साँचो उपासनाको लागि जोसिलो हुनुहोस्
साँचो उपासनाको लागि जोसिलो हुनुहोस्
“फसल . . . प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्।”—मत्ती ९:३७.
१. जरुरी काम पूरा गर्नुपर्दा कस्तो अवस्था हुन्छ?
एउटा महत्त्वपूर्ण कागजात भरे बेलुकीसम्ममा कसैकहाँ पुऱ्याउनुपर्ने छ। तपाईं के गर्नुहुन्छ? तपाईं खाममा “जरुरी!” लेखेर पठाउनुहुन्छ। अब अर्को अवस्था विचार गर्नुहोस्: एउटा महत्त्वपूर्ण कामको लागि तपाईंले कसैसित भेट्ने समय मिलाउनुभएको थियो तर त्यहाँ पुग्न ढिलो भइसक्यो। तपाईं के गर्नुहुन्छ? तपाईं चालकलाई भन्नुहुन्छ: “अलि छिटो चलाउनुस् न, मलाई साह्रै ढिलो भइसक्यो! फलानोलाई भेट्नु एकदमै जरुरी छ!” हो, कुनै काम सिध्याउनुपर्ने छ अनि त्यसको लागि समय धेरै छैन भने तपाईंलाई छटपटी हुन्छ र चिन्ता लाग्न थाल्छ। तपाईंको मुटु बेसरी ढुकढुक गर्न थाल्छ र हतारपतार त्यो काम भ्याउने प्रयास गर्नुहुन्छ। जरुरी काम गर्नुपऱ्यो वा हतार भयो भने यस्तै हुन्छ।
२. आज साँचो ख्रीष्टियानहरूले गर्नुपर्ने सबैभन्दा जरुरी काम के हो?
२ आज साँचो ख्रीष्टियानहरूले गर्नुपर्ने सबैभन्दा जरुरी काम परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नु र सबै देशका मानिसहरूलाई चेला बनाउनु हो। (मत्ती २४:१४; २८:१९, २०) येशूका शब्दहरू उद्धरण गर्दै मर्कूसले लेखे, अन्त हुनुअघि “पहिला” सुसमाचार प्रचार गर्नै पर्छ। (मर्कू. १३:१०) हो, त्यो काम पूरा गर्नै पर्छ। येशूले भन्नुभयो: “फसल . . . प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्।” कटनीको बेला ढिलासुस्ती गर्न मिल्दैन, बेलैमा बाली भित्र्याइहाल्नुपर्छ।—मत्ती ९:३७.
३. प्रचार गर्न जरुरी भएकोले धेरैले के गरेका छन्?
३ प्रचारकार्य हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण भएको हुँदा यसैमा आफ्नो भएभरको समय, शक्ति र ध्यान लगाउनुपर्छ। धेरैले यसै गरिरहेका छन् र यो सराहनीय कुरा हो। कोही-कोहीले अग्रगामी, मिसनरी वा बेथेल सेवकको रूपमा पूर्ण-समय सेवा गर्न आफ्नो व्यक्तिगत कामकुरामा छाँटकाँट गरेका छन्। तिनीहरूको जीवन साह्रै व्यस्त छ। तिनीहरूले धेरै कुरा त्याग गरेका होलान् अनि थुप्रै चुनौती पनि सामना गर्छन्। यद्यपि तिनीहरूले यहोवाबाट प्रशस्त आशिष् पाएका छन्। तिनीहरूलाई देख्दा हामीलाई खुसी लाग्छ। (लूका १८:२८-३० पढ्नुहोस्) अरू कतिपय भने पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्न सक्दैनन्। तैपनि तिनीहरू यस जीवनदायी काममा यथासम्भव धेरै समय बिताउँछन्, जसमा बच्नको लागि छोराछोरीलाई मदत दिने कार्य पनि समावेश छ।—व्यव. ६:६, ७.
४. कसै-कसैले अविलम्बी भाव गुमाउनुको कारण के हुन सक्छ?
