सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी सत्यनिष्ठामा हिंड्‌नेछौं!

हामी सत्यनिष्ठामा हिंड्‌नेछौं!

हामी सत्यनिष्ठामा हिंड्‌नेछौं!

“मचाहिं ता, आफ्नो इमान्दारीमा [ “सत्यनिष्ठामा,” NW] चल्नेछु।”—भज. २६:११.

१, २. आफ्नो सत्यनिष्ठाबारे अय्यूबले के भने अनि अय्यूब अध्याय ३१ ले तिनको विषयमा के सङ्‌केत गर्छ?

 अहिले जस्तै पुरातन समयमा पनि सरसामान अक्सर तराजुमा जोखिन्थ्यो। तराजुको एकातिर ढक र अर्कोतिर माल राखी तौलने गरिन्थ्यो। परमेश्‍वरका जनहरूले छलको ढक-तराजु चलाउनु हुँदैनथ्यो।—हितो. ११:१.

शैतानको आक्रमणले गर्दा दुःखमा परेका ईश्‍वरभीरु अय्यूबले यसो भने: “न्यायको तराजूमा [यहोवाले] मलाई तौलून्‌, र उहाँले जान्‍नुहुनेछ कि म निर्दोष [“सत्यनिष्ठ,” NW] छु।” (अय्यू. ३१:६) सत्यनिष्ठ व्यक्‍तिलाई परीक्षामा पार्न सक्ने थुप्रै परिस्थितिबारे अय्यूबले उल्लेख गरे। तर परीक्षा आइपर्दा वास्तवमा अय्यूब विजयी भएका थिए भनी अय्यूब अध्याय ३१ मा तिनले लेखेका शब्दहरूबाट थाह पाउन सक्छौं। तिनको राम्रो उदाहरणले हामीलाई पनि त्यसै गर्न अनि भजनहार दाऊदले जस्तै विश्‍वस्त भएर यसो भन्‍न उत्प्रेरित गर्न सक्छ: “मचाहिं ता, आफ्नो इमान्दारीमा [“सत्यनिष्ठामा,” NW] चल्नेछु।”—भज. २६:११.

३. सानो-ठूलो जस्तोसुकै मामिलामा परमेश्‍वरप्रति विश्‍वासी रहनु किन महत्त्वपूर्ण छ?

अय्यूबमाथि भीषण परीक्षा आइपरे तापनि तिनी परमेश्‍वरप्रति वफादार रहे। अय्यूबले भोगेको परीक्षा अनि तिनको सत्यनिष्ठा एकदमै असाधारण थियो भनी कसै-कसैले भन्लान्‌। हामीले अय्यूबले जस्तै दुःख भोगिरहेका छैनौं। तैपनि सत्यनिष्ठामा हिंडेको अनि यहोवाको सार्वभौमिकताको समर्थन गरेको देखाउन सानो-ठूलो जस्तोसुकै मामिलामा पनि हामी परमेश्‍वरप्रति विश्‍वासी रहनै पर्छ।— लूका १६:१० पढ्‌नुहोस्‌।

नैतिकताको सन्दर्भमा सत्यनिष्ठ हुनु जरुरी

४, ५. अय्यूब सत्यनिष्ठ व्यक्‍ति भएकोले तिनी कस्तो आचरणमा संलग्न भएनन्‌?

यहोवाप्रतिको सत्यनिष्ठा कायम राख्ने हो भने अय्यूबले जस्तै हामीले पनि परमेश्‍वरको नैतिक स्तर पालन गर्नुपर्छ। तिनले यस्तो घोषणा गरे: “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढसंकल्प गरें। . . . यदि मेरो हृदय कुनै स्त्रीले मोहित पारेको रहेछ भने, अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने, मेरी पत्नी अर्को मानिसको कमारी भइजाओस्‌, र अरू मानिसहरूले त्यससित सम्भोग गरून्‌।”—अय्यू. ३१:१, ९, १०.

