सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वर ‘महान्‌ कार्यहरू गर्नुहुने’ हुनुहुन्छ भनेर मैले थाह पाएँ

परमेश्‍वर ‘महान्‌ कार्यहरू गर्नुहुने’ हुनुहुन्छ भनेर मैले थाह पाएँ

परमेश्‍वर ‘महान्‌ कार्यहरू गर्नुहुने’ हुनुहुन्छ भनेर मैले थाह पाएँ

मरिस राजको वृत्तान्तमा आधारित

दोस्रो विश्‍वयुद्धको एउटा अत्यन्तै भयङ्‌कर आक्रमणबाट बच्न अरू हजारौं आप्रवासीहरूको साथमा मेरो परिवार पनि आफ्नो ठाउँ छोडेर भाग्यो। बर्माको घना जङ्‌गलमा हामीले कयौं दिन यात्रा गऱ्‍यौं अनि राती हाम्रो बास रूखमुनि हुने गर्थ्यो। त्यतिबेला म नौ वर्षको थिएँ। मैले आफ्नो डाढमा बोकेको सानो पोको नै मेरो सम्पत्ति थियो। तर यो त दुःखको सुरुवात मात्र थियो।

यो कुरा सन्‌ १९४२ को हो। संसार युद्धमा होमिएको थियो र हामीतर्फ अघि बढ्‌दै आइरहेको जापानी सेनाबाट हामी भाग्दै थियौं। अहिले म्यानमार भनिने बर्मालाई आक्रमण गरेर उनीहरूले भर्खरै मात्र यनान्जाउङका तेलका कुवाहरूमाथि कब्जा जमाएका थिए। हामी भारतको सिमानामा पुग्नुअघि नै उनीहरूले हामीलाई उछिने अनि जबरजस्ती फर्काइदिए।

म बच्चा छँदा हामी यनान्जाउङमा बस्थ्यौं र मेरो बुबा त्यहींको बर्मा आयल कम्पनीमा काम गर्नुहुन्थ्यो। जापानीहरूले कब्जा जमाएपछि प्रशस्त तेलका कुवाहरू भएको यनान्जाउङ बेलायती बमवर्षक विमानहरूको मुख्य निशाना बन्यो। एक पटकको कुरा हो, हाम्रो चारैतिर बम विस्फोट भएकोले हाम्रो परिवार तीन दिनसम्म सुरुङमा बस्नुपऱ्‍यो। अन्तमा हामी एउटा डुङ्‌गा चढेर अयार्वाडी वा इरावाडी नदीको किनारमा अवस्थित सानो सहर सलेतर्फ भाग्यौं। जिउँदो रहेकोमा हामी कृतज्ञ भयौं र युद्ध नसिद्धिउन्जेल बाँकी समय त्यहीं बितायौं।

एउटा दुःखद घटनाले सत्यतर्फ डोऱ्‍याउँछ

दोस्रो विश्‍वयुद्ध सिद्धिएको वर्ष अर्थात्‌ सन्‌ १९४५ मा मेरो भाइको जन्म भयो। बुढेसकालमा सन्तान जन्मिएकोले मेरो बुबाको खुट्टा भुइँमा थिएन। तर उहाँको यो खुसी धेरै समय टिकेन। तीन महिनापछि नै मेरो भाइको मृत्यु भयो। यही घटनाको शोकको कारण केही समयपछि मेरो बुबाको पनि मृत्यु भयो।

आफूसँगै राख्न परमेश्‍वरले मेरो बुबा र भाइलाई स्वर्ग लैजानुभएको हो भनेर चिनेजानेकाहरूले मलाई सान्त्वना दिन खोजे। मलाई उनीहरू भएकै ठाउँमा गएर सँगै बस्न खूब इच्छा लाग्थ्यो! मेरो परिवार क्याथोलिक चर्चमा जाने गर्थ्यो र मैले प्रारम्भिक धार्मिक शिक्षा त्यहीं नै पाएँ। पादरी र ननहरू सोझै स्वर्ग जान्छन्‌ तर अरूहरू भने आफ्नो पाप कटाउन केही समय पापमोचन स्थानमा बस्नुपर्छ भनेर मलाई सिकाइएको थियो। बुबा र भाइसित फेरि भेट्‌ने अठोटका साथ मैले हामी बस्ने ठाउँबाट लगभग २१० किलोमिटर टाढा पर्ने मम्योको (अहिलेको पिन यू ल्वीन) क्याथोलिक धर्मपीठमा जाने मनस्थिति बनाएँ।

