सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नकारात्मक भावनासित तपाईं कसरी लड्‌न सक्नुहुन्छ?

नकारात्मक भावनासित तपाईं कसरी लड्‌न सक्नुहुन्छ?

नकारात्मक भावनासित तपाईं कसरी लड्‌न सक्नुहुन्छ?

के तपाईंलाई कहिल्यै नकारात्मक भावनाले पिरोलेको छ? हुन पनि नकारात्मक भावनाले नपिरोलिने को नै होला र? हामी बाँचिरहेको समय आर्थिक कठिनाइ, व्यापक हिंसा र घोर अन्यायले भरिएको छ। यसकारण थुप्रै मानिसहरू अत्यधिक उदास हुनु, आफूलाई चाहिनेभन्दा पनि बढी दोषी ठान्‍नु र आफूलाई अयोग्य महसुस गर्नु कुनै अचम्मको कुरा होइन।

यस्ता भावनाहरू खतरनाक हुन सक्छन्‌। यसले हाम्रो आत्म-विश्‍वास चालै नपाई कमजोर बनाउन सक्छ, तर्क गर्ने क्षमतालाई काम नलाग्ने बनाउन सक्छ र आनन्द खोस्न सक्छ। बाइबल यसो भन्छ: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्‌को दिनमा तँ झन्‌ कति असहाय हुनेछस्‌।” (हितोपदेश २४:१०) दुःखै-दुःखले भरिएको यस संसारमा बाँच्न हामीलाई बल चाहिन्छ। त्यसैकारण नकारात्मक भावनालाई वशमा राख्नै पर्छ। a

नकारात्मक भावनाको सामना गर्ने केही उत्तम तरिका बाइबलमा बताइएको छ। निराशाको बोझले दबिएर वा केही आशा नभएको ठानेर तपाईंले लत्तो छोडेको जीवनका सृष्टिकर्ता र संरक्षक यहोवा परमेश्‍वर चाहनुहुन्‍न। (भजन ३६:९) नकारात्मक भावनासित लड्‌न उहाँको वचनले हामीलाई मदत गर्न सक्ने तीन वटा तरिका विचार गरौं।

परमेश्‍वरले तपाईंमा चासो राख्नुहुन्छ भन्‍नेबारे सजग हुनुहोस्‌

परमेश्‍वर अरू नै कुराहरूमा व्यस्त हुनुहुन्छ, त्यसैकारण हाम्रा व्यक्‍तिगत भावनाहरूलाई ध्यान दिने समय उहाँसित छैन भनी केही व्यक्‍तिहरू सोच्छन्‌। के तपाईंलाई पनि त्यस्तै लाग्छ? वास्तवमा हाम्रा सृष्टिकर्ताले हाम्रा भावनाहरूमा चासो राख्नुहुन्छ भन्‍ने आश्‍वासन बाइबलले दिन्छ। भजनहारले यसो भने: “टुटेका हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१८) हामी दुःखमा हुँदा ब्रह्‍माण्डका सर्वोच्च र सार्वभौम व्यक्‍ति हाम्रो नजिक हुनुहुन्छ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी!

परमेश्‍वर भावशून्य वा हाम्रो चासै नराख्ने हुनुहुन्‍न। “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनी बाइबल बताउँछ। (१ यूहन्‍ना ४:८) उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ र कष्टमा परेकाहरूको दुःख बुझ्नुहुन्छ। उदाहरणका लागि, आजभन्दा लगभग ३,५०० वर्षअघि मिश्र देशमा इस्राएलीहरू दासत्वमा छँदा उहाँले भन्‍नुभयो: “मिश्रमा भएका मेरा प्रजाको दु:ख मैंले देखेको छु, र कामदारीहरूका अत्याचारमा तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, किनकि तिनीहरूको दु:ख मलाई थाह छ। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो . . . देशमा ल्याउनलाई म ओर्लिएको छु।”—प्रस्थान ३:७, ८.

