सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बोलीचालीको भाषामा बाइबल

बोलीचालीको भाषामा बाइबल

बोलीचालीको भाषामा बाइबल

बाइबल मानिसजातिलाई परमेश्‍वरले दिनुभएको वचन हो भनेर तपाईं विश्‍वास गर्नुहुन्छ भने यसको मतलब हो, परमेश्‍वरले हामीसित कुराकानी गरिरहनुभएको छ। . . . यदि तपाईंको धर्मले तपाईंको जीवनको हर पक्षमा प्रभाव पार्छ भने यसको अर्थ [बाइबल] पक्कै पनि बोलीचालीको भाषामा उपलब्ध छ।” यो कुरा शास्त्रविद्‌ आलन डुथीले आफ्नो किताब बाइबल अनुवाद: अनि कसरी राम्रो अनुवाद रोज्ने-मा (अङ्‌ग्रेजी) लेखेका हुन्‌।

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो सिकाउन, सुधार्न, सच्याउन र परमेश्‍वरको स्तरबमोजिम अनुशासन दिनका लागि उपयोगी छ” भनेर परमेश्‍वरको वचनलाई प्रेम गर्नेहरू एक मत भई पूरा विश्‍वास गर्छन्‌। (२ तिमोथी ३:१६) बाइबल, अहिले हाम्रो जमानामा काम नलाग्ने धार्मिक रीतिथितिहरूको किताब त पक्कै होइन। यो “जीवित र प्रबल” छ अनि यसले दैनिक जीवनमा आइपर्ने समस्याहरूको साँचो समाधान दिन्छ। (हिब्रू ४:१२) तर साधारण बोलीचालीको भाषा प्रयोग गरिएको छ भने मात्र पाठकहरूले यस पवित्र किताब पढेर बुझ्न अनि त्यसलाई आफ्नो जीवनमा लागू गर्न सक्छन्‌। हुन पनि, बाइबलको नयाँ नियम भनेर चिनिने भाग, प्लेटोजस्ता दार्शनिकहरूले प्रयोग गर्ने प्राचीन ग्रीकमा होइन, बोलीचालीको ग्रीक अर्थात्‌ कोइनेमा लेखिएको थियो। हो, जनसाधारणले पढेर बुझून्‌ भन्‍ने हेतुले बाइबल लेखिएको थियो।

त्यसकारण हालैका वर्षहरूमा विभिन्‍न भाषामा अनुवाद गरिएको बाइबलमा हामी बोलीचालीको आधुनिक भाषा चलाइएको पाउँछौं। यसको परिणाम राम्रो भएको छ। धेरै मानिसले आफ्नै भाषामा बाइबल पढ्‌न पाएका छन्‌। तर यीमध्ये प्रायजसो बाइबलले सत्यलाई जस्ताको तस्तै सही र एकरूप ढङ्‌गले अनुवाद गर्न भने पटक्कै सकेका छैनन्‌। उदाहरणको लागि, मरेका मानिसहरूको अवस्था, आत्मा शब्दको सही अर्थ र साँचो परमेश्‍वरको नामबारे बाइबलले सिकाउने स्पष्ट शिक्षालाई कुनै-कुनै अनुवादले अस्पष्ट बनाउन खोजेका छन्‌।

त्यसकारण नेपाली भाषामा न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्‍चियन ग्रीक स्क्रिप्चर्स विमोचन भएकोमा परमेश्‍वरको वचनलाई प्रेम गर्नेहरू पक्कै पनि खुसी छन्‌। नेपालीमा यसको शीर्षक हो: पवित्र बाइबल—नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म)। बोलीचालीको आधुनिक भाषा चलाएर अनुवाद गरिएको यो बाइबल यहोवाका साक्षीहरूद्वारा सन्‌ २०१०, नोभेम्बर ११-१३ मा काठमाडौंमा आयोजित “यहोवासित नजिक भइरहनुहोस्‌!” जिल्ला अधिवेशनमा परिचालक निकायका सदस्य एन्थोनी मोरिस्‌द्वारा विमोचन गरिएको थियो। यस अनुवादमा धर्मको नाममा कुनै झूटा कुरा मिसाइएको छैन। अनि अरू अनुवादहरूको तुलनामा यसले एकदमै सही अनुवाद गरेको छ। त्यसैले बाइबल सुरुमा जुन भाषामा लेखिएको थियो, त्यसबारे ज्ञान नभएकाहरूले समेत अब यस अनुवादद्वारा बाइबलको गहिरो ज्ञान हासिल गर्न सक्छन्‌। तर तपाईंलाई लागिरहेको होला, यस्तो उल्लेखनीय अनुवाद कसले गरेका होलान्‌?