धर्मपीठमा भर्ना हुन राम्रो स्कूले शिक्षा पाएको हुनुपर्थ्यो। तर आप्रवासी भएको कारण म दुई वर्ष मात्र स्कूल गएको थिएँ। त्यसपछि युद्धको दौडान सबै स्कूलहरू बन्द भए। पछि स्कूलहरू त फेरि खुले तर हाम्रो परिवारको आर्थिक अवस्था असाध्यै नाजुक थियो। मेरी आमाले हामी तीन दाजुभाइको मात्र होइन तर बितिसक्नुभएकी हाम्री सानीमाका तीन जना कलिला छोराछोरीको पनि हेरविचार गर्नुपर्थ्यो। उहाँले आफ्ना छोराहरूलाई स्कूल पठाउने खर्च व्यहोर्न सक्नुहुन्‍नथ्यो।

मेरो दाइ काममा जानुहुन्थ्यो तर म मात्र १३ वर्षको केटोले के नै गर्न सक्थें र! मेरो काका म्यानुएल नाथन सले सहर नजिकैको अर्को सहर चाउकमा बस्नुहुन्थ्यो। मैले सोचें, ‘मैले घर छोडें भने कमसेकम एउटा भए पनि खाने मुख त घट्‌छ।’ त्यसैले आफ्नो काकासित बस्न म चाउकतिर लागें।

मेरो काकाको भर्खरै मात्र यहोवाका साक्षीहरूसित भेटघाट हुन थालेको रहेछ अनि उहाँलाई बाइबलबारे आफूले पाएको नयाँ ज्ञान कति खेर अरूलाई बताऊँ झैं भइरहेको रहेछ। उहाँले प्रभुको प्रार्थनाको अर्थदेखि सुरु गरेर सबै कुरा बिस्तारै बुझाउन थाल्नुभयो। प्रभुको प्रार्थना यसरी सुरु हुन्छ: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌।”—मत्ती ६:९, १०, RV.

“त्यसैले परमेश्‍वरको नाम छ र उहाँको नाम यहोवा हो,” मेरो काकाले भन्‍नुभयो। त्यसपछि उहाँले मलाई बाइबलबाट परमेश्‍वरको नाम देखाउनुभयो। म अझ बढी सिक्न चाहन्थें तर मलाई आफ्नो मातृभाषा तामिलसमेत राम्ररी पढ्‌न आउँदैनथ्यो। त्यसमाथि मेरो काकासित भएको बाइबल र बाइबलआधारित साहित्यहरू अङ्‌ग्रेजीमा थिए। मैले स्कूले शिक्षा धेरै नपाएको भए तापनि अलिअलि गर्दै बाइबलका शिक्षाहरू बुझ्न थालें। (मत्ती ११:२५, २६) मलाई पहिला सिकाइएका धेरै शिक्षाहरू बाइबलमा आधारित रहेनछन्‌ भनेर मैले बुझ्न थालें। अन्ततः मैले भने: “काका, सत्य यही हो!”

सोह्र वर्षको हुँदादेखि मैले आफूले सिकेका कुराहरू अरूलाई बताउन थालें। त्यतिबेला म्यानमारमा ७७ जना मात्र साक्षीहरू थिए। त्यसको केही समयपछि नै अहिले यङ्‌गुन भनिने राजधानी सहर रङ्‌गुनबाट रबर्ट कर्क नामका मिसनरी मेरो काकालाई भेट्‌न चाउक आए। मैले आफ्नो जीवन यहोवामा समर्पण गरिसकें भनेर रबर्टलाई बताएँ। त्यसैले परमेश्‍वरमा आफ्नो जीवन समर्पण गरेको प्रतीकस्वरूप डिसेम्बर २४, १९४९ मा मैले अयार्वाडी नदीमा बप्तिस्मा गरें।

अवरोधहरू छिचोल्दै

त्यसको केही समयपछि उपयुक्‍त जागिरको खोजीमा म मन्डले सरें। मेरो लक्ष्य यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक अर्थात्‌ अग्रगामी बन्‍नु थियो। एक दिन फुटबल म्याच हेरिरहेको बेला म अचानक काम्दै ढलें। मलाई छारे रोग लागेको रहेछ अनि राम्रो हेरविचार पाउनका लागि म आफ्नो परिवारकहाँ फर्कनुपर्ने भयो।