परमेश्‍वरलाई हाम्रो भावनात्मक बनोट राम्ररी थाह छ। आखिर, “उहाँलेनै हामीलाई बनाउनुभएको हो, र हामी उहाँकै हौं।” (भजन १००:३) त्यसैले अरू मानिसहरूले हाम्रो कुरा नबुझेको जस्तो लागे तापनि परमेश्‍वरले भने पक्कै बुझ्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। परमेश्‍वरको वचन यसो भन्छ: “परमप्रभुले मानिसले झैं हेर्दैनन्‌। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।” (१ शमूएल १६:७) हाम्रा भित्री भावनाहरू समेत परमेश्‍वरबाट छिपेका छैनन्‌।

हुन त, यहोवालाई हाम्रा गल्ती र कमीकमजोरी पनि थाह छ। तर हाम्रा मायालु सृष्टिकर्ता क्षमाशील हुनु भएकोमा हामी कृतज्ञ हुन सक्छौं। परमेश्‍वरको प्रेरणा पाएर बाइबलको केही भाग लेखेका दाऊदले यसो भने: “जसरी बाबुले आफ्ना छोराछोरीहरूलाई टिठाउँछन्‌, त्यसरी उहाँसँग डराउनेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ। किनभने उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनहुन्छ।” (भजन १०३:१३, १४) हामीले आफूप्रति जस्तो दृष्टिकोण राख्छौं, परमेश्‍वरले पनि त्यस्तै दृष्टिकोण राख्नुहुन्छ भन्‍ने छैन। हामीले आफ्ना पापहरूको लागि पश्‍चाताप गऱ्‍यौं भने उहाँ हामीमा भएको असल कुरा हेर्नुहुन्छ र खराब कुराको वास्ता गर्नुहुन्‍न।—भजन १३९:१-३, २३, २४.

त्यसैले आफू अयोग्य छु भन्‍ने भावनाले सताउँदा हामी त्यस्ता भावनाहरूविरुद्ध लड्‌न कटिबद्ध हुनै पर्छ। परमेश्‍वरले हामीलाई कसरी हेर्नुहुन्छ त्यो हामीले बिर्सनु हुँदैन।—१ यूहन्‍ना ३:२०.

परमेश्‍वरसित तपाईंको मित्रतालाई अझ घनिष्ठ बनाउँदै लैजानुहोस्‌

परमेश्‍वरले हामीलाई जसरी हेर्नुहुन्छ आफूलाई हामीले पनि त्यसरी नै हेऱ्‍यौं भने कस्तो लाभ उठाउँछौं? नकारात्मक भावनामाथि विजयी हुन चाल्नुपर्ने अर्को कदम चाल्न सजिलो हुनेछ र त्यो कदम हो, परमेश्‍वरसितको मित्रतालाई अझ घनिष्ठ बनाउनु। के त्यसो गर्न साँच्चै सम्भव छ?

मायालु बुबा यहोवा परमेश्‍वर उहाँसितको हाम्रो मित्रतालाई अझ घनिष्ठ बनाउन मदत गर्न उत्सुक हुनुहुन्छ। बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकूब ४:८) यो आश्‍चर्यजनक सत्य विचार गर्नुहोस्‌: हामी कमजोर र पापी भए तापनि ब्रह्‍माण्डकै सर्वोच्च व्यक्‍तिसित न्यानो व्यक्‍तिगत मित्रता गाँस्न सक्छौं।

हामीले उहाँलाई एक जना वास्तविक व्यक्‍तिको रूपमा चिन्‍न सकोस्‌ भनेर परमेश्‍वरले आफूलाई बाइबलमार्फत प्रकट गर्नुभएको छ। नियमित तवरमा बाइबल पढेर हामी परमेश्‍वरका आकर्षक गुणहरूबारे सिक्न सक्छौं। b त्यसरी पाएको ज्ञानमाथि मनन गरेर हामी सधैं यहोवासित घनिष्ठ भएको महसुस गर्न सक्नेछौं। उहाँ वास्तवमा मायालु र करुणामय बुबा हुनुहुँदो रहेछ भनेर अझ राम्ररी बुझ्न सक्नेछौं।