४ जरुरी अर्थात् अविलम्बी भाव भनेको अक्सर म्याद, अन्तिम मिति वा अन्तसित जोडिएको हुन्छ भनेर हामीले माथिका अनुच्छेदहरूबाट बुझिसक्यौं। हामी अन्तको समयमा बाँचिरहेका छौं र यसलाई प्रमाणित गर्ने धर्मशास्त्रीय र ऐतिहासिक प्रमाण प्रशस्त छन्। (मत्ती २४:३, ३३; २ तिमो. ३:१-५) तैपनि अन्त आउने ठ्याक्क समय कोही मानिसलाई थाह छैन। “जगत्को अन्तको चिन्ह”-बारे विस्तृत विवरण दिंदा येशूले स्पष्टसित यसो भन्नुभयो: “त्यस दिन र घडीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले न पुत्रले, तर पिताले मात्र।” (मत्ती २४:३६) यसकारण वर्षौंदेखि अविलम्बी भाव कायम गर्दै आएकाहरूलाई त्यो जोस आगामी वर्षहरूमा पनि कायम राखिराख्न गाह्रो लाग्न सक्छ। (हितो. १३:१२) के तपाईंलाई पनि कहिलेकाहीं त्यस्तै लाग्छ? यहोवा परमेश्वर र येशू ख्रीष्टले हामीलाई अह्राउनुभएको काम पूरा गर्नको लागि अविलम्बी भाव जगाउन वा त्यसलाई कायम राख्न केले मदत गर्न सक्छ?
हाम्रो उदाहरण येशूलाई विचार गर्नुहोस्
५. सेवाको कामको सन्दर्भमा येशूले कसरी अविलम्बी भाव देखाउनुभयो?
५ परमेश्वरको सेवामा अविलम्बी भाव देखाएका व्यक्तिहरूमध्ये सबैभन्दा उत्कृष्ट उदाहरण येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले अविलम्बी भाव देखाउनुको एउटा कारण थियो, साढे तीन वर्षभित्र उहाँले धेरै काम गर्नुपर्ने थियो। तैपनि साँचो उपासनाको सन्दर्भमा अरू कसैले गरेको भन्दा धेरै काम येशूले पूरा गर्नुभयो। उहाँले आफ्नो बुबाको नाम र उद्देश्य अरूलाई थाह दिनुभयो, राज्यको सुसमाचार प्रचार गर्नुभयो, धर्मगुरुहरूको कपट र झूटा शिक्षाको पर्दाफास गर्नुभयो अनि मृत्युसम्मै यहोवाको सार्वभौमिकताको पक्षमा खडा हुनुभयो। उहाँ जहाँ-जहाँ जानुभयो, त्यहाँ-त्यहाँ मानिसहरूलाई सिकाउनुभयो, मदत गर्नुभयो अनि बिरामीलाई निको पार्नुभयो। (मत्ती ९:३५) यति थोरै समयमा त्यति धेरै काम अरू कसैले गरेको छैन। येशूले आफ्नो काम पूरा गर्न यथासक्दो गर्नुभयो।—यूह. १८:३७.
६. येशूको जीवन कुन कुरामा केन्द्रित थियो?
६ आफ्नो सेवाको कामको दौडान अथक प्रयास गर्न येशूलाई कुन कुराले उत्प्रेरित गऱ्यो? यहोवाको समयतालिकाअनुसार आफ्नो काम कति समयभित्र पूरा गर्नुपर्छ भनेर येशूले दानियलको भविष्यवाणीबाट थाह पाउनुभएको हुनुपर्छ। (दानि. ९:२७) त्यस भविष्यवाणीमा भनिएझैं पृथ्वीमा उहाँको सेवा ‘आधा हप्तापछि’ अर्थात् साढे तीन वर्षपछि अन्त हुनेथियो। इस्वी संवत् ३३ को वसन्त ऋतुमा हर्षोल्लासका साथ यरूशलेम प्रवेश गरेको अलिक समयपछि येशूले भन्नुभयो: “मानिसको पुत्रको महिमा हुने बेला आइपुगेको छ।” (यूह. १२:२३) येशूलाई आफ्नो मृत्यु नजिकै छ भनी थाह थियो। तैपनि उहाँले आफ्नो सम्पूर्ण ध्यान मृत्युमा केन्द्रित गर्नुभएन न त मृत्यु नजिक भएको कारणले नै उहाँले कडा मेहनत गर्नुभएको थियो। बरु उहाँको सम्पूर्ण ध्यान हरेक मौकामा आफ्नो बुबाको इच्छा पूरा गर्नु र सँगी मानवलाई प्रेम देखाउनुमा केन्द्रित थियो। यही प्रेमले गर्दा उहाँले चेलाहरू जम्मा गर्नुभयो, तिनीहरूलाई प्रशिक्षण दिनुभयो अनि प्रचार अभियानमा खटाउनुभयो। किन? किनभने उहाँले सुरु गर्नुभएको कामलाई तिनीहरूले निरन्तरता दिनुपर्ने थियो र उहाँले भन्दा अझ ठूलो काम गर्नुपर्ने थियो।—यूहन्ना १४:१२ पढ्नुहोस्।
७, ८. येशूले मन्दिरमा भइरहेको दुष्कर्म हटाउँदा चेलाहरूले कुन कुरा सम्झे अनि येशूले त्यस्तो कदम चाल्नुको कारण के थियो?