परमेश्‍वरप्रतिको सत्यनिष्ठा कायम राख्न अय्यूब कटिबद्ध भएकोले तिनले कोही स्त्रीलाई पनि कामवासनाको दृष्टिले एकटक लगाएर हेरिरहेनन्‌। तिनी विवाहित पुरुष भएको हुँदा कोही पनि अविवाहित स्त्रीसित बेमतलबले जिस्किएनन्‌ अनि अर्काकी श्रीमतीसित नाजायज सम्बन्ध राख्न खोजेनन्‌। येशूले डाँडाको उपदेशमा यौन नैतिकताको विषयमा जुन सशक्‍त वक्‍तव्य दिनुभएको थियो, त्यो सत्यनिष्ठ व्यक्‍तिले आफ्नो दिमागमा ठप्प राख्नै पर्छ।— मत्ती ५:२७, २८ पढ्‌नुहोस्‌।

छली मार्ग कहिल्यै नअपनाउनुहोस्‌

६, ७. (क) अय्यूबको सन्दर्भमा जस्तै हामी पनि सत्यनिष्ठ छौं कि छैनौं भनी परमेश्‍वरले कसरी जाँच्नुहुन्छ? (ख) हामी किन छली हुनु हुँदैन?

यदि हामी सत्यनिष्ठ व्यक्‍ति भनेर चिनिन चाहन्छौं भने छली मार्ग अपनाउन पटक्कै मिल्दैन। ( हितोपदेश ३:३१-३३ पढ्‌नुहोस्‌) अय्यूबले यसो भने: “म शपथ खाएर भन्दछु, कि झूटा कुरासित मेरो केही सरोकार भएको छैन, छली चालमा म फँसेको छैनँ। न्यायको तराजूमा [यहोवाले] मलाई तौलून्‌, र उहाँले जान्‍नुहुनेछ कि म निर्दोष [“सत्यनिष्ठ,” NW] छु।” (अय्यू. ३१:५, ६) यहोवाले सबै मानिसलाई “न्यायको तराजूमा” तौलनुहुन्छ। अय्यूबको सन्दर्भमा जस्तै हामी पनि उहाँको समर्पित सेवकको रूपमा सत्यनिष्ठ छौं कि छैनौं भनी जाँच्न परमेश्‍वरले आफ्नो न्यायको सिद्ध स्तर चलाउनुहुन्छ।

छली भयौं भने हामीले परमेश्‍वरप्रतिको आफ्नो सत्यनिष्ठा कायम राखिराखेका हुँदैनौं। सत्यनिष्ठ व्यक्‍तिहरू ‘कपटमा चल्दैनन्‌’ अनि तिनीहरूले ‘शर्मका गुप्त कुराहरू त्यागिसकेकाछन्‌।’ (२ कोरि. ४:१, २) तर आफ्नो छली बोली अनि आचरणले गर्दा सँगी विश्‍वासीले मदतको लागि परमेश्‍वरलाई बिन्ती गर्नुपर्ने भयो भने नि? त्यसो हो भने त हामीले साह्रै नराम्रो परिणाम भोग्नुपर्नेछ! भजनहारले यस्तो गाए: “मेरो सङ्‌कष्टमा मैले परमप्रभुलाई पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। हे परमप्रभु, झूट बोल्ने मुख र छल गर्ने जिब्रोबाट मलाई जोगाउनुहोस्‌।” (भज. १२०:१, २) हामी साँच्चै सत्यनिष्ठ छौं कि छैनौं भनेर हेर्न परमेश्‍वरले हाम्रो “हृदय र मनको जाँच” गरेर हामी वास्तवमा कस्तो मानिस हौं, त्यो थाह पाउन सक्नुहुन्छ भनेर सम्झनु राम्रो हो।—भज. ७:८, ९.

अरूसित व्यवहार गर्दा उदाहरणीय हुनुहोस्‌

८. अय्यूबले अरूसित कस्तो व्यवहार गर्थे?

सत्यनिष्ठा कायम राख्ने हो भने हामी अय्यूबजस्तै हुनु आवश्‍यक छ जो न्यायी, नम्र अनि अरूप्रति विचारशील थिए। तिनले भने: “मैले मेरो दास वा दासीको बिन्तीलाई इन्कार गरेको भए, तिनीहरूले मकहाँ आफ्नो उजूर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने, परमेश्‍वर देखापर्नुहुँदा उहाँले हस्तक्षेप गर्नुहुँदा मैले के जवाफ दिने? गर्भमा मलाई रच्नुहुनेले तिनीहरूलाई पनि रच्नुभएको होइन र? के एउटै परमेश्‍वरले हामीहरूलाई गर्भमा सृष्टि गर्नुभएको होइन र?”—अय्यू. ३१:१३-१५.

९. आफ्ना दासदासीहरूसित व्यवहार गर्दा अय्यूबले कस्ता गुणहरू झल्काए अनि यस सन्दर्भमा हाम्रो व्यवहार कस्तो हुनुपर्छ?