आठ वर्षसम्म यो रोगले मलाई बेलाबेलामा सतायो। स्वास्थ्यस्थितिमा अलि सुधार आएपछि मैले सानोतिनो जागिर खान सकें। मेरो अवस्थाको कारण मेरी आमाले मलाई पूर्ण-समय सेवक बन्‍नदेखि रोक्न खोज्नुहुन्थ्यो तर एक दिन मैले उहाँलाई भनें: “अब म पर्खन सक्दिनँ। म अग्रगामी बन्‍न चाहन्छु। मेरो हेरविचार यहोवाले गर्नुहुन्छ!”

सन्‌ १९५७ मा म यङ्‌गुन सरें र अग्रगामी गर्न थालें। अचम्मको कुरा, लगभग ५० वर्षसम्म अर्थात्‌ सन्‌ २००७ सम्म ममा एक पटक पनि छारे रोग देखा परेन। अहिले औषधी खाएकोले यो नियन्त्रणमा छ। सन्‌ १९५८ मा म विशेष अग्रगामी नियुक्‍त भएँ। विशेष अग्रगामीले प्रचारकार्यमा हरेक महिना १५० घण्टा बिताउनुपर्थ्यो।

मलाई सबैभन्दा पहिले यङ्‌गुनदेखि झन्डै ११० किलोमिटर उत्तर-पश्‍चिममा पर्ने योन्शा गाउँमा खटाइयो। त्यहाँको एउटा सानो समूहले हाम्रो बाइबलआधारित साहित्य पढेको थियो र तिनीहरू अझ धेरै बुझ्न चाहन्थे। रबर्ट र म त्यहाँ पुग्दा ठूलो भीड जम्मा भयो। बाइबलबारे तिनीहरूले सोधेका थुप्रै प्रश्‍नहरूको जवाफ हामीले दियौं र बाइबलआधारित सभाहरू कसरी सञ्चालन गर्ने भनेर देखायौं। केही समयपछि तिनीहरूमध्ये कोही-कोहीले हामीसँगै प्रचार गर्न थाले। मलाई त्यही गाउँमा बस्न अह्राइयो। केही महिना नबित्दै उक्‍त सानो समूह एउटा प्रगतिशील मण्डली बन्यो। आज त्यस इलाकामा १५० भन्दा धेरै साक्षीहरू छन्‌।

पछि मलाई म्यानमारका सबै मण्डली र पृथक समूहहरूको भ्रमण गर्ने परिभ्रमण सेवक नियुक्‍त गरियो। मैले टन्‍न भारी बोकेको ट्रकमाथि चढेर धुलाम्मे सडकमा कयौं किलोमिटर यात्रा गरें, जङ्‌गलको बाटो भएर हिंडें, डुङ्‌गा चढेर नदीको यात्रा गरें अनि पैदलै डाँडाकाँडा पार गरें। शारीरिक रूपमा बलियो नभए तापनि सेवाको काममा लागिरहन यहोवाबाट बल पाएको मैले महसुस गरें।—फिलिप्पी ४:१३.

“यहोवाले तपाईंलाई मदत गर्नुहुनेछ”

सन्‌ १९६२ मा मलाई यङ्‌गुनमा अवस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा खटाइयो र मैले त्यहाँ रबर्टबाट अलिअलि प्रशिक्षण पाएँ। केही समयपछि नै सरकारी अख्तियारवालाहरूले सबै विदेशी मिसनरीहरूलाई म्यानमार छोड्‌ने आदेश दिए अनि यसको केही हप्ताभित्रै तिनीहरू सबै गए। शाखा कार्यालयको निरीक्षण गर्ने जिम्मेवारी मेरो काँधमा आउँदा म अचम्ममा परें।

