शोकसन्तप्त व्यक्तिलाई येशूले जस्तै सान्त्वना दिनुहोस्
शोकसन्तप्त व्यक्तिलाई येशूले जस्तै सान्त्वना दिनुहोस्
बेथानीमा बस्ने लाजरस असाध्यै बिरामी परे। तिनका दिदीहरू मार्था र मरियमले आफ्ना घनिष्ठ मित्र येशूकहाँ सन्देशवाहकहरू पठाए। तर बिरामी लाजरस मरे। उनी चिहानमा भएको बेला साथी तथा छिमेकीहरू मार्था र मरियमलाई “सहानुभूति दिनालाई” आए। (यूहन्ना ११:१९) अन्ततः येशू बेथानी आइपुग्नुभयो र आफ्ना प्रिय साथीहरूलाई भेट्न जानुभयो। येशूले भन्नुभएको र गर्नुभएको कुरालाई विचार गर्दा शोकसन्तप्त व्यक्तिलाई कसरी सान्त्वना दिन सकिन्छ, त्यसबारे हामी पनि केही कुरा सिक्न सक्छौं।
तपाईंको उपस्थितिबाटै तपाईंको चासो देखिन्छ
बेथानीसम्म पुग्न येशूले यर्दन नदी पार गर्दै अनि यरीहोबाट ठाडो उकालो उक्लँदै लगभग दुई दिनको यात्रा गर्नुपर्थ्यो। येशूलाई अभिवादन गर्न मार्था तुरुन्तै बेथानीको बाहिरी इलाकासम्मै गइन्। पछि जब मरियमले पनि येशू आउनुभएको सुनिन् तब तिनी पनि उहाँलाई भेट्न हतारिंदै गइन्। (यूहन्ना १०:४०-४२; ११:६, १७-२०, २८, २९) शोकसन्तप्त दिदीहरूका लागि येशूको उपस्थिति निश्चय नै सान्त्वनाको स्रोत भयो।
आज पनि शोकमा डुबेकाहरूलाई हाम्रो उपस्थितिले त्यसरी नै सान्त्वना दिन सक्छ। दुर्घटनामा आफ्ना छ वर्षीय छोरा थिओ गुमाएका स्कट र लिडिया यसरी सम्झन्छन्: “हामीलाई परिवार र साथीहरूको आड चाहिएको थियो। उहाँहरू मध्यरातमा सीधै अस्पताल आउनुभयो।” ती साथीहरूले के भने? “त्यसबेला उहाँहरूले दुई-चार शब्द बोलिदिऊन् भन्ने आशा गरेका थिएनौं। उहाँहरूको उपस्थितिबाटै उहाँहरूको चासो देखिन्थ्यो।”
लाजरसको मृत्युको कारण रोइरहेकाहरूलाई देख्दा येशू “दुःखित हुनुभयो” र “रुनुभयो” भनी बाइबल बताउँछ। (यूहन्ना ११:३३-३५, ३८) लोग्ने मानिसले अरूको अगाडि आँसु झार्नु हुँदैन भन्ने धारणा येशूले राख्नुभएन। उहाँले तिनीहरूको पीडा महसुस गर्नुभयो र आफ्नो प्रिय जन गुमाउँदाको भावना बुझ्नुभयो। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? शोकसन्तप्त व्यक्तिलाई भेट्न जाँदा रोइरहेकाहरूसँग रुन हामीले लाज मान्नु पर्दैन। (रोमी १२:१५) अर्कोतर्फ शोकसन्तप्त व्यक्तिलाई आँसु झार्न लगाउनै पर्छजस्तो पनि नठान्नुहोस्। कोही-कोही एक्लै बसेर रुन चाहलान्।
चासो देखाउँदै सुन्नुहोस्
मार्था र मरियमलाई सान्त्वना मिल्ने केही शब्दहरू बोल्न येशू तयार हुनुहुन्थ्यो होला तर पहिला उहाँले तिनीहरूलाई नै बोल्न दिनुभयो। (यूहन्ना ११:२०, २१, ३२) मार्थासित बोल्दा येशूले एउटा प्रश्न सोध्नुभयो, त्यसपछि सुनेर बस्नुभयो।—यूहन्ना ११:२५-२७.