७ येशूले देखाएको जोसबारे उहाँको जीवनमा भएको एउटा घटनाले जोडदार प्रमाण दिन्छ। यो इस्वी संवत् ३० को निस्तार चाडको बेला अर्थात् पृथ्वीमा उहाँले आफ्नो सेवा थाल्नुभएको सुरु-सुरुतिरको घटना हो। येशू र उहाँका चेलाहरू यरूशलेम आउनुभयो अनि त्यहाँ मन्दिरमा “गोरु, भेडा र परेवा बेच्नेहरू र सराफीहरूलाई बसिरहेको” देख्नुभयो। येशूले के गर्नुभयो अनि यसले उहाँका चेलाहरूमा कस्तो छाप पाऱ्यो?—यूहन्ना २:१३-१७ पढ्नुहोस्।
८ येशूले त्यतिबेला जे भन्नुभयो र गर्नुभयो, त्यसले गर्दा उहाँका चेलाहरूले दाऊदले गाएको भजनको यो भविष्यसूचक वचन ठ्याक्क सम्झे: “तपाईंको घरको जोशले मलाई खाएको छ।” (भज. ६९:९) चेलाहरूले किन ठ्याक्क यही कुरा सम्झे? किनभने येशूले निकै खतरा मोलेर यस्तो कदम चाल्नुभएको थियो। मन्दिरमा भइरहेको नाफा कमाउने निन्दनीय व्यापारको पछाडि मन्दिरका अख्तियारवालाहरू—पूजाहारी, शास्त्री तथा अन्य व्यक्तिहरूको मिलेमतो थियो। तिनीहरूको दुष्कर्मको पर्दाफास गरेर अनि त्यस्तो दुष्कर्म रोकेर येशूले आफूलाई ती धर्मगुरुहरूको शत्रु बनाइरहनुभएको थियो। चेलाहरूले भनेझैं यस घटनामा ‘परमेश्वरको घरको जोस’ अर्थात् साँचो उपासनाको लागि जोस प्रस्ट देखियो। तर जोस भनेको के हो? के यो अविलम्बी भावभन्दा फरक छ?
अविलम्बी भाव र जोसबीचको भिन्नता
९. जोसको परिभाषा कसरी दिन सकिन्छ?
९ एउटा शब्दकोशले “जोस”-लाई “कुनै कुरा प्राप्त गर्नको लागि देखाइने उत्सुकता र व्यग्रता” भनी परिभाषित गरेको छ र यसका पर्यायवाची शब्दहरू हुन्: मनमा आउने फुर्ती, उत्साह, जाँगर, लगाब इत्यादि। येशूको सेवाको कामलाई यी शब्दहरूले सही ढङ्गमा व्याख्या गर्छ। नयाँ संशोधित संस्करण-ले उक्त पदलाई यसरी अनुवाद गरेको छ: “तपाईंका भवनको जोशले मलाई जलाएको छ।” त्यसैले येशूले मन्दिरमा जे गर्नुभयो, त्यो देखेपछि चेलाहरूले दाऊदका उक्त शब्दहरू सम्झनु कुनै छक्कलाग्दो कुरा होइन। तर येशूलाई यत्तिको जलाउने कुरा वास्तवमा के थियो अनि उहाँलाई त्यस्तो कदम चाल्न कुन कुराले उत्प्रेरित गऱ्यो?
१०. बाइबलमा प्रयोग भएको “जोस” शब्दको अर्थ के हो?
