सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले किन दुष्टता र दुःखकष्ट रहिरहन दिनुहुन्छ?

परमेश्‍वरले किन दुष्टता र दुःखकष्ट रहिरहन दिनुहुन्छ?

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

परमेश्‍वरले किन दुष्टता र दुःखकष्ट रहिरहन दिनुहुन्छ?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. दुष्टता कसरी सुरु भयो?

सैतानले बोलेको पहिलो झूट सँगसँगै पृथ्वीमा दुष्टता सुरु भयो। सैतान सुरुदेखि नै दुष्ट त थिएन। त्यो एउटा त्रुटिरहित स्वर्गदूत थियो तर “त्यो सत्यमा अडिग रहेन।” (यूहन्‍ना ८:४४) परमेश्‍वरले मात्रै पाउनुपर्ने उपासना आफूले पाउने इच्छा त्यसले गऱ्‍यो। पहिलो स्त्री हव्वासँग झूट बोलेर त्यसले परमेश्‍वरको भन्दा बरु आफ्नो आज्ञा मान्‍न उक्सायो। आदमले पनि परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्न हव्वालाई साथ दियो। उसको यस्तो निर्णयले दुःखकष्ट र मृत्यु निम्त्यायो।—उत्पत्ति ३:१-६, १७-१९ पढ्‌नुहोस्‌।

सैतानले हव्वालाई परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्न लगाएर उहाँको शासन गर्ने अधिकारको विद्रोह गरिरहेको थियो। परमेश्‍वरलाई आफ्नो शासकको रूपमा अस्वीकार गरेर अधिकांश मानिसले सैतानलाई साथ दिएका छन्‌। यसरी सैतान “यस संसारको शासक” भएको छ।—यूहन्‍ना १४:३०; प्रकाश १२:९ पढ्‌नुहोस्‌।

२. के परमेश्‍वरको सृष्टिमै खोट थियो त?

परमेश्‍वरले बनाउनुभएका मानिसहरू र स्वर्गदूतहरू उहाँले चाहनुभएअनुरूप चल्न पूर्णतया सक्षम थिए। (व्यवस्था ३२:४, ५) परमेश्‍वरले हामीलाई असल र खराबबीच छनौट गर्न सक्ने स्वतन्त्रतासहित बनाउनुभयो। यस्तो स्वतन्त्रताले हामीलाई परमेश्‍वरप्रतिको आफ्नो प्रेम प्रकट गर्ने मौका दिन्छ।—याकूब १:१३-१५; १ यूहन्‍ना ५:३ पढ्‌नुहोस्‌।

३. परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

केही समयको लागि, परमेश्‍वरले उहाँको शासन गर्ने अधिकारमाथि गरिएको विद्रोहलाई सहनुभएको छ। किन? उहाँविना शासन गर्न जति नै प्रयास गरे पनि यसले मानिसलाई लाभ पुऱ्‍याउन सक्दैन भन्‍ने कुरा प्रमाणित गर्न। (यर्मिया १०:२३) यो कुरा मानव इतिहासका ६,००० वर्षले प्रमाणित गरेको छ। मानव शासकहरू युद्ध, अपराध, अन्याय र रोगबिमार हटाउन असफल भएका छन्‌।—उपदेशक ७:२९; ८:९; रोमी ९:१७ पढ्‌नुहोस्‌।

तर यसको विपरीत, परमेश्‍वरलाई आफ्नो शासकको रूपमा स्वीकार्नेहरूले लाभ उठाउनेछन्‌। (यशैया ४८:१७, १८) यहोवाले चाँडै नै सम्पूर्ण मानव शासनको अन्त गर्नुहुनेछ। परमेश्‍वरको शासन स्वीकार्नेहरू मात्र यो पृथ्वीमा रहन पाउनेछन्‌।—यशैया २:३, ४; ११:९; दानियल २:४४ पढ्‌नुहोस्‌।

४. परमेश्‍वरले धीरज देखाउनुभएको कारण हामीले कस्तो मौका पाएका छौं?

मानिसहरूले कहिल्यै पनि वफादार भई यहोवाको आज्ञापालन गर्नेछैनन्‌ भनेर सैतानले दाबी गऱ्‍यो। परमेश्‍वरले धीरज देखाउनुभएको कारण हामी सबैले मानिसको शासन स्वीकार्ने कि परमेश्‍वरको शासन स्वीकार्ने भनेर देखाउने मौका पाएका छौं। आफ्नो जीवनशैलीबाट हामी आफ्नो छनौट कुन हो भनेर देखाउँछौं।अय्यूब १:८-११; हितोपदेश २७:११ पढ्‌नुहोस्‌।

५. हामी परमेश्‍वरलाई आफ्नो शासकको रूपमा कसरी स्वीकार्न सक्छौं?

परमेश्‍वरको वचन बाइबलमा आधारित साँचो उपासना गर्ने तरिका खोजी गरेर अनि त्यसलाई आफ्नो जीवनमा लागू गरेर हामी परमेश्‍वरलाई आफ्नो शासकको रूपमा स्वीकार्न सक्छौं। (यूहन्‍ना ४:२३) अनि येशूजस्तै हामी राजनीति र युद्धबाट पनि अलग रहन्छौं।—यूहन्‍ना १७:१४ पढ्‌नुहोस्‌।

सैतानले अनैतिक र हानिकारक जीवनशैलीलाई बढावा दिन आफ्नो शक्‍ति प्रयोग गर्छ। त्यस्तो जीवनशैलीलाई तिरस्कार गर्दा हाम्रा साथी तथा आफन्तहरूले हाम्रो खिल्ली उडाउन वा विरोध गर्न सक्छन्‌। (१ पत्रुस ४:३, ४) त्यसैले हामीले एउटा छनौट गर्नुपर्छ। के हामी परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूसित सङ्‌गत गर्नेछौं? के हामी परमेश्‍वरले दिनुभएका बुद्धिमानी र मायालु सल्लाहहरू पालन गर्नेछौं? यसो गरेमा कुनै पनि मानिसले परमेश्‍वरले भन्‍नुभएअनुसार गर्नेछैन भन्‍ने सैतानको दाबीलाई झूटो साबित गरिरहेका हुनेछौं।१ कोरिन्थी ६:९, १०; १५:३३ पढ्‌नुहोस्‌।w11 -E 05/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ११ हेर्नुहोस्‌।

[पृष्ठ १८-मा भएको चित्र]

आदमले खराब छनौट गरे

[पृष्ठ १९-मा भएको चित्र]

हाम्रा छनौटहरूले हामी परमेश्‍वरको शासन स्वीकार्छौं वा स्वीकार्दैनौं भनेर देखाउँछ