सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“ग्रहणयोग्य समय अहिले छ”

“ग्रहणयोग्य समय अहिले छ”

“ग्रहणयोग्य समय अहिले छ”

“हेर, ग्रहणयोग्य समय अहिले छ, हेर, उद्धारको दिन अहिले छ।”—२ कोरि. ६:२.

१. कुनै खास समयमा गर्नुपर्ने काम के हो भनेर हामीले थाह पाउनु किन आवश्‍यक छ?

 “सबै कुराको लागि समय छ, औ संसारमा सबै कामको बेला छ।” (उप. ३:१) कुनै अर्थपूर्ण कामको लागि सबैभन्दा अनुकूल समय कुन हो, त्यो थाह पाउनुको महत्त्वबारे सुलेमानले उक्‍त कुरा लेखेका थिए—चाहे त्यो खेतीपाती, यात्रा, व्यापार वा अरूसित कुराकानी गर्ने सन्दर्भमा नै किन नहोस्‌। तर कुनै खास समयमा हामीले गर्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण काम के हो, त्यो पनि हामीले थाह पाउनुपर्छ। अर्को शब्दमा भन्‍ने हो भने हामीले कुन कुरालाई प्राथमिकता दिनुपर्छ, त्यसबारे स्पष्ट हुनै पर्छ।

२. येशूले प्रचार गर्नुहुँदा उहाँलाई आफू बाँचिरहेको समयबारे राम्ररी थाह थियो भनेर हामी कसरी थाह पाउँछौं?

पृथ्वीमा छँदा येशूलाई आफू कुन समयमा बाँचिरहेको छु र के गर्नुपर्छ भनेर राम्ररी थाह थियो। आफूले कुन कुरालाई प्राथमिकता दिनुपर्छ भनेर स्पष्ट भएको हुँदा लामो समयदेखि प्रतीक्षा गर्दै आएका मसीहसम्बन्धी थुप्रै भविष्यवाणी अब चाँडै पूरा हुनेछन्‌ भनेर उहाँलाई थाह थियो। (१ पत्रु. १:११; प्रका. १९:१०) आफू नै प्रतिज्ञा गरिएको मसीह हो भनेर आफ्नो चिनारी प्रस्ट पार्न अझ धेरै काम गर्न बाँकी थियो। उहाँले परमेश्‍वरको राज्यबारे विस्तृत साक्षी दिनुका साथै त्यस राज्यमा उहाँसँगै भविष्यमा सह-उत्तराधिकारी हुनेहरूलाई जम्मा गर्नुपर्ने थियो। साथै ख्रीष्टियान मण्डलीको जग बसाल्नुपर्ने थियो किनभने यही मण्डलीले पृथ्वीको कुना-कुनासम्म प्रचार गर्ने र चेला बनाउने काम गर्नेथियो।—मर्कू. १:१५.

३. आफू बाँचिरहेको समयप्रति सजग भएकोले गर्दा येशूले कस्तो कदम चाल्नुभयो?

समयप्रति सजग भएकोले गर्दा येशूले आफ्नो बुबाको इच्छा पूरा गर्न जोसिलो भई लाग्ने उत्प्रेरणा पाउनुभयो। उहाँले चेलाहरूलाई भन्‍नुभयो: “फसल ता प्रशस्त छ, तर खेतालाहरू थोरै छन्‌, यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌।” (लूका १०:२; मला. ४:५, ६) येशूले आफ्ना चेलाहरूमध्येबाट सुरुमा १२ जना, त्यसपछि ७० जनालाई छान्‍नुभयो। उहाँले तिनीहरूलाई सुस्पष्ट निर्देशन दिनुभयो अनि यस्तो जोडदार सन्देश घोषणा गर्न पठाउनुभयो: “स्वर्गको राज्य नजिकै आइपुगेको छ।” येशूको विषयमा भने यस्तो लेखिएको पाउँछौं: “आफ्ना बाह्रै चेलाहरूलाई आज्ञा गरिसकेपछि [उहाँ] त्यहाँबाट तिनीहरूका शहर-शहरमा सिकाउन र प्रचार गर्नलाई जानुभयो।”—मत्ती १०:५-७; ११:१; लूका १०:१.

४. कुन तरिकामा पावलले येशू ख्रीष्टको देखासिकी गरे?