परमेश्‍वरलाई महिमा दिने अनुवादकहरू

नेपालीभाषीहरूको लागि यो अनुवाद नौलो भए तापनि सन्‌ १९५० को हाराहारीदेखि नै यो उपलब्ध थियो। बाइबल प्रकाशनको लामो इतिहास बोकेको एउटा अन्तरराष्ट्रिय बाइबल सोसाइटी अर्थात्‌ वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा त्यतिबेला यो बाइबल अङ्‌ग्रेजी भाषामा विमोचन गरिएको थियो। यस नयाँ अनुवादको शीर्षक स्वयम्‌ नै अरू अनुवादभन्दा फरक थियो। बाइबललाई दुई भागमा छुट्ट्याउन “नयाँ” र “पुरानो” नियम भन्‍ने पहिलेदेखि चलिआएको चलनलाई तोड्‌दै यस नयाँ अनुवादले भने भिन्‍नै खाले शीर्षक प्रयोग गर्ने साहस गऱ्‍यो। सेप्टेम्बर १५, १९५० को प्रहरीधरहरा-ले (अङ्‌ग्रेजी) यसो भन्यो: “अनुवाद समितिका सदस्यहरूले . . . बेनामी रहने अनि आफ्नो नाम जीवित छँदा वा मृत्युपछि समेत प्रकाशित नगरिदिन विशेष इच्छा जाहेर गरेका छन्‌। यो अनुवादको उद्देश्‍य जीवित साँचो परमेश्‍वरको नाम महिमित गर्नु हो।”

न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स अर्थात्‌ बाइबलको सम्पूर्ण भाग भने सन्‌ १९६१ मा अङ्‌ग्रेजी भाषामा विमोचन गरियो। यसका अनुवादकहरूको नाम आजको दिनसम्म अज्ञात नै रहे तापनि तिनीहरूको मनसाय वा तिनीहरूको भक्‍तिको गहिराइबारे प्रश्‍न उठाउन सक्ने कुनै ठाउँ छैन। अङ्‌ग्रेजी भाषामा प्रकाशित सन्‌ १९८४ संस्करणको प्राक्कथनमा यसो भनिएको थियो: “पवित्र धर्मशास्त्र अनुवाद गर्नु भनेको यहोवाको सोचाइ अनि भनाइलाई अर्को भाषामा व्यक्‍त गर्नु हो। . . . नयाँ संसार अनुवाद-का अनुवादकहरू पवित्र धर्मशास्त्रको ग्रन्थकार, परमेश्‍वरको डर मान्छन्‌ र उहाँलाई प्रेम गर्छन्‌। त्यसैले उहाँको सोचाइ अनि उहाँले गर्नुभएका घोषणाहरूलाई सकेसम्म सही अनुवाद गर्नु तिनीहरू आफूलाई सुम्पिइएको विशेष जिम्मेवारी सम्झन्छन्‌।”

अनुवाद समितिका ती सदस्यहरूसित यस्तो असल मनसाय त छँदै थियो तर के तिनीहरूसित यो काम गर्न सक्ने योग्यता पनि थियो? यसका अनुवादकहरूको नाम अनि शैक्षिक योग्यता प्रकाशित नगरिएको हुनाले केही असन्तुष्ट शास्त्रविद्‌हरूले तिनीहरूको कृतिलाई सिकारुहरूको कामको रूपमा मात्र लिन सकिन्छ भनी तर्क गरेका छन्‌। तर सबै शास्त्रविद्‌ले यस्तो अव्यावहारिक अडान लिएका छैनन्‌। आलन एस. डुथी यस्तो लेख्छन्‌: “कुनै बाइबलको अनुवादक वा प्रकाशकहरू को हुन्‌ भनी थाह पाउँदैमा के त्यसले हामीलाई तिनीहरूको अनुवाद राम्रो छ कि छैन भनी ठम्याउन मदत गर्छ र? गर्छ नै भन्‍ने छैन। प्रत्येक अनुवादको विशेषता केलाएर हेर्नुबाहेक अर्को विकल्प छैन।” a

बाइबलका हजारौं पाठकहरूले त्यसै गरेका छन्‌। हालसम्म नयाँ संसार अनुवाद-को पूरै वा आंशिक भाग ९२ भाषामा संसारभरि १६,५१,३६,६८५ प्रति छापिइसकेको छ। थुप्रैले यो अनुवादमा के नयाँ कुरा पाएका छन्‌?