बाइबलमा पढेका कुराहरूबारे गहिरिएर सोच्दा हामीलाई अझ धेरै फाइदा पुग्छ। स्वर्गमा बस्ने बुबाका विचारहरूले हाम्रो मन-मस्तिष्क भर्दा र त्यसले हामीलाई सुधार्न, सान्त्वना दिन तथा डोऱ्‍याउन दिंदा हामी उहाँसित झनै घनिष्ठ हुन्छौ। विशेषगरि चिन्तित पार्ने वा हाम्रो शान्ति खोस्ने विचार र भावनाले हामीलाई पिरोलिरहेको छ भने त्यसो गर्नुपर्छ। यो कुरालाई भजनहारले यसरी बताएका छन्‌: “म अत्यन्त चिन्तीत र हडबडिएको थिएँ तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!” (भजन ९४:१९, पढ्‌न सजिलो संस्करण) हामीलाई परमेश्‍वरको वचनले निकै सान्त्वना दिन सक्छ। उहाँबाट आएको सत्यको सन्देश नम्र भई स्वीकाऱ्‍यौं भने बिस्तारै नकारात्मक भावनाको सट्टा परमेश्‍वरले मात्र दिन सक्नुहुने सान्त्वना र शान्ति महसुस गर्न सक्नेछौं। एक जना मायालु आमा अथवा बुबाले चित्त दुखाएको वा खिन्‍न भएको छोराछोरीलाई सान्त्वना दिएझैं यहोवा हामीलाई सान्त्वना दिनुहुन्छ।

परमेश्‍वरको मित्र बन्‍ने अर्को तरिकामा उहाँसित नियमित कुराकानी गर्नु समावेश छ। “परमेश्‍वरको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ” भनेर बाइबलले हामीलाई आश्‍वासन दिन्छ। (१ यूहन्‍ना ५:१४) जस्तोसुकै डर वा चिन्ता-फिक्री किन नहोस्‌, हामी परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँसित मदत माग्न सक्छौं। आफ्नो मन खोलेर सबै कुरा परमेश्‍वरलाई बतायौं भने हामीले मनोशान्ति पाउँछौं। प्रेषित पावलले लेखे: “हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। अनि परमेश्‍वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले ख्रीष्ट येशूद्वारा तिमीहरूको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.

नियमित रूपमा बाइबल अध्ययन, मनन र व्यक्‍तिगत प्रार्थना गर्दा स्वर्गमा बस्नुहुने बुबासितको आफ्नो सम्बन्ध झन्‌-झनै घनिष्ठ हुँदै गइरहेको तपाईंले पाउनुहुनेछ। यस्तो सम्बन्ध नकारात्मक भावनाविरुद्ध लड्‌ने एउटा शक्‍तिशाली हतियार हो। यसबाहेक अरू केले हामीलाई मदत गर्न सक्छ?

भविष्यको पक्का आशामा ध्यान केन्द्रित गर्नुहोस्‌

गाह्रोभन्दा गाह्रो अवस्थामा समेत हामी असल कुराहरूमा ध्यान लगाउन सक्छौं। कसरी? परमेश्‍वरले हामीलाई भविष्यको लागि एउटा पक्का आशा दिनुहुन्छ। यो अद्‌भुत आशाबारे प्रेषित पत्रुसले छोटकरीमा यसरी बताए: “हामी परमेश्‍वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दैछौं, जसमा न्यायले बास गर्छ।” (२ पत्रुस ३:१३) यसको अर्थ के हो?

“नयाँ आकाश” भन्‍ने अभिव्यक्‍तिले एउटा सरकारलाई बुझाउँछ। परमेश्‍वरको यो स्वर्गीय राज्य येशू ख्रीष्टले चलाउनुहुन्छ। “नयाँ पृथ्वी”-ले चाहिं पृथ्वीमा भएको एउटा नयाँ मानव समाजलाई बुझाउँछ जसले परमेश्‍वरको अनुमोदन पाएको हुन्छ। “नयाँ आकाश”-ले शासन गर्दा, त्यो नयाँ पार्थिव समाजमा नकारात्मक भावना उत्पन्‍न गराउने कुनै पनि कुरा हुनेछैन। परमेश्‍वरले त्यतिबेलाका विश्‍वासी मानिसहरूको “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ” भनेर बाइबलले आश्‍वासन दिन्छ।—प्रकाश २१:४.