१० दाऊदको भजनमा जुन शब्दलाई “जोश” भनी अनुवाद गरिएको छ, त्यो हिब्रू शब्दबाट लिइएको हो र यसलाई बाइबलका अन्य पदहरूमा अक्सर “डाह” वा “डाही” भनेर अनुवाद गरिएको छ। यो शब्दलाई नयाँ विश्व अनुवाद-ले (अङ्ग्रेजी) कुनै-कुनै ठाउँमा ‘उहाँको मात्र भक्ति गरेको चाहने’ भनी अनुवाद गरेको छ। (प्रस्थान २०:५; ३४:१४; यहोशू २४:१९ पढ्नुहोस्) यो शब्द अक्सर पतिपत्नीबीचको सम्बन्धमा प्रयोग गरिन्छ। जसरी पति वा पत्नीले आफ्नो जोडी आफूप्रति मात्रै समर्पित भएको चाहनु उचित हो, त्यसरी नै परमेश्वर पनि आफ्ना जनहरूले उहाँको मात्रै भक्ति गरेको चाहनुहुन्छ र यो अधिकार उहाँ कसैलाई दिनुहुन्न।” त्यसैले बाइबलको भाषामा जोस भनेको खेलप्रेमीहरूले आफूलाई मनपर्ने खेलप्रति देखाउने लगाब वा उत्साह मात्र होइन। दाऊदले देखाएको जोसलाई कुनै प्रतिद्वन्द्व वा बदनाम नसहने, राम्रो नाम जोगाउन वा कुनै गलत कुरालाई सच्याउन देखाइने तीव्र चाहना भन्न सकिन्छ।
११. कडा मेहनत गर्न येशूलाई कुन कुराले उत्प्रेरित गऱ्यो?
११ येशूले मन्दिरमा जे गर्नुभयो, त्यो देखेपछि उहाँका चेलाहरूले यो घटना र दाऊदका शब्दहरू एकअर्कासित सम्बन्धित छन् भन्ने अनुमान लगाउनु सही थियो। आफूसित धेरै समय बाँकी नभएकोले मात्र येशूले कडा मेहनत गर्नुभएको थिएन तर उहाँ आफ्नो बुबाको नाम र साँचो उपासनाको लागि जोसिलो हुनुहुन्थ्यो। परमेश्वरको नामको बदनाम र निन्दा भएको देखेपछि उहाँले जोस देखाउनु उचित थियो र त्यो अवस्था सच्याउन उहाँले कदम चाल्नुभयो। धर्मगुरुहरूले नम्र मानिसहरूलाई थिचोमिचो गरेको अनि उनीहरूबाट नाजायज फाइदा उठाएको येशूले देख्नुभयो। त्यसैले आफ्नो जोसले गर्दा उहाँ मानिसहरूलाई राहत दिन अनि ती दमनकारी धर्मगुरुहरूको कडा शब्दमा भर्त्सना गर्न उत्प्रेरित हुनुभयो।—मत्ती ९:३६; २३:२, ४, २७, २८, ३३.
साँचो उपासनाको लागि जोसिलो हुनुहोस्
१२, १३. अहिले चर्चजगत्का पादरीहरूले (क) परमेश्वरको नाम कसरी बदनाम गरेका छन्? (ख) परमेश्वरको राज्यबारे के सिकाएका छन्?
१२ अहिले परमेश्वरको उपासक भनाउँदाहरूको मनोवृत्ति र व्यवहार येशूको समयका मानिसहरूको भन्दा खराब छैन भने पनि उस्तैचाहिं पक्कै छ। उदाहरणको लागि, येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनुभएको पहिलो बुँदा परमेश्वरको नामसित सम्बन्धित थियो भनेर सायद तपाईंले सम्झनुभएको होला। उहाँले भन्नुभयो: “तपाईंको नाउँ पवित्र गरिओस्।” (मत्ती ६:९) के अहिलेका धर्मगुरुहरूले, अझ खास गरी चर्चजगत्का पादरीहरूले मानिसहरूलाई परमेश्वरको व्यक्तिगत नामले चिन्न, उहाँको नाम पवित्र पार्न वा त्यसको आदर गर्न सिकाइरहेका छन्? पटक्कै छैनन्! बरु त्रिएक, अमर आत्मा अनि नरकजस्ता गलत कुरा सिकाएर परमेश्वरको वास्तविक चिनारीलाई धमिल्याइदिएका छन्। यस्ता गलत शिक्षाले गर्दा उहाँ रहस्यमय, बुझ्नै नसकिने, कठोर अनि अरूले दुःख पाउँदा रमाउने परमेश्वरजस्तो देखिनुभएको छ। ती धर्मगुरुहरूको लज्जास्पद आचरण अनि कपटले गर्दा पनि परमेश्वरको नाम बदनाम भएको छ। (रोमी २:२१-२४ पढ्नुहोस्) साथै तिनीहरूले परमेश्वरको व्यक्तिगत नाम लुकाउन सक्दो प्रयास गरेका छन्, यहाँसम्म कि कतिपय बाइबल अनुवादबाट परमेश्वरको नामै हटाएका छन्। यसरी तिनीहरूले मानिसहरूलाई परमेश्वरको नजिक हुन अनि उहाँसित घनिष्ठ सम्बन्ध गाँस्नदेखि रोकिरहेका छन्।—याकू. ४:७, ८.