जोस र भक्‍ति देखाउने सन्दर्भमा येशू आफ्ना सबै चेलाहरूको लागि उत्कृष्ट नमुना हुनुहुन्थ्यो। यही कुरालाई सङ्‌केत गर्दै प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई आग्रह गरे: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखासिकी गर्ने होओ।” (१ कोरि. ११:१) कुन तरिकामा पावलले ख्रीष्टको देखासिकी गरे? मुख्यतया सुसमाचार प्रचार गर्न सक्दो प्रयास गरेर। पावलले मण्डलीहरूलाई लेखेका पत्रमा यस्ता अभिव्यक्‍तिहरू पाइन्छन्‌: “प्रयत्न गर्नमा अल्छी नहोओ,” “प्रभुको सेवा गर्दै रहो,” “सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ” र “जे-जे तिमीहरू गर्दछौ, . . . प्रभुको निम्ति जस्तैगरी मनतनले गर।” (रोमी १२:११; १ कोरि. १५:५८; कल. ३:२३) पावलले दमीशक जाने बाटोमा भएको घटना अनि प्रभु येशू ख्रीष्टका यी शब्दहरू कहिल्यै बिर्सेनन्‌, जुन चेला हननियाले तिनलाई सुनाएको हुनुपर्छ: “अन्य जातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामु मेरो निम्ति मेरो नाउँ चलाउनलाई तिनी एक छानिएका पात्र हुन्‌।”—प्रेरि. ९:१५; रोमी १:१, ५; गला. १:१६.

“ग्रहणयोग्य समय अहिले छ”

५. जोसका साथ आफ्नो सेवाको काम पूरा गर्न पावललाई कुन कुराले उत्प्रेरित गऱ्‍यो?

प्रेरितहरूका कार्यको विवरण पढ्‌दा पावलले आफ्नो सेवाको काम पूरा गर्न देखाएको साहस र जोस स्पष्टसित बुझ्न सक्छौं। (प्रेरि. १३:९, १०; १७:१६, १७; १८:५) पावलले आफू बाँचिरहेको समयको महत्त्वलाई बुझेका थिए। तिनले भने: “हेर, ग्रहणयोग्य समय अहिले छ, हेर, उद्धारको दिन अहिले छ।” (२ कोरि. ६:२) बेबिलोनको निर्वासनमा परेकाहरूको लागि आफ्नो मातृभूमि फर्कने ग्रहणयोग्य समय ईसापूर्व ५३७ थियो। (यशै. ४९:८, ९) तर पावलले कुन समयलाई सङ्‌केत गरिरहेका थिए? यसको लागि तिनले लेखेको विवरणको सन्दर्भलाई विचार गर्नुपर्छ।

६, ७. आज अभिषिक्‍त ख्रीष्टियानहरूलाई कस्तो ठूलो सम्मान दिइएको छ अनि तिनीहरूसित मिलेर कसले काम गरिरहेका छन्‌?

पावलले लेखेको पत्रमा तिनले आफू र आफ्ना सँगी अभिषिक्‍त ख्रीष्टियानहरूलाई दिइएको ठूलो सम्मानको विषयमा बताइसकेका थिए। (२ कोरिन्थी ५:१८-२० पढ्‌नुहोस्‌) तिनीहरू एउटा खास उद्देश्‍यको लागि अर्थात्‌ “मिलापको सेवा” गर्न, मानिसहरूलाई ‘परमेश्‍वरसँग मिलाप राख्नको’ लागि बिन्ती गर्न परमेश्‍वरबाट बोलाइएका थिए भनी तिनले बताए। यसको अर्थ हो, परमेश्‍वरसित पुनः मित्रता गाँस्ने अर्थात्‌ उहाँसित शान्ति कायम गर्ने।