अय्यूबको समयमा कानुनी मुद्दा-मामिलाहरू सुल्झाउन जटिल प्रणाली अपनाइँदैन थियो जस्तो देखिन्छ। मुद्दा-मामिलाहरू व्यवस्थित रूपमा सुल्झाइन्थ्यो अनि दासदासीहरूले समेत उजुरी गर्न सक्थे। अय्यूबले दासदासीहरूसित न्यायी अनि दयालु व्यवहार गर्थे। सत्यनिष्ठ भई हिंड्‌न चाहन्छौं भने हामीले अनि अझ विशेषगरि, ख्रीष्टियान मण्डलीमा प्राचीनको रूपमा सेवा गर्नेहरूले त्यस्ता गुणहरू झल्काउनै पर्छ।

उदार हुनुहोस्‌, लालची होइन

१०, ११. (क) अय्यूब उदार अनि मदतकारी थिए भनेर हामी कसरी थाह पाउन सक्छौं? (ख) अय्यूब ३१:१६-२५ ले हामीलाई अरू कुन-कुन धर्मशास्त्रीय सल्लाह याद दिलाउन सक्छ?

१० अय्यूब उदार अनि मदतकारी थिए, स्वार्थी अनि लालची होइन। तिनले यसो भने: “यदि . . . विधवाको आँखा आँसुले धमिल्याइदिएको छु भने, यदि मैले मेरो गाँस एक्लै खाएको छु भने, र टुहुरा-टुहुरीले मसित त्यो खान पाएन भने . . . यदि मैले कसैलाई लुगाफाटाको अभावले नष्ट भएको . . . देखेको छु भने, . . . मानिसहरूले अदालतमा मेरो पक्ष लिनेछन्‌ भनी जानेर यदि मैले मेरो हात निर्दोषमाथि उठाएको छु भने, मेरो पाता काँधबाट खुस्कोस्‌, मेरो पाखुरा जोर्नीबाट खुस्कोस्‌!” अनि अय्यूबले ‘सुनमा आशा गरेको भए’ आफ्नो सत्यनिष्ठा कायम राख्न सक्ने थिएनन्‌।—अय्यू. ३१:१६-२५.

११ यस्ता कवितात्मक अभिव्यक्‍तिले हामीलाई चेला याकूबका शब्दहरूको याद गराउन सक्छ: “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर। आफूलाई दुनियाँबाट निष्कलङ्‌क राख्नुनै पवित्र र हाम्रा परमेश्‍वर र पिताको सामने शुद्ध धर्म हो।” (याकू. १:२७) साथै येशूको चेतावनी पनि हाम्रो दिमागमा आयो होला: “होशियार रहो, आफूलाई सबै किसिमका लालचबाट जोगाओ, किनकि मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” यसो भनिसकेपछि येशूले एक जना लालची धनी मानिसको उखान भन्‍नुभयो जो “परमेश्‍वरतर्फ धनी नभईकन” मरे। (लूका १२:१५-२१) सत्यनिष्ठ हुने हो भने पापपूर्ण लालच वा लोभको पासोमा पर्नु हुँदैन। लालच भनेको मूर्तिपूजा हो किनभने लालची व्यक्‍तिले जुन चीजको लोभ गर्छ, त्यसले गर्दा तिनको ध्यान यहोवातर्फ नभई अन्तै मोडिन्छ र त्यो चीज नै तिनको मूर्ति बन्‍न जान्छ। (कल. ३:५) सत्यनिष्ठा र लालच बिलकुलै फरक कुरा हुन्‌!

साँचो उपासनालाई बलियोसित पक्रिराख्नुहोस्‌

१२, १३. मूर्तिपूजाबाट अलग रहने सन्दर्भमा अय्यूबले कस्तो उदाहरण बसाले?

१२ सत्यनिष्ठ व्यक्‍ति शुद्ध उपासनाबाट तर्किदैन। साँचो उपासनाबाट नतर्केका अय्यूबले यसो भने: “यदि मैले सूर्यको प्रतापलाई अथवा चन्द्रमाको सम्पूर्ण सौन्दर्यलाई हेरेर मेरो गुप्त हृदयमा भड्‌केर तिनलाई पुज्न मेरो हात उठाएको भए, त्यो ता व्यवस्थाको विरुद्धमा एउटा अपराध हुनेथियो, किनभने म स्वर्गमा हुनुहुने परमेश्‍वरको विरुद्धमा अविश्‍वासी हुनेथिएँ।”—अय्यू. ३१:२६-२८.