परमेश्‍वरको नाम पवित्र पार्ने अनुवाद

येशूले मत्ती ६:९ मा चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्‌।” तर प्रायजसो अनुवादमा परमेश्‍वरको नाम लेख्नुको साटो उहाँलाई “परमेश्‍वर” वा “परमप्रभु” भन्‍ने उपाधि मात्र दिइएको छ। तर मौलिक हिब्रू धर्मशास्त्रमा भने परमेश्‍वरको व्यक्‍तिगत नाम “यहोवा” हो भनेर झन्डै ७,००० चोटि उल्लेख गरेको पाइन्छ। (प्रस्थान ३:१५; भजन ८३:१८) तर पछि अन्धविश्‍वासले गर्दा यहूदीहरूले परमेश्‍वरको नाम प्रयोग गर्न छोडे। येशूका चेलाहरूको मृत्यु भएपछि यही अन्धविश्‍वासले ख्रीष्टियन मण्डलीलाई पनि असर गऱ्‍यो। (यी पदहरूसित तुलना गर्नुहोस्‌: प्रेषित २०:२९, ३०; १ तिमोथी ४:१) धर्मशास्त्रको ग्रीक अंशको प्रतिलिपि उतार्ने व्यक्‍तिहरूले परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवाको ठाउँमा किरिओसथिओस-जस्ता ग्रीक शब्दहरू प्रयोग गर्न थाले जसको अर्थ हो, “परमप्रभु” र “परमेश्‍वर।”

खुसीको कुरा, नयाँ संसार अनुवाद-ले मत्तीदेखि प्रकाशमा जहाँ-जहाँ पहिल्यैदेखि यहोवा भन्‍ने नाम थियो, ती २३७ ठाउँमा उहाँको नाम पुनर्स्थापना गर्ने साहसी कदम चालेको छ। अनुवादकहरूले आफूखुसी होइन तर निकै गहिरो अध्ययन गरेपछि यी २३७ ठाउँमा यहोवाको नाम पुनर्स्थापना गरेका हुन्‌। उदाहरणको लागि, लूका ४:१८ मा यशैया ६१:१ का शब्दहरू उद्धरण गरिएको छ। मौलिक हिब्रू धर्मशास्त्रमा, यशैयाको उक्‍त पदमा यहोवा भन्‍ने नाम पाइन्छ। b त्यसैले नयाँ संसार अनुवाद-मा लूका ४:१८ लाई यसरी अनुवाद गरिएको छ: “यहोवाको पवित्र शक्‍ति ममाथि छ। किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।”

यस्तो सही अनुवादले गर्दा पाठकहरूलाई यहोवा परमेश्‍वर र उहाँको एक मात्र छोरा येशू ख्रीष्टबीचको भिन्‍नता छुट्ट्याउन सजिलो भएको छ। उदाहरणको लागि, प्रायजसो बाइबलमा मत्ती २२:४४ लाई यसरी अनुवाद गरिएको छ: “प्रभुले मेरा प्रभुलाई भन्‍नुभयो।” यस पदमा चलाइएको प्रभु शब्दमध्ये कुनले यहोवालाई अनि कुनचाहिंले येशूलाई बुझाउँछ? वास्तवमा यो पद भजन ११०:१ को उद्धरण हो र मौलिक हिब्रू धर्मशास्त्रको उक्‍त पदमा परमेश्‍वरको नाम पाइन्छ। त्यसैले नयाँ संसार अनुवाद-ले यो पद यसरी अनुवाद गरेको छ: “यहोवाले मेरा प्रभुलाई भन्‍नुभयो: ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि नराखुन्जेल मेरो दाहिने हाततिर बस।’” यहोवा परमेश्‍वर र उहाँको छोरा भिन्‍नाभिन्‍नै व्यक्‍ति हुनुहुन्छ भनेर धर्मशास्त्रबाट बुझ्नु महत्त्वहीन अध्ययनको विषय होइन। (मर्कूस १३:३२; यूहन्‍ना ८:१७, १८; १४:२८) तर हरेक व्यक्‍तिले आफ्नो उद्धारको लागि यो भिन्‍नता बुझ्नु अत्यावश्‍यक छ। किनकि प्रेषित २:२१ यसो भन्छ: “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”