अदनमा विद्रोह भएदेखि सम्पूर्ण मानिसजाति परमेश्‍वरबाट अलग्गिएका अनि बिराना भएका छन्‌। (रोमी ३:१०, २३) त्यसरी अलग्गिएको हुँदा मानिसजाति प्रतीकात्मक अर्थमा अन्धकारमा छ, जसले गर्दा तिनीहरूले दुःखकष्ट र मृत्यु भोग्नुपरेको छ। पावलले लेखे: “सारा सृष्टि पनि साथसाथै पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ भनी हामी जान्दछौं।” (रोमी ८:२२) तर परमेश्‍वरले मानिसहरूलाई उहाँकहाँ फर्कन अर्थात्‌ उहाँसित मिलाप गर्नको लागि आग्रह गर्न कदम चाल्नुभएको छ, भनौं भने “बिन्ती” गर्नुभएको छ। पावल र तिनका सँगी अभिषिक्‍त ख्रीष्टियानहरूलाई सुम्पिइएको सेवाको काम त्यही थियो। येशूमाथि विश्‍वास राख्नेहरूका लागि त्यो “ग्रहणयोग्य समय” नै “उद्धारको दिन” हुन सक्थ्यो। सबै अभिषिक्‍त ख्रीष्टियान र तिनीहरूसँग मिलेर काम गरिरहेका सहयोगी अर्थात्‌ “अरू भेडा”-ले यस “ग्रहणयोग्य समय”-बाट लाभ उठाउन अरूलाई पनि निमन्त्रणा दिइरहेका छन्‌।—यूह. १०:१६.

८. मिलापको लागि गरिएको आग्रह किन उल्लेखनीय छ?

अदनको बगैंचामा मानिसले विद्रोह गर्दा परमेश्‍वरसितको सम्बन्ध एकतर्फी ढङ्‌गमा तोडिएको थियो। तैपनि त्यो बिग्रिएको सम्बन्ध सच्याउन परमेश्‍वर आफैले मिलापको लागि आग्रह गर्नु अत्यन्तै उल्लेखनीय छ। (१ यूह. ४:१०, १९) उहाँले के गर्नुभयो? पावलले यस्तो जवाफ दिए: “परमेश्‍वर ख्रीष्टमा हुनुभयो, र संसारलाई आफूसित मिलापमा ल्याउनुभयो, औ तिनीहरूका अपराधको हिसाब नलिएर मिलाप गराउने कामको वचन उहाँले हामीमा जिम्मा लगाइदिनुभयो।”—२ कोरि. ५:१९; यशै. ५५:६.

९. परमेश्‍वरले देखाएको दयाप्रति पावलले कसरी कृतज्ञता देखाए?

फिरौतीको बलिदानको प्रबन्ध गरेर यहोवाले फिरौतीमा विश्‍वास राख्नेहरूलाई तिनीहरूको अपराध क्षमा गर्न अनि उहाँसित फेरि मित्रता गाँस्न अर्थात्‌ उहाँसित शान्ति कायम गर्न सम्भव तुल्याउनुभयो। अनि सम्भव हुँदै मानिसहरूले उहाँसित शान्ति कायम गर्नको लागि कदम चालिहाल्ने आग्रह गर्न उहाँले आफ्ना दूतहरू पठाउनुभयो। (१ तिमोथी २:३-६ पढ्‌नुहोस्‌) परमेश्‍वरको इच्छा थाह पाउनुका साथै आफू बाँचिरहेको समयको महत्त्व बुझेको हुँदा पावलले “मिलापको सेवा” गर्न अथक प्रयास गरे। यहोवाको उद्देश्‍य परिवर्तन भएको छैन। यहोवा अहिले पनि मानिसहरूले उहाँसित मिलाप गरेको चाहनुहुन्छ। पावलले बताएअनुसार “ग्रहणयोग्य समय अहिले छ” र “उद्धारको दिन अहिले छ” भन्‍ने भनाइ हाम्रो समयमा पनि लागू हुन्छ। यहोवा परमेश्‍वर साँच्चै दयालु र कोमल हुनुहुन्छ!—प्रस्थ. ३४:६, ७.

“परमेश्‍वरको अनुग्रह व्यर्थैमा ग्रहण नगर”

१०. विगत र अहिलेका अभिषिक्‍त ख्रीष्टियानहरूका लागि “उद्धारको दिन”-को अर्थ के हो?