१३ येशूले आफ्ना अनुयायीहरूलाई परमेश्वरको राज्यबारे यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” (मत्ती ६:१०) हुनत चर्चजगत्का धर्मगुरुहरूले त्यो प्रार्थना अक्सर दोहोऱ्याउँछन् तर मानिसहरूलाई भने राजनैतिक वा अन्य मानव सङ्गठनहरूलाई समर्थन गर्न आग्रह गर्छन्। त्यति मात्र होइन, यस राज्यबारे प्रचार गर्न अनि यसबारे साक्षी दिन प्रयास गर्ने मानिसहरूलाई कुनै मोलको ठान्दैनन्। फलस्वरूप ख्रीष्टियान भनाउँदा थुप्रैले परमेश्वरको राज्यबारे कुरै गर्दैनन्, त्यसमा विश्वास गर्नु त परै जाओस्।
१४. चर्चजगत्का पादरीहरूले परमेश्वरको वचनलाई कसरी फितलो बनाएका छन्?
१४ परमेश्वरलाई प्रार्थना गर्दा येशूले प्रस्टैसित यसो भन्नुभयो: “तपाईंको वचन सत्य हो।” (यूह. १७:१७) आफ्ना जनहरूलाई आध्यात्मिक भोजन दिन “विश्वासी र बुद्धिमान् दास” नियुक्त गर्नेछु भनी येशूले स्वर्ग जानुअघि सङ्केत गर्नुभयो। (मत्ती २४:४५) ‘ख्रीष्टले नियुक्त गरेको भण्डारे हामी नै हौं’ भनेर चर्चजगत्का पादरीहरूले हत्त न पत्त दाबी गरिहाले तापनि के तिनीहरू प्रभुले सुम्पनुभएको कामप्रति वफादार साबित भएका छन्? छैनन्। तिनीहरू बाइबलको कुरा केवल दन्त्यकथा वा मनगढन्ते हुन् भन्न पछि पर्दैनन्। आफ्नो बगाललाई आध्यात्मिक भोजन दिएर सान्त्वना र ज्ञान प्रदान गर्नुको साटो मानिसहरूले सुन्न रुचाउने मानव दर्शनजस्ता कुराहरू सुनाएर ती धर्मगुरुहरूले बगाललाई मक्ख पारेका छन्। साथै कथित नयाँ नैतिकतासित सुहाउँदो शिक्षा सिकाउन तिनीहरूले परमेश्वरको नैतिक स्तरलाई फितलो बनाएका छन्।—२ तिमो. ४:३, ४.
१५. पादरीहरूले परमेश्वरको नाममा जे-जति गरेका छन्, त्यो देख्दा तपाईंलाई कस्तो लाग्छ?