सही र स्पष्ट

नयाँ संसार अनुवाद-का अन्य उल्लेखनीय पक्षहरू पनि छन्‌। यसको अङ्‌ग्रेजी संस्करण वेस्टकोर्ट तथा हर्टको अत्यन्तै परिष्कृत ग्रीक मूललिपिलाई आधार बनाएर तयार पारिएको हो। यसले सरल अनि आधुनिक भाषा चलाएर मौलिक ग्रीक शास्त्रको सकेसम्म सही अनि शाब्दिक अनुवाद गर्ने ठूलो प्रयास गरेको छ। फलतः पाठकहरूले अब यो अनुवाद पढेर मौलिक बाइबलको मिठास अनि विशेषताको स्वाद लिनुका साथै थुप्रै कुराहरू बुझ्न सक्छन्‌।

उदाहरणको लागि, रोमी १३:१ विचार गर्नुहोस्‌, जहाँ प्रेषित पावलले “उच्च अख्तियारवालाहरूको” अर्थात्‌ सरकारको अधीनमा रहनू भनेका छन्‌। उक्‍त पदलाई धेरैजसो बाइबलले त्यस्तो सरकार “परमेश्‍वरबाट खटिएका हुन्छन्‌” वा “परमेश्‍वरबाटै नियुक्‍त भएका हुन्‌” भनी अनुवाद गरेका छन्‌। (RV70; NRV) केही शासकहरूले बाइबलका यस्ता पदहरूलाई आधार बनाएर आफ्नो निरङ्‌कुश शासनलाई जायज ठहराउन खोजेका छन्‌। तर शाब्दिक अनि सही अनुवाद गर्ने आफ्नो उद्देश्‍यलाई ध्यानमा राख्दै नयाँ संसार अनुवाद-ले उक्‍त पदलाई यसरी अनुवाद गरेको छ: “जो-जो अख्तियारमा छन्‌, तिनीहरूलाई परमेश्‍वरले आफ्नो मातहतमा विभिन्‍न ओहदामा राख्नुभएको हो।” c यो अनुवाद पढेपछि पाठकहरूलाई कुन कुरा प्रस्ट हुन्छ भने, परमेश्‍वर स्वयम्‌ले कोही पनि शासक रोज्नुहुन्‍न रहेछ, अनि शासकहरू चाहे ठूला होऊन्‌ वा साना, सबै नै परमेश्‍वरको तुलनामा तुच्छ रहेछन्‌।

नयाँ संसार अनुवाद-ले ग्रीक क्रियामा लुकेको भावको सानातिना भिन्‍नतालाई पनि प्रस्ट पार्ने प्रयास गरेको छ। धेरैजसो आधुनिक भाषामा क्रिया अक्सर कालसित जोडिएको हुन्छ; जस्तै: वर्तमानकाल, भूतकाल वा भविष्यत्‌काल। तर ग्रीक भाषामा क्रियाले समयको विभिन्‍न चरण पनि बुझाउँछ; जस्तै: एकछिनको, पूरा भइसकेको वा अहिले चलिरहेको। उदाहरणका लागि येशूले मत्ती ६:३३ मा भन्‍नुभएका शब्दहरूलाई विचार गर्नुहोस्‌। यस पदमा चलाइएको ग्रीक क्रियाले अहिले चलिरहेको कामलाई बुझाउँछ। त्यसैले येशूले भन्‍नुभएका शब्दहरूको पूरा अर्थ खुलाउँदै उक्‍त पद यसरी अनुवाद गरिएको छ: “यसकारण उहाँको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।” त्यसैगरि, मत्ती ७:७ यसरी अनुवाद गरिएको छ: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको लागि उघारिनेछ।”—रोमी १:३२; ६:२ र गलाती ५:१५ पनि हेर्नुहोस्‌।

नेपाली भाषाको नयाँ संसार अनुवाद-मा मुख्य-मुख्य पदावलीहरू अनुवाद गर्दा एकरूपता कायम गर्न निकै प्रयास गरिएको छ। उदाहरणको लागि, ग्रीक शब्द हेडिज-लाई अरू नेपाली बाइबलहरूमा “नरक” वा “पाताल” भनेर अनुवाद गरिएको छ। तथापि, नयाँ संसार अनुवाद-मा भने यो शब्दलाई सबै ठाउँमा “चिहान” भन्‍ने एउटै शब्द चलाएर अनुवाद गरिएको छ। परिणामस्वरूप, प्रायजसो धर्मले सिकाएजस्तो मृत्युपछि मानिसहरूलाई यातना दिने त्यस्तो कुनै ठाउँ अस्तित्वमा छैन भनेर पाठकहरूले तुरुन्तै बुझ्नेछन्‌। चिहानमा भएकाहरूसित पुनर्जीवनको आशा छ।—प्रेषित २:२७, ३१; प्रकाश १:१८; २०:१३, १४.