यी शब्दहरू मनोरम र प्रोत्साहनजनक छन्‌ भनेर तपाईं पक्कै पनि सहमत हुनुहुन्छ होला। त्यसैकारण परमेश्‍वरले साँचो ख्रीष्टियनहरूलाई दिनुभएको यो भावी आशालाई बाइबलले “सुखद आशा” भनी बताउँछ। (तीतस २:१३) मानिसजातिको भविष्यबारे परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरूमा र ती किन भरपर्दा अनि पक्का छन्‌ भन्‍ने कुरामा ध्यान लगायौं भने नकारात्मक भावना हटाउन सक्नेछौं।—फिलिप्पी ४:८.

बाइबलले उद्धारको हाम्रो आशालाई टोपसित तुलना गर्छ। (१ थिस्सलोनिकी ५:८) प्राचीन समयमा कुनै पनि सिपाहीले टोपविना लडाइँमा उत्रने हिम्मत गर्दैनथ्यो। टोपले अरूले गरेको प्रहारलाई निस्तेज पार्नेछ र आफूतर्फ आइरहेका काँडहरू टोपमा लागी अन्तै उछिट्टिनेछ भनी उसलाई थाह हुन्थ्यो। टोपले टाउकोलाई जोगाएझैं आशाले सोच्ने क्षमतालाई जोगाउँछ। हामीलाई आशा दिने कुराबारे सोचिरह्‍यौं भने नकारात्मक, डर उत्पन्‍न गराउने र निराशावादी सोचाइ हटाउन सक्नेछौं।

त्यसैकारण नकारात्मक भावनासित लड्‌न सम्भव छ। हो, तपाईं त्यससित लड्‌न सक्नुहुन्छ! परमेश्‍वरले तपाईंलाई कसरी हेर्नुहुन्छ त्यसबारे सोच्नुहोस्‌, उहाँसित घनिष्ठ हुनुहोस्‌ र भविष्यको आशामा ध्यान केन्द्रित गर्नुहोस्‌। त्यसो गर्दा नकारात्मक भावना सदाका लागि अन्त हुने दिन देख्ने कुरामा तपाईं ढुक्क हुन सक्नुहुन्छ!—भजन ३७:२९. (w10-E  10/01)

[फुटनोटहरू]

a लामो समयसम्म वा अचाक्ली निराश भइरहेमा योग्य डाक्टरसँग परामर्श लिनु आवश्‍यक पर्न सक्छ।—मत्ती ९:१२.

b अगस्त १, २००९ को प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) बाइबल पढाइका लागि व्यावहारिक र उपयोगी तालिका पाइन्छ।

[पृष्ठ २५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“तिनीहरूको दु:ख मलाई थाह छ।” प्रस्थान ३:७, ८

[पृष्ठ २६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“म अत्यन्त चिन्तीत र हडबडिएको थिएँ तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!” भजन ९४:१९, पढ्‌न सजिलो संस्करण

[पृष्ठ २७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“परमेश्‍वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले . . . तिमीहरूको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।” फिलिप्पी ४:७

[पृष्ठ २७-मा भएको पेटी/चित्र]

यहोवा परमेश्‍वरबारे सान्त्वानादायी शास्त्रपदहरू

“परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।”—प्रस्थान ३४:६.

“जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।”—२ इतिहास १६:९.

“टुटेका हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।”—भजन ३४:१८.

“हे परमप्रभु, तपाईं भलो र क्षमा गर्ने हुनुहुन्छ।”—भजन ८६:५.

“परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र उहाँका कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छन्‌।”—भजन १४५:९.