१३ अय्यूबले निर्जीव वस्तुहरूको उपासना गरेनन्‌। गुप्त हृदयमा भड्‌केर चन्द्रमाजस्ता आकाशीय पिण्डलाई देव ठानेर त्यसलाई ‘पुज्न हात उठाएका भए’ तिनी परमेश्‍वरलाई तिरस्कार गर्ने मूर्तिपूजक बन्‍नेथिए। (व्यव. ४:१५, १९) परमेश्‍वरप्रतिको सत्यनिष्ठा कायम राख्न हामी हरप्रकारको मूर्तिपूजाबाट अलग रहनै पर्छ।—१ यूहन्‍ना ५:२१ पढ्‌नुहोस्‌।

प्रतिशोधी वा कपटी नहुनुहोस्‌

१४. अय्यूब अरूको अहित चिताउने मानिस थिएनन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

१४ अय्यूब अरूको अहित चिताउने वा कठोर मानिस थिएनन्‌। सत्यनिष्ठ व्यक्‍तिले यस्तो दुर्गुण देखाउन मिल्दैन भनी तिनलाई थाह थियो। त्यसैले तिनले यसो भने: “मलाई घृणा गर्ने मानिसको विनाशलाई देखेर के म रमाएको छु र? अथवा दु:खले त्यसलाई घेर्दा के म खुशी भएँ र? ‘त्यो मरिजाओस्‌’ भनी सराप दिएर मैले कहिल्यै पाप गरिनँ।”—अय्यू. ३१:२९, ३०.

१५. आफूलाई घृणा गर्ने मानिसहरूमाथि आपत्‌विपत्‌ आइपर्दा रमाउनु किन गलत हो?

१५ आफूलाई घृणा गर्ने मानिसहरूमाथि आपत्‌विपत्‌ आइपर्दा धर्मी अय्यूब कहिल्यै रमाएनन्‌। एउटा हितोपदेशले यस्तो चेतावनी दिन्छ: “तेरो शत्रुको पतन हुँदा तँ नरमा, त्यसले ठेस खाँदा तँ खुशी नहो। नत्रता परमप्रभुले त्यो देख्नुहुनेछ, र तँसित अप्रसन्‍न हुनुहुनेछ, तर उहाँ त्यससँग रिसाउनुहुनेछैन।” (हितो. २४:१७, १८) यहोवाले मानिसको हृदय पढ्‌न सक्नुहुन्छ। त्यसैले अरूमाथि आपत्‌विपत्‌ आइपर्दा यदि हामी मनमनै खुसी हुन्छौं भने पनि त्यो उहाँ थाह पाउनुहुन्छ अनि त्यस्तो मनोवृत्ति उहाँलाई पटक्कै मन पर्दैन। (हितो. १७:५) यस्तो मनोवृत्ति राख्यौं भने परमेश्‍वरले पनि त्यही अनुसारको व्यवहार गर्न सक्नुहुन्छ किनभने उहाँ यसो भन्‍नुहुन्छ: “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु।”—व्यव. ३२:३५, NRV.

१६. धनी नभए तापनि हामी कसरी अतिथि-सत्कार गर्न सक्छौं?

१६ अय्यूब अतिथि-सत्कार गर्थे। (अय्यू. ३१:३१, ३२) हामी धनी छैनौं होला तैपनि “अतिथि-सत्कार” गर्न सक्छौं। (रोमी १२:१३) त्यसैले अरूसित बसेर साधारण खाना खान सक्छौं किनभने “डाहसित खाएको मोटो बहरभन्दा प्रेमसित खाएको सागपात असल हो।” (हितो. १५:१७) सत्यनिष्ठा कायम राख्ने सँगी विश्‍वासीसित मायालु वातावरणमा साधारण खाना खाँदा पनि रमाइलो हुन्छ र त्यसले एक-अर्काको उत्थान गर्छ।

१७. हामीले आफ्नो गम्भीर पाप लुकाउने प्रयास किन गर्नु हुँदैन?