१० परमेश्‍वरको अनुग्रहबाट लाभ उठाउने प्रथम व्यक्‍तिहरू “ख्रीष्ट”-सँग एकतामा हुनेहरू थिए। (२ कोरि. ५:१७, १८) तिनीहरूको लागि “उद्धारको दिन” इस्वी संवत्‌ ३३ मा सुरु भयो। त्यसबेलादेखि तिनीहरूले “मिलाप गराउने कामको वचन” घोषणा गर्ने जिम्मा पाएका छन्‌। अहिले बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियानहरूले “मिलापको सेवा” अझै गरिरहेका छन्‌। प्रेरित यूहन्‍नाले दर्शनमा देखेका चार स्वर्गदूतले ‘पृथ्वीमा कुनै बतास नचलोस्‌ भनेर पृथ्वीका चारै बतासलाई रोकिरहेका छन्‌’ भनेर ती अभिषिक्‍त ख्रीष्टियानहरूले बुझेका छन्‌। त्यसैले अहिले पनि “उद्धारको दिन” र “ग्रहणयोग्य समय” हो। (प्रका. ७:१-३) यसैकारण २० औं शताब्दीको सुरुदेखि ती अभिषिक्‍त ख्रीष्टियानहरू पृथ्वीका कुना-कुनासम्म “मिलापको सेवा”-को काममा जोसका साथ लागिरहेका छन्‌।

११, १२. अभिषिक्‍त ख्रीष्टियानहरूले समयप्रति सजग भएको कुरा २० औं शताब्दीको सुरुतिर कसरी देखाए? (चित्र हेर्नुहोस्‌।)

११ उदाहरणको लागि, यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू (अङ्‌ग्रेजी) भन्‍ने पुस्तकमा उल्लेख गरिएझैं १९ औं शताब्दीको अन्ततिर “सि.टि. रसल र तिनका सहकर्मीहरू हामी कटनीको समयमा बाँचिरहेका छौं र मानिसहरूले उद्धारको सन्देश सुन्‍नु जरुरी छ भनेर साँच्चै विश्‍वास गर्थे।” त्यसैले तिनीहरूले के गरे? कटनीको समयमा अर्थात्‌ “ग्रहणयोग्य समय”-मा बाँचिरहेका छौं भनी बुझेको हुँदा तिनीहरूले धार्मिक सभाको लागि मानिसहरूलाई निम्तो दिनु मात्र पर्याप्त छैन भन्‍ने महसुस गरे। चर्चजगत्‌का पादरीहरूले त्यस्तै गरिरहेको धेरै भइसकेको थियो। त्यसैले ती अभिषिक्‍त ख्रीष्टियानहरूले सुसमाचार प्रचारप्रसार गर्ने अन्य उपयोगी तरिका खोज्न थाले। अन्य तरिकामध्ये एउटा थियो, आफ्नो काम विस्तार गर्न आधुनिक प्रविधिको बुद्धिमानी प्रयोग गर्नु।

१२ परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन ती जोसिला प्रचारकहरूको सानो समूहले पर्चा, पम्प्लेट, पत्रिका अनि पुस्तकहरू प्रयोग गरे। तिनीहरूले हजारौं अखबारमा भाषण र लेखहरू छाप्न लगाए। तिनीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय रेडियो स्टेशनमार्फत बाइबलआधारित कार्यक्रमहरू प्रसारण गरे। त्यतिबेलाको चलचित्र उद्योगले ध्वनिसहितको चलचित्र प्रयोग गर्न थालिसकेको थिएन। तर ती जोसिला प्रचारकहरूको समूहले ध्वनिसहितको चलचित्र उत्पादन गरे र प्रचारकार्यमा प्रयोग गरे। यस्तो अथक जोस देखाउँदा परिणाम कस्तो भयो? आज लगभग ७० लाख मानिसले “परमेश्‍वरसँग मिलाप राख” भन्‍ने आग्रह स्वीकारेका छन्‌ र अरूलाई पनि त्यही आग्रह गर्न लागिपरेका छन्‌। यहोवाका ती प्रारम्भिक सेवकहरू आफ्नो सीमित अनुभव र सीपको बाबजुद जोसका साथ अघि बढ्‌नु साँच्चै राम्रो उदाहरण हो।

१३. परमेश्‍वरको कुन उद्देश्‍यलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ?