मैले सोचें: ‘मैले लेखपढ गरेको छैन अनि मेरो केही अनुभव पनि छैन। मैले यो काम कसरी गर्न सक्छु र?’ म अतालिएको देखेर केही पाका भाइहरूले मलाई यसो भने: “मरिस, तपाईं नआतिनुस्‌। यहोवाले तपाईंलाई मदत गर्नुहुनेछ। अनि हामी सबै जना तपाईंको साथमा छौं।” तिनीहरूको कुरा सुनेर म एकदमै ढुक्क भएँ! केही महिनापछि यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९६७-मा (अङ्‌ग्रेजी) छाप्नका लागि मैले म्यानमारमा भइरहेको प्रचारसम्बन्धी गतिविधिको वार्षिक रिपोर्ट तयार पार्नुपर्ने भयो। त्यसपछिका ३८ वर्षसम्म मैले म्यानमारको वार्षिक रिपोर्ट तयार पारें। यहोवाले हाम्रो कामलाई साँच्चै डोऱ्‍याइरहनुभएको छ भनेर एक चोटि मात्र होइन तर बारम्बार विभिन्‍न घटनाहरूद्वारा स्पष्टसित बुझ्न सकें।

उदाहरणका लागि, मैले म्यानमारको नागरिकताको लागि आवदेन दिएको थिएँ तर नगारिकताको प्रमाण-पत्र प्राप्त गर्नुअघि तिर्नुपर्ने ४५० क्याट a नभएकोले पैसा भएपछि लिऊँला भनेर बसिरहेको थिएँ। त्यतिकैमा एक दिनको कुरा हो, वर्षौंअघि काम गरेको आफिसको बाटो भएर हिंडिरहेको बेला मेरो पहिलेको हाकिमले मलाई देखेछन्‌। तिनले मलाई यसो भन्दै बोलाए: “ए राज, आएर तिम्रो पैसा लैजाऊ। जागिर छोड्‌दा तिमीले सञ्चय कोषको पैसा निकाल्न बिर्सेछौ।” उक्‍त रकम ४५० क्याट रहेछ।

त्यो ४५० क्याटले के-के गर्न सक्छु भनेर सोच्दै म त्यस अफिसबाट निस्किएँ। तर यो रकम ठ्याक्कै मेरो नागरिकताको प्रमाण-पत्र लिन चाहिने जति भएकोले मैले यो त्यसैको लागि चलाएको यहोवा चाहनुहुन्छ जस्तो लाग्यो। अनि मेरो यो निर्णय असाध्यै लाभदायी साबित भयो। म्यानमारको नागरिक भएकोले त्यस देशमा बस्न, निष्फिक्री आवत्‌जावत्‌ गर्न, साहित्यहरू आयात गर्न र हाम्रो प्रचारकार्यसम्बन्धी अन्य महत्त्वपूर्ण कामहरू गर्न सक्थें।

उत्तरमा भएको अधिवेशन

सन्‌ १९६९ मा उत्तरी म्यानमारको मिट्‌किना सहरमा हाम्रो काम जोडतोडले अघि बढिरहेको थियो। त्यसैले हामीले त्यही सहरमा अधिवेशन गर्ने निर्णय गऱ्‍यौं। तर हाम्रो लागि सबैभन्दा ठूलो चुनौतीको कुरा भनेको दक्षिणी भागका सबै साक्षीहरूका लागि यातायातको प्रबन्ध मिलाउनु थियो। हामीले प्रार्थना गऱ्‍यौं र रेलका छ वटा डिब्बा रिजर्भ गर्न म्यानमार रेलवेजसँग अनुमति माग्यौं। हामीले बुझाएको निवेदन स्वीकृत हुँदा हामी तीनछक पऱ्‍यौं।

समयमा, अधिवेशनको सबै तयारी सिद्धियो। अधिवेशनमा उपस्थित हुनेहरू आउने दिनमा उनीहरूलाई लिन हामी मध्यान्हतिर रेल स्टेसन गयौं; रेल भने दिउँसो साढे दुई बजे आउनेवाला थियो। उनीहरूलाई पर्खिरहेको बेला स्टेसन-मास्टरले हामीलाई यस्तो लेखिएको टेलिग्राम थमाए: “हामीले वाच टावर सोसाइटीका छ वटा डिब्बाहरू रेलबाट छुटाएका छौं।” डाँडाको उकालो बाटोमा रेलले ती थप डिब्बाहरू तान्‍न नसकेको कुरा तिनले हामीलाई बताए।