नेपाली भाषाको नयाँ संसार अनुवाद-मा धेरै सावधानी अपनाएर मुख्य-मुख्य पदावलीहरूको अनुवाद गरिएको छ। उदाहरणका लागि, धेरै नेपाली बाइबलहरूमा ग्रीक शब्द पुस्खेन्युमा-लाई “आत्मा” भनेर अनुवाद गरिएको छ। तर नेपाली नयाँ संसार अनुवाद-मा भने प्रसङ्‌गअनुसार पुस्खेन्युमा-को अर्थ खुलाइएको छ। उदाहरणका लागि, बाइबलका लेखकहरूले चलाएको पुस्खे शब्दको अर्थ मूलतः मानिस, व्यक्‍ति, बौद्धिक क्षमता नभएको जीव अथवा व्यक्‍तिविशेष वा जनावरको जीवन भएकोले त्यही अर्थ लाग्ने गरी अनुवाद गरिएको छ। त्यसै गरी, परमेश्‍वरको सक्रिय शक्‍तिलाई बुझाउन न्युमा शब्द प्रयोग भएको ठाउँमा नयाँ संसार अनुवाद-ले “परमेश्‍वरको पवित्र शक्‍ति” वा “पवित्र शक्‍ति” भनेर अनुवाद गरेको छ। अतः बाइबलको यो शिक्षा अमर आत्मासम्बन्धी झूटो शिक्षाभन्दा पूर्णतया भिन्‍न छ।

परमेश्‍वरको वचन संसारभर उपलब्ध गराउने

नेपाली भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म) सुरुवात मात्र हो। समयमा, पूरै बाइबल अनुवाद गर्ने योजना मिलाइएको छ। यो नेपाली अनुवाद अङ्‌ग्रेजी अनुवाद जत्तिकै सही र एकरूप हुनेछ भनेर के पाठकहरू पक्का हुन सक्छन्‌?

हो, हुन सक्छन्‌ किनकि यहोवाका साक्षीहरूको परिचालक निकायले बाइबल अनुवाद गर्ने कामको प्रत्यक्ष निगरानी गर्छ। बाइबलको अनुवाद कुनै एक व्यक्‍तिले नभई समूहले गर्नु राम्रो हुन्छ भन्‍ने बुद्धिमानी निर्णय गरियो। उक्‍त निर्णयबमोजिम संसारभरि थुप्रै मुलुकमा बाइबल अनुवाद टोली गठन गरियो। त्यसैगरि, अमेरिकाको न्यू योर्कस्थित ब्रूक्लिनमा रहेको यहोवाका साक्षीहरूको मुख्यालयमा अनुवाद सेवा विभाग पनि स्थापना गरियो, जसको काम संसारभरिका अनुवाद टोलीहरूको आवश्‍यकतालाई ध्यान दिनु, तिनीहरूले पठाएका प्रश्‍नहरूको जवाफ दिनु अनि विभिन्‍न भाषाका नयाँ संसार अनुवाद-बीच एकरूपता कायम गर्नु हो। यस कामको लागि एउटा अत्यन्तै उपयोगी साधन पनि तयार गरियो। त्यो थियो, बाइबल अनुवादकहरूलाई सघाउने कम्प्युटर प्रविधि। हो, अनुवाद गर्न मानिसहरू नभई हुँदैन। तर कम्प्युटर प्रविधिले गर्दा बाइबल अनुवाद टोलीहरूलाई आफ्नो महान्‌ लक्ष्य हासिल गर्न निकै सजिलो भएको छ र त्यो लक्ष्य हो: स्थानीय भाषाको नयाँ संसार अनुवाद-लाई अङ्‌ग्रेजी संस्करण जत्तिकै सही बनाउने अनि एकरूपता कायम गर्ने। यो कम्प्युटर प्रविधिले अरू थुप्रै कुरा गर्नुका साथै प्रत्येक हिब्रू र ग्रीक शब्द, अङ्‌ग्रेजी संस्करणमा कसरी अनुवाद गरिएको छ भनेर देखाउँछ, जसले गर्दा स्थानीय भाषामा सही शब्द छनौट गर्न अनुवादकहरूलाई निकै सहयोग पुग्छ।