१३ “ग्रहणयोग्य समय अहिले छ” भन्‍ने पावलको भनाइ अहिले पनि लागू हुन्छ। हामीले मिलापको सन्देश सुन्‍ने र त्यसलाई स्वीकार्ने मौका पाएका छौं। त्यसैले परमेश्‍वरको अनुग्रह अनुभव गर्न पाएकोले हामी कृतज्ञ छौं। तर यत्तिमै चित्त बुझाएर बस्नुको साटो हामी पावलका यी शब्दहरू गम्भीरतापूर्वक लिन्छौं: “हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती पनि गर्छौं, कि परमेश्‍वरको अनुग्रह व्यर्थैमा ग्रहण नगर।” (२ कोरि. ६:१) परमेश्‍वरको अनुग्रहको उद्देश्‍य, ख्रीष्टद्वारा “संसारलाई आफूसित मिलापमा ल्याउनु” हो।—२ कोरि. ५:१९.

१४. थुप्रै मुलुकमा कस्तो मौका खुलिरहेको छ?

१४ अधिकांश मानिसजातिलाई शैतानले अन्धो तुल्याएको छ र तिनीहरू अझै पनि परमेश्‍वरबाट बिराना भएका छन्‌ अनि उहाँको अनुग्रहको उद्देश्‍यबारे अनभिज्ञ छन्‌। (२ कोरि. ४:३, ४; १ यूह. ५:१९) परमेश्‍वरबाट बिराना हुनु नै मानव दुष्टता र दुःखकष्टको मूल कारण हो भनेर परमेश्‍वरका सेवकहरूले बताउँदा मानिसहरूले यो तर्क स्वीकार्न थालेका छन्‌ किनभने संसारको अवस्था झन्‌-झन्‌ खस्कँदै गइरहेको तिनीहरूले देखेका छन्‌। कुनै-कुनै मुलुकमा प्रायजसो मानिसले हाम्रो प्रचारकार्यप्रति कुनै चासो देखाउँदैन थिए। तर त्यस्ता मुलुकहरूमा समेत अहिले थुप्रैले सुसमाचार स्वीकारेर परमेश्‍वरसित मिलाप राख्न कदम चालिरहेका छन्‌। त्यसोभए “परमेश्‍वरसँग मिलाप राख” भनेर अझ जोसका साथ आग्रह गर्नुपर्ने समय अहिल्यै हो भनेर के हामीले बुझेका छौं?

१५. मानिसहरूलाई मनपर्ने सन्देश सुनाउनुको साटो सबै मानिसले कुन कुरा थाह पाएको हामी चाहन्छौं?

१५ हाम्रो काम मानिसहरूलाई ‘परमेश्‍वरतर्फ फर्कनुहोस्‌ अनि त्यसरी फर्कनुभयो भने उहाँले तपाईंहरूका सबै समस्यामा मदत गर्नुहुनेछ र तपाईंहरूले ढुक्क महसुस गर्नुहुनेछ’ भनेर बताउनु मात्र होइन। यही कुराको खोजीमा धेरैजसो मानिस चर्च जाने गर्छन्‌ अनि चर्चहरू पनि मानिसहरूको यही इच्छा पूरा गरिदिन उत्सुक छन्‌। (२ तिमो. ४:३, ४) हाम्रो सेवाको कामको उद्देश्‍यचाहिं त्यो होइन। यहोवा प्रेमको कारण ख्रीष्टमार्फत अपराधहरू क्षमा गर्न इच्छुक हुनुहुन्छ भन्‍ने सुसमाचार हामी सुनाउँछौं। त्यसैले मानिसहरू परमेश्‍वरसित नजिक हुन र उहाँसित मिलाप गर्न सक्छन्‌। (रोमी ५:१०; ८:३२) तथापि अहिलेको “ग्रहणयोग्य समय” चाँडै अन्त हुँदैछ।

“आत्मामा जोशिलो होओ”

१६. पावल साहसी र जोसिलो हुनुको कारण के थियो?