ध्यान दिएर सुन्यौं भने साँचो चासो देखिन्छ। शोकसन्तप्त व्यक्तिलाई सान्त्वना दिन हामीले ध्यान दिएर सुन्नुपर्छ। शोकसन्तप्त व्यक्तिलाई मनका कुराहरू पोख्न लगाउने प्रश्नहरू सोधेर हामी ध्यान दिएर सुन्ने व्यक्ति हौं भनी देखाउन सक्छौं। तर याद गर्नुहोस्, यदि तिनीहरू शान्त रहन चाहन्छन् भने कुराकानी गर्न कर नगर्नुहोस्। तिनीहरू असाध्यै थाकेकोले आराम गर्न चाहेका हुन सक्छन्।
शोकमा डुबेका व्यक्तिहरू भावशून्य हुन सक्छन् र कहिलेकाहीं एउटै कुरा दोहोऱ्याइरहलान्। कतिपयले आफ्नो भावना पोखाउलान्। मरियम र मार्थाले येशूलाई भने: “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो ता मेरो भाइ मर्ने थिएन।” (यूहन्ना ११:२१, ३२) येशूले के गर्नुभयो? उहाँले धैर्य गर्दै र चासो देखाउँदै सुन्नुभयो। कस्तो महसुस गर्नुहुन्छ वा कस्तो महसुस गर्नु हुँदैन, उहाँले त्यस्तो केही भन्नुभएन। यस्तो अवस्थामा एकदमै तीव्र र पीडादायी भावना आउन सक्छ भनी उहाँले बुझ्नुभएको थियो।
शोकसन्तप्त व्यक्तिलाई भेट्न जाँदा के भन्ने, त्यसबारे तपाईं अन्योलमा हुनुहुन्छ भने तिनले कुराकानी गर्न चाहेको खण्डमा आफू सुन्न तयार छु भनी बताउन सक्नुहुन्छ। त्यसपछि तिनले भनेको कुरालाई ध्यान दिएर सुन्नुहोस्, यताउता नअलमलिनुहोस्। सीधै त्यस व्यक्तिको अनुहारमा हेर्नुहोस् र तिनको भावना बुझ्ने कोसिस गर्नुहोस्।
शोकसन्तप्त व्यक्तिको भावना बुझ्नु एउटा चुनौती हो। लिडिया भन्छिन्, “हामीलाई चाहिएको कुरा सधैं एउटै हुँदैनथ्यो। हामीलाई भेट्न आउनेहरूको अगाडि कहिलेकाहीं आँसु थाम्न नसकेर बेसरी रुन्थ्यौं। अरूले हाम्रो कुरा बुझिदिएको चाहन्थ्यौं। हाम्रो भावना बुझिदिन साथीहरूले यथासक्दो गर्नुभयो।”
येशूले यससम्बन्धमा त्रुटिरहित व्यवहार गर्नुभयो। सबैको “आफ्नो दुःख वा कष्ट” हुन्छ भनी उहाँलाई थाह थियो। (२ इतिहास ६:२९) लाजरसका दुई दिदीहरूलाई येशूले भिन्नाभिन्नै प्रतिक्रिया देखाउनुभयो। मार्थाले कुराकानी गर्न बन्द गरिनन्, त्यसैले येशूले पनि तिनीसित कुराकानी गर्नुभयो। मरियमचाहिं रोइरहेकीले येशूले तिनीसित लामो कुराकानी गर्नुभएन। (यूहन्ना ११:२०-२८, ३२-३५) उहाँको उदाहरणबाट हामी के सिक्न सक्छौं? शोकसन्तप्त व्यक्तिले कुराकानी जता मोड्छन्, त्यसलाई नै साथ दिनु राम्रो हो। तिनीहरूले आफ्नो दुःख पोखाउँदा सुन्न इच्छुक भयौं भने तिनीहरूलाई ठूलो सान्त्वना मिल्न सक्छ।
निको पार्ने बोली
मरियम र मार्थाले येशूलाई “तपाईं यहाँ हुनुहुँदो हो ता” भन्दा उहाँले कसैलाई दोष लगाउनु भएन वा तिनीहरूले भनेको कुरालाई ठूलो बनाउनु भएन। बरु उहाँले मार्थालाई यस्तो आश्वासनदायी जवाफ दिनुभयो: “तिम्रो भाइ फेरि बिउँतनेछ।” (यूहन्ना ११:२३) यी थोरै शब्दहरूद्वारा येशूले तिनलाई भविष्यतर्फ ध्यान केन्द्रित गर्न मदत गर्नुभयो र तिनको भाइ बिउँतने आशा छ भनी दयालु ढङ्गमा सम्झाउनुभयो।
