछ?’ (आमो. ५:१५) एक्लै हुँदा तपाईं जे गर्नुहुन्छ, त्यसले तपाईं वास्तवमा कस्ता मूल्यमान्यताको कदर गर्नुहुन्छ भनेर देखाउँछ।—लूका ६:४५.

१८. गोप्य रूपमा तपाईं गलत आचरणमा संलग्न भइरहनुभएको छ भने के गर्नुपर्छ र किन?

१८ गलत आचरण हो भनेर थाह हुँदाहुँदै तपाईं गोप्य रूपमा त्यही काम गर्दै हुनुहुन्छ भने के गर्नुपर्छ? “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्‍नति हुँदैन, तर स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपादृष्टि पाउनेछौ” भन्‍ने कुरा नबिर्सनुहोस्‌। (हितो. २८:१३) गलत कार्य गरिरहनु अनि “परमेश्‍वरका पवित्र आत्मालाई सन्ताप” दिइरहनु कस्तो मूर्खता! (एफि. ४:३०) परमेश्‍वर र आमाबाबुसामु आफ्नो गल्ती स्वीकार्नु तपाईंको दायित्व हो अनि यसो गर्दा तपाईंकै फाइदा हुन्छ। यस सन्दर्भमा “मण्डलीको धर्म-गुरुहरू”-ले तपाईंलाई ठूलो मदत पुऱ्‍याउन सक्छन्‌। चेला याकूबले भने: “तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेल घसेर [गल्ती गर्नेको] विषयमा प्रार्थना गरून्‌, औ विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई उठाउनुहुनेछ, र यदि त्यसले पापै गरेको भए पनि त्यसलाई क्षमा हुनेछ।” (याकू. ५:१४, १५) हुनत यसो गर्दा लाजमा पर्ने अनि केही अप्रिय परिणाम पनि भोग्नुपर्ने होला। तर यदि तपाईंले मदत माग्ने आँट गर्नुभयो भने अझ धेरै क्षति भोग्नदेखि आफूलाई जोगाउनुहुनेछ र सफा अन्तस्करण प्राप्त गर्दा ढुक्क पनि महसुस गर्नुहुनेछ।—भज. ३२:१-५.

यहोवाको हृदय आनन्दित बनाउनुहोस्‌

१९, २०. तपाईंको लागि यहोवा के चाहनुहुन्छ तर तपाईंले के गर्नै पर्छ?

१९ यहोवा “परमधन्य” अर्थात्‌ आनन्दित परमेश्‍वर हुनुहुन्छ र तपाईं पनि आनन्दित भएको उहाँ चाहनुहुन्छ। (१ तिमो. १:११) तपाईंप्रति उहाँ गहिरो चासो राख्नुहुन्छ। सही कुरा गर्न तपाईं जे-जति प्रयास गर्नुहुन्छ, त्यो कसैले याद नगरे तापनि उहाँले भने याद गर्नुहुन्छ। यहोवाको नजरबाट कुनै कुरा लुक्न सक्दैन। उहाँ तपाईंको गल्ती कोट्ट्याउन होइन तर असल गर्ने तपाईंको प्रयासमा साथ दिन तपाईंमाथि नजर लगाउनुहुन्छ। “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।”—२ इति. १६:९.

२० त्यसैले परमेश्‍वरको वचनको डोऱ्‍याइअनुसार हिंड्‌नुहोस्‌ र त्यसको सल्लाह लागू गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईंले चुनौतीपूर्ण समस्याहरू पार लगाउन अनि जीवनमा कठिन निर्णयहरू गर्न चाहिने बुद्धि र समझशक्‍ति प्राप्त गर्नुहुनेछ। अनि तपाईंले आमाबाबु र यहोवालाई मात्र खुसी पार्ने नभई तपाईं आफैले पनि साँच्चै आनन्दित जीवन बिताउन सक्नुहुनेछ। (w10 -E 11/15)

[फुटनोट]

a नामहरू परिवर्तन गरिएका छन्‌।

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

एक्लै हुँदा के तपाईं परमेश्‍वरप्रति वफादार रहनुहुनेछ?

[पृष्ठ १३-मा भएको चित्र]

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आमाबाबुको नियम र सुधार स्वीकार्न अनि त्यसबाट लाभ उठाउन युवाहरूले के गर्न सक्छन्‌?

• पैसाप्रति सन्तुलित दृष्टिकोण राख्नु किन महत्त्वपूर्ण छ?

• एक्लै हुँदा पनि तपाईं यहोवाप्रति कसरी वफादार रहन सक्नुहुन्छ?