१६ हामी साँचो उपासनाको लागि कसरी जोस जगाउन र त्यसलाई कायम राख्न सक्छौं? कोही-कोही लजालु वा कम बोल्ने स्वभावका हुन सक्छन्‌ अनि तिनीहरूलाई खुलेर कुरा गर्न वा अरूसित घुलमिल हुन गाह्रो लाग्न सक्छ। तर जोस भनेको भावना वा उत्साह प्रकट गर्नु मात्र होइन र यो आफ्नो व्यक्‍तित्वमा निर्भर हुने कुरा पनि होइन भनेर सम्झनु बेस हो। जोस कसरी जगाउने र त्यसलाई कायम राख्ने भन्‍ने सन्दर्भमा पावलले सँगी ख्रीष्टियानहरूलाई यस्तो आग्रह गरे: “आत्मामा जोशिलो होओ।” (रोमी १२:११) प्रेरित पावलले प्रचारकार्यमा साहस र धैर्य देखाउन सक्नुमा यहोवाको आत्माको ठूलो हात थियो। येशूले तिनलाई छान्‍नुभएको समयदेखि रोममा कैदी भएर सहिद भएको समयसम्म अर्थात्‌ ३० वर्षभन्दा लामो समयको दौडान पावलको जोस कहिल्यै सेलाएन। पावलले सधैं परमेश्‍वरको मदत मागे र उहाँले तिनलाई पवित्र आत्माद्वारा आवश्‍यक शक्‍ति दिनुभयो। तिनले भने: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलि. ४:१३) तिनको उदाहरणबाट सिक्यौं भने हामीले पनि लाभ उठाउनेछौं!

१७. हामी कसरी “आत्मामा जोशिलो” हुन सक्छौं?

१७ रोमी १२:११ मा प्रेरित पावलले प्रयोग गरेको ग्रीक शब्दले शाब्दिक रूपमा “उम्लिरहेको” भन्‍ने अर्थ बुझाउँछ। पानीलाई उमालिराख्ने हो भने अटुट रूपले आगो बालिराख्नुपर्छ। त्यसरी नै “आत्मामा जोशिलो” हुन हामीलाई परमेश्‍वरको पवित्र आत्मा अटुट रूपमा चाहिन्छ। यसो गर्ने तरिका भनेको यहोवाले हामीलाई आध्यात्मिक तवरमा बलियो राख्न गर्नुभएका सम्पूर्ण प्रबन्धको सदुपयोग गर्नु हो। यसो गर्न हामीले आफ्नो पारिवारिक अनि मण्डलीको उपासनालाई गम्भीरतापूर्वक लिनुपर्छ अर्थात्‌ व्यक्‍तिगत र पारिवारिक अध्ययन गर्ने, प्रार्थना गर्ने अनि सँगी ख्रीष्टियानहरूसित सभामा उपस्थित हुने कुरामा नियमित हुनुपर्छ। पानीलाई उमालिराख्न आगो चाहिएझैं उक्‍त प्रबन्धहरूले हामीलाई “आत्मामा जोशिलो” बनाइराख्नेछ।—प्रेरित ४:२०; १८: पढ्‌नुहोस्‌।

१८. हामी ख्रीष्टियानहरूले आफ्नो सम्पूर्ण ध्यान कुन कुरामा केन्द्रित गर्नुपर्छ?

१८ समर्पित व्यक्‍तिले आफ्नो सम्पूर्ण ध्यान कुनै एउटा खास उद्देश्‍यमा केन्द्रित गर्छ र त्यो लक्ष्य हासिल गर्नदेखि सजिलै यताउता अलमलिंदैन वा निरुत्साहित हुँदैन। जसरी येशूले यहोवाको इच्छाअनुसार गर्नुभयो, त्यसरी नै ख्रीष्टियानको हैसियतमा हाम्रो जीवनको प्रमुख उद्देश्‍य पनि यहोवाको इच्छाअनुसार गर्नु हो। (हिब्रू १०:७) अहिले सकेसम्म धेरै मानिसले यहोवासित मिलाप गरून्‌ भन्‍ने उहाँ चाहनुहुन्छ। त्यसैले येशू अनि पावलको अनुकरण गर्दै अहिले गर्नुपर्ने यो सबैभन्दा जरुरी काममा जोसका साथ लागौं। (w10-E 12/15)

[पृष्ठ २२-मा भएको चित्र]

के तपाईंलाई याद छ?

• पावल र अरू अभिषिक्‍त ख्रीष्टियानहरूलाई सुम्पिइएको “मिलापको सेवा” के थियो?

• अहिलेको “ग्रहणयोग्य समय”-लाई बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियानहरूले कसरी सदुपयोग गरेका छन्‌?

• ख्रीष्टियान प्रचारकहरू कसरी “आत्मामा जोशिलो” हुन सक्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएको चित्र]

पावलले दमीशक जाने बाटोमा भएको घटना र प्रभु येशू ख्रीष्टका शब्दहरू कहिल्यै बिर्सेनन्‌