अब के गर्ने? सुरुमा त हामीले अधिवेशनको मिति सार्ने विचार गऱ्‍यौं। तर त्यसको लागि फेरि अर्को निवेदन बुझाउनुपर्थ्यो र अनुमति पाउन हप्तौं कुर्नुपर्थ्यो। हामीले व्यग्रता साथ यहोवालाई प्रार्थना गरिरहेकै बेला रेल आइपुग्यो। एकछिन त सपना हो कि जस्तो लाग्यो—सबै छ वटा डिब्बा साक्षीहरूले भरिएको थियो! तिनीहरू मुस्कुराउँदै हात हल्लाइरहेका थिए। खासमा के भएको रहेछ भनेर हामीले सोध्दा तिनीहरूमध्ये एक जनाले यस्तो जवाफ दिए: “तिनीहरूले छ वटा डिब्बा छुटाउन त छुटाए तर हाम्रो चाहिं होइन!”

सन्‌ १९६७ देखि १९७१ बीचमा साक्षीहरूको सङ्‌ख्या दोब्बर भएर झन्डै ६०० पुग्यो। त्यसपछि सन्‌ १९७८ मा शाखा कार्यालय दुई तले भवनमा सऱ्‍यो। त्यसको बीस वर्षमा साक्षीहरूको सङ्‌ख्या बढेर २,५०० भन्दा धेरै पुग्यो। शाखा कार्यालयको भवनलाई अझ विस्तार गरियो र जनवरी २२, २००० मा अमेरिकाबाट परिचालक निकायका सदस्य जोन ई. बार आए र अहिले कार्यालय र आवासको लागि प्रयोग भइरहेको तीन तले भवनको समर्पण भाषण दिए।

पाएका आशिष्‌हरूलाई फर्केर हेर्दा

अहिले ५२ जना स्वयम्‌सेवक यङ्‌गुनको शाखा कार्यालयमा बसेर काम गर्छन्‌ अनि यस देशमा ७४ वटा मण्डली र समूहहरूमा ३,५०० साक्षीहरूले सेवा गरिरहेका छन्‌। अर्को खुसीको कुरा, मेरी प्यारी आमा पनि सन्‌ १९६९ मा आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि यहोवाको साक्षी बन्‍नुभयो।

सन्‌ १९६० दशकको बीचतिर एक जना स्थानीय अग्रगामी डोरिस बा ए अनुवादकको काम गर्न हाम्रो शाखा कार्यलयमा आइन्‌। सन्‌ १९५९ मा तिनी यहोवाका साक्षीहरूको मिसनरीलाई प्रशिक्षण दिने वाचटावर बाइबल स्कूल अफ गिलियडको ३२ औं कक्षामा उपस्थित भएकी थिइन्‌। तिनको सुन्दरता, हँसिलो स्वभाव र गहिरो आध्यात्मिक समझले मलाई मन्त्रमुग्ध पाऱ्‍यो। हामीले सन्‌ १९७० मा विवाह गऱ्‍यौं। अहिलेसम्म हामी यहोवा र एकअर्काप्रति वफादार छौं।

यस देशमा भइरहेको प्रचारकार्यमा परमेश्‍वरको हात भएको कुरा छ दशकभन्दा लामो समयदेखि मैले देख्दै आएको छु। हो, उहाँ साँच्चै महान्‌ र प्रशंसायोग्य हुनुहुन्छ। मैले आफ्नो जीवनभर अनुभव गरेझैं उहाँ ‘महान्‌ कार्यहरू गर्नुहुने’ हुनुहुन्छ।—भजन १०६:२१. (w10-E 12/01)

[फुटनोट]

a त्यतिबेलाको सटही दरअनुसार यो ९५ अमेरिकी डलर बराबर थियो, जुन ठूलै रकम हो।

[पृष्ठ ११-मा भएको चित्र]

सन्‌ १९५७ तिर बर्माको रङ्‌गुनमा प्रचारकार्यमा भाग लिंदै

[पृष्ठ १२-मा भएको चित्र]

सन्‌ १९७० दशकको अन्ततिर बर्माको कालेमोमा भएको अधिवेशन जाँदै

[पृष्ठ १३-मा भएको चित्र]

सन्‌ २००० मा विस्तार गरिएको हाम्रो सुन्दर नयाँ शाखा कार्यालय भवन

[पृष्ठ १३-मा भएको चित्र]

डोरिससित आज

[पृष्ठ १३-मा भएको चित्र]

घर-घरको प्रचारकार्यमा सँगै भाग लिंदै