१७ अय्यूबले गरेको अतिथि-सत्कार पक्कै पनि आध्यात्मिक रूपमा उत्थानदायी भएको हुनुपर्छ किनभने तिनी कपटी थिएनन्‌। तिनी प्रथम शताब्दीको मण्डलीभित्र सुटुक्क पसेका केही अधर्मी मानिसजस्ता थिएनन्‌ जो “लाभको खातिर मानिसको पक्षपात” गर्थे। (यहू. ३, ४, १६) अरूले थाह पाएपछि आफ्नो गिल्ला गर्ला भन्‍ने डरले अय्यूबले आफ्नो ‘पाप लुकाएनन्‌।’ तिनी परमेश्‍वरलाई आफ्नो जाँच गर्न दिन तयार थिए र उहाँसामु नै तिनले आफ्नो गल्ती स्वीकार्नेथिए। (अय्यू. ३१:३३-३७) यदि हामीबाट एकदमै गम्भीर पाप भयो भने आफ्नो इज्जत जोगाउनको लागि गल्ती लुकाउन नखोजौं। आफ्नो सत्यनिष्ठा कायम राख्ने प्रयास गर्दैछौं भनेर हामी कसरी देखाउन सक्छौं? आफ्नो गल्ती मानिलिएर, पश्‍चात्ताप गरेर, आध्यात्मिक मदत खोजेर अनि सुधारको लागि सक्दो गरेर।—हितो. २८:१३; याकू. ५:१३-१५.

सत्यनिष्ठ व्यक्‍ति पुर्पक्षमा

१८, १९. (क) अय्यूबले कहिल्यै कसैको शोषण गरेनन्‌ भनेर किन भन्‍न सकिन्छ? (ख) आफू गलत साबित भएमा अय्यूब के गर्न तयार थिए?

१८ अय्यूब इमानदार अनि निष्पक्ष थिए। त्यसकारण तिनले यसो भन्‍न सके: “खनजोत गरेको जमीन मैले चोरेको भए, र त्यसको हक भएको मालिकबाट त्यो लिएको भए—उमार्नेहरूलाई भोकै राखेर मैले खाएको भए, किसानले उमारेको अन्‍न-जौको सट्टामा झार र लुहुढे-काँढा उम्रून्‌।” (अय्यू. ३१:३८-४०) अय्यूबले अरूको जमिन कहिल्यै हडपेनन्‌ अनि कामदारहरूको शोषण गरेनन्‌। तिनले जस्तै हामीले पनि सानो-ठूलो जस्तोसुकै कुरामा यहोवाप्रतिको सत्यनिष्ठा कायम राख्नु आवश्‍यक छ।

१९ आफूले बिताएको जीवनबारे अय्यूबले आफ्ना तीन जना साथी अनि जवान एलीहूलाई बताइसकेका थिए। आफूले भनेका एक-एक कुरा सत्य भएको हुँदा अय्यूबले यदि कसैले तिनी विरुद्ध मुद्दा हाल्न चाहन्छ भने हालोस्‌ भने। आफू गलत साबित भएमा तिनी सजाय भोग्न तयार थिए। त्यसैले तिनले परमेश्‍वरसामु आफ्नो मुद्दा पेस गरे अनि यसको फैसला उहाँकै जिम्मामा छोडे। यसरी “अय्यूबको वक्‍तव्यको समाप्ति” हुन्छ।—अय्यू. ३१:३५, ४०.

तपाईं सत्यनिष्ठा कायम राख्न सक्नुहुन्छ

२०, २१. (क) अय्यूबले आफ्नो सत्यनिष्ठा कायम राख्न सक्नुको कारण के थियो? (ख) हामी परमेश्‍वरप्रतिको प्रेम कसरी खेती गर्न सक्छौं?

२० परमेश्‍वरलाई प्रेम गरेको कारण अय्यूबले सत्यनिष्ठा कायम राख्न सके अनि यहोवाले पनि तिनलाई प्रेम गर्नुभयो र मदत दिनुभयो। अय्यूबले भने: “तपाईंले [यहोवाले] मलाई जीवन प्रदान गर्नुभयो र आफ्नै निगाहमा [वफादार प्रेममा] मलाई राख्नुभयो औ मेरो आत्मालाई तपाईंकै ईश्‍वरीय अनुग्रहले देखरेख गऱ्‍यो।” (अय्यू. १०:१२) साथै आफ्ना सँगी मानिसलाई वफादार प्रेम नदेखाउनेले सर्वशक्‍तिमान्‌ परमेश्‍वरको पनि भय राख्नेछैन भनी बुझेको हुँदा अय्यूबले अरूप्रति प्रेम देखाए। (अय्यू. ६:१४) सत्यनिष्ठ व्यक्‍तिले परमेश्‍वर अनि छिमेकीलाई प्रेम गर्छन्‌।—मत्ती २२:३७-४०.