“म, परमप्रभु तेरा परमेश्‍वरले तँलाई यसो भनेर तेरो दाहिने हात समात्‌नेछु, ‘नडरा, म तँलाई सहायता गर्नेछु।’”—यशैया ४१:१३.

“हाम्रा . . . परमेश्‍वर र बुबा धन्यका होऊन्‌। उहाँ कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ।”—२ कोरिन्थी १:३.

“हाम्रो मनले हामीलाई कुनै कुरामा दोषी ठहरायो भने पनि हामी यो कुरा नबिर्सौं, कि परमेश्‍वर हाम्रो मनभन्दा महान्‌ हुनुहुन्छ र उहाँलाई सबै कुरा थाह छ।”—१ यूहन्‍ना ३:१९, २०.

[पृष्ठ २८-मा भएको पेटी/चित्र]

उनीहरू सफलतासाथ नकारात्मक भावनासित डटिरहेका छन्‌

“मेरो बुबा मद्यव्यसनी हुनुहुन्छ र उहाँको कारण मैले धेरै दुःख भोग्नुपऱ्‍यो। मलाई आफू कुनै कामको छैन भन्‍ने भावनाले सताएको धेरै भइसक्यो। तर यहोवाको एक जना साक्षीसित बाइबल अध्ययन गर्न थालेपछि मैले पृथ्वीमा अनन्त जीवनको प्रतिज्ञाबारे सिकें। यो आशाले गर्दा मेरो मन-मस्तिष्क आनन्दले भरियो। बाइबल पढाइ मेरो जीवनको एउटा अभिन्‍न भाग बन्यो। म सधैं आफूसँगै बाइबल राख्छु। नकारात्मक भावनाले सताउँदा म बाइबल निकालेर सान्त्वनादायी शास्त्रपदहरू पढ्‌छु। परमेश्‍वरका आकर्षक गुणहरूबारे पढ्‌दा म उहाँको नजरमा अमूल्य छु भन्‍ने आश्‍वासन पाउन सकेकी छु।”—काटिया, ३३ वर्षीया स्त्री। c

“म रक्सी, गाँजा र कोकिन सेवन गर्ने अनि गम सुँघ्ने कुलतमा फसेको थिएँ। आफूसित भएको लगभग सबै कुरा गुमाएपछि म माग्ने भएँ। तर यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने प्रस्ताव स्वीकारेपछि मैले आफ्नो जीवन पूर्णतया परिवर्तन गरें। मैले परमेश्‍वरसित नजिकको सम्बन्ध गाँस्न सकें। हुन त, अझै पनि दोषी र अयोग्य भावनासित मैले लड्‌नुपर्छ तैपनि मैले परमेश्‍वरको कृपा र दयामा भर पर्न सिकेको छु। नकारात्मक भावनामाथि विजयी हुन चाहिने बल परमेश्‍वरले मलाई दिइरहनुहुन्छ भनेर म पक्का छु। मैले जिन्दगीमा अनुभव गरेको सबैभन्दा उत्तम कुरा बाइबलको सच्चाइ सिक्न पाउनु हो।”—रनाटो, ३७ वर्षीय पुरुष।

“सानैदेखि म आफूलाई आफ्नो दाइसित तुलना गर्ने गर्थें। मलाई सधैं आफू उहाँ जत्तिको योग्य नभएको महसुस हुन्थ्यो। अझै पनि म असुरक्षित महसुस गर्छु र आफ्ना योग्यताहरूमाथि शङ्‌का गर्छु। तैपनि यो युद्धमा विजयी हुने सङ्‌कल्प मैले गरेकी छु। मैले यहोवालाई निरन्तर प्रार्थना गरेकी छु र उहाँले मलाई अयोग्यताको भाव हटाउन मदत गर्नुभएको छ। परमेश्‍वरले मलाई साँच्चै माया गर्नुहुन्छ र मेरो चासो राख्नुहुन्छ भनेर थाह पाउनु हृदयस्पर्शी छ!”—रोबर्टा, ४५ वर्षीया स्त्री।

[फुटनोट]

c केही नामहरू परिवर्तन गरिएका छन्‌।