शोकसन्तप्त व्यक्तिसित दुई-चार शब्द मात्र बोलेको किन नहोस्, निष्कपट र सकारात्मक शब्दहरूले ठूलो प्रभाव पार्छ भनी नबिर्सनुहोस्। सान्त्वनादायी शब्दहरू बोल्न वा लेख्न सकिन्छ। पत्र तथा कार्डहरू फेरि-फेरि पनि पढ्न सकिने भएकोले त्यसले मृत्यु भएको धेरै पछिसम्म सान्त्वना दिन सक्छ। आफ्नो पति बबको मृत्यु भएको नौ महिनापछि क्याथले आफूले पाएका सम्पूर्ण कार्ड फेरि पढिन्। तिनी भन्छिन्, “त्यस समय यी कार्डहरूले मलाई अझ मदत गरेको अनुभव गरें। त्यतिबेला मैले साँच्चै सान्त्वना पाएँ।”
समवेदनाको छोटो नोटमा तपाईं के लेख्न सक्नुहुन्छ? मृतकसित समय बिताउँदाको कुनै एउटा अनुभव वा उक्त व्यक्तिको मूल्यवान् गुणबारे लेख्न सक्नुहुन्छ। क्याथ भन्छिन्, “बब र उहाँको स्वभावबारे लेखिएका दयालु शब्दहरूले मलाई हँसाउथ्यो अनि रुवाउँथ्यो पनि। उहाँबारे लेखिएका ठट्यौलीले मलाई खितखित हाँस्न र हामीले सँगै बिताएको सुखी जीवनको सम्झना गर्न लगाउँथ्यो। अहिले मलाई मूल्यवान् लाग्ने कार्डहरू बाइबल पदहरू समावेश गरिएका कार्डहरू हुन्।”
व्यावहारिक मदत दिनुहोस्
लाजरसको परिवारलाई मदत गर्न येशूले जे गर्नुभयो, त्यो हामी गर्न सक्दैनौ। उहाँले लाजरसलाई पुनर्जीवित पार्नुभयो। (यूहन्ना ११:४३, ४४) तर हामी आफ्नो क्षमताले भ्याउने व्यावहारिक कामहरू गर्न सक्छौं। जस्तै: खाना पकाइदिने, भेट्न आएकाहरूका लागि बसोबासको प्रबन्ध मिलाइदिने, लुगा धोइदिने, साना बच्चाहरूको हेरविचार गरिदिने, बाहिर गएर गर्नुपर्ने सानोतिनो काम गरिदिने वा यातायातको बन्दोबस्त मिलाइदिने। साँचो प्रेमसहित गरेको सानो कामको पनि शोकसन्तप्त व्यक्तिले असाध्यै कदर गर्नेछन् भन्ने कुरामा कुनै शङ्का छैन।
हो, शोकमा डुबेका व्यक्तिहरूलाई एक्लै बस्ने समय पनि चाहिन सक्छ। तैपनि तिनीहरूसित सम्पर्क गरिरहन तपाईंले उचित कदम चाल्न सक्नुहुन्छ। शोकसन्तप्त एउटी आमा भन्छिन्, “कति समयसम्म शोक गर्ने वा कहिलेसम्ममा सामान्य दिनचर्यामा फर्कने, त्यसको कुनै निश्चित समय हुँदैन।” कसै-कसैले शोकसन्तप्त व्यक्तिलाई तिनको विवाहको वार्षिकी वा मृत्यु भएको दिनजस्ता महत्त्वपूर्ण मितिमा सम्झने कोसिस गर्छन्। यस्तो गाह्रो समयमा सम्झिदिंदा तपाईं बहुमूल्य साथी बन्न सक्नुहुन्छ।—हितोपदेश १७:१७.
येशूले दिनुभएको सान्त्वनामा उहाँले आफ्ना चेलाहरूलाई दिनुभएको यो आशा पनि थियो: “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्, तर म तिनलाई निद्राबाट बिउँझाउनलाई जाँदैछु।” (यूहन्ना ११:११) येशूले आफ्ना अनुयायीहरूलाई मृतकहरूको पुनरुत्थान हुनेछ भनी विश्वस्त पार्नुभयो। उहाँले मार्थालाई सोध्नुभयो: “के तिमी यो विश्वास गर्छ्यौ?” तिनले भनिन्: “हो प्रभु।”—यूहन्ना ११:२४-२७.
येशूले मृतकहरूको पुनरुत्थान गर्नुहुनेछ भनी के तपाईं विश्वास गर्नुहुन्छ? गर्नुहुन्छ भने शोकसन्तप्त व्यक्तिहरूलाई यो बहुमूल्य आशा सुनाउनुहोस्। तिनीहरूलाई व्यावहारिक मदत गर्नुहोस्। तपाईंको बोली र व्यवहारबाट तिनीहरूले केही हदसम्म भए पनि सान्त्वना पाउनेछन्।—१ यूहन्ना ३:१८. (w10 -E 11/01)
[पृष्ठ ९-मा भएको चित्र]
(For fully formatted text, see publication)
सामरिया
पेरिया
यरीहो
यरूशलेम
बेथानी
यर्दन नदी
खारा समुद्र