२१ दिनहुँ परमेश्‍वरको वचन पढेर अनि त्यसमा उहाँबारे बताइएका कुरामा मनन गरेर हामी उहाँप्रतिको प्रेम खेती गर्न सक्छौं। निष्कपट प्रार्थनामा हामी यहोवाको प्रशंसा गर्न अनि उहाँले हाम्रो निम्ति गर्नुभएको भलाइको लागि धन्यवाद दिन सक्छौं। (फिलि. ४:६, ७) हामी यहोवाको भजन गाउन सक्छौं अनि उहाँका जनसित नियमित रूपमा भेला भएर लाभ उठाउन सक्छौं। (हिब्रू १०:२३-२५) साथै प्रचारकार्यमा भाग लिएर “उहाँले दिनुभएको उद्धार”-बारे घोषणा गर्दा परमेश्‍वरप्रतिको प्रेम बढ्‌नेछ। (भज. ९६:१-३) यस्ता विभिन्‍न तरिकामा हामी पनि भजनरचयिताले जस्तै सत्यनिष्ठा कायम राख्न सक्छौं जसले यस्तो गाए: “परमेश्‍वरको नजिक जानु मेरो निम्ति असल छ। . . . मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्थान बनाएको छु।”—भज. ७३:२८.

२२, २३. हामी यहोवाको सार्वभौमिकताको समर्थन गर्ने व्यक्‍ति भएको हुँदा हाम्रो र पहिला-पहिलाका सत्यनिष्ठ व्यक्‍तिहरूको गतिविधिबीच कस्तो समानता पाइन्छ?

२२ शताब्दीयौंको दौडान यहोवाले सत्यनिष्ठ व्यक्‍तिहरूलाई विभिन्‍न जिम्मेवारी दिनुभएको छ। नूहले जहाज बनाए अनि तिनी “धर्मका प्रचारक” पनि भए। (२ पत्रु. २:५) यहोशूले ‘व्यवस्थाको पुस्तकमा दिन-रात ध्यान’ दिएकोले अनि त्यसअनुसार काम गरेकोले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याउन सके। (यहो. १:७, ८) प्रथम शताब्दीका ख्रीष्टियानहरूले चेला बनाए अनि धर्मशास्त्र अध्ययन गर्न नियमित रूपमा भेला भए।—मत्ती २८:१९, २०.

२३ धार्मिकताको प्रचार गरेर, चेला बनाएर, धर्मशास्त्रीय सल्लाह लागू गरेर अनि सँगी विश्‍वासीहरूसित सभा, सम्मेलन अनि अधिवेशनमा एकसाथ भेला भएर हामी यहोवाको सार्वभौमिकताको समर्थन गर्छौं अनि आफ्नो सत्यनिष्ठा कायम राख्छौं। यस्तो गतिविधिले हामीलाई साहसी हुन, आध्यात्मिक रूपमा बलियो हुन अनि परमेश्‍वरको इच्छा गर्नमा सफलता हासिल गर्न मदत गर्छ। परमेश्‍वरको इच्छाअनुसार गर्नु र आफ्नो सत्यनिष्ठा कायम राख्नु हाम्रो लागि साह्रै गाह्रो कुरा होइन किनभने हामीले स्वर्गका पिता अनि उहाँको पुत्रको समर्थन पाएका छौं। (व्यव. ३०:११-१४; १ राजा ८:५७) साथै सत्यनिष्ठामा हिंड्‌ने अनि यहोवालाई आफ्नो सार्वभौम प्रभु मान्‍ने “भाइ-बन्धुहरू”-को साथ हामीले पाएका छौं।—१ पत्रु. २:१७. (w10 -E 11/15)

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

अय्यूबले यहोवाप्रतिको आफ्नो सत्यनिष्ठा कायम राखे। हामी पनि त्यसै गर्न सक्छौं!

[पृष्ठ ३२-मा भएको चित्र]

हामी आफ्नो सत्यनिष्ठा कायम राख्न सक्छौं!

[पृष्ठ ३१-मा भएको चित्र]

तपाईं के भन्‍नुहुन्छ?

• हामीले यहोवाको नैतिक स्तरप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

• अय्यूबको खासगरि कस्ता गुणहरू तपाईंलाई मन पर्छ?

अय्यूब ३१:२९-३७ मा बताइएझैं अय्यूबले कस्तो व्यवहार गरे?

• हामीले परमेश्‍वरप्रतिको सत्यनिष्ठा कायम राख्नु किन सम्भव छ?