१५ बाइबलको परमेश्वरको नाममा भनेर जे-जति गरिएका छन्, त्यसले गर्दा निष्कपट मानिसहरू अलमल्लमा परेका छन् वा तिनीहरूले परमेश्वर र बाइबललाई विश्वास गर्नै छाडेका छन्। तिनीहरू शैतान र त्यसको दुष्ट रीतिरिवाजको पासोमा परेका छन्। यस्ता कुराहरू दिनदिनै भइरहेको देख्दा अनि सुन्दा तपाईंलाई कस्तो लाग्छ? परमेश्वरको नामको बदनाम र निन्दा भएको देख्दा यहोवाका सेवकको हैसियतमा के तपाईंलाई त्यस्तो गलत कार्य जसरी भए पनि सच्याइहालुँ जस्तो लाग्दैन र? निष्कपट अनि इमानदार हृदय भएका मानिसहरूलाई झुक्याएको अनि तिनीहरूको नाजायज फाइदा उठाएको देख्दा ती थिचोमिचोमा परेका मानिसहरूलाई सान्त्वना दिन तपाईं जुरमुरिनुहुन्न र? आफ्नो समयका मानिसहरू “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर” भएको देख्दा येशू केवल दयाले भरिनुभएन, उहाँले “तिनीहरूलाई धेरै कुराको शिक्षा दिन लाग्नुभयो।” (मत्ती ९:३६; मर्कू. ६:३४) साँचो उपासनाको लागि हामी पनि येशूजस्तै जोसिलो हुनुपर्ने हर कारण छ।
१६, १७. (क) सेवाको काममा कडा मेहनत गर्न हामीलाई कुन कुराले उत्प्रेरित गर्नुपर्ने हो? (ख) यसपछिको लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?
१६ हामी सेवाको काममा जोसिला छौं भने १ तिमोथी २:३, ४ मा लेखिएको प्रेरित पावलका शब्दहरूले गहन अर्थ राख्छ। (पढ्नुहोस्) अन्तको समयमा बाँचिरहेका छौं भनेर थाह पाएकोले मात्र होइन तर परमेश्वरको इच्छा यही हो भनी बुझेको हुँदा हामी सेवाको काममा कडा परिश्रम गर्छौं। मानिसहरूले सत्यको ज्ञान पाऊन् अनि तिनीहरूले पनि परमेश्वरको उपासना र सेवा गरेर उहाँबाट आशिष् पाऊन् भन्ने परमेश्वर चाहनुहुन्छ। हामी सेवाको काममा जोडतोडले लाग्नुको मुख्य कारण समय थोरै भएकोले होइन तर हामी परमेश्वरको नामको आदर गर्न चाहन्छौं र साथै मानिसहरूलाई उहाँको इच्छाबारे सिक्ने मदत दिन चाहन्छौं। हामी साँचो उपासनाको लागि जोसिलो हुन्छौं।—१ तिमो. ४:१६.
१७ यहोवाका जनको हैसियतमा हामीले मानिसजाति र पृथ्वीको लागि परमेश्वरको उद्देश्य के हो भनेर बुझेका छौं। कसरी आनन्दित हुन सकिन्छ अनि भविष्यको लागि पक्का आशा कसरी पाउन सकिन्छ भनेर हामी मानिसहरूलाई बुझाउन सक्छौं। शैतानको रीतिरिवाजको विनाश गरिंदा कसरी सुरक्षित हुन सकिन्छ भनी हामी मानिसहरूलाई बाटो देखाइदिन सक्छौं। (२ थिस्स. १:७-९) त्यसैले यहोवाको दिन आउन ढिलो भयो जस्तो लागेर दिक्क मान्नु वा निरुत्साहित हुनुको साटो साँचो उपासनाको लागि जोसिलो हुने समय अझै बाँकी छ भनेर हामी खुसी हुन सक्छौं। (मीका ७:७; हब. २:३) हामी यस्तो जोस कसरी विकास गर्न सक्छौं? यो प्रश्नको जवाफ यसपछिको लेखमा छलफल गर्नेछौं। (w10-E 12/15)
के तपाईं बुझाउन सक्नुहुन्छ?
• सेवाको काममा अथक प्रयास गर्न येशूलाई कुन कुराले उत्प्रेरित गऱ्यो?
• बाइबलमा प्रयोग गरिएको “जोश” शब्दको अर्थ के हो?
• आफू वरपर देख्ने कस्ता कुराले गर्दा हामी साँचो उपासनाको लागि जोसिलो हुन उत्प्रेरित हुन्छौं?
[प्रश्नहरू]
[पृष्ठ १६-मा भएको चित्र]
आफ्नो बुबाको इच्छा गर्नु र सँगी मानवहरूलाई प्रेम देखाउनुमा येशूको जीवन केन्द्रित थियो
[पृष्ठ १८-मा भएको चित्र]
साँचो उपासनाको लागि जोसिलो हुनुपर्ने हर कारण हामीसित छ