यी सम्पूर्ण प्रबन्धहरू कत्तिको सफल भएको छ भनेर थाह पाउन नयाँ संसार अनुवाद हेरे मात्र पनि पुग्छ। यस अनुवादलाई आफैले केलाएर हेर्न हामी तपाईंहरूलाई आग्रह गर्न चाहन्छौं। यस पत्रिकाका प्रकाशकहरूबाट तपाईंले यो प्राप्त गर्न सक्नुहुन्छ। यसका विभिन्‍न विशेषताहरू पनि तपाईंलाई पक्कै मन पर्नेछ। जस्तै: स्पष्ट अनि पढ्‌न सजिलो अक्षर, प्रत्येक पानामाथि दिइएका शीर्षकहरू जसले गर्दा चिरपरिचित पदहरू भेट्टाउन तपाईंलाई सजिलो हुनेछ; विस्तृत जानकारीसहितको नक्सा अनि रोचक अतिरिक्‍त लेखहरू। सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरको वचनलाई बोलीचालीको भाषामा सही अनुवाद गरिएको छ भनेर ढुक्क भई तपाईं यो बाइबल पढ्‌न सक्नुहुन्छ।

[फुटनोटहरू]

a रोचक कुरा, न्यु अमेरिकन स्ट्याण्डर्ड बाइबल-को सन्दर्भ संस्करणको (१९७१) खोलमा पनि यस्तै कुरा बताइएको छ: “हामीले यसमा कोही पनि शास्त्रविद्‌को सिफारिस समावेश गरेका छैनौं किनकि परमेश्‍वरको वचनको लेखाजोखा यसैमा भएका राम्रा पक्षहरूको आधारमा हुनुपर्छ भन्‍ने हाम्रो मान्यता छ।”

b हो, नयाँ नियम भनिने भागमा हिब्रू धर्मशास्त्रबाट उद्धरण गर्दा ग्रीक सेप्टुआजिन्ट प्रयोग गरिन्थ्यो। तर पछि-पछिका सेप्टुआजिन्ट-मा परमेश्‍वरको नाम नपाइने भएकोले मत्तीदेखि प्रकाशसम्मको भागबाट पनि परमेश्‍वरको नाम हटाउनुपर्छ भन्‍ने धेरै शास्त्रविद्‌हरूको तर्क छ। तथापि, सेप्टुआजिन्ट-को अहिले उपलब्ध सबैभन्दा पुराना प्रतिहरूमा भने यहोवाको नाम मौलिक हिब्रूमा पाइन्छ। यसले मत्तीदेखि प्रकाशसम्मको भागमा यहोवा नाम पुनर्स्थापना गर्ने बलियो आधार दिन्छ।

c जी. अब्बट-स्मिथद्वारा लिखित अ म्यानुएल ग्रीक लेक्सिकन अफ द न्यु टेस्टामेन्ट र लिडेल तथा स्कटद्वारा लिखित अ ग्रीक-इंग्लिश लेक्सिकन हेर्नुहोस्‌। यी तथा अन्य भरपर्दा स्रोतहरूअनुसार यहाँ चलाइएको ग्रीक शब्दको शाब्दिक अर्थ “क्रम मिलाउनु, ठीक-ठीक ठाउँमा राख्नु” हुन्छ।

[पृष्ठ १८, १९-मा भएको चित्र]

नयाँ संसार अनुवाद-का विशेषताहरू:

सरल अनि आधुनिक भाषा चलाएर मौलिक ग्रीक शास्त्रको सकेसम्म सही अनि शाब्दिक अनुवाद गर्ने ठूलो प्रयास गरेको छ

[स्रोत]

1 Timothy 3:16, as it appears in the Codex Sinaiticus, 4th century C.E.

पढ्‌न सजिलो अक्षरले गर्दा पढाइ रमाइलो हुन्छ

प्रत्येक पानामाथि दिइएका शीर्षकहरूले गर्दा चिरपरिचित पदहरू भेट्टाउन सजिलो हुन्छ

विस्तृत जानकारीसहितको नक्साले पाठकहरूलाई बाइबल लेखिएको समयको भौगोलिक अवस्था अझ राम्ररी बुझ्न मदत गर्छ

[पृष्ठ १७-मा भएको चित्र]

प्रेषित पावलजस्ता लेखकहरूले बाइबल बोलीचालीको भाषामा लेखे

[पृष्ठ २०-मा भएको चित्र]

“नयाँ संसार अनुवाद” स्पष्ट भएकोले ख्रीष्टियनहरूलाई प्रचारकार्यमा ठूलो लाभ पुऱ्‍याउँछ